अपाङ्गता भएका व्यक्तिलाई पहिलोपटक डिजिटल परिचयपत्र वितरण
कास्की । कास्कीको माछाप गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई देशमै पहिलोपटक डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ । माछापुच्छ्रे गाउँपालिकामा रहेको अपाङ्गता समन्वय समिति र राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको सहकार्यमा व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो । माछापुच्छ्रे गाउँपालिकाले गत कात्तिक १७ देखि २४ गतेसम्म नौ वटै वडामा शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरूको विवरण सङ्कलन गरेको थियो । सोही आधारमा दर्ता भएका आवेदनमध्येबाट सोमबारदेखि ४५६ जनालाई डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरुआत गरिएको हो । पूर्ण अशक्त रातो रङको परिचयपत्र प्राप्त गर्ने १०८ रहेका छन् । पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो तथा मध्यम र सामान्यलाई पहेँलो र सेतो परिचपत्र तयार गरिएको छ । परिचयपत्रका आधारमा सार्वजनिक यातायात, स्वास्थ्य सेवालगायतमा उनीहरूले सहुलियत तथा सुविधा पाउँदै आएका छन् । गाउँपालिकाको वडा नं १ मा ४५, २ मा ७०, ३ मा ४७, ४ मा १०३ र ५ मा २४ अपाङ्गता भएका व्यक्ति रहेका छन् । त्यसैगरी वडा नं ६ मा ४८, ७ मा ५४ तथा वडा नं ८ र ९ मा ३० र २३ रहेको समन्वय समितिका संयोजक एवं गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताए । महासङ्घ गण्डकीका अध्यक्ष खोमराज शर्माले नेपालमै पहिलोपटक माछापुच्छ्रे गाउँपालिकाबाट डिजिटल परिचयपत्र वितरण शुरु भएको बताए । उनले यसअघि देशका कुनै पनि पालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको जानकारी महासङ्घमा नरहेको बताउँदै प्रथमपटक शुरुआत भएको उल्लेख गरे । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको सवालमा चासो दिएकै कारणले सहकार्यमा माछापुच्छ्रेबाट गुणस्तरीय डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरु भएको बताउँदै उनले यसबाट अपाङ्गता भएकालाई आवश्यक नीति निर्माणमा समेत सघाउ पुग्ने उल्लेख गरेका छन् । गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ४ बमोजिम स्थानीय तहलाई प्राप्त अधिकारबमोजिम तथ्याङ्क सङ्कलन गरी परिचयपत्र वितरण गरिएको जानकारी दिए । उनले रातो परिचयपत्र भएकालाई राज्यले हाल मासिक रु तीन हजार प्रदान गर्दै आएबाट रातो परिचयपत्रका लागि नागरिकको जोड रहने गरे पनि सेतो र पहेँलो परिचयपत्र हुनेले राज्यबाट बढी अवसर प्राप्त गर्ने बताए । परिवारमा एक अपाङ्ग व्यक्ति हुँदा त्यसले सम्पूर्ण परिवारलाई नै प्रभावित पार्ने भएकाले अपाङ्गता हुन नदिन प्रयत्न गर्नुपर्नेमा उनको जोड थियो । सामाजिक विकास समितिका सभापति दुर्गाबहादुर क्षेत्री तथा वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले अपाङ्ता भएकालाई हेर्ने दृष्टिकोणमा परिर्वतन जरुरी रहेकामा जोड दिँदै अपाङ्गमैत्री संरचना निर्माण तथा उनीहरूको सवालमा सधैँ सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस
हिमालयन बैंकसँग अझै २ विकल्प, एफपीओ जारी गरे प्रतिकित्ता २ सय रुपैयाँ
काठमाडौं । हिमालयन बैंकले थप निष्कासन (एफपीओ) जारी गरेमा प्रतिकित्ता २ सय रुपैयाँको हाराहारीमा हुने भएको छ । धितोपत्र वोर्डले गरेको नीतिगत व्यवस्थाको कारण प्रतिकित्ता मूल्य २ सय रुपैयाँ देखिएको हो । धितोपत्र वोर्डले जारी गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को नियम ३७ मा सूचिकृत संस्थाहरुले प्रिमियम मूल्यमा एफपीओ जारी गर्न चाहेमा पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थभन्दा बढी नहुने गरी प्रिमियमसहितको मूल्य निर्धारण गर्नुपर्ने भनिएको छ । ‘सूचिकृत संगठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न चाहेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको विवरण अनुसार प्रतिसेयर नेटवर्थभन्दा बढी नहुने गरी प्रिमियमसहितको मूल्य निर्धारण गर्नुपर्नेछ,’ निर्देशिकाको नियम ३७ मा उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन निर्देशन दिएको छ । यसो भएमा हिमालयन बैंकसँग २ विकल्प हुनेछन् । एउटा विकल्प भनेको १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भन्ने हो । दोस्रो विकल्पको रुपमा बैंकले थप निष्काशन (फर्दर पब्लिक अफरिङ–एफपीओ) जारी गर्न सक्छ । हिमालयनले एफपीओ जारी गरेमा २ अर्ब १ करोड बराबरको जारी गर्नुपर्ने हुन्छ । बैंकमा हाल सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व छ । हाल बैंकले घोषणा गरेको १० प्रतिशत बोनस पछि चुक्ता पूँजी ९ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ । सर्वसाधारणको हिस्सा ३० प्रतिशत पु¥याउन बैंकलाई थप २ अर्ब १ करोडको पुँजी आवश्यक पर्छ । बैंकले एफपीओ जारी गरेमा पुँजी ११ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ अनुसार विदेशी लगानी वा संयुक्त लगानीका बैंकको पुँजी राष्ट्र बैंकले समय समयमा तोक्न सक्छ । एकिकृत निर्देशन २०७६ अनुसार बैंकहरुले कुनै कारणले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पु¥याउन छुट पाएको भए विदेशी लगानी बाहिरिएर नेपाली लगानीकर्ता वा संस्थाले त्यस्तो सेयर खरिद गरेमा सो स्वामित्व अनुपात पु¥याउनु पर्ने भन्ने उल्लेख छ । त्यस्तै, प्रिमियम मूल्यमा सेयर बिक्री गर्ने भएमा बैंकले लेखा परीक्षण भएको वित्तीय विवरणमा उल्लेख भएको प्रतिसेयर नेटवर्थभन्दा बढि नहुने गरि थप सार्वजनिक निष्काशन (एफपीओ) गर्नुपर्ने व्यवस्था गरेको छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा भने अलग्गै विधि अपनाउन सकिने व्यवस्था छ । एफपीओ जारी गर्ने भएमा बैंकले करीब १ सय ७४ देखि १ सय ८८ रुपैयाँसम्म मूल्य कायम गर्नुपर्ने देखिन्छ । २०७४÷७५ को बार्षिक वित्तीय विवरण अनुसार बैंकको नेटवर्थ १ सय ७४ र गत आवको चौथो त्रैमाशको वित्तीय विवरण अनुसार १ सय ८८ रुपैयाँ नेटवर्थ छ । गत आवको लेखा परीक्षणसहितको वित्तीय विवरणले भने मूल्यमा समान्य परिवर्तन हुन सक्छ । हिजो (१४ पुस) सो बैंकको सेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँको हाराहारीमा छ ।
कर्णालीमा भ्रमण वर्ष २०२० को तयारी पूरा, बुलबुले उद्यानबाट शुभारम्भ हुने
सुर्खेत । कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का दिन प्रदेश राजधानीको पर्यटकीयस्थल बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले बिहान ११ बजे वीरेन्द्रचोक नजिकको पिपलचौताराबाट विभिन्न समुदायका झाँकीसहितको र्याली मुख्य बजारक्षेत्र परिक्रमा गर्दै मङ्गलगढीचोक हुँदै बुलबुले उद्यानमा सभामा परिणत हुने जानकारी दिएका छन् । उनका अनुसार १० वटै जिल्लाको सांस्कृतिक पहिचान झल्किने प्रस्तुतिका साथै राउटे समुदायको नृत्य पनि देखाइनेछ । मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाद्वारा संयुक्त रूपमा आयोजित कर्णाली भ्रमण वर्ष २०२० को शुभारम्भ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने कार्यक्रम छ । बुलबुले उद्यानमा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुका पोष्टर, तस्वीर प्रदर्शनीका साथै प्रदेशको संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरिनेछ । उक्त कार्यक्रममा भ्रमण वर्षलाई लक्षित गरी मन्त्रालयले बनाएको लोगो र नारालाई सार्वजनिक गरिनेछ । त्यस्तै, भर्खरै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा कर्णाली प्रदेशका पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्नेछ । सुर्खेत–काठमाडौँ हवाईसेवा सञ्चालन गर्ने बुद्ध एयरलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । वर्षौदेखि अवरुद्ध सुर्खेत–काठमाडौँ उडान प्रदेश सरकारको आग्रहमा बुद्ध एयरले शुरु गरेको थियो । प्रदेश सरकारले जनवरी १ का दिन कर्णाली आउने पर्यटकलाई स्वागत गर्ने भएको छ । सचिव आचार्यले सुर्खेत भित्रिने पर्यटकलाई सम्मान गरेर ‘कर्णाली पर्यटकको स्वागत सत्कार गर्न आतुर छ’ भन्ने सन्देश दिन खोजिएको बताए । “पर्यटक भित्र्याउन सरकारका साथै निजी क्षेत्रको तत्परता र सहयोग उत्तिकै रहन्छ”, उनले भने, “पर्यटन क्षेत्रकै विकास होस् भनेर प्रदेश सरकारले पर्यटन बोर्ड गठन गरेको छ, र व्यवस्थित विकासका लागि गुरुयोजना पनि बनाएको छ, गुरुयोजना पनि छिट्टै सार्वजनिक गरिँदैछ ।” प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भ्रमण वर्षलाई सबैले साझा अभियानका रूपमा लिनुपर्ने बताए । प्रदेशका १० वटै जिल्ला समन्वय समिति, स्थानीय तहले भव्यताका साथ मनाउने तयारी गरिरहेको उनले जानकारी दिए। पर्यटकको सङ्ख्या बढ्दा त्यसको लाभ निजी क्षेत्रले नै लिने भन्दै उनले आतिथ्य सत्कार, छुट तथा सहुलियतका प्याकेज ल्याउन निजी क्षेत्रलाई आग्रह गरे । “सरकारले आवश्यक पर्यटनमैत्री नीति, कानून बनाउनुका साथै पूर्वाधारको विकास गर्ने हो, बाँकी पर्यटन प्रवद्र्धनको काम निजी क्षेत्रले गर्नुपर्छ”, उनले भने । प्रदेश सरकारले पर्यटकीयस्थलसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नति, पदमार्गको खोजी, घरबास व्यवस्थापन, प्रवद्र्धनलगायतका योजनालाई प्राथमिकता दिएको उनले बताए । रासस
सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा नकारात्मक असर छैन- नास्ट
ललितपुर । काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल सिसडोलमा फोहरका कारण स्थानीयवासीको स्वास्थ्य र यहाँको वातावरणमा नकारात्मक असर नदेखिएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन र अनुसन्धान गरी सो क्षेत्रमा खासै समस्या नरहेको प्रतिवेदन आज सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाले नास्टलाई दिएको जिम्मेवारीअनुसार नास्टले गत असोजदेखि दुई महिना लगाई सिसडोल क्षेत्रमा अध्ययन गरिएको प्रतिष्ठानले जनाएको छ । यहाँ बग्ने पानी र भूमिगत सतह, गन्धमापन, ग्यास, धुलोको कण, फोहरको लेदो लिचेत, आँखाले देखिने वा नदेखिने वस्तु, चराचुरुङ्गी, माछा, जनावर आदिको अध्ययन गरी यस क्षेत्रमा खासै समस्या नरहेको तथ्याङ्क सार्वजनिक गरेको हो । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तले आफ्नो कार्यालयमा रहेको गन्धमापन यन्त्र(अल्फ्याक्टोमिटर) ले गरेको अध्ययनले सिसडोलमा रहेको फोहरका कारण उत्पन्न हुने ग्यासले स्थानीयमा खासै असर नगर्ने बताए । पन्तले भने, “सिसडोल फोहर विसर्जनस्थल नजिकैका मुख्य प्रभावित क्षेत्रमा खिल्बुचे, टिलकोरिया, तल्लो सिउडिनी, सिम्खडागाउँ, मगतेटोल–एक–दुई, पञ्चमुरीटोल, कोल्पुखोला–एक–दुई र सोवतीबालुवा र केही प्रभावित क्षेत्रमा भण्डारथुम्का, ढोकाभञ्ज्याङ, पाठकगाउँ, डि–गाउँ, क्षते–ए र –बि, शिवालय मावि सिउडिनी, तत्लोसिउडिनी–एक–दुई, कागतीगाउँ हुन अनि कम प्रभावित क्षेत्रमा कजुञ्जेगाउँ, स्वानागाउँ, हेल्थपोष्ट कागतीगाउँ, सिउडिनी ट्याङ्कीडाँडा रहे तापनि यहाँ खासै वातावरणीय प्रभाव परेको देखिएन ।” नास्टले सिसडोलको २४ स्थानबाट गन्धमापन गरेको कार्यक्रममा बताइएको छ । नास्टले सिसडोल क्षेत्रमा मिथेन र कार्बनडाइअक्साइडको मात्रा पाउन नसकेको पन्तले जानकारी दिए । सो क्षेत्रमा रहेको धुलोको कण मापदण्डभित्र नै रहेको नास्टले पाएको छ । सिसडोल फोहर व्यवस्थापन गर्नेस्थल थप चुस्त र दुरुस्त हुनुपर्ने, उपत्यकाबाट फोहर लैजाने क्रममा छोपेर लानुपर्ने, पुनःप्रयोग गर्न मिल्ने फोहरलाई छुट्याउनुपर्ने, सिसडोल फोहर लाँदा खर्च हुने रकम र जनशक्तिको जोहो गर्नुपर्ने, सिसडोल फोहर विसर्जन गर्ने क्षेत्रभित्र मानिस र कुकुर सजिलै जान रोक गर्नुपर्ने, फोहरको लेदो लिचेतलाई फ्याँक्नुभन्दा अघि जाँचेर मात्र फाल्दा जलचरलगायत माटोमा प्रभाव नपर्ने नास्टले सुझाव दिएको छ । धुनीबेंसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले कामपाका प्रमुखले आफ्नो नगरपालिकाको मात्र फोहर व्यवस्थापनमा ध्यान दिएर अरु नगरपालिकाबाट उठ्ने फोहरमा आफूले वास्ता नगर्न आग्रह गरे । उनले भने, “सुहाना, चिउडेनीलगायतका क्षेत्रमा पनि चिल र गिद्धले दुःख दिएका, सो क्षेत्रमा रहेको एक हजार ७८१ रोपनी जमिन कति फोहर विसर्जन गर्न प्रयोग भएको र कति प्रयोग नभएको, बाली लगाउँदा बोट अग्लो हुने तर दाना नलाग्ने, सिसडोलको पानी खाँदा गाईगोरु मर्ने, स्थानीय मानिसले सो क्षेत्रमा बग्ने पानीले हातगोडा धुँदा लुतो र खटेर आउने, मिर्गौला र अर्बुदका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।” नास्टले कहिले गएर सो अध्ययन गर्याे आफूहरु बेखबर रहेको जानकारी दिए। कामपाका प्रमुख विद्यासुन्दर शाक्ले धुनबेंसी र ककनीसहित सबै नगरपालिका प्रमुख मिलेर सो क्षेत्रका बारेमा विशेष छलफल गर्ने विश्वास दिलाएका छन्। सिसडोल बञ्चेरेडाँडो सरोकार समितिका अध्यक्ष विश्वास डिसीले ककनी–१ मा गन्ध आएन, यस क्षेत्रको पानीमा न्यून प्रभाव रहेको छ भन्ने कुरा एकदमै गलत रहेको औँल्याए । उनले भने, “प्रत्येक घण्टाको आधारमा प्रतिवेदन तयार गरी सार्वजनिक गरेमा त्यहाँको वास्तविकता भेटिने थियो ।” यसैगरी सिसडोलका स्थानीयवासी श्रीराम ढुङ्गानाले किमो थेरापीमा प्रयोग हुने झोल, सल्फर एसिड, तेजाब, मिती नाघेके औषधि, मरेका जनावर, बढी भएको खानेकुरा, उद्योगबाट निस्कने फोहरमैला आदिले सिसडोलमा निकै वातावरण प्रभाव पारिरहेको बताए । नास्टका सचिव महेशकुमार अधिकारीले नास्ट र कामपा मिली समयसमयमा थप योजना बनाएर अघि बढ्ने विश्वास दिलाएका छन् । रासस
चार दिनपछि खुल्याे अवरुद्ध बेनी–जोमसोम सडक
ठिनी । हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो । पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले जानकारी दिए । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो । गुइँठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक सडक बनाउने प्रयास गरे पनि सफल भएको थिएन । बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सीमा प्रहरी चौकी भुरुङ्ग–तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताएका छन् । पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगत रूपमा रु पाँच हजार पुरस्कार दिएको बताए । सडक अवरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका थिए । यातायात व्यवसायीले गाडी बदली गरेर यात्रुलाई गन्तव्यमा पुर्याउने व्यवस्था मिलाए पनि ढुवानीका साधनको आवतजावत ठप्प भएको थियो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइँठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ । स्थानीयवासी, मुुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटकहरु प्रभावित भएका छन् । यसैबीच बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी रोकिने भएको छ । स्तरोन्नतिका लागि सवारी रोकेर सडक विस्तारको काम गर्न लागिएको हो । बिहान ७ः३० देखि ११ र दिउँसो २ः३० देखि साँझ ६ बजेसम्म सवारी रोकिने आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए । सवारी साधनको चाप कम हुने समयमा कामलाई गति दिन समयतालिका बनाइएको उनले बताएका छ । बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्मको प्याकेज एकमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने तथा ग्रेड मिलाउने काम भइरहेको छ । प्याकेज २, ३ र ४ खण्डमा पहाड काट्ने, फराकिलो बनाउने र पर्खाल निर्माण भइरहेको छ । विसं २०७४ मा भएको ठेक्का सम्झौताको म्याद मङ्सिरमा सकिएको छ । आउँदो जेठसम्म म्याद थपको तयारी भएको आयोजनाले जनाएको छ । उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट जोमसोम खण्डको ५० प्रतिशत र जोमसोमबाट कोरला खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ । सात प्याकेजमा सञ्चालित ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको अन्तिमपटक थप भएको म्याद आगामी असारमा सकिँदैछ । रासस
विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यक– उपाध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योगा वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका तीनै तहका सरकारले निजी क्षेत्रलाई साझेदारका रुपमा लिएर अघि बढ्न सक्दा मात्र देशमा आर्थिक विकास सम्भव रहेको बताएका छन् । छैठौँ चन्द्रौटा उद्योग व्यापार मेला तथा कृषि पर्यटन महोत्सवलाई साेमबार प्रमुख अतिथिका रुपमा उद्घाटन गर्दै उनले भने– जबसम्म निजी क्षेत्रलाई एक सशक्त साझेदारका रुपमा लिएर केन्द्र, प्रदेश तथा स्थानीय तिनै तहका सरकार अघि बढ्न सक्दैनन् तबसम्म देशमा आर्थिक विकास सम्भव हुदैन । उपाध्यक्ष ढकालले विश्वका विकसित देशहरुले पनि यसैगरी निजी क्षेत्रलाई विकासको साझेदारका रुपमा लिएर सहकार्यका साथ अघि बढेकाले नै ती देशको विकास सम्भव भएको दृष्टान्त पेश गरे । निजी क्षेत्रले तिर्ने कर सरकारले पाउने डिभीडेन्ट हो र निजी क्षेत्रले काम गर्ने सहज वातावरण नपाएसम्म देशमा उद्योग धन्दा र कलकारखाना फस्टाउन सक्दैनन् भन्ने यथार्थलाई सरकार र सरोकारवालाहरुले बुझ्न जरुरी छ उनले भने । उपाध्यक्ष ढकालले अहिले देश संघीयतामा प्रवेश गरेसँगै राजनीतिक नेतृत्वमा अब राजनीतिक स्थायित्वसँगै देश विकास गर्नुपर्छ भन्ने भावना जागेको तर खोइ किन किन निजी क्षेत्रको गतिमा देशको संयन्त्रले काम गर्न नसकेको गुनासो निजी क्षेत्रबाटै बारम्बार सुन्नुपरेको उनले बताए । उनले भने– निजी क्षेत्रले खोजेको जस्तो काम गर्ने वातावरणको गति किन पुग्न सकिरहेको छैन भनेर खोज्नुपर्ने पो हो कि ? देशभरका व्यवसायीहरुको यस्तै गुनासो रहने गरेको छ । उनले निजी क्षेत्रले काम गर्ने वातावरणको निर्माणका लागि सरकारी संयन्त्रले निर्वाह गर्नुपर्ने भूमिका, कर प्रणालीमा सहजता तथा नयाँ काम शुरु गर्न व्यवसायीहरुलाई दिनुपर्ने इजाजतजस्ता विषयमा राज्यले ध्यान दिनुपर्ने बताए ।
६ चर्चित कार, जसको मूल्य नेपाली बजारमा ३० लाख भन्दा कम छ
अहिलेको समयमा निजी कारको चाहना कसको पो नहोला र ? राम्रो जागीर र राम्रो घर पछिको मान्छेको चाहना भनेकै आफ्नो एउटा कार हुनु हो । केहि वर्ष अघि सम्म मात्र पनि कारलाई विलासीताको साधन मान्ने गरिएको भएता पनि अहिलेको व्यस्त जीवनमा यो एउटा आवश्यकता बन्न पुगिसकेको छ । वास्तवमा भन्ने हो भने हाम्रो देशमा एउटा कार किन्नका लागि ठुलै रकम खर्चिनु पर्ने भएकोले पनि यस्तो चाहना पुरा गर्न धेरैलाई हम्मेहम्मे नै पर्दछ । तर यो कुरा पनि सत्य हो कि यहाँ राम्रा विशेषता भएका कम मूल्य पर्ने कारहरु पनि उपलब्ध छन्, जसको वारेमा धेरैलाई जानकारी नहुन पनि सक्छ । आज हामी नेपाली बजारमा हाल उपलब्ध भइरहेका ३० लाख रुपैयाँ मूनिका चर्चित कारहरुका वारेमा चर्चा गर्न गइरहेका छौं जसले तपाईंको निजी कार चढ्ने सपनालाई साकार पार्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मारुती सुजुकी अल्टो अल्टोमा ७९६ सीसीको इञ्जिन समावेस गरिएको छ जसले ४७ बीएचपीको पावर र ६९ एनएमको टर्क उत्पादन गर्दछ । ३५ लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको अल्टोले २४.७० केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी १६० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । फिचरहरुका रुपमा यस कारमा एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, इञ्जिन इमोबिलाइजर, रियर पार्किङ्ग सेन्सर लगायत समावेश छन् । मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले अल्टोको सुरुवाती मूल्य १८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । हुण्डाई स्यान्ट्रो १०८६ सीसीको इञ्जिन दिइएको स्यान्ट्रोले ६९ बीएचपीको पावर र ९९ एनएमको टर्क उत्पादन गर्दछ भने २०.३० केएमपीएलको माइलेज पनि प्रदान गर्दछ । यस कारको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटरको रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३५ लिटरको छ । स्यान्ट्रोको अगाडिका दुई चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । हुण्डाईले एबीएस, ईबीडी, इञ्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, पावर डोर लक जस्ता विशेषताहरु यस कारमा समावेश गरेको छ । हुण्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले स्यान्ट्रोको सुरुवाती मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । रेनो क्विड रेनोको नेपालका लागि आधिकारीक बिक्रेता एड्भान्स्ड अटोमोवाइल्स प्रा.लि.ले क्विडलाई सुरुवाती मूल्य २३ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यस कारको इञ्जिन क्षमता ७९९ सीसीको रहेको छ भने यसले ५३ बीएचपीको पावर र ७२ एनएमको टर्क उत्पादन गर्दछ । क्विडले २५.१७ केएमपीएलको माइलेज प्रदान गर्दछ भने यसको फ्युल ट्याङ्क क्यापासिटी चाहिँ २८ लिटरको रहेको छ । त्यसैगरी १८४ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । क्विडमा विशेषताहरुको रुपमा रिमोट किलेश इन्ट्री, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एबीएस, ईबीडी, एयरब्याग्स, चाइल्ड सेफ्टी लक, स्पीड अलर्ट लगायत रहेका छन् । फोर्ड फिगो फिगोमा ११९६ सीसी इञ्जिन समावेश गरिएको छ जसले ८७ बीएचपीको पावर र ११२ एनएमको टर्क उत्पादन गर्दछ । १८.१६ केएमपीएलको माइलेज प्रदान गर्ने यस कारमा ४२ लिटरको फ्युल ट्याङ्क रहेको छ । त्यसैगरी अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको यस कारमा १७४ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको छ । फिचरहरुका रुपमा यस कारमा चाइल्ड सेफ्टी लक, किलेश इन्ट्री, ड्राइभर र पेसेन्जर एयरब्याग्स, एबीएस, ईबीडी, चाइल्ड सेफ्टी लक, पावर डोर लक, एयर कण्डिस्नर, हिटर लगायत समावेश छन् । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता गो अटोमोवाइल्स प्रा.लि.ले फिगोको सुरुवाती मूल्य २५ लाख ५० हजार रुपैयाँ तोकेको छ । टाटा टियागो ११९९ सीसी इञ्जिन दिइएको टियागोले ८४ बीएचपीको पावर र ११४ एनएमको टर्क उत्पादन गर्दछ भने २३.८४ केएमपीएलको माइलेज पनि प्रदान गर्दछ । यस कारको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटरको रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३५ लिटरको रहेको छ । टियागोको अगाडिका दुई चक्कामा डिस्क ब्रेक जडान गरिएका छन् भने पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएका छन् । टाटाले यस कारमा हाइट एडजस्टेवल ड्राइभर सिट, एयरब्याग्स्, टर्न–बाई–टर्न नेभिगेशन एप, कुल्ड ग्लोभ बक्स, मल्टि–ड्राइभ मोड, रियर पार्किङ्ग सेन्सर्स, एबीएस, ईबीडी, स्मोक्ड लेन्स लगायतका विशेषताहरु समावेश गरेको छ । टाटाको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टियागोको सुरुवाती मूल्य २८ लाख ५५ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । भक्सवागन पोलो भक्सवागनको नेपालका लागि आधिकारीक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले पोलोलाई सुरुवाती मूल्य २९ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यस कारको इञ्जिन क्षमता ९९९ सीसीको रहेको छ भने यसले ७५ बीएचपीको पावर र ९५ एनएमको टर्क उत्पादन गर्दछ । पोलोले १८.७८ केएमपीएलको माइलेज प्रदान गर्दछ भने यसको फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४५ लिटरको रहेको छ । त्यसैगरी, १६५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । पोलोमा विशेषताहरुको रुपमा चाइल्ड सेफ्टी लक, किलेश इन्ट्री, एयरब्याग्स, एबीएस, ईबीडी, यूएसबी सपोर्ट, ब्लुटुथ सपोर्ट, एयर कण्डिस्नर, हिटर, स्टेयरिङ्ग एडजस्टमेन्ट लगायत रहेका छन् ।
सिन्धुपाल्चोकमा आन्तरिक तथा बाह्य पर्यटकलाई ३० प्रतिशत छुट
काठमाडौं । नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुपाल्चोकमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होटल तथा रिसोर्टलगायतमा ३० प्रतिशत छुट गरिने भएको छ । होटेल व्यवसायीको पहलमा नयाँ वर्षको पहिलो दिन जनवरी १ तारिख पुस १६ देखि एक सातासम्म होटल, रिसोर्ट, बञ्जीजम्प तथा जलयात्रालगायतमा उक्त छुट दिने निर्णय भएको भ्रमण वर्षको अवसरमा गठित जिल्ला प्रवर्द्धन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले बताए । भ्रमण वर्षमा जिल्लामा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले जिल्लाको हेलम्बु, पाँचपोखरी, भोटेकोशी, बञ्जी तथा जुगललाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ । पर्यटकलाई खाने बस्ने व्यवस्थाको लागि सुकुटेदेखि तातोपानीसम्म पर्याप्त रिसोर्ट रहेको छ । त्यस्तै मेलम्चीमा नयाँ होटल बन्नुका साथै हेलम्बुमा पनि रिसोर्टहरु निर्माण भैरहेकाले खान, बस्न कुनै समस्या नभएको सभापति तामाङले बताए । रासस