इन्जिनियरिंगका विद्यार्थीद्धारा विभिन्न प्रविधिको विकास
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीले विभिन्न नयाँ प्रविधिको विकास गरेका छन् । कलेजमा इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू बिनिता भट्टराई, संदिपराज घिमिरे र रेजिना विष्ट सम्मिलित समूहले आवाजबाटै घरायसी विद्युतीय उपकरणहरू अन अफ गर्न सकिने प्रविधिको विकास गरेका थिए । आई.ओ.टी. बेष्ड होम अटोेमेशन नाम दिईएको सो प्रविधिको प्रयोगले मोवाइल फोनबाट गुगल असिष्टेन्टको सहायतामा विद्युतीय उपकरणहरू जस्तै बल्व, फ्यान टाढैबाट अन अफ गर्न सकिने जनाइएको छ । यसरी, इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत अर्का विद्यार्थीहरू सरोज चौधरी, हिमाल दाहाल, निश्चल राई तथा चन्द्र प्रकाश रावल सम्मिलित समूहले आफ्नो परिधिभित्र आएका बस्तुहरुको वास्तविक स्थान, कोण र सापेक्षिक आकारको जानकारी दिन सक्ने प्रविधिको विकाश गरेका छन् । सोलार मनिटरिङ्ग सिस्टम नामक उक्त प्रविधिको प्रयोगले सुरक्षाको चुनौतिलाई हल गर्न मद्दत गर्दछ । यसैगरी, कलेजमै अध्ययनरत विद्यार्थीहरू आशिष यादव, अनिल तिरुवा, सिदार्थ यादव र वाहिद मियाँहरूले ठूलाठूला कारखानाहरूमा सामान ओसारपोसार तथा अस्पतालको सरसफाईको कार्य गर्न सक्ने लाईन फलोइङ रोवोट बनाएका थिए । यस्तै इलेक्ट्रोनिक्स दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरू अनिलकुमार यादव, आनन्द कुमार यादव र बलराम रायले लर्न ‘ए टु जेड’ नामक कम्प्युटर सफ्टवेर बनाएका थिए । यसद्वारा बच्चाहरूले सजिलै श्रव्य तथा दृष्यका माध्यमबाट अंग्रजी बर्ण तथा शब्दहरू सिक्न सक्दछन् । उक्त कार्यक्रम चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र तथा कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपकप्रसाद भट्टराईबाट संयुक्त रूपमा गरिएको थियो । कलेजमा विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेको ज्ञान प्रदर्शनीको रुपमा प्रोजेक्ट इक्जिविशनको रुपमा कार्यक्रम गरेको कलेजका कार्यबाहक प्राचार्य दीपक धामीले बताएका हुन् । २०१४ देखि वर्ष विराएर यस्तो कार्यक्रम गर्दै आएको नेपाल इन्जिनियरिंग कलेज इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका प्रोजेक्ट म्यानेजर एवं एक्जिविशन कोअर्डिनेटर सचिन श्रेष्ठले जनाएका छन् ।
असारको अन्तिम साताकाे बाढीले ३ अर्ब ५९ करोडभन्दा बढी क्षति
काठमाडौं । गत असारको अन्तिम सातामा परेको अविरल वर्षातको कारण बाढीपहिरो जाँदा ३ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । असार २६ गतेदेखि सुरु भएको वर्षातकाे कारणा बाढी जाँदा प्रदेश नं.दुईमा पुन रूपमा क्षति पुर्याएकाे छ । पशुपन्क्षी तर्फ करिब १ अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने १ अर्ब ९७ करोड बराबरको कृषि बालीमा क्षति भएको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ । बालीहरुमा चैते धान, वर्षे धान, धानको ब्याड, मकै, तरकारी र केराको नष्ट भयो, भने पशुपन्क्षीमा भैंसी, गाई, हाँस, कुखुरा, बाख्रा, माछा आदीको क्षति भएको हो । करिब ७७ हजार ३४ हेक्टर क्षेत्रफल बाली नष्ट भएको छ । ८९ हजार २ सय ८९ वटा पशुपन्छीहरुको मृत्यु भएको छ, भने गोठ, माछा पोखरी २२ सय ३० वटा क्षति भएको कृषि मन्त्रालयले जानकारी दिएको छ । हालसम्म बाढी र डुवानमा परि ९० जनाको मानिसकाे मृत्यु भएकाे छ । बाढीले गर्याे यी जिल्लामा यस प्रकारकाे क्षति ः
ग्लोबल आइएमईले ३ दिन मै घर कर्जा दिने, ब्याज दर ९.९९ प्रतिशत
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशतब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्रकर्जा प्रवाहगरिने बैंकले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने,खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउने छन् । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।
इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गर्दै सिटिजन्स बैंक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ “ एक्सप्रेस बैंकिङ” नामक इन्टरनेट बैकिङ्ग सेवा शुभारम्भ गरेको हो । यस नयाँ इन्टरनेट बैकिङ्ग मार्फत स्टेटमेण्ट हेर्न, बैंक भित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिन्छ । यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरुले घरमै वसिबसि विभिन्न सुविधाहरु उपभोग गर्न सक्नेछन् । अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । यस बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरिे बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। उक्त बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको हो । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं-ओशाका ३७ हजारमै यात्रा, एग्रेसिभ मार्केटिङ गर्दै नेपाल वायु सेवा निगम
काठमाडौं । नेपाल वायु सेवा निगमले आगामी भदौ १२ गतेदेखि काठमाडौंबाट ओशाका उडान गर्ने पक्का भएको छ । निगमले अगष्ट २९ तारिखदेखि सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्न लागेको हो । राती २.३० बजे हुने उक्त उडानमा अहिलेसम्म करिब २० सीटजति बुकिङ भइसकेको नेपाल वायु सेवा निगमका सह प्रवक्ता नवराज कोइरालाले बताए । ‘यो उडान केही महिना अगाडी नै हुने थियो,’ उनले भने ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका कारण सेप्टेम्बर १ देखि उडान क्षमता घटाउँदा ढिला काठमाडौंबाट जापान उडान ढिला भएको हो ।’ अहिले स्तरोन्नतिले असर नगर्ने भएपछि हामीले उडानको नियमित तालिका बनाएका हौं,’ उनले थपे २७४ सिटे एयर बस ए–३३० ले नियमति उडान भर्न थाल्नेछ ।’ एयरबसको दुईतर्फी टिकटको भाडा भने ७३ हजार रुपैयाँ लाग्ने छ । निगमले सोमबारदेखि प्रवद्र्धनात्मक हिसावले मार्केटिङ गर्न थालेको छ । ‘एयर बसलाई सातामा दुई पटक चाटण्र्ड गर्ने भनेर पनि अवसर आइरहेको छ,’ उनले भने ‘हामीले एयर बसको राम्रो प्रतिक्रिया पाएका छौं ।’
सोमबार शिवालयहरुमा भक्तजनको घुईँचो, सेल्फि मोह(फोटो फिचर)
काठमाडौ । साउन महिनाको दोस्रो सोमबार पशुपतिमा भगवान शिवको पूजाआजा गर्ने देखी सेल्फी खिच्ने भक्तजनहरुको बाक्लो उपस्थिति देखियो । हरिया, पहेला कपडामा सजिएका महिला भक्तजन तथा दाह्री पालेका पुरुष भक्तजन सोमबार शिवालयमा पूजा गर्न मात्र नभई सेल्फि खिच्न धाउने गर्छन् । हिन्दुधर्म अनुसार सोमबार भगवान शिवको बार रहेको मानिन्छ । सोही कारण सोमबार शिवजीको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास समेत रहँदै आएको छ । सोमबार बिहानै देखी पशुपति मन्दिरमा भक्तजनहरुको चहलपहल देखियो । पशुपति मात्र नभई अन्य मन्दिरमा समेत साउनको सोमबार भक्तजनको घुईँचो लाग्यो । पछिल्लो समय सबैको हातहातमा स्मार्ट मोबाइल फोन हुनुले सेल्फी हान्नेहरु समेत प्रशस्तै देखिन्छन् । अन्य बेलामा कार्यालय र गृहस्थी जीवनमा समय बिताउँदै आएका भक्तजनहरु सोमबार बिहानैदेखी शिवालयमा पुग्छन्, पूजा गर्छन अनि एक सेल्फि लिइहाल्छन् । यसरी मन्दिरमा दर्शन गर्नेहरु मात्र नभएर सेल्फि प्रतिको मोह समेत भक्तजनहरुले झल्काएका छन् । केही भक्तजनहरु ब्रत बसी मन्दिर छिर्ने लाईनमा नै सेल्फि हानेको भेटियो । यस्तै, कोही पूजा गर्दै गर्दा, कसैले पूजा सक्किएपछि, कसैले सामूहिक तथा कसैले एकल सेल्फि हाल्ने गरेका छन् । मन्दिरमा दर्शन गर्ने भक्तजनहरुमा मात्र नभएर घुमघाम गर्न जाने भक्तजनहरुले समेत सेल्फि मात्र हानेर भएपनि फर्किने गरेका छन् ।
प्रभु बैंकको एकैदिन दुई नयाँ शाखा डिमुवा र बिरेठाँटीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा सञ्जाल बढाउने क्रममा एकैदिन दुई शाखाको विस्तार गरेको छ । बैंकले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा बिरेठाँटी शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त कार्यालयहरुमध्ये डिमुवा शाखा कार्यालयको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र बिरेठाँटी शाखा कार्यालयको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चापागाइँले छुट्टाछुट्टै रुपमा आयोजित उद्घाटन समारोहका बिच शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यसरी, प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । आजदेखि सञ्चालनमा आएको बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।
नेपाल भ्रमण वर्षको प्रचार गर्न अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन हुँदै
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अन्तराष्ट्रिय बोम्बो (झाँक्री) सम्मेलन हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल तामाङ बोम्बो संरक्षण समाजले पुस १४ र १५ गते सम्मेलन गर्ने जनाएको हो । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने राखेको लक्ष्यलाई सहयोग गर्न र नेपालको कला संस्कृतिलाई विश्वमा चिनाउन सम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ । सम्मेलनमा करिब एक हजार बोम्बोहरुको सहभागिता गराउने बोम्बो संरक्षण समाजले लक्ष्य राखेको छ । सम्मेलनमा जर्मनी, इटाली, भुटान, भारत र चीनबाट पनि बोम्बोहरु आउने बताइएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजका महासचिव विष्णुबहादुर तामाङले राष्ट्रको कला, संस्कार, संस्कृति र साहित्यलाई विश्वमा चिनाउने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको बताए । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष महाराज भोम्जनले नेपालमा बोम्बो(झाँक्री) भनेपछि नकारात्मक र कुरिती कुसंस्कारमात्र सोच्ने भएका कारण त्यो मानसिकता आम मानिसहरुबाट हटाउन, संसारका बोम्बोहरुलाई एकता गर्न र लुकेर रहेका बोम्बोहरुलाई सक्रिय बनाउन सम्मेलन गर्न थालिएको बताए । उनले सम्मेलनका लागि ३५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले बताए । यस्तै, बोम्बो संरक्षण समितिले आयोजना गर्ने सम्मेलनमा ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान)को पनि समन्वय हुने बताइएको छ । टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदीले सबै जिल्लाका बोम्बोहरुसँग समन्वय गरी कार्यक्रम आयोजना गर्न जरुरी रहेको बताउँदै पर्यटक बढाउने काममा टानले सक्दो सहयोग गर्ने बताए । पत्रकार सम्मेलनमा बोम्बोहरु विभिन्न शैलीको पोशाकको भेषमा उपस्थित भएका थिए ।