विकासन्युज

घरजग्गा किनबेच गर्दै हुनुहुन्छ ? विसं २०८१ मा सबैभन्दा बढी नाफा हुने !

काठमाडौं । तपाईँ घरजग्गाको खरिद बिक्री गर्दै हुनुहुन्छ ? यदी घरजग्गा किन्दै वा बेच्दै हुनु हुन्छ भने अहिले नै बिचार गर्नुहोस्, विसं. २०८१ मा सबैभन्दा धेरै नाफा हुने भएको छ । राष्ट्रिय योजना आयोगले १५ औं पञ्चवर्षीय योजनामा आगामी ५ वर्षको तथ्यांक प्रस्तुत गर्दै घरजग्गा कारोबार सम्बन्धीमा यस्तो प्रक्षेपण गरेको हो । आयोगले तयार पारेको तथ्याङ्क अनुसार ५ वर्षपछि अर्थात आर्थिक वर्ष ०८०/८१ मा घरजग्गाको कारोबार १ खर्ब ९० अर्ब ६ करोड रुपैयाँको पुग्नेछ । यो प्रक्षेपणले घरजग्गा कारोबार बढ्ने देखिएको हो । चालू आर्थिक वर्षमा घरजग्गा, बहाल, व्यापारिक क्रियाकलापबाट कुल १ खर्ब १६ अर्ब ५१ करोडको कारोबार भैरहेको छ । यो रकम बढेर आव ०७६/७७ मा १ एक खर्ब १८ अर्ब ६० करोड पुग्ने आँकलन गरिएको छ । यस्तै आव ०७७/७८ मा सो कारोबार बढेर १ खर्ब ४१ अर्ब ६६ करोड पुग्नेछ । आव ०७८/७९ मा १ खर्ब ४२ अर्ब ३ करोड पुग्ने अनुमान गरिएको घरजग्गा कारोबार आव ०७९/८० मा १ खर्ब ७३ अर्ब ८१ करोड पुग्नेछ । १५ औं पञ्चवर्षिय आयोजनाको अन्तिम वर्ष ०८०/८१ मा १ खर्ब ९० अर्बको घर जग्गाको कारोबार हुने प्रक्षेपण गरिएको छ । योजना अवधीभर ७ खर्ब ६६ अर्ब २६ करोडको कारोबार हुनेछ । आयोगको प्रतिवेदन अनुसार तुलनात्मक रुपमा आव ०७७/७८ र ०७८/७९ मा घर जग्गा कारोबार नबढ्ने देखिएको छ । सो आर्थिक वर्षको अवधीमा ४७ करोड मात्र कारोबार बृद्धि हुने देखिएको छ । घर जग्गाको कारोबार आर्थिक वर्ष ०७९/८० र ०८०/८१ मा सबैभन्दा बृद्धि हुने देखिएको छ । सो अवधिमा  १६ अर्ब २५ करोडले कारोबार वृद्धि  हुनेछ । यो रकम ५ वर्ष अवधिमा हुने कारोबारको सबैभन्दा बढी हो । यसैगरी आव ०७५/७६ र ०७६/७७ मा २ अर्ब १० करोडले कारोबार बढ्ने देखिएको छ । राजधानीको सोल्टी होटलमा बुधबार शुरु भई विहीबार सम्पन्न हुने राष्ट्रिय विकास परिषद्को बैठकले १५ औं पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिने तयारी गरेको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखालाई नाडाले गर्यो ७० थान कुर्सी सहयोग

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विशेष कार्यक्रम गरी ७० थान कुर्सी प्रदान गरेको छ । नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले मंगलबार एक कार्यक्रमका बीच महाशाखाका प्रमुख बसन्त पन्तलाई उक्त कुर्सीहरु हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा नाडाका उपाध्यक्षद्धय कृष्णप्रसाद दुलाल तथा प्रकाश कपुरीको महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा महाशाखाका उच्च अधिकृतहरु समेतको उपस्थिति रहेको थियो । नाडाले विगतमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका समय देखि नै सो महाशाखालाई विभिन्न किसिमको सहयोग पुर्याउँदै आएको छ ।

माछापुच्छ्रे बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार माछापुच्छ्रे बैंक लि.ले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. को जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।

१० वटा क्रसर उद्योग बन्द गर्ने निर्णय, ‘पूरा गरेनन् मापदण्ड’

गौशाला । महोत्तरी जिल्लामा अवैध रुपमा सञ्चालित १० वटा क्रसर उद्योगलाई जिल्ला समन्वय समितिले बन्द गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिले मापदण्ड पूरा नगरी जिल्लाको चुरे क्षेत्र र रातु नदीलाई प्रभावित गर्ने उद्देश्यले अवैधरुपमा सञ्चालित महोत्तरी गोल्ड क्रसर इ प्रालि बर्दिवास, नमोबुद्ध बालुवा गिट्टी प्रशोधन भङ्गहा, जय भोलेबाबा वासिङसेन्टर बर्दिवास, मनोकामना रोडा बालुवा एग्रिगेसन बर्दिवास, सिद्धार्थ क्रसर उद्योग गौशाला, जय माँ राजदेवी गिट्टी बालुवा वासिङ सेन्टर गौशाला, जय माँ जल्पा बालुवा गिट्टी वासिङ सेन्टर गौशाला, बी एण्ड बी क्रसर उद्योग बर्दिवास, रमण क्रसर उद्योग बर्दिवास र दीपेन्द्र ठाकुरको नाम नखुलेको वासिङ सेन्टर गरी १० वटा क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति संयोजक सुरेशप्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले ती उद्योगले जिल्ला अनुगमन तथा समन्वय समितिले माग गरेको क्रसर उद्योग सञ्चालनसम्बन्धी विवरण उपलब्ध नगराएकोमा ती उद्योग अवैधरुपमा सञ्चालनमा रहेको ठहर गर्दै बन्द गर्ने निर्णय गरेको छ । बैठकले ती उद्योग जिल्लाको चुरे क्षेत्र र रातु खोलाबाट नदीजन्य तथा ढुङ्गा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, बिक्री र स्टोकका लागि इजाजत, दर्ता र मापदण्ड पूरा नगरेको अनुगमनमा समेत फेला परेपछि ती उद्योग बन्द गर्ने निर्णय गरेको संयोजक सिंहले बताए । साथै ती १० वटै क्रसर उद्योगलाई सुरक्षा निकायमार्फत् बन्द गराइदिन हुन महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ । रासस

सनराइज बैंकको १० लाख युनिट ऋणपत्र बिक्री खुला

काठमाडौँ । सनराइज बैंकले बुधबारदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले चैत १ गते ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । ऋणपत्र बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक लगानीकर्ताले सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । छिटोमा चैत २५ गते र उक्त अवधिमा बिक्री नभएकोमा बैशाख १९ गतेसम्म आवेदन गर्न सक्ने प्रभु क्यापिटलले जनाएको छ । मेरो शेयरबाट पनि ऋणपत्र आवेदन भर्न सकिनेछ। प्रभु क्यापिटलका अनुसार न्यूनतम २५ कित्ता युनिटको एक हजार रुपैयाँ दरले २५ हजार रुपैयाँदेखि ४ लाख कित्ता युनिट बराबरको ४० करोड रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । यता, बैंकका अनुसार पाँच वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने छ । कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिएको बैंकले जनाएको छ । बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने छ।

टोखा-नुवाकोट सडक, तमोर जलविद्युत र खानेपानीमा ३६७ अर्ब लगानी गर्ने चिनियाँ प्रस्ताव

काठमाडौं । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । ती परियाेजना निर्माणका लागि ३६७ अर्ब रूपैयाँ लगानी हुने अनुमान गरिएकाे छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने सडक तथा सुरुङ मार्ग र जलाशययुक्त ७५६ मेगावाटको तमोर हाईड्रोपावर आयोजनामा लगानी ल्याउने आशय सहित प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको हो । उक्त कम्पनीले पेश गरेको प्रस्तावमा खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला खानेपानी आयोजनामा लगानी ल्याउने आशय व्यक्त गरेको छ । सम्भाव्यता अध्ययन भईसकेका यी पाँच आयोजनाहरुको लागत करिब ९० अर्ब लाग्ने अनुमान गरिएको छ । यी पाँच वटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ । खानेपानीका यी आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन कम्पनी आफैंले तयार गर्ने, चीन सरकारसँग समन्वय गरी चाईना एक्जिम बैंक मार्फत नेपाल सरकारलाई सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने र निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गराईएको सिएमइसीको नेपाल प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिए । कम्पनीले सबै आयोजनाहरुमा लगानी छिटो जुटाउन ईन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एण्ड फाइनान्स (ईपिसिएफ) मोडालिटीमा आयोजना अघि बढाउने प्रस्ताव गरेको खतिवडाले बताए । ‘खानेपानी जस्तो कुरा जनताको मौलिक हक अधिकारसँग जोडिएको हुँदा यो जस्तो महत्वपूर्ण आयोजना अरु केही हुन सक्दैन । सरकारले यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरी अघि बढाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौं । सोही अनुसार नै खानेपानी आयोजना अगाडि बढाउने र लगानी जुटाएर निर्माणको काम गर्ने कम्पनीले प्रस्ताव गरेको छ’ उनले भने । यसैगरी सिएमइसीले सामाखुसी टोखा नुवाकोटको छहरे सडक तथा सुरुङ मार्ग निर्माण गर्न प्रस्ताव पेश गरेको छ । नेपाल र चीन जोड्नका लागि यो सडक अति महत्वपूर्ण रहेको खतिवडाले बताए । काठमाडौंबाट छोटो दूरीमा चीनको केरुङ पुग्न सजिलो हुने भएकाले यस सडक आयोजनालाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाई छ । कम्पनीले सहुलियतपूर्ण ऋण सहयोगमा यो सडक आयोजना अघि बढाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा गत आईतबार दर्ता गराएको हो । यो आयोजनाको लागत करिब २७ अर्ब रहेको अनुमान गरिएको छ । त्यस्तै सिएमइसी कम्पनीले ७५६ मेगावाटको जलाशययुक्त तमोर हाईड्रोपावर आयोजनामा समेत लगानी जुटाई आयोजना अघि बढाउने प्रस्ताव पेश गरेको छ । तीन वर्ष अघि नै यस आयोजनामा लगानी जुटाउने प्रस्ताव कम्पनीले गरेको खतिवडाले जानकारी दिए । तमोर हाईड्रोको अनुमानित लागत करिब डेढ खर्ब रहने अनुमान छ । कस्तो हो सिएमइसी कम्पनी ? सिएमइसी सन् १९७८ मा स्थापना भएको सरकारी कम्पनी हो । यो चीनको उत्कृष्ट १० भित्र पर्ने ईन्जिनियरिङ कम्पनी हो । यसले १ सय ५० वटा देशहरुमा खानेपानी, उर्जा र यातायात लगायत अन्य पूर्वाधारको क्षेत्रमा निर्माणको काम गरिरहेको छ । सन् २०१७ मा यस कम्पनीको वार्षिक कारोबार ३ खर्ब ७८ अर्ब रुपैंयाको भएको थियो । यो कम्पनीको नेट वर्थ (खुद सम्पत्ति) २ दशमलब ५ बिलियन अमेरिकी डलर रहेको छ ।

आँधी हुरी प्रभावित घाइते पशुहरुलाई उपचार गर्दै स्नेहाज केयर

काठमाडौं । आँधीहुरी प्रभावित बारा र पर्सा जिल्लामा स्नेहाज केयरले बिरामी तथा घाईते पशुहरुलाई भेटनरी सेवा सञ्चालन गरेको छ । घाइते पशु उपचार गर्न औषधी र डाक्टर सहित स्नेहाज केयरको टोली प्रभावित जिल्ला पुगेको हो । हावाहुरीमा परि सयौँको सँख्यामा जिवजनावरहरु घाईते तथा बिरामी भएका छन् भने सयौँ जनावरहरु हराईरहेका छन् । मृत पशुबाट महामारी फैलिन नदिन केयरले अहिले विषेश सावधानी अपनाइ रहेको केयरका डाक्टर सुमन श्रेष्ठले बताए । हाल केयरले कति पशुपंक्षीको क्षति भयो भन्ने विवरण सँकलन भईरहेकोले गरिरहेको छ । केयरले घाईते जिव जन्तुहरुलाई आवश्यक उपचार तथा दानापानीको व्यवस्थापन गरिरहेको छ । केयरले हावाहुरी प्रभावित बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित तेलगाँई टोल र बेनौली, फेटा गाँउपालिकाको पुरैनिया, भरवलीया तथा भलुही लगायतका स्थानमा बिरामी जनावरहरुको उपचार गरिरहेको छ । यसैगरी कलैया उपमहानगरपालिकाको धर्मनगर, परवानीपूर गाँउपालिकाको चैनपूर, स्वर्णपूर गाँउपालिकाको हर्दिया, परशुरामपूर, वगही लगायत पचरौता नगरपालिकाको प्रभावित स्थानहरुमा सँस्थाको टोलीले पशु सेवा विज्ञ केन्द्र, बारा तथा स्थानीय निकायहरुसँगको समन्वयमा काम गरिरहेको सँस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन्। श्रेष्ठले आँधि प्रभावित क्षेत्रमा सँस्थाको टोली निरन्तर रुपमा कार्यरत रहेकोले केहि समस्या रहेमा आफ्नो टोली खबर गर्न आग्रह गरेकी छिन् । “सँस्थाको टोलीले स्थलगत रुपमा पठाएको विवरण र स्थानीय आवश्यकताको आधारमा आवश्यक पर्ने राहत सामग्री जुटाउन सँस्था लागि परिरहेको छ, हामी हावाहुरी प्रभावित स्थानका मानिस तथा जनावरहरुको स्वास्थ्यलाभको कामना गर्दछौँ, अध्यक्ष श्रेष्ठले भनिन ।”

सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा बैशाख १२ गते, बुक क्लोज कहिले ?

काठमाठौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा बैशाख १२ गते हुने भएको छ । मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । बैंकको साधारण सभा र लाभांश प्रयोजनका लागि चैत २९ गतेदेखि २०७६ बैशाख १२ गतेसम्म बैंकको शेयर दाखिल खारेज बन्द(बुक क्लोज) रहने जनाइएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा चैत २९ गतेभन्दा अगाडि भएका कारोबारहरु सोको ७ कार्यदिन भित्र बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड काठमाडौँमा प्राप्त भइसक्नु पर्नेछ । बैंकले प्रस्तावित गरेको हालको चुक्ता पूँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३ सय २९ रुपैयाँको २ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश(कर सहित) लाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएको र साधारण सभाबाट पारित गर्ने कार्यतालिका रहेको छ ।