सङ्घीय सरकारविरुद्ध रिट निवेदन, ‘वन संरक्षण कम्पनी मातहातमा ल्याउन खोजियो’
काठमाडौँ । सङ्घीय सरकारले नेपालको संविधान विपरीत वन संरक्षण कम्पनी आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रदेश नं २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तर्फबाट सहायक भूसंरक्षण अधिकृत वेचनकुमार महतोले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँलाई विपक्षी बनाइ रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा राष्ट्रिय वनको संरक्षण र व्यवस्थापनको अधिकार प्रदेश सरकारको भन्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रिय वनको रूपमा रहेकोे सागरनाथ वन विकास परियोजनालाई सङ्घीय सरकारले आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख छ । निवेदनमा संविधानको मर्म र भावना विपरीत संविधानसँग बाँझिने गरी प्रदेश सरकारको मातहतमा रहने सो वन परियोजनालाई मन्त्रिपरिषद्को गत जेठ २३ गतेको बैठकले सङ्घीय मातहतमा ल्याउन गरेको निर्णयसमेत उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ । नेपालको संविधानको धारा २३२ मा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहस्तित्व र समन्वयमा आधारित हुनेछ भन्ने व्यवस्था विपरीत सङ्घीय सरकारले काम गरेको रिट निवेदनमा उल्लेख छ ।
नागरिक उड्डयन प्राधिकरणमा १४० जनालाई जागिरको अवसर, ९ देखि ४ तहसम्मका कर्मचारी माग
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा १४० जना कर्मचारी माग गरेको छ । ९ तहदेखि ४ तहसम्म रिक्त रहेका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले साउन १९ गतेदेखि २१ दिन भित्र अनलाइन फारम भर्न सक्नेछन् । विभिन्न सेवा समूहमा प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा कर्मचारी माग भएको छ । आर्थिक प्रशासन, एयरवर्दिनेश, एयर ट्राफिक सर्भिस, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, सूचना प्रविध, एभियशन फायर सर्भिसेज, फ्लाइटल अपरशन सर्भिसेज, इ.एण्ड टे. कम इञ्जिनियरिङ समूहमा कर्मचारी माग भएको हो । आवेदकले आवश्यक कागजात/प्रमाण पत्रका साथमा तह ९ का लागि ९ सय, तह ८ का लागि ८ सय, तह ७ का लागि ७ सय, तह ६ का लागि ६ सय, तह ५ का लागि ५ सय र तह ४ का लागि ४ सय रुपैयाँ दस्तुत बुझाउनु पर्नेछ ।
ग्लोबल आईएमई लघुवित्तले माग्यो ३० जना कर्मचारी
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । शाखा प्रबन्धक १५ जना र सहायक प्रशिक्षार्थी १५ जना माग गरेको हो । संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजुङको इमेल ठेगानामा १५ दिन भित्र आवेदन दिन सकिन उक्त वित्तीय संस्थाले जनाएको छ । शाखा प्रबन्धकका लागि स्थातक तह उत्तीण गरी २ वर्षको कार्य अनुभव वा कक्षा १२ उत्तीर्ण गरी ३ वर्षको अनुभव भएहरुले आवेदन दिन सक्नेछन् । सहायक प्रशिक्षार्थीका लागि भने स्नातक तह उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन्, उनीहरुलाई तालिम अवधि ६ महिना राखिएको छ ।
नेपाल इन्स्योरेन्सको एजीएम भदौ ८ गते, ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७० औँ वार्षिक साधारण सभा भदौ ८ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८ सय ६२ रुपैयाँको ७.५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीमा रिक्त विज्ञ स्वतन्त्र सञ्चालक १ जना(चार वर्षका लागि) र साधारण सेयरधनी समूहतर्फ रिक्त १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि सञ्चालक समितिबाट नियुक्त गरिएकाले सो को पनि अनुमोदन गर्नेछ । निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ । साधारण सभा प्रयोजनका लागि साउन २४ गतेदेखि भदौ ८ गतेसम्म कम्पनीको सेयरधनी दर्ता किताब बन्द रहने कम्पनीले जनाएको छ ।
युनाइटेड इन्स्योरेन्सकाे ७२ लाख ५७ हजार कित्ता हकप्रद सेयर निष्काशन, असाेज ६ गतेसम्म आवेदन खुला
काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गरेकाे छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि भदौ ३ गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने छ । चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँको १ः२४ को अनुपातमा(अर्थात विद्यमान १ कित्ता सेयर बराबर नयाँ २.४ कित्ताका दरले) सेयरधनीलाई रु. ७२ करोड ५७ लाख ६० हजार रुपैया सेयर पूँजी बराबर रु. १०० अंकित दरको हकप्रद निष्काशन गर्न लागिएको हो । हकप्रद निष्काशन प्रयोजनको लागि साउन १४ गते सेयरधनी दर्ता किताब बन्द गरिएकाले सो भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरकाे लागि आवेदन दिन पाउने धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
बाणिज्य बैंकका सहायक कम्पनीले धितोपत्र खरिद बिक्री गर्न पाउने
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बाणिज्य बैंकका सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्न पाउने गरी कार्यबिधि लागु गरेको छ । नेप्सेले साउन १६ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल ब्यवसायी अनुमति पत्रका लागि शिफारिस कार्यविधि २०७६ बनाई लागु भएको जनाएको छ ।
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । निर्जीवन बीमा ३.५५, लघुवित्त १५.६३ र जीवन बीमा २०.८७ बिन्दुले उकालो लाग्दा वित्त क्षेत्रको कारोबार भने वृद्धि भएको देखिए पनि विवरण सार्वजनिक गरिएको छैन । यस्तै बैंकिङ ३.६८, होटल १२.३९, विकास बैंक १.०७, जलविद्युत् ०.८३, उत्पादन २.४७, अन्य २.९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटेको छ । व्यापार उपसमूहको शेयर कारोवार वृद्धि भए भए पनि विवरण उल्लेख छैन । कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ४५ लाख ५७ हजार १४ मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ५२ लाख २८ हजार ६६७, मुक्तिनाथ विकास बैंकको रु एक करोड ७९ लाख ६६ हजार ३५६, नेपाल लाइफ इन्सयोरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ७२ लाख २५ हजार, नेपाल बैंक लिमिटेडको रु एक करोड ७० लाख ८२ हजार २५५, र प्रभु बैंकको रु एक करोड ६८ लाख दुई हजार ५४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेका छन् । स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था ९।९६, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.९२, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.९१, नेपाल एग्रो लघवित्त वित्तीय संस्था ९.८९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाए । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनी ४.४४, पोखरा फाइनान्स ३.५२, आइएमई जनरल इन्स्योरेन्स ३.५१, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.४५, गुह्येश्वरी मर्चेन्ट बैंक एउण्ड फाइनान्स कम्पनी ३.१० र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले २.८० प्रतिशतले गुमाए ।
लुः निभा बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा
काठमाडौँ । लुः निभा बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । सो सहकारीले सदस्यको हितविपरीत काम गरेको, वित्तीय दायित्व पूरा नगरेको, बचत फिर्ता गर्न नसकेकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । सहकारी ऐन, २०७४ अनुसार काठमाडौँ डिभिजन सहकारी कार्यालयमा सो सहकारी दर्ता भएको छ । मन्त्रालयले सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐन, २०७४ को दफा १०५ को उपदफा (१) अनुसार गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई तोकेको जानकारी मन्त्रालयका सह–सचिव एवं प्रवक्ता जनकाराज जोशीले दिए । नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये लगभग २२ हजारले वित्तीय कारोवार गर्छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालका सहकारी संस्थासँग झण्डै रु सात खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगार र ६३ हजार ब्यक्ति सहकारीमा आबद्ध छन् । रासस