विकासन्युज

१३ लाख चोरी गरी १ लाखको मोबाइल, प्रहरी फन्दामा सुरज कामत

विराटनगर । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रहेको आरोपमा मोरङको कटहरी गाउँपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई पक्राउ गरिएको हो । पक्राउ परेका कामतको साथबाट नगद रु तीन लाख ८१ हजार र चोरीको रकमबाट खरिद गरिएको रु एक लाख पाँच हजार पर्ने एक थान सामसुङ मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउँजले बताउनुभयो । कामतले यही साउन ७ गते उक्त रकम चोरी फरार रहेका थिए ।

घुससहित नायब सुब्बा र लेखनदास पक्राउ

लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा सोमबार मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीबाट खटिएको टोलीले छड्के जाँच गर्दा घुससहित मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी व्यवसाय गर्ने राजवंशी चौधरीलाई पक्राउ गरेको हो । मोहीको लागत पट्टावापत सेवाग्राहीबाट रु पाँच हजार रकम लेखनदास चौधरीमार्फत नासु ठाकुरले लिएकाले घुससहित दुबैलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

एनआईसी एशियाले दियो जेष्ठ नागरिक मिलन केन्दलाई एलईडी टिभी

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन् । एनआईसी एशिया बैंकले गरेको यो सहयोगले सो केन्द्रका वृद्घवृद्घालाई सूचना तथा मनोरञ्जनका सामग्रीमा सहज पहुँच हुने विश्वास बैंकले लिएको छ ।

पूरा भएन २८७ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, चालु आवमा के होला ?

काठमाडौँ । गत आव २०७५/७६ मा २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुन सकेन । २० वटा जलविद्युत आयोजनाहरुबाट २ सय ८७ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सरकारले सोचेअनुरुपको उपलब्धी हासिल गर्न नसकेको हो । गत आवमा १ सय ४३ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडेको छ । विद्युत विकास विभागकी सूचना अधिकारी निशा रिजालले व्यावसायिक विद्युत उत्पादन अन्तर्गत चार वटा जलविद्युत आयोजनाहरुबाट करिब ४० मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडिएको बताइन् । २२ मेगावाटको बाग्मती साना जलविद्युत आयोजना, ८.८ मेगावटको रुदी ए जलविद्युत आयोजना, ७.८ को सुपरमाई जलविद्युत आयोजना र ३.३३ मेगावाटको कापडी गाड जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रि प्रशारण लाइनमा जोडिएको छ ।  लक्ष्य अनुरुपको विद्युत उत्पादन हुन सकेन, सूचना अधिकारी रिजालले भनिन्-‘विद्युत कम हुनमा ट्रान्समिसन लाईन बनिसकेको छैन, ट्रान्समिसन लाईन नभएपछि हाइड्रोपावरको प्रोगेस पनि कम भयो, सोचे अनुरुपको लक्ष्य भेटाउन सकिएन ।’ नेपाल सरकारले चालु आवमा पनि ३३ वटा जलविद्युत आयोजनाहरु सञ्चालन गर्ने योजना बनाएको छ । जसबाट १ हजार ३६ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।  उर्जा, जलस्रोत तथा सिचार्इँ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले प्रोजेक्ट निर्माणमा गरेको पूर्वानुमान नमिलेर लक्ष्य अनुसारको विद्युत उत्पादन नभएको बताए । गत आवमा सम्पन्न भएका आयोजनाहरुमा २५ मेगावाटको शिवाखोला सानो जलविद्युत आयोजना, ३०.२ मेगावाटको तल्लो हंगुखोला साना जलविद्युत आयोजना, २१.४ मेगावाटको इन्खुखोला साना जलसविद्युत आयोजना, ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना, १५.२५ मेगावाटको जावाखोला जलविद्युत आयोजनाहरु रहेका छन् । यस्तै ४ सय ५६ मेगावाटको उपर तामाकोशी, ४० मेगावाटको खानीखोला, १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, २३.५ मेगावाटको सोलु जलविद्युत आयोजना सहित ३३ वटा जलविद्युत आयोजनाहरु यस वर्षमा निर्माण गरी सक्ने सरकारको लक्ष्य रहेको छ । तर, गत आवमा लक्ष्य पूरा गर्न नसकेको अवस्थामा चालु आवमा पनि लक्ष्य पूरा हुनेमा आशंका व्यक्त गर्न सकिन्छ । गत आव २०७५/०७६ मा सरकारले करिब १ अर्ब ४९ करोड ४१ लाख ९७ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । मानव वेचविखान तथा ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा महिला कानून र विकास मञ्च (एफडब्लुएल्डी) ले पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । अन्तर्देशीय संगठित अपराध विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि (पलेर्मो प्रोटोकल)को मानव विशेषगरी महिला तथा बालबालिकाहरूको बेचविखनलाई रोक्ने, दवाउने र सजाय गर्ने परिपूरक उपलेख दुई  कार्यान्वयनका लागि गर्नुपर्ने कार्यका बारेमा उक्त अन्तरक्रिया केन्द्रित रहेको थियो । हाल नेपाल पनि अन्तर्देशीय संगठित अपराध विरूद्धको संयुक्तराष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरिसकेकाले सदस्य राष्ट्र भएको र अब यस्ता संगठित अपराध रोकिने नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सहसचिव कौशल चन्द्र सुवेदीले बताए । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । मानव अंग वेचविखनका साथै श्रम  शोषणमा पनि अन्तर्राष्ट्रिय अपराध बढेको भन्दै यसको निराकरणका निम्ति पलेर्मो प्रोटोकल उपयोग हुने धारणा महिला कानून र विकासमञ्च कार्यकारी निर्देशक सविन श्रेष्ठले राखे । साथै उनले भने – ‘सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ । नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ, पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्‍वका १ सय ७३ मुलुकले अनुमोदन गरिसकेका छन् ।’ यसैगरी यस सम्बन्धी कानूनी प्रावधानबारे अधिवक्ता रोसना प्रधानले प्रकाश पारिन् । उनले भनिन् – ‘न्यूनतम मापदण्डको पूर्ण पालना भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्यांकन गरिएको छ ।’ महिला कानून र विकास मञ्च, युएस उड, युके एड, विनरकले सो कार्यक्रमको संयुक्त रूपमा आयोजना गरेका थिए ।

नेप्सेमा तीन अङ्कको वृद्धि, ३५ करोड ८ लाखको कारोबार

काठमाडौँ । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ । कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए । आइतबार कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा कारोबार भएको थियो । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ४.१६, जीवन बीमा १५.७९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । यस्तै होटल उपसमुहको कारोवारका बारेमा भने कुनै विवरण उल्लेख छैन । बैंकिङ २.५९, विकास बैंक ३.७८, जलविद्युत् १.४८, वित्त ५.१९, निर्जीवन बीमा १.३४, अन्य २.२ र लघुवित्त २३.४ विन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज युनाइटेड इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख ६६ हजार ४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंक रु दुई करोड २३ लाख ७९ हजार ३८७, साना किसान विकास बैंक रु दुई करोड नौ लाख तीन हजार ६३१, शिवम् सिमेन्ट रु एक करोड ८४ लाख १७ हजार ७८, कृषि विकास बैंक रु एक करोड ५२ लाख ५२ हजार ७१२ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ४१ हजार ६०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज दश प्रतिशतले कमाए । सिर्जना फाइनान्स वित्तीय संस्था ९.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९।३४, स्पर्श लघुवित्त वित्तीय संस्था ८.७३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ७.०६, गुराँस लघुवित्त वित्तीय संस्था ६।४८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.२२ प्रतिशतले कमाएका छन् । यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.८४, यूनिभर्सल पावर कम्पनी ३.२९, सिनर्जी पावर ३.२९, युनाइटेड इन्स्योरेन्स कम्पनी २.६३, र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।

अशोक लेलैण्डका गाडी किन्दा ज्योति विकास बैंकबाट ७०% सम्म कर्जा पाइने

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट डिजिएम सुशिलकुमार शर्मा र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा ज्योति विकास बैंक लिमिटेडबाट पाउने छन् । ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुबै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, ४ लाख मध्ये ३ हजारले मात्रै प्राप्त गरे उच्च तहको जीपीए

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो। बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए। प्रकाशित नतिजा अनुसार ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी १६ हजार २ सय ४, यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ३१ हजार, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७, १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९, १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार, ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना र सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो । नतिजा कसरी हेर्ने ? नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएमएस पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ । उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ।