१८ करोड हिनामिना गरेको आरोपमा देव विकास बैंकका प्रबन्धक बुढाथोकी पक्राउ
घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई पक्राउ गरेकाे छ । बैंकको करिब रु १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित बुढाथोकीले बैंकको रु १७ करोड ९९ लाख हिनामिना गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको उजुरीका आधारमा लमहीबाट उनलाई पक्राउ गरिएको हो । बुढाथोकीले ३५ जना नक्कली ऋणी तयार गरी आफूलाई फाइदा हुने गरी बैंकबाट पैसा झिकेको बैंकले जनाएको छ । आरोपित बुढाथोकीलाई थप अनुसन्धानका लागि आजै नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ । दाङमा वाणिज्य इजलास नभएकाले नेपालगञ्ज पठाइन लागिएको प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । घोराही–१५ भरतपुर निवासी बुढाथोकी २०६७ देखि बैंकमा कार्यरत थिए । डेढ वर्षअघि मात्रै उनी प्रबन्धकका रूपमा नियुक्त भएको बताइएको छ । रासस
काठमाडौं-तराई द्रुतमार्गको डिपिआर स्वीकृत, अनुमानित निर्माण लागत पौने २ खर्ब
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं-तराई/मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ । कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रूतमार्गको अनुमानित निर्माण लागत मूल्य अभिवृद्धिकरसहित रु एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार रहेको छ । नेपाल सरकारको प्रचलित दररेट र नियमका साथै अन्तर्राष्ट्रिय मापदण्डलाई समेत आधार मानी लागत अनुमान तयार भएको जनाइएको छ । सडक निर्माणको खास लागत भने रु एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार लग्ने प्रारम्भिक अनुमान गरिएको छ । नेपाली सेनाको व्यवस्थापनमा उच्च प्राथमिकताका साथ द्रुतगतिमै कार्यान्वयन हुने उक्त आयोजनालाई गुणस्तरसहित निर्धारित समयमै सम्पन्न गर्न डिपिआरलाई महत्वपूर्ण र आधारभूत दस्तावेजका रुपमा लिइन्छ । डिपिआर स्वीकृत भएसँगै साबिकको ७६ दशमलव २ किमीबाट ३ दशमलव ७ किमी कम भई ७२ दशमलव ५ किमी कायम भएको उक्त दु्रतमार्गमा महादेव डाँडा, धेद्रे डाँडा र लेन डाँडामा गरी तीन वटा सुरुङ बन्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । तीन वटा सुरुङको लम्बाइ ६ दशमलव ४१ किमी छ भने ठूला अग्लासहित ८७ वटा पुल उक्त मार्गमा रहनेछ । पाँच महिनासम्म उक्त डिपिआर स्वीकृत नहुँदा कामले तीव्रता पाउन नसकी अघिल्लो वर्ष विनियोजन भएको रु १५ अर्बमध्ये रु नौ अर्ब रकम फिर्ता भएको थियो । प्रारम्भिक चरणका काम एसियाली विकास बैंकद्वारा तयार गरिएको सम्भावित अध्ययन र प्रारम्भिक डिजाइन तथा सेनाले बनाएको विस्तृत इञ्जिनीयरिङ सर्भे र अलाइमेन्ट डिजाइनका आधारमा काम हुँदै आएको थियो । चार लेनमा निर्माणाधीन सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर हुनेछ । खोकना, बुदुने र निजगढमा गरी तीन वटा इन्टरचेन्ज र दुई विश्रामस्थल हुने पनि उनले बताए । खोकना क्षेत्रमा सिकाली मन्दिर र कोदेशमा पुरातात्विक महत्वको क्षेत्र जोगाउने गरी शुरुमा प्रस्तावित सडकको रेखाङ्कनमा केही संशोधन गरी नयाँ रेखाङ्कन प्रस्ताव गरिएको छ । पुल र सुरुङबाहेक ५५ दशमलव ५ किमी लम्बाइ रहने उक्त द्रुतमार्गको २५ दशमलव ४४ किमीमा सबग्रेड फर्मेशनसम्मको निर्माणको प्रगति शत्प्रतिशत, १० किमी क्षेत्रमा ८० प्रतिशत, १६ किमी खण्डमा ५० देखि ८० प्रतिशत सम्मको प्रगति रहेको छ । दु्रतमार्गका लागि हालसम्म जग्गा अधिग्रहणको कार्य ९६ प्रतिशत एवं रूख कटान ९७ प्रतिशत प्रगति भएको प्रवक्ता पाण्डेले बताएका छन् । उक्त आयोजनाका लागि चालू आवमा रु १५ अर्ब बजेट विनियोजन भएको छ । मन्त्रिपरिषद्को उक्त बैठकले द्रुतमार्गको निर्माण अघि बढाउन नेपाली सेनालाई स्वीकृति दिने र आयोजनाको सडक रेखाङ्कनमा केही परिवर्तन गर्न पनि स्वीकृत दिने निर्णय गरेको थियो । डिपिआर स्वीकृत भएसँगै आयोजनाको कार्यले तीव्रता पाउने नेपाली सेनाले जनाएको छ । उक्त दु्रतमार्ग निर्माणका लागि नेपाली सेनाले १० स्थानमा शिविर खडा गरेर काम गर्दै आएको छ । यसअघि उक्त दु्रतमार्गको ‘ट्र्याक’ पनि नेपाली सेनाले नै खनेको थियो । उक्त आयोजनालाई नेपाली सेनाले अवसर र चुनौतीका रुपमा लिएर काम गरिरहेको जनाएको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्वको आर्थिक रुपान्तरणकारी आयोजनाको रुपमा हेरिएको दु्रतमार्गको निर्माणले मुलुकको विकासमा कायाँपलट ल्याउने विश्वास गरिएको छ । रासस
भेरी–बबई आयोजनाः सरकारको न्युन दरप्रति बासिन्दाको आक्रोश, मुआब्जा बहिष्कार गर्ने चेतावनी
सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले चल्तीको दरभन्दा निकै कम मूल्य तोकेको भन्दै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् । यही साउन २९ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले प्रतिकट्ठा न्यूनतम रु चार लाख ५० हजारदेखि १० लाखसम्म तोकेको थियो । मुआब्जा निर्धारणपूर्वको छलफलमा स्थानीयवासीले प्रतिकट्ठा न्यूनतम रु १५ लाखदेखि २० लाखका दरले मुआब्जा दिनुपर्ने माग राखेका थिए । जग्गाधनी समन्वय समितिका संयोजक हरिमान घलेले सरकारले तोकेको मुआब्जा लिनु र नलिनुको केही अर्थ नभएको बताएका छन् । “पुनःमूल्याङ्कन नगरे आन्दोलनमा जान बाध्य हुनेछौँ”, उनले भने, “प्रतिकट्ठा १२ लाखसम्म दिँदा पनि हामी सहमत थियौँ, तर सरकारले भने निकै न्यून दर राखेर सूचना प्रकाशित गर्यो, जुन हामीलाई स्वीकार्य छैन ।” अर्का जग्गाधनी टङ्कप्रसाद पाण्डेले मुआब्जा रकम हेरफेर गर्नुका साथै उठीबास हुने स्थानीयवासीलाई रोजगारी व्यवस्था गर्न माग गरे । “बाँध बाँध्नु अघि प्रभावित परिवारका एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्छ, नत्र मुआब्जा बहिष्कार गर्छौं”, उनले भने । जग्गाधनीको समूहले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई मुआब्जा पुनर्विचार गर्न ज्ञापनपत्र बुझाइसकेको छ । अधिग्रहण हुने १६ हेक्टर क्षेत्रमा १०० घरपरिवार छन् । आयोजनाले बाँध निर्माणस्थल सुर्खेतको भेरीगङ्गा, गुर्भाकोट र लेकबेंसी नगरपालिकामा पर्ने १६ हेक्टर जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरु गरेको छ । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमि लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा नं ११ हात्तीखालस्थित बबई किनारमा भेरीको पानी खसालिँदैछ । भेरीबाट प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ । कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले तीव्रतासाथ निर्माण अघि बढिरहेको राष्ट्रिय गौरवको आयोजनामा देखिएको मुआब्जा विवाद तत्काल सुल्झाउनुपर्ने बताए । आयोजनाको पहिलो चरणमा सुरुङ निर्माणको काम गत चैत महिनामै सकिएको थियो । दोस्रो चरणअन्तर्गत सिभिलको काम शुरु भइसकेको छ । चिनियाँ निर्माण कम्पनी ग्वाङ्डङ युन्टिन र नेपालको रमण निर्माण जेभीले रु छ अर्ब १६ करोडमा दोस्रो चरणको काम शुरु गरिसकेका छन् । रासस
‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्यलाई सिभिलको सम्मान
काठमाडौँ । सुन्धारास्थित सिभिल मलले भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्यलाइ सम्मान गरेको छ । सम्मान समारोहमा आचार्यलाई सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले पनि उपहार प्रदान गरेका थिए । सिभिल मलको प्रवद्र्धनात्मक कार्यक्रम ‘सिभिल मल सपिङ्ग फिएस्टा २०१९’ को अन्तिम दिन पारेर गरिएको सो कार्यक्रममा बाल गायक आचार्यले प्रतियोगितामा गाएका विभिन्न गीतहरू प्रस्तुत गरे । सोही अवसरमा गोला प्रथाबाट विभिन्न उपहार विजेताको घोषणा पनि गरियो । जसअनुसार विर्तामोडकी अञ्जु आचार्यले यमाहा एफ जेड एस १५० जितिन्भने काठमाडौंका कृतांश पाण्डेले एल जी टेलीभिजन र पाटनका रेयांशले एल जी रेफ्रिजरेटर प्राप्त गरे । यमाहासँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्टोरहरूलाई सिभिल मलले धन्यवाद ज्ञापन गरेको छ ।
जनता बैंकद्वारा जनभोजनका लागि प्रेमसागर फाउण्डेसनलाई २ लाख सहयोग
काठमाडौं । जनता बैंकले प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (फुड फर पिपुल) लाई २ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर र धादिङमा एक कार्यक्रमका बीच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरेको हो । प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउदै आएको छ । साथै, धादिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम समेत संचालन गरेको छ । दैनिक करिव रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कार्यक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । यसरी, धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तीलाई लक्षित गरी करिब १० वर्ष अगाडि देखि प्रेम सागर फाउण्डेसनले विद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना तथा खाजाको व्यवस्था गर्दै आइरहेको छ । उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका शत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ ।
स्वस्थ परीक्षण नगरिएको खसीबोका नेपालमा नभित्राउने कृषिमन्त्रीकाे अडान
काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परिक्षण नगरी खसीबोका नेपाल ल्याउन नदिने बताएका छन् । बुधबार काठमाडौमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माण सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खनालले भने, मानव स्वास्थ्यमा रोग हुल्ने गरी नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने अडान लिएका हुन् । नेपाल विश्व स्वास्थ संगठनमा गएको राष्ट्र भएकोले खसीबोका आयातमा प्रतिबन्द नलगाएको भन्दै मन्त्री खनालले स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने बताए । निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको मन्त्री खनालको भनाइ छ । दशैमा त देख्लास भनेका छन्, मन्त्री खनालले भने, ‘ केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्म निर्भर छौ त्यसैमा जोड गर्नु पर्ला भनेको छु ।’ हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भएकोले आफै उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने उनको भनाई छ । बधशाला सार्वजनिक, निजी, उत्पादन साझेदारी मोडल अन्तर्गत संचालित गर्न स्थानीय सरकारहरु विराटनगर, भरतपुर, पोखरा, बुटबल र कोहलपुरसँगको सहकार्यमा ५ वटा निर्माण हुने सहमति भएकाे हाे । कार्यक्रममा उक्त बधशाला निर्माण गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर भएको छ । त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोड भन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको जानकारी दिए ।
सानिमाले ल्यायो वार्षिक धनफिर्ता (अग्रिम भुक्तानी सावधिक) बीमा योजना
काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटडले सानिमा वार्षिक धनफिर्ता(अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना शुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सकिन्छ । यस योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । न्युनतम बीमाड्ढ एक लाख रुपैयाँ र अधिकतम बीमाड्ढ आयश्रोतको आधारमा निर्धारणा हुने कम्पनीले जनाएको छ । बीमा सुबिधा रकम पाउने अवस्था १५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ६ प्रतिशतका दरले भूक्तानी गरिन कम्पनीले जनाएको छ । त्यसैगरी २० वर्ष अवधिको लागि जीवनबीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ५ प्रतिशतका दरले प्रदान गरिनेछ । यसरी प्राप्त रकमबाट भैपरी आउने सामाजिक गर्जो टार्न, बालबालिकाको शिक्षामा खर्च गर्न र नविकरण बीमाशूल्क भूक्तानी गर्न समेत सहयोग मिल्ने छ । दुवै अवधिको बीमा योजनाअन्तर्गत बीमा समाप्ती मितिमा अग्रीम भुक्तानी गरी बाँकी रहेको बीमाड्ढ र पूरा अवधिको आर्जित बोनस एकमुष्ट प्रदान गरिने छ । कम्पनीका अनुसार बीमा अवधिभित्र बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यू भएमा आग्रिम भुक्तानी गरेको रकम कट्टान गरी सतप्रतिशत बीमाड्ढ र समानुपातिक आर्जित बोनस एक मुष्ट बीमितको इच्छाएको व्यक्ति वा सो नभए बीमा ऐन २०४९को दफा ३८ अन्तर्गतको कानूनी हकवालालाई भुक्तानी गरिनेछ ।
ग्राण्डी अस्पतालमा तिजको अवसरमा भिटामिन-डि परीक्षणमा ५० प्रतिशत छुट
काठमाडौं। तिजको अवसर पारेर ग्राण्डी अस्पतालले भिटामिन-डी टेस्टमा ५० प्रतिशत छुट व्यवस्था गरेको छ। अस्पतालले भाद्र अन्तिम सम्म छुटको व्यवस्था गरेको हो। अस्पतालले परीक्षण शुल्क ३५ सय तोकेको छ। यस अघि यसको शुल्क सात हजार रहेको थियो। परीक्षण भित्र महिला रोगको परामर्श, मधुमेह जाँच, रगत परीक्षण, लिपिड प्रोफाइल अर्थात कोलेस्ट्रोल जाँच, महिलाको पाठेघरको जाँच, अल्ट्रासाउन्ड, थाईरोड परीक्षण गरिनेछ। रमाइलोसँगै अस्पतालले महिलालाई स्वास्थ्यमा बिशेष ध्यान दिन जरुरी रहन सचेत गराउँदै छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ। भिटामिन ‘डी’ शरीरका लागि निकै जरुरी छ । यसले शरीरमा क्याल्सियम नियन्त्रित गर्ने काम गर्छ, जसले तन्त्रिकाको कार्य प्रणाली तथा हड्डीलाई मजबुती प्रदान गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । शरीरमा भिटामिन डीको कमीको लक्षण देखिने गरी आउँदैन । त्यसैकारण मानिसलाई भिटामिनको कमीका कारण हुनसक्ने रोगहरूबारे सजिलै थाहा पाउँदैनन्। त्यसैले चिकित्सकहरू भिटामिन डीको नियमित चेकजाँच गर्न तथा भिटामिन ‘डी’ युक्त भोजन सेवन गर्न सल्लाह दिने गर्दछन्।