विकासन्युज

शिवको महिना साउनः कुन सोमबार के चढाउँदा के फल पाइन्छ ?

काठमाडौँ । साउन महिनामा हरेक सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवम् बार मानिन्छ । यो दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यस वर्ष साउनमा ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलो सोमबार शिवालयमा एक मुठ्ठी चामल दान गरे दरिद्रता अन्त्य हुने विश्वास छ । दोस्रो सोमबार एक मुठ्ठी जौ, तेस्रो सोमबार एक मुठ्ठी मुगीको दाल र चौथो सोमबार एक मुठ्ठी सातु चढाउदा मनोकांक्षा पूरा हुने धार्मिक विश्सास छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । छोरी मान्छेले गरेको धर्म, छोरा मान्छेले गरेको कर्म र भगवानको मर्मले सफलता चुम्म सकिने नेपाली समाजको विश्वास छ । साउन महिनालाई हरियो महिना भनिन्छ । प्रकृतिमा पनि हरियाली छाएको हुन्छ । साउनमा महिलाहरु हरियो सारी, हरियो चुरा र हरियो धागोमा सजिएर हिड्न मन पराउँछन् । साउनबाटै हिन्दुहरुको चाडपर्वहरु नागपञ्चमी, हरितालिका, ऋषि पञ्चमी, जनैपूर्णिमा लगायत पर्वहरुको पनि शुरुवात हुन्छ ।

काठमाडौं र पोखरामा ग्लोबल रिचको एजुकेसन फेयर सम्पन्न, चितवन र बुटवलमा हुँदै

काठमाडौं। ग्लोबल रिच नेपालको गत शनिबार अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न भएकाे छ। फेयरमा नौसयभन्दा बढि विद्यार्थी सहभागी भएकाे ग्लोबल रिचले जानकारी दिएको छ। बिहान १० बजेबाट ५ बजेसम्म सञ्चालित मेलामा अपेक्षाभन्दा राम्रो संख्यामा विद्यार्थीहरु सहभागी भएको ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजले बताए । मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं केलेजहरु सहभागी थिए । अष्ट्रेलियाका यति धेरै शैक्षिक संख्याहरु सहभागी गराई मेला गर्ने ग्लोबल रिच एक मात्रै संस्था हो । सन् २०१२ देखि नै यसरी मेला गर्दै आएको यस संस्थाले आइतबार पोखरामा सम्पन्न गराइ सोमबार चितवनमा र मंगलबार बुटवलमा पनि मेला गर्दैछ । चितवनको भरतपुर गार्डेन रिसोर्टमा र बुटवलस्थित ग्लोबल रिचको कार्यालय ९राजमार्ग चौराहा, प्रधान हाइट, पहिलो तल्ला०मा मेला आयोजना हुनेछ । मेलामा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी आफूले पढ्न चाहेको विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति जस्ता कुराहरुमा परामर्श लिएको भन्दै बजाजले विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र कुरा बुझ्नसक्ने भएकाले पनि यो मेलाको विशेष महत्व रहेको बताए । साथै, पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक कर्जा लिने प्रक्रियाको जानकारीका लागि एनएमबि बैंक, नबिल बैंक, एसबिआई बैंक, सिद्धार्थ बैंक र माछापुछ्रे बैंकका स्टलहरु रहेका थिए । जो विद्यार्थीहरुले तयारीका साथ डकुमेन्ट लिएर अाएका थिए, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाएकाले पनि यस मेलाबाट विद्यार्थीले लाभ लिएको बजाजले बताए ।

गण्डकी प्रदेशले भित्र्यायाे तीन लाख विदेशी पर्यटक, धेरै भारतबाट

चिप्लेढुंगा । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर आएको हो । यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारीक तथ्याङ्क कहीँ कतै थिएन । नेपाल आएका झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भन्ने पर्यटनसम्बद्ध व्यक्ति एवं संस्थाहरुले अनुमान लगाउँदै आएका थिए । प्रदेश सरकार गठनसँगै अघिल्लो आर्थिक वर्ष २०७४/ ७५ बाट तथ्याङ्क सङ्कलनको प्रक्रिया थालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शिव परियारले जानकारी दिए । तथ्याङ्कअनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५ सय ७५ पर्यटक आएका छन् । सबैभन्दा कम असार महिनामा १२ हजार ६ सय २ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ । गण्डकी प्रदेशमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आएका छन् । गत साउनदेखि असारसम्मको तथ्याङकअनुसार हवाईमार्ग र स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या एक लाख २० हजार ९ सय ३८ रहेको सुचना अधिकृत परियारले जानकारी दिएका छन् । त्यसैगरी, एक लाख ७८ हजार ३७ पर्यटक अन्य मुलुकबाट आएको तथ्याङ्क रहेको छ । स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गको आँबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले राख्दै आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको पोखरा विमानस्थलबाट तथ्याङ्क संकलन गरिएको हो । गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन । रासस

ट्राफिक प्रहरीले उठायाे नाै हजार सवारीसाधन कारबाहीबाट ५७ लाख राजश्व

बागलुङ । गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लोको तुलनामा आव ०७५/०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४/०७५ मा जम्मा सात हजार ८२४ सवारीसाधन कारवाहीमा परेका थिए । यसरी, नियमविपरीत चलेका ६४१ ट्रक, ६१८ बस, जीप चार हजार ४८०, ट्र्याक्टर एक हजार १२, मोटरसाइकल दुई हजार ६५४ र अन्य ४० गरी नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका हुन् । कागजात नभएका, बढी भार बोक्ने, तीव्र गतिमा हाँक्ने, मापसे सेवनजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्ने गरिएको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले बताएका छन् । उनका अनुसार पछिल्लो समय दुर्घटना हुने क्रम पनि बढ्दो छ । विशेष गरी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेका छन् । गएको आवमा २५ सवारी दुर्घटनामा परेको प्रहरीको आँकडाले देखाएको छ । दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएको र २९ जना घाइते भएका छन् । बढ्दो शहरीकरणसँगै सवारीसाधनको चापले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण बन्दै गइरहेको छ । यसैबीच, प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आइतबार जिल्लाका सरोकार भएका पक्षबीच सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा अन्तरक्रिया गरेको छ । ट्राफिक नियम पालनामा सबै पक्षबाट सहयोग र समन्वयको प्रतिबद्धता आएको छ । रासस

अल्पायुमै साहित्यकार अप्सराको निधन

हेटौंडा । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर कविता र कथा प्रकाशित गरेकी तिम्सिनाको ‘नदी किनाराका आभास’ कविता सङ्ग्रह र ‘अभ्यन्तर’ कथा सङग्रह प्रकाशित छन् । उनी आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष थिए उनको निधनले मकवानपुरको साहित्य क्षेत्रमा ठूलो क्षति भएको साहित्यकारले बताएका छन् । “लामो समयदेखि साहित्य क्षेत्रमा लाग्नुभएकी तिम्सिनाले साहित्य क्षेत्रमा दुई वटा गहकिला पुस्तक र सयौँ कथा कविता छोडेर अल्पायुमा बिदा हुनुभयो”, सहकर्मी साहित्यकार भावना तिम्सिनाले भने । उनको निधन पत्याउनै नसकिने दुखद् घटना भएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । उनको आजै गोरक्षेश्वर घाट हेटौँडामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस

नेपाल राष्ट्र बैंकले सोमबार १० कराेडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १० कराेड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरिदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

होमस्टेमा पर्यटकको आकर्षण, सामुदायिक होमस्टेमा थपिंदैछ ७ नयाँ घर

भीमदत्तनगर । रानाथारु समुदायद्वारा सञ्चालित ‘रानाथारु सामुदायिक होमस्टे’ आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीका रानाथारु समुदायले चलाएको उक्त होमस्टे (घरबास) २०७२ सालमा स्थापना गरिएको हो । तीन वर्षमा छ हजार ६०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले उक्त होमस्टेको भ्रमण गरिसकेका छन् । सुदूरपश्चिम प्रदेशकै प्रख्यात पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र महाकाली नदीमा बनेको एशियाकै लामो झोलुङ्गे पुलको बीच भागमा रानाथारु होमस्टे सञ्चालनमा छ । गत आर्थिक वर्षमा मात्रै दुई हजारभन्दा बढी पर्यटकले होमस्टेको अवलोकन गरेको सो होमस्टेका सचिव चेतराम रानाले जानकारी दिए । “पर्यटकहरु यहाँ बास बसेर यस वरपरको पर्यटकीय क्षेत्र अवलोकन गरी भारतीय शहर घुम्न जाने गरेका छन्”, उनले भने । बाह्यभन्दा आन्तरिक पर्यटक समूहमा धेरै आउने गरेको उनी बताउँछन् । तीन वर्षको अवधिमा होमस्टेमा रु २९ लाख ५१ हजारको कारोवार भएको छ । यहाँ आउने पर्यटक भारतको नैनीताल, अल्मोडा, देहरादुन, मन्सुरी, चण्डीगढ, सिमलालगायत पर्यटकीय शहर घुम्न जाने गरेका छन् । “यहाँ बास बसेर भारततर्फ घुम्न जाने गरेका छन्”, सचिव रानाले भने । कैलालीको भादा, बर्दियाको डल्ला, चितवनलगायत देशका अन्य क्षेत्रमा थारुचौधरीलगायत जातिले आफ्नो समुदायमा होमस्टे सञ्चालनमा ल्याएका छन् । कैलाली र कञ्चनपुरमा रानाथारु समुदायले होमस्टे सञ्चालन गरेको यहीँ मात्र हो । “कला संस्कृतिको संरक्षण एवं पर्यटन प्रवद्र्धनका लागि होमस्टे शुरु गरेका हौँ ”, रानाले भने । विभिन्न दातृ निकायको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुरमा चौधरी समुदायले होमस्टे सञ्चालन गरे पनि फष्टाउन सकेको छैन । शुक्लाफाँटा निकुञ्जसित जोडिएको राना होमस्टेमा गत वैशाख यता पर्यटकलाई राख्न नसकिएको सचिव रानाको भनाइ छ । “सात घर नयाँ बनाउँदैछौँ”, उनले भने, “असोजदेखि सञ्चालनमा ल्याउँछौँ ।” होमस्टेमा आउने जोकोही पाहुनाले थारु समुदायको पहिरनसहितको परम्परागत नाच अवलोकन गर्न पाउनुका साथै विभिन्न थारु परिकार खान पाउने छन् । तराई भू–परिधी कार्यक्रम(ताल) को प्राविधिक तथा अन्य सहयोगमा शुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिले आवश्यक सहयोग गर्दै आएको छ । होमस्टेमा आउने जोकोही पाहुनाले थारु समुदायको पहिरनसहितको परम्परागत नाच अवलोकन गर्न पाउनुका साथै विभिन्न थारु परिकार खान पाउने छन् । “पाहुनाको स्वागत गर्न होली नाँच, राजनी नाँचलगायत परम्परागत नाँच प्रस्तुत गछौँ”, उनले भने, “तितौला, सिमही, मिसौला, पपरा, कत्तरालगायत परिकार खुवाउँछौँ ।” पर्यटक सूचना केन्द्र कार्यालय सहायकका भरमा सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गड्डाचौकी भारतसित जोडिएको छ । नेपाल भित्रिने बाह्य पर्यटकलाई यहाँको बारेमा जानकारी दिने उद्देश्यले २०६१ सालमा गड्डाचौकीमा नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो । पाँच वर्षदेखि उक्त कार्यालय सहायकका भरमा सञ्चालनमा छ । यहाँ थानेश्वर लेखक कार्यालयक सहायकका रुपमा काम गर्दै आएका छन् । “पर्यटन भ्रमण वर्षको चर्चा चुलिँदा पर्यटकलाई विभिन्न गन्तव्यका बारेमा सूचना दिने कार्यालय रित्तो छ, आवश्यक कर्मचारी नहुँदा अनेकन समस्या आउने गरेका छन्”, कार्यालय सहायक लेखकले पीडा सुनाए, “केन्द्रलाई कार्यालयमा हाकिम चाहियो, कर्मचारी अभाव छ भनेर पटक–पटक ताकेता गर्दै आए पनि सुनुवाइ भएको छैन ।” यहाँ पाँच वर्षदेखि कार्यालय प्रमुखविहीन छ । प्रमुख नहुँदा कार्यालयको नियमित कामकारवाही प्रभावित बनेको उनले बताए । “मैलै सक्दो प्रचारप्रसार गरकै छु, एक्लैले पर्यटकलाई सूचना दिन निकै गाह्रो छ”, लेखकले भने । यहाँ बास बसेर यस वरपरको पर्यटकीय क्षेत्र अवलोकन गरी भारतीय शहर घुम्न जाने गरेका छन् । गड्डाचौकीस्थित अध्यागमन कार्यालयले दिएको जानकारी अनुसार सन् २०१८ मा यहाँबाट दुई हजार ९३० बाह्य पर्यटक नेपाल भित्रिएका थिए । दुई हजार २२२ बाह्य पर्यटक बाहिरिएको तथ्याङ्क छ । यहाँ भ्रमणमा आउनेमा अमेरिका, फ्रान्स, जर्मन, बेलायतलगायत देशका नागरिक रहेका छन् । अध्यागमन कार्यालयका निमित्त प्रमुख पदमराज भट्टले सन् २०१९ को जुलाइसम्ममा एक हजार पाँच सय ९८ बाह्य पर्यटक गड्डाचौकी भएर भित्रिएका छन् भने एक हजार दुई सय ८५ पर्यटक बाहिरिएका छन् । “यहाँ आउने बाह्य पर्यटक काठमाडौंँ, पोखरा र बर्दिया बढी घुम्न जाने गरेका छन्”, उनले भने । रासस

कक्षा १२ को परीक्षाफल आज, चार लाख ३५ हजार विधार्थी प्रतिक्षामा

काठमाडौँ । कक्षा १२ को परीक्षाफल आज साँझसम्म प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज प्रकाशन हुने जनाएको छ । बोर्डले साँझ ५ बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले बताए । नतिजा प्रकाशनका लागि आजै बोर्ड बैठक बोलाइएको छ । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।