रामदेवले उद्घाटन गरेको होटल : आईपीओ निकालेर ऋण तिर्ने

आम्दानी र नाफाको मार्जिनमा दबाब

काठमाडौं । होटल व्यवसाय विस्तार तथा पूर्वाधार स्तरोन्नतिका लागि ठूलो लगानी गरेको होटल इच्छा लिमिटेडले सर्वसाधारणका लागि ३५ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओबाट संकलन हुने रकम बैंक तथा वित्तीय संस्थाबाट लिएको परियोजना कर्जा भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ ।

होटल इच्छाले आफ्नो व्यावसायिक पहिचान विस्तार गर्न भारतीय होटल चेन लेमन ट्री होटल्स लिमिटेडसँग पनि रणनीतिक साझेदारी पनि गरेको छ । कम्पनीले लेमन ट्रीको ‘लेमन ट्री प्रिमियर’ ब्रान्ड प्रयोग गर्न २० वर्षको लाइसेन्स सम्झौता गरेको छ । यसले होटलको ब्रान्ड पहिचान विस्तार गर्नुका साथै अन्तर्राष्ट्रिय ग्राहक, बुकिङ प्रणाली र बजार सञ्जालमा पहुँच बढाउने अपेक्षा गरिएको छ ।

इक्रा नेपालले होटल इच्छालाई प्रदान गरेको ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ पुनः प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । 

चुक्ता पुँजी साढे एक अर्ब 

होटल इच्छाले पछिल्ला वर्षमा होटलका कोठा, पूर्वाधार र सुविधाको स्तरोन्नतिमा ठूलो लगानी गर्दै आएको छ । कम्पनीले यस्तो लगानी मुख्यतः प्रवर्द्दक तथा सेयरधनीबाट प्राप्त इक्विटी पुँजीमार्फत व्यवस्थापन गरेको देखिन्छ ।

कम्पनीको चुक्ता पुँजी सन् २०२४ जुलाई मध्यमा ४० करोड ५० लाख रुपैयाँ रहेकोमा सन् २०२५ जुलाई मध्यमा बढेर ९७ करोड ५० लाख रुपैयाँ पुगेको थियो । सन् २०२६ जुलाई मध्यसम्म आइपुग्दा चुक्ता पुँजी करिब १ अर्ब ४० करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

होटलले आर्थिक वर्ष २०८१/८२ मा ५९ करोड रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा २३ करोड १० लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । कोठाको मर्मतसम्भार, पूर्वाधार सुधार र होटलका सुविधा विस्तारमा उक्त रकम खर्च भएको हो ।

इक्विटी पुँजी बढेसँगै कम्पनीको कर्जा भार पनि घटेको छ । कुल कर्जा र मूर्त नेटवर्थको अनुपात आर्थिक वर्ष २०८०/८१ मा १.२ गुणा रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा घटेर ०.३ गुणामा झरेको छ । आईपीओ जारी गरेर थप कर्जा भुक्तानी गरेपछि कम्पनीको वित्तीय संरचना थप सन्तुलित हुने अपेक्षा गरिएको छ ।

लेमन ट्री ब्रान्डसँगको साझेदारीले व्यवसाय विस्तारको अपेक्षा

होटल इच्छाले अप्रिल २, २०२६ देखि लेमन ट्री होटल्स लिमिटेडसँग ब्रान्ड साझेदारी गरेको हो । २० वर्षका लागि गरिएको सम्झौताअनुसार होटलले ‘लेमन ट्री प्रिमियर’ ब्रान्ड प्रयोग गर्न पाउनेछ ।

लेमन ट्री भारतको स्थापित होटल ब्रान्डमध्ये एक हो । यससँगको आबद्धताले होटल इच्छालाई अन्तर्राष्ट्रिय ग्राहकको बुकिङ सञ्जाल, ब्रान्ड पहिचान र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारत–नेपाल सीमा नजिकैको औद्योगिक सहरमा रहेको होटल इच्छा त्यस क्षेत्रको एकमात्र पाँचतारे होटलका रूपमा सञ्चालनमा  छ। यसले होटललाई प्रतिस्पर्धी बजारमा केही व्यावसायिक लाभ दिएको इक्राको विश्लेषण छ ।

कम्पनीको उपलब्ध कोठाको आम्दानी (रेभपार) पनि पछिल्लो वर्ष बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रतिउपलब्ध कोठाको आम्दानी १ हजार ८४२ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर २ हजार ३९२ रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशत बढी हो । 

त्यस्तै, होटलको अकुपेन्सी दर आर्थिक वर्ष २०८१/८२ मा करिब ४८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ५३ प्रतिशत पुगेको छ ।

आम्दानी र नाफाको मार्जिनमा भने दबाब

होटलको ब्रान्ड साझेदारी र कोठा उपयोग दरमा सुधार देखिए पनि वित्तीय सूचकहरूमा चुनौती कायमै छन् । इक्राको प्रतिवेदनअनुसार होटलको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८०/८१ मा १७ करोड १० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा बढेर १७ करोड ३० लाख रुपैयाँ पुगेको थियो । तर, आर्थिक वर्ष २०८२/८३ मा भने घटेर १४ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा होटलको सञ्चालन नाफा मार्जिन पनि घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा करिब ५७ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८२/८३ मा घटेर ४५ प्रतिशतमा झरेको छ । 

होटलमा कुल ९७ वटा कोठा रहे पनि निरन्तर मर्मतसम्भार तथा स्तरोन्नतिका कारण आर्थिक वर्ष २०८२/८३ मा ६९ वटा कोठा मात्रै सञ्चालनमा थिए । सञ्चालनमा रहेका कोठाको संख्या कम हुँदा आम्दानी वृद्धिमा समेत असर परेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, कम्पनीको पुँजीमा प्रतिफल (आरओई) पनि आर्थिक वर्ष २०८१/८२ को करिब ८ प्रतिशतबाट आर्थिक वर्ष २०८२/८३ मा घटेर ३ प्रतिशतमा सीमित भएको छ । बढेको इक्विटी पुँजीअनुसार प्रतिफल सुधार गर्न होटलले मर्मतसम्भार समयमै सम्पन्न गरी पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने इक्राको सुझाव छ ।

तरलता र प्रतिस्पर्धा चुनौती

होटल इच्छाका लागि तरलता व्यवस्थापन अर्को चुनौतीका रूपमा देखिएको छ । होटलले खाद्यान्न, पेय पदार्थ, अतिथि सामग्री, इन्धन, ग्यास तथा लिनेनलगायत सामग्रीको मौज्दात राख्नुपर्ने भएकाले कार्यशील पुँजीमा ठूलो रकम खर्च गर्नुपरेको उल्लेख छ । 

सन् २०२६ जुलाई मध्यसम्म कम्पनीको खुद कार्यशील पुँजी र सञ्चालन आम्दानीको अनुपात १११ प्रतिशत पुगेको  छ। यसले कम्पनीको नगद व्यवस्थापनमा दबाब रहेको देखाउँछ ।

त्यसैगरी, होटल एउटै सम्पत्तिमा आधारित रहेकाले भौगोलिक तथा व्यावसायिक विविधीकरणको अभाव पनि छ । होटल उद्योगमा मौसमी उतारचढाव, नयाँ प्रतिस्पर्धीको प्रवेश, ग्राहकको आवागमन र बाह्य आर्थिक तथा राजनीतिक घटनाक्रमले व्यवसायमा प्रभाव पारेको उल्लेख छ । 

इक्राका अनुसार होटलको रेटिङमा सुधार आउन कम्पनीले पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, आम्दानी तथा नाफाको मार्जिन बढाउनुपर्ने र आईपीओबाट प्राप्त रकम योजनाअनुसार कर्जा भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । 

नेपाल सरकारले पर्यटन प्रवद्र्धनका लागि अघि सारेका विभिन्न कार्यक्रम, भारत र चीनजस्ता ठूला पर्यटकीय बजारको निकटता तथा होटलका प्रवद्र्धकहरूको आतिथ्य, शिक्षा र घरजग्गालगायत क्षेत्रमा रहेको लगानीलाई भने कम्पनीको दीर्घकालीन सम्भावनाका रूपमा हेरिएको छ ।

होटल इच्छाका सञ्चालक इच्छाबहादुर वाग्ले हुन् । उनी पर्यटन व्यवसायसँगै घरजग्गा कारोबारमा पनि सक्रिय छन् । वाग्ले नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष पनि हुन् ।

यो होटलको उद्घाटन् २०७७ मंसिरमा योग गुरु स्वामी रामदेवले गरेका थिए । रामदेवले धार्मिक विधिअनुसार पुजापाठ तथा होम गरेर होटलको उद्घाटन गरेका थिए । 

Share News