नेपाल बैंकको सिईओका लागि आवेदन खुला, मासिक ३ लाख तलब र आकर्षक सुबिधा
काठमाडौँ । मुलुककै जेठो बैंक, नेपाल बैंक लिमिटेडले चार महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमा खुला प्रतियोगिताद्वारा नियुक्त गर्ने भएको छ । त्यसका लागि बैंकले बुधबार पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ । मासिक पारिश्रमिक ३ लाख र कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम र अन्य सुविधा पाइने उक्त सिईओ पदमा बुधबारदेखि २१ दिन भित्र बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौँमा आवेदन दिन सकिने जनाइएको छ । ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ । आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएका दुई व्यवसायिक योजना र सा को सफ्ट कपी समेत सिलबन्दी गरी पेश गर्नु पर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये संभव भएसम्म ५ जना उम्मेदवार छनौट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट गरिने छ । र उच्चत अंक प्राप्त गर्ने संभव भएसम्म ३ जनालाई सिफारिस गरिने छ । ४ महिनादेखि प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पद खाली रहँदा पनि कसैले चासो नदेखाएपछि पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरिएको हो । उक्त बैंकमा गत चैत १२ देखि सीईओ पद खाली छ । २०७५ चैत ११ मा सीईओ देवेन्द्रप्रताप शाहको चार वर्षे कार्यावधि सकिएको हो । यी समाचारपनि पढ्नुहोस् : तीन महिनासम्म पनि नेपाल बैंकले सीईओ पाएन, छनोट कमिटी गठन गर्दै नेपाल बैंकले रत्नराज बज्राचार्य ताक्दा राष्ट्र बैंकले छेक्यो, अब के हाेला ?
जनकपुर उपमहानगरका प्रशासकीय अधिकृत सहित ६ जना विरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा विद्युतीय सामग्री खरीद गर्दा अनियमितता गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा बदमासी गरेको पाइएको आयोगले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीलगायतले सत्या इन्टरप्राइजेजसँग मिलेमतो गरी विद्युतीय सामग्रीको खरीद गरेको पाइएको छ । आयोगले उपसचिव सुवेदी, अर्का उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लालकर्ण, लेखापाल दिनेश चौधरी र नायबसुब्बा अब्दुल जव्वारले रु ११ लाख ३५ हजार ४११ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगले सत्या इन्टरप्राइजेजका सञ्चालक मनिषकुमार मिश्रविरुद्ध समेत विशेष अदालतमा समान बिगोसहित मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इञ्जिनीयर बसी अख्तर मोहम्मदविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनले सेवाग्राहीसँग रु चार लाख घुस मागेको अभियोग लागेको छ । रासस
सेल पे सेवा शुभारम्भ, यसरी गर्नुस् भुक्तानी र रकम स्थानान्तरण
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट लिमिटेडले सेल पे सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार साँझ राजधानीमा आयोजित एक समारोहका बीच उक्त सेवा शुभारम्भ गरेका हुन् । सेल पे सेवाबाट मोवाइल तथा वेब एप्लिकेशनको माध्यमबाट बिना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सेल पे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाई विकसित गरिएको कम्पनीले जनाएको छ । विभिन्न दूर सञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमाहलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बीटुबी र बीटुजी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्रालिले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सेल पे को शुरुवात गरेको हो । सेल पे सेवा कसरी प्राप्त गर्ने ? सर्वप्रथम गुगल प्ले स्टोर वा एप्पल एप स्टोर वा सेल पेको वेबसाइटमा गई सेल पे एप्स आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्नेछ । त्यसपछि एपमा भनिए अनुरुप आफूलाई दर्ता गरी आवश्यक केवाईसी जानकारीहरु भरी आफ्नो बैंक खाताहरुमा जोड्न सकिने र आफ्ना भुक्तानीहरु गर्न सकिने कम्पनीले जनाएको छ ।
बलेफी हाइड्रोले आइपीओ निष्काशन गर्ने, आइएमई क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त
काठमाडौँ । बलेफी हाईड्रोपावर लिमिटेडले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाईड्रोपावरको प्रति सेयर १०० अंकित दरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (स्थानीय बासिन्दा समेत) सर्वसाधारणहरुमा निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सेयर निष्कासन सम्बन्धी सम्झौता–पत्रमा हाईड्रोपावरका कार्यकारी अध्यक्ष उमेश कसजु र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले ३६ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । यस कम्पनीले सर्वसाधारण सेयर निष्कासनका लागि रेटिङ्ग एजेन्सिबाट आईपिओ ग्रेड ४ प्लस प्राप्त गरेको छ ।
लेखा समितिमा गभर्नर नेपालले भने-‘ऋणीको अनुमति नलिई ब्याजदर बढाए कारवाही हुन्छ’
काठमाडौँ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले कृषिका लागि सबै बैंकले लगानीको १० प्रतिशत ऋण किसानलाई दिनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताए । सांसद तेजुलाल चौधरीले कृषि कर्जाको अनुगमन हुन नसकेको बताए । कृषि विकास बैंकले किसानलाई नभई माथिल्लो तहका कर्मचारीका नातागोतालाई मात्र ऋण दिने गरेको उदाहरण उनले पेश गरे । यस्ता काम ८० प्रतिशत विचौलियामार्फत हुने गरेको तथ्याङ्क पनि सांसद चौधरीले प्रस्तुत गरे । सांसद विरोध खतिवडाले ऋण लिएको ४० दिनमै फिर्ता गर भनेर पत्र पठाउने बैंकलाई राष्ट्र बैंकले के कारवाही गरेको छ भनी प्रश्न गरे । सांसद हृदयेश त्रिपाठीले धेरै निजी बैंकका प्रमुख कार्यकारी अधिकृत कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकबाट बैंङ्किङ कसुरमा बाहिरिएका भएकाले अध्ययन गर्न माग गरे । राष्ट्र बैंकको कमजोर अनुगमनले गलत मानिसले नेतृत्व सम्हाल्दा साठगाँठमा नराम्रा काम भइरहेकामा सरकारी निकायको ध्यान जानुपर्ने उनले बताए । सांसद राजेन्द्रकुमार केसीले वाणिज्य बैंकका कर्मचारीको तलब कति हुने भन्ने के मापदण्ड छ भनी जिज्ञासा राखे । सांसद लेखराज भट्टले अर्थ मन्त्रालय र राष्ट्र बैंकले लिने नीति किसानमुखी हुनुपर्ने बताए । आठ प्रतिशतमा ऋण दिएको एक महीनापछि १४ प्रतिशत ब्याजदर पुग्यो भनी बैंकले उपभोक्ता ठगी गर्ने गरेको उनले सुनाए । सांसद अमनलाल मोदीले जनता दुब्लाउने बैंक मोटाउने भइरहेकामा अनुगमन तीव्र गरी गलत गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । सांसद प्रेम आलेले भारत यात्रामा जाँदा एटिएमबाट रु दुई हजार निकाले पनि रु २५० सेवा शुल्क काट्ने गरेकामा सुधार गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराए । बैंकले मन लागेकालाई ऋण दिने मन नलागेकालाई नदिने गरेको उनको भनार्इ थियो । सांसद मीना सुब्बाले बैंक एवम् वित्तीय संस्थालाई नियमन गरिनुपर्नेमा जोड दिए । सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिंदै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पहिले तोकिएको ब्याजदरमा ऋण लिएका ऋणीको अनुमति नलिई ब्याजदर बढाउन नपाइने नियम भएकाले बढाएको पाइएमा कारवाही हुने बताए । बैंकलाई पूँजी बढाउन अवधि तोकेर सूचना दिँदा १०/१२ भन्दा बढीले नसकेकाले मर्जर गर्ने समय दिइएको उनले बताए । अर्थ मन्त्रालयका सचिव डा राजन खनालले पनि ऋण लिइसकेपछि ब्याजदर बढाउन नपाइनेमा जोड दिए । बैठकमा सभापति भरतकुमार शाहले समितिले कुनै बैंकको अध्यक्ष सांसद भएमा स्वार्थ बाझिने भएकाले त्यसका लागि निश्चित आचार संहिता बनाइनुपर्ने बताए ।
बैरो संघका अध्यक्ष गुरुङले भने-‘हामी व्यवसाय बन्द गर्न तयार छौँ’
काठमाडौं । लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारको विषयमा श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले गोप्य रुपमा विभागलाई निर्देशन दिएको भए म्यानपावर व्यवसाय संघ बन्द गर्न तयार रहेको चेतावनी दिइएइको छ । ‘विभागमा धर्ना’ कार्यक्रमको पहिलो दिनमा म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ्गले यदि सरकारलाई वैदेशिक रोजगार व्यवसायी संघको आवश्यक नपर्ने हो भने हामी बन्द गर्न तयार छौं भने । म्यानपावर व्यवसायी संघले राज्यले निर्माण गरेको नीति तथा नियमलाई पालना गर्दै अगाडि बढेपनि सरकारले यस विषयमा चाँसो नदिएको उनले बताए । पुन श्रम स्वीकृति लिएका फाइललाई मन्त्रालयले १४, १५ महिनादेखि अल्झाएर राख्दा श्रमिकहरु मारमा परेका र यस विषयमा विभागले ठोस निर्णय लिनु पर्ने उनको भनाई छ । उक्त धर्ना कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले गत आर्थिक वर्षमा मात्र मलेसिया ४२ हजार युवा बाहिरिएको बताउँदै मलेसिया रोजगारको विषयमा छलफल भईरहेको जानकारी दिए । बैदेशिक रोजगारीले आर्थिक स्थितिमा सुधार आएको कुरा अवगत गराउँदै म्यानपावर व्यवसायी संघका उपाध्यक्ष रामप्रसाद भान्तनाले मलेसियाको रोजगार खुलाउनु पर्नेमा जोड दिए । मलेसिया हाम्रो माग हो, विभाग तथा मन्त्रालयले भनेको हामीले मान्दै आएका छौं, त्यसकारण फ्रि भिजाको नाममा १० हजारको डोको सरकारले बोक्न लगाउँदा पनि बोकिरहेका म्यानपावर व्यवसायीको गुनासो रहेको छ । सरकारले तोकेको रकम बराबरको बैंकले धरौटी दिन माने पनि मन्त्रालयले स्वीकृति नदिएकोमा प्रगतिशील वैदेशिक रोजगार मञ्चका अध्यक्ष चित्रगुप्त साहले दुःखेसो व्यक्त गरे ।
एडीबीको ट्रेड फाइनान्स प्रोग्राम तथा लक्ष्मी बैंकबीच सम्झौता
काठमाडौँ । एशियन डेभलपमेन्ट बैंक (एडीबी) को ट्रेड फाइनान्स प्रोग्राम (टीएफपी) तथा लक्ष्मी बैंक लिमिटेडबीच कर्जा तथा टे«ड सहयोग सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा हस्ताक्षरपछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले “एडीबीकोसँग साझेदारी गर्न पाउँदा लक्ष्मी बैंक गौरवान्वित भएको बताए । लक्ष्मी बैंकले साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजेक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा ग्राहकहरुले फाइदा लिन सक्ने जनाएको छ । नेपालका लागि एडीबी इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने बताए ।
विश्व हेपाटाइटिस दिवसको अवसरमा चेम्बरद्धारा रक्त परीक्षण शिविर
काठमाडौँ । विश्व हेपाटाइटिस दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्स तथा एसआरएल डाइग्नोसिस प्रालिले संयुक्त रुपमा रक्त परीक्षण कार्यक्रम शुरु गरेको छ । सहुलियत दरमा मंगलबारदेखि भएको २ दिने रक्त परीक्षणमा एचबीएसएजी, थाइराइड प्रोफाइल टेष्ट र सुगरको रक्तपरीक्षण सम्बन्धित बिज्ञ डाक्टर एवम् प्राविधिकबाट गरिएको छ । आज पहिलो दिन चेम्बरका पदाधिकारी, कर्मचारी वस्तुगत एवम् अन्य आबद्ध संघका पदाधिकारी एवम् सदस्यहरु, उद्योगी व्यवसायी एवम् सचिवालयका कर्मचारीहरु र जमल, कान्तिपथ तथा ठमेलका सर्वसाधारणको समेत थियो । बुधबार अपरान्ह १ बजेदेखि साढे ५ बजेसम्म रक्त परीक्षण कार्यक्रम रहेको छ ।