भद्रपुरमा ११ करोड लगानीमा चिया कारखाना स्थापना
काठमाडौं। साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । रु ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती खरीद गरेर प्रशोधन गर्न बुधबारबाट शुरु गरेको हो । सहकारीले उत्पादन गरेको चियाको नाम भने सिटिसी रहेको छ । सरकारले साना चिया किसानलाई ५० प्रतिशत अनुदान दिन थालेसँगै किसान आफैँले कारखाना शुरु गरेका छन् । यसअघि झापाको पृथ्वीनगर र बाहुनडाँगीमा पनि सहकारीले नै कारखाना सञ्चालन गर्दै आएका छन् । यस सहकारीले पनि ५० प्रतिशत नेपाल सरकारको अनुदान र आफ्नो ५० प्रतिशत लगानीमा चिया कारखाना शुरु गरेको संस्थाका पूर्वलेखा संयोजक हरिकृष्ण अधिकारीले जानकारी दिए। चिया खेतीमा सदस्यलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहकारीको माध्यमबाट कारखाना स्थापना गरी उत्पादन शुरु गरेको उहाँको भनाइ छ । सहकारीमा १२० जना सदस्य चिया खेतीमा आबद्ध छन् । दैनिक चार हजार किलो चिया उत्पादन गर्ने लक्ष्य लिएको सहकारीले तयारी चियालाई देशभर सहकारीले नै सञ्चालन गर्दै आएको सुपथ मूल्यको बजारबाट बिक्री गरिने लक्ष्य रहेको अधिकारीले बताए। जिल्लामा हालसम्म ३० वटाभन्दा बढी चिया प्रशोधन कारखाना सञ्चालनमा छन् ।रासस
न्यानो कपडाको व्यापार ६० प्रतिशतले वृद्धि, दैनिक ३५ हजारसम्मको कारोबार हुने
सोलुखुम्बु । जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् । कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए । सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यू ए वान टेलरिङ सेन्टर’ सञ्चालक विश्राम हिङमाङले बताए। “ज्याकेटको माग अत्यधिक आएको छ,” उनले भने, “हामीलाई भ्याइनभ्याई छ ।” माग बढेपनि ज्याकेट बनाउने जनशक्तिको अभाव छ । “काम गर्ने जनशक्ति कम हुँदा माग अनुसार ज्याकेट उत्पादन गर्न सकिएको छैन,” दर्जीले भने । सोलुखुम्बु वस्त्रालयका सञ्चालक राजन भुसाल आदेश अनुसार ज्याकेट बनाउँदा ग्राहकलाई सस्तो पर्ने बताउँछन् । दैनिक ज्याकेटको व्यापारमा वृद्धि हुँदै गएको भुसालले बताए । “अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले व्यापारमा वृद्धि भएको छ,” उनले भने । जाडो चाँडै शुरु भएका कारण न्यानो कपडा किन्नेको सङ्ख्या बढेको हो । व्यापारी रमेश बस्नेत जाडोको यामअघि दैनिक २० हजार रुपैयाँको व्यापार हुने गरेकामा अहिले ३० हजारदेखि ३५ हजार रुपैयाँसम्मको कारोबार हुने गरेको बताएका छन् । रासस
राष्ट्रिय परिचयपत्र छाप्न शुरु
काठमाडौं। सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छाप्नुभएको हो । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ शुरुआत गरेको हो । सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिए। केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको छ । अहिले सबैको व्यक्तिगत र जैविक विवरण सङ्कलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा र पछि अन्यको छापिने उनले बताए। सबै परिचयपत्र छापेर यही महीनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र वितरणसमेत गरिने छ । केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले यन्त्र उपलब्ध गराएपछि परिचयपत्रको छपाइ गरिएको बताए। उनको अनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुनेछ । वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबाआमा र बाजेको नाम, जन्ममिति, धर्म, जात, पेशा र शैक्षिक योग्यता रहने छ भने जैविक विवरणमा फोटो, औँठाछाप र हस्ताक्षर हुने छ । केन्द्रले अमेरिकामा बनेको अत्याधुनिक यन्त्र ‘डाटा कार्ड कम्पनी’बाट प्रतिघण्टा ५०० को दरले परिचयपत्र छाप्ने इञ्जिनीयर बोहराले जानकारी दिए। उक्त यन्त्र ‘आइडिमिया आइडेण्टिटी एण्ड सेक्युरिटी’ कम्पनीले अन्तरराष्ट्रिय बोलपत्रका आधारमा ठेक्कामार्फत करीब रु चार करोडमा उपलब्ध गराएको हो । उनका अनुसार लेजर प्रविधिबाट कार्बन (पोली कार्बोनेट) लाई जलाएर परिचयपत्र छाप्ने गरिन्छ । उक्त प्रविधिलाई कसैले पनि चोर्न नसक्ने उनको भनाइ छ । परिचयपत्रमा एउटा कार्ड र यन्त्रले पढ्न सक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ रहेको हुन्छ । यन्त्रमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ । त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि यन्त्रबाट परिचयपत्र बाहिर निस्कने कम्प्युटर इञ्जिनीयर बोहराले जानकारी दिए। विद्युतीय चिप्सलाई सरकारको आधिकारिक निकायले मात्र पढ्न सक्नेछ । यन्त्रले छापेर आएका परिचयपत्रलाई बिग्रेको भए अलग्लै राख्ने गर्छ । परिचयपत्र छापेपछि केन्द्रले गुणस्तर परीक्षण गरेर मात्र वितरण गर्छ । सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचयपत्रको काम शुरु भएको हो । यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना छ। रासस
अब जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने
काठमाडौं। जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए। कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिने पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ । जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो । मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिका अनुसार विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिने पाउनेछन् । परीक्षा शुल्क रु तीन हजार ५०० लाग्छ । परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिन्छ । रासस
भरतपुरमा तीन महिनामा सात अर्ब राजश्व सङ्कलन
काठमाडौं। आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा झण्डै रु सात अर्ब ३४ करोड राजश्व सङ्कलन गरेको छ । लक्ष्यको ११८ प्रतिशत राजश्व सङ्कलन भएको हो । कार्यालयले चालू आवकोे तीन महीनामा आयकर रु ३१ करोड ४३ लाख ४१ हजार, ब्याजकर रु तीन करोड ९६ लाख, मूल्य अभिवृद्धि कर रु ३९ करोड २६ लाख ४६ हजार र अन्तःशुल्क रु ६ अर्ब ५५ करोड ७९ लाख ६६ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको यही अवधिमा रु पाँच अर्ब दुई करोड १८ लाख ४८ हजार राजश्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार साउनयता दुई हजार ५७९ नयाँ करदाता थपिएका छन् । असोज ७ गतेदेखि नवलपुर जिल्लामा पनि सेवा कार्यालय स्थापना भएको छ । नवलपुरको कावासोतीस्थित सेवा कार्यालयबाट राजश्व सङ्कलन गर्न सकिने भएकाले राजश्व कार्यालय भरतपुरमा सेवाग्राहीको चाप कम भएको छ । कार्यालयका प्रमुख शुभ रिजालका अनुसार कर परीक्षण र अनुसन्धानका काम भने भरतपुरबाटै हुनेछन् । त्यस्तै नवलपुरका करदाताले अन्तःशुल्क कर पनि आन्तरिक राजश्व कार्यालय भरतपुरमा नै बुझाउनुपर्ने उनले बताए। आन्तरिक राजश्व विभागले यस कार्यालयका लागि रु २७ अर्ब ६१ करोड ३६ लाख ५३ हजार वार्षिक लक्ष्य निर्धारण गरेको छ । गत आवमा कार्यालयले रु २१ अर्ब ८१ करोड ३१ लाख २१ हजार राजश्व सङ्कलन गरेको थियो । यस क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले अधिकांश राजश्वको हिस्सा अन्तःशुल्कबाट सङ्कलन हुने गर्दछ । कार्यालयअन्तर्गत प्यान लिएका ३२ हजार ६९५ र व्यक्तिगत प्यान लिएका ४८ हजार ३७१ करदाता छन् । मूल्य अभिवृद्धि कर (भ्याट) मा सात हजार ७३५ करदाता दर्ता भई अन्तःशुल्कतर्फ तीन हजार ४४३ करदाताले इजाजत नवीकरण गरेको कार्यालयले जनाएको छ । रासस
मेगा बैंक र आइएमई डिजिटलबीच मोबाइलबाटै वित्तीय सेवा प्रदान गर्ने सम्झौता
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्धारा प्रवद्र्धित आइएमई डिजिटलबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले उक्त दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।
कुखुराको मासुको मूल्यमा गिरावट, किसान मर्कामा
काठमाडौं। ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । नेपाल कुखुरापालक किसान सङ्घका अध्यक्ष झलक पौडेलका अनुसार एउटा कुखुरा बिक्री गर्दा किसानले रु ५० भन्दा बढी नोक्सान व्यहोरिरहेका छन् । किसानले एउटा चल्ला रु ९० मा खरीद गर्ने गरेका छन् । किसानले कुखुरा बिक्री गर्ने बेलासम्म चार किलो दाना, औषधि, श्रम, भाडालगायत खर्च गर्दा प्रति कुखराको मूल्य रु ४२५ भन्दा बढी पर्छ । किसानले एउटा कुखुरा रु ३७५ मा बिक्री गर्ने गरेको पौडेलले बताए। “साना किसानले निरन्तर घाटा व्यहोर्नु परिरहेको छ,” उनले भने। देशभर २६ हजारभन्दा बढी साना किसानले ब्वायलर कुखुरापालन गरिरहेका छन् । मासु बिक्री गर्ने ठूला व्यापारीले चिस्यान केन्द्रमा मासु थुपार्ने गरेका छन् । मासु सकिँदा मूल्य घटाइदिने र सस्तोमा कुखुरा खरीद गर्ने गरेका छन् भने मासु थुपिँ्रदा मूल्य बढाइदिने गरेका कारण समस्या भएको पौडेलले बताए। कुखुरापालन व्यवसायी मञ्चका अध्यक्ष डा होमबहादुर बस्नेतले मासुको मूल्य प्रतिकिलो रु ३०० भन्दा बढी नभएसम्म किसानलाई फाइदा नहुने बताए। दशैँको समयमा खसी र राँगा धेरै काटिँदा त्यसको सुकुटी बनाएर राख्ने गरेका कारण कुखुराको मूल्यमा कमी आएको उहाँले बताउनुभयो । नेपाल कुखुरापालन महासङ्घका अध्यक्ष गुणचन्द्र बिष्टले उच्चस्तरको प्रविधिमा कुखुरा पाल्न सकेमा यही दरभाउले नाफा हुने भए पनि अहिलेको प्रविधिमा नोक्सान हुने बताए। अवैध रुपमा भित्रिने भारतीय मासुका कारण पनि मूल्यमा कमी आएको उनको भनाइ छ । नेपालमा अन्य पेशा व्यवसाय गर्न नसक्ने किसानले आफ्नै बारीमा वा खोर भाडामा लिएर ब्वायलर कुखुरा पाल्ने गर्दछन् । समय समयमा दरभाउ तलमाथि हुँदा ऋणमा व्यवसाय गर्ने मर्कामा पर्ने गरेका छन् । रासस
विश्व बैंकलाई अर्थमन्त्रीको प्रश्नः व्यापार युद्धबाट बच्ने उपाय के हो ?
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व अर्थ व्यवस्थामा देखा परेको व्यापार युद्धबाट कसरी बच्ने भनि प्रश्न गरेका छन् । विश्व बैंक समुहले राजधानीमा नेपाल डेभलपमेन्ट अपडेट रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. खवितडाले भने–‘विश्वमा संरक्षण वाद पुनः उदाउन खोजेको देखिन्छ, व्यापार युद्धबाट कसरी बच्ने भन्ने उपायबारे विश्व बैंकको प्रतिवेदन बोल्नु पर्ने थियो ।’ मन्त्री खतिवडाले विश्व बैंकको बाली सम्मेलनमा इण्डोनसियाका राष्ट्रपतिले संरक्षण वादको वकालत गरेको पनि बताए । विश्वमा संरक्षणवाद हावी भएमा त्यसको सामना गर्न क्षेत्रिय एकता आवश्यक पर्नेमा उनले जोड दिएका थिए । संसारभर संरक्षणवादको हावा चलिरहेको भए पनि नेपालमा भने उड्डयन, पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना तथा प्रबिधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताका लागि ढोका खुल्ला राखिएको पनि उनको भनाई छ । मन्त्री खतिवडाले व्यापार घाटालाई कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भन्दा तलै राख्ने उपायको खोजि भैरहेको र त्यसका लागि उत्पादन वृद्धि, सूचना प्रबिधीको अधिक उपयोग, तरलता अभावको समस्या समाधान, लगानीका लागि दिर्घकालिन श्रोतको व्यवस्थापनमा जोड दिएको बताए । छोटो अवधीको निक्षेप संकलन गरेर लामो अवधीका लागि ऋण प्रवाह गर्नुपर्ने बाध्यतामा बैंक तथा वित्तिय संस्थाहरु रहेको अब बण्ड र भेञ्चर क्यापिटलको अवधारणा मार्फत अघि बढ्ने स्पष्ट पारे । विश्व बैंकले प्रक्षेपण गरेको मध्यम तहका लागि प्रक्षेपण गरेको औषत ६ प्रतिशतको आर्थिक वृद्धिदरले नेपाललाई नपुग्ने भन्दै त्यो भन्दा ठुलो आकारको वृद्धिका लागि सरकार लागिपरेको दावी पनि गरे ।