विकासन्युज

नक्कली सुनसहित नयाँबसपार्कबाट दुई युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

पर्यटन मन्त्री भट्टराई भन्छन्- ‘सार्वजनिक सम्पत्तिमा क्षति हुने कार्य गरे संलग्नबाटै क्षतिपूर्ति भराइने छ’

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै कार्य गरे त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने बताएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै उनले  केही असन्तुष्टिकाे विषयलाइ लिएर हड्ताल गर्ने र सरकारी सम्पत्ति ताेडफाेड गर्ने गतिविधी भइरहेकाले यस्ताे गर्नेबाट नै क्षतिपूर्ति भराइने बताएका हुन्  । कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका हुन् । मन्त्री भट्टराईले यस्ता असन्तुष्टिका विषयहरू समझदारीबाट समाधान हुने बताउँदै आमम हड्ताल र ताेडफाेडले सबैलाई हानी हुने बताए । ‘छलफल गरौं, कति घन्टा बस्ने हो म तयार छु । मलाइ तर्कबाट कन्भिन्स गराउनुस्, तालाबन्दीबाट म कन्भिन्स हुन्न’,प्राधिकरणकाे स्थापनाकै दिन यस्ताे कुरा गर्न हुन्न ।’ उनले भने । जन्मदिनकाे दिन शुभकामना दिनुकाे सट्टा कात्राे लिएर आउँछु भन्ने जस्ताे देखियाे त्यसैले यस्ताे भन्न सुहाउन्न उनले भने ।प्राधिकरणले  आफ्नाे २१ औं वार्षिकोत्सव  समाराेहमा विभिन्न क्षेत्रका धेरै व्यक्तित्वहरूलालाई पुरस्कृत गरेकाे थियाे ।

मलेसियामा मासिक १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान रोक

काठमाडौं । वैदेशिक रोजगारका लागि मलेसिया जाने नेपाली श्रमिकलाई न्यूनतम १२ सय रिंगेटभन्दा कम तलबमा लैजान नपाइने भएको छ । आगामी जनवरी २ तारिखदेखि मलेसियाका जुनसुकै कम्पनीहरुले नेपाली कामदार लैजान नपाउने मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले एक सूचना जारी गरेको हो । राजदूतावासमा प्रमाणका लागि पेश गरिने श्रम सम्बन्धि मागपत्रमा अनिवार्य रुपमा न्यूनतम/आधारभूत तलब प्रष्ट रुपमा राखेर पेश गर्न सबै रोजगारदातालाई निर्देशन दिएको हो । केहि समय अगाडी मलेसियाको मानव संशोधन मन्त्रालयले जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको न्यूनतम मासिक तलब १२ सय मलेसियन रिंगेट बनाउने निर्णय गरेको थियो ।

अन्तरिक्ष चित्रकला प्रतियोगितामा सुयेन भइन् प्रथम

प्रथम पुरस्कार विजेता सुयेन भट्टराईकाे तस्बिर काठमाडौं । अन्तरिक्ष चित्रकला प्रतियोगितामा सुयेन भट्टराई प्रथम भएकी छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा क्याम्पियन स्कुलकी सुयेन प्रथम भएकी हुन् । भट्टराई ललितपुर लगनखेलस्थित क्याम्पियन स्कुलमा कक्षा आठमा अध्यनरत छिन् । त्यस्तै कास्की पोखरास्थित गण्डकी बोर्डिङ स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र आशिव गुरुङ दोस्रो, काठमाडौँको गोठाटारस्थित द सेलिब्रेसन को एड स्कूलमा कक्षा सातमा अध्ययनरत छात्र अमन बस्नेत तेस्रो र काठमाडौँकै छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा सरिता रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । विजयी छात्र छात्रालाई राजधानीमा सोसाइटीको १३ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिनेछ । पहिलो हुनेलाई टेलिस्कोप, तक्मा तथा प्रमाणपत्र, दोस्रो, तेश्रो तथा सान्त्वना हुनेलाई तक्मा र प्रमाणपत्र प्रदान गरिनेछ । पहिलोलाई काठमाडौँस्थित मेक इञ्जिनियरिङ्ग कलेजले २०७५ सालदेखि प्रोत्साहन स्वरुप टेलिस्कोप पुरस्कार प्रायोजन गर्दै आएको छ । आधारभूत शिक्षा लिइरहेका विद्यार्थीका लागि वि.सं. २०७४ देखि हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । आधारभूत तहदेखि नै विद्यार्थीमा वैज्ञानिक खोज अनुसन्धानप्रति रुचि जागोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न थालिएको सोसाइटीले जनाएको छ । प्रतियोगितामा देशभरका १ सय ७ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए । रासस

मुस्कानले पाईन रिचार्जर एपको आर्थिक सहयोग, पर्यटनमन्त्री भट्टराईले पनि ५० हजार दिने

काठमाडौं । रिचार्जर एपले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ५२ हजार २० रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । एपले विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा खातुनलाई सो मात्राको सहयोग गरेको हो । कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । साथै, उनले पनि आफ्नो तर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली जोड्ने तयारीमा डीएभी विद्यालय

काठमाडौं । ५–दीवसिय आनुभविक शिक्षण कार्यशालाको समापन भएसँगै डीएभी विद्यालयले आगामी शैक्षिक सत्र देखि पाठ्यक्रममै आनुभविक शिक्षण प्रणली भित्र्याउने निर्णय गरेको छ । विद्यालयका अध्यक्ष अनिल यस पद्धति कक्षा नर्सरी देखि कक्षा १२ सम्म अवलम्बन गरिने विद्यालयका अध्यक्ष अनिल केडियाले बताएका छन् । नेपालमा डी.ए.भी. विद्यालय आनुभविक शिक्षण प्रणाली अबलम्बन गर्ने पहिलो विद्यालय हुनेछ । ५–दिवसिय शिक्षण कार्यशाला नसकिदै डीएभी. विद्यालयले दी प्रोटेजी ग्रुपसँग तीन वर्ष सम्म आनुभविक पद्धतिको अवलम्बन, मुल्याङ्कन र शुदृढीकरणको लागि साझेदार गर्ने निर्णय समेत गरेको हो । दी प्रोटेजी ग्रुपका मुख्य प्रशिक्षक जोएल. एस. गोडि र सहायक प्रशिक्षक पराग गान्धी र मोहन वेनकाटेश पलानीले करिब १७ वर्षको अध्ययन र अनुसन्धान बाट थ्री डि इ ई फ्रेमवर्कको आनुभविक शिक्षण पद्धती र सीएफपि (क्लासरूम फेसिलिटेसन प्राक्टीसनर) कोर्ष समेत शिक्षकहरूलाई हस्तान्तरण गरेका छन् । मुख्य प्रशिक्षक गोडिले भने–‘अनुभव देखि ज्ञान बाड्ने प्रकृया पार गर्दा मानिसहरूको सिक्ने क्षमता ६० प्रतिशतदेखि ९९ प्रतिशत सम्म पुग्दछ’ । प्रशिक्षणको तेस्रो दिन किन्डरगार्टेन देखि कक्षा आठसम्मका अभिभावकहरूलाई समेत सहभागी गराईएको थियो । डीएभी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले नेपालमै यस प्रकारको शिक्षण पद्धति अवलम्बन गर्नु युगान्तकारी कदम रहेको जनाउँदै उनले डीएभी विद्यालय परिवर्तित समय र युगको आवश्यकतालाई सम्बोधन गर्न सदैव तयार रहेको बताएकी छन् ।

करण चौधरी बने नाडाको उपाध्यक्ष, कार्यभार सम्हाल्नेमा हालसम्मकै कान्छा

काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन(नाडा)को उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । उपाध्यक्षमा चयन भएसँगै चौधरीले भने- ‘अटोमोबाइल व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पाएको नयाँ जिम्मेबारी चुनौतीपूर्ण छ तर यसलाई म सहर्ष स्वीकार्छु । अटोमोबाइल व्यवसायले गुमाएको गौरवलाई फर्काउन म सम्बन्धित सबै पक्ष र निकायसँग सहकार्य गर्नेछु । ’ नाडामा उनीसहित सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ । हालै नाडाको अध्यक्षमा निर्वाचित कुष्ण प्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीहरुको बाहुल्यता छ ।

हिमालयन बैंकको औसत लाभांश २७.५५ प्रतिशत, बाेनसकाे मुखमा सेयर मूल्य ५०० नजिक

काठमाडौं । ५ माघ २०४९ सालबाट हिमालयन बैंक सञ्चालनमा आएको हो । हालसम्म भएका विभिन्न पुँजी वृद्धि निर्देशनलाई बैंकले बिना मर्जर र प्राप्ति पूरा गर्दै आएको छ । शुरुवातमा ६ करोड रुपैयाँको सेयर पुँजीबाट सञ्चालनमा आएको यो बैंकमा सोही अवधिदेखि वैदेशिक साझेदारको रुपमा हबिब बैंक पाकिस्तान छ । हालै लाहान नगरपालिकामा शाखा विस्तार गरेसँगै बैंकको शाखा संख्या ५६ पुगेको छ । बैंकले थप १२ शाखा बिस्तार गर्ने लक्ष्य राखेको छ । एशिया र प्यासिफिक क्षेत्रमा व्यापारमा सघाउ पुर्याएकोमा बैंकले सन् २०१९ मा समेत टीएफपी अवार्ड पाएको थियो । एशियाली विकास बैंक (एडीबी) ले प्रदान गर्ने यो अवार्ड बैंकले योसहित तेस्रो पटक पाएको हो । हबिब वर्हिगमनको चर्चा केही समय अघिदेखि नै बैंकको विदेशी साझेदारको रुपमा रहेको हबिब बैंक बाहिरिने चर्चा चलेको छ । यद्यपि हालसम्म यसमा थप प्रगति देखिएको छैन । हालसम्म बैंकमा हबिब बैंकको २० प्रतिशत, नेपालकै संस्थाको ६५ प्रतिशत र बाँकी सर्वसाधारणको सेयर लगानी छ । अहिलेको संस्थापक सेयरको बजार मूल्य (४२५ रुपैयाँ) मा बिक्री गरेर बाहिरिए २० प्रतिशत सेयर रहेको हबिबले ७ अर्ब २४ करोड रुपैयाँ लैजानेछ । बेलायती वित्तीय संस्था कमन वेल्थ डेभलपमेन्ट कर्पोरेशनले हबिबको स्वामित्वमा रहेको सेयर किन्ने खबरहरु आएपनि त्यस्तो हुन सकेको छैन । एफपीओको मूल्य २ सय मात्र हालै बैंकलाई राष्ट्र बैंकले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउन निर्देशन दिएको छ । यसो भएमा बैंकले या त १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्नुपर्छ । या त थप निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपीओ) मार्फत पु¥याउनु पर्छ । बैंकले एफपीओ जारी गर्ने भएमा २ अर्ब १ करोड रुपैयाँ बराबरको जारी गर्नुपर्ने हुन्छ । बैंकमा अहिले सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व छ । हाल बैंकले घोषणा गरेको १० प्रतिशत बोनस पछि चुक्ता पूँजी ९ अर्ब ३७ करोड पुग्ने छ । सर्वसाधारणको हिस्सा ३० प्रतिशत पु¥याउन बैंकले थप २ अर्ब १ करोडको पुँजी आवश्यक पर्छ । बैंकले एफपीओ जारी गरेमा पुँजी ११ अर्ब ३८ करोड पुग्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ अनुसार विदेशी लगानी वा संयुक्त लगानीका बैंकको पुँजी राष्ट्र बैंकले समय समयमा तोक्न सक्छ । एकिकृत निर्देशन २०७६ अनुसार बैंकहरुले कुनै कारणले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन छुट पाएको भए विदेशी लगानी बाहिरीएर नेपाली लगानीकर्ता वा संस्थाले त्यस्तो सेयर खरिद गरेमा सो स्वामित्व अनुपात पुर्याउन पर्ने उल्लेख छ । त्यस्तै, प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने भएमा बैंकले लेखापरीक्षण भएको वित्तीय विवरणमा उल्लेख भएको प्रतिसेयर नेटवर्थभन्दा बढि नहुने गरी थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्नुपर्ने व्यवस्था गरेको छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा भने अलग्गै विधि अपनाउन सकिने व्यवस्था छ । एफपीओ जारी गर्ने भएमा बैंकले करिब १ सय ७४ देखि १ सय ८८ रुपैयाँसम्म मूल्य कायम गर्नुपर्ने देखिन्छ । २०७४/७५ को बार्षिक वित्तीय विवरण अनुसार नेटवर्थ १ सय ७४ र गत आवको चौथो त्रैमाशको वित्तीय विवरण अनुसार १ सय ८८ रुपैयाँ नेटवर्थ छ । गत आवको लेखापरीक्षण सहितको वित्तीय विवरणले भने मूल्यमा समान्य परिवर्तन हुन सक्छ । नाफा बढ्यो, खुद व्याज आम्दानी वृद्धि सुस्त बैंकले चालु आवको पहिलो त्रैमाशमा मात्रै ६९ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले हालसम्मको नाफाको आधारमा लगानीकर्तालाई १९ करोड रुपैयाँ वितरण गर्न सक्छ । यो भनेको चुक्ता पुँजीको आधारमा २.३३ प्रतिशत हो । आव अन्त्यमा यो दर बढ्न सक्छ । विगत पाँच बर्षमा बैंकले बार्षिक औसत २७.५५ प्रतिशत लाभांश बाडेको छ । गत आवमा नाफापछि बैंकले अघिल्लो वर्षभन्दा लाभांशमा वृद्धि गरेको छ । बैंकले १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको नाफा रकममा वृद्धि भएपनि मुख्य आम्दानी घटिरहेको छ । बैंकको खुद व्याज आम्दानी ०.५ प्रतिशतले मात्र वृद्धि भएको छ । ३ अर्ब १४ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानी १ अर्ब ३१ करोड मात्र छ । बैंकको कुल सञ्चालन आम्दानीसमेत २ प्रतिशतले घटेर १ अर्ब ७० करोड रुपैयाँ छ । बैंकको सञ्चित कोषमा ८ अर्ब १६ करोड रुपैयाँ रकम छ । बैंकलाई पुँजी केही महंगो पर्न थालेको कोष लागतमा भएको सामान्य वृद्धिले देखाउछ । कोष लागत ६.१४ प्रतिशतबाट बढेर ६.४२ पुगेको छ । खराब कर्जाको दरमा सीमान्त दरमा कटौतति भएपनि कर्जा नोक्सानी सम्भावनाको आधारमा राखेको प्रावधान रकम बढेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७४.९८ पुगेको छ । थप लगानी गर्न सक्ने अवस्थामा बैंक छ । हिमालयनले केही समय अघि मात्रै ३ अर्ब रुपैयाँको वण्ड जारी गरेको थियो । गत सोमबार मात्रै वण्ड नेप्सेमा सूचीकृत भएको छ । बैंकको प्रतिसेयर आम्दानी ३२.५९ प्रतिशत, मूल्य आम्दानी अनुपात १५.४० प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ९५ प्रतिशत छ । ए रेटिङ ६ महिनाअघि ऋणपत्र जारी गर्नुअघि बैंकले केयर रेटिङबाट रेटिङसमेत गरेको छ । केयर रेटिङका अनुसार बैंकका सकारात्मक पक्ष र नकारात्मक पक्षहरु यी हुन्ः –पर्याप्त पुँजी अनुपात –मनन योग्य वृद्धि –ऋण विविधिकरण, उत्पादकमुलक क्षेत्रमा ३७ प्रतिशत, होलसेल क्षेत्रमा १७ प्रतिशतसहित गैरखाद्य उत्पादन क्षेत्रमा कुल २३ प्रतिशत लगानी –सुविधाजनक अवस्थामा कम लागत पुँजी ४४.७५ प्रतिशत –सम्रग ब्रैकिङ क्षेत्रकोभन्दा सम्पत्तिको गुणस्तर दर उच्च भएपनि यो सूचक मध्यम –कर्पोरेट लगानी उच्च ७५.६८ प्रतिशत, एसएमईसहित रिटेलमा लगानी घटेर १९.९७ प्रतिशतमा सिमित –यो क्षेत्रमा उच्च प्रतिस्पर्धा र बढ्दो नियामकीय जोखिम प्राविधिक विश्लेषण बैंकको सेयर मूल्य केही साताअघि मात्रै सन्तुलिन क्षेत्रमा आएको १४ दिने आरएसआई सुचकले देखाइरहेको छ । आरएसआईको स्केल ५६.१६ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । केही समयअघिदेखि मूल्य बुलिश प्रवृत्तिमा रहेको छ । सिम्पल मुभिङ एभरेज रेखा क्रसओभर भएको छ, यसमा ७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे ५ सय २२ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ४ सय ८५ मा टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा पहिलो दिन सुटिङ स्टार र दोस्रो दिन सेतो मैनवत्ति आकृति बनेको छ । मूल्य बढ्न सक्ने संकेत यसले गरिरहेको छ । तर, अन्तिम दिनको बन्द मूल्यले त्यसअघिको दिनको उच्च विन्दु पार गर्न नसकेकोले यसलाई बलियो संकेत मान्न सकिने अवस्था छैन । कारोबारको लागि आगामी दिनको मूल्य परिवर्तन हेर्नु सही हुन्छ ।