विकासन्युज

क्यान्सर विजेता बालबालिकाको र्याम्प शो हुँदै, संकलित रकम उपचारमा खर्च गरिने

काठमाडौं। सुदिप्त सुपर किड्स क्यान्सर सर्भाईभर र्याम्प वाक शनिबार हुने भएको छ। नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र अन्य केही सहयोगी संस्थाहरुको सहकार्यमा नेपाल क्यान्सर सहयोग समूहले र्याम्प वाक गर्न लागेको हो। ललितपुरको सानेपा स्थित हेरिटेज स्थित गार्डनमा श्रावण १८ गते शनिबार हुन लागेको हो। नेपाल क्यान्सर सहयोग समुह, नेपाल क्यान्सर अस्पतालको सहयात्रीको रुपमा अघी बढेको एउटा गैर नाफामुलक गैर सरकारी संस्था हो। क्यान्सर बिरामी तथा उनका परिवारलाई सहयोग र उचित एवं विविध सेवा उपल्ब्ध गराउने संस्थाको रुपमा ११ बर्ष अगाडि स्थापना भएको हो। विभिन्न क्यान्सर रोगी समूहको मनोबल उच्च राख्न मनोसामाजिक परमार्श उपलब्ध गराई विरामीलाई र परिवारलाई तनावमुक्त राख्न नेपाल क्यान्सर सहयोग समूहले कल्याणी, आरोग्य, निरामय, सुदिप्त जस्ता क्यान्सर विजेता र मनोसामाजिक परामर्श दाताको समूह गठन गरेर क्यान्सर विरामी र परिवारका सदस्यहरुलाई निशुल्क सेवाउपलब्ध गराउर्दै आएको छ । नेपालको दुर्गम क्षेत्र मानिने मुस्ताङ्ग, गोरखाको बोरलाङ, बागलुङ्ग, काभे्रको तामाघाट,ललितपूरको विकट गाविसहरु, काठमाण्डौं बाहिरका गाविसहरु लगायत पूर्वी र पश्चिम तराईका विभिन्न जिल्लाहरुमा झण्डै ७० वटा जति निःशुल्क क्यान्सर संचेतना कार्यक्रम र क्यान्सर परीक्षण शिविर संचालन गर्दै आईरहेको छ। संस्थाले आयोजना गर्न लागेको क्यान्सर विजेता र क्यान्सर उपाचारमा रहेका बालबालिकाको को मुख्य उद्देश्य ती बालबालिकाहरुमा उच्च मनोबल कायम गर्नु र उनीहरुले दीर्घरोगीको रुपमा केही हद सम्म गुमाएका बालअधिकारलाई पुनः अघिकार सम्पन्न बनाउनु रहेको कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले बताईन्। समाजका अन्य स्वस्थ बालबालिकाको समूहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्देश्यले मन्रोरनजनको लागि पनि र्याप शो गर्न लागेको नेपाल क्यान्सर समुहले बताएको छ। कार्यक्रमको माध्यमबाट संकलन गरिने धनराशी क्यान्सर विरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिवद्धता नेपाल क्यान्सर समुहले व्यक्त गरेको छ।

सिंहदरबारको सम्पत्ति कति ? जवाफ दिन सक्दैन सरकार

काठमाडौँ । सार्वजनिक सम्पत्ति अबैध ढंगले व्यक्तिका नाममा दर्ता गराउने क्रम बढेपछि अर्थ समितिको बैठकमा सिंहदरबारको सम्पत्तिबारे कुरा उठेको छ । प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको शुक्रबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०७६ को दफावार छलफलमा सांसदहरुले यस्तो कुरा उठाएका हुन् । सांसदहरुले सिंहदरबारको सम्पत्ति कति छ ? भन्ने कुरा उठाएपछि जवाफमा अर्थ सचिव डा. राजन खनालले सरकारसँग यसको तथ्याङ्क नभएको बताए । उनले भने–‘सम्पूर्ण सम्पत्तिको ठेली तयार हुँदैछ, अहिले नै सिंहदरबारको सम्पत्ति कति भन्न सकिदैन ।’ सिंहदरबारको सम्पत्तिको लगत महालेखा नियन्त्रण कार्यालयले राख्ने र त्यसको परीक्षण अर्को निकायले गर्ने व्यवस्था हुनु पर्नेमा अर्थसचिव खनालले जोड दिए । छलफलमा उपस्थित अर्थमन्त्री डा. युवराज खतिवडाले पनि स्पष्ट जवाफ दिन सकेनन् । उनले भने-‘तथ्याङ्क संकलन हुँदैछ, छिट्टै सिंहदरबारको सम्पत्ति यत्ति हो भन्ने बारे राज्यले सार्वजनिक गर्छ ।’ पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू अर्थमन्त्री भएको बेला नै महालेखालाई पत्र पठाएर सिंहदरबारको सम्पत्तिका बारेमा सरकारले चासो देखाएको बताए । मन्त्री परिषद्बाट नै निर्णय गराएर महालेखालाई पत्र पठाइएको छ-पूर्व अर्थमन्त्री पाण्डेले भने । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०७६ मा नै देशभरका सार्वजनिक सम्पत्तिको लेखाजोखा बारे समेट्न सकिन्छ कि भन्ने बारेमा सांसदहरुले कुरा उठाएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताए ।

पहिरोका कारण स्काभेटरसहित चालक बेपत्ता

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् । गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको हो । घटनास्थलमा पुगेर तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन् । रासस

सगरमाथा राष्ट्रिय निकुञ्जले उठायो १६ करोड राजश्व, बढी विदेशी पर्यटकबाट

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५/७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट रु १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट रु ३३ लाख २३ हजार २२१ र आन्तरिक पर्यटकबाट रु ७२ हजार २३० राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिएका छन् । त्यस्तै, गाइडबाट रु ३१ लाख ८१ हजार ८४९, हेलिकप्टर अवतरण गरेबापत रु एक करोड १३ लाख ७१ हजार ६४४, विदेशी टोलीको क्याम्पियनबाट रु आठ लाख ८२ हजार ७४१ सङ्कलन भएको सूचना अधिकारी चौधरीको भनाइ छ । सहासिक पर्यटकीय गतिविधिबाट रु दुई लाख ८५ हजार ८७४ सङ्कलन भएको छ । यस्तै कार्यालयले रु छ लाख ६० हजार बेरुजु असुल गरेको छ भने निकुञ्जको नियमविपरीत कार्य गरेबापत दण्ड जरिवानाबाट रु १ लाख ७१ हजार ६९४, काठ निकासी गरेबापत रु एक लाख ९८ हजार ६७५ राजस्व सङ्कलन गरेको उनले जानकारी दिएका हुन् । यसरी, निकुञ्जले विदेशीबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट रु १ हजार ५० शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेबापत रु तीन हजार अवतरण शुल्क लिने गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ । रासस

नेप्सेले १५ दिनको अवधि दिएर ब्रोकर लाइसेन्स खुलायो, ५ बैंकले सहायक कम्पनी खोलिसके

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ब्रोकर लाइसेन्सका लागि आवदेन खुला गरेको छ । नेप्सेले बिहिबार कार्यविधि सार्वजनिक गरेर बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको हो । शुक्रबार बैकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि १५ दिनभित्र आवेदन दिन खुला गरेको हो । हालसम्म एनआईसी एसिया बैंक, प्रभु बैंक र सानिमा बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिइसकेका छन् । अन्य आधा दर्जन बैंकले ब्रोकर लाइसेन्सका राष्ट्र बैंकमा आवेदन दिएका छन् । ब्रोकर कम्पनी खोल्नका लागि एनआईसी एशिया बैकले एनआईसी एसिया सेक्यूरिटिज, प्रभु बैकले प्रभु स्टक मार्केट, माछापुच्छ्रे बैकले माछापुच्छ्रे सेक्यूरिटिज, सानिमा बैकले सानिमा सेक्यूरिटिज र सिटिजन बैकले सिआईबिएल सेक्यूरिटिज सहायक कम्पनी दर्ता गराएका छन् । नेप्सेको बिहीबार सार्वजनिक गरेको कार्यविधि अनुसार ब्रोकरको काम गर्ने कम्पनी वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्नेछ । उक्त कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ हुनुपर्ने मापदण्ड तोकिएको छ । नेप्सेमा आवेदन दिनका लागि ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

डिप्रोक्स लघुवित्त मर्जरमा जाने, ४ सदस्यीय समिति गठन

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ती गर्ने प्रयोजनका लागि मर्जर तथा प्राप्ती समिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले सञ्चालक यज्ञप्रसाद शर्मा संयोजक रहेको समिति गठन गरेको हो । समितिको सदस्यमा सञ्चालक भृगुऋषि दवारी र रमेशकुमार रघुबंशी रहेका छन् भने सदस्य सचिवमा प्रमुख कार्यकारी अधिकृत अमराज खड्का रहेका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्ने÷गाभिने र प्राप्ती गर्ने नीतिलाई सहयोग पुर्याउने उद्देश्यले समिति गठन गरिएको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जनाएका छन् ।

पर्यटकीय नगरी सौराहाः होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै

चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग छलफल शुरु गरिएको बताएका छन् । उनका अनुसार साढे दुई तलाभन्दा अग्लो भवन बनाउन रोकिने, प्रकृतिसँग मिल्ने एकै खालका रङ लगाउनुपर्ने, भवनहरुमा नेपाली शैली झल्कनुपर्ने, होटल रिसोर्टका लागि जमिनको न्यूनतम क्षेत्रफल तोकिनेछ । सौराहामा मात्र ११० होटल र ८० रेष्टुराँ छन् । सो क्षेत्रमा मानव बस्तीसमेत छ । नीति बनाउनुअघि होटल र रेष्टुराँ व्यवसायीसँग नगरपालिकाले छलफल थालेको हो । वृहतरूपमा छलफल गरेर यसलाई अन्तिम रूप दिने वनको धारणा छ । नगरपालिका आफैंले मात्र नीति बनाउँदा कार्यान्वयनमा कठिनाइ हुने हुँदा निजी क्षेत्रको सहमतिमा नै काम गर्न लागिएको वनको भनाइ छ । सो क्षेत्रमा अग्ला भवन बनाउन अध्ययन गर्न आएकाहरुलाई आफूले अग्ला भवन बनाउन नपाउने मौखिक जानकारी दिन शुरु गरेको वनले बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव राममणि खनाल स्थानीय सरकारले नीति बनाएर काम अघि बढाउनुपर्ने बताउँछन् । प्रकृति सुहाउँदो रङ, वातावरणमा प्रभाव नहुने संरचना निर्माण गर्न सकेमा सौराहाको सुन्दरता अरु थपिने खनालको भनाइ छ । नगरपालिकाले बनाउने मापदण्डमा व्यवसायी सहमत हुने भन्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्ले चिनेको सौराहालाई जीवन्त राख्न यो महत्वपूर्ण काम हुने बताएका हुन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले आफूहरुले चार वर्षअघि नै यसम्बन्धी प्रस्ताव गरेको भन्दै नगरपालिकाले यथाशीघ्र नीति बनाएर अघि बढ्नुपर्ने बताए । सौराहामा पछिल्लो समय कङ्क्रिटका ठूला भवन बन्न थालेका छन् । यस्ता कङ्क्रिटका भवनले सो क्षेत्रको प्राकृतिक सौन्दर्यता लोप हुने चिन्ता व्यवसायीमा रहेको छ । क्षेत्रीय होटल सङ्घले सौराहाको वृहत गुरुयोजनासमेत निर्माण गरिरहेको छ । रासस

१७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला उज्यालो गर्न पुग्यो डिजेल प्लान्ट मेसिन

खलंगा । सानाजलद्यिुत् उपभोक्ता समितिको निर्माणाधीन विद्युत् बन्न ढिलाइ भएपछि १७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ती बालिने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन मेसिन जडान नहँुदै बिग्रिएपछि मेसिन बन्ने समयसम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिएका छन् । सदरमुकाम उज्यालोका लागि जुम्लामा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट रु २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेसिन खरिद गरिएको अध्यक्ष बुढाथापाले जानकारी दिए । निर्माणाधीन मेसिन साना जलविद्युत् उपभोक्ता समितिको विद्युत्गृहमा पुगिसकेको र ढुवानीको भने बिल पुग्न बाँकी रहेको उनको भनाइ छ । मेसिन पुगेपछि ट्रकबाट उतार्न कठिन भएकाले डोजरको प्रयोग गरिने भएको समितिले जनाएको छ । नेपालगञ्जबाट चार दिन लगाएर ज्याक्सन कम्पनीको दुई सय केभी (१६० किलोवाट) को मेसिन जुम्ला पुगेको हो । सांसद महतले जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि जनतालाई चाडपर्वको बेला अँध्यारो भएको भन्दै रु ५० लाख अल्पकालीन बत्ती बाल्नका लागि विनियोजन गरिएको बताए । भारतीय दूतावासले सहयोग गरेको मेसिनको बिग्रिएको भाग भने बनाउनका लागि निर्माणको ठेक्का लिएका पुष्करलाल दुवैले जुम्लाबाट भारततिर पठाएको बताएका छन् । नयाँ आएको डिजेल प्लान्टबाट उत्पादन हुने बत्ती भने सहुलियत गरिने बताइएको छ । मेसिनको लागत, ढुवानी, तेल खर्चको विषयमा जडान भएर सञ्चालन भएपछि सार्वजनिक सुनुवाइ गरिने कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले बताए । १८ दिनदेखि जुम्ला बत्तीविहीन भएपछि सरकारी कामकाज प्रभावित हुनुका साथै २२ हजार उपभोक्ता अँध्यारोमा छन् । रासस