विकासन्युज

सिभिल बैंकको अध्यक्ष पुनः इच्छाराज तामाङ

काठमाडौँ । सिभिल बैंक लिमिटेड सञ्चालन समितिको अध्यक्षमा पुनः इच्छाराज तामाङ चयन भएका छन् । बैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले चार वर्षको लागि तामाङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव हिराकाजी बस्नेतले जनाएका छन् । यसअघि सोही दिन सम्पन्न बैंकको सातौँ र आठौँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छाराज तामाङ, अम्बीर बोगटी, प्रतापजंग पाण्डेलाई सञ्चालकमा चयन गरेको थियो । साथै साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त, युगेशबहादुर मल्ललाई सञ्चालकमा चयन गरेको थियो ।

मेगा र एसियन लाइफबीच बैंकास्यारेन्स सम्झौता, बैंकबाट बीमा सेवा पाइने

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले एसियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । मेगा बैंकका देशभरका १ सय २ शाखाबाट एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

२६ बीमा कम्पनी : कसले कसरी पुर्याउँदैछन् न्यूनतम चुक्तापुँजी ?

काठमाडौं । बीमा समितिले सञ्चालनमा रहेका बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी तोक्दै सो पुँजी पुर्याउन दिएको समयावधि असार मसान्तमा सकिँदैछ । यो अवधिमा कम्पनीहरुले सो पुँजी पुर्याउन विभिन्न अभ्यासहरु गर्दे आएका छन् । केही कम्पनीहरु पुँजी पुर्याउनु नपर्ने अवस्थामा छन्, केहीले न्यूनतम चुक्तापुँजी पुर्याइसकेका छन् भने बाँकीको भने चुक्ता पुर्याउन बाँकी छ । हेरौं बीमा कम्पनीहरुको पुँजी वृद्धिको हालको अवस्था । जीवनबीमा कम्पनीहरु राष्ट्रिय बीमा संस्थान : हाल १८ करोड रुपैंयामात्रै चुक्ता पुँजी भएको राष्ट्रिय बीमा संस्थानलाई बीमा समितिले तोकेको २ अर्ब चुक्ता पुँजी पुर्याउन ११ गुणा भन्दा बढी पुँजी वृद्धि गर्नुपर्ने देखिन्छ । तर राष्ट्रिय बीमा संस्थान ऐनले निर्देशित गर्ने उक्त संस्थानलाई हालकै अवस्थामा पुँजी वृद्धि गर्न बाधा छ । राष्ट्रिय बीमा संस्थान ऐनले संस्थानको अधिकृत पुँजी ५० करोडमात्रै भनेको छ । त्योभन्दा बढी चुक्ता पुँजी पुर्याउन ऐन संशोधन गर्नुपर्छ । हाल संसदमा रहको बीमा ऐनले राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा रुपान्तरण गर्ने व्यवस्था गरेको छ । त्यसैले संस्थानलाई ऐन पारित भएको २ वर्षसम्ममा पुँजी वृद्धि गर्ने छुट छ । नेशनल लाइफ इन्स्योरेन्स गत असार मसान्तसम्म १ अर्ब ६५ करोड चुक्ता पुँजी रहेको नेशनलले त्यसयता १०ः६ अनुपातमा हकप्रद शेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब ६४ करोड पुर्याइसकेको छ भने आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट १३.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव समेत गरेको छ । यो बोनस सूचीकरणसँगै नेशनलको चुक्तापुँजी ३ अर्ब रुपैयाँ पुग्छ । मेटलाइफ एलिको अमेरिकी मेटलाइफ कम्पनीको शाखाको रुपमा नेपालमा सञ्चालनमा रहेको उक्त इन्स्योरेन्सलाई न्यूनतम चुक्तापुँजी कायम गर्नु पर्दैन । यसले आफ्नो वित्तीय विवरणमा चुक्तापुँजीको महल नै खाली राख्दै आएको छ । एलआईसी नेपाल असार मसान्तसम्म १ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको भारतीय कम्पनीको संयुक्त लगानी समेत रहेको एलआईसी नेपालको आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ प्रतिशत बोनसपछि पुँजी १ अर्ब ४९ करोड पुगेको छ । चुक्ता पुँजी पुर्याउन एलआईसी नेपाललाई करिब ३४ प्रतिशत बोनस शेयरको आवश्यकता पर्छ । यसले बोनसमार्फत् नै आफ्नो पुँजी पुर्याउने लक्ष्य लिएको छ । नेपाल लाइफ इन्स्योरेन्स बीमा समितिले पुँजी वृद्धिको निर्देशन दिएकै अवस्थामा तोकिएको चुक्तापुँजी पुर्याइसकेको नेपाल लाइफ इन्स्योरेन्सले असार मसान्तसम्म ४ अर्ब ३९ करोड रुपैंया चुक्ता पुँजी कायम गरेको थियो । प्रस्तावित २५ प्रतिशत बोनसपछि उक्त कम्पनीको पुँजी करिब साढे ५ अर्ब रुपैयाँ पुग्छ । यस कम्पनीले अधिकृत पुँजी १० अर्ब प्रस्ताव गरेकोले केही वर्षभित्र चुक्ता पुँजी पनि १० अर्ब बनाउने सम्भावना छ । प्राइम लाइफ इन्स्योरेन्स असार मसान्तमा १ अर्ब ७८ करोड रुपैंया चुक्ता पँुजी भएको प्राइमलाई करिब २२ करोड रुपैंया बोनसबाट पुँजी बढाउनुपर्ने दवाव छ । यसका लागि कम्तीमा साढे १२ प्रतिशतसम्म बोनस शेयर दिनुपर्छ । बोनसबाटै पुँजी पुर्याउने तयारी प्राइम लाइफको देखिन्छ । सूर्या लाइफ इन्स्योरेन्स १२ प्रतिशत बोनस शेयरपछि १ अर्ब १३ करोड चुक्ता पुँजी कायम भएको सूर्या लाइफले प्रस्ताव गरेको १०ः४ अनुपातमा हकप्रद शेयर वितरणसँगै १ अर्ब ५८ करोड पुग्नेछ । उक्त हकप्रदपछि २७ प्रतिशतले हुने करिब ४२ करोड रुपैंया अपुग रकम बोनसबापत वितरण गर्नुपर्ने बाध्यता कम्पनीलाई हुन्छ । गुराँस लाइफ इन्स्योरेन्स असार मसान्तसम्म ५९ करोड ४० लाख रुपैंयामात्रै चुक्ता पुँजी रहेको गुराँस लाइफ इन्स्योरेन्सले सो चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्दैछ । सो हकप्रदपछि कायम हुने ९३ करोड ८५ लाख ३० हजार चुक्ता पुँजीमा १ः१ अनुपात बराबर हकप्रद वितरण गरी चुक्ता पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैंया पुर्याउनेछ । त्यति गर्दा पनि गुराँसलाई कम्तीमा ७ प्रतिशत बोनस शेयर दिनुपर्ने हुन्छ । एशियन लाइफ इन्स्योरेन्स हाल १ अर्ब २५ करोड ६७ लाख चुक्ता पुँजी भएको १०ः६ अनुपातमा हकप्रद शेयर बिक्री गर्दैछ । यसो गर्दा एशियनको पुँजी २ अर्ब १ करोड पुग्छ । एशियनलाई चुक्ता पुँजी पुर्याउनकै लागि थप बोनस शेयर जारी गर्नुपर्ने अवस्था छैन । निर्जीवन बीमा कम्पनीहरु नेपाल इन्स्योरेन्स ६१ करोड लाख चुक्ता पुँजी भएको नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले १ः०.६५ अनुपातमा हकप्रद शेयर निष्काशन गरिसकेको छ । योसँगै नेपाल इन्स्योरेन्सको तोकिएको चुक्ता पुँजी पुगेको छ । ओरेन्टल इन्स्योरेन्स/नेशनल इन्स्योरेन्स भारतीय कम्पनीहरु ओरेन्टल र नेशनलको शाखाको रुपमा नेपालमा कारोबार गर्दै आएका यी दुई कम्पनीहरुलाई मेटलाइफलाई जस्तै चुक्ता पुँजी पुर्याउनुपर्ने झन्झट छैन । भारतमा यी दुई कम्पनीहरु मर्जरमा जाने तयारीसँगै नेपालमा पनि यी दुई कम्पनी गाभिने हल्ला चल्दै आएको छ । यी दुई कम्पनीहरुमध्ये ओरेन्टलले वि.सं. २०१२ र नेशनलले वि.सं. २०३० देखि नेपालमा कारोबार सञ्चालन गर्दै आएका छन् । हिमालयन जनरल इन्स्योरेन्स हिमालयन जनरल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीमध्ये पहिलोपटक चुक्ता पुँजी पुर्याउने कम्पनी हो । २ वर्षअघि नै १ः१.६७ अनुपातमा हकप्रद शेयर जारी गरेको कम्पनीले असार मसान्तसम्ममै १ अर्ब २ करोड पुँजी पुर्याइसकेको छ । पुँजी पुगेसँगै आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट कम्पनीले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिएको थियो । युनाइटेड इन्स्योरेन्स ३० करोड २४ लाख चुक्ता पुँजी रहेको युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशतको हकप्रद शेयर जारी गर्न साधारणसभाबाट प्रस्ताव पारित गरिसकेको छ । यो हकप्रद वितरण भएसँगै युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख पुग्छ । प्रिमियर इन्स्योरेन्स ५८ करोड ४० लाख चुक्ता पुँजी रहेको प्रिमियर इन्स्योरेन्सलाई थप ४१ करोड ६० लाख रुपैंया बराबरको पुँजी थप्नुपर्ने दबाव छ । यो भनेको हालको चुक्ता पुँजीको ७२ प्रतिशत हो । यसअघि एफपीओ जारी गरेर रिजर्भ संकलन गरेको प्रिमियरले सबै पुँजी बोनसबाटै पुर्याउन सक्ने सम्भावना छ । एभरेष्ट इन्स्योरेन्स १ः१.०५ अनुपातमा हकप्रद शेयर निष्कासनपछि २७ करोड ३८ लाख ८२ हजार चुक्ता पुँजी पुर्याएको एभरेष्टले फेरि १ः३ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि आह्वानपत्र प्रकाशन गरेकोे छ । यो हकप्रद बिक्री भएसँगै एभरेष्टको चुक्तापुँजी करिब १ अर्ब ९ करोड पुग्छ । नेको इन्स्योरेन्स अघिल्लो आर्थिक वर्षमै अघिनै २ः१ अनुपातमा हकप्रद दिएर चुक्ता पुँजी पुर्याएको नेको इन्स्योरेन्स हाल इन्स्योरेन्स कम्पनीहरुमध्येकै सबैभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी हो । यसको पुँजी असार मसान्तमै १ अर्ब १७ करोड पुगेको थियो । सगरमाथा इन्स्योरेन्स ५३ करोड ८२ लाख ९२ हजार रुपैंया चुक्ता पुँजी रहेको सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ८६ प्रतिशतको बम्फर बोनस दिएर चुक्ता पुँजी पुर्याउने भएको छ । शुक्रबारमात्रै उक्त बोनस घोषणा गरेको सगरमाथाले यो बोनस दिएसँगै चुक्तापुँजी १०० करोड नाघ्नेछ । योसँगै एनएफआरएस प्रणालीको रिपोर्टिङ स्ट्यान्डर्ड लेखाप्रणालीअनुसार लाभांश प्रस्ताव गर्ने पहिलो निर्जीवन बीमा कम्पनी बन्न सगरमाथा सफल भएको छ । प्रभु इन्स्योरेन्स एलाइन्स इन्स्योरेन्समा प्रभु समूहको प्रवेशपछि प्रभु इन्स्योरेन्स नामाकरण भएको सो कम्पनीको चुक्ता पुँजी असार मसान्तमा ६८ करोड ८४ लाख रुपैंया थियो । इन्स्योरेन्सले १ः०.४६ अनुपातमा हकप्रद वितरण प्रक्रिया टुङ्ग्याएसँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमै प्रभुले आफ्नो चुक्ता पुँजी १ अर्ब ५ करोड पुगेको रिपोर्ट सार्वजनिक गरिसकेको छ । आईएमई जनरल इन्स्योरेन्स तात्कालिन समयमा समस्यामा रहेको एनबी इन्स्योरेन्समा आईएमई समूहको प्रवेशसँगै नाम परिवर्तन गरी बनेको आईएमई जनरल इन्स्योरेन्सको गत असार मसान्तमा ५४ करोड चुक्ता पुँजी छ । आईएमईले थप १०ः८ अनुपातको हकप्रद जारी गरी बाँडफाँड गरिसकेको छ । यसो गर्दा कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुगेको छ । हालको पुँजीमा करिब ३ प्रतिशतले हुने बाँकी २ करोड ८० लाख रुपैंया बराबरको रुपैंया बोनस शेयर जारी गरी १०० करोड बनाउने कम्पनीको योजना छ । प्रुडेन्सियल इन्स्योरेन्स अघिल्लो आर्थिक वर्षमै १०ः३ अनुपातमा हकप्रद जारी गरेको प्रुडेन्सियल असार मसान्तसम्म ६४ करोड १५ लाख चुक्ता पुँजी थियो । त्यसपछि कम्पनीले पुँजी वृद्धिका कुनै औजार ल्याएको छैन । बोनस सेयरमार्फत् चुक्ता पुँजी पुर्याउन करिब ५६ प्रतिशत बोनस शेयर जारी गर्नुपर्ने आवश्यकता इन्स्योरेन्सलाई छ । प्रुडेन्सियलको असार मसान्तसम्म १८ करोडको जगेडाकोष थियो भने तथा १८ करोड खुद नाफा आर्जन गरेको थियो । शिखर इन्स्योरेन्स हकप्रद शेयरको औजार प्रयोग नै नगरेको शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट दिएको २९ प्रतिशत बोनस शेयरसँगै चुक्ता पुँजी १ अर्ब ५ करोड पुर्याइसकेको छ । शिखरले त्यसअघि अतिरिक्त सार्वजनिक निष्कासनमार्फत् पुँजी बढाएको थियो । लुम्बिनी जनरल इन्स्योरेन्स असार मसान्तमै ८८ करोड चुक्ता पुँजी पुर्याएको लुम्बिनी जनरल इन्स्योरेन्सले करिब १४ प्रतिशत बोनस दिएर चुक्ता पुँजी पुर्याउने योजना रहेको भए पनि हालैमात्र विशेष साधारण सभामार्फत् १०ः२ बराबर हकप्रद दिने निर्णय गराएको छ । योसँगै लुम्बिनीको चुक्ता पुँजी १ अर्ब ५ करोड पुग्छ । एनएलजी इन्स्योरेन्स ६४ करोड १४ लाख २१ हजार रुपैंया चुक्ता पुँजी भएको एनएलजी इन्स्योरेन्सले १०ः६ अनुपातमा हकप्रद शेयर जारी गर्न जेठ १४ गते साधारणसभा बोलाएको छ । यो हकप्रद प्रस्ताव पारित भए एनएलजीको चुक्तापुँजी १ अर्ब २ करोड पुग्छ । सिद्धार्थ इन्स्योरेन्स सिद्धार्थ इन्स्योरेन्सको असारसम्मको चुक्तापुँजी ६४ करोड १४ लाख रुपैंया रहेकोमा १०ः३.५ अनुपातमा हकप्रद जारी गरी इन्स्योरेन्सले चुक्ता पुँजी ८६ करोड ५९ लाख पुर्याउँदैछ । बाँकी १३ करोड ४१ लाख रुपैंयाका लागि करिब १६ प्रतिशत बोनस शेयर दिनुपर्ने अवस्थामा सिद्धार्थ इन्स्योरेन्स छ । राष्ट्रिय बीमा कम्पनी जीवन र निर्जीवन बीमा कम्पनीलाई छुट्टाछुट्टै बनाउनु पर्ने बीमा समितिको बाध्यकारी नियमसँगै राष्ट्रिय बीमा संस्थानबाट छुट्टिएर स्थापना भएको बहुसंख्यक सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैंया छ । २ अर्ब ७ करोड रुपैंयाको जगेडा कोष र ५५ करोड ९ लाख रुपैंया खुद नाफा भएको उक्त कम्पनीलाई करिब ७३ करोड ३४ लाख रुपैंया बराबरको पुँजी वृद्धि गर्नुपर्ने हुन्छ जुन २७५ प्रतिशत हो । कम्पनीले यो पुँजी बोनस दिएरै पुर्याउने सम्भावना छ ।

३७ करोडमा बनेको डाटा सेन्टर सञ्चालन हुँदै, केन्द्रीय डाटा सेन्टरको ‘ब्याकअप’ हेटौँडामा

काठमाडौँ । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण सूचनाको व्यवसायिक विवरण सुरक्षा गर्ने गरी हेटौँडामा निर्माण भएको डाटा सेन्टर हुने भएको छ । यही महिना भित्र सेन्टर सञ्चालन गर्ने तयारी छ । कोरियन संस्था कोइकाको सहयोगमा निर्माण भएको सेन्टरमा रु ३७ करोड खर्च भएको जनाइएको छ । सेन्टर निर्माणका लागि नेपाल आदर्श निर्माण कम्पनीलाई जिम्मा दिइएकामा कम्पनीले १८ महिनामा भवन निर्माण सम्पन्न गरेको हो । हेटौँडा–४ कोे हुप्राचौरमा १० कठ्ठा क्षेत्रफल ओगटेको सेन्टरको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महत्वपूर्ण विवरण सुरक्षित राख्ने उद्देश्यसहित काठमाडौँको सिंहदरबारमा निर्मित केन्द्रीय डाटा सेन्टरको ‘ब्याकअप’का रूपमा हेटौँडामा सो सेन्टर निर्माण भएको हो जसको सिंहदरबारस्थित केन्द्रीय डाटा सेन्टरको डाटा राखेर परीक्षणसमेत गरिसकिएको जनाइएको छ । हाल चार कर्मचारी कार्यरत सेन्टरमा कम्युटर इञ्जिहियर, प्राविधिक लगायत १९ कर्मचारी छनोटको काम सकिएको र केही दिनबाट नै छनोट भएका कर्मचारीले काम शुरु गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले जानकारी दिए । निर्माण सम्पन्न सेन्टर ‘ब्याकअप’ का रुपमा डाटा राख्न पूर्णरूपमा तयार भइसकेकाले चाँडै नै सञ्चालनमा आउने उनले बताए । पहिलेको नगर विकास समितिको जग्गामा सो सेन्टर निर्माण भएको हो । सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको सङ्ग्रहालयको रूपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगसँग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो । तीन वर्षअघि नै प्रारम्भिक सम्झौता भए पनि कोइकाको नेतृत्व परिवर्तनले अन्तिम सम्झौतामा केही ढिलासमेत हुनपुगेको थियो । सेन्टर कोरियन प्रविधिमा कोइकाले नै ठेकेदारमार्फत निर्माण पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । रु २० करोडमा भवन निर्माण र बाँकी प्राविधिक पूर्वाधारका लागि लगानी गर्ने सम्झौता भएको थियो । त्यहीअनुसार काम भएको हो । भवनबाहेक अन्य प्रविधिका लागि रु १७ करोड खर्च भएको सेन्टरको सम्पूर्ण संरचना निर्माणमा करीब रु ३७ करोड लागेको जनाइएको छ । मुलुकको महत्वपूर्ण डाटा जस्तोसुकै प्राकृतिक प्रकोप तथा मानवीय त्रुटीहरुमा समेत नष्ट नहोस् भनेर उक्त सेन्टर निर्माण भएको हो । यस्ता साइट मुख्य डाटा सेन्टर स्थापनाका लागि केन्द्रबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधारको सुविधा पुगेको स्थान आवश्यक पर्ने भएकाले हेटौँडालाई रोजिएको जनाइएको छ । डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, विद्युतीय हस्ताक्षर, इकस्टमलगायत ई–सेवा सञ्चालन हुनेछन् । रासस

इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो, निष्क्रिय कर्जा ४ गुणाले कसरी बढ्यो ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले कमाएको नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाभन्दा ९.६१ प्रतिशतले गिरावट आएर २ अर्ब ५६ करोड रुपैंया कायम भएको हाे । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड नाफा कमाएको थियो । असार मसान्तदेखि चैत मसान्तको अवधिसम्म निक्षेप र कर्जा ६/६ अर्बले रुपैंयाले बढाएको बैंकको निक्षेप १ खर्ब ४२ अर्ब तथा कर्जा १ खर्ब २४ अर्ब कर्जा संकलन गरेको छ । उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ११ करोडबाट बढेर ४ अर्ब ९१ अर्ब पुगेको छ भने सञ्चालन खर्च १ अर्ब ५८ करोडबाट बढेर १ अर्ब ८३ करोड पुगेको छ । १० अर्ब ६४ करोड रुपैंयाबाट १२ अर्ब ५८ करोड रुपैंया चुक्ता पुँजी पुर्याएको उक्त अवधिमा २ अर्ब ७३ करोड रुपैंयाबाट २ अर्ब ९३ करोड रुपैंया पुगेको छ । नाफाबाहेक अन्य वित्तीय सूचकहरुमा पनि इन्भेष्टमेन्ट बैंककाे अवस्था खस्किएको छ । । बैंकको कस्ट अफ फण्ड ६.३५ प्रतिशतबाट बढेर ६.४८ पुग्दा बैंकको निष्क्रिय कर्जा अनुपात ०.७६ प्रतिशतबाट बढेर ३.०४ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा अनुपातमा देखिएको यस्तो नाजुक अवस्थाका कारण बैंकको लोनलस प्रोभिजन २४४ प्रतिशतबाट घटेर ९३ प्रतिशतमा झरेको छ । बैंकको यो विवरण हेर्दा बैंकको ठूलो ऋणीले बैंकको लोन नतिरेको अवस्था देख्न सकिन्छ । कस्ट अफ फण्डमा वृद्धिका बाबजुद आधार ब्याजदरमा भने बैंकले ०.५८ प्रतिशतले सुधार ल्याएर ८.५४ प्रतिशत कायम गरेको छ । बैंकले कमाएको उक्त नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी २७.०७ प्रतिशत हुन आउँछ, अघिल्लो वर्ष यो आम्दानी ३५.५५ प्रतिशत थियो । चैत मसान्तमा ६६७ रुपैंया रहेको बैंकको शेयरको बजारमूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात २०.२१ गुणा कायम भएको छ ।

गुठी संस्थानः रक्षक नै भक्षक, धमाधम नासिदै गुठीको जग्गा

काठमाडौं। देशभर रहेका गुठी जग्गाको संरक्षण तथा उपयोगमा गुठी सँस्थानले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा देशभरका गुठी जग्गाहरु नासिँदै गएका छन् । गुठीका पदाधिकारीहरु र कर्मचारीहरुले भुमाफिया सँग अस्वाभाविक साँठगाठ बढाउदा गुठीका जग्गाहरु भुमाफियाको कव्जामा पर्ने क्रम बढेको हो । बिभिन्न आस्थासँग जोडिएका गुठी जग्गाको संरक्षण तथा उपयोगबाट समुदायमा सुसम्बन्ध कायम राख्ने उद्देश्यले गुठी संस्थान स्थापना भएको भएपनि यसले पाएको जिम्मेवारी अनुसार भुमिका निर्वाह गर्न नसक्दा गृुठी जग्गाहरु नासिने र हडपिने क्रम बढेको हो । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि जग्गा दुरुपयोग बढेपछि संस्थानको जिम्मेवारीमा बारम्बार प्रश्न उठाउदै आएको छ । गुठी संस्थान भद्रगोल बन्दै असफल हुन थालेपछि सँस्थानको जिम्मेवारीलाई चुस्त र व्यवस्थित बनाउन गुठीलाई प्राधिकरण मातहत लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि गुठीको भुमिका माथि विभिन्न प्रश्नहरु आएकाले यसको विकल्पको बारेमा छलफल शुरु गरिएको जानकारी दिए । उनले गुठीलाई प्राधिकरण मातहत ल्याउने गरि तयार पारिएको विधेयक संसदमा पुगेको जानकारी दिए । गुठी संस्थानले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा पछिल्लो समय सँस्थान बिभिन्न विवादमा मुछिदै आएको छ । वालुवाटार जग्गा प्रकरणमा सँस्थानको शंकासपद भुमिका रहेको थियो भने ,बृहत जनकपुर क्षेत्र संरक्षणमा देखिएको उदासिनता तथा निजि गुठीमा सँस्थानले आफ्नो शसक्त भुमिका देखाउन नसक्दा मन्दिरका महन्थ,पुजारी तथा मठाधिसले समेत आफुखुसी जग्गामा अतिक्रमण गरि व्यक्तिगत बनाँउदै गएको पाइएको छ । हाल गुठी सँस्थानसँग मातहतमा कति जग्गा छ भन्ने समेत स्पष्ट तथ्यांक छैन । नेपालको संविधान अनुसार गुठी जग्गालाई सरकारको अधीनबाट संस्थानको जिम्मा सुम्पी राजगुठीहरुलाई सुव्यवस्थित रुपले संचालन गराउन गुठी संस्थानको स्थापना भएको हो । तर संस्थान सो भुमिका निर्वाह गर्न असफल हुदै आएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

खुल्यो नेपालकै पहिलो विज्ञान संग्रहालय, रोबोटबाट कार्यक्रम सञ्चालन

काठमाडौं । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका लागि थ्रिडी अर्थात् त्रिआयामी थिएटरसमेत स्थापना गरिएको छ । संग्रहालयमा खगोलशास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, डिएनए, रसायन शास्त्रलगायत विज्ञानका सामग्री र अनुसन्धानमा प्रयोग हुने ५० भन्दा बढी प्राविधिक उपकरण रहेको संग्रहालय विकास समितिका सूचना अधिकारी सरोज शाहीले बताए । मन्त्री पोखरेलले सरकार समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले विज्ञान र प्रविधिको क्षेत्रमा असाधारण काम र उपलब्धि हासिल गर्न आवश्यक रहेको बताए । एउटा स्वचालित यन्त्र अर्थात् रोबोट जसलाई फूलमाया नाम दिइएको छ । शनिबार मध्याह्न फूलमायाले अतिथिको नाम उच्चारण गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित आमन्त्रित स्टेजमा उक्लिए । मानिसले चलाएका कार्यक्रममा मात्रै सहभागी भएका मन्त्री र अतिथिलाई रोबोटले अंग्रेजीबाट स्वागत, धन्यवाद र पालैपालो मन्तव्यका लागि बोलायो । रोबोटको सम्बोधनले मन्त्री पोखरेल मक्ख देखिन्थे । घरिघरि अतिथिहरू नै झुक्किन्थे । हलमा रहेकाहरूको ध्यान रोबोटले तानेको थियोे । पूरै कार्यक्रम रोबोटले सञ्चालन गरेको थियो । राष्ट्रिय विज्ञान संग्रहालयमा रहने गरी समितिले खरिद गरेको रोबोटले संग्रहालय उद्घाटन कार्यक्रम त सञ्चालन ग¥यो नै, आगन्तुकलाई स्वागत गर्ने, घुमाउने र सूचना दिने काम पनि गर्नेछ । संग्रहालयमा रहेका सामग्री अवलोकनमा आउने विद्यार्थी र अनुसन्धानकर्तालाई रोबोटले जानकारी दिने व्यवस्था गरिएको संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा। शर्माले बताए । समितिले रोबोट निर्माणका लागि १८ लाख रुपैयाँ खर्च गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं भ्युटावर निर्माण अनिश्चित, मुख्य लगानीकर्ताले फिर्ता मागे पैसा

काठमाडौं । मुख्य लगानीकर्ता पछि हटेपछि पुरानो बसपार्कमा २९ तलाको ‘भ्युटावर’ बनाउने काठमाडौं महानगरपालिकाको योजना अनिश्चित बनेको छ । निर्माता कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खोजेको मुख्य लगानीकर्ता सिंगापुरका ब्रिटिस गोर्खा सैनिकले आफ्नो लगानी फिर्ता मागेका छन् । बिकोई त्यही ठेकेदार कम्पनी हो, जसले खुलामञ्चमा अवैध सटर बनाई साना व्यापारीलाई भाडामा लगाएको थियो । पोखराका धीरज गुरुङमार्फत सिंगापुरका दुई सय ८० जना अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले लगानी गर्ने भएका थिए । उनीहरूलाई कम्पनीको ४९ प्रतिशत सेयर दिनेगरी सम्झौता भयो । त्यसका लागि गोरखा सैनिकले पहिलो किस्ताबापत २४ करोड रुपैयाँ कम्पनीको बैंक खातामा हालिदिए । रकम हात पर्नेबित्तिकै बिकोईले लगानीकर्तासँग विवाद झिक्यो । विवाद बढ्दै गएपछि गोर्खा सैनिकले लगानी फिर्ता मागे । बिकोईले २० जेठको भाकामा नोयल अमेल कम्पनीको नाममा २४ करोड रुपैयाँको चेक काटेको छ । यता, भ्यू टावर निर्माण पाँच वर्षमा सक्नुपर्ने सम्झौता छ । चार वर्षमा एक प्रतिशत काम पनि भएको छैन । महानगरले टावर अलपत्र पर्ने अवस्थामा पनि तत्काल केही गर्न नसकिने बताएको छ । ‘कन्सल्टेन्सी आएर प्राविधिक मूल्यांकन गर्छ । अनि मात्रै हामी केही गर्न सक्छौँ,’ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘तत्काल एक्सन लिने अवस्था छैन र लिँदैनौँ पनि ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।