विकासन्युज

निर्यात विस्तार गर्दै माउण्ट एभरेष्ट ब्रुअरीः कोरिया, सिङ्गापुर र अमेरिकामा बियर पठाउने गृहकार्य

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको माउण्ट एभरेष्ट ब्रुअरीले उत्पादन गर्दै आएको एभरेष्ट बियरको निर्यात विस्तार गर्ने भएको छ । सो कम्पनीले हाल जापान, बेल्जियम र अष्ट्रेलिया बियर पठाउँदै आएको छ । कम्पनीका प्रमुख प्रबन्धक शान्त श्रेष्ठका अनुसार कोरिया, सिङ्गापुर र अमेरिका बियर पठाउनका लागि गृहकार्य भइरहेको छ । कम्पनीको एभरेष्ट प्रिमियम बियर हाल विदेश पठाइँदै आएको छ । श्रेष्ठका अनुसार अमेरिकामा एभरेष्टको ट्रेड दर्ता भइसकेको छ । कोरिया र अष्ट्रेलियामा पनि दर्ताको प्रक्रिया भइरहेको उनले बताए । ब्रुअरीले १२ वर्षयता जापानमा एभरेष्ट बियर पठाउँदै आएको छ । वार्षिक चार कन्टेनर बियर जापान जाने गरेको उनले बताए । तीन वर्षअघिबाट बेल्जियम र दुई वर्षअघिबाट अष्ट्रेलिया बियर पठाइँदै आएको छ । वार्षिकरूपमा पाँच कन्टेनर बेल्जियम र तीन कन्टेनर अष्ट्रेलिया जाने गरेको श्रेष्ठले बताए । सात वर्षअघि चीन जाने गरेको भए पनि त्यहाँको बजार बढी प्रतिस्पर्धी भएपछि धान्न नसक्दा हाल रोकिएको छ । हाल निर्यात भइरहेका देशमा खपत बढाउने र नयाँ देशमा निर्यात शुरु गर्ने योजनामा कम्पनी रहेको उनले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम रहेको बियर भएकाले विदेशीले विशेष रुचि राखेको उनले बताए । कतिपयले बियर पिएपछि स्टिकर निकालेर राख्ने गरेको उनको भनाइ छ । सरकारले निर्यात गर्दा राजश्वमा छुट दिने गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजालका अनुसार बियर निर्यात गर्दा मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिने व्यवस्था रहेको छ । रिजालका अनुसार नेपाली बजारमा समेत बिक्री गर्ने यस ब्रुअरीले चालू आवको फागुन मसान्तसम्म रु एक अर्ब १० करोड १६ लाख २७ हजार अन्तःशुल्क बुझाइसकेको छ । माउण्ट एभरेष्ट ब्रुअरीले एभरेष्ट प्रिमियमसँगै गोल्डेन टाइगर स्ट्रङ, राइनो प्रिमियम र राइनो स्ट्रङ बियर उत्पादन गर्दै आएको छ । विसं २०४२ मा अमात्य परिवारले शुरु गरेको यस कम्पनीको पहिलो बियर सानमिगलको ब्राण्ड खोसिएपछि करीब बन्दको अवस्थामा पुगेकामा ब्राण्ड थप गरी निर्यातसमेत गर्न थालेपछि बजार विस्तार गर्न सकेको श्रेष्ठले बताए । कम्पनीमा हाल २२५ ले रोजगारी पाएका छन् । रासस

क्रस बोर्डर ट्रेडिङ प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड, नेपाली कम्पनीकाे शेयर विदेशमा कारोबार हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले क्रस बोर्डर लिस्टिङ र ट्रेडिङ गर्ने प्रक्रिया अघि बढाएको छ । नेपालमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएका कम्पनीहरुको शेयर कारोबार विदेशी स्टक एक्सचेञ्ज कम्पनीहरुमा गर्न सक्ने र नेपालको स्टक एक्सचेञ्जले पनि विदेशी कम्पनीहरुको शेयर सूचिकृत गरी कारोबार गर्न सक्ने व्यवस्था गर्न उक्त प्रक्रिया अघि बढाइएको हो । यसका लागि धितोपत्र बोर्डले सुरु गरेको प्रक्रिया निकै अघि बढिसकेको बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले जानकारी दिए । शेयरको क्रस बोर्डर कारोबारका लागि नेपालका संस्थाहरुको लेखापरीक्षण अन्तराष्ट्रिय प्रणालीअनुरुपको हुनुपर्ने बताउँदै बोर्डका अध्यक्ष कार्कीले नेपालको लेखा प्रणाली र रिपोटिङ प्रणालीसँग अन्य देशको प्रणाली मेल खाएको अवस्थामा मात्र विदेशी स्टक एक्सचेञ्जमा नेपाली कम्पनीहरु दर्ता हुनसक्ने बताएका हुन् । त्यसरी विदेशी स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुन चाहने कम्पनीहरुलाई लेखापरीक्षण अन्तराष्ट्रिय स्तरको बनाउन सकेत उनले सुझाव दिएका छन् । नेपाली कम्पनीहरुको शेयरको सूचीकरण विदेशमा हुनुपर्ने माग विभिन्न उद्योगी एवं उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले गर्दै आएका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले विभिन्न फोरम तथा मञ्चहरुमा यस्तो व्यवस्था गर्नुपर्ने माग धेरै अघिदेखि गर्दै आएका छन् । यसै सन्दर्भमा कार्कीले नियामकको रुपमा त्यस्तो व्यवस्थाका लागि अघि बढेको जानकारी दिएका हुन् । यद्यपि विद्यमान् कानूनअनुसार नेपाली लगानीकर्ताले विदेशमा लगानी गर्न नपाउने अवस्थामा यसरी विदेशी स्टक एक्सचेञ्जमा हुने सूचीकरणले नेपाली पुँजी विदेशमा लगानी गर्नुअघि त्यो कानूनी व्यवस्था संशोधन गर्नु आवश्यक हुन्छ । यसले नेपाली पुँजी विदेशमा पलायन हुने अवस्था भने सिर्जना गर्नसक्छ ।

लालीगुराँस भयो प्रदेश ३ को उत्कृष्ट सहकारी

काठमाडौँ । प्रदेश नम्बर ३ मा रहेका सहकारी मध्य लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थाले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०७५ प्राप्त गरेको छ । बुधबार ६२ औँ सहकारी दिवसको अवसरमा राजधानीमा आयोजित विषेश कार्यक्रममा लालीगुराँसलाई उत्कृष्ट सहकारी घोषणा गरिएको हो । राष्ट्रिय सहकारी महांसघको उपसमितिले प्रदेश ३ को उत्कृष्ट सरकारीका रुपमा लालीगुराँसलाई छनौट गरेको हो । ललितपुरको चापागाउँ, काठमाडौँको चाबहिल, भक्तपुरको कौशलटार र चितवनमा सदस्य सुबिधा काउण्टर संचालन गरिरहेको लालीगुराँस सहकारीले जनाएको छ ।

हावाहुरी पीडित वारा–पर्साका घाइतेको लागि ७४ जनाले गरे रक्तदान

काठमाडौँ ।  बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस् भन्दै काठमाडौँको नयाँबानेश्वरमा बुधावार गरिएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर लगायतको आयोजनामा आकास्मिक रुपमा गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता भएको कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए । आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरे अनुसार बानेश्वरका स्थानीय, नेपाल प्रहरी, होस्टल ब्यावसायी संघका प्रतिनिधि, सामुदायिक प्रहरी लगायतले रक्तदान गरेको थिए । कार्यकमका आयोजक महानगरीय प्रहरी नयाँबानेश्वर प्रमुख डीएसपी गोबिन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै रक्तदान कार्यक्रम गरिएको बताए ।

हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि

हेटौँडा । प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशतले आन्तरिक आय वृद्धि गरेको पाइएको छ ।उपमहानगरपालिकाको चौथो नगरसभाका अवसरमा प्रस्तुत प्रतिवेदनमा आन्तरिक आयमा वृद्धि भएको पाइएको हो । उक्त वृद्धिदरलाई आधार मान्दा चालू आर्थिक वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाले आन्तरिक आयमा गत वर्षको सङ्कलनमा रु १० करोड थप गर्ने देखिएको छ । उपमहानगरले चालू आर्थिक वर्षको हालसम्म रु २२ करोड ६० लाख आम्दानी गर्न सफल भएको छ । आन्तरिक आयमा रु १० करोडले वृद्धि हुने अनुमान गरिएको उपप्रमुख मीना लामाले जानकारी दिइन् । उनका अनुसार आन्तरिक आयमा वृद्धिसँगै नगरको साविक बजेटमा वृद्धि भएर रु एक अर्ब ७७ करोड पुगेको छ । चालू वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाको आम्दानी रु एक अर्ब ८७ करोड हुने अनुमान गरिएको उपप्रमुख लामाले बताइन् । उक्त रकम चालू आवमा स्वीकृत भएको रकमभन्दा १५ प्रतिशत अर्थात् रु २४ करोड ६२ लाखले बढी हो । नदीजन्य पदार्थ, विज्ञापनकर, पूर्वाधार मर्मतसम्भार, सार्वजनिक शौचालय, सिमेन्ट निकासी करलगायतका क्षेत्रबाट बढी राजश्व सङ्कलन भएको छ । चालू आवको हालसम्म भौतिक पूर्वाधारका ३८९ योजना सम्झौता भएर सञ्चालनमा आएका छन् । ती मध्ये २०५ योजना सम्पन्न भइसकेका छन् भने १८४ योजना निर्माणाधीन अवस्थामा रहेको उपप्रमुख लामाको भनाइ छ । रासस

उपत्यकामा चार नयाँ शहर, डिपिआर यसै बर्ष

काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समचार छ ।

असारसम्म पाइप लाइनबाट तेल

अमलेखगञ्ज । नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत)-अमलेखगञ्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । तर, आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले सार्थकता पाउने सम्भावना छ । त्यसमा पनि भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण केही समस्या आउनसक्ने सम्भावना उत्तिकै छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन आयोजना अनुसार भारतको मोतिहारीबाट ६९.५ किलोमिटर लम्बाइको ३२.२५ किलोमिटर भारतमा र ३७.५ किलोमिटर पर्दछ तर भारतले नेपाललाई पहिलो चरणमा मोतिहारीबाट नभई पटनाबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ दिने भएको र पटना-मोतिहारी खण्डमा तीन किलोमिटर पाइप लाइन निर्माणमा अवरोध भइरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

जो दोषी, उही न्यायाधीश !

काठमाडौँ । जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण फेला पारेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ । छानबिनमा नपरेका बालमुकुन्द दवाडी ललितपुरको बलात्कारसम्बन्धी एक मुद्दामा अस्वाभाविक थुनछेक आदेश गरेकाले विवादित छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।