सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोह सक्रिय, होशियार तपाईँ पनि ठगिनु होला है !
काठमाडौँ । सामाजिक सञ्जालमा तपाईँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपाईँ त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको छ भने तपाईँ ठगिन पनि सक्नुहुन्छ । सामाजिक सञ्जालमा उपहार परेको, महत्वपूर्ण पार्सल आएको भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह काठमाडौँमा सक्रिय रहेको पाइएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाई ठगी गरेको अभियोगमा एक विदेशीसहित नेपाली नागरिकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा सूचना वा जानकारी पठाई ठगी गर्ने गिरोह सक्रिय रहेको पत्ता लगाएको हो । महानगरीय अपराध महाशाखाले फेसबुक, हवाट्एप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक भुम्लुटार घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने कुसुम कायस्थ र आइभरी कोष्टका ओवोतार अलकाग्नीलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ परेका श्रीमान् श्रीमती हुन् । उनीहरुले सामाजिक सञ्जालका अतिरिक्त भारतीय मोबाइल नम्बरबाट फोन गरी तपाईको नाममा पार्सल पठाएको र लिन शुल्क तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिबाट १४ लाख ३४ हजार ९७२ बराबरको ठगी गरेको पाइएको छ । प्रहरीका अनुसार उनीहरुले ठगी गरेको पैसा काठमाडौँका विभिन्न रेष्टुरेन्टमा खर्च गर्ने गरेका थिए । उनीहरु श्रीमान् श्रीमतीका रुपमा काठमाडौँ पेप्सीकोलामा फ्ल्याट भाडामा लिई बस्ने गरेका थिए । महत्वपूर्ण पार्सल आएको र त्यसका लागि शुल्क तिर्नुपर्ने भन्दै उनीहरुले नेपालका विभिन्न बैंकको खाता नम्बर दिइ रकम जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले आठ जनालाई त्यस्तै प्रलोभन देखाई ठगी गरेको पाइएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई आइतबार पेप्सीकोलाबाट पक्राउ गरेको र ठगी मुद्दामा अनुसन्धान गरिरहेको जानकारी आज दिएको छ । सामाजिक सञ्जालमा उपहार परेको, पार्सल आएको भन्दै कुनै सूचना आए प्रहरीलाई जानकारी गराउनसमेत महाशाखाले आग्रह गरेको छ ।
नगरपालिकाले चलायो नगर बस, अरु यातायातभन्दा २५ प्रतिशत सस्तो
डोटी । शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त नगर बस सेवाको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले शुभारम्भ गरे । नगरपालिकाले खरिद गरेको २६ सिट पास रहेको उक्त दुई वटा नगर बसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सीताराम जोशीले जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगर बसमा भाडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ । नयाँ सङ्घीय संरचनामा साबिकको नौवटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । कूल ५६ लाख ६० हजारको लागतमा खरीद गरिएका नगर बसले नगरवासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बिनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरीद नियमावली अनुसार ३८ लाख ६९ हजारमा एक टिपर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरिद गरिएको छ । यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरवासी प्रत्यक्ष लाभान्वित भइरहेका छन् । रासस
कामना सेवा विकास बैंकको ६२ औं शाखा कलंकीमा
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको कलंकीमा नयाँ शाखा विस्तार गरेको छ । ६२औं शाखा स्थापना गरि कारोबार सुरुवात गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबारको सुरुवात गरेका हुन् । काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६२ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सि एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराएको छ ।
रातो झण्डा देखाएर बिदा गर्यो नेप्सेले २०१८ लाई, २०१९ मा के होला ?
काठमाडौं । काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेले सन् २०१८ को अन्तिम दिन जाँदाजाँदै १७.२६ अंकको गिरावट देखाएर गएको छ । वर्षको अन्तिम दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर १२०० अंक तल झरेको छ । तीव्र गिरावटपछि सरकारी सुधारका प्रयासका वावजुत नेप्ससे परिसूचकले यो गिरावटको सामना गरेको हो । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजारमा परिसूचक १७.२६ अंकले घटेर ११८७.२८ अंकमा अडिएको छ । दिनभर निरन्तर ओरालो लागेको सोमबारको बजारमा कुल ४५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १६८ कम्पनीको १२ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा निर्जीवन बीमा समूह तेहेरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा निर्जीवन बीमा समूहको सूचक १६० अंकले घटेर ५६६६.७३ अंकमा झरेको छ । त्यस्तै, उत्पादनमूलक, हाइड्रोपावर र फाइनान्स समूह सामान्य अंकले बढेका छन् भने कारोबारमा आएका बाँकी समूह राताम्मे भएका छन् । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसकोे सेयर मूल्य प्रतिकित्ता ११४१ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.२४ प्रतिशत गुमाएका छन् । त्यस्तै, पूर्णिमा विकास बैंकको सेयर मूल्य ७.१८ प्रतिशतले घटेको छ । दोहोरो अंकले घटेको बजारमा जेबिल्स फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक र कालिका पावर कम्पनीको सेयर मूल्य ४ प्रतिशत बढी अर्थात ५ प्रतिशत भन्दा कमले बढेको छ । २०१८ को पहिलो दिन अर्थात् २०७४ पुस १७ गते परिसूचक १३९०.५८ विन्दुबाट खुला भएको थियो । यो अंक पहिलो दिनको तुलनामा १४.६२ अंकको गिरावट हो । यसरी बजार घट्नुमा सरकार पपरिवर्तन र वर्तमान सरकारले लिएको नीतिलाई प्रमुख कारण मानिएको छ । शेयर बजारप्रति अनुदार मानिने अर्थ मन्त्रालय नेतृत्व बजारको वृद्धि र विकासप्रति सचेत हुनु र समग्र अर्थतन्त्रको अवस्था सुधार हुँदै जानुले आगामी बर्षहरुमा अर्थतन्त्रको ऐना मानिने शेयर बजार पनि सुधार हुनसक्ने अवस्था आउन सक्छ ।
१० वर्षमा ३० हजार हेक्टरमा रबर खेती, यसरी संभव छ अमेरिकामा निर्यात
काठमाडौं । नेपालमा १० वर्ष भित्र ३० हजार हेक्टरमा रबरको खेती हुने भएको छ । यसका लागि प्रदेश नम्बर १ मा संझौता भैसकेको छ भने कर्णाली प्रदेशको १५ हजार विगाहामा रबर खेतीको लागि संझौता हुने क्रममा रहेको छ । प्रदेश १ मा रबर खेतीको बारेमा अध्ययन भैरहेको छ ।स्वदेश मै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदारहँदै टायरका लागि मुलुकबाट बर्षेनि ठूलो रकम बिदेसिने गरेको छ । तर, अबको १० वर्षपछि भने नेपालले उत्पादन गरेको रबर अमेरिका निर्यात हुने बताइएको छ । सरकारले रबर खेती गर्ने किसानलाई अनुदान सहयोग समेत गर्दै आएको छ । हाम्रो देशको वातावारणपनि रबर उत्पादनका लागि अनकुल रहेको छ । नेपालमा वार्षिक १५ अर्बभन्दा बढीको रबरको माग रहेको छ । मुलुक भित्र उत्पादित रबरले ५ प्रतिशत हिंसा मात्र ओगट्दै आएको छ । हाल नेपालमा १ हजारको हाराहारीमा साना रबर कृषक र ५० वटा ठूला कम्पनीले व्यवसायिक रबर खेती गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य हेमराज ढकालले भने– ‘नेपालले चिया खेती जसरी नै रबर खेतीका लागि काम गरिरहेको छ ।’ विश्वमा पेट्रोलियम पदार्थपछि रबरको बजार माग छ । १० वर्ष पछि नेपालले उत्पादन गरेको रबर अमेरिकाले निर्यात गर्छ–महासंघका सदस्य ढकालले बताए । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १० अर्ब ५४ करोड ३८ लाख ७४ हजार ८९६ रुपैयाँ बराबरको टायर नेपाल भित्रिएको छ । नेपालमा सबैभन्दा बढी भारतीय टायर प्रयोग हुने गरेको छ । भारतपछि ब्राजिल, इजिप्ट, टर्की, थाइल्यान्ड, चीन र जापानमा निर्मित टायर भित्रन्छ । नेपाली टायर बजारमा पनि भारतकै वर्चश्व छ । रबर कसरी बनाइन्छ ? रबरको बिरुवा रोपेको ७ वर्षपछि कच्चा पदार्थ दिन थाल्छ । एउटा बिरुवाले २५ वर्षसम्म निरन्तर आन्दानी लिन सकिने कृषकहरुको भनाई छ । रबरको रुखबाट दिन बिराएर चोप निकाल्न सकिन्छ । एउटा रुखबाट बार्षिक ८ देखि १० लिटरसम्म कच्चा पदार्थ निकाल्न सकिन्छ । रबरको कच्चा पदार्थ प्रति लिटर २ सय रुपैयाँ भन्दा बढीमा बिक्री हुने गरेको छ । साना कृषकहरुले आधुनिक प्रबिधिको अभावमा रबरको रुखबाट आउने चोपलाई धुँवामा सुकाएर रबम बनाइदै आएको छ । सुरुमा रुखको २० इन्च गोलाइ र १ सय ३० सेन्टीमेटिरको दुरीमा बोक्रा काटिन्छ । त्यहाँबाट दूध जस्तै चोप आउँछ । त्यसमा थोरै एसिड हालेर त्यो चोप जमाइन्छ । अनि फ्याक्ट्रीमा लगी क्रेम मेशिनमा हालेर रबर तयार पारिन्छ । रबर खेतिका लागि लागि २१ देखि ३५ डिग्री सेल्सियस तापक्रम उत्तम मानिन्छ । समुन्द्री सतहबाट ४ सय ५० मिटर उचाइ र वार्षिक २ हजार देखि ३ हजार मिलिलिटर सम्म पानी पर्ने ठाउँमा यसको खेती गर्न सकिन्छ । रबरले ३ हजार भन्दा बढी आइटम बनाउन सहयोग गर्छ । एउटा गाडीमा मात्र रबरको ६० वटा आइटम चाहिन्छ । त्यस्तै अन्य हरेक सामान बनाउन रबरको आवश्यकता पर्दछ । रबरको रुखले उत्पादन दिन छाडेपछि त्यो रुखको काठ पानी जहान बनाउने काममा उपयोग हुन्छ र महङ्गो मूल्यमा विदेश निर्यात गर्न सकिने बताइएको छ ।
सिटी एक्सप्रेस र मलेसियाको “भ्यालू”बीच रेमिटान्स सम्झौता
काठमाडौं । मलेसियाको रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भ्यालूको मलेसिया भरी २ हजार एजेन्ट्लोकेशन् साथै मोबाईल एप र ईन्टरनेट बैंकिङ्को सेवा उपलब्ध रहेको छ । मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने भएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ६ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
अब सम्पूर्ण भुक्तानी सीजी पे बाटै गर्न सकिने, राष्ट्र बैंकले दियाे अनुमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रा.लि. लाई भुक्तानी सेवा प्रदायको काम गर्ने अनुमति पत्र दिएको छ । उक्त अनुमति पाएसँगै सीजी पेबाट विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सीजी पेबाट मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ । यस सीजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर गर्न सकिन्छ । साथै, टेलिकमहरुको रिर्चाज, टि.भी., ईन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशीतथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेष्टुरेन्टको बिल पेमेन्ट तथा अन्य पेमेन्ट सीजी पे बाटै गर्न सकिने कम्पनीले जनाएको छ । सीजी पे मोवाइल एप तथा वेब दुबै माध्यमबाट चल्ने तथा यसबाट ग्राहक(यूजर)लाई सजिलो तथा समयको बचत हुनेछ । यो सम्पूर्ण कारोबार बैङ्किङ् प्रणाली मार्फत सम्पन्न हुनेछ । सीजी पे सँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सजिलै यो सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
सान्जेन जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारकाे काम सनराइज क्यापिटलले गर्ने
काठमाडौं । महाराजगंजमा रहेकाे सान्जेन जलविद्युत कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज क्यापिटललाई नियुक्त गरिएको छ । उक्त कार्यको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ तथा सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।