विकासन्युज

जनता आवास कार्यक्रम सरकारको प्राथमिकतामा : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले जनता आवास कार्यक्रमलाई उच्च सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अर्थ मन्त्रालयमा जनता आवास कार्यक्रम कार्यान्वयन नमूना कार्यविधि २०७५ माथि प्राप्त सुझाव हस्तान्तरण कार्यक्रममा मन्त्री खतिवडाले जनता आवास कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने र सुरक्षित आवास योजना अघि बढाउन गम्भीर रहेको बताएका छन् । वास्तविक आवासविहिनको साथमा सरकारको साथ रहँदै आएको र निरन्तर सहयोग हुने स्पष्ट पारेका छन् । कार्यदलले अर्थमन्त्री खतिवडालाई सुझाव पेश गदैं चालु आर्थिक वर्षको बजेटमा समावेश भएका जनता आवास कार्यक्रमलाई समयमै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेको हो । सुझाव हस्तान्तरण कार्यक्रमका प्रतिनिनिधिमण्डलको नेतृत्व गर्दै पूर्वमन्त्री तथा सभासद् जीतु गौतमले आवासविहिन दलित परिवारलाई आवासको व्यवस्था गर्दा रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत विषयमा ध्यान दिनु पर्ने बताएका छन् । कार्यदलले दलित, मुस्लिम, अति सिमान्तकृत परिवारको जनसंख्या तथा उनीहरुको आवश्यकता र प्राथमिकता एकिन गर्न विस्तृत अध्ययन अनुसन्धान गरि वास्तविक आवास विहिनलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ ।

आइपीओमा ५ प्रतिशत आरक्षण वैदेशिक रोजगारीमा जानेका परिवारलाई

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारका परिवारलाई पब्लिक कम्पनीहरुको प्राथमिक सेयर निष्काशन(आइपीओ)मा ५ प्रतिशत आरक्षण प्रस्ताव गरिएको छ । श्रम मन्त्रालयले गठन गरेको औपचारिक माध्यमबाट विप्रेषण भित्र्याई उत्पादन मुलक क्षेत्रमा उपयोग गर्ने बिषयमा सुझाव पेश गर्न गठित कार्यदलले पेश गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा जाने कामदारका परिवारलाई आइपीओमा ५ प्रतिशत आरक्षण प्रस्ताव गरेको हो । ‘वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार वा निजका परिवारका सदस्यहरुले आवेदन गर्न पाउने गरि विभिन्न कम्पनीका प्राथमिक सेयरको ५ प्रतिशत हिस्सा उनीहरुका निम्ति आरक्षण गर्न उपयुक्त हुने’, प्रतिवेदनमा लेखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश्वर दाहालको संयोजकत्वमा गठित समितिले ७ महिना लगाएर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनले सर्वेक्षण अध्ययन भईसकेका परियोजनाहरुको परियोजना बैंक बनाउने र त्यस्ता परियोजनाको लागत जुटाउन विप्रेषणकर्ताले स्वेच्छिक रुपमा सेयर लगानी गर्न पाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ । विप्रेषण कर्ताहरुको संयुक्त योगदान रहने गरि स्थानीय तहमा विप्रेषण कोषको स्थापना गरि स्थानीय तहमा प्राथमिकता प्राप्त परियोजनाहरुमा लगानी गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाई पिओ अवार्ड

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीेलाई वाई पिओ अवार्ड प्राप्त गरेका छन् । चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ्ग प्रेजिडेंट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको हो । वाई. पी ओले आफ्ना सदस्य मध्येबाट समाज तथा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, गरीबी निवारण, समानता, वातावरण संरक्षण लगायतका क्षेत्रमा प्रभावकारी कामको नेतृत्व गर्ने सदस्यहरू उक्त अवार्डबाट सम्मानित हुदै आएका छन् । वाई. पीओ.ले नेपालले लिएको दिगो विकास लक्ष्य प्रति आफ्ना हरेक क्रियाकलापहरुलाई लक्षित गर्दै आएको चौधरी फाउण्डेसले शिक्षा, स्वास्थ्य, उद्यम शिलता विकास, जीविको पार्जन, विपद व्यवस्थापन, सम्पदा एवं आध्यात्मिक विकास गरी ६ वटा विधामा४३ विविध कार्यक्रम संचालन गर्दै आएको उल्लेख गरेको छ । अवार्ड ग्रहण गर्दैप्रवन्धनिर्देशकचौधरीले वाई.पी.ओ. को सेन अवार्डबाट सम्मानित हुन आफ्नो र फाउण्डेसनको लागि गर्वको कुरा रहेको र यसले आफुलाई सामाजिक कार्य गर्न थपउर्जा एवं प्रेरणा प्राप्त भएको बताएका छन् । २०१८ मा सेन दिगो अवार्ड प्राप्तगर्ने अन्य व्यक्तित्वमा फेटजर भिनायार्डका सिईओ, गियान कार्लाे बियान चेटी (व्यवसायतर्फ), द वुमानिटी फाउण्डेसनका प्रेसिडेण्टयान बोर्गस्टेट (समानतातर्फ), द लाईटहाउस व्रिस्टोका प्रेसिडेण्ट एलिजा वेथकिन्नी (प्रभावतर्फ) तथा सोना युक्तिका सिईओचोको भालिआपा (शिक्षातर्फ) रहेका जनाएका छन्र ।  

५ वर्षभित्र उत्कृष्ट कम्पनी बन्ने लक्ष्य सहित महालक्ष्मीका ३ नयाँ बीमा योजना

काठमाडौ । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । १९ औं बीमा कम्पनीका रुपमा महालक्ष्मीले यही माघ २७ गते बसन्त पञ्चमीका दिनदेखि सेवा शुभारम्भ गर्ने विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रमेशकुमार भट्टराईले नयाँ बीमा योजना सहित सेवा शुभारम्भका बारेमा जानकारी दिएका हुन् । कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी ३ किमिमका बीमा योजनाहरु सार्वजनिक गरेको छ । योजना बिक्रीका लागि कम्पनीले बीमा समितिबाट स्वीकृती समेत लिइसकेको छ । पत्रकार सम्मेलनमा सिइओ भट्टराई भने-‘हामीले ल्याएका बीमाका योजनाहरु नेपाली बीमा बजारमा विल्कुलै नयाँ छन् , किनकी महालक्ष्मीले सार्वजनिक गरेको जस्तो अफर अहिलेसम्म कुनै कम्पनीले दिएका छैनन । ’ कान्छो कम्पनीका रुपमा आफूहरु आएकाले अवसर र चुनौती दुवैको सामना गर्नुपर्ने अवस्था रहेको उनले बताए । महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधी समाप्ती पछि बीमाङ्कको दोब्बर रकम भुक्तानी गर्ने ग्यारेन्टी गरिएको छ । यस्तै, लगानी फिर्ता म्यादी बीमा योजना अन्तर्गत बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एक मुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै पाइने छ । साथै, तेस्रो महालक्ष्मी सावधिक बीमा योजनामा भने न्यूनतम बीमा शुल्क सुरक्षा पाईने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाईने अवसरहरु रहेका छन् । कम्पनीले माघ मनिा भित्रै काठमाडौ, वीरगंज र पोखराबाट कारोबार गर्ने शुरु गर्ने पत्रकार सम्मेलनमा बताइयो । फागुनको दोस्रो साता इटहरी, सुर्खेत, धनगढी र कोहलपूरबाट कारोबार सञ्चालनमा ल्याउने प्रयास भईरहेको कम्पनीले जनाएको छ । साथै, सातै प्रदेशमा कार्यालयहरु एकसाथ औपचारिक रुपमा उद्घाटन गरिने छ । कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालय सञ्चालको स्वीकृती लिएको छ । कम्पनीको चुक्ता पूँजी २०० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुबाट १४० करोड रुपैयाँ चुक्ता भईसकेको छ भने ६० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याईएको छ । आगामी असार मसान्तसम्ममा करिब ५० करोड बीमा शुल्क संकलन गर्ने कम्पनीको लक्ष्य रहेको छ । कम्पनी सञ्चालन भएको २ बर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ बर्ष भित्र सम्पूर्ण बीमा कम्पनी मध्येमा उत्कृष्ट रहने लक्ष्य रहेको सिइओ भट्राईले पत्रकार सम्मेलनमा बताए । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मनोरञ्जनरमण शर्मा र सञ्चालकहरु उमेशलाल श्रेष्ठ, मोहनराज जोशी र सुरेश सापकोटा रहेका छन् ।

आचार्य बालकृष्णले भने-जग्गा उपलब्ध गराउनुुस्, पहिलो चरणमा एकसय करोड लगानी गर्छु

वालिङ । आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताएका छन् । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एकसय करोड लगानी गर्ने बताए । मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु,” आचार्य बालकृष्णले भने, “तपाईंहरुको माया र स्नेह मात्रै पाए पुग्छ अरू लगानीका लागि कुनै चिन्ता छैन योजना सफल बनाउन एक सय करोड होइन त्यो भन्दा पनि बढी म खर्च गर्छु ।” वालिङ उद्योग वाणिज्य सङ्घले वालिङको विकासका लागि उद्योगधन्दाहरु सञ्चालनका लागि ज्ञापनपत्र उनलाई बुझाएको थियो । आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि तयार रहेको बताउँदै सङ्घलाई जग्गा उपलब्ध गराउन आग्रह गरे । वालिङ नगरपालिका–६ भरुवामा जन्मिनुभएका आचार्य बालकृष्णलाई महोत्सवस्थलमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले सम्मान गरेका थिए ।

पर्यटन विकास र आधुनिक कृषिका लागि पहल गर्छुः नवनियुक्त राजदुत पाण्डे

काठमाडौं । नेपालको व्यापार प्रबर्दन, लगानी अभिवृद्दी, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा विशेष पहल गर्ने नवनियुक्त राजदुत बताएका छन् । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नेपाली उद्योगीहरु ब्यापारी मात्र नभएर उत्पादनकर्ता समेत भएको कुरामा जोड दिएका थिए । नेपाल चेम्बर अफ कमर्समा भएको उक्त कार्यक्रममा नेपालको नवनियुक्त राजदुतले चेम्बरले विश्वब्यापी रुपमा नेपालमा बन्दै गएको लगानी मैत्री वातावरणको प्रचार गर्नुपर्ने कुरा उल्लेल्ख गरेका थिए । इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले लगानीकर्ता भित्र्याउन  सक्दो पहल गर्ने कुरा बताएका छन् । संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो व्यापारमा भरि मात्रामा सुधार गर्नु पर्ने कुरा बताएका थिए ।

बजार सामान्य अंकले घट्यो, जोशी हाइड्रोका लगानीकर्ताले गुमाए ८ प्रतिशत

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य ०.१५ अंकले घटेको छ । उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १.०१ प्रतिशतले घटेर ११३९.५७ अंकमा अडिएको छ । बजारमा परिसूचक घटेपनि सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले बढेर २४२.६१ अंकमा पुगेको छ । सो दिन १६४ कम्पनीको २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये नेपाल इन्स्योरेन्स कम्पनी र सोल्टी होटलको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड बढीको सेयर कारोबार भएको छ । सामान्य अंकले घटेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ८.६४ प्रतिशत गुमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १९ रुपैयाँले घटेर प्रतिकित्ता २०१ रुपैयाँमा कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.८१ प्रतिशतले बढेको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.०३ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको सूचक ४३.५७ अंकले घटेको छ । त्यस्तै, बाँकी चार समूह सामान्य अंकले उकालो लागेका छन् भने अन्य ४ समूहको सूचक राताम्मे देखिएको छ ।

१९ हजार सवारी चालकलाई कारवाही, एक करोड ४६ लाख राजश्व संकलन

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारवाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र नबोकेका तीन हजार ३०८ र सवारी चालक अनुमतिपत्र नभएका दुई हजार ७२६ जना रहेका छन् । यस्तै सवारी साधनमा बत्तीको अवस्था ठिक नभएका १५३, अन्यमा छ हजार ६६९, तीव्रगतिमा सवारी चलाउने ३४२, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ६२८ सवारी चालकलाई कारवाही गरिएको हो । जिल्लाको विभिन्न स्थानमा गरिएको जाँचका क्रममा कारवाहीमा परेका उनीहरुबाट एक करोड ४६ लाख ३१ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रम प्रभावकारी बन्दै गएको भए पनि सवारीसाधन लापरवाहीले चलाउनेको सङ्ख्यामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।