वैदेशिक रोजगारसम्बन्धी नीतिको स्थानीयकरणमा चुनौती,समन्वय समिति गठन गर्न सुझाव
काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी नीतिको स्थानीयकरणमा चुनौती देखिएको छ । मानवअधिकारका लागि पिपुल फोरमले शुक्रबार आयोजना गरेको ‘वैदेशिक रोजगारसँग सम्बन्धित व्यवस्थापनको स्थानीयकरण’ मस्यौदा नीतिपत्र कार्यक्रममा आप्रवासविज्ञ अधिवक्ता सोम लुँइटेलले वैदेशिक रोजगार व्यवस्थापन स्थानीयकरणका लागि कार्यादेशको पृथकीकरण, संरचनाको सुधार र सेवाको स्थानीयकरण आवश्यक रहेको बताएका छन् । “विश्वका धेरै देशमा वैदेशिक रोजगारसम्बन्धी निकायको स्थानीयकरण हुन सकेको छैन”, उनले भने । फोरमका पूर्वअध्यक्ष लुँइटेलले स्थानीयकरणका लागि वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न कार्यालयलाई प्रदेशस्तरमा विस्तार गर्नका लागि वैदेशिक रोजगार जिल्ला समन्वय समिति गठन गर्न सुझाव दिए । सो अवसरमा सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले दूतावासबाट भएको प्रमाणिकीकरण कमजोर हुन नदिन स्थानीय पालिकामा पठाउनुपर्ने बताएका छन् । वैदेशिक रोजगार व्यवसायी महासङ्घका महासचिव सरोज पोख्रेलले वैदेशिक रोजगार नीति बनाउनुपूर्व त्यसले कति समयसम्म काम गर्न सक्छ भन्ने निर्धारण हुनुपर्ने बताए । सहभागीले वैदेशिक रोजगारीका क्रममा पीडित महिलाका लागि स्थानीयस्तरमा छुट्टै व्यवस्था गरिदिनुपर्ने, वैदेशिक रोजगारसम्बन्धी प्रचारप्रसार र जनचेतना अभिवृद्धि गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाने युवाको परिवार बारेको जानकारी स्थानीय सरकारले राख्नुपर्ने, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको परिवारलाई स्थानीय तहमा नै क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने, नेपाल सरकारले छुट्टै सूचना बैंकको स्थापना गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । रासस
भरतपुरमा देवः विकास बैंकको शाखा संचालन
काठमाडौं । देवः विकास बैंकले भरतपुरमा नयाँ शाखा संचालनमा ल्याएकाे छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गरुङ्गले गरेका हुन् । कार्यक्रममा मन्तब्य राख्दै गरुङ्ले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरिने नीतिलाई अख्तियार गर्दै स्थानीयस्तरमा उद्यमशीलताको विकास गरी स्थानीय उत्पादकत्व बृद्धिका लागि सहकार्य गरिने प्रतिवद्धता सहनु पर्ने उनले बताए । कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले बैंक लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र प्रदेश ३ मा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरीने जानकारी गराए । कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १० का वडा अध्यक्ष, अरुण विनीत भण्डारीले देवः विकास बैंक, भरतपुर शाखाबाट प्रदान गरीने उत्कृष्ट सेवाबाट वडावासी लाभान्वित हुने मात्र नभई वडा क्षेत्रको आर्थिक कारोवारलाई बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघ, नारायणगढका अध्यक्ष सहनलाल प्रधान चितवन जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढेसँगै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न व्याजदरमा ध्यान दिन सुझाव दिए । यसैगरी चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले शुभकामना मन्तव्य उद्योगी व्यवसायी र बैंकबीच हातेमालो गर्नु पर्नेमा जोड दिए ।
ललितपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार
काठमाडौैं । प्रभु बैंकले ललितपुरमा नयाँ शाखा विस्तार गरेको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ स्थित इमाडोलमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो । कार्यक्रमका प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस इमाडोल शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए । बैंकको इमाडोल शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । इमाडोल शाखा समेत गरी बैंकले हालसम्म १८५ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।
अप्रेशन क्लिन चितवन अभियान शुरू, दुई दिनमा ९३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ
काठमाडौं। चितवनमा लागु औषध नियन्त्रणका लागि चितवन प्रहरीले “अप्रेशन क्लिन चितवन अभियान” सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा आएका नयाँ प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले दुई अघिबाट “अप्रेशन क्लिन चितवन अभियान” तीव्र पारेका हुन् । जिल्ला र मातहतका कार्यालयमा एक साथ सुरु गरिएको अभियानको पहिलो दिन जिल्लामा १५ जना र अन्य ठाउँमा गरि ४० जना लागुऔषधका प्रयोगकर्ता युवाहरुलाई पक्राउ गरेको एसपी मल्लले जानकारी दिए । “चितवनलाई अपराध नियन्त्रणमा अन्र्तराष्ट्रियमा अलग पहिचान दिने सुरुवातमै उद्धघोष गरि सकेको छु एसपी मल्लले भने, अपराधको जड नै लागुऔषधबाट हुन्छ, यसकारण पहिलो प्रथामिकता राख्दै तल्लो तहबाट नियन्त्रण गर्न “अप्रेशन क्लिन चितवन अभियान” हो । अप्रेशन क्लिन अन्र्तगत अन्य अपराध नियन्त्रण र हिसां अन्त्यका कामहरु समेत आफुले गर्ने उनको भनाई छ । अभियान अन्र्तगत एसपीले पक्राउ गरेका ती युवाहरु आफै काउन्सीलिङ्ग गर्नेदेखि चुल्टेहरुको कपाल काट्ने सम्मको काम गरेका छन् । “अभिभावकले पनि आफ्ना बालबच्चा कहाँ गएका छन्, कस्ता मान्छेको संगत गरेका छन् भन्ने कुरा बुझ्न पर्यो उनले भने, बच्चाहरुको निगरानी गर्न पर्यो, त्यो भयो भने बल्ल लागुऔषध नियन्त्रण हुन्छ ।” पक्राउ परेका युवालाई एसपी मल्लले आफ्नै कार्यकक्षमा लागेर लागुऔषध नियन्त्रण बारेमा प्रशिक्षणसगैँ यसबाट हुने क्षति बारेमा जानकार बनाउने काम गरेका छन् । पक्राउ पर्नेमा १५ देखि २५ बर्षसम्म उमेर समुहका युवाहरु छन् । उनीहरु रातको समयमा र एकान्तमा बसेर लागुऔषध प्रयोग गरिरहको वेला पक्राउ गरिएको प्रहरीको भनाई छ । जिल्लामा ६० प्रतिशत लागुऔषधको प्रयोगकर्ता रहेको तथ्याक छ । भने यसलाई शुन्यमा झार्ने गरि आफुहरुले अभियान तीव्र पारेको एसपी मल्लले बताए ।
भक्तपुर अस्पतालको बन्द सेवा पुनः सञ्चालन
काठमाडौं । कर्मचारी आन्दोलनका कारण बन्द भक्तपुर अस्पतालको सम्पूर्ण सेवा शुक्रबारदेखि सञ्चालनमा आएको छ । । वीर अस्पतालपछि दोस्रो जेठो सरकारी अस्पतालका रुपमा रहेको उक्त अस्पतालका कर्मचारीको आन्दोलनका कारण आकस्मिक बाहेक सबै सेवा बन्द भएको थियो । विगत तीनदिनदेखि अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाधेर ३५ कर्मचारी अस्पतालको प्राङ्गणमा धर्ना बसेका थिए ।अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपानेको नेतृत्वमा रहेको वार्ता टोलीले आन्दोलनरत कर्मचारीसँग छलफल गरी उनीहरूको माग पूरा गराउने सहमति गराएपछि बन्द सेवा सञ्चालनमा आएको आन्दोलनरत कर्मचारीे सङ्गठनका अध्यक्ष मदन द्यौलाले बताएका छन् । उनले विगत १० दिनदेखि जारी आन्दोलन भने फिर्ता नलिएको तर सेवा ठप्प पारेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्न नहुने भएकाले सेवा चालू गराइएको बताए । आन्दोलनरत कर्मचारीले शुक्रबार पनि हातमा कालो पट्टि बाँधेर काम गरिरहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेर निष्काशनको तयारी गरेको भन्दै २२ वर्षदेखि कार्यरत ३५ कर्मचारी आन्दोलनमा उत्रिएका थिए । रासस
प्रतिनिधिसभाकाे आजको बैठक, कसले के बाेले ?
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद इन्दुकुमारी शर्माले सरकारले शुरु गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम छिटो र सर्वसुलभ बनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभाको शुक्रबारको विशेष समयमा उनले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरेको स्वास्थ्य सेवाको हकलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुलभ बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद शर्माले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाहरुमा प्रभावकारी हुन नसकेको र सरकारी अस्पतालमा समेत छिटोछरितो नहुने गरेको भन्दै सबै सरकारी अस्पलतामा सहज र सर्वसुलभ तरिकाले सेवा दिन आग्रह गर्दै उनले सबै सरकारी अस्पतालमा निःशुल्क खानेपानीको व्यवस्था गर्नु पर्नेमा पनि जोड दिएकी छिन् । त्यस्तैगरी, सांसद राजेन्द्र गौतमले सङ्खुवासभामा केही दिनअघि आएको हावाहुरीका कारण ६० घरका कृषकको अलैँची खेती नष्ट भएकाले ती कृषकलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । सांसद प्रभु साहले रौतहट जिल्लामा घटेको १५ वर्षीय नाबालिकामाथि बलात्कार जस्तो जघन्य अपराधको घटनामा मिलापत्र गरेकामा आपत्ती जनाउँदै बलात्कार, हत्या, आतङ्कजस्ता कुरामा मिलापत्र गर्ने कार्यप्रति सरकारको ध्यान जानुपर्ने सुझाव दिएका छन् । अर्का सांसद मीना पाण्डेले सर्लाही जिल्लामा कुमार चौधरीलाई प्रहरीले समातेर हत्या गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय हत्याजस्तो गम्भीर प्रकृतिका मानव अधिकार हननका बढदै गएकामा चिन्ता व्यक्त गरे । अन्त्यमा, सांसद राधा ज्ञवालीले कृषि, सहकारी तथा प्राकृृतिक स्रोत समितिको बैठकमा तराईका अधिकांश जग्गा चौधरीको नाममा रहेको र ती जग्गाको मालिक भारतीय भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्तो विषयमा आफूले कुनै कुरा नभनेको स्पष्ट पारेकी छिन् । रासस
नक्कली प्रमाणपत्र बनाउने दुई गिराेह पक्राउ
काठमाडौं । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् । भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् । उनीहरुले सो पसलबाट विद्यालय तथा क्याम्पसहरुको नक्कली लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पराजुली र पौडेललाई बिहीबार पक्राउ गरेको हो । यसरी, नक्कली प्रमाणपत्र बनाउन प्रयोग गरिने एक थान कम्प्युटर र तीन थान प्रिन्टरसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखितसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
कृषि उत्पादन बढाउने उद्देश्यले कृषकलाई २९० पम्पसेट वितरण
काठमाडौं । समयमा वर्षात नभएर खेती गर्न नपाएका पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसानहरु गाउँपालिकाबाट पम्पसेट पाएपछि उत्साहित भएका छन् । उक्त गाउँपालिकाले सिँचाइ प्रवद्र्धन गर्दै कृषि उत्पादन बढाउने उद्देश्यले २९० कृषकलाई राहत स्वरुप पम्पसेट वितरण गरेको हो । अनुदानमा गाउँपालिकाबाट पम्पसेट पाएपछि समयमा पर्याप्त वर्षा नभएका कारण रोपाइ गर्न नसकिरहेका कृषकहरु लाभान्वित भएको कृषक विजय पटेलले बताएका छन् । “हामी कृषकहरु पानीको अभावले समयमा खेती गर्न सकिरहेका छैनौ, जसले गर्दा उत्पादनमा ह्रास आउने समस्याबाट जुधिरहनुपरेको छ, अहिले गाउँपालिकाले कृषकहरुलाई समयमै खेती गर्न सक्ने र उत्पादन बढाउन सक्ने गरी पम्पसेट वितरण गरेर हामीलाई उत्साह थपेको छ ।” पटेलले भने । गाउँपालिकाले कृषिलाई उच्च प्राथमिकता दिएर कृषकलाई प्रोत्साहन गर्दै आएको जनाएको छ । कृषिको उर्वर क्षेत्र मानिने यस गाउँपालिकामा कृषिलाई आधुनिकीकरण र कृषकलाई व्यावसायिक कृषिमा उन्मुख गराउन पम्पसेट वितरण गरिएको गाउँपालिका अध्यक्ष दीपक गुप्ताले बताए । गाउँपालिकामा पश्चिम गण्डक नहर रहे पनि सबैको खेतमा सिँचाइ नपुग्ने भएकाले पम्पसेटको मद्दतले सिँचाइ गर्न सहज हुने साथै पानीको अभाव रहेको क्षेत्रमा पनि बोरिङबाट सिँचाइ गर्नका लागि पनि पम्पसेट वितरण गरिएको उनको भनाइ छ । पम्पसेट दीर्घकालीन उपाय नभएकाले आगामी दिनमा गाउँपालिकाले सिँचाइ उपलब्धताका लागि ठोस नीति बनाएर अघि बढ्ने अध्यक्ष गुप्ताले बताएका छन् । पानी नभए खेती नै हुन नसक्ने र चर्को मूल्य तिरी बोरिङको पानीबाट सिँचाइ गरिरहेका किसानलाई यसले ठूलो राहत पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलको भनाइ छ । सरकार र कृषकको ५०÷५० प्रतिशत लागत सहभागिताबाट नै पम्पसेट वितरण गरिएको हो । उनका अनुसार गाउँपालिकाको रु ४३ लाख ७५ हजार, प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १५ लाख गरी रु ५८ लाख ७५ हजार सरकारको अनुदान र थप ५८ लाख ७५ हजार कृषकको लगानी गरी रु एक करोड १७ लाख ५० हजारको बजेटबाट पम्पसेट किसानलाई वितरण गरिएको हो । ६ वटा वडा रहेको यस गाउँपालिकाका प्रत्येक वडामा कम्तीमा ३५ जनाको दरले पम्पसेट वितरण गरेको छ । सूचना प्रकाशित गरी छनौट भएका कृषकहरुलाई पहिलो चरणमा भने १५८ जनालाई वितरण गरिएको अधिकृत पौडेलले बताएका छन् । रासस