
काठमाडौं । बीमा समितिले सञ्चालनमा रहेका बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी तोक्दै सो पुँजी पुर्याउन दिएको समयावधि असार मसान्तमा सकिँदैछ । यो अवधिमा कम्पनीहरुले सो पुँजी पुर्याउन विभिन्न अभ्यासहरु गर्दे आएका छन् । केही कम्पनीहरु पुँजी पुर्याउनु नपर्ने अवस्थामा छन्, केहीले न्यूनतम चुक्तापुँजी पुर्याइसकेका छन् भने बाँकीको भने चुक्ता पुर्याउन बाँकी छ । हेरौं बीमा कम्पनीहरुको पुँजी वृद्धिको हालको अवस्था ।
जीवनबीमा कम्पनीहरु

राष्ट्रिय बीमा संस्थान :
हाल १८ करोड रुपैंयामात्रै चुक्ता पुँजी भएको राष्ट्रिय बीमा संस्थानलाई बीमा समितिले तोकेको २ अर्ब चुक्ता पुँजी पुर्याउन ११ गुणा भन्दा बढी पुँजी वृद्धि गर्नुपर्ने देखिन्छ । तर राष्ट्रिय बीमा संस्थान ऐनले निर्देशित गर्ने उक्त संस्थानलाई हालकै अवस्थामा पुँजी वृद्धि गर्न बाधा छ । राष्ट्रिय बीमा संस्थान ऐनले संस्थानको अधिकृत पुँजी ५० करोडमात्रै भनेको छ । त्योभन्दा बढी चुक्ता पुँजी पुर्याउन ऐन संशोधन गर्नुपर्छ । हाल संसदमा रहको बीमा ऐनले राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा रुपान्तरण गर्ने व्यवस्था गरेको छ । त्यसैले संस्थानलाई ऐन पारित भएको २ वर्षसम्ममा पुँजी वृद्धि गर्ने छुट छ ।
नेशनल लाइफ इन्स्योरेन्स
गत असार मसान्तसम्म १ अर्ब ६५ करोड चुक्ता पुँजी रहेको नेशनलले त्यसयता १०ः६ अनुपातमा हकप्रद शेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब ६४ करोड पुर्याइसकेको छ भने आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट १३.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव समेत गरेको छ । यो बोनस सूचीकरणसँगै नेशनलको चुक्तापुँजी ३ अर्ब रुपैयाँ पुग्छ ।
मेटलाइफ एलिको
अमेरिकी मेटलाइफ कम्पनीको शाखाको रुपमा नेपालमा सञ्चालनमा रहेको उक्त इन्स्योरेन्सलाई न्यूनतम चुक्तापुँजी कायम गर्नु पर्दैन । यसले आफ्नो वित्तीय विवरणमा चुक्तापुँजीको महल नै खाली राख्दै आएको छ ।
एलआईसी नेपाल
असार मसान्तसम्म १ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको भारतीय कम्पनीको संयुक्त लगानी समेत रहेको एलआईसी नेपालको आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ प्रतिशत बोनसपछि पुँजी १ अर्ब ४९ करोड पुगेको छ । चुक्ता पुँजी पुर्याउन एलआईसी नेपाललाई करिब ३४ प्रतिशत बोनस शेयरको आवश्यकता पर्छ । यसले बोनसमार्फत् नै आफ्नो पुँजी पुर्याउने लक्ष्य लिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स
बीमा समितिले पुँजी वृद्धिको निर्देशन दिएकै अवस्थामा तोकिएको चुक्तापुँजी पुर्याइसकेको नेपाल लाइफ इन्स्योरेन्सले असार मसान्तसम्म ४ अर्ब ३९ करोड रुपैंया चुक्ता पुँजी कायम गरेको थियो । प्रस्तावित २५ प्रतिशत बोनसपछि उक्त कम्पनीको पुँजी करिब साढे ५ अर्ब रुपैयाँ पुग्छ । यस कम्पनीले अधिकृत पुँजी १० अर्ब प्रस्ताव गरेकोले केही वर्षभित्र चुक्ता पुँजी पनि १० अर्ब बनाउने सम्भावना छ ।
प्राइम लाइफ इन्स्योरेन्स
असार मसान्तमा १ अर्ब ७८ करोड रुपैंया चुक्ता पँुजी भएको प्राइमलाई करिब २२ करोड रुपैंया बोनसबाट पुँजी बढाउनुपर्ने दवाव छ । यसका लागि कम्तीमा साढे १२ प्रतिशतसम्म बोनस शेयर दिनुपर्छ । बोनसबाटै पुँजी पुर्याउने तयारी प्राइम लाइफको देखिन्छ ।
सूर्या लाइफ इन्स्योरेन्स
१२ प्रतिशत बोनस शेयरपछि १ अर्ब १३ करोड चुक्ता पुँजी कायम भएको सूर्या लाइफले प्रस्ताव गरेको १०ः४ अनुपातमा हकप्रद शेयर वितरणसँगै १ अर्ब ५८ करोड पुग्नेछ । उक्त हकप्रदपछि २७ प्रतिशतले हुने करिब ४२ करोड रुपैंया अपुग रकम बोनसबापत वितरण गर्नुपर्ने बाध्यता कम्पनीलाई हुन्छ ।
गुराँस लाइफ इन्स्योरेन्स
असार मसान्तसम्म ५९ करोड ४० लाख रुपैंयामात्रै चुक्ता पुँजी रहेको गुराँस लाइफ इन्स्योरेन्सले सो चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्दैछ । सो हकप्रदपछि कायम हुने ९३ करोड ८५ लाख ३० हजार चुक्ता पुँजीमा १ः१ अनुपात बराबर हकप्रद वितरण गरी चुक्ता पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैंया पुर्याउनेछ । त्यति गर्दा पनि गुराँसलाई कम्तीमा ७ प्रतिशत बोनस शेयर दिनुपर्ने हुन्छ ।
एशियन लाइफ इन्स्योरेन्स
हाल १ अर्ब २५ करोड ६७ लाख चुक्ता पुँजी भएको १०ः६ अनुपातमा हकप्रद शेयर बिक्री गर्दैछ । यसो गर्दा एशियनको पुँजी २ अर्ब १ करोड पुग्छ । एशियनलाई चुक्ता पुँजी पुर्याउनकै लागि थप बोनस शेयर जारी गर्नुपर्ने अवस्था छैन ।
निर्जीवन बीमा कम्पनीहरु

नेपाल इन्स्योरेन्स
६१ करोड लाख चुक्ता पुँजी भएको नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले १ः०.६५ अनुपातमा हकप्रद शेयर निष्काशन गरिसकेको छ । योसँगै नेपाल इन्स्योरेन्सको तोकिएको चुक्ता पुँजी पुगेको छ ।
ओरेन्टल इन्स्योरेन्स/नेशनल इन्स्योरेन्स
भारतीय कम्पनीहरु ओरेन्टल र नेशनलको शाखाको रुपमा नेपालमा कारोबार गर्दै आएका यी दुई कम्पनीहरुलाई मेटलाइफलाई जस्तै चुक्ता पुँजी पुर्याउनुपर्ने झन्झट छैन । भारतमा यी दुई कम्पनीहरु मर्जरमा जाने तयारीसँगै नेपालमा पनि यी दुई कम्पनी गाभिने हल्ला चल्दै आएको छ । यी दुई कम्पनीहरुमध्ये ओरेन्टलले वि.सं. २०१२ र नेशनलले वि.सं. २०३० देखि नेपालमा कारोबार सञ्चालन गर्दै आएका छन् ।
हिमालयन जनरल इन्स्योरेन्स
हिमालयन जनरल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीमध्ये पहिलोपटक चुक्ता पुँजी पुर्याउने कम्पनी हो । २ वर्षअघि नै १ः१.६७ अनुपातमा हकप्रद शेयर जारी गरेको कम्पनीले असार मसान्तसम्ममै १ अर्ब २ करोड पुँजी पुर्याइसकेको छ । पुँजी पुगेसँगै आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट कम्पनीले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिएको थियो ।
युनाइटेड इन्स्योरेन्स
३० करोड २४ लाख चुक्ता पुँजी रहेको युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशतको हकप्रद शेयर जारी गर्न साधारणसभाबाट प्रस्ताव पारित गरिसकेको छ । यो हकप्रद वितरण भएसँगै युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख पुग्छ ।
प्रिमियर इन्स्योरेन्स
५८ करोड ४० लाख चुक्ता पुँजी रहेको प्रिमियर इन्स्योरेन्सलाई थप ४१ करोड ६० लाख रुपैंया बराबरको पुँजी थप्नुपर्ने दबाव छ । यो भनेको हालको चुक्ता पुँजीको ७२ प्रतिशत हो । यसअघि एफपीओ जारी गरेर रिजर्भ संकलन गरेको प्रिमियरले सबै पुँजी बोनसबाटै पुर्याउन सक्ने सम्भावना छ ।
एभरेष्ट इन्स्योरेन्स
१ः१.०५ अनुपातमा हकप्रद शेयर निष्कासनपछि २७ करोड ३८ लाख ८२ हजार चुक्ता पुँजी पुर्याएको एभरेष्टले फेरि १ः३ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि आह्वानपत्र प्रकाशन गरेकोे छ । यो हकप्रद बिक्री भएसँगै एभरेष्टको चुक्तापुँजी करिब १ अर्ब ९ करोड पुग्छ ।
नेको इन्स्योरेन्स
अघिल्लो आर्थिक वर्षमै अघिनै २ः१ अनुपातमा हकप्रद दिएर चुक्ता पुँजी पुर्याएको नेको इन्स्योरेन्स हाल इन्स्योरेन्स कम्पनीहरुमध्येकै सबैभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी हो । यसको पुँजी असार मसान्तमै १ अर्ब १७ करोड पुगेको थियो ।
सगरमाथा इन्स्योरेन्स
५३ करोड ८२ लाख ९२ हजार रुपैंया चुक्ता पुँजी रहेको सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ८६ प्रतिशतको बम्फर बोनस दिएर चुक्ता पुँजी पुर्याउने भएको छ । शुक्रबारमात्रै उक्त बोनस घोषणा गरेको सगरमाथाले यो बोनस दिएसँगै चुक्तापुँजी १०० करोड नाघ्नेछ । योसँगै एनएफआरएस प्रणालीको रिपोर्टिङ स्ट्यान्डर्ड लेखाप्रणालीअनुसार लाभांश प्रस्ताव गर्ने पहिलो निर्जीवन बीमा कम्पनी बन्न सगरमाथा सफल भएको छ ।
प्रभु इन्स्योरेन्स
एलाइन्स इन्स्योरेन्समा प्रभु समूहको प्रवेशपछि प्रभु इन्स्योरेन्स नामाकरण भएको सो कम्पनीको चुक्ता पुँजी असार मसान्तमा ६८ करोड ८४ लाख रुपैंया थियो । इन्स्योरेन्सले १ः०.४६ अनुपातमा हकप्रद वितरण प्रक्रिया टुङ्ग्याएसँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमै प्रभुले आफ्नो चुक्ता पुँजी १ अर्ब ५ करोड पुगेको रिपोर्ट सार्वजनिक गरिसकेको छ ।
आईएमई जनरल इन्स्योरेन्स
तात्कालिन समयमा समस्यामा रहेको एनबी इन्स्योरेन्समा आईएमई समूहको प्रवेशसँगै नाम परिवर्तन गरी बनेको आईएमई जनरल इन्स्योरेन्सको गत असार मसान्तमा ५४ करोड चुक्ता पुँजी छ । आईएमईले थप १०ः८ अनुपातको हकप्रद जारी गरी बाँडफाँड गरिसकेको छ । यसो गर्दा कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुगेको छ । हालको पुँजीमा करिब ३ प्रतिशतले हुने बाँकी २ करोड ८० लाख रुपैंया बराबरको रुपैंया बोनस शेयर जारी गरी १०० करोड बनाउने कम्पनीको योजना छ ।
प्रुडेन्सियल इन्स्योरेन्स
अघिल्लो आर्थिक वर्षमै १०ः३ अनुपातमा हकप्रद जारी गरेको प्रुडेन्सियल असार मसान्तसम्म ६४ करोड १५ लाख चुक्ता पुँजी थियो । त्यसपछि कम्पनीले पुँजी वृद्धिका कुनै औजार ल्याएको छैन । बोनस सेयरमार्फत् चुक्ता पुँजी पुर्याउन करिब ५६ प्रतिशत बोनस शेयर जारी गर्नुपर्ने आवश्यकता इन्स्योरेन्सलाई छ । प्रुडेन्सियलको असार मसान्तसम्म १८ करोडको जगेडाकोष थियो भने तथा १८ करोड खुद नाफा आर्जन गरेको थियो ।
शिखर इन्स्योरेन्स
हकप्रद शेयरको औजार प्रयोग नै नगरेको शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट दिएको २९ प्रतिशत बोनस शेयरसँगै चुक्ता पुँजी १ अर्ब ५ करोड पुर्याइसकेको छ । शिखरले त्यसअघि अतिरिक्त सार्वजनिक निष्कासनमार्फत् पुँजी बढाएको थियो ।
लुम्बिनी जनरल इन्स्योरेन्स
असार मसान्तमै ८८ करोड चुक्ता पुँजी पुर्याएको लुम्बिनी जनरल इन्स्योरेन्सले करिब १४ प्रतिशत बोनस दिएर चुक्ता पुँजी पुर्याउने योजना रहेको भए पनि हालैमात्र विशेष साधारण सभामार्फत् १०ः२ बराबर हकप्रद दिने निर्णय गराएको छ । योसँगै लुम्बिनीको चुक्ता पुँजी १ अर्ब ५ करोड पुग्छ ।
एनएलजी इन्स्योरेन्स
६४ करोड १४ लाख २१ हजार रुपैंया चुक्ता पुँजी भएको एनएलजी इन्स्योरेन्सले १०ः६ अनुपातमा हकप्रद शेयर जारी गर्न जेठ १४ गते साधारणसभा बोलाएको छ । यो हकप्रद प्रस्ताव पारित भए एनएलजीको चुक्तापुँजी १ अर्ब २ करोड पुग्छ ।
सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्सको असारसम्मको चुक्तापुँजी ६४ करोड १४ लाख रुपैंया रहेकोमा १०ः३.५ अनुपातमा हकप्रद जारी गरी इन्स्योरेन्सले चुक्ता पुँजी ८६ करोड ५९ लाख पुर्याउँदैछ । बाँकी १३ करोड ४१ लाख रुपैंयाका लागि करिब १६ प्रतिशत बोनस शेयर दिनुपर्ने अवस्थामा सिद्धार्थ इन्स्योरेन्स छ ।
राष्ट्रिय बीमा कम्पनी
जीवन र निर्जीवन बीमा कम्पनीलाई छुट्टाछुट्टै बनाउनु पर्ने बीमा समितिको बाध्यकारी नियमसँगै राष्ट्रिय बीमा संस्थानबाट छुट्टिएर स्थापना भएको बहुसंख्यक सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैंया छ । २ अर्ब ७ करोड रुपैंयाको जगेडा कोष र ५५ करोड ९ लाख रुपैंया खुद नाफा भएको उक्त कम्पनीलाई करिब ७३ करोड ३४ लाख रुपैंया बराबरको पुँजी वृद्धि गर्नुपर्ने हुन्छ जुन २७५ प्रतिशत हो । कम्पनीले यो पुँजी बोनस दिएरै पुर्याउने सम्भावना छ ।