विकासन्युज

आरबीआईको नयाँ व्यवस्था : रिपोदर ६ प्रतिशत, ६.२५ प्रतिशतमा स्थायी तरलता सुविधा

मुम्बई । भारतीय रिजर्भ बैंकले बैंकिङ दरहरु घटाएको छ । भारतीय रिजर्भ बैंकको बोर्ड बैठकले यसअघि कायम रहेको रिपो र स्थायी तरलता सुविधा घटाएर नयाँ दर निर्धारण गरेको हो । आरबीआईको व्यवस्था अनुसार अब २ हप्ता अवधिको तरलता समायोजन सुविधा (एलएएफ) ६.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिएको छ । त्यस्तै, सीमान्त स्थायी सुविधा (एमएसएफ) लाई यसअघिको ६.२५ प्रतिशतको दर घटाएर ६ प्रतिशत कायम गरेको छ । यी दुवै दरहरु तत्काल लागु हुने पनि आरबीआईले जनाएको छ ।

तीन दिन देशभर मौसम प्रभावित हुने, अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुकोे प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । उक्त प्रणाली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ । काठमाडौँ उपत्यकामा आज दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसमविद् बासीले जानकारी दिइन् । राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ । शुक्रबार देशका मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्र्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याइएको छ । उच्च हिमाली भूभागहरुका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र अधिकमत तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै धनगढीको अधिकमत तापक्रम सबैभन्दा बढी ३५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

बारामा हावाहुरीबाट पाँच करोडभन्दा बढीको अन्नबाली नष्ट

वीरगञ्ज । आइतबार साँझ बारामा आएको भुमरीसहितको हावाहुरीले गहुँ तथा अन्न बाली नष्ट गर्दा रु पाँच करोडभन्दा बढीको क्षति भएकोे छ । सो शक्तिशाली भुमरीसहितको हावाहुरीले एक हजार ५०५ बिघामा लगाइएको गहुँ, मसुरो मकै फलफूल तथा तरकारी बाली पूर्णरुपमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । दुई हजार २३१ बिघा क्षेत्रफलमा लगाएको सो बाली आंशिकरुपमा क्षति हुँदा करीब रु पाँच करोडभन्दा बढीको अन्नबाली नष्ट भएको ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले बताए । हावाहुरीले सबैभन्दा बढी प्रभावित पारेको फेटा गाउँपालिका–१ भलुही, भरवलीया, त्रिवेणी वडा नं ५ गमहरिया वडा नं ६ पुरैनियामा मात्रै करीब ५० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गहुँ खेती पूर्णरुपमा नष्ट गरेको कृषि अधिकृत रामजीवन ठाकुरले बताए । फेटाको भलुही, भरवलीया, बलिरामपुर र फूलबरीया, देवताल गाउँपालिकाको रामपुर्वा, तेलकुवाँ र बेनौली, सुवर्ण गाउँपालिकाको प्रशुरामपुर, हर्दिया, जमुनिया र चरमोहना, गढीमाई गाउँपालिकाको तेलकुवा, परवानीपुर गाउँपालिकाको बुनियाद, रामपुर, टोकनी, लिपनीमाल, चैनपुर र बहुवरी, पचरौता गाउँपालिकाको बेनौली र सखुवाटमा करीब ८०० बिघा क्षेत्रफमा लगाइएको गहुँबाली, २०० बिघा क्षेत्रफलमा लगाइएको मसुरो, ३०० बिघा क्षेत्रफलको मकै तथा २०० बिघा क्षेत्रफलको तरकारी तथा फलफूल खेती पूर्णरुपमा क्षति भएको छ । हावाहुरीबाट आँपका बोटमा रहेका फल (टिकुला) समेत अत्यधिक मात्रामा झरेकाले सो क्षेत्रका किसान मारमा परेका छन् । किसानले आँपको बोटमा मन्जरी लागेकै बेला व्यापारीलाई बेच्ने गरेकाले हावाहुरीले आँपको बोटमा समेत क्षति पुर्याएकाले व्यापारी घाटामा रहेका किसान जाकिर मियाँको गुनासो छ । सो हावाहुरीबाट बारामा रु ३५ लाखभन्दा बढीको चौपाया, पशुपक्षी मरेको अनुमान गरिएको छ । रासस

७ अर्ब निक्षेप बढ्दा कर्जा वृद्धि १७ अर्ब, सीसीडीमा थप चाप पर्नसक्ने

काठमाडौं । डेढ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ७ अर्ब बचत परिचालन वृद्धि गर्दा १७ अर्ब बराबरको ऋण प्रवाह गरेका छन् । माघ महिनामा देखिएको निक्षेप र कर्जाको असन्तुलको गतिलाई कायमै राख्दै निक्षेप र कर्जाको अवस्था क्रमशः २६८६ अर्ब २४०७ अर्ब पुर्याएको हो । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार फागुन ३ गते बैंकहरुको निक्षेप २६७९ अर्ब र कर्जा ३१९१ प्रवाह गरेका थिए । असार मसान्तको वास्तविक अवस्थाको आधारमा चैतको मध्यसम्म बैंकहरुले अघिल्लो वर्षको तुलनामा २१६ अर्बको निक्षेप संकलन गरीे २९६ अर्ब कर्जा प्रवाह गरेको नेपाल बैंकर्स एशोसियसनको तथ्याङ्कमा उल्लेख छ । यो भनेको करिब ८० अर्बको अन्तर हो । बैंकहरुले सामान्यतया निक्षेपको ८० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था मान्ने हो भने बैंकहरुले २१६ अर्ब निक्षेप परिचालन वृद्धि गर्दा १७२ अर्ब मात्रै ऋण दिन पाउँथे । यो आधारमा बैंकहरुको कर्जा विस्तारमा १२४ अर्बको असन्तुलन देखिएको हो । यस्तो अवस्था आउनुमा बैंकहरुको साउन भदौ, असोज र माघ महिनाका गतिविधि प्रमुख कारक छन् । साउन महिनामा १४ अर्ब निक्षेप घट्दा ४ अर्ब कर्जा बढाएका बैंकहरुले भदौमा ४७ अर्ब निक्षेप संकलन र ५९ अर्ब कर्जा प्रवाह वृद्धि गरेको थिए । असोज महिनामा झन् २१ अर्ब निक्षेप र ७२ अर्ब कर्जा प्रवाह वृद्धि भएको थियो । यही कारणले बजारमा लगानीयोग्य पुँजीको अभाव हुँदा बैंकिङ क्षेत्रको व्याजदर आकाशिएको थियो । राष्ट्र बैंकको ‘करेक्टिभ एक्सन’सँगै कात्तिक, मंसिर र पुस महिनामा बैंकहरुको असन्तुलित कारोबारको अवस्थामा सुधार आए पनि माघ महिनामा सो अवस्था पुन: दोहोरिएको थियो । कात्तिकमा ४३ अर्ब निक्षेप र ३७ अर्ब कर्जा विस्तार हुँदा मंसिरमा ५४ अर्ब र ३१ अर्ब तथा पुसमा ३०/३० अर्बको निक्षेप र कर्जाको आकार विस्तार भएको थियो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको भारित औसत सीसीडी अनुपात ८०.९५ प्रतिशत थियो । फागुन महिनाका बैंकहरुको अवस्थाले यसमा झन् चाप पर्नसक्ने देखिएको छ ।

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक, ‘तीन तहकै सरकारका कार्यक्रम नदोहोरिउन्’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताए । उनले भने “कार्यक्रमहरु नदोहोरिउन भनेर तिनै तहका सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्छ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्छ ।” बैठकमा सहभागी प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईका अनुसार प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले निर्णय गरेका २९ बुँदाको कार्यान्वयन तदारुकताका साथ गरिने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले आँधीहुरीपीडित बारा र पर्साका बासिन्दालाई राहत र पुनःस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका थिए । राष्ट्रिय योजना आयोगले तयार गरेको आगामी १५औँ आवधिक योजनाको मस्यौदा आधारपत्रलाई अन्तिमरुप दिन आयोजित राष्ट्रिय विकास परिषद्को बैठकका लागि मुख्यमन्त्रीहरु काठमाडौँमा रहेका छन् । रासस

गरिमा र नेपाल इन्भेष्टमेण्ट बैंकबीच सेवा प्रवाह गर्ने सम्बन्धमा सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंकले “गरिमा रेमिट’’सेवा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिट मार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।

सुनको मुल्य घट्यो, प्रतितोला ५९ हजार ४ सयमा विक्री

काठमाडौं । बुधबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । विहिबार सुनको मुल्य कमी भएसँगै तेजावी सुनमा पनि प्रतितोला १ सय रुपैयाँ कम भई ५९ हजार १ सयमा बिक्री भईरहेको छ । त्यस्तै चाँदी भने प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी लिएको छ ।

चाबहिल-साँखु सडकखण्ड धुलो र धुवाँले कुहिरी मण्डल, सर्वसाधारण प्रभावित

साँखु । निर्माणाधीन चाबहिल-साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ । यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ । निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन । सडको यो दयनीय अवस्थाका कारण सर्वसाधारण त हैरानीमा छन् नै यसको मुख्य चपेटामा ट्राफिक प्रहरी पनि पर्ने गरेका छन् । बिहान उज्यालो भएदेखि सडकमा बसेर मध्यरातसम्म घाँटी सुक्नेगरी सिटी फुक्ने ट्राफिक प्रहरीको दिनचर्या नै हो । त्यहीँमाथि सडकको धुलो र धुँवाले सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरी पनि आजित भएका छन् । बौद्धको सडकको ‘ड्युटी’मा खटिरहेका प्रहरी जवान समीर दाहालको शरीरका कुनै अङ्गले फुर्सद पाएको देखिँदैन । यताउता दौडिँदै हातको इसाराले सवारीसाधनलाई सही बाटोमा लगाउँदै हिँडिरहेको उनी व्यस्त देखिए । दैनिक यसरी नै सडकमा धुवाँधुलो र गाडीका चालकलाई लाइनमा लगाउँदै बित्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । चाबहिलदेखि साँखुसम्मको सडकखण्डमा जम्मा दुई ठाउँमा कालोपत्र गरेको भेटिन्छ । उक्त सडकखण्डमध्ये चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५०० मिटर र थलीको ओरालोमात्र कालोपत्र भएको छ । बाकीँ पुरै सडक कच्ची छन् । महानगरीय प्रहरी वृत्त बौद्धका ट्राफिक प्रहरी प्रमुख हृदयेश सापकोटा भन्छन्, “बिहानदेखि बेलुकासम्म सडकमा हुन्छौँ । एक घण्टा सडकमा बस्दा धुलोले मान्छे चिनिँदैन । कराउँदाकराउँदै स्वर बस्छ, अझ धुलोबाट हुने रुघाखोकी, दम, एलर्जीलगायत फोक्सोसम्बन्धी रोगको प्रत्यक्ष समस्याबाट दिनानुदिन गुज्रिनुपरेको छ ।” सापकोटाका अनुसार बौद्ध मातहतमा ४२ ट्राफिक प्रहरी कार्यरत छन् । कपनको आंशिक क्षेत्रबाहेक साँखु र बौद्धका ट्राफिक प्रहरी धुलोको मुख्य मारमा परेका छन् । चाबहिल–साँखु सडक चार लेनको बनाउने भन्दै लामो समयदेखि भत्काउने र खन्ने काम भएको छ । सडकभरि माटोको थुप्रो र हिलोको समस्या भनिसाध्य छैन । सडको छिटो काम सकिए पनि ठूलो समस्याबाट मुक्ति मिल्ने बौद्धका ट्राफिक प्रहरी चतेन्द्रराज श्रेष्ठ बताउनुहुन्छ । अहिले जोरपाटीको ओरालोमा त १० मिनेट पनि बस्न सक्ने अवस्था नभएको उहाँले सुनाउनुभयो । विसं २०७२ बाट सडक बनाउने भन्दै बाटो भत्काउन थालेपछि सडक साँघुरा भएका छन् । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत ट्राफिक प्रहरी बिलकुमार राई भन्छन्, “मास्क लगायो केही समयमै सिटी फुक्नका लागि खोल्नुपर्छ । फिल्टर भएको मास्क भए पनि सवारीसाधनले उडाउने अत्यधिक धुँवाधुलोे सजिलै मुखभित्र छिर्छ ।” समयमै बाटो कालोपत्र भए सबैलाई सजिलो हुने उनको भनाइ छ । धुवाँ र धुलोबाट आक्रान्त भएका ट्राफिक प्रहरी दिनरात नभनी २० घण्टा ड्युटी गर्ने गर्दछन् । कराउँदा घाँटी दुख्ने र स्वर पनि सुक्ने गरेको छ । धुलोका कारण सबैभन्दा बढी बिरामी हुने गरेको ट्राफिक प्रहरी हवल्दार बालकृष्ण पन्त बताउँछन् । दैनिक बिहान बेलुकाको धुलोमा गर्नुपरेको ड्युटीले कपडाको रङ नै परिर्वतन हुन्छ । धुलोका कारण दिनमा दुईपटक कपडा फेर्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । बन्दै गरेको सडकको बीच भागमै निर्माण साम्रगी राख्नाले पनि सवारी साधनलाई निरन्तर ‘पास’ गराउन समस्या हुन्छ । “ठेकेदारलाई यस विषयमा ध्यानाकर्षण पनि गराएँ तर उनीहरु सुने नसुनेझैँ गर्छन्”, बौद्धका ट्राफिक प्रहरी प्रमुख सापकोटाले भने, “धुलो, धुवाँ र हिलो खाँदै सडकमा काम गरिरहेका छौँ ।” सरकारले ट्राफिकलाई वर्षमा दुई जोर कपडा दिन्छ । सरकारले दिएको कपडा छ महीना टिक्दैन भने एकजोर बुट बढीमा तीन महीना नखप्ने ट्राफिक प्रहरीको गुनासो छ । सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडक विस्तार गरिरहेका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताए पनि सडक निर्माणले कहिले पूर्णता पाउँछ भन्ने अझै टुङ्गो छैन । रासस