सहुलियत कर्जा कार्यान्वयनमा ९ बैंकको अटेरी, राष्ट्र बैंक भन्छः अब छोड्दैनौं
काठमाडौं । सरकारले ल्याएको सहुलियत पुर्ण कर्जा सम्बन्धी व्यवस्था कार्यान्वयनमा ९ वटा बाणिज्य बैंकहरुले अटेरी गरेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको समय अवधीसम्म ९ वटा बाणिज्य बैंकहरुले सहुलियत कर्जा कार्यान्वयन सम्बन्धी कुनै पनि प्रक्रिया बढाएका छैनन् । यसरी सरकारको महत्वपूर्ण योजना कार्यान्वयनमा अटेरी गर्ने बैंकहरुमा अधिकांश विदेशी लगानीका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषका अनुसार हालसम्म एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैंक र माछापुच्छ्रे बैंकले नटेरेका हुन् । यी बैंकहरुले हालसम्म कर्जा सुरक्षण निगमसँग कर्जा सुरक्षण सम्बन्धी सहमति पत्रमा हस्ताक्षर समेत गरेका छैनन् । (सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि हेर्न यसमा थिच्नुहाेस्) २८ वटा बाणिज्य बैंकमध्ये ९ वटा बैंकले कार्यविधि कार्यान्वयनमा आएको ४ महिना पुग्दा समेत अटेर गरेपछि राष्ट्र बैंकले परिपत्र नै जारी गरेको छ । केन्द्रिय बैंकले परिपत्र गरेरै बाणिज्य बैंकहरुलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ अनुसार प्रवाह गरेको कर्जाको विवरण एक हप्ताभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एकिकृत कार्यबिधि अनुसार प्रडक्ट, पेपर तयार नपार्ने, कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता नगर्ने र सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा अटेरी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कारवाही गर्ने स्पष्ट पारेको छ । ‘९ वटा बाणिज्य बैंकहरुले पहिलो चरणको ब्याज अनुदान लिने समय आईसक्दा पनि कार्यान्वयनको कुनै तयारी नगरेको देखियो, यस्तो लापरवाही गर्नेलाई अब छाड्दैनौं’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले विकासन्युजसँग भने । कार्यविधि मार्फत सरकारले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि १० लाख, दलित समुदाय विकास कर्जाका लागि १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेको छ । सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधिलाई मन्त्रिपरिषद बैठकले भदौ २१ गते स्वीकृत गरेको थियो भने अर्थमन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको थियो ।
अजोड र सुमेरुबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेड र सुमेरु हस्पिटल प्रा लि धापाखेल बीच नगद रहितउपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट निर्देशक दिलिपकुमार डंगोलले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा सुमेरु हस्पिटलबाट क्यासलेस अर्थात नगद रहितउपचार सेवाउपयोग गर्न पाउने छन । अजोड इन्स्योरेन्स लिमिटेडले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले सम्झौता गरेको जनाएको छ । देशैभरीका हस्पिटलसंग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र अब छिटै उपत्यका वाहिरका अस्पतालमा पनि सम्झौता गर्ने अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक रुपन्देहीको कोटिहवामा, शाखा संख्या ३९ पुग्यो
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको कोटिहवामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । यस शाखासँगै बैंकको शाखा संख्या ३९ पुगेको छ । बैंकले भविष्यमा आवश्यकता र संभाब्यताका आधारमा थप शाखा कार्यालयहरु विस्तार गर्दै जाने लक्ष्य लिएको छ । बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ्ग पहुँच पुर्याउने रणनीति अनुरुप कार्य गर्दै आइरहेको छ । चुक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको यस बैंकले १६ अर्ब १० करोड निक्षेप परिचालन गरी १४ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवा दिँदै आएको छ । साथै, बैंककाे एउटा एक्सटेन्सन कार्यालय रहेको छ ।
ईँटाभटा व्यवस्थित गर्न सकिएनः चाँंगुनारायण नगरपालिका
काठमाडौं । ईँटाभटा व्यवस्थित रुपमा सञ्चालन हुन नसकेकोमा भक्तपुरको चाँंगुनारायण नगरपालिकाले चिन्ता व्यक्त गरेको छ ।नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा ईँटाभटालाई धुवाधुलोरहित रुपमा सञ्चालन गर्न व्यवसायीसँंग अनुरोध गरिएको छ । भक्तपुर ईट्टा उद्योग व्यवसायी संघ र चाँगुनारायण नगरपालिकाबीच भएको अन्तरक्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले ईँटाभटालाई धुवाधुलो न्युनीकरण गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अनुरोध गरे । पुननिर्माणको लागि नभई नहुने इटा उत्पादन गर्ने स्वदेशी उद्योगको प्रबद्धर्नमा उनले विशेष चिन्ता व्यक्त गरे । वर्षेनी विदेशबाट निर्माण सामाग्री आयात गर्नुपर्ने बाध्यता रहेको तर नेपाली सामान विदेश निर्यात हुन नसकी व्यापार घाटा वढ्दै गएको बेला इटामा नेपाल आत्मनिर्भर रहेकोमा उनले खुशी साटे । प्रमुख मिश्रले ईट्टा उद्योगीव्यवसायीलाई वातावरणमैत्री ईट्टा उद्योग संचालनगर्न अनुरोधका साथ अन्य वैकल्पिक व्यवसाय गर्न सुझाए । ईट्टा उद्योगीव्यवसायीहरुसंग ईट्टा व्यवसाय संचालन गर्दाका कार्यविधि, मापदण्ड र प्रदुषण नियन्त्रणको व्यवस्था विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख मिश्रले नगर क्षेत्रभित्र ईट्टा उद्योग संचालन गर्दा नगरपालिका र व्यवसायबीच भएको सम्झौता अनुसार कार्य गर्न सल्लाह दिए । सो अवसरमा इसिइसिपिका इन्ष्ट्रक्टर अर्जुन भट्टले चाइनिज प्रविधिमार्पmत प्रदुषणमुक्त अत्याधुनिक ईट्टा उद्योग संचालन गर्न सकिने भएकोले सो प्रविधिबारे जानकारी गराए । साथै हालको विकसित प्रविधि जिक ज्याक प्रविधि दक्षिण एसियामा उपयुक्त भएको पनि जानकारी गराइयो । भक्तपुर इटा व्यवसायी संघका पूर्व अध्यक्ष एवं सल्लाहकार विश्वराम कवाँले इटाभटा व्यवसालाई व्यवस्थित रुपमा सञ्चालन गर्न गरेको नगरपालिकाको चासोप्रति कृतज्ञता व्यक्त गरे । उनले व्यवसायीहरु नगरपालिकाको सल्लाहसुझाब अनुसार इटाभटालाई समायानुकुल व्यवस्थित रुपमा सञ्चालन गर्न तत्पर रहेको बताए । चाँंगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालबाट माटो कटान, माटो ढुवानी, काँचो ईट्टा ढुवानीमा नगरपालिकासंग ६ बुंदे सम्झौता भए बमोजिम कार्यान्वयन नभएको गुनासो गरे ।
मेलम्चीको ठेक्का तोड्ने सरकारको निर्णय
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का तोडेको छ । सुरुङ र हेडवक्र्सको निर्माणको जिम्मेवारी पाएको इटालियन कम्पनीले काममा फर्कन चासो नदेखाएपछि सरकारले आफैं ठेक्का तोड्ने निर्णय गरेको आयोजना प्रमुख सुर्यराज कँडेलले जानकारी दिए । सिएमसीले १४ डिसेम्बरमा ठेक्का तोडेको पत्र आयोजनालाई बुझाएको थियो तर त्यसको केहिदिनपछि नै ठेक्का तोडेको पत्र फिर्ता लिएको थियो । सोही समयमा आयोजनाले आफ्नो तर्फबाट ठेक्का तोड्ने जानकारी दिएर १४ दिनको सूचना निकालेको थियो । सिएमसीलाई काममा फर्कन १४ दिनको म्याद दिएर आयोजनाको टोली वार्ता गर्न सिंगापुर गएको थियो । सिंगापुरको वार्ताले पनि सकारात्मक परिणाम नदिएपछि ठेक्का तोडेको पत्र पठाईएको हो ।
अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीबीच बीमा सेवा सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीको नयाँ योजना चुकल डट कमसँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका सहायक महा प्रबन्धक महेशराज खरेल र लिचि टेक्नोलोजीका अध्यक्ष शिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा लिचि टेक्नोलोजीका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा अन्तर्गत सामूहिक दुर्घटना बीमा तथा सेंधमारी तथा नकवजनी बीमा सम्बन्धि सुविधा लिचि टेक्नोलोजीका सबै ग्राहकहरुले प्राप्त गर्न सक्ने अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
बेरुजु फछ्र्यौट प्रभावकारी बनाउन लेखा समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समितिमा छलफल हुन बाँकी रहेका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफललाई आगामी वैशाख महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाहरुको आगामी तीन महीनाभित्र लेखापरीक्षण गराउन सम्बन्धित तालुक निकायलाई निर्देशन दिएको हो । समितिका सभापति भरतकुमार शाहले महालेखापरीक्षकको बाँकी प्रतिवदेनको छलफलका लागि समिति, महालेखापरीक्षकको कार्यालय र सम्बन्धित निकायले कार्यतालिका बनाई सहकार्य गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले बेरुजु नआउने गरी आर्थिक कारोवार सञ्चालन गर्ने अधिकारी (कर्मचारी) र बेरुजु कायम गर्न गराउन भूमिका खेल्ने कर्मचारीको अभिलेख राखी सरुवा, पदस्थापन तथा अन्य वृत्ति विकासका अवसर प्रदान गर्दा सोलाई आधार बनाउने गरी मापदण्ड निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । बेरुजु कायम हुनेतर्फभन्दा कायम भएको बेरुजु फछ्र्यौट गर्नेतर्फ धेरै जोड दिने प्रवृत्ति देखिएकाले आर्थिक कारोवार सञ्चालन गर्दा कमभन्दा कम बेरुजु कायम गर्ने गराउनेतर्फ ध्यान दिन मन्त्रालय, आयोग तथा सचिवालयलाई निर्देशन दिने निर्णय गरेको छ । यस्तै, बैठकले बेरुजु फछ्र्यौट सम्बन्धमा समितिले विगतमा दिएका निर्देशनहरुको अनिवार्यरूपमा कार्यान्वयन गर्ने र दुई महीनामा समितिमा प्रतिवेदन पेश गर्न मन्त्रालय, संवैधानिक निकाय, आयोग, विकास समिति तथा सचिवालयलाई निर्देशन दिएको छ । महालेखा परीक्षकको ५५औँ वार्षिक प्रतिवेदनले औँल्याएको बेरुजुका आधारमा समितिले सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय, आयोगलगायत कार्यालयका प्रमुखलाई बोलाएर बेरुजुको अवस्थाबारे जानकारी दिएको हो । मुख्यसचिव लोकदर्शन रेग्मीसहित विभिन्न मन्त्रालयका सचिव, महालेखापरीक्षकसहित अन्य संवैधानिक निकायका प्रमुखले बेरुजु फछ्र्यौटको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । राष्ट्रपति, कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सतर्कता केन्द्र, महान्यायाधिवक्ताको कार्यालयले बेरुजुको अवस्थाबारे समितिलाई अवगत गराएका थिए । बैठकमा बोल्ने अधिकांश सांसदले हरेक वर्ष बेरुजु बढ्नुले मुलुकको आर्थिक सुशासनको पारदर्शितामाथि प्रश्न उठाएको भन्दै सम्बन्धित निकायले सक्रिय ढङ्गले बेरुजु फछ्र्यौट गर्नुपर्नेमा जोड दिए । समितिका बैठकमा सम्बन्धित मन्त्रालयका सचिव, निकायका प्रमुखले बेरुजुबारे सकारात्मक प्रतिबद्धता जनाए पनि व्यावहारिक नतिजा हासिल हुन नसकेको भन्दै जिम्मेवार भएर काम गर्न आग्रह गरे । सांसद अमनलाल मोदी, सूर्य पाठक, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, धर्मशिला चापागाईँ, प्रेम आले लगायतले बेरुजु खर्च बढ्नुले मुलुकको आर्थिक सुशासनमा गम्भीर चुनौती खडा भएको भन्दै बेलैमा सचेत भएर बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउन आग्रह गरे । सांसदहरुको जिज्ञासामा मुख्यसचिव लोकदर्शन रेग्मीले नीतिगत समस्याका कारण बेरुजु खर्च बढेको भन्दै बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।
बोलेरो दुर्घटनामा ५ को मृत्यु, ९ घाइतेको उपचार हुँदै
सिन्धुली । फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल-२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चालक फिक्कल गाउँपालीका निवासी मानबहादुर सुनुवार र ३४ वर्षीय दीपककुमार सुनुवार सख्त घाइते भएका छन् । थप उपचाकार लागि सख्त घाइते ६६ वर्षीया माया विश्वकर्मा र ३८ वर्षीय दीपक श्रेष्ठलाई पनि थप उपचारका लागि धुलिखेल पठाइएको उनले जानकारी दिए । अन्य घाइते सबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फिक्कलको महादेवडाँडा भन्ने स्थानबाट सिन्धुलीतर्फ आउँदै गरेको वा १५ च ९४२२ नम्बरको डबलक्याप बोलेरोे दुर्घटना भएको हो । बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोलेरो सडकबाट २०० मिटर तल खसेको थियो ।