विकासन्युज

राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान

काठमाडौं, ३० मंसिर । भिजी सुजुकी अटोमोबाइल्सद्धारा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी सम्मानित भएका छन् । किर्तिपुर क्रिकेट मैदानमा सञ्चालित इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगिताका म्यान अफ द सिरिज नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कामीलाई भी.जी. अटोमोबाइल्सका बजार प्रबन्धक समित सिंहले सम्मान गरेका छन् । उक्त प्रतियोगिता गत असोज ८ गतेदेखि असोज १७ गतेसम्म सम्म सञ्चालन भएको थियो । साथै, सिंहले त्रिपुरेश्वर स्थित भिजी सुजुकी अटोमोबाइल्स शोरुममा आयोजित एक कार्यक्रममा सोमपाल कामीलाई सुजुकी जिक्सर मोटरसाईकल प्रदान गरेका छन् ।

नेप्से परिसूचक दोहोरो अंकले उकालो, तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, ३० मंसिर । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार सामान्य अंकले बढेको परिसूचक १३ दशमलब ९८ अंकले बढेर १५३० दशमलब ०६ अंकमा पुगेको छ । बिहीबार ४९ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको ६६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबारको बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । समिट माइक्रोफाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । सो दिन बैंकको ८ करोड रुपैयाँब बढीको सेयर किनबेच भएको छ । उत्पादनमूलक समूह बाहेक कारोबार भएका बाँकी सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९२ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक र बैंकिङ् समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । अन्य समूह स्थिर रहेको छ भने उत्पादनमूलक समूहको परिसूचक ६ अंकले ओरालो लागेको छ ।

यूनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त

काठमाडौं, ३० मंसिर । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को सञ्चालकमा रविन्द्रराज पन्त नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी चार बर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो । पन्तको कार्यकाल मंसिर २८ गतेदेखि नै शुरु भएको छ । नियुक्त भएको दिन देखि नै पन्तले इन्स्योरेन्सको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् । कम्पनीले पूर्व सञ्चालक शिवजीरे यादवको पदमा रविन्द्रराज पन्तलाई नियुक्ति गरेको हो । पन्तले केहि समय अघि मात्रै एनआइडिसी डेभलपमेन्ट बैंकको निर्देशकबाट राजीनामा गरेका थिए ।

सार्वजनिक यातायातबाट थुक्नेलाई रु ५०० जरिवाना, सवारीमै डस्टविन राख्न आग्रह

काठमाडौं, ३० मंसिर । सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो । सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा कुनै पनि फोहरजन्य पदार्थ (प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि) जथाभावी फाल्दा फोहर भई वातावरणमा समेत प्रभाव परेकाले निषेध गरिएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिए । “सार्वजनिक यातायातबाट निष्कासन हुने फोहरमैलालाई नियन्त्रण वा व्यवस्थित गर्न प्रत्येक सवारीमा ३० माइकोनमाथिको पोलिथिन थैलो वा डस्टविन राख्नुपर्ने व्यवस्था गरिएको छ, सवारी छुट्नुअघि चालकले डस्टविन प्रयोग गर्ने तरिकाबारे यात्रुलाई जानकारी गराउनुपर्छ” – उनले भने । यो नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम ५०० रुपैयाँ देखि पाँच हजार रुपैयाँसम्म जरिवाना र तीन महिनासम्म कैद गरिनेछ । मर्करीजस्ता वातावरणलाई असर पार्ने सामग्री फालेको पाइएमा एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था ऐनमा छ । सवारीबाट सार्वजनिकस्थल वा सडकमा फोहर फाल्नेको नामनामेसी सार्वजनिक गर्न केन्द्रले स्थानीय निकायलाई निर्देश गरेको छ । यो व्यवस्था कार्यान्वयनको अनुगमन स्थानीय निकायले गर्ने छन् । यो व्यवस्था लागू भएपछि सवारी साधनबाट सडकमा थुक्न पनि पाइने छैन । सवारीबाट सडकमा थुक्नेलाई समेत रु ५०० कारबाही हुने कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिए । शुक्रबार बिहान ७ः३० देखि ८ बजेसम्म रत्नपार्कस्थित बसपार्क, गोङ्गबु नयाँबसपार्क र लगनखेल बसपार्कमा जनचेतनामूलक अभियान सञ्चालन गरिँदैछ । अभियानका क्रममा निःशुल्क डस्टविनसमेत वितरण गरिनेछ । पुसभर देशभरका सार्वजनिक यातायातमा जनचेतनामूलक अभियान सञ्चालन गरिने कार्यक्रम छ । रासस

समीट माइक्रोफाइनान्सले ४५% बोनस र शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं, ३० मंसिर । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंक ४५ प्रतिशत बोनस पश्चात शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

करिब १० लाख रुपैयाँको लागतमा लन टेनिसका खेल मैदान निर्माण हुँदै

पोखरा, ३० मंसिर । पोखरा रङ्गशालामा लगभग १० लाख ५० हजार रुपैयाँको लागतमा लन टेनिसका खेल मैदान निर्माण भइरहेको छ । सातौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल पूर्वाञ्चलमा आयोजना हुने भए पनि एउटा मात्र खेल लन टेनिस पोखरामा हुने भएपछि मैदान निर्माणमा जुटेको खेलकुद सङ्घ, कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए । “हामीले आम खेलप्रेमी पोखरेलीलाई लन टेनिसको राष्ट्रिय खेलमा प्रत्यक्ष अवलोकनका लागिसमेत आह्वान गर्ने छौँ”, उनी भन्छन्– “यो बृहद् कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक छ ।” पुस महिनाको दोस्रो साताबाट सुरु हुने टेनिसको राष्ट्रिय खेलका लागि छनोटका सम्पूर्ण कार्यक्रम सम्पन्न भइसकेको बताउँदै उनले लन टेनिस प्रतियोगितामा पोखराबाट ४० जना महिलासहित ८० जनाले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रत्येक विकास क्षेत्रबाट १० जना खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा पाँचजना महिलासहित विभागिय टिमबाट १०–१० जना खेलाडीको सहभागिता रहने व्यवस्था छ । रासस

जीडीपीमा उद्योगको योगदान १०.३ प्रतिशत पुर्याउने लक्ष्य, ३ वर्षमा उद्योगमा ६ खर्ब ३४ अर्ब खर्चिने सरकारको तयारी

काठमाडौं, ३० मंसिर । सरकारले आगामी ३ वर्षमा समग्र उद्योग क्षेत्रको विकासका लागि ६ खर्ब ३३ अर्ब ९५ करोड खर्चिने भएको छ । १४औं योजना अवधिको ३ वर्षमा स्वदेशमा प्रत्येक वर्ष ५० हजारका दरले रोजगारी सिर्जना गर्न सरकारले सो रकम खर्च गर्ने योजना बनाएको हो । सरकारले उद्योग क्षेत्रमा तीन वर्षभित्र सो रकम लगानी गरीे कुल एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान १० दशमलव ३ प्रतिशत पुर्याउने लक्ष्य तय गरेको छ । सो खर्चमा सार्वजनिक क्षेत्रबाट २ खर्ब ९८ अर्ब ८५ करोड, निजी क्षेत्रले ३ खर्ब ८ अर्ब ४४ करोड र सहकारीबाट २६ अर्ब ६६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य योजनाले लिएकोे छ । उद्योगमा भएको लगानीले उत्पादन तथा उत्पादकत्वकमा वृद्धि, रोजगारी सिर्जना, स्थानीय स्रोत तथा साधन र प्रविधिको उपयोग, आयात प्रतिस्थापन तथ निर्यात प्रवद्र्धनमा जोड दिने राष्ट्रिय योजना आयोग सदस्य डा. सुनिलबाबु श्रेष्ठले बताए । यसले गरिबी न्यूनिकरण गर्न पनि महत्वपूर्ण भुमिका खेल्ने छ । औद्योगिक क्षेत्र आर्थिक विकासको इन्जिन भएको र औद्योगिकरणविना देशमा रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धि सम्भव नभएको औल्याउँदै सरकारले उद्योगमा लगानी बढाउने योजना अघि सारेको हो । सो खर्चबाट सरकारले उद्योग क्षेत्रको आर्थिक वृद्धिदर तीन वर्षमा १० दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरेको छ । सरकारले तेह्रौं योजनाको अत्यसम्म जीडीपीमा उद्योग क्षेत्रको योगदान ५ दशमलव ४ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको थियो । तर, भूकम्प र सीमा नाका बन्दका कारण उद्योग क्षेत्रको वृद्धिदर ६ दशमलव ३ प्रतिशत ऋणात्मक रह्योे । औद्योगिक विकासको मूल आधारका रूपमा लिइने उत्पादन मूलक उद्योग क्षेत्रको वृद्धिदर भने समग्र उद्योग क्षेत्रको तुलनामा अत्यन्त न्यून रह्यो । २०७०/७१ वा तेह्रौं योजना शुरु भएको वर्ष उत्पादनमूलक क्षेत्रको वृद्धि ६ दशमलव २८ प्रतिशत रहेपनि १३ औं योजनाको अन्तिम वर्ष अर्थात गत आर्थिक वर्षमा उद्योग क्षेत्रको वृद्धि ९ दशमलव ८६ प्रतिशतले ऋणात्मक रह्यो । योजना शुरुको वर्ष उत्पादनमूलक क्षेत्रको वृद्धिदर राम्रै रहेपछि पछिल्ला दुई वर्षमा ऊर्जा संकट, भूकम्प तथा नाकाबन्दीका कारण उद्योग क्षेत्रनै थला परेका थिए । औद्योगिक पूर्वाधारको प्रर्याप्त विकास नहुनु, आवश्यक युवा जनशक्ति विदेश पलायन हुनुलगायतका कारण औद्योगिक क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा न्यून योगदान रहेको छ । आर्थिक समृद्धिका लागि औद्योगिक विकास जरुरी रहेको भन्दै उद्योग क्षेत्र कमजोर हुँदा राष्ट्र कै अर्थतन्त्र कमजोर भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनवहादुर श्रेष्ठले बताउँदै आएका छन् । देशलाई आर्थिक रुपले मजवुद बनाउने मूल आधार भनेको उद्योग भएको र उद्योग विकासले देश परनिर्भरताबाट आत्मनिर्भर हुने भएकोले पनि उद्योगको लगानी हामी जस्ता अल्पविकशित देशका लागि बढी उपयोगी तथा फलदायी हुने देखिन्छ ।

नबिल बैंकको २२ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं, ३० मंसिर । नबिल बैंक कर्मचारी सघंले २२ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । उक्त कार्यक्रममा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ७० जना बैकंका कर्मचारीहरु तथा कर्मचारी परिवारहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई नबिल बैंक कर्मचारी सघंबाट प्रशंशापत्र प्रदान गरिएको थियो । नबिल बैंक कर्मचारी सघंले आफ्नो वार्षिक उत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । नबिल बैंक कर्मचारी सघंले भविष्यमा पनि यस्तो कार्यक्रम काठमांडौ उपत्यकामा मात्र सिमित नभई उपत्यका बाहिरका बैंकका शाखाहरु मार्फत पनि निरन्तरता दिने योजना बनाएको छ । नेपाल रेड क्रस सोसाईटिले सघंले निरन्तर रुपमा रक्तदान कार्यक्रम राख्दै आएकोमा उक्त योगदानको प्रशंशा गरेको छ ।