विकासन्युज

हावाहुरीका कारण बारा र पर्सामा १० मजदुरको मृत्यु, चाचान ग्रुपको दाल मिलमा क्षति

काठमाडौँ । आइतबार बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीले मानवीय क्षतिसँगै त्यस क्षेत्रका औद्योगिक प्रतिष्ठानमा समेत क्षति भएको छ । पर्सा जिल्लामा चाचान ग्रुपले सञ्चालन गरेको दाल मिलमा सबैभन्दा धेरै क्षति भएको छ । यता बारा जिल्लामा रहेका उद्योगमा भने कुनै किसिमको क्षति भएको छैन । पर्सा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले अहिलेसम्म आएको जानकारी अनुसार सबैभन्दा धेरै चाचान ग्रुपको दाल मिलमा भएको बताए । उनले सबै उद्योगहरुलाई क्षतिको विवरणका सूचना गरेपनि सम्पूर्ण विवरण प्राप्त भइनसकेको बताए । उद्योगले उत्पादन गरेका करोडौं रुपैयाँ बराबरका मालसामान हावाहुरीले उडाएको छ । पर्साको कलस र अम्बे सिमेन्ट लगाएतका उद्योगहरुमा क्षति भएको अध्यक्ष केडियाले बताए । यसैगरी बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोदप्रसाद साहले बाराका कुनैपनि उद्योगमा क्षति नभएको बताए । अहिले विद्युत आपूर्ति बन्द छ, विद्युत सुचारु हुने बित्तिकै उद्योग सञ्चालनमा आउँछन्-उनले भने । १० मजदुरको मृत्यु स्थानीय प्रहरीका अनुसार वारा र पर्सा जिल्लामा हावाहुरीका कारण ईट्ट भट्टामा काम गर्ने ५ जना नेपाली र ५ जना भारतीय गरी १० जनाको मूत्यु भएको छ । बिजुलीका पोलहरु हावाले उडाउँदा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति बन्द छ ।

महर्जन कम्प्लेक्सको स्पेस बुकिङ उत्साहजनक, विदेशका नेपालीबाट पनि चासो

काठमाडौं । महर्जन बिजनेस एसोसिएट प्रालिले काठमाडौंको न्युरोडमा निर्माण गरिरहेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को २१ वटा कबल बुकिङ भएको छ । बुकिङ खुला गरेको एक सातामै सो संख्यामा बुकिङ भएको कम्पनीको भनाई छ । काठमाडौं उपत्यका, देशका प्रमुख सहर र विदेशमा रहेका नेपालीसमेतले स्पेस बुकिङ गरेको प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले बताए । उक्त कम्प्लेक्सलाई संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेका कारण विदेशमा रहेका केही नेपालीले बुकिङ गरेको र अरु थुप्रैले चासो राखेर सोधखोज गरिरहेको महर्जनको भनाइ छ । युनेस्कोले २२ नोभेम्बर २०१७को एक पत्रमा उक्त कम्प्लेक्सको ‘नियो क्लासिकल’ (नवपारम्परिक) स्वरुपको तारिफ गरिएको छ । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दोजुल्दो भनिएको छ । कम्पनीले गत साता ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको कम्प्लेक्सको स्पेस बिक्रीका लागि विज्ञापन गरेको थियो । लोन्ली प्लानेट, ट्रिप एडभाइजरजस्ता विश्वविख्यात पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नैपर्ने सहरको सूचीमा राखेको काठमाडौंको केन्द्र भागमा रहेकाले उक्त कम्प्लेक्समा स्पेस किन्न लगानीकर्ता उत्साहित भएको महर्जनको भनाइ छ ।

बैंकिङ क्षेत्र यो वर्ष पनि फस्टायो, कर्जा २२ प्रतिशतले र निक्षेप २० प्रतिशतले वृद्धि

काठमाडाैं । व्यवसायिक जगतमा शिथिलता आएको अभिव्यक्तिहरु आईरहेको बेलामा बैंकिङ क्षेत्रको व्यावसाय उत्साहजनक रुपमा वृद्धि भएको छ । विगत एक वर्षमा वाणिज्य बैंकहरुको कर्जा २२.२७ प्रतिशतले बढेको छ । सोहि अवधिमा निक्षेप २०.५४ प्रतिशतले वृद्धि भएको छ । एक वर्षमा कर्जा ४ खर्ब ३७ अर्ब रुपैयाँले वृद्धि भएको छ । २०७४ फागुन सम्ममा बाणिज्य बैंकहरुले कुल १९ खर्ब ६२ अर्ब कर्जा लगानी गरेकोमा २०७५ फागुन मसान्तसम्ममा २३ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । एक वर्षमा निक्षेप ४ खर्ब ५६ अबै रुपैयाँले वृद्धि भएको छ । २०७४ फागुनमा २८ वटा वाणिज्य बैंकहरुमा २२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २०७५ फागुन सम्ममा २६ खर्ब ७५ अर्ब रुपैयाँ भएको नेपाल बैंकर्स संघले जनाएको छ । तर फागुन महिनामा भने बैंकहरुको व्यवसायमा मन्दी देखिएको छ । फागुनमा निक्षेप ४ अर्बले र कर्जा ९ अर्बले मात्र वृद्धि भएको छ । मासिक रुपमा हेर्दा बैंकहरुको व्यवसाय विस्तार ज्यादै तलमाथि भएको देखिएको छ । सरकारी खर्चमा भएको अस्थायीत्व र विजनेश सेन्टीमेन्टमा भएको उतारचढावको असर बैंकिङ क्षेत्रमा देखिएको बैंकर्सहरुको भनाई छ । गत असारमा निक्षेप १०१ अर्बले वृद्धि थियो भने साउनमा १५ अर्ब रुपैयाँले घटेको थियो । त्यस्तै गत असोजमा ७२ अर्बले वृद्धि भएको कर्जा साउनमा ४ अर्ब मात्र वृद्धि भएको थियो ।

ऋद्धिसिद्धि सिमेन्टले पायो गुणस्तर चिह्न

हेटौँडा । ठूलो कारखानामा सञ्चालन भएको ऋद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त गरेको छ । शङ्कर समूह र अम्बे समूहको रु १० अर्ब लगानीमा स्थापित उद्योगको ओपिसी ब्राण्डले एनएस पाएको हो । अहिले शिवम् सिमेन्ट र अर्घाखाँची सिमेन्टबीच रहेको प्रतिस्पर्धामा अब ऋद्धिसिद्धि पनि ओर्लेको हेटौँडाका उद्योगी व्यवसायी बताउँछन् । उद्योगबाट अहिले दैनिक दुई हजार टन सिमेन्ट उत्पादन भइरहेको छ । अहिले ग्राइन्डिङ युनिट मात्रै सञ्चालनमा आएको हो । तीन महिनापछि आफ्नै क्लिङ्करबाट सिमेन्ट उत्पादन हुने उद्योगले जनाएको छ । गुणस्तरीय सिमेन्ट तयार गर्न उत्कृष्ट चुन ढुङ्गा चाहिन्छ । मकवानपुरको राक्सिराङ र निबुवाटारमा चुनढुङ्गा खानी छ । शक्तिखोरको प्रिमियम चुनढुङ्गा पनि उद्योगसँग छ । देशभरमा हेटौँडाको चुनढुङ्गा त्यसमध्ये एक हो । त्यसैकारण ऋद्धिसिद्धिले आफ्नो ब्राण्डिङका लागि हेटौँडाको सिमेन्ट ट्याग लाइन प्रयोग गरेको छ । उद्योगको कारखना हेटौँडाको रातोमाटेमा छ । चालीस बिघामा फैलिएको सो कारखानामा डेनमार्क र जर्मन कम्पनीका यन्त्र प्रयोग भएको छ । डेनमार्कको एएलिस्टिक मेशिन विश्वकै उत्कृष्ट मानिन्छ ।

हावाहुरी पीडितलाई गोर्खा इको प्यानलको ५० हजार सहयोग

काठमाडौं । निर्माण सामाग्रीको रुपमा रहेको इको प्यानल उत्पादन गर्दै आएको गोर्खा इको प्यानलले तराईका दुई जिल्लाका हावाहुरीपीडितको सहयोगार्थ ५० हजार रुपैयाँं सहयोग गरेको छ । चैत १७ गते आइतबार साँंझ प्रदेश नं २ को बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीबाट पीडित परिवारको सहयोगका लागि उक्त रकम सहयोग गरेको गोर्खा इको प्यानलले जनाएको छ । नेपाल इन्जिनियर्स एसोसियसनको खातामा जम्मा गरी उक्त रकम सहयोग गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले बताए । कम्पनीले गोर्खा इको प्यानलको प्रयोग गरी घर बनाउन तथा पुननिर्माण गर्न चाहने पीडितहरुका लागि थप १० प्रतिशत छुटमा इको प्यानल विक्री गर्ने सीईओ दुवालले जनाए । सामाजिक उतरदायित्व वहन गर्ने क्रम अन्तर्गत सहयोग गरेको दुवालले जनाए । कम्पनीले समयसमयमा यस्तो सामाजिक उतरदायित्व अन्तर्गत सहयोग गर्दै आएको उनले जनाए । तराईमा मच्चाएको हावाहुरीको वितण्डाले विशेष गरी बाराको पसौनी, फेटा र सुवर्ण गाउँंपालिकामा वढी प्रभावित पारेको थियो । पीडितलाई सहयोग गर्न नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रिय समितिले सरोकारवाला सवैलाई सार्वजनिक आग्रह गरेको थियो । एसोसिएसनको आग्रहपछि आफूहरुलाई सहयोग गरेको इको प्यानलले जनाएको छ । एसोसिएसनले यसका लागि सार्वजनिक रुपमै सवैसँंग आग्रह गरी सहयोग संकलन अभियान चलाउँंदै आएको छ ।  गोर्खा इको प्यानल इटाको विकल्पको रुपमा (भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) प्रयोग हुने निर्माण सामाग्री हो । यो भूकम्पप्रतिरोधी इको प्यानल हो ।

व्यवसायीले हावाहुरी पीडितको राहत सामग्री निःशुल्क ढुवानी गर्ने

काठमाडौँ । बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ ।नेपाल सामान ढुवानी व्यवसायी सङ्घको आज बसेको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष श्यामकुमार डङ्गोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न सङ्घ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई सङ्घसँग समन्वय गर्न आग्रह गरे । उनले राहत सामग्री काठमाडौँदेखि वितरणस्थलसम्म पुर्याउन सहयोग गरिने बताए । सङ्घले हावाहुरीमा परी दिवङ्गत भएकाको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । एक नेपालीले अर्को नेपालीलाई गाह्रो पर्दा मन खोलेर सहयोग गर्ने संस्कारअनुसार सहयोगी हात अगाडि बढाउन सङ्घले आह्वान गरेको छ । सङ्घको तर्फबाट उपलब्ध गराउन लागिएको निःशुल्क सेवाका लागि नेपाल सामान ढुवानी व्यवसायी सङ्घ, सानो भ¥याङ, काठमाडौँको सम्पर्क नं ०१–४२८६३१२, ४२७१३३१ र ९८४१२८८९६१ मा सम्पर्क गर्न आग्रह गरिएको छ । काठमाडौँ सामान ढुवानी व्यवसायी सङ्घ, ठूलो भर्याङको सम्पर्क नं ०१–४६७१४५८ वा ९८५१०३०३३८ तथा वीरगञ्ज ट्रान्सपोर्ट एशोसिएशन, आदेश नगर वीरगञ्जका सचिव नवराज अधिकारीको सम्पर्क नं ९८४५०३३३६१ मा सम्पर्क गर्न सहयोगदातालाई अनुरोध गरिएको सङ्घका सचिवद्वय पुष्पराज श्रेष्ठ र अरुणकुमार श्रेष्ठद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने एडिबीको प्रक्षेपण, आगामी वर्ष ६.३ प्रतिशत पुग्ने

काठमाडौँ । चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.२ प्रतिशत र आगामी आवमा त्यो ६.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।एशियाली विकास बैंक (एडिबी) ले आज सार्वजनिक गरेको पछिल्लो विवरणमा अर्थतन्त्रका सूचक सकारात्मक रहेका उल्लेख गर्दै त्यस्तो प्रक्षेपण गरेको हो । सबल आन्तरिक मागको आधारमा आर्थिक परिदृश्य स्थिरतातर्फ उन्मुख रहेका तथा भूकम्पपछिको तीव्र गतिको पुनःनिर्माण एवं प्रदेश र स्थानीय सरकारहरुलाई ठूलो परिमाणमा बजेट विनियोजनले आर्थिक वृद्धिमा मद्दत पुगेको एडिबीको विश्लेषण छ । वित्तीय सङ्घीयताको निर्वाध कार्यान्वयनका चुनौतीहरु समाधान गर्न नसकेको खण्डमा र वित्तीय अनुशासन पालना नभएको अवस्थामा जोखिम उत्पन्न हुनसक्ने भन्दै प्रतिवेदनमा ती चुनौतीलाई सम्बोधन गर्नसके नेपालले लामो अवधिसम्म उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्नसक्ने सम्भावना रहेको उल्लेख छ । कृषि क्षेत्रको वृद्धि आव २०७४/७५ को २.८ प्रतिशतबाट आव २०७५/७६ मा ४.५ प्रतिशत पुग्न सक्ने तथा उक्त अनुमान मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ । निरन्तर विद्युत् आपूर्ति र लगानीको वातावरणमा सुधारका प्रयत्नका कारण चालू आवमा औद्योगिक क्षेत्र ७.१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । यसका साथै थोक तथा खुद्रा व्यापार, होटेल र रेस्टुरेन्ट तथा वित्तीय सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्नेछ । उच्च आयात र कर प्रणालीमा सुधारका आधारमा प्रारम्भिक रूपमा राजस्व सङ्कलन बढेको, सबल राजस्व वृद्धिका कारण आव २०७५/७६ को पहिलो ६ महिनामा बजेट बचतमा रहेको चालु आवको पहिलो सात महीनामा पुँजीगत खर्च बढेता पनि यसको कार्यान्वयन भने २२.५ प्रतिशत मात्र रहेको बढ्दो व्यापार तथा चालू खाता घाटासँगै नेपालले बाह्य क्षेत्रको अस्थिरताको बढ्दो जोखिमको सामना गर्नु परेका प्रतिवेदनले देखाएको छ । रासस

२.०१ अंकले बढ्यो नेप्से, ५४ करोडको कारोबार

काठमाडौ । साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.०१ अंकले बढेको हो । ०.१७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११६५.८४ बिन्दुमा पुगेको छ । बुधबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २० लाख २९ हजार १५ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ५८ लाख १८ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको छ । बजार बढेपनि नेप्सको २ समूह मात्र हरिया छन् । बैंक समूह ४.५३ र विकास बैंक ६.११ अंकले बढेका हुन् । होटल समूह १५.८१, जलविद्युत समूह ३.९६, वित्तीय २.०३, निर्जीवन बीमा ६.६१, उत्पादनमूलक समूह ५.१२, अन्य समूह ०.९२, माईक्रोफाईनान्स समूह २.३९ र जीवन बीमा समूह ३.८३ अंकले घटेका छन् । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ४.६४ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने यूनिर्भसल पावर कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।