नेपालको रेल वे सञ्जाल-चीन-यूरोप हुँदै भारतसम्म, बिरगञ्ज-रसुवागढी रेल वे भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्ग
काठमाडौं, २९ मंसिर । यतिबेला नेपालले आन्तरिक रेल वे नेटवर्कको विस्तारलाई महत्व दिएर तराईमा पूर्व–पश्चिम रेल मार्गको निर्माण गरिरहेको छ भने रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज जोड्ने रेल वेको सम्भाव्यता अध्ययन पनि अघि बढाइरहेको छ । झट्ट हेर्दा आन्तरिक रेल वे सञ्जाल विस्तार गर्न लागिएको जस्तो देखिए पनि यो नेटवर्कले नेपाललाई यूरोपसम्म पुर्याउँछ । नेपालले पूर्व काकडभिट्टादेखि पश्चिमको गड्डाचौकीसम्म निर्माण गर्ने ९४५ किलोमिटर लामो रेल मार्ग र रसुवागढी–काठमाडौं रेलमार्ग तथा काठमाडौं हुँदै बिरगञ्ज जोडिने रेल मार्गको परिकल्पनाले सिंगो संसारसँग नेपालको रेल वे सञ्जाल जाेड्ने छ । काकडभिट्टाबाट सुरु भएर गड्डा चौकी पुग्ने रेल वेले नेपालाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ मुलुकसँग जोड्ने छ । यो रेल वे लाइन सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश, भारत हुँदै काकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ भने गड्डा चौकीबाट पुनः भारत प्रवेश गरेर पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्किबाट युरोप प्रवेश गर्नेछ । यो नेटवर्कमा यी मुलुक बाहेक रसिया, अर्मेनिया, अजरवैजान, कोलम्बिया, चीन, इण्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरिया, ताजिकिस्तान, भियतनाम र उज्वेकिस्तान लगायतका मुलुक पनि समेटिन्छन् । अर्कातिर नेपालले बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनको प्रारम्भिक सम्भाव्यता अध्ययनको तयारी गरिरहेको छ । यो रेल वे लाइन चीन–युरोप रेल वे लाइन हुँदै साइबेरियन रेल वे नेटवर्कसम्म जोडिन्छ । जसले नेपाललाई चीन, मंगोलिया, रसिया हुँदै युरोपसम्म पुर्याउँछ । यो रेल वे नेटकर्वकलाई आइरन शिल्क रोड अर्थात फलामको शिल्क रोडका रुपमा पनि हेर्ने गरिएको छ । यसरी दुई तिरबाट युरोपसम्म जोडिने रेल सञ्जालले नेपाललाई लगानीको उपयुक्त गन्तव्यका रुपमा स्थापित गराउन सक्नेछ । नेपालमा औद्योगीकरण, पर्यटन प्रवद्र्धनका साथै कृषिमा आधुनिकीकरणको सम्भावनालाई पनि बढाउँछ । बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनलाई भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा हर्ने गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय बताउँछन् । ‘बिरगञ्जबाट काठमाडौं हुँदै चीन भएर रसिया पुग्ने रेल लाइनले भारत र रसियालाई जोड्छ जसले नेपालमा लगानीको सम्भावनालाई पनि बढाउँछ’, उपाध्यायले भने । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा विस्तार गर्न लागिएको रेल वे सञ्जालले रणनीतिक महत्व राख्ने बताए । ‘रसुवागढीको रेल चिन, मंगोलिया हुँदै रसियासम्म जान्छ । केरुङबाट चीन युरोप रेल वे सर्भिस हाम्रा लागि उपयुक्त हो’ डा. आचार्यले भने । ९ हजार २ सय ८९ किलोमिटर लामो ट्रान्स एसियन रेल वे लाइनले पनि नेपाललाई विकासको मार्गमा संसारसँगै कुदाउने उप महानिर्देशक उपाध्याय बताउँछन् । पानी जहाजबाट समान ढुवानी गर्दा दुई महिना लाग्ने दुरी रेल मार्गबाट एक हप्तामै पार गर्न सकिने उनले दावी गरे । उनका अनुसार नेपालले निर्माण सुरु गरेको पुर्व पश्चिम रेल वेको क्षमता प्रति घण्टा २०० किलोमिटरको हुनेछ । ‘हामीले सिंगल लेनको रेल वे निर्माण गरिरहेका छौं, त्यसमा प्रति घण्टा २०० किलोमिटर स्पिड कायम हुन्छ, जुन अन्तराष्ट्रिय स्तरकै हो’, उपाध्यायले भने । विभागले हाल बर्दिबास–बुटवल खण्डको २०० किलोमिटरमध्ये बर्दिबास–सिमराको १०८ किलोमिटर क्षेत्रमा २५ किलोमिटरको काम अघि बढाएको छ । सो रेल मार्ग निर्माणका लागि प्रति किलोमिटर औसत लागत ४५ करोड लाग्ने प्रक्षेपण अनुसार काम भैरहेको छ ।
सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस र १९ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं, २९ मंसिर । सिद्धार्थ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले ३० प्रतिशत बोनस पश्चात १९ दशमलब २३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २२ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।
सेलीव्रेटी मन्त्री गगन थापाको सम्पत्ति कत्ति ?
काठमाडौं, २९ मंसिर । सेलिव्रेटी मन्त्रीको उपमा पाएका स्वास्थमन्त्री गगनकुमार थापाको सम्पत्ति कत्ति होला, तपाईले अनुमान गर्न सक्नु हुन्छ ? सवैको केन्द्रविन्दुमा रहेका स्वास्थ मन्त्री गगन कुमार थापाको सम्पत्ति बुधबार सरकारले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा मन्त्री थापाको नाममा विभिन्न कम्पनीमा ६ लाख ८७ हजार कित्ता सेयर रहेको छ भने एभरेष्ट बैंकमा चार हजार मात्र नगद रुपैया रहेको छ । त्यस्तै उनको घरमा पाँच हजार रुपैयाँ मात्र नगद मौज्दात रहेको छ । बाँकी सम्पत्ति भने उनकी पत्नि डा.अन्जना केसी थापासँग रहको देखिन्छ । उनकी श्रीमतिसँग १६ तोला सुन, २०० तोला चादी र केही हिराका गहना रहेको छ । जुन उनकी श्रीमतिले पेवा, दाइजो र स्वआर्जनबाट कमाएकी हुन्, विवरणमा उल्लेख छ । त्यस्तै श्रीमतिको नाममा हिमालयन बैंक र नविल बैंकमा गरी २० लाख १७ हजार नगद रहेको छ । त्यस्तै श्रीमतिको नाममा विभिन्न कम्पनीको एक लाख १३ हजार ९ सय कित्ता सेयर छ जुन मन्त्री थापाले श्रीमतिले स्वआर्जन गरेको दावी गरेका छन् । उनकी छोरी गार्गी ए थापाको नाममा मेगा बैंकमा एक लाख ३१ हजार नगद र विभिन्न कम्पनीको सेयर ७ हजार एक सय कित्ता रहेको थापाले जनाएको छ । त्यस्तै छोरी गार्गीको नाममा थापाले चार लाख बराबरको नेपाल सरकारको बचत पत्रमा लगानी गरेका छन् । मन्त्री थापाले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा उनले अहिले भोगचलन गरेको सम्पत्ति वुवा, आमा, छोरी र पत्नीको नाममा रहेको बताएका छन् । उनको ऋण भने एक रुपैयाँ पनि देखिएको छैन । उनको पिता महेन्द्रकुमार थापाले बुद्धिबहादुर थापालाई पाँच वर्षमा फिर्ता गर्ने गरी १५ लाख रुपैयाँ सापटी लिएका छन् भने एक वर्षमा तिर्नेगरी घरखर्चका लागि पाँच लाख रुपैयाँ सापटी लिएका छन् ।
जनता बैंकको ३८औं शाखा झापा जिल्लाको दमकमा
काठमाडौं, २९ मंसिर । जनता बैंक नेपालले झापा जिल्लाको दमकमा ३८औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको दमक शाखाको उद्घाटन बुधबार एक समारोहकाबीच बैंकको सञ्चालक केशवबहादुर रायमाझीले गरेका छन् । गत आर्थिक बर्षमा बैकले ३२ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । हाल बैंकले ३८ वटा शाखाहरु, ३० वटा ए.टि.एम, १५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहक वर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
नेपालका श्रम संगठनहरुसँग सहकार्य गर्न तयारः आईएलओ
काठमाडौं, २९ मंसिर । अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले नेपालका ट्रेड युनियनहरुको छाता संस्था जेटीयुसीसीसँग अन्तर्राष्ट्रियस्तरमा सहकार्य गरेर अघि बढ्न सक्ने जनाएको छ । आगामि दिनमा नेपाली मजदुर संगठनहरु संयुक्त रुपमा अगाडि बढे अन्तर्राष्ट्रिय स्तरमै सहकार्य गरेर बढ्न सकिने जनाएको हो । नेपालका १० वटा ट्रेड युनियन महासंघको छाता संस्था संयुक्त ट्रेड युनियन सम्मेलन केन्द्र (जेटियुसीसी)को श्रम संसद बैठकको उद्घाटन गर्दै आईएलओका महानिर्देशक गाई राईडरले आगामि दिनमा नेपाली मजदुर संगठनहरु संयुक्त रुपमा अगाडि बढे सहकार्य गरेर बढ्न सकिने धारण राखे । राईडरले आईएलओलाई साथीका रुपमा सहकार्य गर्न आग्रह गरे । उनले नेपाली मजदुर संगठनहरु मिलेर संयुक्त रुपमा अगाडि बढ्नु प्रशंसनीय कार्य भएको भन्दै अन्तर्राष्ट्रियस्तरमा अरुले नेपालबाट पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले सरकारले ल्याएको श्रमिकबिरोधी कानुनको बिरोध गर्दै विबिधतामा एकता भन्ने नारासहित श्रमिकका पक्षमा संधै एकताबद्ध भएर लागिपर्ने बताए । यस्तै जेटीयुसीसीका संस्थापक अध्यक्ष विष्णु रिमालले श्रमशक्ति विशेष शक्ति भनेर राज्यले बुझ्नुपर्ने भन्दै राज्यले आईएलओ अभिसन्धी नाघेर गरिएका कार्यहरुका विषयमा आफुहरुले आईएलओमा मुद्धा दायर गर्ने बताए । कार्यक्रममा जेटीयुसीसीका आगामि अध्यक्ष शालिकराम जम्कटेलले श्रमिकका सामाजिक सुरक्षाका विषयलाई विशेष महत्वमा राख्नुपर्ने भन्दै राजनीतिक विकाससँगै आर्थिक विकास र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अहिले मजदुरका अधिकारका पक्षमा आवाज बुलन्द पार्दै जानुपर्ने र यसमा सबैको साथ रहने उनको भनाई थियो । बैठकले आगामि एकवर्षे कार्यकालका लागि शालिकराम जम्कटेललाई जेटीयुसीसीको अध्यक्षमा चयन गरिएको छ । जेटीयुसीसीका अध्यक्ष खिलानाथ दाहालले लोगो हस्तान्तरण गर्दै जम्कटेललाई आगामि कार्यकालको अध्यक्ष घोषणा गरेका हुन् । आगामि जनावरी देखि नवनिर्वाचित अध्यक्ष जम्कटेलले कार्यभार सम्हाल्नेछन् ।
नेपाल बङ्गलादेश बैंकको ३५ औं शाखा मोरङ्गको कर्सियामा
काठमाडौं, २९ मंसिर । नेपाल बङ्गलादेश बैंक लिमिटेडले मोरङ्ग जिल्लाको कर्सियामा आफ्नो ३५ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक अरुण श्रेष्ठले गरेका थिए । हाल बैंकले कर्सिया शाखा सहित ३५ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको बैंकले जनाएको छ । सोही अवसरमा नेपाल बङ्गलादेश बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ्ग जिल्ला, सरोभाग गा.वि.स. कर्सिया स्थित श्री शारदा मा. वि. लाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ । सो सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाद्वारा हस्तान्तरण गरिएको छ । बैंकको आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब र कुल कर्जा ३४.२७ अर्ब परिचालन गरेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेण्ट बैंक एक्विजिसन गर्ने
काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई बैंकको विशेष साधारणसभाले प्यासिफिक डेभलपमेण्ट बैंकलाई एक्विजिसन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न बैंकको विशेष साधारणसभाले सो निर्णय गरेको हो । प्यासिफिक डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १३ करोड रुपैयाँ छ । डिडिए प्रतिबेदनका आधारमा प्यासिफिक डेभलपमेण्ट बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९ दशमलब २६ कित्ता शेयर दिने गरी शेयर स्वाप रेसियो तय गरिएको छ । प्यासिफिक डेभलपमेन्ट बैंक प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ६अर्व २५करोड ६३लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । एक्विजिसज सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिई यही पुस १५ गते भित्रमा एकिकृत कारोवार गर्ने लक्ष रहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ग्लोबल आईएमई बैंकले असोज मसान्तसम्ममा ८१ अर्व निक्षेप र ६९ अर्व रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको हाल ९१ वटा शाखाहरु, ९ वटा सरकारको राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा १ वटा सि.डि.एस.काउण्टर रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
दूध बिक्रीबाट मासिक अठार लाख आम्दानी
पोखरा, २९ मंसिर । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे बनेका छन् । पालुङटार नगरपालिका–३ च्याङ्लीमा रहेको कामधेनु गाईपालन केन्द्रबाट दैनिक तीन हजार ५०० लिटर दूध बिक्री गर्दै आएका उनले एक वर्षको अवधिमा केन्द्रको अवलोकन गर्न आएका चार सयवटा समूहबाट टिकट काटेबापत चार लाख रुपैयाँ अतिरिक्त आम्दानी गरेका छन् । समूहगत रुपमा अवलोकन गर्न आउनेबाट एक हजार शुल्क लिने गरेका छन् । “अवलोकन गर्न कृषि सहकारीबाट बढी मात्रामा आउने गरेका छन्,” पाण्डेले भने । गाईपालन केन्द्रमा अघिल्लो वर्ष अवलोकन गर्न दुई हजार ५०० जना आएका थिए । दूध बिक्रीबाट भन्दा अवलोकन गर्नआएकाहरुबाट प्राप्त आम्दानीबाट बढी सन्तुष्टि मिलेको उनको भनाइ छ । विसं २०५२ मा सातवटा उन्नतजातका गाईबाट व्यवसाय सुरु गरेका पाण्डेको गाईकेन्द्रमा हाल २८० वटा गाई रहेका छन् । उनको गोठमा रहेका एक सय २५ गाई दुधालु रहेका छन् । “दैनिक तीन हजार ५०० लिटर दूध उत्पादन हुन्छ, मासिक करिब रु १८ लाख आम्दानी हुन्छ,” उनले भने । केन्द्रमा हाल २० जना स्थायी तथा १० जना ज्यालादारीका कर्मचारी रहेका छन् । उनले चिस्यान केन्द्र समेत स्थापना गरेका छन् । हालसम्म उनले ६ करोड रुपैयाँ लगानी गरिसकेका छन् । उनले ४०० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस उत्पादन गरेका छन । रासस