विश्व बैंकका आलोचक माल्पासलाई नै ट्रम्पले गरे नयाँ अध्यक्षमा शिफारिस
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन् । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आउनुभएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन् । अमेरिकी अर्थ विभागका वरिष्ट अधिकारी माल्पासको छनौट विवादास्पद मानिएको छ, तर बैंकका बहुसंख्यक शेयरहोल्डरहरु, खासगरी युरोपेली मुलुकहरुको समर्थन प्राप्त गर्न राष्ट्रपति ट्रम्प सफल हुनुभयो भने बैंकलाई नयाँ स्वरुपमा ढाल्न ट्रम्पलाई एउटा मौका हुनेछ । ट्रम्पले माल्पासको नाम सार्वजनिक गर्नेक्रममा ह्वाइट हाउसमा आयोजित समारोहमा भने, “माल्पास विलक्षण प्रतिभाका धनी हुनुहुन्छ र यो अति महत्वपूर्ण जिम्मेवारी लिनसक्ने उपयुक्त व्यक्ति पनि हुनुहुन्छ ।” “विश्व बैंकमा सबैभन्दा ठूलो योगदानकर्ता मुलुक अमेरिका हो,” उनले भने, “मेरो प्रशासनले अमेरिकी करदाताले तिरेको पैसा प्रभावकारी र बुद्धिमत्तापूर्वक तरिकाबाट खर्च भएको सुनिश्चित गर्न उच्च प्राथमिकता दिनेछ ।” राष्ट्रपति ट्रम्प र उनको ह्वाइट हाउस प्रशासनले कार्यभार सम्हालेको दुई वर्षदेखि बहुराष्ट्रिय संस्थाहरुमाथि निरन्तर आलोचना गरिरहेका छन् । माल्पासले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमाथि आक्रमणको नेतृत्व नै गरिरहेका छन् । माल्पासले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको ऋण प्रवाह अभ्यास “भ्रष्ट” रहेको बताउँदै चीन र तुलनात्मक रुपमा सम्पन्न मुलुकमा समेत लगानी गरिरहेकामा आपत्ति जनाएका छन् । ह्वाइट हाउसमा आयोजित समारोहमा बोल्दै माल्पासले गत वर्ष स्वीकृत सुधारका योजनाको कार्यान्वयन गरिने स्पष्ट गर्नुभयो । उनले बैंकको लगानीयोग्य रकमलाई १३ अर्ब डलरले वृद्धि गरिने पनि बताए । माल्पासले उच्च आय भएका चीनजस्ता मुलुकलाई प्रदान गरिने ऋणमा कडाई गर्ने तथा त्यस्ता मुलुकमा ऋण प्रवाह गर्दा बढी व्याजदरमा मात्र दिइने बताए । “म निकै आशावादी छु कि अति गरिबीसँग जुध्न तथा विकाशसील मुलुकमा आर्थिक अवसर सिर्जना गर्न हामी सक्षम हुनेछौं,” माल्पासले भने । विश्व बैंकका अध्यक्ष जीम योङ कीमले आश्चर्यजनक रुपमा पाँच वर्षे दोस्रो कार्यकालको बीचमै फेब्रुअरी १ बाट लागू हुनेगरी राजीनामा दिएका थिए । उनको राजीनामासँगै राष्ट्रपति ट्रम्पलाई नयाँ अध्यक्ष चयन गर्न बाटो खुलेको हो । बिहीबारदेखि बैंकको बोर्डले मनोनयनमा परेका व्यक्तिको आवेदन लिनेछ र यो मार्च १४ तारिखसम्म रहनेछ । आगामी अप्रिल १२–१४ सम्म वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको संयुक्त बैठक अघि बैंकको नयाँ अध्यक्ष चयन गरिनेछ । बैंकका १८९ सदस्यमध्ये जोकोहीले अध्यक्षका लागि उम्मेदवारी दिन सक्नेछन् । दोस्रो विश्वयुद्धको समाप्तिपछि स्थापना भएको विश्व बैंकका अध्यक्षहरु हालसम्म अमेरिकीहरु नै भइरहेका छन् । विश्वकै सबैभन्दा ठूलो वित्तीय संस्था विश्व बैंकको प्रधान कार्यालय अमेरिकाको वासिङ्टनमा रहेको छ । विश्व बैंकको भगिनी संस्था अन्तर्राष्ट्रिय मुद्रा कोषको नेतृत्व भने युरोपेली मुलुकहरुबाट हुने गरेको छ । पछिल्ला वर्षहरुमा उदीयमान अर्थतन्त्र रहेका मुलुकहरुले अलिखित यो व्यवस्थाका विरुद्धमा चुनौती दिन थालेका छन् । उनीहरुले बैंकको अध्यक्ष चयन गर्दा बढी खुला, योग्यता–आधारित छनौट प्रक्रिया अवलम्बन गर्न माग गरिरहेका छन् । अमेरिकी पूर्व अर्थ अधिकारीहरुले माल्पास र उनको योग्यतालाई लिएर कडा आलोचना गरिरहेका छन् । उनीहरुले विश्वको वित्तीय सङ्कटका बारेमा यथार्थ विश्लेषण गर्न माल्पास अक्षम रहेको आरोप लगाएका छन् । जर्ज डब्लु बुस प्रशासनका समयमा अर्थ सहायक मन्त्री रहनुभएका टोनी फ्राटोले भने, “विश्व बैंकको अध्यक्षमा डेभिड माल्पासको मनोनयन दुर्भाग्यपूर्ण, विषाक्त छनौट हो ।” संयुक्तराज्य अमेरिका विश्व बैंकको सबैभन्दा ठूलो सेयरहोल्डर हो तर अमेरिकासँग कुनै विशेषाधिकार भने छैन । बोर्डमा बहुमत पु¥याउन अमेरिकालाई युरोपेली मुलुकहरुको समर्थन आवश्यक हुन्छ । अमेरिकी वरिष्ट अधिकारीहरुले अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिनले राष्ट्रपति ट्रम्पको मनोनयनका पक्षमा समर्थन जुटाउन विश्व बैंकका अरु सेयरहोल्डरसँग छलफल थाल्नुभएको बताए । माल्पास अर्को साता व्यापार वार्ताका लागि बेइजिङको भ्रमणमा जाँदै छन्, र त्यसपछि उनी जापान जानुहुनेछ । जापान विश्व बैंकको दोस्रो ठूलो सेयरहोल्डर हो । रासस/एएफपी
ठमेल व्यवस्थित बनाउने प्रयासः खाली ट्याक्सी निषेध, अरु साधनपनि रोक्ने कि ?
काठमाडौ । पर्यटकीय क्षेत्र ठमेल प्रवेशमा भाडाका खाली ट्याक्सीलाई रोक लगाइएको छ । ३ महिनादेखि थर्ड आई रेष्टुरेन्टको अग्रसरतामा खाली ट्याक्सीलाई रोक लगाइएको हो । खाली ट्याक्सी निषेधले ठमेल क्षेत्रमा सवारी जामको समस्या हटाउन र व्यापार व्यवसायमा सहजता भएको व्यवसायीहरु बताउँछन् । यात्रु बोकेर आउने गरेका टयाक्सीमा भने कुनै रोकतोक गरिएको छैन । सञ्चयकोष चोक तथा क्षेत्रपाटीमा गरी २-२ जनाले टयाक्सी व्यवस्थापनमा सघाउदै आएका छन् । ठमेल क्षेत्रमा झट्ट हेर्दा खाली ट्याक्सी रोकिएको जस्तो देखिएपनि कतिपय चालकले तीब्र गतिमा खाली ट्याक्सी ठमेल भित्र लैजाने गरेका छन् । ट्याक्सी व्यवस्थापन टोलीमा आवद्ध एक यूवा फूर्वा तामाङ भन्छन्-‘ ठमेल क्षेत्रमा गाडीको व्यवस्थापन गर्न सकेमा नेपाली–विदेशी सबैलाई फाईदा हुन्छ । तर हामीलाई झुटा कारण देखाएर ट्याक्सी चालकहरुले माला बेच्नेलाई चढाएको नाटक गरेर झुक्याउने गरेको बताए । ठमेलको त्रिदेवी मार्गमा ट्रेकिङ सामानको व्यवसाय गर्दै आएका सन्तोष पन्त भन्छन्- आजकाल हल्लामा केही कमी भएको छ, यसरी नै धुलो समेत कमी भएको छ, यो राम्रो कुरा हो । पन्तले आफ्नो पसल अगाडी टयाक्सी पार्किङमा कमी हुँदै गएको बताए । अहिले व्यापारमा अफसिजन रहेपनि सरसफाइमा मद्दत पुग्नु व्यापारिक दृष्टीकोणबाट पनि राम्रो रहेको बताए । साथै, विदेशी पर्यटकले शान्त वातावरण रुचाउने भन्दै उनले आगामी दिनमा ट्याक्सीको प्रवेशलाई निषेध गर्नु पर्ने जानकारी दिए । विगत ४ बर्षदेखी ठमेलमा रुमन हयाण्डी क्राष्टको व्यवसाय गर्दै आएका मना श्रेष्ठले पछिल्लो समय सवारीका कारण व्यापार चौपट भएको भन्दै निराशा व्यक्त गरे । उनले आफ्नो पसल अगाडि रहेको एटीएममा पैसा झिक्न आउनेले पसल ढाक्ने गरेर सवारी राख्ने गरेको आफू मारमा परेको बताए । उनले भाडाको ट्याक्सी रोक्नका लागि सरकारी निकायबाटै उचित कदम चालिनु पर्ने बताए । नर्सिङ चोकको टिवेट हाउसमा कार्यरत थान्का व्यापारी अर्जुन दवाडी भन्छन्– सवारीको आवगमन रोक्दा कहीँ असुविधा त हुन्छ नै, तर यस्को प्रभाव भने राम्रो छ । सकेसम्म ठमेललाई सवारी निषेधित क्षेत्रकै रुपमा घोषणा गर्न सकेमा पर्यटकीय आकर्षणमा मद्दत पुग्ने दवाडीको तर्क छ । क्षेत्रपाटी चोकमा विगत १५ बर्षदेखि प्रतिष्ठा फार्मेसी सञ्चालन गर्दै आएका शुशिल प्रधान भन्छन्– सवारीको सन्दर्भमा गरिएको प्रयास ठीक हो । तर, यस्को कार्यान्वयन अझै व्यवस्थित बनाउन जरुरी छ । ठमेलका सातघुम्ती चोक, जेपि स्कूल मार्ग, केजिएच चोक लगायतका स्थानमा भने पूर्ण रुपमा सवारी साधनको निषेध गरिएको छ । बाधक बन्दैन ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिल ठमेल टुरिजम काउन्सिलका अध्यक्ष समिर गुरुङ्का अनुसार– पर्यटकीय क्षेत्र भएकाले गाडीको व्यवस्थापन गर्नु राम्रो कुरा हो, तर चालकको मर्मलाई सम्बोधन नगर्नाले उनीहरु मारमा परेका छन् । पछिल्लो समय सोही कुरालाई लिएर आलोचना समेत धेरै हुने गरेको पाईन्छ । सामाजिक संघ संस्थाको सल्लाह अनुरुप जाँदा सबैको हित हुन्थ्यो । तर, ट्याक्सी रोक्ने काम थर्ड आई नामक होटलले गर्दै आएको छ । आगामी दिनमा निजी, सामुदायिक तथा सरकारी विभाग एक ठाउँमा रहेर निष्कर्ष निकाल्न जरुरी छ । अहिले यो परीक्षण कै अवस्थामा भएपनि जनसमुदायको हितमा काउन्सिलले बाधा नपुर्याउने गुरुङको तर्क रहेको छ ।
तीन संस्थाको ३२ लाख कित्ता सेयर सूचिकृत, कुन कुनको कति ?
काठमाडौं । बिहीबार विभिन्न तीन संस्थाको ३२ लाख १८ हजार १३७ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, सिटी एक्स्प्रेस फाइनान्स कम्पनी र हाम्रो विकास बैंकको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । सो मध्ये नयाँ नेपाल लघुवित्त र सिटी एक्स्प्रेस फाइनान्सको हकप्रद र हाम्रो विकास बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो । नयाँ नेपाल लघुवित्तको ६ लाख र सिटी एक्स्प्रेसको २५ लाख कित्ता हकप्रद थपिएको छ । त्यस्तै, हाम्रो विकास बैंकको एक लाख १८ हजार १३७ कित्ता बोनस सेयर नेप्सेमा सूचिृकत भएको छ ।
अमेरिका–दक्षिण कोरियाबीच प्रतिरक्षा खर्च सम्बन्धी सम्झौता
काठमाडौं । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियामा तैनाथ अमेरिकी सेनाको खर्चको व्ययभार दुबै मुलुकले दामासाहीले व्यहोर्ने बारेमा नयाँ सहमति हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ दलका एक सांसदले दक्षिण कोरियाले करिब ८८ करोड ९० लाख अमेरिकी डलर खर्च व्यहोर्ने सम्भावना रहेको बताएका छन् । सत्तारुढ डेमोक्र्याटिक पार्टीका ली सू–ह्युकले प्रतिरक्षा खर्चका बारेमा दुबै मुलुकबीच अन्तिम सहमति हुन लागेको जानकारी दिएका छन् । उक्त सहमति एक वर्षका लागि मात्र र दुबै मुलुकबीच रहेका मतभिन्नता लगभग टुङ्गिइसक्ने जानकनरी दिएमा छन् । नयाँ सहमतिसँगै सन् २०१९ का लागि दक्षिण कोरियाको प्रतिरक्षा खर्चमा झण्डै ८ दशमलब २ प्रतिशतले वृद्धि हुनेछ भएको छ । दक्षिण कोरियामा तैनाथ करिब २८ हजार ५०० अमेरिकी सेनाको खर्च व्यवस्थापनका लागि कोरियाले सन् २०१८ मा करिब ९ खर्ब ६० अर्ब वोन (कोरियाली मुद्रा) व्यहोरेको थियो । विगतमा, दुबै मुलुकबीच खर्चका विषयमा हरेक पाँच वर्षमा समीक्षा हुने प्रचलन थियो । संयुक्तराज्य अमेरिकाले सन् २०१९ का लागि न्यूनतम एक अर्ब डलर माग गरेको बताइएको छ । सांसद लीले दुबै मुलुकबीच सहमति हुनासाथ त्यसको अनुमोदनका लागि संसदमा पठाइनेछ । रासस/योनहाप
साढे १५ अर्ब रुपैंयाको पासवर्ड लिने कोटेनको मृत्यु, लगानीकर्ताको बिचल्ली
काठमाडौं । क्रिप्टोकरेन्सी भनिने भौतिक अस्तित्व नभएको डिजिटल मुद्रा खतरापूर्ण नै मानिन्छ तर क्यानडाको घटनाक्रमले भने नयाँ जोखिम देखाएको छ। क्वाडरिगा नामक क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूको लगभग १५ अर्ब ७५ करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी मुद्रा गायब हुने देखियो। कारण थियो झण्डै छ अर्ब १३ करोड नगदसहित सो मुद्रा कहाँ छ भनेर थाहा पाउने पासवर्डका बारेमा कोहीसँग जानकारी थिएन। खासमा त्यो खजानाको साचो गएको डिसेम्बरमा भारत भ्रमणका क्रममा अचानक मृत्य् भएका क्वाडरिगाका संस्थापक गेराल्ड कोटेनसँगै स्वर्ग गएको हुनसक्छ। तीस वर्षीय कोटेन एक्लैले क्वाडरिगाको कोष र मुद्राको व्यवस्थापन जिम्मेवारी लिएको कम्पनीले बताएको छ। क्वाडरिगा कम्पनीले क्यानडाको नोभा स्कटिया सर्वोच्च अदालतलाई बताए अनुसार अरबौं मुद्रा कहाँ छन् भनेर पत्ता लगाउन सकिएको छैन। क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल मुद्रा हो । कोटेनकी विधवा जेनिफर रोबर्टसनले आफ्नो पतिले क्वाडरिगासम्बन्धी कार्य गर्ने कम्प्युटर इन्क्रिप्ट गरिएको र आफुलाई त्यसको पासवर्ड थाहा नभएको बताएकी छिन्। पटक पटकको प्रयासपछि पनि मैले कतै पनि उनले केही लेखेको कुरा पत्ता लगाउन सकेकी छैन, उनले अदालतलाई दिएको बयानमा लेखेकी छिन्। विलम्ब र समस्या पाँच वर्ष पहिले स्थापना भएको क्वाडरिगा गएको वर्ष आर्थिक समस्याग्रस्त भएको थियो। क्यानेडाली टिभी सीएनबीसीका अनुसार कम्पनीमा तरलता समस्या आएको थियो र यो वर्षको शुरुवातमै सीआईबीसी ब्याङ्कले एक अर्ब ७५ करोड रोक्का गरेको थियो। गएको हप्ता कम्पनीले आफ्नो मुद्रा लेनदेन गर्ने सदस्यहरूको लगानी सुरक्षित गर्न अदालतमा मुद्दा दायर गरेको थियो।क्यानडामा सन् २०१३ मा पहिलो क्रिप्टोकरेन्सी एटीएम स्थापना भएको थियो क्वाडरिगाका एक लाख १५ हजार सदस्य छन् जसमा व्यवसायिक लगानीकर्तादेखि बचत गर्ने सामान्य नागरिकहरू समेत छन्। विज्ञहरूका अनुसार उनीहरूको लगानी सुरक्षित हुने सम्भावना निक्कै कम छ। मानिसहरूले मलाई पत्र र फोनमार्फत आफ्नो अवकासपछिका लागि बचत गरेको पैसा गुमेको भनिरहेका छन्, डिजिटल फाइनान्स इन्स्टिट्युटका संस्थापक अधिवक्ता क्रिस्टिन डुहाइमले सीबीसी टिभीलाई भनिन्। क्वाडरिगा पुरानो कम्पनी थियो र मानिसहरूले यसलाई सुरक्षित मानेका थिए । भारतको जयपुरमा सामाजिक कार्यका लागि भ्रमण गरिरहेका कोटेनको मृत्यु भएको भन्ने खवर कम्पनीको वेबसाइट र फेसबुक पेजमा राखिएको थियो। जयपुरमा कोटेन अनाथालय खोल्न चाहिरहेको बताइएको थियो। उनको पाचन प्रणालीमा आएको गम्भीर समस्याका कारण मृत्यु भएको बताइएको छ। कोटेलको इच्छापत्र द ग्लोब एण्ड मेल पत्रिकाका अनुसार कोटेलले मृत्युको दुई हप्ता पहिले नोभेम्बर २७ मा श्रीमती रोबर्टसनलाई सबै सम्पतिको मालिक बनाउने लेखिएको आफ्नो इच्छापत्रमा हस्ताक्षर गरेका थिए। इच्छापत्रमा कोटेनको दुई कुकुरहरूका रेखदेखका लागि लगभग ६६ लाख छुट्टाइए पनि क्वाडरिगाको कोषको बारेमा लेखिएको छैन। बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीहरूको हालैका दिनमा अवमूल्यन भएको छ मुद्रा पुनःप्राप्ति कोशिस क्वाडरिगा प्रयोगकर्ताहरूले कम्पनीले कोटेनको मृत्युपछि पनि लगानी स्वीकार गरेकोमा रोष प्रकट गरेका छन्। कम्पनीले मुद्रा पुनस्प्राप्तिका लागि प्रयास गर्न एकजना डिजिटल अनुसन्धानकर्तालाई काममा लगाएको बताएको छ। तर अनुसन्धानकर्ताले कोटेनको फोन र कम्प्युटरको सहारामा थोरै मुद्रामात्रै खोज्न सकेको बताइएको छ। अदालतमा पेश गरिएको कागजातका अनुसार क्वाडरिगाले चोरीबाट बच्न धेरै जसो मुद्रा इन्टरनेटमा राखेको थिएन्। गएको बिहिवार वेबसाइटमा राखिएको सूचनाका अनुसार क्वाडरिगाले तरलता समस्या समाधान गर्न प्रयास गरिरहेको र हराइरहेको मुद्रा खोज्न पनि यथासम्भव प्रयास गरेको बताएको छ। बढ्दो अवमूल्यन क्वाडरिगाको समस्या क्रिप्टोकरेन्सीहरूले अवमूल्यनको समस्या भोगिरहेको बेला आएको छ। सबैभन्दा चर्चित बिटक्वाइनको सन् २०१७ को डिसेम्बरमा २३ लाख रुपैयाँ बराबर पुगेकोमा अहिले चार लाख मात्रै छ।बीबीसी
परिना इन्टरनेशनल प्रालि भेनस ब्राण्डको आधिकारिक बिक्रेता नियुक्त
काठमाडौँ । परिना इन्टरनेशनल प्रालि भारतको प्रख्यात कम्पनी भेनस इक्विपमेन्टको भेनस ब्राण्डका सम्पूर्ण उत्पादनहरुको नेपाल भरीको एकमात्र आधिकारिक बिक्रेता नियुक्त भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गरी परिना इन्टरनेशनलका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीपक आचार्यले आधिकारिक बिक्रेता नियुक्त भई बिक्री प्रारम्भ गरेको जानकारी दिए । गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने नारा सहित भेनस ब्राण्डका मेशिनहरु बिक्री भइरहेका छन् । उक्त मेशिनहरु औद्योगिक प्रतिष्ठान, पुल, हाइड्रोपावर, लाइओभर, होटल, हस्पिटल लगायत सम्पूर्ण निर्माणमा उपयोगी हुनेछन् । भेनस ब्राण्डका उत्पादनहरु एक वर्षको वारेन्टी सहित स्पेयर पार्टस्हरु न्यूनतम मूल्यमा उपलब्ध गराउने परिना इन्टरनेशनल प्रालिले जनाएको छ ।
साढे १० अर्ब लगानीमा निर्माणाधिन नारायणी नदी व्यवस्थापन आयोजना सुस्त गतिमा
काठमाडौं । नेपालको तीनवटा प्रदेशलाई छुने नारायणी नदी व्यवस्थापन आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । २०६६ सालदेखि शुरु भएको नारायणी नदी तटबन्धनको काम झण्डै एक दशकमा ३३ प्रतिशत मात्र सम्पन्न भएको छ । चितवन, नवलपुर र सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रण गर्न नारायणी तटबन्धन आयोजना स्थापना गरिएको हो । चितवन प्रदेश नं ३, नवलपुर गण्डकी प्रदेश र सुस्ता क्षेत्र प्रदेश नं ५ मा पर्छ । नारायणी नदी तटबन्धनका लागि रु १० अर्ब ५० करोड बजेटको गुरुयोजना निर्माण गरेर काम थालनी गरिएको थियो । तर आव २०७५/७६ सम्म ९ वर्षको अवधिमा रु एक अर्ब ३५ करोड रकम मात्र खर्च भएको छ । यस वर्ष नारायणी नदी व्यवस्थापन आयोजनाका लागि जम्मा रु १९ करोड रकम विनियोजन भएको छ । चितवन र नवलपुरतर्फ जम्मा २४ किलोमिटर तटबन्धनको काम सकिएको छ । चितवनतर्फ १३ किलोमिटर र नवलपुर तथा सुस्तामा ११ किलोमिटर तटबन्धन गरिएको कार्यालयका सिनियर डिभिजन इञ्जिनीयर दिनेश पौडेलले जानकारी दिएका छन् । उनले सुस्तामा दुई किलोमिटर तटबन्धन गरिएको बताएका थिए । सो क्षेत्रमा अझै ४०० मिटर तटबन्धन र २० देखि २५ वटा स्पर थप्न सके तटबन्धन थप प्रभावकारी हुने पौडेलको भनाइ छ । न्यून बजेट विनियोजन र विभिन्न अवरोधका कारण अयोजनाको उद्देश्यअनुसार काम हुन नसकेको पौडेलले बताए। यस वर्ष ‘टेण्डर’को प्रक्रियामा नै रहेकाले फागुन दोस्रो हप्ताबाट मात्रै काम शुरु हुने जानकारी दिएका छन् । निकुञ्जले २/४ वर्ष बिनाअवरोध काम गर्न दिने र सरकारले पर्याप्त बजेट विनियोजन गर्ने हो भने सबै काम सम्पन्न गर्न सकिने आयोजनाका इञ्जिनीयर गौतम भण्डारीले बताएका छन् । नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षाबल एसएसबीले दशगजा क्षेत्र भन्दै पटक–पटक अवरोध गर्ने गरेको आयोजनाले जनाएको छ । आयोजनाले तटबन्धनका लागि चितवन, नवलपुर र सुस्तामा छुट्टाछुट्टै ठेक्का लगाउँदै आएको छ । प्रस्तावित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार रु १० अर्बको आयोजनाका लागि ९ वर्षको अवधिमा आयोजना एक अर्ब मात्र बजेट विनियोजन भएको छ । यो आयोजनाको डिपिआर नै नयाँ बनाउनुपर्ने देखिन्छ”, इञ्जिनीयर भण्डारीले भने प्रत्येक वर्ष भङ्गालो परिवर्तन हुन्छ, पुरानो योजनाअनुसार काम गर्न सकिँदैन । आयोजनाको प्रगति हेर्दा सबै काम सम्पन्न गर्न अझै २० वर्ष लाग्ने देखिन्छ । आव २०६६६७ सालबाट जनताको तटबन्ध नामबाट कार्यक्रम शुरु गरेको भए पनि २०७३ सालदेखि नाम परिवर्तन गरेर नारायणी नदी व्यवस्थापन आयोजना बनाइएको छ । कार्यालयका अनुसार नारायणी नदीको पुलभन्दा तल्लो भागमा चितवनतर्फ राप्ती नदीको सङ्गमस्थलसम्म र नवलपरासीको सुस्तासम्म तटबन्धन निमार्णको काम गरिनेछ । बर्सातको समयमा नारायणी नदीको दुवैतर्फ बाढीका कारण स्थानीयवासीले ठूलो धनजनको क्षति बेहोर्दै आएका थिए । तटबन्धनको कार्यक्रम शुरु भएयता बाढीको समस्यामा कमी आएको छ । लक्ष्यअनुरूपको काम सम्पन्न गर्न सके नदीको दुवैतर्फ सुरक्षित रहने स्थानीयवासीको अपेक्षा छ । चितवनमा नारायणी नदीलाई तटबन्धन गरेर त्यसमाथि चक्रपथ सञ्चालन गर्ने चर्चा बेलाबेलामा उठ्ने गरको छ तर त्यसले सार्थकता पाउन सकेको छैन । रासस
छुटपुर्जी दिन्छु भन्दै १० हजार घुस लिने रेन्जर जगविर खत्री यसरी फसे
काठमाडौं । नेपालगंज सब डिभिजन वन कार्यालय कार्यरत रेन्जर जगविर खत्री पक्राउ परका छन् । १० हजार घुस लिएको अरोपमा रेन्जर खत्री पक्राउ परेका हुन् । खत्रीले निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने भन्दै जग्गा धनीसँग घुस रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अयोगको नेपालगंजबाट खटिएको टोलीले फरेष्टरद्वय बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भैरहेको आयोगले जानकारी दिएको छ ।