कैलालीका हावा हुरी पिडितलाई साझा पार्टीले बनाईदियो घर
काठमाडौं । साझा पार्टीले आफ्ना शुभचिन्तक र सदस्यहरुबाट संकलित रकम तथा श्रमदान गरी केहि दिन अघिको हावाहुरीबाट कैलालीमा क्षति भएका ११ घरहरुको पुनर्निर्माण गरिदिएको छ। पार्टीको कैलाली जिल्ला समितिको अग्रसरतामा असहाय, अपाङ्ता भएका व्यक्ति, एकल महिला र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको घर पुनर्निर्माण गरेको सो पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक गोपाल हमालले बताए। पार्टीले धनगढी पुरानो भन्सारका जुवेद शेख, कनरीकी निर्मला ओझा, गौरी लामा, करन बोगटी, मतादेवी साउँद, हरि सार्कीको घर पुनर्निर्माण गरिदिएको जनाएको छ । यसैगरी, धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी लक्ष्मी दमाई, कमला बिक, कनरीका जोगी राना, जुगेडाकी सीता शाही र अत्तरियाका पदम भण्डारीको घर पुनर्निर्माण गरिएको छ। पार्टी सदस्य र शुभचिन्तकहरुबाट सहयोग उठाएर १ लाख २९ हजार ५२५ रुपैयाँको जस्ता पाता तथा क़िला खरीद गरी पार्टी सदस्यहरुले श्रमदान गरेर सम्पन्न उक्त ११ घरको पुनर्निर्माण गरिदिएको कुरा संयोजक हमालले बताए। राजनैतिक पार्टीले बिरोध प्रदर्शन र हड़ताल मात्र गर्छन् भन्ने छाप आम जनमानसमा परिरहेको सन्दर्भमा साझा पार्टीको यो कामलाई सुदूरपश्चिममा निकै सकारात्मक पक्षबाट हेरेको पाईएको छ।
सिटिजन्स म्यूचअल फण्डले लगानीकर्तालाई ५ गुणासम्म लाभ दिनसक्छ-नबराज गिरी
सिविआईएल क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ मूल्यको ‘सिटिजन्स म्यूचअल फण्ड २’ निष्काशन गरेको छ । जेठ ९ गतेबाट निष्काशन खुला भएको यो म्यूचअल फण्डको आवेदन असार ८ गते बन्द हुँदैछ । वित्त बजारमा तरलताको अभाव र पुँजी बजारमा मन्दी देखिएकोले म्यूचअल फण्डप्रति लगानीकर्ताको आकर्षण कम छ । यसै परिवेशमा कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत नबराज गिरीसँग गरिएको कुराकानी । सिटिजन्स म्यूचअल फण्डमा किन लगानी गर्ने ? यसमा साना र ठूलो सबै प्रकारका लगानीकर्ताले लगानी गर्न सक्छन् । १ हजार देखि २० करोड रुपैयाँसम्म लगानी गर्न सकिन्छ । विद्यार्थी, गृहणी, साना तथा मझ्यौला व्यवसायी देखि ठूला व्यवसायी सबैले लगानी गर्न सक्छन् । सेयर बजारमा लगानीगर्दा फाइदा हुन्छ । सबै जनासँग सेयर बजारबारे राम्रो जानकारी हुँदैन । जसलाई सेयर बजारमा लगानी गर्न इच्छा छ तर प्रयाप्त जानकारी छैन, उनीहरुले म्यूचअल फण्डमा लगानी गरेर लाभ लिन सक्छन् । सिटिजन्स म्यूचअल फण्डको व्यवस्थापन समूह राम्रो छ । हामी पुँजीबजारको प्राविधिक विश्लेषण, ट्रेन एनालाईसिस गर्छौ । कम्पनीको इतिहास, उनले दिदै आएको लाभांश ट्रेन, वर्तमान व्यवस्थापन समूह, कम्पनीले भविष्यमा दिनसक्ने लाभांश सबै अध्ययन गरेर नै हामीले सेयरमा लगानी गरेका हुन्छौं । ब्यूचिप सेयर महँगो हुन्छ । साना लगानीकर्तालाई यस्तो सेयरमा लगानी गर्न गाह्रो हुन्छ । पैसा पनि नहुनसक्छ, आँट पनि नहुन सक्छ । हामी सानो सानो पुँजी संकलन गरेर यस्त सेयरमा लगानी गर्छौ । हामीले लगानी विविधिकरण गरेका हुन्छौं । बैंक, बीमा, लघुवित्त, उत्पादन मुलक कम्पनीको सेयरमा लगानी गरेका हुन्छौं । एउटा व्यक्तिलाई यसरी सबै क्षेत्र बुझेर, राम्रा कम्पनी छानेर लगानी गर्न गाह्रो हुन्छ । म्यूचअल फण्ड १ पनि राम्रो भयो । एक वर्षमा हामीले १६ प्रतिशत ग्रोथ गर्न सफल भएको छ । बजार घट्दा पनि हामीले यति राम्रो गर्न सकेका छौं । म्यूचअल फण्ड १ परिपक्व हुँदा हामीले लगानीकर्तालाई ४/५ गुणासम्म लाभ दिन सक्ने विश्वास छ । म्यूचल फण्ड २ मा पनि यस्तै राम्रो गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । आईपीओमा भन्दा म्यूचअल फण्डको लागि आवेदन कम परेको देखिन्छ, किन ? हामीले बुझाउन सकेनौं । सञ्चालनमा भईराखेको १३ वटा म्यूचअल फण्डमध्ये हामीसहित ४/५ वटा म्यूचअल फण्डको मूल्य अंकित मूल्यभन्दा माथि छ । बीचमा आएका केही म्यूचअल फण्डको मूल्य अंकित मूल्यभन्दा पनि तल गएकाले पनि लगानीकर्तामा कम आकर्षण भएको हुनसक्छ । समय गलत पर्यो । तर बजार सधैं यस्तो हुँदैन । तीन वर्ष बजारमा मूल्य घटिरेको हुन्छ भने चार वर्ष मूल्य बढिरहेको हुन्छ । म्युचअल फण्डले बजार घटेको बेलामा पनि लाभ लिन सक्छन् । किनबेच गरिरहनेले बजार घटेको बेलामा पनि फाइदा लिईरहेको हुन्छ । सिटिजन्स म्यूचअल फण्ड १ आउँदा नेप्से १४ सय थियो । नेप्से ११ सय आउँदा पनि हामीले घाटा खानु परेन । किनकी हाम्रो लगानीमा विविधिकरण गरेका छौं । पहिला हामीले ८० प्रतिशत पुँजी एकै पटक लगानी गरेको थियौं । यसपाली शुरुमा ४० प्रतिशत मात्र लगानी गर्छौ । केही रकम मुद्दतिमा पनि राख्छौं । ठूलो रकम सर्टटर्म ट्रेडमा लगानी हुन्छ । यसमा २० प्रतिशत नाफा आउने वित्तिकै हामी बेच्छौं । सेयर बजारमा सर्टटर्म ट्रेडर्सहरुले भन्दा लङटर्म इन्भेष्टरले बढी लाभ लिन सक्छ भनिन्छ नि ? तपाईले भनेको सहि हो । हाम्रो फण्डको अवधि भनेको ७ वर्षको हो । यो लङटर्म हो । हामी लङटर्म इन्भेष्टमेन्ट पनि गरिरहेका हुन्छौं । हामीले बजार ट्रेन पनि हेर्नुपर्छ । पहिला ९० प्रतिशत लगानीकर्ता लङटर्म इन्भेष्टरको रुपमा थिए । १० प्रतिशत मात्र ट्रेडर थिए । अहिले ९० प्रतिशत लगानीकर्ता ट्रेडरको रुपमा छन् भने १० प्रतिशत मात्र लङटर्म लगानीकर्ता छन् । हामीले बजारअनुसार खेल्नुपर्छ । सिटिजन्स म्यूचअल फण्ड १ को अवस्था कस्तो छ ? सिटिजन्स म्यूचअल फण्ड १ आएको १ वर्ष पूरा हुँदैछ । यसको न्याव (नेट एसेट भ्यालु) ११.६ रुपैयाँ छ । यस वर्षको नाफाबाट लगानीकर्तालाई १० देखि १२ प्रतिशत लाभांश दिन सक्ने सम्भावना छ । सिटिजन्स म्यूचअल फण्ड १ पनि सबै बिक्री भएन । सिटिजन्स म्यूचअल फण्ड २ पनि माग कस्तो छ ? हो, त्यतिबेला पनि लगत समय भयो । हामीले १०० करोडको म्यूचल फण्ड जारी गरेकोमा ८२ करोडको मात्र आवेदन परेको थियो । यस पटक पनि रङ टाइम भयो । आर्थिक वर्षको अन्त्यतिर छौं । बैंकमा लगानीयोग्य पुँजी छैन । बैंकहरु आपसमा छिनाझम्टी गरिरहेका छन् । तर हाम्रो सोचाई सहि छ । यसबाट लगानीकर्ताले लाभ लिन सक्छन् । लगानी गर्ने भनेकै प्रतिकूल अवस्थामा हो । यस्तो अवस्थामा लगानी गर्नेको लगानी सुरक्षित हुन्छ, प्रतिफल पनि राम्रो आउँछ । तपाईहरुले किन यस्तो प्रतिकूल समय रोज्नुभयो ? पहिलो म्यूचअल फण्डले हामीलाई उत्साहित बनायो । त्यसको ६ महिनामा हामीले सेवोनमा म्यूचअल फण्ड २ आवेदन गर्यौ । प्रक्रिया पूरा गर्दै जाँदा यहि समयमा भयो । हामीले चाहेको भए २/३ महिना ढिला गर्न सक्थ्यौ । तर हामीले के सोच्यौ भने जब थ्रेट हुन्छ तब अपरच्यूनिटी पनि हुन्छ । त्यहि अपरचुनिटी ग्रयाप गर्न हामीले यो म्यूचअल फण्ड ल्याएका छौं ।
प्रतिस्पर्धाले बीमा कम्पनी र बैंकबीच सहकार्य बढायो : शिवनाथ पाण्डे
शिवनाथ पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ११ वर्ष पुरानो सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको पहिलो ९ वर्ष निकै असहज देखिन्थ्यो । प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापन समूहमा अस्तिरता थियो । कम्पनीको व्यवसाय विस्तार सुस्त थियो । लेखापरिक्षण, साधारणसभा जस्ता कार्य नियमित हुन सकेका थिएनन् । कम्पनीले प्रमुख कार्यकारी अधिकृतको रुपमा शिवनाथ पाण्डेले पाएपछि सुधारका संकेतहरु देखिएका छन् । वित्तीय विवरण पछिल्लो समय बढ्दो क्रममा रहेको छ । कम्पनीको चुक्तापुँजी, जगेडा कोषदेखि जीवन बीमा कोषसम्मको सूचाङ्क बढ्दो र सुधारका क्रममा रहेको छ । २०७३ असार मसान्तमा चुक्तापूँजी ५०, जगेडा कोषमा २५ करोड ७२ लाख, जीवन बीमा कोषमा १ अर्ब ६४ करोडसहित २ अर्ब ४२ करोड रुपैयाँको वासलात रहेको यस कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड रुपैयाँ भएको छ । जगेडा कोषमा ४५ करोड ७४ लाख रुपैँया रहेको छ । जीवन बीमा कोषमा ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । लेखापरीक्षण, साधारणसभा नियमित भएका छन् । एनएफआरएस लागू भएपछि साधारणसभा गर्ने जीवन बीमा कम्पनीमो सूर्या लाइफ दोस्रो कम्पनी हो । प्रस्तुत छ यसै सन्दर्भमा कम्पनीको वर्तमान अवस्था र भावी योजनामा केन्द्रीत भई प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसँग गरिएको विकास बहस । आर्थिक वर्ष सकिएको ११ महिनापछि साधारणसभा गर्दा पनि दोस्रो बन्दै हुनुहुन्छ । किन यस्तो भयो ? हाम्रो असार ११ गते वार्षिक साधारणसभा हुँदैछ । त्यसका लागि आवश्यक पर्ने वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन तयार भएका छन् । बीमा समितिले भनेजस्तै एनएफआरएस अनुसार प्रतिवेदनहरू बनाउँदा ठूलो भएको छ । हामीले पहिलेको व्यवस्था अनुसार र हालको व्यवस्थाअनुसार दुवैलाई मर्ज गरेका छौं । समस्टिगत रुपमा भन्दा बीमा समितिबाट स्वीकृति पाएर वार्षिक साधारणसभा गर्ने कम्पनीहरूमा हामी दोस्रोमा पर्छौ । एनएफआरएस अनुसार कम्पनीको वित्तीय प्रतिवेदन तयार गर्दा धेरै कुरा नयाँ भए । के गर्ने कसो गर्ने भन्ने कुराको बीमा क्षेत्रमा निर्देशित गाइडलाईन भएन । यस्तो अवस्थामा हामीले प्रोफेसनल मान्छे हायर गर्यौँ । यसबाट पनि एउटा ग्राउण्ड बन्न मद्दत पुगेको छ । अब यसमा बसेर हामीले हरेक बर्ष एकाउण्टिङ् र अडिट गर्दै जान्छौ । अबका वर्षमा धेरै सजिलो हुनेछ । सूर्या लाइफले बनाएको रिपोर्टमा बीमा समितिको कुनै कैफियत रह्यो ? लिखित रुपमा कैफिय त रहेको छैन । तैपनि सुधारका ठाउँहरु धेरै हुन्छन् र सुधार गर्दै जानुपर्छ पनि । मौखिक रुपमा केही सुधारको कुरा भएका छन् । तपाई चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ । एनएफआरएस अनुसार बनाएको व्यालेन्सिटमा केही परिवर्तन आउँन सक्छ ? हामीले अन्तर्राष्ट्रिय स्तरको फाइनान्स स्टयाण्डर्ड लागू गरेका छौँ । यो फम्र्याटमा चार्टर्ड एकाउन्ट संस्थाले नै केही परिमार्जन गर्न आवश्यक देख्यो वा बीमा समितिले केही परिमार्जन गर्यो भने केही परिवर्तनको गुन्जायस हुन्छ । तर, ठूलो परिवर्तन हुने छैन । पुस मसान्त वा ढिलोमा चैत मसान्तसम्मका कम्पनीले साधारणसभा गरिसक्नुपर्ने हो । तर बीमा कम्पनीहरुले असारमा आएर साधारणसभा गर्दैछन् । यसपालि एनआरएफलाई दोष दिए । अर्कोवर्ष साधारणसभा कहिलेसम्म होला ? पहिले बीमा विजनेशको नेचरलाई पनि बुझ्नुपर्छ । जीवन बीमा कम्पनीले ५ देखि २०/२५ वर्षसम्मको दायित्व बोकेका हुन्छ । बीमाको एक्चुरी नेपालमा छैनन् । हामीले डाटा बाहिर पठाउँदै आएका छौ । उहाँहरूले एक्चुरी भ्यालुयसन गरेपछि हामीलाई रिर्पोट दिनुहुन्छ । त्यही रिपोर्ट स्वीकृतिको लागि बीमा समितिमा बुझाउँछौं । त्यसलाई बीमा समितिले पनि क्रस भेरिफाई गर्छ । बीमा समितिले स्वीकृति गरेपछि मात्र वार्षिक साधारणसभामा लैजाने निर्णय हुन्छ । पुसमा साधारणसभा गर्न नसकेपछि प्रिरिर्टन फाइल पेस गर्नुपर्छ कम्पनी रजिष्ट्रार कार्यालयमा पेस गर्नुपर्छ । कानुनले तोकेको समयमा साधारणसभा नहुँदा जरिवाना तिर्नुपर्छ । त्यो फेरी कम्पनीको खर्चको रुपमा आउँछ । कम्पनीले समयमा काम नगरेर के गरेर बस्छ भन्नु हुन्छ, उफ्रिनु हुन्छ । व्यवस्थापकीय विषयमा हामीलाई जवाफ दिन सजिलो छैन । पुष मसान्तभित्र कुनै पनि कम्पनीले वार्षिक साधारणसभा गर्न सकेका छैनन् । यो वास्तविकतालाई हेरेर कानुनी रुपमा सुधार गर्नुपर्ने कार्य धेरै छन् । यस पटक सूर्या लाइफको साधारण सभाबाट सेयरधनीहरु कतिको खुशी हुनेछन् ? यसपालि करिब १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छौं । म सीईओ भएर आएपछि तीन आर्थिक वर्षको लेखापरिक्षण र साधारणसभा एकै पटक भएको हो । पहिलोपल्ट ५ प्रतिशत र दोस्रो वर्ष १० प्रतिशत लाभांश दिएका थियौं । यस वर्ष १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद लाभांश दिदैछौं । यो प्रतिफल नराम्रो होइन । भरखरै बामे सर्दै गरेको कम्पनी हो । चुक्ता पुँजी २०० करोड भएपछि भने विजनेश वृद्धिसँगै लाभांश दर मेन्टेन गर्न पनि धेरै चुनौती छन् । चुक्ता पुँजी कसरी २०० करोड बनाउने योजना छ ? चैत्र मसान्तमा १ सय १३ करोड रुपैयाँ छ । बोनस सेयरपछि १२९ करोड जति हुन्छ । त्यसपछि हकप्रद सेयर निष्काशन गर्छौ । असारभित्रै हकप्रद सेयर निष्काशन आह्वान गर्छौ । भदौसम्ममा हकप्रद सेयरको पैसा पनि आईसक्छ । हकप्रद सेयरको पैसा आएपछि हाम्रो सेयर पुँजी २ अर्बभन्दा बढी हुन्छ । असारभित्रै हकप्रद सेयर निष्काशन सार्वजनिक आह्वान गर्न सम्भव छ ? सम्भव छ । ११ गते साधारणसभा गछौं । तत्काल कम्पनी रजिष्ट्रार कार्यालयमा माईनुट दिन्छौ । १५ गते आधारभूत सेयरधनीलाई पैसा हाल्नु अनुरोध गर्छौ । क्रेडिट रेटिङको काम सकिन लागेको छ । पुँजी वृद्धिको टाइमलाइनको चाप सेवनलाई पनि थाहा छ । हामी कुरा गर्छौ । असार ३१ सम्ममा हकप्रद सेयर घोषणा गर्न सकियो भने बीमा समितिले पनि त्यसलाई सहज रुपमा लिन्छ भन्ने हाम्रो विश्वास हो । पुँजी वृद्धिसँगै व्यापार वृद्धि कति गाह्रो देख्नुहुन्छ ? गत वर्ष १४/१५ करोड नाफा गरेर झण्डै १३ प्रतिशत लाभांश दिन सकियो । अर्को वर्ष यति नै लाभांश दिन २५ करोडभन्दा बढी नाफा गर्नुपर्छ । हामीले हाम्रो स्रोतहरु उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गरेका छौं । साथै, हामीले विजनेशको योजना पनि समय अनुसार परिवर्तन गर्नु पर्ने हुन्छ । नयाँ प्रडक्ट डिजाईन, शाखा विस्तार, नेटवर्क विस्तारमा जोड दिन्छौं । अबको बिजनेश योजना के छन् ? हाम्रो कमजोरी पत्ता लगाउँदै सुधारको प्रयास भएका छन् । यो कम्पनीमा ७÷८ वर्षको अन्तरालमा ७/८ जना नै सीईओहरू फेरिनु भएको अवस्था रहेछ । व्यवस्थापन बलियो किन भएन भन्ने कुरामा समेत केही कारण त पक्कै हुनु पर्ने हो । सबै सिईओमा क्षमता नै नभएको भन्ने पनि त होइन होला । १/२ जनामा केही समस्या होला तर सबैको हकमा त त्यो पक्कै लागू नहोला । हामीले एक सालमा ३ वटा एजीएम गर्यौ । कर्मचारीमा रहेको असन्तुष्टि हटायौ । तलब, सुविधामा समेत वृद्धि गर्यौ । नयाँ कर्मचारी पनि ल्याएका छौं । हुन त केही साथीले छोडेर पनि जानुभयो । व्यक्ति भनेको त आउँने जाने चलिरहन्छ । तर, संस्था भनेको एकनास चलिरहनुपर्छ । त्यस्तै, प्रडक्ट पनि पुरानो हुँदा चल्दैन । हामीले त्यस्ता प्रडक्ट हेरफेरका विषयमा पनि ख्याल गर्दै आएका छौँ । एजेन्टलाई पनि तालिम दिएर अघि बढ्न सहयोग गर्दै आएको छौ । यस्ता कुरामा ध्यान दिएमा बिजनेश आफै आउँछ । अरुलाई हेरेर आत्तिन हुन्न । नयाँ कम्पनीहरु आएको सन्र्दभमा पनि हामी शान्त भएर, स्टेवल भएर बस्यौँ नि । बीमा कम्पनीहरुबीचको प्रतिस्पर्धामा सूर्या लाइफ कहाँ छ ? हाम्रो कम्पनी अहिले यति नम्बरमा छ म भन्दिन । अबको दिनमा यति नम्बरमा पुर्याउँछौं भनेर पनि भन्दिन । त्यसमा म विश्वास पनि गर्दिन । संस्थालाई राम्रो बनाउन सबै कर्मचारी, अभिकर्ताले इमान्दारपूर्वक काम गर्ने हो । हामीले दिने सेवा राम्रो हुनुपर्यो । राम्रा बीमा पोलिसी राम्रा हुनुपर्यो । कम्पनीले पालाना गर्नु पर्ने नियमहरु पालना भएको हुनुपर्यो । सेयरधनीलाई सकेसम्म राम्रो प्रतिफल दिन सकियोस् । धेरै ठूला कुरा गरेर केही पनि हुँदैन । निश्चित विजनेशको टार्गेट लिएर काम गर्छौ । समय सापेक्ष प्रडक्टको सुधार जरुरी हुन्छ । प्रडक्ट बेचेपछि पनि त्यसका बारेमा चलाख हुनुपर्छ । क्लेम, रिन्यू देखि ऋणसम्मको कुरालाई बुझ्न पर्छ । त्यस्तै, हामी पेपरलेस काम गर्ने, खर्च कटौति गर्ने कार्यमा हामीले जोड दिदैछौं । अनलाइनबाटै बीमा पोलिस किन्न सक्ने अवस्था बनाउन सकिन्छ । अहिले नै हामीले टर्म पोसिली अनलाइमा गएका छौं । शाखाहरूको विजनेश कस्तो छ ? सूर्या लाइफले हाल ८३ वटा शाखाबाट सेवा दिइरहेको छ । सबै शाखाको विजनेश एकनास हँदैन । पोखराको शाखा र मनाङको शाखाबाट उस्तै विजनेशन हुन सक्दैन । जीवन बीमा व्यवसाय शाखा विस्तार गरेर मात्र पनि बीमा लेख बिक्री हुँदैन । अभिकर्ता मार्फत काम गर्नुपर्छ । बैकास्योरेन्सको प्रभाव बजारमा कस्तो छ ? व्यक्ति भन्दा संस्थागत अभिकर्ता बढी प्रभावकारी भएको देखिन्छ । प्रतिस्पर्धाले पनि बीमा कम्पनीहरू र बैंकहरुबीच सहकार्य बढेको देखिन्छ । तर एउटा बैंकले सबै बीमा कम्पनीको बीमा पोसिली बेच्ने काम हुन थाल्यो भने त्यसले दुविधा सिर्जना गर्छ ।
नेपाली पूँजी बजार अझै बाल्यावस्थामा, प्रविधिमैत्री बजारले लगानीकर्ताहरु लाभान्वित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको पच्चीस वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताएका छन् । पोखरामा आयोजित ‘नेपाली पूँजी बजारका समाकालिन सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै साउदले सो विचार व्यक्त गरेका हुन् । नेप्से र पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस पूर्व विद्यार्थी मञ्चले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा बोल्दै उनले हाल पूँजी बजार प्रविधि मैत्री हुनाले यसबाट लगानीकर्ताहरुले पारदर्शी रुपमा कारोबार गर्न पाएको बताए । नेप्सेले अनलाइन प्रणाली शुरु गर्दाको दिनहरुलाई सम्झँदै उनले भने,“बजारबाट अनियमित तबरले अकुत धन आर्जन गर्नेहरुले अनलाइन प्रणालीलाई लागु हुन नदिन त्यसबेला यसका विरुद्ध धेरै अनर्गल प्रचारबाजी समेत गरेका थिए ।” सोही कार्यक्रममा बोल्दै अर्थ मन्त्रालय बैंक तथा वित्तिय महाशाखाका उप सचिव बैकुण्ठ निधि शर्माले पूँजी बजारमा लगानी गर्दा अरुको लहलहैमा नलागेर लगानीकर्ताहरुले अध्ययन तथा विश्लेषण गरेर मात्र अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेपालको पूँजी बजारका विविध पक्षहरुका बारेमा बोलेका थिए भने वरिष्ठ सूचना प्रविधि अधिकृत प्रभाकर घिमिरेले नेप्सेको वेभसाइटमार्फत गरिने अनलाइन कारोबारका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालय केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेसका निर्देशक डाक्टर रविन्द्र घिमिरेले पनि आफ्नो धारणा राखेका थिए । पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज र पोखरा कलेज अफ म्यानेजमेन्टका विभिन्न विद्यार्थी क्लवहरुको समन्वयमा सम्पन्न कार्यक्रमको अन्तरक्रिया सत्रमा अञ्जली पौडेल, गौरव पराजुली, कपिल पौडेल, निरज खड्का, बिनु श्रेष्ठ, मनोज पौडेल लगायतले बोलेका थिए । कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर चैतन्य अधिकारीको अध्यक्षता र सदस्य सुवास मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।
+२ पछि मात्र विदेश पढ्न जाने नियम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । कक्षा १२ पछि मात्र वैदेशिक अनुमति पत्र दिने शिक्षा मन्त्रालयको नियमलाई सर्वोच्च अदालतले अन्तिम फैसला नहुँदासम्म लागु नगर्ने निर्देशन दिएको छ। सर्वोच्च अदालतले असार ८ गते सम्म उक्त निर्णय कार्यान्वयन नगरी सोही दिन छलफलका लागि उपस्थित हुन दुबै पक्षलाई आदेश दिएको हो। शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले २०७६ साल जेठ २९ गते विज्ञप्ती निकाल्दै कक्षा १२ नसकिने विद्यार्थीहरु वैदेशिक अध्ययन अनुमती पत्र नदिने भनेसँग बजार तातिएको थियो। यसले धेरै कन्सल्टेन्सी र विद्यार्थीहरुलाई झ्ट्का महसुस भएको थियो। विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ। १२ कक्षाको अध्ययन पुरा नगरी विदेश जाने विद्यार्थीहरुलाई वैदेशिक अनुमती अनुगमन शाखाले नो अब्जेक्सन लेटर नदिने भएको थियो। विद्यार्थीहरु विद्यालय शिक्षा (१२ कक्षा) अध्ययन तथा ३ महिने ६ महिने तालिमको लागि जापान, बंगलादेश, कोरिया, चिन, अष्ट्रेलियालगायतका देशमा जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा मन्त्रालयले अनुमति दिन केही समयको लागि रोकिएको प्रवक्ता बैकुण्ठ अर्यालले बताएका थिए। विद्यार्थीहरु भाषा तालिमा सिक्छु भन्ने नाममा विदेशमा लुकेर बस्ने, विद्यालय शिक्षा पुरा नगरि जाँदा निर्णय लिनसक्ने क्षमता नहुने र के गर्न जान लागेको कुरामा स्पस्टता नहुने कारण दु:ख पाईरहेको हुनाले आफुहरुले यो कदम चालेको प्रवक्ता अर्याललेले केही दिनअघी बिकासन्युजसँग बताएका थिए। अष्ट्रेलियामा केही समय अगाडि हजारौं संख्यामा विद्यार्थीहरु अलपत्र परेका थिए। त्यस समयमा सरकारले किन कुनै चेकजाँच बिना नो बजेजेक्सन लेटर दिएको कुरामा ठुलो प्रश्न उठेको थियो।
‘पायोनियर’ बैंकर पृथ्वीबहादुर पाँडे नै भन्छन्ः ‘अब बैंकमा लगानी नगर्नुस्’
काठमाडौं । शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहल नेपाल इन्भेष्टमेन्ट बैंकका शेयरधनीहरूले भरिएका थिए । त्यही सभाहलको अघिपट्टी थिए, चुक्ता पुँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो बैंकको रुपमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकका दुई हस्तीहरु पृथ्वीबहादुर पाँडे र ज्योतिप्रकाश पाण्डे । सबैलाई दाजुभाइ जस्तो लाग्ने तर वास्तविक रुपमा दाजुभाइ नरहेका ती दुई हस्तीका अगाडि सभामा बोल्ने वक्ताहरू पनि नतमस्तक जस्तै भए, इन्भेष्टमेन्ट बैंकको चैत मसान्तमा देखिएको खराव वित्तीय विवरणप्रति कुनैपनि वक्ताले प्रश्न उठाउने हिम्मत गरेनन् । उनीहरूले त्यसको मेलै पाएनन् । सभामा बोलेका सबै वक्ताहरूलाई बोल्ने अनुमति अध्यक्ष पाण्डे आफैंले दिए । सभामा उठेका प्रश्नहरूको उत्तर पनि आफैं दिएका थिए । सभाको सुरुवातमा छोटो सम्बोधन गरेका पाण्डेले सो सम्बोधनमै पनि बैंकिङ क्षेत्र पहिलेजस्तो नभएको आशयसहितको अभिव्यक्ति दिएका थिए । वक्ताहरूको प्रश्नको उत्तर दिने क्रममा त झन उनले खुलेरै भने अब अधिक नाफाको लागि बैंकमा लगानी नगर्नुस्, अन्य क्षेत्र नै बढी फाइदाजनक छ । पृथ्वीबहादुर पाण्डको यो संकेतमा अन्तिम त्रैमासको आफ्नो बैंकको रिपोर्टको प्रभाव कति थियो वा बैंकको हालको अवस्थाको प्रभाव कस्तो थियो वा बजार प्रतिस्पर्धा र जोखिमको अवस्था कस्तो थियो, त्यो समयले नै बताउला तर बैंरहरूको नाममा १/२ स्थानमै आउने उनको भनाइ बैंकिङ क्षेत्रमा लगानीकर्तालाई भने पक्कै पनि मननीय छन् । आफ्नो भनाइलाई पुष्टि गर्न उनले २/३ ओटा तर्क पनि प्रस्तुत गरे । उनको भनाइअनुसार निरन्तर बढ्दो कर्मचारी खर्च, घरभाडा लगायतले बढ्दै गएको सञ्चालन खर्च र उद्योगीहरूको आन्दोलनको कारण कसिँदै गएको ब्याजदर अन्तर । उनले आफ्नै केन्द्रीय कार्यालयको उदाहरण दिँदै सुरुमा साढे २ कराेड रहेको दरबारमार्ग अफिसको खर्च ८ करोड पुगेको बताउँदै सोही अनुपातमा अरु ठाउँमा पनि खर्च बढ्दै गएको सुनाए । यद्यपि गतिमा एग्रेसिभ रुपमा बढेको ऋणको जोखिमको प्रभावले बैंकिङ क्षेत्रलाई कति थिच्दै लगेको छ भन्ने उनले बताएनन्, न त कसैले त्यस्तो प्रश्न नै गरे । पाण्डेले दरबारमार्ग अफिसको १५ वर्षको सम्झौता सकिन लागेको भन्दै सो सकिएपछि दरबारमार्ग अफिसलाई लाजिम्पाटमा सारेर पुतलीसडक कार्यालयलाई सुविधा सम्पन्न केन्द्रीय कार्यालयको रुपमा विकास गर्ने योजना समेत सुनाए । ‘यो बैंकमा तपाईको, मेरो सबैको लागनी छ, तपाईँहरुको अलि कम होला, मेरो अलि धेरै होला तर सबैको छ, केही पैसा जोगाउन सकियो भने पनि त्यो पैसा तपाईँ हाम्रो खल्तीमा जान्छ ।’ उनले यसो भन्दैगर्दा सभाहल तालीले गुञ्जियो । उनले नयाँ शाखा खोल्दा त्यो शाखा नाफामा जान ७/ वर्ष लाग्ने बताउँदै चलिरहेको बैंकलाई लिँदा त्यो जोखिम कम हुने भएकोले इन्भेष्टमेन्ट बैंकले पनि ससाना बैंकहरुसँग मर्जर चाहेको बताए । ठूला बैंकसँग मर्जरलाई असम्भव नै नदेखे पनि निकै जोखिमपूर्ण देखेका उनले भने ‘हाइयर दि इन्सिट्युसन, हाइयर दि कम्लिकेसन ।’
एटीएमबाट २० लाख बढी रकम निकाल्ने शंखमुलका राजुकुमार पाण्डे प्रकाउ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको काठमाण्डौ उपत्यका स्थितका बिभिन्न स्थानमा राखिएको एटीएम बुथहरुबाट २० लाख रुपैयाँभन्दा बढी रकम निकाल्ने बाराका प्रतिवादी राजुकुमार पाण्डे प्रकाउ परेका छन् । अनाधिकृत र गैह्रकानूनी रुपमा ‘फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड’हरुको प्रयोग गरी पैसा निकाल्ने क्रममा संलग्न स्थायी ठेगाना बारा र हाल शंखमुलमा बस्ने ३३ वर्षको पाण्डे असार ५ गते प्रकाउ परेका हुन् । यस सम्बन्धि उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको महाराजगंजस्थित प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बरामद भएका सामानहरुः १. गोल्डेन कलरको सादा कार्ड थान–२(दुई), ई ५० फर यू एसोदा लेखिएको कार्ड थान–२(दुई), हाउस अफ फ्रेजर गिफ्ट सीएडी लेखिएको थान–१(एक), ओएस्टर लेखिएको कार्ड थान १(एक), प्रभु बैंकको सिसिर भण्डारीको नामको भिषा कार्ड थान १, स्टेड बैंकको मास्टर कार्ड थान १, नबिल बैंकको दिपावली पाण्डेको नामको भिषा कार्ड थान १, एस बैंकको फुर्ब वानचउकको मास्टर कार्ड थान १, सेञ्चुरी बैंकको पजल बस्नेतको भिषा डेबिड कार्ड थान १, आईएमई प्रिभिलेज कार्ड लेखिएको थान १ गरी जम्मा १२ वटा सामानहरु बरामद भएका छन् । २. रातो कलरको नोकिया कम्पनीको मोबाइल थान १, सिलवर कलरको आईफोन थान १, ३. नेपाली नगद एक हजार दरका ६६२ थान नोट ६ लाख ६२ हजार रुपैयाँ, ५०० दरका ४८ थान नोट २४ हजार रुपैयाँ, ४. एप्पल कम्पनीको ल्यापटप थान २ अनुसान्धानबाट थप खुल्न आएका कुराहरुः १. नीज पक्राउ अभियुक्त राजु पाण्डे र ३ जना रोम्यानियन नागरिकहरु मिलाी राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंस्थित विभिन्न एटीएम बुथबाट पैसा निकालेको, २. प्रकाउ परेको अभियुक्तसँग रोमानियन नागरिकहरुको ७/८ महिना अगाडी नेपाल आउदा ठमेलमा चिनजान भई उक्त कार्यमा संलग्न रहेको, ३. प्रकाउ अभियुक्तले विदेशीहरुलाई विभिन्न एटीएम बुथमा पुर्याई एटीएमबाट अनाधिकृत रुपमा निकालिएको रकम बाँडफाँड गरी लिने गरेको, ४. हाल उक्त विदेशीहरुले नेपाल छोडी सकेको बुझिएको ब्युरोले जनाइको छ । सीआईबीले हालसम्म नेपाली ९६ लाख ६२ हजार ८५० रुपैया, अमेरिकी डलर ७५ हजार २२५, युरो ७३ हजार ८७५, ईन्डोनेसियन रुपी ३३ हजार, फिलिपिन करेन्सी ४७० र विभिन्न एटीएम कार्ड १३६९ थान बरामद गरिएको जनाईएको छ । त्यस्तै, एटीएम ठगीमा ब्यूरोले हालसम्म ६ नेपाल, ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, २ भारतीय र ४ मोल्दोभियन गरी जम्मा २४ जनालाई पक्राउ गरेको बतार्ईएको छ ।