एनएमबि बैंकको सामाजिक कार्य अन्तर्गत मन्दिर सरसफाई तथा व्यवस्थापन कार्यक्रमको आयोजना
काठमाडौं, ३० मंसिर । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थापाथली स्थित गोरखनाथ मन्दिरको अवषेशलाई मन्दिर परिसरमै सुरक्षित राख्ने तथा सरसफाइ, व्यवस्थापन कार्यक्रमको आयोजना गरेको छ । बिनाशकारी भुकम्पले सो मन्दिर पूर्णरुपले क्षति भएको थियो । गुठि संस्थानसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा स्थानिय बासिन्दाहरुको सहभागिता थियो । “सम्पदा संरक्षणको साथमा एनएमबि बैंक” भन्ने नारा लिएर एनएमबि बैंकले सम्पदा संरक्षणको क्षेत्रमा २०११ साल देखि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । एनएमबि बैंकको एनएमबि सोसियल इनिशिएटिभ कोषले हरेक वर्ष विभिन्न सम्पदा क्षेत्रहरुको जिर्णोद्धार, सफाइ कार्यक्रम तथा एनएमबि बैंक हेरिटेजवाकको पनि आयोजना गर्दै आएको छ ।
चिलिमे जलविद्युत कम्पनीले २० प्रतिशत लाभांश दिने, १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद
काठमाडौं, ३० मंसिर । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । विहीबार बसेको कम्पनीको सञ्चालक समिति बैंठकले १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । प्रतावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरपछि वितरण गरिनेछ ।
१३ नाकाबाट जोडिँदैछ नेपाल–चीन सडक सञ्जाल, चार नाका उच्च प्राथमिकतामा
काठमाडौं, ३० मंसिर । नेपालले उत्तर छिमेकी चीनसँग जोडिने बिभिन्न १३ वटा नाकामा सडक सञ्जाल विस्तार अभियानलाई तिब्रता दिएको छ । सरकारले सडक विभाग चीनसँग जोडिने १३ वटा नाकासम्म आधुनिक सडक सञ्जाल विस्तार अभियानलाई अघि बढाएको हो । सडक विभागका उप महानिर्देशक गोपाल प्रसाद सिग्देलका अनुसार तातोपानी नाका, रसुवागढी नाका, कोरला नाका, हिल्सा नाका, किमाथांका नाका, ओलाङचोङगोला नाका, लाप्ची नाका, रोलाभञ्ज्याङ नाका, सिर्दिबास नाका, मरिम्ला नाका, न्याक्चे लाग्ना नाका, उराइपास नाका, टिंकर नाकासम्मको सडक विस्तारलाई तिब्रता दिएको छ । यी १३ सडक मध्ये रसुवागढी, हिल्सा, किमाथांका र कोरला नाका जोड्ने सडक पुर्वाधारलाई उच्च प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाइएको छ । ‘निर्माण कार्य भैरहेका १३ सडक मध्ये ४ वटा नाका जोड्ने सडक उच्च प्राथमिकतामा छन्, रसुवागढीलाई पहिलो, किमाथांकालाई दोश्रो, हिल्सालाई तेश्रो र कोरला नाका जोड्ने सडकलाई चौथो प्राथमिकतामा राखेर काम गरिरहेका छौं’, विभागका उप महानिर्देशक सिग्देलले विकासन्युजसँग भने । उनले ती चार सडकमध्ये पनि कोरला नाकालाई व्यवसायीक रुपमा सञ्चालन गर्न सकिने वा नसकिनेबारे चिनियाँ पक्षसँग सम्वाद आवश्यक रहेको बताए ।‘कोरला नाकालाई व्यवसायीक रुपमा सञ्चालन गर्न चिनियाँ पक्षसँग सरकारले आवश्यक छलफल गर्नुपर्छ’, सिग्देलले भने । कुन सडकमा कति भयो काम ? ओलाङचोङगोला नाका ताप्लेजुङ सदरमुकामबाट ओलाङचोङ गोला हुँदै चीन जोडिने सडकको लम्बाई ९५ किलोमिटरको छ । सो खण्डमध्ये ३५ किलोमिटरका ट्रयाक खोलिसकिएको छ भने ६० किलोमिटरमा धमाधम काम भैरहेको छ । किमाथांका नाका संखुवासभाको सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटरको दुरीमा किमाथांका नाका पर्र्छ । सो सडक खण्डको ८५ किलोमिटर ट्रयाक खोलिसकिएको छ भने ७७ किलोमिटरमा काम जारी छ । लाप्ची नाका दोलखाको लामाबगरबाट २५ किलोमिटरको दुरीमा लाप्ची नाका छ जसको ५ किलोमिटर ट्रयाक खोलिएको छ भने २० किलोमिरटको काम जारी छ । रोइलाभञ्ज्याङ नाका धादिङको बेनीघाटबाट १६२ किलोमिटरको दुरीमा पर्ने यो नाकाको ५८ किलोमिटरमा काम सम्पन्न भैसकेको छ भने १०४ किलोमिटरमा काम भैरहेको छ । सिर्दिबास नाका गोरखाको गुम्दाबाट चुम्चेट हुँदै १३५ किलोमिटर दुरी पार गरेपछि सिर्दिबास नाका पुगिन्छ । सो सडकको पनि २५ किलोमिटर ट्रयाक खोलिसकिएको छ भने ९० किलोमिटरमा काम भैरहेको छ । कोरला नाका जोमसोमबाट कोरला नाकासम्मको दुरी ११० किलोमिटरको छ । सो सडकमा हाल सिंगल लेनमा सवारी साधन गुडिरहेका छन् । सडक विभागले डबल लेनको ग्राभेल सडकका रुपमा विस्तार गर्न ठेक्का समेत लगाइसकेको छ । मरिम्ला नाका डोल्पाको मरिल्ला नाका पुग्न दुनैबाट १३५ किलोमिटर दुरी पार गर्नुपर्छ । सोमध्ये हालसम्म ९५ किलोमिटरको ट्रयाक खुलिसकेको छ भने ४० किलोमिटरको काम भैरहेको छ । न्याक्चे लाग्ना नाका मुगुकको गमगढीबाट ११० किलोमिटरको दुरीमा न्याक्चे लाग्ना नाका पर्छ । हाल सो सडक खण्डको १५ किलोमिटर ट्रयाक खोलिएको छ भने ९५ किलोमिटरको काम खण्ड खण्डमा जारी छ । हिल्सा नाका हुम्लाको हिल्सा नाका पुग्न सिमिकोटबाट ९५ किलोमिटर दुरी छिचोल्नु पर्छ । त्यसमध्ये ८० किलोमिटरमा ट्रयाक खोलिएको छ भने बाँकी १५ किलोमिटरमा काम जारी छ । उराइपास(ताक्लाकोट) चैनपुरबाट ११५ किलोमिटरको दुरीमा उराइपास पर्छ । सो खण्डमध्ये ३५ किलोमिटरमा ट्रयाक खोलिएको छ भने ८० किलोमिटरमा काम भैरहेको छ । टिंकर नाका दार्चुला सदरमुकामबाट टिंकर नाका पुग्ने दुरी ११२ किलोमिटरको छ । सो खण्डमा ४० किलोमिटरको ट्रयाक खोलिएको छ भने ७२ किलोमिटरमा काम भैरहेको छ । तातोपानी नाका तातोपानी नाका जोड्ने सडक नेपाल तर्फ चालु आवस्थामा रहेको छ । सडक विभागले ठाउँ ठाउँमा स्तरोन्नतिका काम पनि गरिरहेको छ भने केहि स्थानमा चीन सरकारले पनि स्तरोन्नतिको काम गरिरहेको छ । तर चीन सरकारले नै तातोपानी नाका पारीकोे आफ्नो बस्तीलाई ३० किलोमिटर पर नल्याम सारिसकेको छ । यो नाकालाई हाल चीन सरकारले खासै महत्व नदिएको सडक विभागका उप महानिर्देशक सिग्देलले बताए ।
तीन लाखमा किनेको दरबारमा अर्बको हेरिटेज होटल, राणाकालिन दरबार बन्यो ४४ कोठे आधुनिक होटल
नक्साल स्थित तोरणसम्सेरको दरबारमा रहेको माया मनोर होटल काठमाडौं ३०, मंसिर । नेपालको पुरानो ऐनिहासिक दरबार धमाधम होटल बन्न थालेका छन् । याकएण्ड यति होटल दरबार मासेरै होटल बनाइएको थियो भने अहिले अर्को दरबार मासेर होटल बनाइएको छ । होटल व्यवासायी तथा केजीएच ग्र्रुपले पुरानो इतिहासलाई सम्झाउने गरी तोरणसम्सेरको एक सय वर्ष भन्दा पुरानो दरबारलाई माया मनोर होटल बनाएको छ । ग्रुपका अध्यक्ष कर्ण शाक्यका अनुसार नक्सालमा रहेको तोरणसम्सेरको दरबारलाई तीन लाख रुपैयाँमा खरिद गरेर अर्बको होटल बनाइएको छ । शाक्यका अनुसार दरबारमा भएको यो हस्पिटालीटी सेवा उनको सपनाको होटल पनि हो । दरबारकै संरचनालाई होटल बनाउँन मात्रै १५ करोड रुपैयाँ खर्च गरेको भएको शाक्यले बताए । ‘तोरणसम्सेर राणाको दरबारलाई मैले १९७५ मा किने र अहिले त्यसेमा हेरिटेज होटल संचालन गर्न थाले’ शाक्यले भने । राणकालिन यो दरबार सन् १९३० राणाकालिन सदस्य नै बस्थे । १९६० मा चिनियाँ राजदूत बसेको यो भवन सन् १९७५ मा शाक्यले किनेका हुन । सन् २००० मा जिमी कार्टरले यसमा कार्टर सेन्टर खडा गरेका थिए । अहिले जयनेपाल हलबाट बाँया तर्फको नक्सालतर्फको यो ऐतिहासिक भवनमा शाक्यको माया मनोर नामक होटल संचालन छ । जम्मा ३ रोपनी क्षेत्रफल रहेको यो होटलको जग्गामा ऐतिहासिक सम्पदाको जगेर्ना गर्दै गुणस्तरीय होटल संचालन गरेको शाक्यको दाबी छ । यो होटलमा जम्मा ४४ वटा कोठा रहेको छ । होटलको कोठा भाडा पनि जम्मा ९० डलर लिने गरिएको उल्ले छ । यो होटललाई हेरिटेजसहितको बुटिक भनिएको छ । बुटिकको विशेषता भनेको सानो भएपनि आकर्षक र नेपाली पनाको हो । यसमा इतिहास झल्काइएको छ । बुटिक होटल बढीमा ५० देखि ६० कोठा सम्मको मात्रै हुन्छ । विशेष गरी कुनै एउटा क्षेत्र र सम्पदाको थिम बुटिक होटलले बोकेको हुन्छ । माया मनोर पनि ऐतिहासिक महत्व बोकेको पुरानो बुटीक होटल भएको शाक्यको भनाइ छ । मेरो होटल सबै फरक विशेषताका छन् । शाक्यका अन्य हाटेल पनि फरक फरक विशेषतामा संचालन भइरहेका छन् । उनको लुम्बिनीको बुद्धमाया होटल धर्मावलम्बी पर्यटनको लागि हो । विशेष गरी यो होटल बुद्धिष्ट पर्यटकको लागि हो । पोखराको वाटर फ्रन्ट लेक साइटको लागि, हिमाल हेर्नेका लागि हिमालयन फ्रन्ट हो भने कन्फ्रेन्सका लागि पार्क भिलेज होटल हो । काठमाडौं गेष्ट हाउस टे«कर्सको लागि भएको शाक्यको होटल संचालन समूह केजीएचले जानकारी दिएको छ ।
कञ्चन डेभलपमेन्टको नौ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन, पुस १८ देखि माग २३ सम्म आवेदन दिन पाइने
काठमाडौं ३०, मंसिर । कञ्चन डेभलपमेन्ट बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित नौ लाख ९० हजार कित्ता हकप्रद शेयरको निष्कासन गरेको छ । यो बैंकले २ कित्ता सेयर बराबर १ कित्ता सयेर दिने गरी अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । १९ करोड ८० लाखको चुक्ता पूँजीमा नौ करोड ९० लाख रुपैयाँ थप गर्ने गरी बैंकले हकप्रद जारी गरेको हो । यो बैंकको हकप्रद सेयर खरिद गर्न आवेदन दिने सयम आगामी पुस १८ गतेबाट माग २३ गतेसम्म निर्धारण गरेको छ । मंसिर २९ गतेसम्म नेपाल स्टक एक्चेन्जमा अन्तिम कारोबार भएको सेयर धनीले पनि हकप्रद खरिद गर्ने सक्ने भएका छन् । कन्चनपुरमा केन्द्रीय कार्यालय रहेको यो बैंक नेपाल राष्ट्र बैंक ख वर्गको इजाजत प्राप्त बैंक हो । यो बैंकले सेयर निष्कासन बैंकको रूपमा माछापुच्छ्रे बैंक लिमिटेड बबरमहल, सिटिजन्स बैंक इन्टरनेशनल कमलादी र ग्लोबल आइएमई बैंक कमलादीलाई नियुक्त गरेको छ । यो बैंकको सेयर आवेदन दिन ग्लोवल आइएमई बैंक जमल यसका काठमाडौं बाहिरका सात शाखा तथा कन्चन डेभलपमेन्ट बैंकका सबै शाखाबाट दिन सकिने छ । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आईएमएई क्यापिटल लिमिटेड हो ।
माधव नेपालकी श्रीमती टर्कीमा २० घण्टा थुनिइन्, गायत्रीको पासपोर्ट नम्बर इन्टरपोलको कालोसूचीमा
काठमाडौं ३०, मंसिर । बीस दिन अघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमान ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी माधव नेपालकी पत्नी गायत्री उक्त घटनाको पीडाले अझै रन्थनिइरहेकी छन्। आफूमाथिको घटना संयोग या षड्यन्त्र जे पनि हुनसक्ने भन्दै उनले यथार्थ बाहिर नआएसम्म केही नबोल्ने बताएका छन् । मंसिर ११ देखि सुरु हुने वर्ल्ड पिस फाउण्डेसनको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पत्नी गायत्रीसहित ९ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । तर काठमाडौंबाट टर्कीसम्म सामान्य अवस्थामा पुगेकी गायत्रीले त्यहाँ भने निक्कै कष्ट ब्यहोर्नुपरेको थियो । गायत्रीको पासपोर्टमा सुरक्षा निकायले प्रश्न उठाएपछि उनले इस्तानबुलकै अध्यागमनमा २० घन्टा थुनिनुपर्यो। न्यूयोर्क उड्न विमानको प्रतिक्षा गर्दै इस्तानबुल विमानस्थलको बिजनेश कक्षमा बसुन्जेल गायत्रीलाई बाहिर आफ्नो खोजी भइरहेको छ भन्ने थाहा थिएन। गायत्रीको पासपोर्ट नम्बर इन्टरपोलको कालोसूचीमा रहेको देखिएपछि उनीमाथी टर्किस प्रहरीले शंका गरेको थियो । कुटनीतिक राहदानी बोकेको र आफू पूर्वप्रधानमन्त्री पत्नी भएको बताउँदा पनि अध्यागमनले छोड्न मानेको थिएन । तर नेपालको प्रहरी र अमेरिकास्थित दूतावासको सक्रियतामा इन्टरपोलमार्फत उनलाई क्लियरेन्स आएपछि २० घण्टापछि उनी अमेरिका उडेकी थिइन् । अन्नपूर्ण पोस्टबाट ।
राउटे बस्तीमा सबै किशोरी आमा, छोरी जन्मनेबित्तिकै कसैकी श्रीमती तोकिने १२ वर्ष नपुग्दै विहे
काठमाडौं ३०, मंंसिर । अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ । जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन् । ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन् । तर, उनीहरू सबै एकरदुई सन्तानका आमा बनिसकेका छन् । जनसंख्या व्यवस्थापनमा खासै चासो नराख्ने राउटे समुदायमा महिलाहरूले उमेर नपुग्दै विवाह गर्नुपर्ने बाध्यता परम्पराजस्तै बनिसकेको छ । ‘केटाहरू धेरै हुन्छन्,’ राउटेका महामुखिया महिनबहादुर शाहीले भने, ‘बिहे ९विवाह० गर्न वर्षौं कुर्नुपर्छ । तर पनि कत्ति केटाको त निकै मुस्किलले मात्रै पालो आउँछ ।’ केटी नपाउँदा धेरैजसो पुरुषको त ४० वर्ष काटेपछि मात्रै बिहे हुने गरेको उनको भनाइ छ । ‘केटी नपाउँदा धेरैजसो केटाको त ४० पार गरेपछि मात्रै लगन जुर्ने गरेको छ,’ महामुखिया शाहीले भने । पुरुष लामो समय कुर्नुपर्ने तर महिलाले भने १२ वर्ष पुग्नेबित्तिकै विवाह गर्नुेपर्ने बाध्यता परम्परा नै बनेको छ यो बस्तीमा । ‘महिलाले १२ वर्ष पुग्नेबित्तिकै बिहे गर्नुेपर्ने बाध्यता अहिले परम्पराजस्तै बन्न थालेको छ,’ किशोरी आमा किताब शाहीले भनिन् । शाहीका अनुसार छोरी जन्मनासाथ कसैको श्रीमती तोक्ने गरिएको छ राउटे समुदायमा । ‘छोरी जन्मिनेबित्तिकै कसैको श्रीमती बन्छे,’ उनले भनिन्, ‘कोसँग बिहे गर्ने भन्ने कुरा जन्मिएकै दिन टुंगो लगाइन्छ । उमेरको कुनै वास्ता हुन्न ।’ सानै उमेरमा बिहे गर्ने र छिट्टै आमा बन्नुपर्ने बाध्यताकै कारण कत्तिका सन्तान खेर गएका छन् भने कत्तिले अकालमा ज्यान गुमाएका छन् । त्यसरी ज्यान गुमाउनेको कुनै तथ्यांक नै छैन राउटे समुदायमा । उमेर पुगेर मात्र आमा बन्ने जन्मान्तरका लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने र प्रजनन स्वास्थ्यबारे खुलेर बहस गर्ने राउटे महिलाहरूको चाहना छ । तर, पुरुषहरू त्यसो गर्न मान्दैनन् । जसका कारण परिपक्व भएर सन्तान जन्माउने र सुरक्षित रूपमा सुत्केरी हुने उनीहरूको रहर अधुरै रहने गरेको छ । राजधानी दैनिकबाट ।
भारतले नेपालमा साना दरका नोटसमेत नदिने, भारु संकट गहिरिदैँ
काठमाडौं ३०, मंसिर । भारत सरकारले नेपालमा थप भारतीय रुपैयाँ (भारु) नदिने भएको छ। गत कात्तिक २४ मा पाँच सय र एक हजार दरका ठूला भारु नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएपछि भारु संकट गहिरिने भएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि थप भारु दिन नसकिने जानकारी गराएको जानकारी दिए। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भारुको मौज्दात र आपूर्ति व्यवस्थाका सम्बन्धमा चासो राखेपछि गभर्नर नेपालले तत्काल थप भारु नआउने स्पस्ट पारेका हुन्। अर्थमन्त्री महरा बुधबार राष्ट्र बैंकको निरीक्षण भ्रमणमा गएका थिए। भारतमा ठूला दरका भारु प्रतिबन्धसँगै नेपालमा पनि ती नोटमा प्रतिबन्ध लागेको छ। भारतमा पुस १६ सम्म सर्वसाधारणलाई ठूला दरका नोट साट्ने समयावधि दिइए पनि नेपालमा भएका यस्ता नोटको अवस्था के हुने भन्ने बारेमा कुनै निर्णय भएको छैन। सरकार र राष्ट्र बैंक भारतको निर्णय कुरेर बसेका छन्। तर, भारतले भने नेपालमा ठूला दरका नोट साट्न दिने वा नदिने भन्नेमा कुनै संकेत गरेको छैन। नेपालको अधिकांश व्यापार भारतसँग हुने र उपचारलगायतका गतिविधिमा भारुको अधिक प्रयोग हुने भएकाले सीमा नाका र मुलुकका विभिन्न भागमा तोकिएको विनिमय दरभन्दा बढीमा भारु सटही हुने गरेको छ। अर्थमन्त्री महरालाई गभर्नर नेपालले देशको ढुकुटी राख्ने ठाउँ भत्केकाले चाँडै बनाउनुपर्नेमा जोड दिएका थिए। तर, सरकारी संरचनाको पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने भएकाले अर्थ मन्त्रालयले खासै केही गर्न सक्ने स्थिति छैन। कारोबार दैनिकबाट ।