विकासन्युज

‘रसुवा पानी’ काठमाडाैंमा सार्वजनिक, एशिया र मध्यपूर्वका देशमा निर्यात गरिने

काठमाडौं। रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको हो । रसुवा जिल्लाको गोसाईँकुण्ड–६ धुन्चेमा उत्पादन भएकाे याे पानी शुक्रबार राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले रसुवा पानीको सार्वजनिक गरेकी हुन् । हिमाली पानी विश्वका मानिसलाई खुवाउने र देशलाई चिनाउने उद्देश्यसहित ‘रसुवा’ नामकाे पानी उत्पादन थालिएकाे कम्पनीका अध्यक्ष  गणेशबहादुर भण्डारीले बताए  । यस उद्योगबाट उत्पादित पानी राष्ट्रिय बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री गर्ने याेजना रहेकाे उनले बताए । पानीकाे बजारीकरण गर्नकाे लागि कम्पनीले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलार्इ ब्राण्ड एम्बास्डर बनाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा लैजाने भएकाेले पानीकाे बाेटलकाे डिजाइन, लेबलिङ उच्चस्तरकाे बनाएकाे कम्पनीले जनाएकाे छ । कम्पनीले लाेपउन्मुख जनावर रेडपाण्डा संरक्षणमा सहयाेग गर्ने भन्दै पानीकाे बाेटलमा  रेडपाण्डा तस्विर राखेकाे छ । सफा बाेटलकाे भित्र गाेसाइँकुण्डकाे ताल र पृष्ठभूमिका हिमाल देखाएकाे छ । हाल कम्पनीले ३३० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर र १८ लिटरका बाेटलमा पानी बजारमा ल्याएकाे छ । कम्पनीले पानीकाे मूल्य भने सार्वजनिक गरेकाे छैन । साउनकाे अन्तिम सातादेखि पानी बजारमा  लैजाने तयारी भएकाे र मूल्य निर्धारणकाे लागि काम पनि भइरहेकाे भण्डारीले बताए । २ वर्ष अघिदेखि निर्माण शुरु भएको रसुवा पानी उद्योग २०७६ बैशाखमा निर्माण सम्पन्न भएको हो । उद्याेग स्थापना गर्ने क्रममा १० कराेड रूपैयाँ लगानी भएकाे र बजारीकरणकाे क्रममा थप ५ कराेड रूपैयाँ लगानी गर्न लागिएकाे उनले बताए । काठमाडौँबाट १७० किलो मिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्नेछ । उद्योगमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा करिब ७० जनाले रोजगार पाएका छन् । रसुवा पानी तत्कालै देशभरका बजारमा पुग्ने र जापान, हङकङ र चाइना पठाइने छ । आगामी दिनमा युरोप, अमेरिका, अष्ट्रेलिया लगायत विश्वभर नै बजार बिस्तार गर्ने लक्ष्य रहेको रुद्रगंगा नेचुरल वाटर प्रालिका अध्यक्ष भण्डारीले बताए । उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै खानेपानी मन्त्री विना मगरले नेपालकाे पानी निर्यात गर्न सरकारले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले भने नेपाली उत्पादन निर्यात गर्ने काम निकै कठिन भएकाे बताए । छिमेकी देशहरूमा भन्दा नेपालमा कुनै पनि बस्तु उत्पादन लागत  कम्तिमा ३० प्रतिशत बढी रहेकाे, श्रमिककाे उत्पादकत्व ज्यादै कम भएकाे र पूर्वाधारकाे अवस्था नाजुक नै रहेकाे बताए । ‘फ्रान्सकाे पानी विश्वभर बिक्री हुन्छ । नेपालकाे पानी पनि विश्वभर बेच्न सकिन्छ । नेपालीहरूले जुन देशमा गए पनि नेपाली पानी किनेर पिउन पाउने अवसर मिलाेस्’ उनले शुभकामना सन्देशमा भने । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालकाे बैदेशिक व्यापार घाटा सबैभन्दा ठूलाे समस्याकाे रूपमा देखिएकाे जनाउँदै रसुवा पानी जस्ता उत्पादन निर्यात गर्न  चेम्बर अफ कमर्श सक्दाे सहयाेग गर्ने  जनाउँदै नेपाल सरकारले पनि यस्ता उत्पादन निर्यातमा सहयाेग गर्नुपर्ने बताए । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पहिला सामाजिक कार्यकाे मात्र प्रचार प्रसारमा सहयाेग गर्दै आएकाेमा अब नेपालकाे आर्थिक विकास र उत्पादन वृद्धिमा सहयाेग पुर्याउने उदेश्यले राम्रा उत्पादनकाे ब्राण्ड एम्बेस्डर बन्न लागेकाे बताए । रसुवा पानी उत्पादनकाे उदेश्य राम्राे लागेकाे र गुणस्तरीय पनि भएकाेले आफूहरूले लिनु पर्ने फि पनि नलिइ ब्राण्ड एम्बेस्डर बनेकाे आचार्यले बताए ।  

बिषादी जाँच नगर भने पनि गर्छौ, जनताको स्वास्थ्यमा खेलवाड गर्दैनाैं : कृषिमन्त्री खनाल

काठमाडाैं। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बिषादी चेकजाँच सरकारले झन कडाई गर्ने बताए । भारत भन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो त उनले अगाडी भने तर हरेक नाकामा अनिवार्य चेक गर्नु भनेकाे विषयमा मात्र बहस भएको स्पष्ट पारे । चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसियसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै कृषि मन्त्री । खनालले जनताको स्वास्थयमा कृषि मन्त्रालयसगैँ सरकार समेत चिन्तित बनेको स्पष्ट समेत पारेका छन् । जनताको स्वास्थ्यमा खेलवाड गर्दैनाैं, त्यसलाई निरन्तरता दिएर आगामी दिनमा चेकजाच न गर भने पनि गर्ने कृषिमन्त्री खनालले जानकारी दिए । यस्तै मन्त्री खनालले कृषि क्षेत्रको समग्र विकासका लागि सरकारले कृषि युवा भन्ने नयाँ कार्यक्रम अगाडी बढाएको जानकारी गराउदै यो सफल भयो भो निरन्तर ५ बर्ष लैजाने गरि सोच्नुपर्ने बताए । तराईमा एक सय विघा जमिन र पहाडमा १ सय रोपनी जमिन केन्द्रित गरेर कुनै एउटा वाली वा कृषि वाली लगाउछु भनेर युवा आउछ भने सरकारले मल विऊ, सिचाई र अरु के चाहिन्छ सबै अनुदान दिनेको स्पष्ट पारेका छन् । पिछडिएको र हेपिएको क्षेत्र भए पनि कृषिमा निराशा मात्र होइन आशा गर्ने ठाउँ पनि छन, तर भने जस्तो उत्पादन हुन सकेको छैन, उनले भने ‘यो पटकदेखि कृषिमा अनुदानलाई व्यवस्थित र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लाई परिमार्जन गर्नेमा बढी ध्यान दिएको छु ।’ राज्यले कानून बनाएर मात्र हुन्न कार्यान्वयन महत्त्वपूर्ण विषय हो मन्त्री खनालले अगाडी भने सबै कानुन पूर्ण रुपमा कार्यान्वयन गर्ने हो भने केही समस्या हुन्न पछिसम्म विकासले गति लिने र अहिलेसम्म कृषि र पशुपन्छी क्षेत्रको पहिचान भएको छ अब त्यसलाई द्रुत गतिमा अगाडि लैजाने जानकारी दिए ।

बनेपाको शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित

काभ्रेपलाञ्चोक । सेवा–सुविधाबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ स्थित शिर मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । आफ्ना मागहित अस्पताल प्रशासन अगाडि बिहीबारदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटकपटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालको आयव्यय सार्वजनिक गर्नुपर्ने, कर्मचारीलाई उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने, प्रशासनिक एकाइमा कर्मचारी युनियनको सहभागिता गराउनुर्नेलगायत माग राख्दै पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको अध्यक्ष श्रेष्ठले बताए । “माग सम्बोधन नभएसम्म आन्दोलन गर्नेछौँ”, उनले भने । उनले श्रम अदालतबाट अनुमोदित कर्मचारी युनियनलाई अस्पताल प्रशासनले अवमूल्यन गरेको आरोप लगाए । अस्पतालका कर्मचारीमध्ये आलोपालो गरी करिब ६० प्रतिशत आन्दोलनमा सहभागी हुँदै आएका छन् । “अस्पतालका ९८ प्रतिशत कर्मचारी युनियनको मागप्रति समर्थनमा छन्”, अध्यक्ष श्रेष्ठले दाबी गरे । अस्पतालस्थित युनियनमा दुई सय कर्मचारी आबद्ध छन् । अस्पताल प्रशासनले बिहीबार हाताभित्र सूचना टाँस गर्दै यूनियनले लगाएको आरोप झुठा भएकाले त्यसका पछि नलाग्न अन्य कर्मचारीसँग आग्रह गरेको छ । “अस्पतालको सामान्य परिस्थितिलाई असामान्य बनाई अस्पतालभित्र कुनै हानिनोक्सानी भएमा त्यसको पूर्ण जिम्मेवारी आन्दोलनतरत पक्षले लिनुपर्ने”, सूचनामा उल्लेख गरिएको छ । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सूर्यप्रभा शाक्यले दुई दिनदेखि अस्पताल प्रशासन कक्षमा कसैलाई जान नदिएकाले आन्दोलनरत पक्षसँग छलफलमा जाने वातावरण तयार गर्न पहल भइरहेको बताएका छन् । उनले भने, “हामी युनियनको मागबारे छलफल गर्न पहल गर्दैछौँ, एक दुईदिन लाग्नसक्छ ।” गत वर्ष असोजमा पनि यस्तै माग राखेर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला अस्पताल प्रशासनबाट युनियनको माग सम्बोधन गर्दै जाने आश्वासनसहितको सहमतिपछि आन्दोलन स्थगित गरिएको अध्यक्ष श्रेष्ठले बताएका हुन् । बनेपास्थित घोकेचौरमा २०१८ सालदेखि सञ्चालनमा आएको उक्त अस्पताल ‘सेभेन्थे–डे एडभेन्टिष्ट अस्पताल’को नामले समेत चिनिने गरिन्छ । रासस

गत आवमा ३४ अर्ब ६१ करोडको सुन आयात, मूल्य बढेपछि २५ प्रतिशत पनि बिक्री भएन

काठमाडौं । गत आर्थिक वर्षमा नेपालले सुन आयात गर्न ३४ अर्ब ६१ करोड रुपैयाँको खर्चेकोे छ । नेपालीले सात हजार ४ सय ९३ किलो सुन भित्र्याएर विदेशी मुलुकमा सो रकम पठाएको हो । अघिल्लो आर्थिक वर्ष २०७४/७५मा विदेशबाट नेपालमा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएको थियो । सुनको मूल्य बढेसँगै आयात पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । नेपाली धर्म संस्कृतिसँग जोडिएको सुन तरल पुँजीको रुपमा स्वीकार्य भएपनि अहिलेसम्म सरकारले यसको उपयोग गर्न सकेको छैन । यस वर्षको बजेटले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने भने पनि अहिलेसम्म कार्यविधि बन्न नसक्दा सुन लकरको सो मात्रै बन्दै आएको छ । सुनलाई निक्षेपको रुपमा उपयोगमा ल्याउने अख्तियारी बजेटले दिएपछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत सम्बोधन गर्यो । नेपाली अभ्यासमा नितान्त नयाँ व्यवस्था कार्यान्वयनमा लैजान हालसम्म राष्ट्र बैंकसँग कुनै मोडेल छैन । असोजसम्म कार्यविधि बनाउने तयारीमा राष्ट्र बैंक लागि परेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । ‘हामी सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने कार्यविधि बनाउने तयारीमा लागेका छौं,’ उनले भने ‘सरोकारवालासँग छलफल गरेर यसको टुंगो लाग्छ ।’ सुन तरल पुँजी भएपनि अहिलेसम्म धितोको रुपमामात्रै प्रयोग हुँदै आएको थियो । अब कार्यविधि बनेपछि बैंकमा सुन राखेर ब्याज पाइने प्रवक्ता निरौलाले बताए । सुन अहिलेसम्मकै सर्वाधिक मह्गो शुक्रबार प्रतितोला सुनको मूल्य ६५ हजार ८ सय पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा यसको असर नेपाली बजारमा परेकोह हो । यस अघि साउन ३ गते र असार १० गते इतिहासमै पहिलो पटक प्रतितोला सुन ६५ हजार ५ सयमा कारोबार भएको थियो । डलरको मूल्यसँगै उतार चढाब हुने सुनको मूल्य २०७० भदौ १२ गते एक तोला सुनको ६३ हजार ३ सय रुपैयाँ तिर्नु परेको थियो । त्यसयता ५० देखि ६० हजारको बीचमा रहेको सुन अहिले सर्वाधिक मह्गो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । अमेरिकी फेडल रिजर्भ बैंकले गत जुलाई ३१ मा ब्याजदर घटाएर ०.२५ प्रतिशतमा झारेपछि लगानीकर्ताको ध्यान सुनमा पर्दा मूल्य बढेको हो । त्यसरी अमेरिकी राष्ट्रपनि रोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ३ अर्ब मूल्य बराबरको सामानमा १० प्रतिशतले भन्सार महसुश बढाएका कारण यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दा सुन बजार मह्गिएको उनले बताए । ‘पछिल्लो अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बनेको छ,’ शाक्यले भने ‘यसले पनि घरेलु बजारमा सुनको मूल्य बढाउन सहयोग गरेको हो । २५ प्रतिशतपनि छैन सुन व्यापार पछिल्लो समय सुन मह्गो भएपछि घट्दै गएको सुन बजार अझ तल ओर्लिएको छ । बिहीबार ६५ हजार रुपैयाँमा कारोबार भएको प्रतितोला सुन एक्कै दिनमा ८ सय रुपैयाँले बढेर ६५ हजार ८ सय पुगेको शाक्यले बताए । बजार माथि जाँदा कारोबार तल ओर्लिएको छ उनले भने ‘अहिले अन्य समयको भन्दा २५ प्रतिशत पनि सुन बिक्री हुन सकेको छैन ।’

सामूहिक तरकारी खेती गर्दै बेराेजगार युवाहरू

पाल्पा । सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारीखेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् । सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक तरकारी उत्पादनमा जुटेका हुन् । विसं २०७५ माघ महिनादेखि सञ्चालित सामूहिक तरकारीखेती यस क्षेत्रकै नमूना व्यवसायका रुपमा परिचित छ । तानसेनस्थित तरकारी जोन सञ्चालन समितिका नौ युुवाको सक्रियतामा प्रभाषमा बाँझो जमिनमा व्यावसायिक तरकारी उत्पादन गर्दै आइएको उक्त समितिका सहसंयोजक ठाकुरध्वज कार्कीले बताए । बाँझो २० रोपनी जमिनमा दुई टमाटरका बिरुवा, पाँच रोपनीमा काँक्रो तथा सिमी र पाँच रोपनी जग्गामा करेला उत्पादन गरी वार्षिक रु चार लाख, ८५ हजार ९०४ को कारोवार गर्न सफल भएको उनको भनाइ थियो । पहिलो वर्ष व्यावसायिक तरकारी खेती गर्दा अनुभवको अभावका साथै असिनापानीले बाली नोक्सानी गर्दा सोचेजस्तो उत्पादन हुन सकेको थिएन । लामो खडेरी, सिँचाइको अभाव र उत्पादनका लागि पूर्वाधार निर्माणले व्यावसायिक तरकारीखेतीका लागि चुनौती थपिएको उनीहरूको भनाइ थियो । तरकारी खेतीमा नवीनतम प्रविधिको प्रयोग, थोपा सिँचाइ र मल्ङ्गि टनेलमा उत्पादित तरकारी पर्यावरणीय सन्तुलनमा आधारित छ । विषादीको प्रयोग कम, जैविक विषादी तथा पासोको प्रयोग गरी किरा नियन्त्रण गर्दा यहाँ उत्पादित तरकारीको बजार माग राम्रो रहेको व्यवस्थापक धु्रवराज भण्डारीको भनाइ थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइको रू सात लाखको सहयोगमा शुरु भएको सामूहिक तरकारीखेतीबाट रु १५ लाख ४२ हजार २९० बराबरको कारोबार हुँदै आएको छ । उक्त एकाइले जिल्लाको ७६० हेक्टर जमिनमा तरकारी बाली उत्पादनका लागि सहयोग पुर्याउँदै आएको छ । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकामा यो परिचयोजना सञ्चालित छ । रासस

लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न निर्देशन दिएको हो । जापानी विज्ञ किन्जोले सो गुरुयोजना तयार गरेका थिए । कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीका अनुसार बैठकमा रामग्राम पवित्र स्तूपाको गुरुयोजना बनाउन, कपिलवस्तु विकासको दिगो संरचना तयार गर्न, लुम्बिनी, कपिलवस्तुदेखि देवदहसम्म बौद्ध पर्यटन ल्याउने वातावरण सिर्जना गर्न र सो क्षेत्रमा विद्युतीय मेट्रोलाइन निर्माणको तयारी गर्न पनि निर्देशन दिएको हो । उपाध्यक्ष त्रिपाठीले लुम्बिनीलाई विशिष्ट बौद्ध अध्ययनको केन्द्रका रुपमा विकसित गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिई आगामी बुद्धजयन्ती अन्तर्राष्ट्रिय सम्मेलनसहित मनाउने निर्णय भएको जानकारी समेत दिएका छन् । रासस

काठमाडौं महानगरपालिकाद्वारा वडा कार्यालय भवन निर्माण शुरु, आठ करोड विनियोजन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आवश्यकतानुसार वडा कार्यालयका भवन निर्माण गर्ने र तला थप्ने भएको छ । अहिले कामपा–६, ७, ८, १४ र २६ को भवन पुनर्निर्माण गर्न लागिएको हो । कामपाले वडा नं १५, ३२ लगायत अन्य वडा कार्यालयमा भने अहिले भइरहेको भवनमा तला थप्ने भएकोे छ । तला थप र नयाँ भवन निर्माणका लागि यस वर्षको बजेटमा ती वडामा रु चार करोडदेखि रु आठ करोडसम्म बजेट विनियोजन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताएका छन् । नयाँ परिस्थितिमा वडा कार्यालयमा धेरै जिम्मेवारी थपिएकाले अहिले भइरहेका भवन अपर्याप्त हुँदा भवन निर्माणमा लागिएको उनले बताएका हुन् । कामपाका निर्माण हुन लागेका नयाँ वडा कार्यालयको नमूना शहरी योजना आयोगले बनाएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार वडा कार्यालयका हेर्दा सुन्दर देखिने गरी नमूना बनाइएको छ । वडा कार्यालयको भवन निर्माण गरिरहे पनि कामपाले आफ्नै भवन भने अझै निर्माण गर्न सकेको छैन । पहिले कामपाको मुख्य कार्यालय रहेको बागदरबार नभत्काउन सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशका कारण काम अघि बढ्न सकेको थिएन । अहिले कामपाका कार्यालयहरु विभिन्न स्थानमा छरिएर रहेका छन् । रासस

आइतवारदेखि सहकारीले १६ प्रतिशत मात्रै ब्याज लिन पाउने

काठमाडौं । आइतवारदेखि सहकारी संस्थाले १६ प्रतिशत ब्याज लिन सकिने व्यवस्था गरिएको छ । शुक्रबार सहकारी विभाग अन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले पत्रकार सम्मेलन गर्दै मुलुकभरका सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशतमा नबढ्ने गरि तोकिएको हो । सहकारी नियमावली,२०७५ मा भएका व्यवस्था बममोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिले सन्र्दभ ब्याजदर निर्धारण गर्नुपर्ने आधार सिद्धान्तहरुलाई अबलम्बन गर्दै साउन १९ गते आइतबार लागु हुने गरि ब्याजदर निर्धारण गरेको जनाइएको छ । सहकारी विभागका रजिष्टार तथा सन्दर्भ ब्याजदर निर्धारण समितिका संयोजक टोकराज पाण्डेले मुलुकभरका करिब ३४ हजार सहकारी संस्थाहरुका लागि लागुहुने गरि ब्याजदर निर्धारण गरेको बताउँदै यसले आम सर्वसाधरण र ऋणीहरुलाई थोरै भएपनि सहयोग पुग्ने बताए । संयोजक पाण्डेले ब्याजदर सूचकलाई आधार मानेर निर्णय गरेको बताउँदै सम्पूर्ण सहकारी संस्थाहरुको सुझाव सल्लाहहरु समेटेर १६ प्रतिशत ब्यादजर निर्धारण गरेको जानकारी दिए । यो नीतिले विभिन्न समयमा सहकारीहरुमा आउने गुनासाको अन्त्य हुने अपेक्षा गरेको संयोजक पाण्डेले भने । सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्यादजर १६ प्रतिशतमा नबढ्ने तथा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटि रहने गरी सन्दर्भ ब्याजदर तोकिएको विभागले जनाएको छ ।