दाङ जिल्लाको पर्यटन प्रवद्र्धनका लागि ९० करोडको गुरुयोजना, के के बन्छन् संरचना ?
काठमाडौं । दाङको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेव धाम धारापानीको पर्यटन प्रवद्र्धनका लागि झण्डै ९० करोडको गुरुयोजनाको तयारी भएको छ । भौतिक पूर्वाधार निर्माण गर्न करीब रु ९० करोड बढीको गुरुयोजना बनाएर अघि बढ्ने पाण्डवेश्वर महादेव धामका सचिव विष्णुराम आचार्यले बताएका छन्र । ७० करोडको गुरुयोजना बनाएकोमा पहिलेको गुरुयोजनाको केही छुटेको र त्यसलाई समेटेर अब बृहत् गुरुयोजना बनाउने तयारीमा रहेको बताएका छन्र । गुरुयोजनामा धाम वरपरको वन क्षेत्रलाई संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करीब चार बिघा क्षेत्रफलमा ढुङ्गा सयर गर्ने खालको ताल निर्माण गर्ने, धामसँग धार्मिक सम्बन्ध रहेको धामदेखि करीब दुई किलोमिटर माथि सुनकोट डाँडोमा ३१ क्विन्टलको घण्टा निर्माण, सुनकोटसम्म पुग्नाका लागि चार हजार ९६३ सिँढी निर्माण गर्ने छन् । सिँढी निर्माण गर्दा एक जना दाताले एउटा मात्रै सिँढी निर्माण गर्न पाउने छ । यसअघिको गुरुयोजनाअनुसार मन्दिर परिसरमा ॐ पोखरी निर्माण १०८ गौमुखी धारा निर्माण, १०८ वरपीपल रोपनलगायतका कार्य सम्पन्न भइसकेको सचिव आचार्यको भनाइ रहेको छ । प्रदेश नं ५ ले यस आर्थिक वर्षमा धारापानी धामको पर्यटन विकासका लागि रु पाँच करोड बजेटसमेत विनियोजन गरेको छ ।
भ्रमण वर्ष २०२० काे तयारी : एयरपाेर्ट २२ घण्टा चलाउने, हाेटलमा ६ हजार बेड थप्ने
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक नेपाल आएका छन् । जसले नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ । सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक आएका थिए । बोर्डले छिमेकी मुलुक चीन र भारत लक्षित प्रभावकारी रुपमा चलाएको प्रवद्र्धनात्मक कार्यक्रमले पर्यटकको सङ्ख्या वृद्धि भएको हो । घुमफिरजस्ता प्रवद्र्धन अभियानले आन्तरिक पर्यटक पनि उल्लेख्य रुपमा बढेका छन् । नेपालीमा विभिन्न गन्तव्यमा घुम्न निस्कने र खर्च गर्ने बानी बढेको छ । सरकारले नयाँ गन्तव्य पहिचान र प्रवर्द्धनका लागि सय गन्तव्य घोषणा गरी कार्यक्रम अघि बढाएको छ । सन् २०२० काे अभियान सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन पर्यटन मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक गतिविधि बढाउन विभिन्न समिति बनाएर काम अघि बढाएको छ । होटल एशोसिएशन अफ नेपालका अनुसार अहिले होटलको ‘वेड’ सङ्ख्या ३७ हजार छ । सन् २०२० सम्म करिब छ हजार बेड सङ्ख्या थपिनेछ । अहिलेकै अवस्थामा २५ लाख पर्यटक थान्न सकिने व्यवसायीले बताउँदै आएका छन् । काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् । पर्यटन मन्त्रालयले करीब ४५ वर्षपछि पुरानो पर्यटन ऐन २०३५ परिवर्तन गरी नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको छ । उक्त ऐनको मस्यौदा तयार भई पारित हुने प्रक्रियामा छ । अन्तर्राष्ट्रिय विमानस्थल पुनः कालोपत्र गरिँदै मुलुकको प्रतिष्ठासँग जोडिएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इतिहासमै पहिलोपटक धावनमार्ग पुनः कालोपत्र ‘रनवे रिह्याब’ को प्रक्रिया अघि बढेको छ । पहिला १७ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल अहिले दैनिक २२ घण्टा सञ्चालन भइरहेको छ । विमानस्थलको स्वरुप बदलिएको छ । बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यले विमानस्थलमा मुलुकको कला, संस्कृति र पहिचान झल्कने वस्तुको सजावट गरिनुका साथै नयाँ कार्पेट बिछ्याएर सरसफाइले चिटिक्क पारिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल अघिको अव्यवस्थित पाकिङ स्थानान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्द्धनका आधार मुलुकमा भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । संस्कृति, पर्यटन मन्त्रालयको अगुवाइमा प्यासिफिक एसिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टरले आयोजना गरेको मार्टमा २६ देशबाट ५९ कम्पनी सहभागी थिए । यस्तै गत भदौ १४ र १५ गते काठमाडौँमा भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिम्सटेक) सम्मेलनमा सम्बन्धित राष्ट्रप्रमुख पाहुनाको आगमनले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्यो । अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिलाउन सम्मेलन उपयोगी बन्यो । मङ्सिर १५ र १६ गते काठमाडौँमा भएको एशिया प्रशान्त सम्मेलनमा विभिन्न मुलुकका पर्यटक थपिएका छन् । यो सम्मेलनले पनि पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको छ । कम्बोडियाका प्रधानमन्त्री, म्यानमारकी नेत्री लगायतले नेपाल भ्रमण गरेका थिए । नेपाल र कम्बोडियाबीच सिधा हवाई उडान गर्ने सम्झौता भयो । जुन पर्यटन क्षेत्रका लागि उपलब्धि मूलक मानिएको छ । यही पुस १२ गते पर्यटनको लागि महत्वपूर्ण मानिएको पुरातात्विक महत्वको राष्ट्रिय गौरव ‘धरहरा’ को प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्यको यो सम्पदा विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा चल्यो । जुन सन् २०१९ को जुलाइभित्र सञ्चालनमा आइसक्नेछ । बहुप्रतिक्षित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । वर्षभरि पर्यटनका परी घटनाका सकारात्मक र नकारात्मक दुवै पक्ष रहे । फेक रेस्क्युको समाचारले अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुल्यो । पर्यटन मन्त्रालयले छानबिन समिति बनाएर आवश्यक कारवाही प्रक्रिया अघि बढायो । रासस
युजरनेम लिएर शेयर काराेबार गर्ने ‘नगन्य’, किन देखिएन अनलाइन काराेबारमा आकर्षण ?
काठमाडौं । कार्तिक २० गते औपचारिक रुपमा सुरु भई मंसिर २३ गतेदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड वितरण सुरु गरिए पनि युजरनेम र पासवर्ड वितरण सुरु भएको करिब १ महिना हुन लाग्दा पनि बजारमा त्यसप्रतिको आकर्षण न्यून देखिएको छ । यसबीचमा करिब ५५० लगानीकर्ताले मात्र युजरनेम र पासवर्ड लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उक्त अवधिमा युजरनेम र पासवर्ड प्राप्त गरेका ९२ जनाले मात्र उक्त एकाउन्टको प्रयोग गरी अनलाइन कारोबार गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । हालसम्म सक्रिय प्रयोगकर्ताको रुपमा कारोबार गरेका युजरले पनि प्रयोगका लागि मात्र सानो रकमको कारोबार गर्ने गरेको ब्रोकरहरु बताउँछन् । हामीले त सबै समस्या सिस्टमको सबै समस्या समाधान नभई युजरनेम र पासवर्ड उपलब्ध नगराऔं भनेका थियौं, तर लगानीकर्ताको दबाबमा छिटो दिइयो, साइटमा देखिएको समस्या कम भए पनि अनलाइन प्रयोग गर्दा आउने समस्याहरु अझै पनि आइरहेकै छ, यस्तो अवस्थामा कसले कारोबार गर्छ ? एक ब्रोकरले टिप्पणी गरे । कारोबारमा पुरानै शैलीमा अभ्यस्त हुनु नयाँ सिस्टमप्रतिको भरोसामा कमी र अनलनइन कारोबार प्रणालीमा उत्पन्न हुनसक्ने झण्झटलाई अनलाइन कारोबारमा आकर्षित नहुनुको प्रमुख कारणको रुपमा लिइएको छ । कारोबारका क्रममा अस्तो समस्या छ भन्नेमा अहिले जोकोही पनि अनभिज्ञ छन् । लगानीकर्ता नेताहरुले समेत हालसम्म अनलाइन कारोबारप्रति चासो नदेखाएको अवस्थामा त्यस्तो समस्या बुझ्ने, समाधान गर्ने र समस्या नभए आम लगानीकर्तालाई विश्वस्त गराउने गरी प्रचार गर्न चुक्दा समेत अनलाइन कारोबारमा आकर्षण कम देखिएको छ ।
सिटिजन्स बैंकको नयाँ अनलाइन सेवा, घरबाट नै खाता खोल्न मिल्ने
काठमाडौं । सिटिजन्स बैंकले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चारलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदान गर्दै आएको छ । देश भित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्म साथ गर्दै बैंकले अनलाइन एएसविए, केवाइसि, मेरो शेयर, स्मार्ट बैंकिङ्ग जस्ता ग्राहकमुखी सुविधाहरू प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
चार वर्षमा काँकरभिट्टादेखि निजगढसम्म विद्युतीय रेल
काठमाडौं । ‘आगामी चार बर्षभित्र काँकरभिट्टादेखि निजगढसम्म विद्युतीय रेल गुडाउने गरी कार्ययोजना बनाइरहेका छौंं’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको घोषणा हो यो । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महासेठले चार बर्षभित्र ३२० किलोमिटर भन्दा लामो विद्युतीय रेल मार्ग निर्माण गरेर सञ्चालन गर्ने घोषणा गरेका हुन् । उनले आगामी ३ महिनाभन्दा अघि नै कुर्ता जनकपुर विजलपुराको ३५ किलोमिटर रेलवे लिकमा आफ्नै रेल गुडाउने घोषणा समेत गरे । त्यसका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौता गरेर आफ्नै रेल खरिद गर्न लागिएको पनि उनले जानकारी दिए । ‘रेल किन्न ५० करोड बजेट राखेका छौं, आवश्यक बजेट फेरि आउँछ, भारत सरकारले मूल्य सूची पठाइसकेको छ, केही दिनभित्रै खरिद प्रक्रिया नै अघि बढाउँछौं’, मन्त्री महासेठले भने । उनले काकडभिट्टादेखि निजगढसम्मको रेलमार्ग निर्माणका लागि दाताहरु समेत तयार भैसकेको दावी पनि गरेका थिए । हाल सरकारले बर्दिबासदेखि लालबन्दीसम्मको ३० किलोमिटर रेलमार्ग आफै निर्माण गरिरहेको छ । ९४५ किलोमिटर लामो मेची महाकाली विद्युतिय रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । यसको ९६ प्रतिशत डीपीआर तयार भैसकेको पनि उनले जानकारी दिए । केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माणको काम आगामी ३ महिनाभित्रै सुरु हुने जानकारी पनि दिए । वीरगञ्ज काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेको बताए । उनले हाल ब्रोडगेजमा अध्ययन भैरहेको अध्ययनलाई अब स्ट्याण्डर्ड गेजमा अघि बढाउनेबारे भारत सरकारसँग छलफल भैसकेको जानकारी पनि दिए ।
सुबिसुले ल्यायो भयंकर अफर, इन्टरनेट र क्लियर टिभी सेवामा विशेष छुट
काठमाडौं । सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारि आफ्नो ग्राहकहरुसँग खुशी साट्ने उद्देश्यले उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत रिटेल ग्राहकहरुका लागि क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् । क्लियर टिभी प्रिमियम प्याक अफरः क्लियर टिभी सेवा अन्तर्गत मात्र ९९९ रुपैयाँ (कर सहित) मा १ महिनाको प्रिमियम सेवा पाइने छ । २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढीएच डि च्यानलहरु हुने । साथै, सेट–टप बक्स र जडान सेवा पाउन सकिने कम्पनीले जनाएको छ । सुबिसु इन्टरनेट– फाष्ट प्याक अफर इन्टरनेट सेवा अन्तर्गत १५ एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि पाइने छ । साथै, माेडेम र जडान सेवा मात्र १५०० हजार(कर सहित)मा प्राप्त गर्न सकिनेछ । सुबिसु इन्टनेट एण्ड क्लियर टिभी– कम्बो प्याक अफर इन्टरनेट र क्लियर टिभी सेवा अन्र्तगत मात्र २३०० रुपैयाँ(कर सहित)मा १ महिनाका लागि २३ एमबीपीएस अनलिमिटेड इन्टरनेट पाइने छ । साथै, क्लियर टिभी प्रिमियम प्याकेज र २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढीएच डि च्यानलहरु हेर्न पाइने छ। साथैं माेडेम, सेट–टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । साथै, सम्पुर्ण ग्राहकहरु मध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सब्स्क्रिपशन प्राप्त गर्ने छ । बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभी पाउने छन् । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।
एनसीसी बैंकले पाल्पाको अर्गलीमा खोल्यो नयाँ शाखा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पाल्पा जिल्लाको अर्गलीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा रुरु संस्कृत विद्यापिठका प्राचार्य लिलामणी शर्मा, उद्योग वाणिज्य संघ पाल्पाका सदस्य विष्णु न्यौपाने र तानसेन न.पा.वडा नं.१४ का वडा अध्यक्ष कमल रानाले शुभकामना व्यक्त गरेका थिए । बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अध्यक्षता गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
अब गाडी चढ्ने यात्रुलाई १० लाखको बीमा, गम्भिर घाईतेको उपचारमा १५ लाख
काठमाडौं । अब सवारी साधन दुर्घटनामा पर्ने यात्रुहरुको १० लाख रुपैंयाँँ बराबरको बीमा हुने भएको छ । यातायात व्यवस्था बिभागले सडक दुर्घटनामा पर्ने यात्रुहरुको मृत्यु भएमा आश्रित परिवारले १० लाख रुपैंयाँ पाउने व्यवस्था अघि सारेको हो । हालसम्म सडक दुर्घटनामा मृत्यु हुनेका आश्रित परिवारले बीमा वापत ५ लाख रुपैंयाँ पाउने गरेका थिए । त्यसमा यातायात व्यवसायी समितिहरुले अतिरिक्त रकम थपिदिने गरेका थिए । सिण्डीकेट अन्त्य भएसँगै यातायात व्यवसायी समितिहरुको अस्थित्व समाप्त भएको छ । अब सरकारले तेश्रो पक्ष बीमाको रकम वृद्धि गरेर सडक दुर्घटनामा मृत्युका आश्रित परिवारलाई १० लाख दिने व्यवस्था मिलाउन लागेको हो । ‘मृत्यु हुनेहरुका आश्रित परिवारलाई १० लाख र घाईतेहरुको उपचारका लागि ६ लाख रुपैंयाँ बीमा वापत उपलब्ध गराउने प्रस्ताव पास भएको छ, अब बीमा समिति पठाउँदैछौं’, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य प्रसाद ढकालले विकासन्युजसँग भने । स्पाइनल इञ्जुरी र हेड इञ्जुरीका गम्भिर घाईतेहरुको उपचारका लागि १५ लाख रुपैंयाँ उपलब्ध गराउने प्रस्ताव तयार पारिएको पनि उनले जानकारी दिए । हालसम्म सवारी साधन दुर्घटनाका घाईतेहरुको उपचारका लागि ३ लाख रुपैंयाँ बीमा वापत उपलब्ध हुन्छ । सिण्डीकेट अन्त्यसँगै यातायात व्यवसायी समितिहरुले यात्रुको मृत्यु तथा घाईतेहरुको उपचारका लागि अतिरिक्त रकम उपलब्ध गराउन छाडेका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यातायात समितिका बैंक खाता रोक्का गरिरहेको छ । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि तेश्रो पक्ष बीमाको रकम वृद्धि गर्ने प्रक्रिया अघि बढेको बताए । यातायात व्यवस्था बिभागले रकम प्रस्ताव गरेपछि बीमा समितिले नयाँ प्रिमियम तोक्ने पनि उनले जानकारी दिए । प्रिमियम निर्धारणका लागि समितिका अध्यक्ष, बीमक कम्पनीका दुई जना प्रतिनिधी र समितिका कार्यकारी निर्देशक सदस्य सचिव रहेको बीमा दर सल्लाहकार समिति रहेको छ ।