विकासन्युज

धुवाँधुलोको राजधानी, उपत्यकावासीको मृत्युको पहिलो कारक प्रदूषित वायु बन्ने चेतावनी

काठमाडौ २ पुस, असरल्ल फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धुलोबाट प्रदूषित वायुका कारण दिक्कलाग्दो दैनिकी बनेको उपत्यकावासीको स्वास्थ्यमा समेत घातक असर पर्न थालेको छ। नियन्त्रणका लागि प्रभावकारी कदम नचालिए उपत्यकावासीको मृत्युको पहिलो कारक प्रदूषित वायु नै बन्ने चेतावनी चिकित्सकले दिएका छन्। कठ्याङग्रिँदो मौसमसँगै अत्यधिक धुलोधुँवा सामान्य मास्क र चस्माले छेक्न नसक्ने भएको छ भने कपडा, अनुहार, शरीर र कपालसमेत कुरूप बन्दै गएको छ। धोएको कपडासमेत सफा लगाउने मौका कमैले पाउन थालेका छन्। धुवाँधुलोले अनावश्यक पानी र साबुनसमेत खर्च गर्न बाध्य अधिकांशको समय सडकमा पानी छ्याप्न, पसल वा घरका सामग्रीमा टाँसिएको धुलो पुछ्नै बित्न थालेको छ। महत्वपूर्ण काम गर्न नपाउँदा तनावग्रस्त बन्न थालेको छ उनीहरूको जीवन। तनावसँगै अनेकौं घातक रोग देखापर्न थालेका छन्। धुवाँधुलोका कारण अत्यधिक प्रदूषित कार्बनले बटुवामात्र होइन, घरमै बस्नेमा पनि रुघाखोकी, एलर्जी, दिक्दारी, कामको लगावमा कमी, थकाइ लाग्ने, अनुहारमा दाग आउने, कालोपोतो र डन्डीफोर आउने, कपाल सुक्खा हुने र झर्ने, छाला फुस्रो हुनेलगायत समस्याबाट ग्रसित हुनु नियति नै बनिसकेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ प्राध्यापक डा.करवीरनाथ योगी उपत्यकाको धुवाँधुलोले मानिसको सौन्दर्यसँगै स्वास्थ्यमा समेत घातक असर पारेको र यसले धेरैको ज्यान लिने क्रम बढेको बताउँछन्। उनका अनुसार चिसोयाममा धुलोका कण वातावरणमै रहने र त्यो विभिन्न माध्यमबाट मानिसले खाँदा फोक्सोमा पुगी अनेकौं किमिसका असर उत्पन्न भएर जाँचका लागि आउने बिरामीको संख्या निकै बढेको छ। ‘सडक चौडा गराउँदा, भूकम्पले घर भत्काउँदा तथा त्यसको उत्खनन गर्दा निस्किएको धुलो, थोत्रा सवारीसाधनले फालेको धुवाँले प्रदूषित बनेको हावा कुनैकुनै माध्यमबाट खाँदा उत्पन्न अनेक जटिलता लिएर अस्पताल आउने बिरामीको संख्या विकराल छु, डा।योगीले भने, ‘धुलोधुवाँ नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन सकिएन भने यसैको जटिलताबाट ज्यान गुमाउनेको संख्या भयानक हुनेछ। उनको अनुभवले धुलोधुवाँका कारण पछिल्लो पाँच वर्षयता श्वाप्रश्वासका बिरामी अत्यन्तै बढेको बताउँछ। श्वासप्रश्वासमध्ये पनि सबैभन्दा बढी र जीवनभर अपांगजस्तै बनाउने सीओपीडी (चुरोट र अन्य धुवाँले बनाउने दम)को अवस्था भयानक छ। निमोनिया, दम बिग्रिएर क्यान्सर भएका र मुटु सुन्निनेको संख्या पनि बढ्दो छ। वीर अस्पतालका कन्सल्टेन्ट मेडिसिन प्राध्यापक डा.मनेन गोरखाली पनि धुवाँधुलोले उपत्यकावासीमा घातक असर पर्न थालेकोमा सहमति जनाउँछन्। ‘धुवाँधुलोले श्वासप्रश्वासँग सम्बन्धित बिरामीमात्र बढेका छैनन् यहाँ छाला र आँखामा गम्भीर समस्या लिएर आउने पनि बढेका छन्ु, गोरखाली भन्छन्, ‘विकिरणसहितको धुवाँधुलोले कामकाजी महिलाको महिनाबारीमा गड्बडी हुने, बच्चा खेर जानेलगायत प्रजनन प्रणालीमै नकारात्मक असर पर्न थालेको छ। पाटन अस्पताल मेडिसिन विभागका प्रमुख प्राध्यापक डा। ज्ञान कायस्थले पनि धुवाँधुलो सहरवासीको मृत्युको प्रमुख कारण बन्नसक्ने चेतावनी दिएका छन्। ‘जुन रूपमा शरीर नै ढाकिने गरी सहरमा धुलोधुवाँ बढेको छ त्यसले मानव स्वास्थ्यमा गम्भीर असर गरेको पाइन्छु, उनले भने, ‘यसमा सबै सरोकारवाला सचेत हुनुपर्ने देखिन्छ। अन्नपूर्ण पोस्ट दैनिकबाट ।

प्रोस्टाइल म्यानहण्ट इण्टरनेशनलको ग्राण्ड फिनाले भोली हुँदै

काठमाडौं, १ पुस । प्रोस्टाइल म्यानहण्ट इन्टरनेशनलको ग्राण्ड फिनाले भोली शनिवारका दिन काठमाडौंमा हुने भएको छ । डाबर नेपालको उत्पादन प्रोस्टाइल तेलले प्रायोजन गरेको कार्यक्रमको फाइनलमा म्यानहण्ट इण्टरनेशनल नेपाल २०१६ को विजेता घोषणा गर्ने कम्पनीले बताएको छ । शनिबार हायत रिजेन्सिमा  हुने कार्यक्रमबाट अन्तिम स्पर्धामा छानिएका १५ जनामध्ये एक जनाले प्रोस्टाइल म्यानहण्ट इण्टरनेशनल नेपाल २०१६ को उपाधि जिती २०१७मा हुने म्यानहण्ट इण्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीले बताएको छ ।

वार्षिक सेयर कारोबार १५० प्रतिशतले वृद्धि, नेप्सेको नाफा १२८ प्रतिशतले बढ्यो, सेयरधनीलार्इ ५० प्रतिशत नगद लाभांश

काठमाडौं, १ पुस । गत आर्थिक वर्षमा सेयर कारोबार १५० प्रतिशतले वृद्धि हुँदा नेपाल स्टक एक्सचेञ्जको नाफा १२८ प्रतिशतले वृद्धि भएको छ । नेप्सेले आर्थिक वर्ष २०७१/७२ मा २१ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेकोमा २०७२/७३ मा रु.४८ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । लेखापरिक्षण प्रतिवेदनअनुसार नेप्सेले आ.व. २०७१/७२ मा रु. ३८ करोड २६ लाख आम्दानी गरेकोमा आ.व. २०७२/७३ मा रु. ७८ करोड ३४ लाख आम्दानी गरेको छ । गत विहीबार सम्पन्न नेप्सेको ३५ औं वार्षिक साधारणले आर्थिक वर्ष २०७२/७३ को ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७१/७२ मा ६५ अर्ब ३३ करोड बराबरको धितोपत्रहरुको कारोबार भएकोमा आर्थिक वर्ष २०७२/७३ मा १५०.९६ प्रतिशतले वृद्धि भई १६३ अर्ब ९५ करोड बराबरको कारोबार भएकोले नेप्सेको नाफामा वृद्धि भएको हो । दैनिक औसत कारोबार अघिल्लो आर्थिक वर्षमा ३० करोड २८ लाख रहेकोमा गत आर्थिक वर्षमा वृद्धि भई दैनिक ७० करोड ६६ लाख पुगेको छ । आ.व. २०७१/७२ मा ४ लाख ७७ हजार २ सय ७८ वटा कारोबारबाट १५ करोड ९७ लाख १७ हजार एक सय ७४ कित्ता शेयर खरिद बिक्री भएकोमा आ.व. २०७२/७३ मा ८ लाख ३१ हजार ९ सय ९७ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार ९ सय ५०कित्ता शेयर खरिद बिक्री भएको छ । अघिल्लो आ. व. को तुलनामा आ.व. २०७२/७३ मा कारोबार संख्यामा ७४.३२ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको शेयर कित्तामा ८९.०९ प्रतिशतले वृद्धि आएको छ । आ.व. २०७१÷७२ मा रु. ९ खर्ब ८९ अर्ब रहेको बजार पुँजीकरणमा ९१.०३ प्रतिशतले वृद्धि आई आ.व. २०७२/७३ मा रु. १८ खर्ब ९० अर्ब कायम भएको छ । गत आ.व. मा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २३२ रहेकोमा आ.व. २०७२/७३ मा थप १५ वटा कम्पनी सूचीकृत भएका छन् भने १८ कम्पनीहरु मर्ज तथा प्राप्ती भई यो संख्या २२९ कायम भएको छ । समीक्षा वर्षमा १२८ कम्पनीको रु. २१ अर्ब २ करोड बराबरको बोनस शेयर एवम् २८ कम्पनीको रु. ३ अर्ब ७४ करोड ७७ लाख बराबरको हकप्रद शेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ । नेप्से परिसूचक आ.व. २०७१/७२ को अन्त्यमा ९६१.२३ पुगेको थियो भने समीक्षा वर्षको अन्त्यमा १७१८.१५मा आइपुगेको थियो । उक्त परिसूचक अघिल्लो आ.व.को तुलनामा आ.व. २०७२/७३ मा ७८.७४ प्रतिशतले बढेको छ ।

फोर्स मोटर्सको नयाँ सोरुम जनकपुरमा

काठमाडौं, १ पुस । फोर्स मोटर्स लिमिटेड इन्डियाले आफ्नो नयाँ सोरुम जनकपुरमा सञ्चालनमा ल्याएको छ । उक्त सोरुम स्थानीय विक्रेता सिद्धान्त अटोमोबाइल्स इन्टरप्राइजेजमार्फत सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सोरुमबाट फोर्स मोटर्सका ट्रयाक्स क्रुजर जिप, ट्रयाक्स कार्गो किङ (पिकअप), ट्रम्प ४०, बलवान ट्रयाक्टरलगायतका गाडी उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले यसभन्दा अघि काठमाडौंको गैरीधारा, पोखराको बुद्धचोक, झापाको बिर्तामोड, विराटनगरको कञ्चनबारी, राजविराजको रामानन्दचोक र चितवनको भरतपुरमा शोरुम संचालनमा ल्याइसकेको बताएको छ ।

नेप्से परिसूचक ७.२६ अंकले बढेपनि कारोबार रकममा भने ४१ प्रतिशत गिरावट

काठमाडौं, १ पुस । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.२६ अंकले बढेर अन्तिम दिन १५३०.०६ अंकमा पुगेको छ । बजारमा परिसूचक बढेता पनि कारोबार भने अझै बढ्न सकेको छैन । साताभर जम्मा एक अर्ब ९३ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा चार दिन कारोबार भएको बजारमा १५६ कम्पनीको ३१ लाख २६ हजार चार सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४१ दशमलब १५ प्रतिशत कम हो । गत साता १५४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३३२१ कारोबारबाट तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार रुपैयाँ बराबरका ४२ लाख ९८ हजार दुई सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताभर सेयर बजारमा उतारचढाव आएको छ । बजारमा उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८४ दशमलब २५ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक, बाणिज्य बैंक र जलविद्युत समूहको परिसूचक क्रमशः २०.७५, ८.६२, ४.७३ र ६.३३ अंकले बढेको छ । वित्त समूह र अन्य समूहको परिसूचक क्रमशः ३.५९ र २.९ प्रतिशतले बढेको छ । उत्पादमूलक समूहको परिसूचक ८ दशमलब ४२ अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.४२ अंकले बढेर ३३१.०० अंकमा आईपुगेको छ । यस साता सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । बैंकको ३० करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसैगरी एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ को दुई लाख १० हजार कित्ता सेयर कारोबार भएको छ ।

राष्ट्र बैंकद्धारा खाद्य पदार्थको मुल्यबृद्धि ह्वात्तै घटेको तथ्यांक सार्वजनिक

काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले खाद्य बस्तुहरुको मुल्यबृद्धि ह्वात्तै घटेको दावी गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा खाद्य बस्तुको मुल्यबृद्धि २.६ प्रतिशतमा सिमित रहेको दावी गरेको छ । तर बजारमा खाद्य पदार्थको मुल्य बृद्धि भने दोहोरो अंक भन्दा माथि नै रहेको विभिन्न निकायहरुले सार्वजनिक गरिरहेका छन् । गत वर्ष भारतले गरेको नाकाबन्दी र भूकम्पको असर मुल्यबृद्धिमा पर्दा मुल्यबृद्धिर बढेको थियो तर यस वर्ष सामान्य भएकोले मुल्उबृद्धिमा चाप नभएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्यबस्तुको मुल्यबृद्धि १२.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले दावी गरेको थियो तर आर्थिक पत्रकार समाज (सेजन) ले गरेको एक अध्ययन मा खाद्य पदार्थको मुल्उय बृद्धि २४ प्रतिशत सम्म रहेको तथ्य सार्वजनिक भएको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खाद्य पदार्थ अन्तर्गत घ्यू तथा तेलको मुल्यबृद्धि १९.८ प्रतिशतले बढेको छ भने दलहन तथा गेडागुडीको मूल्य २.३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा क्रमशस्४१.१ र ४४.१ प्रतिशतले बढेको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा दुग्धजन्य पदार्थ तथा अण्डा ३.१ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११.९ प्रतिशतले बृद्धि भएको थियो । त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको १.५ प्रतिशतले मात्र मुल्य बृद्धि भएको छ । सो को मुल्यबृद्धि गत वर्षको सोही अवधिमा ९.४ प्रतिशतले बृद्धि भएको थियो । त्यसैगरी फलफूल र मासु तथा माछा तर्फ ३.२ र ३.९ प्रतिशतले बृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । गत वर्षको सोही अवधिमा फलफुल र मासु तथा माछा तर्फ १०.२ र ९.६ प्रतिशतले बृद्धि भएको थियो ।

नौ जिल्लामा बन्दै छन् ४० वटा स्वास्थ्य संस्थाका नयाँ भवन, हेरौँ कुन कुन जिल्लामा?

हेल्थपोष्टको फाइल तस्बिर बैतडी, १ पुस । सुदूरपश्चिमका नौ जिल्लामा स्वास्थ्य संस्थाका ४० वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले आवश्यकता पहिचान गरी सुदूरपश्चिमका ४० वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि स्वीकृति दिएपछि सो सम्बन्धी प्रक्रिया अगाडी बढाएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी बन्दना भट्टले राससलाई जानकारी दिए। उनले विभिन्न जिल्लामा अस्पताल, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित चिकित्सक आवास गृहसमेत निर्माण गर्न लागिएको बताए। सूचना अधिकारी भट्टका अनुसार नयाँ भवन निर्माण हुनेमा एउटा कर्मचारी आवासगृह, एउटा अनमी आवासगृह, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चारवटा बर्थिङ युनिट र ३३ वटा स्वास्थ्यचौकी रहेका छन् । ती मध्ये सबैभन्दा बढी बैतडीमा नयाँ भवन निर्माण हुन लागेका हुन् । बैतडीको आमचौरा, शिवलिङ, सिगास, पञ्चेश्वर, रोडिदेवल, विशालपुर र गिरेगडा, शिखरपुर, महारुद्र, गुरुखोला, बासुलिङ र हाट गरी १२ वटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने उनले बताए । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार डोटीको काडामाडौँ, तिखात्तर, मुडेगाँउ, बगलेक, मान्नाकपाडी, कफल्लेकी, बाझँककानी र बर्छैन् देवली गरी आठवटा स्वास्थ्यचौकी, अछामको बैजनाथ र ढकारी स्वास्थ्यचौकी र बझाङको भामचौर, भमेना, मटेला, पारकाट्ने रकफलसेरी गरी पाँचवटा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण हुने छन् । यसैगरी डडेल्धुराको शीर्ष र कोटेली स्वास्थ्यचौकी, बाजुराको जुगाड र गुदुखाती स्वास्थ्यचौकी, कैलालीको फूलवारी स्वास्थ्यचौकी, कञ्चनपुरको त्रिभुवनबस्ती स्वास्थ्यचौकी तथा दार्चुलाको हिकिला स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने छन् । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका ती संस्थाका भवन सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत निर्माण हुनेछन् । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका ३४५ वटा नयाँ स्वास्थ्य संस्थाका भवन निर्माणका लागि छनोट गरेको हो ।रासस

मुस्ताङमा परीक्षण हुँदैछ हावाबाट विजुली, एक मेगावाट उत्पादन हुने

काठमाडौं, १ पुस । मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’का विज्ञान प्रविधि सल्लाहकार डा रवीन्द्र ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वायु ऊर्जा विभाग प्रमुख सन्तोष राई, एभरेष्ट बिन प्राली र दक्षिण अफ्रिकाका प्रतिनिधिको संयुक्त अध्ययन टोलीले केही दिन पहिले मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा तत्काल एक मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन तयार पारेको थियो । विश्वभर चलनचल्तीमा रहेको प्रविधिभन्दा दक्षिण अफ्रिकाको प्रविधि नेपालका लागि योग्य हुनसक्ने परीक्षणको क्रममा थाहा भएको सल्लाहकार डा ढकालले बताए । हाल उपलब्ध प्रविधि ६ मिटर प्रतिसेकेन्डभन्दा बढी बेगमा हावा चलेमा बन्द हुने र विद्युत् उत्पादन गर्न नसक्ने रहेको छ । तर दक्षिण अफ्रिकाको प्रविधि भने प्रतिसेकेन्ड ७.५ मिटरभन्दा बढी बेगमा समेत विद्युत् उत्पादन गर्न सक्ने रहेको छ । मुस्ताङमा जुनसुकै मौसममा पनि उलेख्य मात्रामा हावा चल्ने भएकाले वायु ऊर्जाको लागि सो स्थान धेरै पहिलेदेखि चर्चामा रहेको भए पनि काम अगाडि बढ्न सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले २५/२५ किलोवाट क्षमताको दुईवटा टर्वाइन राखेर विद्युत् उत्पादन गरेपनि हावाको बेग सहन गर्न नसक्ने पङ्खा जडान गरिएका कारण सो प्रणाली हाल बन्द छ । मुस्ताङको कागबेनी, मार्फा, मुक्तिनाथ, माथिल्लो मुस्ताङका जुनसुकै स्थानमा समेत वायु ऊर्जा प्रणाली जडान तथा विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । सन् २००८ मा संयुक्त राष्ट्रसङ्घले गरेको अध्ययनअनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् वायु ऊर्जामार्फत उत्पादन गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्रै ७०० मेगावाटको सम्भावना छ । सबैभन्दा बढी सम्भावना मुस्ताङमा देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले पनि मुस्ताङमा १० मिटर प्रतिसेकेन्ड हावा लाग्ने प्रशस्त स्थान रहेका छन् । प्रचलनमा रहेका प्रविधिअनुसार एक रोपनी जग्गामा पाँच सय किलोवाट वायु ऊर्जा उत्पादन गर्न सकिन्छ । तर अफ्रिकाको नयाँ प्रविधिबाट सोही क्षेत्रमा एक मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । सो प्रविधिअनुसार एउटा टर्वाइनबाट ३।५ किलोवाट विद्युत् उत्पादन गर्न सकिन्छ । नेपालमा वायु ऊर्जाको सम्भावना भए पनि विद्युत् खरिद दर, लगानीको वातावरण तथा सरकारको सहजीकरणको अभावमा उल्लेख्य मात्रामा लगानी भित्रन नसकेको हो । तर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जुम्लाको तातोपानीमा १५ किलोवाट, मकवानपुरको भोर्लेनी र नवरपरासीको धौवडीमा १०/१० किलोवाट क्षमताको वायु ऊर्जा उत्पादन गरिसकेको छ । केन्द्रका वायु ऊर्जा विभाग प्रमुख राईले नेपालका अन्य स्थानभन्दा मुस्ताङ नै उपयुक्त रहेको र केन्द्रले समेत तीन वर्षदेखि जिल्लाका विभिन्न स्थानमा हावाको परीक्षण गरिरहेको बताए । “दक्षिण अफ्रिकाको प्रविधि नेपालका लागि उपयुक्त हुनसक्छ । त्यसले हावाको बेग सहन गर्नसक्ने र सामान्य हावामा पनि विद्युत् उत्पादन गर्न सक्ने देखिएको छ,” उनले भने। मुस्ताङको एउटै स्थानमा आठ किलोमिटर लामो खुल्ला मैदान छ । सो स्थानमा वायु ऊर्जाको सम्भावना अत्याधिक रहेको छ । यस्तै सप्तगण्डकी, कोसी र कर्णालीका दक्षिणी र मध्य दक्षिणी भेगमा वायुको गति भारतको राजस्थानको जत्ति नै रहेको छ । भारतको राजस्थानमा दुई हजार ५०० मेगावाट विद्युत् वायु ऊर्जाबाट निकालिएको छ । त्यस्तै नेपालको सुर्खेत, अछामका दुईवटा गाउँमा समेत सम्भावना देखेर बोलपत्र आह्वान भइसकेको छ । घरायसी प्रयोगमा समेत उपयोगी हुने भएकाले बढी हावा चल्ने जुनसुकै स्थानमा वायु ऊर्जा प्रणाली जडान गर्न सकिन्छ । वायु ऊर्जा प्रणालीबाट तत्कालै उत्पादन सुरु हुने भए पनि सुरुमा लागत बढीपर्ने भएकाले लगानीकर्ता लगानी गर्न हिच्किचाइरहेको बेला एभरेष्ट बिन इनर्जीले परीक्षणको रुमपा मुस्ताङमा विद्युत् उत्पादनको तयारी गरेको हो । एभरेष्ट बिन इनर्जीका अध्यक्ष डिल्लीराज पोखरेलले परीक्षणको रुपमा विद्युत् उत्पादनको तयारी गरेको बताए । नेपालमा वायु ऊर्जाको अत्याधिक सम्भावना भए पनि सरकारले वातावरण नबनाउँदा लगानीकर्ता लगानी गर्न इच्छुक नभएकाले सरकारले अनुदान दिने प्रणालीमा पुनः विचार गर्नुपर्नेमा उनले जोड दिए । सरकारले वायु ऊर्जाबाट उत्पादन हुने विद्युत्को तत्काल विद्युत् खरिद दर समेत तय गर्नुपर्ने देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वायु ऊर्जाको सम्बन्धमा प्रक्रिया अगाडि बढाएको भए पनि लगानी बोर्डमा दर्ता भएको ‘द’ गोर्खाज यूके’ लिमिटेडको अधिकृत पुँजी एक अमेरिकी डलर मात्रै पाइएको छ । सो कम्पनी हाल आफ्नो सम्पर्कमा नरहेको बोर्डले जनाएको छ । रासस