विकासन्युज

बजेट नारामा केन्द्रित होइन, दिगो विकास गर्ने खालको हुनुपर्छः पूर्व अर्थमन्त्री कार्की

काठमाडौँ । नेपाली काङ्ग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षको बजेटलाई राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा माथि राखेर प्राथमिकता निर्धारण गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले आगामी बजेटलाई नारामा मात्रै केन्द्रित नगरी अर्थतन्त्रलाई दिगो विकास गर्ने खालका योजनालाई जोड दिनुपर्ने बताए । विगतदेखि नै कनिका छरे जस्तो बजेट छर्ने प्रवृत्ति हावी हुने गरेकाले त्यसबाट बजेटमुक्त हुनुपर्ने सुझाव दिए । राजपाका सांसद लक्ष्मणलाल कर्णले कृषिको औद्योगिकरण गर्नुपर्ने, रुग्ण उद्योग सञ्चालनमा ध्यान दिनुपर्ने, विदेशी मुद्रा आयातका लागि प्राथमिकताका क्षेत्र निर्धारण गरी बजेट तयार गर्न आग्रह गरे । सांसद राजेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्षले बजेटमार्फत तीव्र आर्थिक वृद्धि हुने कार्यक्रम ल्याउनुपर्ने, कृषि, पर्यटन र ऊर्जालाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिए । सांसद दुर्गा पौडेलले संविधानले अवलम्बन गरेको समाजवाद उन्मुख अर्थतन्त्रका लागि पूर्वाधार विकास गर्दै आयात प्रतिस्थापन र निर्यात घटाउने खालको बजेट तय गर्नुपर्ने बताए ।

पूर्व अर्थमन्त्री पाण्डेको सुझाव-‘उत्पादन बढाउने योजनामा बजेट विनियोजन हुनु पर्छ’

काठमाडौँ । नेकपाका सांसद् एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आधार तयार नभएका आयोजनामा बजेट विनियोजन गर्दा लागत बढ्ने र त्यस्ता आयोजनाले प्रतिफल दिननसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने-“उत्पादन बढाउने खालका परियोजनालाई जोड दिनुपर्छ । आधार तयार भएका परियोजना पनि बढीभन्दा बढी प्रतिफल दिने खालको हुनुपर्छ ।” नीति तथा कार्यक्रममा समावेश भएका पनि समग्र रुपमा आधार बनेका, अध्ययन सकिएका परियोजनालाई विशेष जोड दिनुपर्नेमा उनको जोड दिए । मुलुकको प्रमुख समस्या बेरोजगारी, कम उत्पादन र व्यापार घाटा भएकाले उत्पादन बढाउने योजना तथा बजेट विनियोजन गर्नु नै सरकारको प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिए । कृषि उपजको उत्पादनमा जोड दिन देशभर कुन क्षेत्रका के कस्तो कृषि उपज उत्पादन हुनसक्छ, त्यसतर्फ ध्यान दिन सकिए मात्रै कृषिजन्य पदार्थको आयात कम हुने नेता पाण्डेको भनाइ छ ।

बाबुरामले गरे सरकारको आलोचना, ‘नीति तथा कार्यक्रम अल्मलिया, बजेट समाजवादी बाटोमा आओस्’

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले उदारवादी, साम्यवादी र समाजवादी कुन बाटो अपनाउने भन्नेबारे प्रष्ट नभएकाले समाजवादी बाटोलाई आत्मसात् गर्न आग्रह गरे । राष्ट्रिय औद्योगिक पूँजीको विकासबिना समृद्धि हासिल हुनसक्दैन भन्दै उनले परम्परागत अर्थतन्त्रको ढाँचाले परिवर्तनलाई अगाडि बढाउन नसक्ने स्पष्ट पारे । उनले बजेटको सिद्धान्त र प्राथमिकताको खाकामाथिको छलफल चलाइनु सकारात्मक भएपनि नीति तथा कार्यक्रम आउनुभन्दा पहिला आएको भए थप प्रभावकारी हुने धारणा राखे । “बजेट पूर्व बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सरोकारवालासँग छलफलको प्रक्रिया सकारात्मक छ । नीति तथा कार्यक्रम भन्दा अगाडि नै छलफल हुन पाएको भए आवश्यक विषयमा सुझाउन सकिने थियो । अर्थतन्त्र कुन दिशामा गइरहेको छ, यसका गहिराइमा गएर समस्या र समाधानको पहिचान हुनसकेको भए अझ सान्दर्भिक हुनेथियो”, उनले भने । दिगो विकास र सामाजिक न्यायमा आधारित अर्थनीति अख्तियार गर्न पनि जरुरी रहेको भन्दै उनले संसद्को अर्थसमितिले बजेटका सम्बन्धमा बुझाएको प्रतिवेदनका विषयलाई पनि समावेश गर्न आग्रह गरे । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने विषय सकारात्मक रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले सङ्घीयता कार्यान्वयन सकारात्मक भए पनि सन्तुलित बनाइनुपर्ने आवश्यकतामा जोड दिए ।

नक्कली सेयर कारोबार रोक्न एसएमएस एलर्ट प्रणाली विकास गरिने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले नक्कली सेयर कारोबार नियन्त्रण गर्न मोवाईलबाट एसएमएस एलर्टको व्यवस्था गर्न लागेको छ । विभिन्न कम्पनीको सेयर बास्तविक सेयरधनीलाई जानकारी नै नदिई अरुको नाममा बेचि ठग्ने गिरोह सक्रिय भएपछि कम्पनी रजिष्ट्रार कार्यालयले प्रविधिको सहयोग लिन लागेको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी २ लाख १२ हजार ७९१ कम्पनी दर्ता भएका छन् । तर कम्पनी रजिष्ट्रार कार्यालयमा सबै कम्पनीको सेयरधनीको मोवाईल नम्बर अद्यावधिक छैन । नेपाल टेलिकमको डाटा सिस्टममा लिङक गरेर कम्पनी रजिष्ट्रार कार्यालयले सेयरधनीहरुको मोवाईल नम्बरसहितको नयाँ डाटा सिस्टम बनाउने भएको छ । कम्पनी रजिष्ट्रार कार्यालय गएर सेयर किनबेचको लगत अद्यावधिक गर्नुपर्ने अवस्थामा सेयर बेचिनुभन्दा पहिला नै कम्पनीका सञ्चालक समिति र वास्तविक सेयरधनीलाई सेयर किनबेच हुन लागेको जानकारी दिईने गरी नयाँ प्रणालीको विकास गर्न लागिएको कम्पनी रजिष्ट्रार कार्यालय स्रोतले जनाएको छ । यसरी कम्पनीको सञ्चालकहरु र सेयरधनीलाई जानकारी दिएपछि नक्कली कारोबार हुन लागेको अवस्थामा तत्काल रोकिने र वास्तविक सेयरधनीको सुनिश्चिता गरेर मात्र सेयर किनबेच लगत अद्यावधिक बनाउने कम्पनी रजिष्ट्रार कार्यालयको तयारी छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा यो प्रयास सफल भएपछि सहकारी विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका संस्थाहरुमा पनि यो प्रणाली लागू हुन सक्नेछ । हाल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार निजी, साझेदारी र एजेन्सी गरी १ लाख ५६ हजार ९७९ फर्म दर्ता भएका छन् ।

स्प्राईटको ‘रिफ्रेस पनि रिचार्ज पनि’ अफर समाप्त, ९ लाख पुरस्कृत

काठमाडौँ । स्प्राईटको डबल डोज रिफ्रेसपनि रिचार्जपनि क्याम्पेनसमाप्त भएको छ । फेब्रुअरी १ गतेबाट शुरु भएको उक्त क्याम्पेनले मार्फत देशभरका ९.१४ लाखभन्दा बढी भाग्यशाली विजेताहरु रु १० देखि रु १० हजारसम्मको टक टाइम रिचार्ज जित्न सफल भएका छन् । त्यस्तै स्प्राईट डबल डोज रिफ्रेसपनि रिचार्जपनि अफर अन्तर्गत ६२ जना भाग्यशाली विजेताहरुले सामसुङ ग्यालेक्सी नोट ९ जित्न सफल भएका छन् । यो अफर कोका-कोला ब्राण्डका कोका-कोला, स्प्राईट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीबि अर्थात शिशाको बोतलमा उपलब्ध रहेको थियो जसमार्फत उपभोक्ताहरुले दैनिक रु १० देखि रु १० हजारसम्मको टकटाइम रिचार्ज र सामसुङ ग्यालेक्सी नोट ९ सम्म जित्न सफल भएका छन् । कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले, ‘हामी स्प्राईटको क्याम्पेनमा उपभोक्ताहरुको बढ्दो उत्साहपूर्ण सहभागिता देखेर निकै खुसी भएका छौ जसमा उपभोक्ताहरुले रिफ्रेस हुनुका साथै रिचार्जहरु पनि प्राप्त गरे ।’

सूर्या लाइफले गर्यो १२ प्रतिशत बोनस शेयर प्रस्ताव, बीमा समितिको स्वीकृतिपछि वितरण गर्ने

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैशाख २७ गते बसेको बैठकले बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट चुक्ता पूँजीको १ अर्ब १३ करोड १९ लाखको १२ प्रतिशतले हुन आउने १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको कम्पनी सचिव राजु राजचलले जनाएका छन् । बीमा समितिको स्वीकृति पछि साधारण सभाले पारित गरेपछि बोनस शेयर वितरण गरिने कम्पनी सचिव राजचले जनाए ।

वरिष्ट गीतकार अम्बिका गुरुङको ‘आमा’मा रामकृष्ण ढकालको सुमधुर स्वरमा (भिडियो सहित)

काठमाडौँ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको आमामा चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन् । चर्चित गायक राम कृष्ण ढकालको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । दिपेन्द्र थपलियाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुको दमदार अभिनय रहेको छ । भिडियो हेर्नुहोस ।

सानिमा बैंकद्वारा नन्दिकेश्वर बगैंचाको सरसफाई

काठमाडौँ । सानिमा बैंक, सशस्त्र प्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालद्वारा नक्साल, नारायणचौर स्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरिएको छ । १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साँझपख ब्यायाम गर्ने, विश्राम गर्ने, बालबालिकाको लागि बिभिन्न मनोरञ्जक खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमा प्रसिद्घ रहेको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले नन्दिकेशरी बगैंचाको पुर्नस्थापना देखि नै सानिमा बैंकको निरन्तर सहयोग प्राप्त रहेको बताउँदै धन्याबाद दिए । उक्त अवसरमा सानिमा बंैकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले नन्दिकेशरी बगैंचाको नजिकै रहि काम गर्न पाएकोमा सानिमा बंैकका कर्मचारी भाग्यमानी रहेको बताए । साथै उक्त बगैंचाले नक्सालको शोभा बढाएको कुरा बताए