बागलुङमा मात्रै छ महिनामा ४६ आपराधिक घटना, बढी घरेलु हिंसा
काठमाडौं । पछिल्लो छ महिनामा जिल्लामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले ‘मानव अधिकार वर्ष पुस्तक– २०२०’ का लागि शनिबार गरेको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो । सबैभन्दा बढी घरेलु हिंसाका २१ घटना छन् । जसमध्ये ११ घटना मिलापत्रमा टुङ्गिएका छन् । तीन घटना अदालत पुगेको र बाँकी प्रक्रियामा छन् । इन्सेकद्वारा सार्वजनिक विवरणमा जबर्जस्ती करणीका सात र करणी उद्योगका नौ घटना भएका छन् । राजनीतिक अधिकारसम्बन्धी एक, धम्की तथा कुटपिटसम्बन्धी एक, सामाजिक अधिकारसम्बन्धी एक, बालअधिकारको एक, जातीय विभेदको एक, बहुविवाहसम्बन्धी तीन र महिला अधिकारसम्बन्धी एउटा घटना भएका छन् । इन्सेक प्रतिनिधि सिर्जना पन्तले भनिन् “मानव अधिकार वर्ष पुस्तकका लागि पछिल्लो छ महिनाभित्रका ४६ घटना प्रलेख गरिएको छ”। स्थलगत अध्ययनसँगै प्रहरी र अदालतको स्रोतबाट इन्सेकले घटना विवरण सङ्कलन गर्ने गरेको छ । देशको मानवअधिकारको अवस्था झल्कने गरी इन्सेकले वर्षेनी मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको र हिंसा र अपराधसँग जोडिएका घटनालाई पनि पछिल्लो समय मानवअधिकारसँग जोडेर हेर्ने गरिएको छ समिक्षा कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले घटनाका दोषीलाई संरक्षण गर्न नहुनेमा जोड दिएका छन् । “मानवअधिकारको रक्षाका लागि सम्बद्ध सबै पक्ष जिम्मेवार हुनुपर्छ”, उनले भने, “मुख्य दायित्व राज्यको रहन्छ ।” रासस
ऐतिहासिक एकीकरण स्थलमा पदमार्ग जोडिने (फोटो फिचर)
काठमाडौं । हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोड्ने करिव ७५ किलोमिटर लामो पदमार्ग औपचारिक रुपमा सुरु भएको छ । पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेलले पदमार्गको घन्टेमा उद्घाटनपछि पूर्वमन्त्री गजुरेललगायत एक सयभन्दा बढी सहभागीहरुले करिव एक किलोमिटर पदयात्रा गरेका थिए। सांसद हरिबोल गजुरेलले नेपालको इतिहासमा महत्वपूर्ण अर्थ राख्ने दुई गढीलाई जोडेर पदमार्ग निर्माण गर्दा यसले सिन्धुलीको आर्थिक तथा सामाजिक विकासमा अर्थ राख्ने बताए । पदमार्ग निर्माणको अभियानमा स्थानीयवासीको उत्साहप्रद सहभागिताप्रति आभार व्यक्र गर्दै पर्यटनको विकासमा स्थानीयवासीको साथ र सहयोग महत्वपूर्ण हुने बताए। यस्तै, कार्यक्रममा प्रदेश सदस्य विनोदकुमार खड्काले सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा सिन्धुली जिल्ला फड्को मार्ने चरणमा रहेको भन्दै पर्यटनसँग पदमार्गको सम्बन्धबारेमा चर्चा गरे । यसैगरी, प्रदेशसभा सदस्य बुद्धिमान माझीले सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा औद्योगिक क्षेत्रको प्रस्ताव गरिएको बताउँदै सिन्धुलीलाई कृषि क्षेत्रमा अगाडि बढाउनुपर्ने जनाए । कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विकासका दृष्टिले सिन्धुलीले धेरै सम्भावना बोकेको भन्दै राजनीतिक दलका नेताहरु विकासका लागि एकमत हुने गरेको बताए । यस्तै, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामाले पर्यटनको गुरुयोजना बनाएर हरिहरपुरगढी गाउँपालिकाको विकासमा योजनाबद्ध रुपमा काम थालिएको जानकारी दिए ।। कार्यक्रमममा नेकपा (नेकपा) का केन्द्रीय सदस्य तथा गढी संरक्षण समितिका अध्यक्ष कमलजंग राईले घण्टे, गढीलगायत हरिहरपुरगढी क्षेत्रको ऐतिहासिक महत्वको खोजविन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद हरिबोल गजुरेलले पदमार्गका लागि जग्गा दिएर सहयोग गर्ने शम्भु राई, रुकमणि श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, मानबहादुर मानन्धर र हरिबहादुर श्रेष्ठलाई कदरपत्र दिएर सम्मान गरे । कार्यक्रममा प्रदेश सभा सदस्य राजन दाहाल, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, गणपति राजीव थापा, प्रहरी नायव उपरीक्षक लोकदर्शन थापा, शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दिनेश शर्मालगायतको उपस्थिति रहेको थियो । स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसद गजुरेलले ४० लाख रुपियाँ पदमार्गका लागि विनियोजन गरेका थिए । तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढी सदरमुकाम सिन्धुलीबाट १३ किलोमिटर दुरीमा छ । यो पदमार्गले दुवै गढीलाई जोड्ने छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि हात्तीढुंगासम्म पदमार्ग निर्माण सम्पन्न गरेको हो । पदमार्ग निर्माणमा दैनिक १ सय जनाभन्दा बढी उपभोक्ता डेढ महिनासम्म खटिएको पदमार्ग निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष तथा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । पदमार्गको सुरुआत स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाइएको छ । त्यस्तै खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । चौधौं शताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रबर्धन गर्न पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष लीलानाथ घिमिरेले बताए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइन्छ । श्रब्यदृष्य समाग्री समेटिएको वेवसाइट हरिहरपुरगढी डटकम पनि यसै अबसरमा सुरु गरिएको छ । यस वेवसाइटमा पदमार्गको भिडियो, हरिहरपुरगढीबारे जानकारी, बाटोमा पर्ने गन्तब्यहरु र तस्बिरहरु समेटिएका छन् ।
पर्वतमा महाशिलाको विकासका लागि डिपिआर तयार
काठमाडौं । नेपालका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यभित्र अटाएको पर्वतमा रहेको महाशिलाको पर्यटकीय विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिला भनी दाबी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथमा डिपिआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिएका छन् विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थल निर्माणका लागि शिलामा १०८ फिट अग्लो हुने गरी भगवान् शिवको मूर्ति निर्माण गर्ने योजना अगाडि सारिएको छ । यस्तै, शिलाको बीच भागमा सिसाको पुल निर्माण गर्ने, शिलाको शिर भागमा त्रिकोणात्मक सिसाको पुल निर्माण गर्ने, आश्रमस्थल निर्माण गर्ने, उद्यान बनाउने, योगकक्ष निर्माण गर्ने तथा ढुङ्गाको बगैँचा निर्माण गर्ने काम डिपिआरमा समावेश गरिएका उचैले जानकारी दिए । पर्यटनमार्फत पर्वतवासीको आर्थिक समृद्धिका लागि यो योजना निकै महत्वपूर्ण हुनसक्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख राजु पौडेलले बताएका छन् । रासस
फेसबुक, गुगल नचले पुरै पैसा फिर्ता दिने हुवावेको घोषणा, नेपाली प्रयोगकर्तालाई राहत
काठमाडौं। हुवावेले आफ्ना स्मार्टफोनहरुमा गुगल, फेसबुक लगायतका एपहरु नचले शतप्रतिशत क्यासब्याक दिने भएको छ । गुगलले आफ्ना एपहरु हुवावेको स्मार्टफोनमा नचल्ने घोषणा गरेपछि खस्किएको हुवावेका स्मार्टफोनहरुको बजारलाई माथि उकास्न हुवावेले यस्तो रणनीति लिएको हो । नेपालका लागि हुवावे मोबाइलको आधिकारिक विक्रेता कल मोबिलिटी प्रा.लि. ले आफ्ना डिलरलाई पत्र लेख्दै त्यसरी एपहरु नचलेको अवस्थामा खरिद मूल्यको शतप्रतिशत रकम फिर्ता हुने विश्वास ग्राहकहरुलाई दिन आग्रह गरेको छ । यसबारे कल मोबिलिटी सर्भिसले केही दिनभित्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमा त्यस्तो जानकारी दिने तयारी गरेको समेत बताइएको छ । याे व्यवस्था हुवावेका सबै स्मार्टफोनहरुमा लागु हुनेछ । हुवावेले हाल नेपालमा वाई सिरिज, नोभा सिरिज, ट्याव सिरिज, पी–सिरिज र मेटसिरिज गरि ५ ओटा सिरिजका ३० भन्दा बढी मोडलका स्मार्टफोनहरु विक्री गर्दै आएको छ । नेपाली बजारमा हुवावेकाे बारेमा भएका भ्रमहरुलाई मेटाउन आफुहरुले यो अफर ल्याएको कम्पनीका मार्केटिङ म्यानेजर रोशन न्यौपानेले दाबी गरे । ‘फेसबुक र गुगलका एप्स चल्दैन भन्नु सबै भ्रम हुन्, यि सबै एपहरू १०० प्रतिशत चल्छन्’, उनले भने । हुवावेले आफ्ना स्मार्टफोनहरुमा राखिएका विभिन्न फिचरहरुमार्फत् आफ्ना ग्राहकहरुको गोप्य सूचना संकलन गरी चीन सरकारलाई दिने गरेको र यसले अमेरिका लगायत अन्ग देशको सुरक्षामा प्रतिकुल असर परेको भन्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिकामा प्राविधिक संकटकालको घोषणा गरेका थिए । त्यसको २ दिनपछि हुवावेलाई अमेरिकामा बन्देज गरिएको थियो भने अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यापारिक सम्बन्ध नराख्न समेत ट्रम्प प्रशासनले निर्देशन दिएको थियो । त्यसलगत्तै गुगलले आफ्ना एपहरुमध्ये केही एपहरु हुवावेको मोवाइलमा अपडेट नहुने व्यवस्था गर्ने जनाएको भए पनि हाल त्यो निर्णय अन्तरिम कालका लागि फिर्ता गरिएको छ तर यो निर्णयले हुवावेको बजारमा भने ठूलो हलचल ल्याइदिएको थियो । उक्त निर्णय पछि नेपाली बजारमा पनि हुवावेको बिक्रीवितरणमा ठुलो प्रभाव देखिएको थियो। यसै बजार हल्लालाई चिर्दै आफ्नो व्यापारको गतिलाई पुनस्र्थापित गर्ने प्रयासस्वरुप यो रणनीति अपनाइएको हो । हुवावेले अन्य देशहरुमा पनि यस्तै व्यवस्था गर्दै फेरि ग्राहकहरुमा छाउने प्रयत्न गरिरहेको छ ।
नेपालगञ्ज विकासको गतिमा अघि,प्रहरीकाे अभावले सुरक्षामा चुनौती
काठमाडौं । नेपालगञ्जले दिनप्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरुप परिवर्तन गरेका छन् । सडक चौडा पारिएका छन्, सडक रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ । शहर जति विकासको गतिमा अघि बढिरहेको छ, सुरक्षा चुनौती पनि उत्तिकै थपिएको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राखेरै नेपालगञ्जका चोकचोकमा प्रहरी बिट रङरोगनसहित चिटिक्क पारेर राखिएका छन् । तर, ती बिटमा प्रहरी छैनन् । स्थानीयवासीलाई भने सडकमा प्रहरीका गाडी दौडिएपछि सुरक्षा दिइरहेको महसुस हुन्छ । नेपालगञ्जका कारकाँदो, न्यूरोड, त्रिवेणी मोड, भेरी अञ्चल अस्पताल अगाडि, बाँकेगाउँ, घरबारी टोलका प्रहरी बिट रित्तै छन् । नेपालगञ्जको सेतु विकचोकमा चिटिक्क परेको प्रहरी बिट छ तर त्यहाँ एक महिना यता प्रहरी छैनन् । चोकचोकका प्रहरी बिट खाली भएको कारण सुनाउँदै बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा भन्छन्, “धेरै प्रहरीको एकैपटक रमाना भएकाले केही बिटहरू खाली भएका छन् ।” प्रवक्ता सापकोटाले अन्यत्र सरुवा भएका प्रहरीको एकैपटक रमाना दिँदा र जिल्लामा आउनेहरू आइनपुग्दा यस्तो अवस्था आएको बताए । नेपालगञ्जलाई केन्द्र बनाएर सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकूदका लागि भन्दै रमाना नदिएर राखिएका प्रहरीहरू एकैपटक रमाना बुझेर जाँदा धेरै जना बाहिरिएका छन् । त्यसो त जिल्लामा दरबन्दीअनुसारका प्रहरी पनि छैनन् । बाँकेमा ९०० हाराहारीमा प्रहरी दरबन्दी छ । प्रहरीले सङ्ख्या नै खुलाउन नचाहे पनि जागिर छोड्ने प्रहरीको सङ्ख्या ठूलो छ । एक प्रहरी अधिकृत भन्छन्, “सिपाही १३÷१४ वर्षमा हबल्दार हुन्छ । त्यसको केही वर्षमा उसको पेन्सन हुन्छ र ऊ बाहिरिन्छ । बीचैमा जागिर छाड्नेहरू पनि धेरै छन् ।” नेपालगञ्ज बजारमा वडा प्रहरी कार्यालयबाट प्रहरी खटिन्छन् । वडा कार्यालयमा ९९ को दरबन्दी रहेको छ । त्यसमा पनि अहिले आधाजति मात्रै छन् । वडा प्रहरी कार्यालयले मुख्यमुख्य बिटमा मात्रै प्रहरी राख्ने गरेको छ । धम्बोझी, विपीचोक, पुष्पलालचोक, त्रिभुवनचोक, पुरैना, बसपार्कको प्रहरी बिट भने खाली छैनन् । वडा प्रहरीका अनुसार न्यूनतम सङ्ख्यामा ड्युटीमा खटाउन पनि कम्तीमा ४० प्रहरी अपुग छन् । वडा प्रहरी कार्यालयका इन्चार्ज नारायण डाँगीले प्रहरीको सङ्ख्या अलिकति कमी भए पनि बिट नै खाली गर्ने अवस्था नरहेको बताएका हुन् । नेपालगञ्ज भीआइपीहरू आइरहने ठाउँ हो । एकैपटक चार÷पाँचसम्म भीआइपी आउने भएकाले प्रहरीलाई अझ हैरानी हुने गरेको छ । त्यसै पनि दरबन्दी कमी छ, दरबन्दी अनुसारकै प्रहरी पनि छैनन् । नेपालगञ्जमा कर्णाली र सुदूरपश्चिम प्रदेश जाने भीआइपी पनि आइरहन्छन् । उनीहरूलाई नाकासम्म स्कर्टिङ गर्नुपर्ने प्रहरीलाई बाध्यता छ । यसरी, प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि दुरुपयोग उस्तै बढेको छ । केही समयअघि बिटमा प्रहरी नभएको फाइदा उठाउँदै बिटमै मासु पसल सञ्चालन गरेको पाइएको थियो । नेपालगञ्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको भेटिएको थियो । उनले प्रहरी बिटमा खसी काट्नका लागि प्रयोग हुने सामग्रीसहित मासु पसल नै सञ्चालनमा ल्याएका थिए । जिल्ला संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा मासु व्यवसायी रिजवानले प्रहरी नभएको भरपुर फाइदा उठाउँदै प्रहरी बिटको दुरुपयोग गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतमले जानकारी दिए । प्रहरीले बिटमै मासु पसल सञ्चालन गर्ने कुरैसीलाई पक्राउ गरेर कारवाही अघि बढाएको छ । प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले प्रहरी बिट भए पनि प्रयोगविहीन अवस्थामा रहेको दाबी गरेका छन् । त्यस्तै,राप्तीसोनारी गाउँपालिका–५ का स्थानीयवासीले शान्ति सुरक्षाको माग गरेपछि अलिनगरमा अस्थायी प्रहरी पोष्ट तयार भयो । घर, शौचालय र भान्सा तयार भयो । स्थानीयको श्रमदान र रु पाँच लाखको लागतमा प्रहरीलाई आवश्यक पर्ने पूर्वाधार तयार गरेको एक महिना बितिसक्दा पनि प्रहरी भने त्यहाँ पुग्न सकेको छैन । “अस्थायी प्रहरी पोष्ट तयार हुँदासमेत प्रहरी आउने सुरसार छैन”, स्थानीयवासीसमेत रहेका वडा नं ५ का वडाध्यक्ष झगरु थारूले भने, “जिल्लामा एसपीसँग सुरक्षाकर्मी पठाइदिन धेरै पटक आग्रह गरिसक्र्यौ उनले छिट्टै पठाउँदैछौँ भन्छन्, तर अहिलेसम्म पठाएका छैनन् ।” जनशक्ति कम भएका कारण तत्काल पठाउन नसकिएको र त्यसका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाएको बताउँदै बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले पठाउने प्रक्रियामै रहेको जानकारी दिएका छन् । त्यस्तै, राप्तीसोनारी–४ धामपुरमा रहेको प्रहरीलाई निकै लामो दूरी पर्ने, जङ्गल क्षेत्र र घटना बढ्दै गएकाले तत्काल प्रहरी पोष्टमा प्रहरी पठाउनुपर्ने माग स्थानीयवासीको छ । प्रहरी पोष्ट तयार भइसक्दा पनि प्रहरी नआएको भन्दै स्थानीयवासी कैलाश थारूले भने, “हामीले निकै पहिलेदेखि पहल गरेका हौँ, पहिले संरचना अभाव देखाइयो, त्यो पनि तयार गरिसकेपछि तत्काल प्रहरी आएर बस्नुपर्छ ।” रासस
कुमारी जब र क्याम्पियन कलेजबीच सहकार्य
काठमाडौं । कुमारी जब र क्याम्पियन कलेजबीच सहकार्य भएको छ । विद्यार्थीको क्षमता बढाउने उद्देश्यले करियर वर्कशप र प्लेसमेण्ड डे सेसन्बीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र क्याम्पियन कलेजकी प्रमुख मनीता ओलीले आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् । असार ११ गते सुरु हुने करियर वर्कशप ५ दिनसम्म चल्नेछ । आधुनिक हिसावले कोर्स डिजाइन पारिएकाले उक्त कार्यशालामार्फत थुप्रै विद्यार्थीले फाइदा उठाउनेमा आफु ढुक्क रहेको प्रबन्ध निर्देशक सन्देश भण्डारीले बताए । प्लेसमेण्ड डे सेसन् अन्र्तगत कार्यशाला सहभागी भएका विद्यार्थीहरुले रोजगारको समेत मौका पाउन सक्नेछन् । प्रतिष्ठित १० कम्पनीको प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थिती रहनेछ । कार्यशाला सकिए लगत्तै प्लेसमेण्ड डे अन्र्तगत उपस्थिती जनाउने सो कम्पनीहरुमा वित्तिय संघसंस्था, गैरसरकारी संस्था लगायत रहेका छन् । सो कार्यशालामा क्याम्पियन कलेजमा बिबिए तथा बिबिएस्मा अध्ययनर्त सयौं विद्यार्थी सहभागी हुनेछन् ।
सदरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार
काठमाडौं । कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भरमा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले आ–आफ्नो घरमा कार्यालय सञ्चालन गरेर बजेट सक्दै र घरभाडा बुझ्दै आएका छन् । गाउँमा काम परेपछि मात्र गएर छिटोछिटो काम सकेर सदरमुकामको छिटो आउने भन्ने होडबाजी नै चल्ने गरेको छ । गाउँमा रहेको कार्यायलमा भाडा मात्र भुक्तानी हुँदै आएको छ । गाउँगाउँमा सिंहदरबार आए पनि विकास निर्माणको कार्यशैली भने परम्परागत नै हुँदै आएकामा स्थानीयवासी दिक्क छन् । कुशे गाउँपालिकामा हुने अधिकांश कार्यक्रम सदरमुकाममा गरेर कागजमा मात्र कुशेगाउँपालिकामा गरेको देखाउने चलन अत्याधिक छ । वर्षभरि गर्नुपर्ने काम असार लागेपछि मात्रै हतारोमा गर्नुपर्ने प्रवृत्तिले स्थानीय सरकारको गति पनि उही पुरानै रहेको स्थानीयवासीको तर्क छ । सानो काम परे पनि हजारौँ खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता अझै कायम हुँदा सर्वसाधारण हैरान छन् । जाजरकोटमा सङ्घीय सरकारले पठाएको बजेट जेठ मसान्तसम्म पूँजीगततर्फ साढे नौ प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै प्रदेश सरकारमार्फत आएको विकास बजेट २१ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटले जनाएको छ । काम गर्ने शैलीमा परिवर्तन नल्याउँदा परम्परादेखि चल्दै आएको असारे विकास यसपटक पनि दोहोरिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताएका छन् । अन्तिम महिनामा सिङ्गो बजेट कसरी सिध्याउने भन्नेमा स्थानीय सरकार अलमलमा छन् । अन्य स्थानीय तह आ–आफ्नै पालिकामा गएर सेवा दिए पनि कुशेगाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिकाले भने सदरमुकामबाट सेवा दिँदै आएका छन् । जुनीचाँदेको केन्द्र विवाद, कुशे र बारेकोटमा सुरक्षा अभावमा बैंक नहुँदा सदमुकामबाटै सेवा दिनुपरेको गाउँपालिकाले जनाएको छ । यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाद्वारा जाजरकोट कुशे गाउँपालिकाका कृषकलाई विभिन्न कृषिजन्य उपकरण वितरण गरिएको छ । करिब रु २० लाख बराबरको विभिन्न सामग्री वितरण गरिएको परियोजनाका प्रमुख टङ्कप्रसाद रिजालले बताए । उनका अनुसार पावर टिलर ट्र्याक्टर दुई , खाल्डो खन्ने मेसिन दुई, पावर स्प्रेयर दुई, सिँचाइ स्प्रिङकलर १००, फुड स्प्रेयर ४०, सिगेचर २००, आरी १६०, भ¥याङ सिँढी ६०, कैची २००, थर्ममिटर दुई, जुसर मेसिन दुई र तसला १०० वितरण गरिएको छ । किसानले खेतबारीमा काम गर्नका लागि सजिलो होस् भनेर सो सामग्री वितरण गरिएको उनले बताएका छन् । रासस
६० जना विरुद्ध बैंकिङ कसुर र ठगीमा २१ करोडभन्दा बढीको मुद्दा
काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा उक्त रकम बराबरको मुद्दा दायर गरेको हो । जसमा ६० जना विरुद्ध मुद्दा दायर भएको छ । महाशाखाका अनुसार साउनमा चार, भदौमा सात, असोजमा सात, कात्तिकमा चार, मङ्सिरमा चार, पुसमा दुई, माघमा दश, फागुनमा तीन, चैतमा सात, वैशाखमा तीन र जेठमा नौविरुद्ध मुद्दा दायर गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बैंकिङ क्षेत्रमा रकम लिएर भाग्ने तथा विभिन्न व्यक्तिलाई ठगी गर्नेविरुद्ध महाशाखाले मुद्दा दायर गरेको जानकारी दिएका छन् । महाशाखाले बैंकिङ कसुर र ठगीमा विशेष खालका मुद्दा हेर्दै आएको छ । यसैगरी, महाशाखाले चालू आर्थिक वर्षमा रु १७ करोड ६० लाख ६१ हजार ७५ बराबरको मिलापत्र गराएको छ । बैंकिङ कसुरमा फरार तथा ठगी गरेर फरार व्यक्तिलाई पक्राउ गरी उक्त रकम बराबरको मिलापत्र गराएको हो । जसमा १११ रहेका छन् । मिलापत्र गर्नैहरु साउनमा छ, भदौमा १३, असोजमा १८, कात्तिकमा आठ, मङ्सिरमा नौ, पुसमा ११, माघमा १६, फागुनमा दुई, चैतमा आठ, वैशाखमा आठ र जेठमा १२ रहेका छन् । रासस