विकासन्युज

अरुण काबेलीको नवौं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीले आगामी वर्षदेखि लाभांश पाउने

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार (पुष १५ गते) सम्पन्न भएको छ । उक्त सभा सो दिन नयाँ बानेश्वरको इन्द्रेणी फूड ल्याण्डमा सम्पन्न भएको हो । कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरी श्री जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि-१ जलविद्युत आयोजना २५ मेगावाट २०७६ असोज १६ गते परिक्षण उत्पादन र कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको जानकारी दिएको छ । कम्पनीले आगामी वर्षदेखि आफ्नो शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । त्यसैगरी अध्यक्ष न्यौपानेले कम्पनीले निकट भविश्यमा जलविद्युत लगानी सम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने समेत जानकारी दिएका छन् ।

विश्वका प्रमुख शहरमा यसरी मनाइदैँछ नयाँ वर्ष, कुन शहरले कति खर्च गर्दैछ ?

काठमाडौं । भोली अर्थात बुधबार नयाँ वर्ष सन् २०२० को आगमन हुँदैछ । विश्वका प्रमुख शहरहरुले नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा यसलाई एक प्रकारको पर्वका रुपमा मनाइने गरिन्छ । आज हामी विश्वका कुन शहरमा नयाँ वर्ष कसरी मनाइदै छ भन्ने बारे चर्चा गर्दैछौं । १. सिड्नी सिड्नी सिड्नी अष्ट्रेलियाकाे राजधानी हो । मध्यरातमा नयाँ वर्षलाई भव्यताकासाथ स्वागत गर्ने संसारकोे प्रमुख अन्तर्राष्ट्रिय शहरमध्ये सिड्नी एक हो । यो वर्ष अष्ट्रेलियामा डढेलाको कारण सिड्नीमा आतशीबाजी नहुने धेरैले सोचेका थिए । तर, सिड्नीका मेयर क्लोभर मुरले यसमा रुकावट नआउने बताएका छन् । अष्ट्रेलियाका सञ्चार माध्यमका अनुुसार गत वर्ष सिड्नीमा गरिएको आतिशबाजीमा ४ मिलियन अमेरिकी डलर खर्च भएको थियो । त्यहाँ मुख्य आतशीबाजी हार्बरको ओपेरा हाउस र हार्बर ब्रिजकोमा हरेक वर्ष प्रर्दशन हुने गर्छ । २. ताईपे ताईपे विश्वको अर्को प्रमुख शहर हो ताइपे । ताइवानको राजधानी ताईपे शहरको सबैभन्दा अग्लो भवन ताईपे १०१ बाट नयाँ वर्षको अवसरमा आताशेबाजीको प्रर्दशनी हुने गरेको छ । ताइवान सरकारले नयाँ वर्षलाई खुसियालीकसार्थ स्वागत गर्दै विभिन्न सांगितिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरेको छ । ताइपेको टापुबाट शहरको दृश्य एकदमै राम्रोसँग देख्न सकिन्छ । त्यसैले पनि ताइवान सरकारले हरेक वर्ष त्यो टापुमा नयाँ वर्षको कार्यक्रमहरु गर्दै आएको छ । ३. बैंकक बैंकक रात्री जीवनका लागि एसियामा बैकंक निकै नै प्रख्यात शहरका रुपमा चिनिन्छ । नयाँ वर्ष मनाउनको लागि बैंककको टाईम्स स्कायरको सेन्ट्रलवर्लड प्लाजा सबैभन्दा भिड हुने स्थान हो । यस्तै त्यहाँको अर्को भिड हुने स्थान असिटिक्यु सपिङ एरिया रहेको छ । थाइल्याण्डको राजधानी तथा प्रमुख शहरका रुपले चिनिने बैंककमा नयाँ वर्ष मनाउनका लागि धेरै मानिसहरुको भिड लाग्ने गरेको छ । ४. दुबई दुबईको ब्रुज खालिफा संसारको ध्यान केन्द्रित गर्ने गगनचुम्बी भवन मध्यकोे एक हो । यसको माहोल र उत्सव जव नयाँ वर्ष शुरु हुन्छ अनि बढ्न थाल्छ । संसारकै अग्लो भवनबाट हुने आताशबाजीलाई हेर्न लाखौं मानिसहरुको उपस्थिती हुने गरेको छ । ५. मस्को दुबई मस्को रसियाको राजधानी तथा विश्वको प्रमुख शहरमध्येको एक हो । नयाँ वर्षको अवसरमा मस्कोको ऐतिहासिक रेड स्क्वायरमा आताशबाजी हुने गरेको छ । यो हेर्न हजारौं मानिसहरुको उपस्थिती हुने गरेको छ । ६. लण्डन नयाँ वर्षको पुर्वसन्ध्यामा बेलायतको राजधानी लण्डनको थेम्स नदिको किनाराबाट एकदमै मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ । लण्डनले पनि नयाँ वर्षको अवसरमा आतिशबाजीलाई नै प्राथमिकता दिने गरेको छ । लण्डन ७. न्यु वर्क  नयाँ वर्षको पुर्वसन्ध्याको लागि म्यानह्याटनको टाईम्स स्क्वायर निकै नै भिड हुने स्थान हो । नयाँ वर्षको पुर्वसन्ध्यामा गरिने बल ड्रप त्यहाँको मुख्य आकर्षण हो । करिब एक लाख मानिसहरु यसलाई हेर्नको लागि त्यहाँ जाने गर्छन् । यस्तै, ठुलो संख्यामा संगितकर्मीहरुको पनि उपस्थिती हुने गर्दछ । नयाँ वर्षमा यी शहरहरुमा विभिन्न सामान महँगिने गर्दछ । तर, ती सामानहरुमा व्यापारीहरुले केही छुट भनेर राखेका हुन्छन् । होटल तथा रेष्टुरेण्ट भाडादर पनि बढ्ने गरेको छ ।  

उखु किसानको आन्दोलनप्रति घरेलु महासंघको ऐक्यबद्धता

काठमाडौं । केही दिन यता उखु किसानहरु राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्था र उनीहरुको मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ध्यानाकर्षण भएको जनाएको छ । विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकोले देशको विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था र उखु किसानहरुको मागप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ । एकवर्ष अघि नै किसानहरुको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानहरुले भुक्तानी नपाउनु दुःखद कुरा भएको महासंघको ठहर छ । उखु किसानहरु महासंघका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलनप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता रहेको अध्यक्ष श्याम प्रसाद गिरीले बताए । तसर्थ लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संस्थाको हैसियतमा यस महासंघ चिनी उद्योगीहरुलाई उखु किसानहरुको रकम अविलम्ब भुक्तानी दिन आग्रह गर्दै यस सम्बन्धमा थप केही विषय भए महासंघसँग समन्वय गर्न उनको आग्रह छ ।

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाखले दिए आवेदन

बेइजिङ । ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन् । निवेदन दिनेमा अधिकांश युवा विद्यार्थी रहेका र त्यसमा विदेशी विद्यार्थी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । विश्वकै ध्यान खिच्नेगरी हुन लागेको “२०२० वेइजिङ विन्टर गेम्स”का लागि यती ठूलो संख्यामा आवेदन पर्नुले यसप्रतिको चासो धेरै रहेको पुष्टी छ । आयोजक समितिले ती मध्येबाट आवश्यकता र योग्यताका आधारमा छनौट गर्ने समाचारमा जनाइएको छ । महत्वका साथ हेरिएको यस खेलकुद प्रतियोगिता आगामी फेब्रुअरीमा चीनको याङइङ जिल्लामा हुने तय भइसकेको छ । रासस

हरेक १० जनाले १३ जना पाल्नु पर्ने; ९ वर्षमा श्रमिकको पारिश्रमिकमा १.८ प्रतिशतले वृद्धि

काठमाडाैं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्थापना भएको सन् २०१९ मा एक शताब्दी पुगेको छ । सन् १९१९ जनवरी १ मा आइएलओ श्रम बजार र श्रमिकका मुद्दालाई सहजीकरण गर्ने उद्देश्यकासाथ स्थापना भएको हो । स्विट्जरल्याण्डको जेनेभामा मुख्य कार्यालय भएको यस संगठनमा आवद्ध मुलुकहरूको सङ्ख्या अहिले १८७ पुगेको छ । एक शताब्दीसम्म श्रमिकहरूको अधिकार र विश्वभरको श्रम बजार सुधारका लागि एक शताब्दीको अवधि कम होइन । यो अवधिमा सङ्गठनले केही गरेन भन्ने पनि होइन । आइएलओले तथ्यमा आधारित भएर श्रम बजार र श्रमिकका मुद्दालाई उजागर गर्दछ । समस्या परेका ठाउँमा गाँठाहरू फुकाउन सम्बन्धित देशले सङ्गठनप्रति जनाएको प्रतिबद्धता अनुरूप त्यहाँको कानूनलाई सुधार गर्दै सङ्गठनको परिकल्पनालाई साकार पार्नु विश्व समुदायको कर्तब्य हो । विश्वमा भएका द्वन्द्वका घटना विश्व श्रम बजारलाई प्रभावित पार्ने प्रमुख कारक मान्ने गरिन्छ । श्रमिकको अधिकारको हनन्का मुद्दा, कामदारको श्रम शोषण वा अन्य अधिकारका लागि संगठनले सम्बन्धित कम्पनी वा फर्मसँग समन्वय गरी काम गर्छ । कतिपय देश र त्यहाँ सञ्चालनमा रहेका सरकारी तथा निजी उद्योग, कम्पनी वा फर्मले आफूलाई केन्द्रित गरेर कानूनहरूको व्याख्या गर्ने प्रचलन आज पनि रहेको देख्न सकिन्छ । यसैका कारण कुनै पनि सङ्गठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्त गर्न सफलता पाउन कठिनाई पर्ने गर्छ । यद्यपि सङ्गठनले लिएका उद्देश्य र विकासको समयक्रमसँगै स्वस्फूर्त रूपमा बनेका आधारभूत सिद्धान्तले विश्वको श्रम बजारलाई निर्देशित गर्छ सुधारका लागि उत्प्रेरित गर्छ । विश्वमा अहिले रोजगारी पाएर पनि गरिबीको रेखामूनि रहेको जनसङ्ख्या जम्मा आठ प्रतिशत छ भने करिब ५५ प्रतिशत जनसङ्ख्याले कुनै पनि प्रकारको सामाजिक सुरक्षाको सेवा प्राप्त गर्न सकेको छैन । विश्वमा २७ प्रतिशत महिलाले व्यवस्थापकीय जिम्मेवारी पाएका छन् । सन् २०१८ को तथ्याङ्क अनुसार विश्वको श्रम उत्पादकत्व करिब तीन प्रतिशतले वृद्धि भएको छ । विश्वमा लिङ्गका आधारमा श्रमिकलाई दिइने पारिश्रमिकको अन्तर औषतमा १९ प्रतिशत रहेको छ । खासगरी उद्योग तथा उत्पादनका क्षेत्रमा महिला र पुरूषको ज्याला निर्धारण वैज्ञानिक तरिकाले नहुँदा श्रम बजारमा लैङ्गिक विभेदका कुरा टड्कारो रूपमा उठ्ने गरेका छन् । दीगो विकास लक्ष्यको पछिल्लो तथ्याङ्क अनुसार विश्वको वेरोजगार दर पाँच प्रतिशत रहेको छ  । विश्वका २१ प्रतिशत युवाले रोजगारी, शिक्षा र तालिमका अवसर पाउन सकेका छैनन् । १० प्रतिशत बालबालिका श्रमिकका रूपमा प्रयोग भएका छन् भने विश्वको १४ प्रतिशत जनसङ्ख्या निर्माणका क्षेत्रमा काम गर्छन् । विश्वको ५२ प्रतिशत श्रमिकले कामको पारिश्रमिक पाउने गरेका छन् । कृषि र निर्माणका क्षेत्रमा काम गर्ने श्रमिकको ज्याला नगन्य हुने गरेको छ । जसका कारण श्रमिकले आफूहरू ठगिएको महशुस गर्ने गर्छन् । विश्वमा पाँच अर्ब ६६ करोड जनसङ्ख्या काम गर्न योग्य रहेको छ । यसको ६१ प्रतिशत रोजगार छन् भने ३९ प्रतिशत निष्क्रिय छन् । जनसङ्ख्या दर अनुसार विश्वको रोजगार दर ५८ प्रतिशत रहेको छ । तीन अर्ब ३० करोड जनङ्ख्याले सानो ठूलो रोजगारका अवसर पाएको छ । करिब दुई अर्ब ७२ करोड व्यक्ति वेरोजगार छन् । हरेक १० रोजगार व्यक्तिले बालबालिका, वेरोजगार र बुढाबुढी गरी १३ जनालाई हेनुपर्ने बाध्यता रहेको छ । वेरोजगार युवाको जनसङ्ख्या १२ प्रतिशत रहेको छ । विश्वमा कृषि कामदारका रूपमा झण्डै एक अर्ब जनसङ्ख्याले काम गर्छ । विश्वको २८ प्रतिशत कृषि क्षेत्रमा रोजगार छन् भने २३ प्रतिशत औद्योगिक र ५२ प्रतिशतले निजी तथा सरकारी कर्मचारीका रूपमा जागिरे छन् । यसको ४८ प्रतिशत स्वरोजगार जनसङ्ख्या छ । तीन प्रतिशत रोजगार व्यक्ति रोजगारदातासमेत छन् । सन् २००८ पछि सन् २०१७ सम्म आइपुग्दा श्रमिकको पारिश्रमिकमा १.८ प्रतिशत मात्रले वृद्धि भएको छ जबकि महङ्गीले वर्सेनि हरेक देशका नागरिकलाई ढाड सेक्ने गरेको छ । विश्वको जनसङ्ख्याको ४५ प्रतिशत हिस्साले कम्तीमा एउटा सामाजिक सुरक्षाको लाभ लिन्छ । यो दर अफ्रिकामा सबैभन्दा कम १८ प्रतिशत, अमेरिकामा ६८ प्रतिशत, एशिया र प्रशान्त क्षेत्रमा ३९ प्रतिशत छ भने मध्य एशिया र यूरोपमा सबैभन्दा बढी ८४ प्रतिशत रहेको छ । विश्वमा आप्रबासी कामदारको सङ्ख्या १६ करोड चालीस लाख रहेको तथ्याङ्क छ । सन् २०१६ को तथ्याङ्क अनुसार आधुनिक दासका रूपमा चार करोड व्यक्तिले विश्वका विभिन्न स्थानमा काम गरिरहेका छन् । यसमध्ये महिला र बालिका (किशोरी) ७१ प्रतिशत रहेका छन् । सन् २०१६ सम्ममा प्रति हजार जनसङ्ख्याको करिब पाँच व्यक्ति आधुनिक दासका रूपमा बाँच्न बाध्य रहेका छन् । विश्वमा करिब १५ करोड २० लाख बालबालिका बाल श्रमिक छन् । ७३ अर्ब बालबालिकाले जोखिमयुक्त काम गर्छन् भने ७१ प्रतिशत बाल श्रमिकले कृषि क्षेत्रमा काम गरिरहेका छन् । पाँच देखि १४ वर्ष उमेर समूहका बालिकाहरूले बालकको तुलनामा प्रत्येक दिन ४० प्रतिशत बढी समय विना पारिश्रमिक घरेलु काम गर्ने गर्छन् । यसलाई यो विश्वव्यापी रूपमा हेर्दा कुल जनसङ्ख्याको १६ करोड हुन्छ । विश्वमा महिलाले गर्ने काम पुरूषको तुलनामा पारिश्रमिक र विना पारिश्रमिक गरी प्रतिदिन औषतमा ४४ मिनेट रहने गरेको छ तर पुरूषले महिलाको तुलनामा पारिश्रमिक लिएर गर्ने कामका लागि १३९ मिनेट बढी खर्च गर्ने गर्छ । रासस

पर्यटकीय क्षेत्र अम्लेखगञ्जमा खानेपानीको अभाव, होटल व्यवसायी विस्थापित हुने अवस्थामा

निजगढ ।  बाराको अम्लेखगञ्जमा खानेपानीको अभाव शुरु भएको छ । करिब आठ दशकअघि गुल्जार शहरका रुपमा परिचित ऐतिहासिक शहर अम्लेखगञ्जमा पुस नसकिँदै खानेपानीको अभाव शुरु भएको हो । नेपाल पर्यटन वर्ष २०२० को चर्चा–परिचर्चा शुरु भइरहेको र नेपाल पर्यटन वर्ष २०२० आउँनै लाग्दा सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले आवश्यक मात्रामा पानीको प्रयोग गर्न नपाएका हुन् । पर्सा राष्ट्रिय निकुञ्ज, हात्ती सफारी, जङ्गल सफारी, पैदल सफारी, रेल्वे क्षेत्र, चुरे पहाड र कामिनी दह लगायतका पर्यटकीय क्षेत्र रहेको भए पनि पर्यटकलाई आवश्यक पर्ने पानीको अभावमा हुँदा पर्यटन व्यवसाय सङ्कटमा परेका छन् । राणा प्रधानमन्त्री देवशम्शेरले २४ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की विसं १८९६ मा निर्माण गरी विसं १९५३ बाट सञ्चालनमा ल्याएको भए पनि अहिले सो ट्याङ्कीमा पानी सुक्दै गएको र अरू विकल्प केही नहुँदा पर्यटकीय गन्तव्य अम्लेखगञ्जवासी नै सङ्कटमा परेका छन् । पर्यटकीय क्षेत्रका रुपमा रहेको अम्लेखगञ्जमा खानेपानीका लागि कुनै पहल नहुँदा यसैका कारण आफूहरु विस्थापित हुने अवस्थामा पुगेको स्थानीय होटल व्यवसायीले बताएका छन् । अहिले अन्य स्थानबाट पानी किनेर ल्याउनु परेको स्थानीयवासी, होटल तथा रिसोर्ट सञ्चालकहरुको गुनासो छ ।

काठमाडाैंमा अझै चिसो बढ्ने, बुधबार र बिहीबार देशैभरि बदली हुने

काठमाडौं । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा मंगलबार हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जम्मु-कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ । सोे प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनले बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताए । रासस

जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण गरिँदै

काठमाडाैं । चट्याङ तथा आगलागीको जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण शुरु हुने भएको छ । वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी शुरु भएको चट्टयाङविद डा.श्रीराम पौडेलले जानकारी दिए । ‘विद्युतीय कोड’मा चट्याङसम्बन्धी कोड पनि जोडिने छ । सो कोडबारे स्थानीय सरकारलाई जानकारी दिएर विभिन्न कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ । “चट्याङको जोखिम हटाउनका लागि ठूलो लगानी आवश्यक पर्दैन, भवनमा ‘विद्युतीय कोड’को पहलले पनि ठूलो काम गर्छ”, उनले भने । चट्याङविद् डा. पौडेलले भवनमा ‘ विद्युतीय कोड’ भए चट्याङको जोखिम घट्ने उल्लेख गर्दै ६० प्रतिशतभन्दा बढी घटना ‘विद्युत् सर्ट’ का कारण हुने बताए । चट्याङको दृष्टिकोणले नेपाल तेस्रो जोखिमयुक्त स्थानमा रहेको बताइएको छ । उनले विद्युतीयसंहिता निर्माण गरेर चट्याङ तथा आगलागीका घटना हुन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै भवनको कोडलाई ‘ विद्युतीय कोड’मा जोड्न सकिन्छ भनेका छन् । घर निर्माण गर्दा नक्सा पास गरे जस्तै वायरिङमा पनि नक्सा पास अनिवार्य भएको र त्यसले घरको वायरिङ प्रणालीलाई व्यवस्थित गर्ने बताइएको छ । चट्याङका कारण नेपालका ४० प्रतिशत जङ्गलमा आगलागी हुने गरेको छ । चट्याङविद् डा. पौडेलले प्रदेश नं ५ पनि चट्याङको जोखिममा रहेको औँल्याए । नेपालको सबैभन्दा बढी चट्याङ झापा र चुरे क्षेत्रमा पर्ने गरेको बताइएको छ । विसं २०६८ देखि ०७५ सम्म चट्याङका कारण ११० जनाको मृत्यु भएको थियो । रासस