विकासन्युज

भारतका बाह्य मामिलामन्त्री आइपुगे राजधानी

काठमाडौं । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन उनी आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरेका थिए । संयुक्त आयोगको बैठक आजै अपराह्नदेखि प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्ने गरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयामिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ । रासस

झापामा पिउने पानीको उद्योग फस्टाउँदै

भद्रपुर । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ । पछिल्लो समय लहरकै रुपमा खुलेका त्यस्ता उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेर जमिनमुनिदेखि झरनाबाट बगेको पानीलाई समेत आधुनिक प्रविधिबाट प्रशोधन गर्दै आएका छन् । उद्योगले सयौँ स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गरेको छ । बुद्धशान्ति गाउँपालिका–७ मा रु दुई करोड ५० लाखको लगानीमा मीनप्रकाश मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले साझेदारीमा सुनमाई वाटर उद्योग सञ्चालनमा ल्याएका छन् । छ महिना अघिमात्र खुलेको यो उद्योगले इलामको रोङ गाउँपालिकामा रहेको सुनमाई झरनाको पानीलाई प्रशोधन गरेर पिउने पानीको रुपमा उपभोक्ताको ओठसम्म पुर्याउँछ । इलामको रोङ गाउँपालिका–३ मा मुहान रहेको सो उद्योगको दैनिक एक हजार कार्टुन पानी उत्पादन क्षमता भए पनि हाल ६०० देखि ६५० कार्टुन मात्र उत्पादन गरिरहेको सञ्चालक मैनालीले बताए । उनले झरनाबाट उत्पादन हुने पानी यो नेपालको ११ औँ र प्रदेश नम्बर १ को पहिलो भएको दाबी गरे । मैनालीले झरनाबाट खसेको पानीलाई प्रशोधन गरिएको हुँदा यो पानी महँगो, शुद्ध र मीठो हुने दाबी गर्नुका साथै पानीको मूल्य प्रतिकार्टुन रु १४० रहेको जानकारी दिएका छन् । बोतलको एक लिटरदेखि जारमा २० लिटरसम्म उत्पादन भइरहेको सुनमाई वाटर उद्योग प्रालिमा २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । हाल झापा, मोरङ सुनसरी, इलाम, पोखरा, काठमाडौँसम्मको बजारमा उपलब्ध यो पानीलाई निकट भविष्यमा विदेशसम्म पुर्याउने लक्ष्य लिएको मैनालीको भनाइ छ । कमल गाउँपालिका–६ मा भवीन्द्र भण्डारीले रु नौ करोडको लागतमा इस्टर्न फुड एन्ड बेभरेज प्रालि सञ्चालनमा ल्याएका छन् । गत हप्तादेखि सञ्चालनमा आएको यो उद्योगले ‘बेला’ नामको शुद्ध प्रशोधित पिउने पानी उत्पादन गर्दै आएको छ । उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर उच्च गुणस्तरको प्रशोधित पानी उत्पादन गर्न थालिएको बताउँछन् । दैनिक तीन हजार कार्टुन पानी उत्पादन क्षमता भएको उद्योग झापाकै ठूलो पानी उद्योग भएको उनको दाबी छ । पानी शुद्ध छैन भनी जाँच गर्ने आफ्नै ल्याबसहित शुरु भएको यो उद्योगले बोतल र बिर्कोसमेत आफैँ उत्पादन गर्दै आएको छ । उद्योगमा स्थानीय ४० जनाले रोजगारी पाएका छन् । त्यसैगरी, मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विजय डालमियाले मेचीनगर–६ काँकडभिट्टामा अक्वाटप मकालु पानी उद्योग सञ्चालन गरिरहेका छन् । डेढ वर्ष अघि रु २५ लाखबाट शुरु गरेको उद्योगमा हाल डेढ करोड बढी लगानी भइसकेको उनको भनाइ छ । यसरी, उद्योगले पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी ‘पर्यटन वर्ष २०२०’को लोगो अङ्कित मिनी बोतलमा पिउने पानीको उत्पादन भर्खरै थालेको छ । तीन सय एमएलको यो मिनी बोतलको पानी पर्यटन प्रवद्र्धनका लागि उत्पादन गरेको उनले बताए । प्रदेश नंं. १ को १४ जिल्लामा डालमिया ब्रान्डको आफ्नो उत्पादन पुर्याउँदै आएको उद्योगले एक लिटरको बोटलसँगै २० लिटरसम्मको जारमा पिउने पानी बिक्री गर्दै आएको छ । उनले आफ्नो उद्योगमा ४० जनाले रोजगारी पाएको बताएका छन् । उद्योगमा दैनिक एक हजार कार्टुन पानी प्रशोधन क्षमता रहेको छ । कोल्ड जारमा पानी बेच्न झापामा पहिलोपटक आफूले शुरु गरेको दाबी गर्दै डालमियाले बजारमा गुणस्तरीय र सस्तो मूल्यमा पानी बेचिरहेको बताउँछन् । उनले प्रतिकार्टुन रु ११५ र प्रति जार रु २४० मूल्य कायम गरेको जानकारी दिए । यस्तैगरी, झापाको विर्तामोड र दमकमा डेढ दर्जन पानी उद्योग सञ्चालनमा रहेका छन् । दुई वर्ष अघि मात्र पानी व्यवसायी सङ्गठित भए पनि हाल निष्कृय रहँदा मूल्यमा एकरुपता नभएको उद्योगी डालमियाको भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भद्रपुरका प्रमुख भरत पुरीले पिउने पानी स्वच्छ र गुणस्तरीय हुनुपर्ने बताउँदै हालसम्म पानी उद्योगमा गएर अनुगमन गर्न जनशक्ति अभाव रहेको बताए । उनले एक अधिकृत, दुई प्राविधिक र एक सहयोगीको दरबन्दी भए तापनि कार्यालयमा हाल आफू एकजना मात्र कर्मचारीले कार्यालयको सबै जिम्मेवारी धान्नु परिरहेको उल्लेख गरे । होटल, हस्पिटलदेखि पैदलयात्रीसम्मले दैनिक रुपमा पिउनका लागि मिनरल वाटर भन्दै पिउने बोतल र जारको पानी यस्तै उद्योगबाट आपूर्ति हुँदै आएको छ । बोतल र जारको पानीको बजार फराकिलो बन्दै गएको देखेपछि उद्योगी यतातिर लगानी गर्न तम्सिएका छन् तर गुणस्तर अनुगमनमा भने सरकारी निकायले ध्यान पुर्याउन सकेको छैन । कतिपय उद्योगले धारा र ट्यबेलको पानीलाई प्रशोधन नगरी सिधै बोतलमा शिलबन्दी गरेको आरोप लाग्ने गरेको हुँदा सरकारी अनुमगनलाई प्रभावकारी बनाउन जरुरी देखिएको छ । रासस

हुण्डाई मोटर्सको ‘ग्रान्ड आई१० नियस’ सार्वजनिक, मूल्य ४ लाख ९९ हजार

नयाँ दिल्ली । हुण्डाई मोटर्सको नयाँ कार ‘ग्रान्ड आई१० नियस’ सार्वजनिक भएको छ । सहरी क्षेत्रका युवा वर्गलाई लक्षित गरेर डिजाईज गरिएको यो कार बोल्ड र स्टाईलिस डिजाइजमा आएको छ । आधुनिक प्रविधियुक्त सुविधाहरु भएको र कारभित्र फराकिलो स्पेस भएकोले यस कारका उपभोक्ता स्मार्ट देखिनुको साथै रोमाञ्चित अनुभूति गर्ने कम्पनीले जनाएको छ । नयाँ कारको शुरु मूल्य ४ लाख ९९ हजार ९९० भारतीय रुपैयाँ रहेको छ भने अधिकतम मूल्य ७ लाख ९९ हजार ४५० भारतीय रुपैयाँ रहेको छ । भारतका सबै प्रदेशमा एउटै मूल्य कायम गरिएको हुण्डाई मोटर्स इन्डिया लिमिटेडले जनाएको छ । भारतमा बनेको यो कार विश्वभरको लागि निर्माण गरिएको हुण्डाई मोटर्स इन्डियाका प्रबन्ध निर्देशक एसएस कीमले बताए । ग्रान्ड आई १० नियस तेस्रो पुस्तको लागि बनाएको र यो कार ह्याचव्याक सेगमेन्टको उत्कृष्ट कार भएको उनले बताए । हालसम्म विश्व बजारमा हुण्डाइका २७ लाख २० हजार वटा गाडी बिक्री भएकाे र भारतकाे कार बजारमा हुण्डाइले १८ प्रतिशतभन्दा बढी हिस्सा लिएकाे उनले जानकारी दिए । ग्राहकको सुरक्षा र सुविधालाई विशेष ध्यान दिई नयाँ फिचरहरु थपेर निर्माण गरिएकोले यस कारको नाम नियस राखिएको हो, जसको अर्थ अझ धेरै हुन्छ । यसमा डुअल फ्रन्ट एयर ब्याग, ईबीडीसहितको एबीएस, हाई स्पिड अलर्ट सिस्टम, रियर पार्किङ सेन्सर र फ्रन्ट सिट बेल्ट रिमाइन्डर अलर्ट यसका विशेषता हुन् । सिट, ढोकाको लक, साइड ग्लास, लाइट आवश्यकता अनुसार मिलाउन सकिने, २०.२५ सीएम टचस्क्रीनको इन्फोटेन्मेन्ट सिस्टम, मल्टिमिडिया इक्विप्टमेन्ट लगायत धेरै नयाँ सुविधा रहेका छन् । ग्रान्ड आई १० नियस दश भेरियन्टमा उपलब्ध छन् । सात ओटा पेट्रोल इन्जिन र अन्य तीन ओटा डिजल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । याे सेगमेन्टका कार विभिन्न ६ कलरमा उपलब्ध छन् । त्यसका फायरी रेड, पोलार ह्वाइट, ताइफुन सिल्भर, टिटान ग्रे, अक्वा टिल र अल्फा ब्ल्यू रहेका छन् । १.२ लिटरको पेट्रोल इन्जिन भएको कार ११९७ सीसी क्षमताको छ भने १.२ लिटर डिजल इन्जिन भएका कारमा ११८६ सीसी क्षमता छ । कम्पनीले ५ वर्षसम्म वा एक लाख किलाेमिटरसम्मकाे इन्जिन वारेन्टी गरेकाे छ ।

टेलिकमद्वारा दुर्गम क्षेत्रमा बिटीएस प्रणालीमार्फत सेवा सञ्चालन

खाँदबारी । सङ्खुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले चार बिटीएस टावर जडान गरेको छ । मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बिटीएस टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ । भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो । दुर्गमको समस्यालाई मध्यनजर गर्दै चार स्थानमा सेवा विस्तार गरिएको टेलिकमका प्रमुख राधारमण भट्टराईले बताएका छन् । टेलिकमले मकालु गाउँपालिका–५ अरुण तेस्रो ड्यामसाइड फयाक्सिन्दा, चिचिला गाउँपालिका–२ इम्चुङ, मादी नगरपालिकाको मावादीन र खाँदबारी–३ को मानेभञ्ज्याङमा टावर जडान गरेको जनाएको हो । पहाडी भू–भागमा धेरैजसो डाँडाकाँडाले छेकिने भएका मोबाइल फोन चल्न नसकेपछि स्थानीयवासीले टावरको माग गरेका थिए । मोबाइल फोन नटिप्ने सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा समेत बिटीएस टावर थप्ने अन्तिम तयारी भइरहेको टेलिकमले जनाएको छ । खाँदबारीमा रहेको टेलिकम शाखाले सङ्खुवासभा र भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिरहेको प्रमुख भट्टराई बताउँछन् । अहिले उक्त स्थानहरुमा सौर्य उपकरणका भरमा बिटीएस प्रणालीमार्फतसेवा सञ्चालन गरिएको हो । भोटखोलाको किमाथाङ्कामा रहेको टावर प्रत्यक्ष भिसेट (स्याटेलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईले जानकारी दिए । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सौर्यबत्तीकै भरमा बिटीएसबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । उनका अनुसार जिएसएम आठ, सिडीएमए पाँच र ल्याण्डलाइन सेवा पाँच स्थानबाट सञ्चालन भएका छन् । रासस

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक आजदेखि

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबार अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयामिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ । बैठकमा भाग लिन भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेरपछि राजधानी आइपुग्ने कार्यक्रम छ । आजै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि आयोजना हुने संयुक्त आयोगको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्वका साथ मन्त्री जयशङ्करले सहअध्यक्षतासमेत गर्ने भएका छन् राससलाई प्राप्त जानकारीअनुसार, सहसचिवस्तरमा दुवै देशका अधिकारीहरुबीच मङ्गलबार र बुधबार भएको तयारी बैठकका विषयलाई मजबुत बनाई मन्त्रीस्तरमा हस्ताक्षरका लागि प्रस्तुत गरिनेछ भने खाद्य सुरक्षासम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । यसैगरी, भूकम्पपछिको पुनःनिर्माण तथा तराईमा निर्माण हुने सडकका लागि आर्थिक सहायतासम्बन्धी दुई बेग्ला–बेग्लै परियोजनाका निम्ति भारत सरकारले नेपाल सरकारलाई आर्थिक सहायता उपलब्ध गराउने छ । आर्थिक सहायतासम्बन्धी चेक पनि हस्तान्तरण हुनेछ । रासस

देशैभरि चार्जिङ स्टेशन खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले विद्युत खपतलाई बढाउन र विद्युतीय सवारीलाई प्रोत्साहित गर्न देशभरि नै चार्जिङ स्टेशन संचालन गर्ने भएको छ । पछिल्लो समय देशमा उत्पादित विद्युत बढदै गएको तथा इन्धन आयातका कारण व्यापार घाटा चुलिन थालेपछि सरकारले यस्तो योजना अघि सारेको हो । गत पुसमा सरकारले ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो । उक्त विद्युतीय बस संचालन गर्न देशैभरि चार्जिङ स्टेशन स्थापना गर्न गृहकार्य अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले बताए । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा भन्दा विद्युतीय सवारी साधानमा कम खर्च लाग्ने उनले बताए । विद्युतीय बस संचालन गर्दा मुलुकबाट इन्धनका लागि बाहिरिने रकम जोगिन्छ,’ उनले भने-‘हामी अब विद्युतमा विस्तारै आत्मनिर्भर बन्दैछौं ।’ चालु आवको अन्त्यसम्म राष्ट्रिय प्रसारण प्रणालीमा थप एक हजार २०० मेगावाट भन्दा बढी विद्युत् जोडिदै छ । विद्युत खपत बढाउन सके इन्धन खर्चमा केही कटौती हुने थियो । अब किनेर इन्धनबाट सवारी चलाउनु भन्दा वातावरणमैत्री सवारी साधानमा जोड दिन यो कदम अघि सारिएको हो । ‘त्यसो त सरकारले विद्युतीय सवारी साधन खरिदमा कर छुट समेत दिएको छ,’ उनले थपे । सरकारले साझा यातायात खरिद गर्नका लागि ३ अर्ब रुपैयाँ समेत विनियोजन गरेको छ । सरकारले यस अघि चालु आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकाको २० स्थानमा विद्युतीय सवारी साधनका लािग चार्जिङ स्टेशन निर्माण गर्ने भएको जनाइएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिएको छ, मन्त्री पुनले थपे । चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक प्रक्रिया शुरु गरिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माणका लागि प्राधिकरणले काम शुरु गरिसकेको छ । सरकारले चार्जिङ स्टेशन खोल्न गृहकार्य अघि बढाएपनि चार्ज गर्दा तिर्नुपर्ने महशुलको विषयमा भने हालसम्म निर्णय गर्न सकेको छैन । यस विषयमा प्राधिकरणले छिट्टै निर्णय गर्न सक्नेछ ।

नेपालकै लामो झोलुङ्गे पुलको निर्माण शुरु, करिब ७ कराेडकाे लगानीमा हिमशिखर कन्ट्रक्सनलाई जिम्मा

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक साढे आठ घण्टा पर्वत–बेनी–मुस्ताङ सडकखण्ड बन्द गरिने भएको हो । पर्वत–बेनी–मुस्ताङ सडकखण्ड माथिबाट निर्माण हुने झोलुङ्गे पुलको आवश्यक लठो तान्नका लागि सहायक जग निर्माण गर्नुपर्ने र त्यस क्रममा ढुङ्गा, माटो सडकमा खस्ने सम्भावना भएका कारण नौ दिनसम्मका लागि उक्त सडकखण्ड साढे आठ घण्टा बन्द गरिने भएको हो । भिरमा सहायक जग (फाउण्डेशन) निर्माण गर्दा निस्कने चट्टान तथा माटो सोझै सडकखण्डमा खस्ने भएका कारण सम्भावित दुर्घटनाप्रति सजगताका लागि सडक बन्द गर्ने निर्णय गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताएका छन् । यही भदौ ५ गतेदेखि १३ गतेसम्म बिहान ७ः०० देखि ९ः०० बजे र त्यसपश्चात बिहान १०ः०० देखि अपराह्न साढे ४ः०० बजेसम्म कुश्मा–१ मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणकार्यलाई तीव्रता दिन लागिएको नगर प्रमुख पौडेलले जानकारी दिएका हुन् । सडक बन्द हुँदा म्याग्दी र मुस्ताङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन उक्त समयमा छुट्न सक्ने छैनन् । यस क्रममा पर्वतको मालढुङ्गा, जलजला हुँदै बेनी, म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ बजार हुँदै म्याग्दीको रत्नेचौरदेखि बेनी जाने वैकल्पिकमार्ग प्रयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए । कार्यालय, विद्यालयबाट आवतजावत गर्ने समयलाई ध्यानमा राखेर निर्माणकार्यले समेत गति लिने गरी समय तालिका तय गरिएको नगरप्रमुख पौडलेले बताएका छन् । पुल निर्माणको जिम्मा पाएको हिमशिखर कन्ट्रक्सनले बागलुङ खण्डको जग (फाउण्डेशन)को काम सकेर पर्वत खण्डमा धमाधम काम गरिरहेको छ । पर्वत खण्डमा काम गर्दा सडक बाधक बनेका कारण प्रशासन तथा सम्बन्धित नगरपालिकालाई सडक बन्द गरिदिन आग्रह गरिएको हिमशिखर कन्ट्रक्सनले जनाएको छ । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल ५६७ मिटरको हुनेछ भने १३८ मिटर उचाइको हुनेछ । उक्त पुल रु छ करोड ९१ लाखको लागतमा ब्रिज सस्पेन्सन डिभिजन कार्यालय काठमाडौँले निर्माण गर्न ठेक्कामार्फत हिमशिखर कन्ट्रक्सनलाई जिम्मा दिएको हो । रासस

सुनको मूल्य ३ सयले बढ्यो, प्रतितोला ७१ हजार ३ सयमा कारोबार

काठमाडौं । साताको पहिलो दिन ७१ हजारले  विक्री भएकाे सुन बुधबार ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भईरहेको छ । साेमबार र मंगलबार सुन अघिल्लाे दिनकै मूल्यमा काराेबार भएकाे थियाे ।  पछिल्लो समय सुनको मूल्य वृद्धिसँग बजार तथा उपभोक्तालाई असर परिरहेको छ । यस्तै बुधबार तेजावी सुन प्रतितोला ७१ हजार १ सयमा बिक्री वितरण भई रहेको छ । चाँदी प्रतितोला ८३० रुपैयाँमा विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।