पूर्व-पश्चिम विद्युतीय रेलमार्गः प्रभावित क्षेत्रको मुआब्जा प्रतिकठ्ठा ३ देखि ४० लाखसम्म
कााठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा निर्धारण गरी ‘साइड क्लियरेन्स’ गर्ने लक्ष्यसाथ मुआब्जा वितरण प्रक्रियालाई अगाडि बढाइएको हो । जिल्ला प्रशासन कार्यालयले जग्गाप्राप्ति ऐन, ३०३४ बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा निर्धारण गरी आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ । कूल ९४५ किलोमिटर लामो उक्त रेलमार्गमा पर्ने विभिन्न जिल्लामा यसअघि नै मुआब्जा निर्धारण भई वितरण भए पनि केही स्थानमा विवाद रहँदै आएको छ । सोही सन्दर्भमा मंगलबार जिल्ला प्रशासन कार्यालय रौतहटले बर्दिबास–निजगढ खण्डअन्तर्गत साविक संतपुर र रंगपुर गाविसमा रेलमार्गको रेखाङ्कनभित्र पर्ने जग्गाको मुआब्जा निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार विभिन्न ३२ प्रकारका जग्गाको मुआब्जा निर्धारण गरिएको छ । त्यसमा अधिकतम प्रतिकठ्ठा रु ४० लाखदेखि न्यूनतम रु तीन लाखसम्म मुआब्जा निर्धारण गरिएको छ । यही साउन १२ गते आइतबार बसेको मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गरेको हो । पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम करीब करीब अन्तिम चरणमा पुगेको छ । यस्तै सर्लाहीमा यसअघि नै मुआब्जा निर्धारण भए पनि केही स्थानमा विवाद भएकाले वितरण प्रक्रियाले गति लिएको छैन । सरकारले निर्धारण गरेको रकम र स्थानीयवासीको मागका बीचमा तालमेल हुन नसक्दा मुआब्जा वितरण हुन सकेको छैन । पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरको गड्डाचौकीसम्म निर्माण हुने उक्त विद्युतीय रेलमार्ग निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विभागका अनुसार उक्त रेलमार्गको भालुवाङ, दाउन्ने र पथलैयामा सुरुङसमेत निर्माण हुने बताइएको छ । भालुवाङ खण्डमा १२ किलोमिटर लामो सुरुङमार्ग निर्माण हुनेछ । उक्त रेलमार्गमा २०० किलोमिटर प्रतिघण्टा गतिको रेल गुडाउन सकिने अध्ययनमा देखिएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार विभिन्न आठ खण्डमा विभाजन गरेर रेलमार्गको प्राविधिक काम भइरहेको छ । उहाँले सरकारी तथा वन क्षेत्रको जग्गाबाहेक स्थानीय प्रभावितको धेरै स्थानमा मुआब्जा निर्धारण भइसकेको जानकारी आएको बताए । मुआब्जा निर्धारण गर्ने काम स्थानीय जिल्ला प्रशासन कार्यालयको भएकाले पनि सबै विवरण भने आफूहरुलाई प्राप्त भई नसकेको प्रवक्ता चित्रकारको भनाइ थियो । रासस
नेप्से परिसूचक उकालो लाग्दा कारोबार रकम भने निरन्तर ओरालो
काठमाडौँ । नेप्से परिसूचक सोमबारको तुलनामा बढेपनि कारोबार रकम भने घटेको छ । साताको दोश्रो दिन सोमबार ३.१८ अंकले बढेको नेप्से परिसूचक तेश्रो दिन मंगलबार ३.३९ अंकले बढेको छ । ०.२७ प्रतिशतले बढ्दा परिसूचक आज १२५९.३७ बिन्दुमा पुगेको छ । परिसूचक अघिल्लो दिनको तुलनामा केही बढेपनि कारोबार भनेर तेश्रो दिन २९ करोड ४३ लाख रुपैयाँको मात्रै भएको छ । सेयर बजारमा सोमबार भने ३५ करोड ८ लाख रुपैयाँ बराबरकोसेयर कारोबार भएको थियो । आइतबार भने ४९ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसरी हेर्दा कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार मंगलबार १७१ कम्पनीका १० लाख १३ हजार ७ सय ९४ कित्ता सेयर कारोबार भएको छ । आज ट्रेडिङ समूह, उत्पादनमूलक समूह, जीवन बीमा समूह र म्युचुअल फण्ड घटेका छन् भने अरु सबै समूहमा हरियाली छाएको छ । बैंकिङ समूह २.८५, होटल समूह ५.९९, विकास बैंक समूह ७.३२, जलविद्युत समूह ३.१९, वित्त समूह ०.६५, निर्जीवन बीमा समूह २२.८२, अन्य समूह १.२४, र लघुवित्त समूह १४.७२ अंकले बढेका छन् । त्यसैगरी ट्रेडिङ समूह ३.२९, उत्पादन मूलक समूह १.४, जीवन बीमा समूह ७.२१ र म्युचुअल फण्ड ०.०२ अंकले घटेका हुन् । आज युनाईटेड इस्योरेन्स कम्पनीका सेयरधनीहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने युनियन हाइड्रो पावर लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ६.४१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
अलैँचीका बिरुवा बिक्रीबाट किसानले कमाए लाखाैं रूपैयाँ
लमजुङ । लमजुङका अलैँची कृषकले सात लाख अलैँचीका बिरुवा बिक्री गरेका छन् । लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ । सो बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताएका छन् । उनका अनुसार जिल्ला बाहिरमात्रै चार लाख बिरुवा बिक्री भएको र सो बाट रु २० लाख आम्दानी भएको थियो । क्व्होलासोँथर गाउँपालिका–८ घाम्राङका कृषक ईश्वर गुरुङले छ वर्षदेखि शिवानी कृषि फार्म सञ्चालन गरी अलैँचीका बिरुवा उत्पादन गर्दै आएकामा यस वर्ष एक लाख ५० हजार बिरुवा उत्पादन भएको थियो । उत्पादित बिरुवामध्ये हालसम्म ७० हजार अलैँचीका बिरुवा बिक्री भैसकेको र यसबाट रू तीन लाख ५० हजार प्राप्त भएको उनले बताए । त्यस्तै, बेंशीशहर नगरपालिका– १० खाँचेका अलैँची कृषक सोमबहादुर तामाङको खाँचे अलैँची तथा जडीबुटी नर्सरी फार्ममा यस वर्ष एक लाख अलैँचीका बिरुवा उत्पादन भएकामा सो बिरुवामध्ये ४० हजार बिरुवा आफैँले रोपेर ६० हजार बिरुवा जिल्ला र जिल्ला बाहिरका किसानलाई बिक्री गरिएको थियो । प्रतिबिरुवा पाँचदेखि छ रुपैयाँसम्म बिक्री गर्दा रू दुई लाख ५० हजार आम्दानी भएको उनले बताए । केही वर्षअघिदेखि जिल्लाका किसानले अलैँचीखेती व्यवसाय गरेको छोटो समयमै अलैँची खेतीलाई राम्रो आम्दानीको स्रोत बनाउँदै आएका छन् । उक्त शाखाका अनुसार यस वर्ष सात लाख ५० हजार वटा अलैँची बिरुवा उत्पादन भएकामा गत वर्ष २० लाख बिरुवा उत्पादन भएको थियो । यस वर्ष उत्पादनसँगै अलैँची बिरुवाको मूल्यसमेत घटेको छ । यस वर्ष प्रतिबिरुवा पाँच रुपैयाँका दरले बिक्री भयो भने गत वर्ष १३ लाख बिरुवा प्रतिबिरुवा पाँचदेखि साँढे सात रुपैयाँका दरले विक्री गर्दा रू६५ लाखभन्दा बढी आम्दानी भएको उक्त कार्यालयले जनायो । असारदेखि भदौ महिनासम्म किसानले अलैँचीका बिरुवा रोप्ने गर्दछन् । जिल्लामा एक हजार ५६ हेक्टर जमिनमा अलैँची खेतीको राम्रो सम्भावना भए पनि ६५० हेक्टर क्षेत्रफल जमिनमा मात्रै अलैँची उत्पादन हुँदै आएको छ । रासस
हाथवे फाइनान्सको एसजीएमले पारित गर्यो ग्लोबल आईएमईसँग गाभिने प्रस्ताव
काठमाडौा । हाथवे फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा(एसजीएम)ले ग्लोबल आईएमई बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ । फाइनान्सको मंगलबार धरानमा सम्पन्न विशेष साधारण सभाले डिडिएबाट प्राप्त १००ः४२ स्वाप रेसियोलाई स्वीकृत गरेको जनाइएको छ । यसअघि नै ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्स बीच मर्जर तथा प्राप्ती सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । यसैगरि मर्जर तथा प्राप्ती गर्ने सन्दर्भमा नियमनकारी निकायहरुबाट कुनै संसोधन वा अन्य निर्देशन दिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ।
पोखरामा प्रथम कराँते च्याम्पियनसीपः भदाै १२ गते ६४ खेलाडीबीच प्रतिस्पर्धा हुने
कास्की । पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराँते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताएका छन् । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल समूहमा महासङ्घमा आबद्ध सबै सङ्घका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद रु एक लाख, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । खेलको पहिचान, खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी यस खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन प्रतियोगिता गर्न लागिएको बस्नेतले बताए । डोजो, सङ्घ, क्लब, खेलाडी तथा प्रशिक्षकको हकहित संरक्षण तथा राष्ट्रियस्तरका खेलाडी तयार गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले विसं २०६१ मा महसङ्घको गठन भएको बताइन्छ । प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने पोखरा रङ्गशालामा आगामी भदौ १३ र १४ गते दोस्रो गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता गरिने भएको छ । नेपाल क्योकुसिन कान कराँते सङ्घ कास्कीको आयोजनामा हुने प्रतियोगितामा क्योकुसिन बुदोकाइ कराँते सङ्घमा आबद्ध महिला तथा पुरुष गरेर २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ २५, ३०, ४०, ४५, ५० र ५५ केजीदेखि माथि ६० केजीमुनि तौल समूह र खुला तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४० केजी, ४५ केजी मुनि तौल समूह र खुला तौल समूहमा प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक दीपकबहादुर गोदारले बताएका हुन् । स्थानीयस्तरबाट खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने र प्रतियोगिता सञ्चालन गर्न रु पाँच लाख ५० हजार खर्च लाग्ने अनुमान आयोजकको छ । रासस
दुई विकास बैंकको बोनस सेयर सूचीकृत, कस्को कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा दुई विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार देवः विकास बैंक र पूर्णिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । देवः विकास बैंकको १३ लाख ९३ हजार ५ सय २४ कित्ता र पूर्णिमाको २ लाख ६२ हजार ५ सय १६ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
हवाई मार्ग प्रयोग गर्ने घटे, राजश्वमा पनि गिरावट
चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड विस्तारको कार्य सकिएकाले हवाई मार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्यामा कमी आएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा हवाई मार्ग प्रयोग गर्ने यात्रुहरुको सङ्ख्यामा कमी आएको हो । आव २०७४/७५ मा भरतपुर विमानस्थलबाट दुई लाख ७० हजार ६२६ जनाले यात्रा गरेकामा गत आवमा सो सङ्ख्या घटेर एक लाख ८७ हजार ८३८ जनाले मात्र हवाई यात्रा गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा ८२ हजार ७८८ यात्रु घटेका हुन् । कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार यात्रुको सङ्ख्यामा कमी आए पनि विदेशी पर्यटकहरुको सङ्ख्या भने बढेको छ । अघिल्लो आवमा १० हजार ३८५ विदेशी पर्यटकले हवाई मार्ग प्रयोग गरेकामा गत आवमा २१ हजार ३२० विदेशीले हवाई मार्ग प्रयोग गरेका थिए । यात्रु घटेसँगै राजश्वमा पनि गिरावट आएको छ । अघिल्लो आवमा रु तीन करोड छ लाख ५४ हजार राजश्व सङ्कलन गरेको विमानस्थलले गत आवमा भने रु दुई करोड २७ लाख ६९ हजार मात्रै राजश्व सङ्कलन गरेको थियो । सेवा शुल्क भने गत आवमा रु एक करोड ६९ लाख ५४ हजार मात्र सङ्कलन भएकामा अघिल्लो आवमा सोही शीर्षकमा रु दुई करोड ४५ लाख ४० हजार १६ लाख ६२ हजार सङ्कलन भएको थियो । सडक राम्रो भएसँगै हवाई मार्गको प्रयोग गर्ने यात्रुहरु सडकमार्फत यात्रा गर्न थालेकाले विमानस्थलमा यात्रुको चाप घटेको हो । कार्यालयका प्रमुख गौतमका अनुसार आव २०७४/७५ मा दैनिक २४ वटा सम्म जहाज उडान र अवतरण भएकामा गत वर्ष भने दैनिक सातदेखि आठ वटामा झरेको थियो । बुद्ध एयर र यती एयरलाइन्सले भरतपुर–काठमाडौँ उडान गर्दै आएका छन् । बुद्ध एयरले भरतपुर–पोखरा पनि उडान भर्दै आएको छ । रासस
सेयर लगानीकर्ताले धितोपत्र बोर्डमा बुझाए विरोध पत्र, आन्दोलनमा उत्रने चेतावनी
काठमाडौँ । पूँजीगत लाभकर गणनाको बिरोध गर्दै सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बिरोध पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजी बजार संघका अध्यक्ष संरक्षणा चौधरीले मंलगबार धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई बिरोध पत्र बुझाएका हुन् । लगानीकर्ताहरूलाई सेयर दलाल व्यवसायीको कार्यालयमा गएर ल्याप्चे सहितको आधार मूल्यको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागु भएको सूचना जारी सम्पूर्ण लगानीकर्ताहरूलाई आक्रोसित र उत्तेजित बनाउने काम भएकोमा यस्ता काम कारवाहीप्रति लगानीकर्ताहरुले सामुहिक रुपमा आपत्ति जनाएका हुन् । साउन ८ गते भएको सर्वपक्षीय सहमतिको सीघ्र कार्यान्वयन र ल्याप्चे आतंकको अन्त्य गर्न माग गर्दै सम्पूर्ण लगानीकर्ताहरूलाई ल्याप्चे नलगाउन र आवश्यक परेमा आन्दोलनमा सहभागिता र समर्थन गर्नु हुन अनुरोध गर्न वाध्य हुने विरोध पत्रमा उल्लेख छ ।