विकासन्युज

ज्योति विकास बैंकले एकैदिन उद्घाटन गर्यो तीन नयाँ शाखा, काठमाडाैंमा दुई र ललितपुरमा एक

राताेपुल शाखाकाे उद्घाटन गर्दै संचालक समितिका सदस्य जगदीश्वरप्रसाद अधिकारी काठमाडौं । ज्योति विकास बैंकले एकैदिनमा ३ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकले पुस १४ गते सोमबार मात्रै ललितपुर महानगरपालिकाको झम्सीखेल, नागार्जुन नगरपालिकाको सीतापाईला र काठमाडौं महानगरपालिकाको रातोपुलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो। ललितपुरको झम्सीखेल शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् । उद्घाटनमा बोल्दै चिरीबाबु महर्जनले बैंकिङ्ग क्षेत्र निकै संवेदनशील रहेको र राष्ट्र बैंकको नियम र अनुशासनमा रहनुपर्ने व्यवस्थाकोबीच यस क्षेत्र सशक्त रुपमा अघि बढेको कुरामा जोड दिएका छन् । साथै, उनले ज्योति विकास बैंकले पनि सोहि अनुरुपको अनुशासनमा रहि उत्कृष्ट सेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् । झम्सीखेल शाखाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन त्यसैगरी, सीतापाईला शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुवकुमार उप्रेतीले गरेका छन् भने रातोपुल शाखाको उद्घाटन संचालक समितिका सदस्य जगदीश्वरप्रसाद अधिकारीले गरेका छन् । बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यकासाथ ज्योति विकास बैंकले ३ नयाँ शाखा संचालनमा ल्याएको हो। उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले आवश्यक न्यूनतम चुक्ता पूँजीभन्दा बढी चुक्ता पूँजीसहित अत्यन्त सबल पूँजीकोष कायम राख्दै एक विशिष्ट वित्तीय संस्था निर्माण गर्ने दिशामा अघि बढेकोले अन्य वित्तीय संस्थाहरुसँग विलय नभई आफै सशक्त रुपले अघि बढ्ने जानकारी दिएका छन् । साथै, व्यवासायिक नाफाभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य गर्न एक विशिष्ट कोष खडा गरी समस्त नागरिकरुको हितमा कार्य गर्न ज्योति विकास बैंक तत्पर रहेको उनले बताए। सीतापाईला शाखाको उद्घाटन गर्दै बैंकका पूर्वअध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुवकुमार उप्रेती हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्ट र तथा ४३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै, यस आर्थिक वर्षभित्रनै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३१अर्ब रुपैयाँभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्बभन्दा बढि लगानी गर्न सफल भएको कम्पनीले जनाएको छ ।

एनसीसी बैंकले सञ्चालनमा ल्यायाे मोरङ्गकाे रंगेली शाखा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा १२१औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुस १४ गते(सोमबारदेखि) उक्त शाखा संचालनमा ल्याएको हो । बैंकले रंगेली र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले उक्त स्थानमा शाखा खोलेको हो । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकको सिमरा शाखा उद्घाटन, ओद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने

काठमाडौं । गरिमा विकास बैंकले जितपुर सिमरा उप-महानगरपालिकावडानं.-२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सोमबार(पुस १४ गते) नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको ओद्योगिकरण गरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको ओद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताएका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधासहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताएका छन् । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३३ अर्ब कर्जा लगानी गरेको छ ।

कृषि उत्पादनमा वृद्धि गरि कसरी रोजगारी सृजना गर्न सकिन्छ ?- कृषि मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले आफै नगरी नहुने, कृषिको समस्या नसुल्झीकन मुलुक विकसित नहुने र विकास गर्न संभव समेत नहुने बताएका छन् ।  मन्त्री भुसालले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको “नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका” विषयक अन्तर्क्रियामा उक्त कुरा बताएका हुन् । मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरि कसरी रोजगारी सृजना गर्न सकिन्छ त्यसबारे निजी क्षेत्रको राय माग गर्दै सबै सरोकारवालासँग छलफल गरी कृषिको विकासमा आफू दृढ संकल्पित रहने दृढता व्यक्त गरे । निजी क्षेत्रले समेत असल अभ्यास नगरेको कारण समेत केही क्षेत्रमा हाल समस्या देखिएको बताउँदै उनले समाधानका लागि एकिकृत रुपमा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र मिली सम्बोधन गरिने बताए । साथै मन्त्री भुसालले आर्थिक उपार्जन गर्ने कृषि क्षेत्र बलियो नभै मुलुक विकसित नहुने र परम्परागत सोच, शैली र व्यवहारमा परिवर्तन नगरी कृषिलाई बढी रोजगारमूखी बनाउनुपर्ने बताए । सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कृषिकर्जाको सहज,सरल र सस्तोमा उपलब्धता हुनु पर्ने उल्लेख गरे । उनले कृषि बिज, बिउहरु खरीद गर्न सस्तो सुलभ र सहुलियनपूर्ण व्यवस्था हुन सरकारले अनुदान दिनु पर्ने बताए । कृषि उत्पादनमा भन्सार शुल्क वृद्धि हुँदा उपभोक्ता बढि मारमा पर्ने हुदा नेपालमा नै कृषि वस्तु उत्पादन भएमा आयातित वस्तु प्रतिस्प्रर्धी हुन नसक्ने अध्यक्ष श्रेष्ठको भनाई थियो । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना सफल बनाउनुका साथै प्याज अभियानको रुपमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा चेम्बर समितिका सभापति कृष्णमान श्रेष्ठले कृषि क्षेत्रमा सस्तो ब्याजदर, बजारीकरण, श्रम लागत श्रमिकले आफै लिन सक्ने, नार्कको भूमिका, प्राइभेट लिमिटेडमा आयकर छुट दिनुपर्ने, अनिवार्य प्यानको व्यवस्था कृषिमा हट्नुपर्ने, बीमा कृष मैत्री हुनुपर्ने, कृषि कर्जाको संरक्षण हुनुपर्नेमा बुँदागत सुझाव पेश गरे । सो अवसरमा चेम्बरका पदाधिकारी, कृषि समितिका सदस्यहरु, कृषि उद्यमी व्यवशायी र निजी क्षेत्रका सरोकारवालहरुले समेत आफ्नो सुझाब पेश गरेका थिए ।

बैंकिङ्ग क्षेत्रका नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन उद्योग परिसंघ र बैंकर्स संघबीच सम्झौता

काठमाडौं । निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ । परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहको बताए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकिङ्ग क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए । समझादारी अनुसार, उद्योग परिसंघ र बैंकर्स संघले दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना गर्ने भएका छन् । त्यस्तै, वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमासाझा हितका विषयमा सरोकारवालाहरुसँग सयुक्त रुपमा संवाद तथा छलफल गर्ने भएका छन् ।

नेपाल भ्रमण वर्ष दिगो पर्यटन विकासको आधार हो : पर्यटन मन्त्री भट्टराई

सर्वप्रथम सबैलाई नयाँ वर्ष २०२० को शुभकामना व्यक्त गर्न चहान्छु । यहाँहरुलाई जानकारी नै छ, ‘नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौंको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदैछ । ठिक त्यही दिन सातै वटा प्रदेशहरुमा पनि एक साथ ‘नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ हुनेछ । हामीले यसका लागि आवश्यक तयारी पूरा गरेका छौँ । यहाँहरुलाई थाहा छ, म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ । त्यसयताका अधिकांश मेरो समय यही ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारीमा खर्चिएँ । यसबीचमा अनेकौं छलफल र बैठकहरु सम्पन्न गरेका छौँ । करिब एक सय भन्दा बढी संघ, संस्था, सरकारी तथा सरोकारवाला निकायहरुसँग छलफल गर्यौँल । निजी क्षेत्र, गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय क्षेत्र, नेपालस्थित कुटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठनलगायतका अनेकौं क्षेत्रहरुसँग हामीले छलफल गर्यौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ । वास्तवमा देशभित्र भएका ती छलफलहरु २० लाख पर्यटक कसरी भित्र्याउने, केवल त्यसमा मात्रै केन्द्रित थिएन । राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा कसरी मनाउन सकिन्छ रु राष्ट्रिय महाअभियानको रुपमा कसरी लैजान सकिन्छ ? के के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ? र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरु कसरी पूरा गर्न सकिन्छ ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक र सामाजिक असमानताहरुको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ । हाम्रो ध्यान र छलफल त्यतातिर केन्द्रित थियो । र, त्यसै तर्फ केन्द्रित हुनेछ । हाम्रो प्रयास र प्रयत्न सिङ्गो मुलुकलाई उत्सवमय बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । विश्वभरीका लगानीकर्ताहरुलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो । हरेक नेपालीहरुलाई यो अभियानमा जागरुक र उद्देलित बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनु हो । विश्वभरीका लगानीकर्ताहरुलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो । हामीले विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौँ । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउने छ रु पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्ने छ रु समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कस्तो योगदान दिनेछ रु पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ ? यही प्रश्नहरुलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ । आगामी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरुको वास्तविक समाधान पनि हुँदै जानेछ । आजसम्मका अनेकौं छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले हामीलाई उत्साही नै बनाएको छ । ‘नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साहीत छौँ । सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नु भएको प्रतिबद्धताले हामीलाई थप उर्जा थपिएको छ । हामीले छलफलकै क्रममा सबै राजनीतिक दलका प्रमुखहरुसँग पनि छलफल गरेका छौँ । यसलाई राष्ट्रिय उत्सवकै रुपमा लैजानुपर्नेमा उहाँहरुको जोड छ । सरकार यो अभियानको सहजकर्ता र व्यबस्थापक मात्रै हो, सिंगो देश यो अभियानको आयोजक हो । सबै राजनीतिक दल, नीजि क्षेत्र, सामाजिक संघ संस्थाहरु, गैरसरकारी संस्थाहरु सबै आयोजक हुन् । हामीले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग मन्त्रालयमा छलफल गरेका छौँ । महामहिम राजदूतहरुले साँच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रिया सहित खुशी व्यक्त गर्नु भएको छ । हामीले भनेको संख्या र सन्देश दुबैका लागि त्यो छलफल उपलब्धीमुलक ठानेका छौँ । राष्ट्रिय तथा अन्तराष्ट्रिय वायु सेवा सञ्चालकलगायत अन्तराष्ट्रिय क्षेत्रमा काम गरिरहेका अनेकौ संस्थाहरु पनि छलफल गरेका छौँ । सरकारले ‘नेपाल भ्रमर्ण वर्ष २०२०’ को शुभारम्भको दिन सबैलाई देशभरी दिवापली गरेर स्वागत गर्न आह्रवान गरेको छ । सबै सरकारी निकाय, नीजि क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कुटनीति नियोगका कार्यालहरुमा सबैले दिपवाली गर्नुहुनेछ । त्यो दिपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको संकेत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाईहरु मार्फत आम जनसमुदायलाई अपिल गर्न चहान्छु, त्यो दिन सबैले दिपावली गरौ । र, दुनियाँलाई भनौं, ‘अबको हाम्रो यात्रा उज्यालो तर्फ अघि बढेको छ ।’ ‘नेपाल भ्रमण वर्ष २०२० को तयारीदेखि शुभारम्भको पूर्व सन्ध्यामा आइपुग्दासम्म अर्को खुशीको बिषय हो । वास्तवमा यो देशको प्रतिष्ठासँग गाँसिएको कार्यक्रमको रुपमा लिएर तपाईहरुले यसको प्रचारमा गर्नुभएको सकारात्मक योगदान असाध्यै प्रशंसायोग्य छ । देशलाई भ्रमण वर्षमय मनाउनका निम्ति साँच्चीकै सञ्चार क्षेत्रको पनि अभुतपूर्व एकता र सहयोग देखिएको छ । पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौं, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्ने छौँ । २०२० देखि २०३० लाई पर्यटन दशकको रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ । सरकारको त्यो दशक अभियानमा यहाँहरुको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ । ‘नेपाल भ्रमर्ण वर्ष २०२०को शुभारम्भ यही १ जनवरी (पुस १६ गते बुधबार) दशरथ रंगशालामा सम्माननीय सम्माननीय राष्ट्रपतिज्यूबाट हुनेछ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा सम्माननीय उपराष्ट्रपति ज्यू, पूर्वप्रधानमन्त्रीज्यूहरु, राजनीतिक दलका नेताज्यूहरु, बिभिन्न देशबाट पाल्नु भएका माननीय पर्यटनमन्त्रीज्यूहरु, संघीय सरकारका माननीय मन्त्रीज्यूहरु, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीयज्यूहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु कूटनीतिक नियोगका प्रमुखज्यूहरु, विदेशी नियोगका प्रमुखज्यूहरु, विभिन्न देशबाट पाल्नु भएका प्रतिनिधिज्यूहरु उपस्थीति रहनेछ । शुभारम्भमा सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघ संस्थाहरु, सामाजिक क्षेत्र, स्वयमसेवी समूह–संगठन, सामाजिक संघ संस्थाहरुको ब्यानर र पोशाक सहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको विशेष प्रस्तुती रहनेछ । नेपालको ख्यातीप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुती रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलक प्रस्तुतीहरु रहनेछन् । १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौँ । अब मु्लुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको छ । पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधार मध्येका एक बनाउने सरकारको योजना छ । पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौँ । पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्राण्डिङ्ग हाम्रो प्राथमिकता हो । मानव शंसोधनको विकास, सांस्कृति सम्पदाहरुको विकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिदै आएका छौँ । नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरीवी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित छ । ‘नेपाल भ्रमण वर्ष २०२० सँगसँगै हामी यी कामहरुलाई अघि लैजानेछौँ । यो यात्रामा तपाई हामीसँगै र साथै रहनेछौँ । ‘नेपाल भ्रमण वर्ष २०२०’को तयारीको सन्दर्भमा सहयोग पुर्याटउने बिभिन्न मन्त्रालयका माननीय मन्त्रीज्यूहरुप्रति म आभार प्रकट गर्दछु । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयलाई धन्यवाद भन्न चहान्छु । बिभिन्न सरकारी निकाय, पर्यटनसँग सम्बद्ध बिभिन्न संघ, संगठन, पर्यटन व्यवसायीहरु, निजी क्षेत्रसँग सम्बद्ध संघ संस्थाहरु, समग्र निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सामाजिक संघ–संगठन, स्वंयसेवी संस्थाहरु सबैलाई धन्यवाद भन्न चहान्छु ।साथै आगामी दिनमा पनि यहाँहरुको यस्तै साथ, सहयोग र सहभागिताको अपेक्षा समेत व्यक्त गर्दछु । (पयर्टन मन्त्री योगेश  कुमार भट्टराईले सार्वजनिक कार्यक्रममा राखेको वक्तव्यमा आधारित भएर तयार पारिएको)

‘टिभिएस म्याक्स सेमी ट्रेल’ मोटरसाइकल नेपाली बजारमा, मूल्य दुई लाख ३९ हजार रुपैयाँ

काठमाडौं । नेपालको लागि टिभिएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस म्याक्स सेमी ट्रेल नामक नयाँ मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । १२५ सीसीको उक्त मोटरसाइकलको बजार मूल्य दुई लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीको उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं हालको पिपिएल च्याम्पियन टिम चितवन राइनोजका कप्तान पारस खड्काले संयुक्त रुपमा टिभिएस म्याक्सलाई सार्वजनिक गरेका छन् । पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेल पश्चात् उनीहरुले उक्त मोटरसाइकलको सार्वजनिकीकरण गर्दै मोटरसाइकल बिक्री प्रारम्भ भएको जानकारी गराएका छन् । यो मोटरसाईकलको विशेषता भनेको रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजी हो । जसर्ले बाटोघाटो जस्तै अवस्थाको भएपनि चलाउनेलाई यही समूहको अन्य मोटरसाइकलमा जस्तो ढाड दुख्ने समस्याले पिरोल्दैन भनें जति नै लामो समय चलाएपनि थकाई नलाग्ने कम्पनीले जनाएको छ । टिभिएस म्याक्स सेमी ट्रेल मोटरसाइकलको निर्माण अत्याधिक पावर दिने गरी, सबैभन्दा बढी सुविधा मिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको छ । साथसाथै यसमा १२५ सीसीको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथ पर्याप्त सवार गर्न सकिन्छ । सोही समारोहमा मोटरसाइकल सार्वजनिक गर्दै चितवन राइनोजका कप्तान पारस खड्काले टिभिएसका मोटरसाइकलहरु नेपालको परिप्रेक्ष्यमा अत्यन्त सान्दर्भिक भएको बताएका छन् । उक्त बाइक देशभर रहेका टिभिएस शोरुमहरुमा उपलब्ध गराइने र बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

हप्तामा दुई दिन खाना नखाँदा दर्जनौं रोग चैट, धेरै वर्ष बाँच्न उपवास आवश्यक

काठमाडाैं ।  विभिन्न धर्ममा उपवासलाई निकै प्राथमिकता दिने गरिएको छ । विशेष गरेर हिन्दु र मुस्लिम समुदायमा यो चलन प्रचलित छ । भगवान्सँग वरदान माग्न धेरै मानिसहरु उपवास बस्ने गरेका छन् । यो विषय स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कुरा तपाई हामीले धेरै सुन्दै आएका छौं । तर, पुष्टी भएको भने पहिलोपल्ट हो । शताब्दी लामो अध्यनपछि यो विषय धार्मिक रुपमा मात्र नभएर स्वास्थ्यसँग पनि जोडिएको पाइएको छ । सन् १९९७ मा प्रकाशित जर्नलमा विन्डर्च र सोहोको लेख अनुसार जिन्दगीभर खानेकुराहरु क्यालोरी कम गरेर खाँदा त्यसले बढ्दो उमेर र आयुमा प्रभाव पार्न सकिन्छ । उनीहरुले खानामा क्यालोरी कम गरेर खाँदा शरीरमा हानिकारक फ्रि रेडिकल्सको उत्पादन घट्ने र त्यसले स्वास्थ्यमा धेरै फाईदा पुर्याउने कुराको उल्लेख गरेका छन् । त्यसपछि मानिस तथा जनावरहरुमा तीन प्रकारको उपवासको तरिकालाई अध्यन गरिएको थियो । पहिलो, एक दिन बिराएर गरिने उपवास, दोस्रो, हप्तामा दुई पटकसम्म गरिने उपवास र तेस्रो, दैनिक खाने खाना लामो समयको ग्याप राखेर खाने उपवास । यसमा केही पनि नखाई गरिने उपवासलाई भने जोडिएको छैन । मानिस र जनवारहरुमा गरिएको अध्ययनले अस्थाई उपवासले वजन घट्ने, शरीरमा स्वतन्त्र रेडिकलको कम उत्पादन हुनुको साथै स्वास्थ्यमा धेरै नै फाईदा भएको देखाएको छ । यसबाहेक अस्थाई उपवासले शरीरमा ग्लुकोज, तनाव प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ । उपवासको समयमा शरीरका कोषहरुले अक्सिडेटिभ स्टे«स र मेटाबोलिक स्ट्रेस प्रतिको आन्तरिक प्रतिरक्षा क्षमता बढाउनुको साथै बिग्रिएका कणहरुलाई हटाउने वा सुधार्र्ने काम गर्दछ । खाना खाने अवधिभर शरीरका कोषहरु विकास प्रक्रियामा संलग्न हुन्छन् । तर, धेरै जसो व्यक्तिहरुले दिनमा कम क्यालारीको खाना खाएपनि ३ पटकसम्म पनि खाने भएकोले त्यसलाई अस्थाई उपवास भने भन्न मिल्दैन । जनावरहरुमा गरिएको क्लिनिकल अध्ययनहरुले अस्थाई उपवासले मोटोपना, मधुमेह, हृदयरोग, क्यान्सर, मस्तिसकका नशाका रोगहरुलाई परिमार्जन गरेको पाइएको छ । जनावर र मानिसमा भएको अध्ययनको समीक्षा गर्दा अस्थायी रूपमा उपवास बस्नाले सामान्य स्वास्थ्य सूचकहरूलाई असर पार्न र ढल्कँदो उमेरको गतिलाई पनि कम गर्नसक्ने देखाएको छ । सर्वप्रथम, उपवासप्रति शरीरको पाचन शक्ति र मोलिक्युलको प्रक्रिया यस्तो रहेको छ । उपवास र पाचन प्रणालीबिचको सम्बन्ध शरीरको कोषिकाहरुको उर्जाको लागि ग्लुकोज र फ्याटी एसिड मुख्य स्रोत हुन् । खानापछि ग्लूकोज शरीरमा उर्जाको लागि प्रयोग गरिन्छ । फ्रयाट ट्राइग्लिसराइड्सको रूपमा एडिपोज टिस्यूमा भण्डारण हुन्छ । यसरी भण्डारण गरिएको फ्याटलाई आवश्यक परेको अवस्थामा प्रयोग गरिन्छ । अस्थाई उपवासको समयमा ट्राईग्लाईसरिड्सहरु फ्याटी एसिडको रुपमा परिणत हुन्छन् र त्यो उर्जाको रुपमा प्रयोग हुन्छ । कलेजोले फ्याटी एसिडलाई किटोन बडिको रुपमा परिवर्तन गर्दछ । जसले उपवासको समयमा हड्डीहरू र विशेष गरी दिमागलाई ऊर्जा प्रदान गर्दछ । खाना खाएको अवस्थामा किटोन बडिमा रगतको मात्रा कम हुन्छ र मानिसहरुमा अस्थाई उपवास सुरु भएको ८ देखि १२ घण्टाको अवधिमा त्यसको मात्रा बढ्दछ । हरेक दिन वा हप्तामा खाईएको खानामा क्योलीरी घटाएर खाएको खानाले शरीरमा किटोन बडिको मात्रा बढाउँदछ । शरीरको उर्जा स्रोतको रुपमा प्रयोग हुने ग्लुकोजको सट्टा फ्याटी एसिड र किटोन बडिको प्रयोगले शरीरको पाचन प्रणाली मजबुत गर्दछ । किटोन बडिहरुले उपवास अथवा महिनावारीको समयमा शरीरमा प्रयोग हुने इन्धनको रुपमा मात्र नभएर शरीरका कोषिकाहरु र अंगहरुको गतिविधीमा सहयोग पुर्याउँछ । उपवास र तनाव प्रतिरोधात्मक क्षमता हाम्रो दाँजोमा हाम्रा पुस्ताहरुले न त दिनको ३ पटक खाना खाए न त आसिन जिवन नै बिताए । यसको सट्टा उनीहरुले वातवरणमा पाईने धेरै प्रकारका खाद्य सामाग्री खाने गर्थे । समय बित्दै जाँदा मानिसहरु वातावरण अनुकुल परिवर्तनमा आफुहरुलाई ढाल्दै लगे जसले उनीहरुमा विकासवादी परिवर्तनहरु देखा पर्न थाल्यो । बारम्बार शरीरलाई अस्थाई उपवाससँग चिरपरिचित गराउँदा कुनै प्रकारको कार्य पछि देखिने चुनौतीहरुप्रति स्थायी रुपमा शरीरले उचित प्रतिक्रिया देखाउँन थाल्छ । अस्थाई उपवासप्रति शरीरका कोशिकाहरुले एकृकित रुपमा तनावप्रति उचित प्रतिकृया देखाउन मद्दत गर्दछ जसले एन्टिअक्सिीडेण्ट प्रतिरक्षा, डिएनए मर्मत, सुन्निएको भागहरुलाई कम गर्न सक्छ । स्वास्थ्य र आयुमा उपवासको प्रभावहरू मानिसहरुमा क्यालोरी नियन्त्रणले वा अस्थाई उपवासले कस्तो प्रभाव पार्छ भन्ने विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ । जनवारहरुमा गरिएको शताब्दी लामो क्यालोरी कम गरेर गरिएको अध्यनले कम क्यालोरीको खाना खानाले आयु वृद्दि गराउने पुष्टि गरेको छ । अस्थाई उपवासमा गुड्रिक र उनका सहकर्मीहरुले गरेको प्रारम्भिक अध्यनले एक दिन बिराएर गरिएको उपवासले एउटा मुसाको आयु ८० प्रतिशतले वृद्धि भएको रिर्पाट गरेका छन् । यद्यपि क्यालोरी प्रतिबन्धले स्वास्थ्य र आयुमा पार्ने प्रभाव लिंग, आहार, उमेर, र आनुवंशिक कारकहरुले फरक पार्ने गर्दछ। सन् १९३४ देखि २०१२ को अवधिको डाटाको समग्रमा रुपमा गरिएको विश्लेषणले क्यालोरी प्रतिबन्धले सामान्य प्रजातिको मुसामा १४ देखि ४५ प्रतिशत र खैरो प्रजातिको मुसामा ४ देखि २७ प्रतिशतले आयु बढेको देखाएको छ । उक्त अध्यनले मोटोपना घट्नु र जिवनकालबिचको सम्बन्ध उल्टो देखिएको छ । जसअनुसार छोटो आयु भएकाहरुमा धेरैमात्रामा मोटोपना कम भएको देखियो । जुन कडा उपवासको नतिजा थियो । आयु लम्बिएकाहरुमा मोटोपना थारै मात्रामा कम भएको थियो । यद्यपि बाँदरहरुमा गरिएको अध्यनले दुई भिन्न नतिजा देखाएको छ । विस्कन्सिन विश्वविद्यालयमा गरिएको अध्यनले क्यालोरीको मात्रा घटाउँदा स्वास्थ्य र आयुमा सकरात्मक परिवर्तन देखिएको छ । जबकी, नेसनल ईन्सटिच्युट अफ एजिङको अध्यनले क्यालोरीमा कम गर्दा समग्र स्वास्थ्यमा राम्रो भएको देखिए पनि त्यसले आयुमा केही फरक पारेको देखिएन । मानिसहरुमा भने अस्थाई उपवासले मोटोपना, उच्च रक्तचाप, शरीर सुन्निएको कम गर्छ । त्यसैले अस्थाई उपवासले मानिसकलाई धेरै हदसम्म स्वास्थ्य लाभ प्रदान गर्न देखिन्छ ।  २२ दिनको लागि १६ जना मानिसहरुमा गरिएको वैकिल्पक दिनको उपवासको परिक्षणले उनीहरुको तौल २.५ किलो कम, ४ प्रतिशतले फ्याट मास र ५७ प्रतिशतले ईन्सुलिन लेभल कम भएको पाईएको छ । यस्तै, हप्ताको ५ दिन सधैँ खाने खाना र २ दिन कम क्यालारीका खाना दिएर अधिक तौल भएका सयभन्दा बढी महिलामा परीक्षण गरिएको थियो ।  यसरी गरिएको दुई परीक्षणमा दुवै समुहका महिलाहरुले उही मात्रामा तौल कम गरे । तर, हप्तामा दुई दिन कम क्यालोरीका खाना खाने महिलाहरुमा कम्मरको परिधी कम भएको र ईन्सुलिनको सेन्सिभिटि बढेको पाइएको छ । अस्थाई उपवास वा खानामा क्यालोरी कम गरेर बसिने उपवास स्वास्थ्यको लागि निकै नै फाईदाजनक रहेको यसकारण पुष्टि हुन्छ । यद्यपि, कडा प्रकारका उपवासहरु अर्थात केही नखाई बसिने उपवास स्वास्थ्यको लागि फाइदाजनक छैन ।  (द न्यू इङ्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित लेखकाे भावानुवाद)