विकासन्युज

हेटौडा राजधानी बनाउने नेकपाको निर्णयले सत्तारुढमै विवाद

काठमाडौं । प्रदेश ३ को राजधानी हेटौडालाई नै बनाउने सत्तारुढ नेकपाको निर्णयले पार्टीभित्रै विवाद बढाएको छ । मकवानपुर, चितवन, धादिङ र काठमाडौ उपत्यकाका केही सांसद पार्टी निर्णयको पक्षमा देखिएका छन् भने काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, रामेछाप र काठमाडौं उपत्यकाका केही सांसद विपक्षमा देखिएका छन् । प्रदेशको नामाकरणका विषयमा भने खासै विवाद छैन । तर, राजधानीको विषयमा भने विवाद धेरै देखिएको छ । राजधानी बनाउनको लागि हेटौडामा पूर्वाधार रहेको र सबैतिरको सडक संजालले जोडिने भएकोले उपयुक्त हुने हेटौडा राजधानी बनाउनु पर्छ भन्नेहरुको तर्क छ । तर, हेटौडाभन्दा उपयुक्त स्थान अन्यत्र पनि भएको भन्ने विपक्षमा रहेका सांसदको मत छ । यसअघि मकवानपुर, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुली, नुवाकोट, काभ्रे जस्ता जिल्लामा राजधानी राख्नुपर्ने माग भएपनि प्रदेशसभाले राजधानी तोकेको छैन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरिसकेको छ । केन्द्रमा र प्रदेश ३ मा पनि बहुमतमा रहेको नेकपाले पार्टी संयन्त्रबाटै निर्णय गरेकोले यो निर्णय परिवर्तन हुने सम्भावना भने कम देखिएको छ । मकवानपुरका सांसद मुनु सिग्देल पार्टीले निर्णय गरिसकेपछि यसमा विवाद गरिरहनु आवश्यक नहुने वताउँछिन् । ‘पार्टीले निर्णय गरिसकेको छ, पार्टीले नै पठाएका व्यक्तिहरु सांसद हुनुहुन्छ, त्यसैले नेकपाले गरेको निर्णय परिवर्तन हुदैन, राजधानी हेटौडा नै कायम रहन्छ,’ सिग्देलले भनिन् । उपत्यकाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाक्य भने प्रदेशको राजधानी र नाम तय गर्ने अधिकार प्रदेशसभालाई भएकोले पार्टी संयन्त्रले निर्णय लाद्न नहुने वताउँछन् । ‘प्रदेशसभाले निर्णय गर्ने अधिकार नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीलाई र प्रदेशसभा दललाई निर्देशन दियो, यो प्रक्रिया ठीक भएन, प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेशसभालाई नै हुनुपर्छ,’ सांसद शाक्यले भने । निर्माणाधिन फास्ट ट्रयाक, धरान–चतरा राजमार्ग, हेटौंडा–काठमाडौं सुरुङ मार्गका कारण हेटौंडा सबैतिरबाट जोडिने भएकाले पनि हेटौंडा नै राजधानीको लागि उपयुक्त हुने केही सांसदको तर्क छ । सुरक्षा, भौगोलिक, भौतिक संरचना तथा पर्यावरणीय अवस्थाको कारणले पनि हेटौडाको विकल्प नभएको उनीहको भनाइ छ ।

राष्ट्रिय बीमा कम्पनी एक वर्षदेखि कामचलाउको भरमा, सीईओ छिट्टै खोज्ने अध्यक्षको दाबी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोजी गर्न थालेको छ । करिब १ वर्षदेखि अर्थमन्त्रालयले पठाएका डा. डिल्लीराज अर्यालले सीईओको रुपमा काम गरेका भएपनि कम्पनी बल्ल सीईओ खोज्न लागेको हो । अर्थमन्त्रालयले पठाएका प्रतिनिधिको भरमा कम्पनी चलाउनु संस्थागत सुशासन विपरित भएको भन्दै नियामक निकाय बीमा समितिले प्रश्न उठाएपछि कम्पनी नयाँ सीईओको खोजीमा लागेको हो । नयाँ सीईओ खोजीको प्रक्रिया छिट्टै सुरु हुने कम्पनी संचालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्यायले जानकारी दिए । कम्पनीमा लामो समयदेखि लेखापरीक्षण बाँकी रहेकोले सरकारी प्रतिनिधिले नै कम्पनीको नेतृत्व लिदा काम गर्न सहज होला कि भन्ने अनुमानले सीईओ छनोटमा केही ढिलाई भएको अध्यक्ष उपाध्यायले वताए । ‘सीईओ नियुक्ति प्रक्रिया केही ढिला भएको हामीले महसुस गरेका छौं, लेखापरीक्षण लगायतका पुराना केही काम बाँकी रहेकोले पनि ढिलाई भएको हो, नियामकले पनि सीईओ नियुक्ति प्रक्रिया छिटो सुरु गर्न भनेको छ, त्यसैले छिट्टै नै प्रक्रिया अगाडि बढाउँदैछौं,’ अध्यक्ष उपाध्यायले भने । सेकेन्डमेनको पनि खोजी कम्पनीले व्यवस्थापन सम्हाल्ने सेकेन्डमेन पनि नियुक्त गर्न सकेको छैन । सीईओ र डेपुटी सीईओ नै नहुँदा प्रशासनिक काम कारवाहीमा असर पुगेको कर्मचारीहरुको भनाइ छ । बीमा समितिले जारी गरेको विमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा टेकेर भएपनि चाढै नै डेपुटी सीईओ नियुक्त गर्ने तयारी भएको अध्यक्ष उपाध्यायले जानकारी दिए ।

जीवन बीमा कम्पनीहरूकाे अलग्गै संस्था गठन, शिवनाथ पाण्डे अध्यक्ष

काठमाडौं । जीवन बीमा कम्पनीहरूकाे संगठन जीवन बीमक संघ नेपाल दर्ता भएकाे छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, काठमाडाैंमा नयाँ संघ दर्ता भएकाे हाे । ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा मेट लाइफका सिइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफका सिइओ पोषकराज पौडेल र कोषाध्यक्षमा रिलायन्स लाइफका सिइओ प्रविण रमण पराजुली रहेका छन् । कार्य समिति सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक, रिलायबल लाइफ इन्स्योरेन्सका सिइओ नारायण बावु लोहनी, ज्योति लाइफका डेपुटी सिइओ प्रकाश विक्रम खत्री, सन नेपाल लाइफका सिइओ राजकुमार अर्याल र युनियन लाइफ इन्स्याेरेन्सका सिइओ मनोज कुमार कर्ण रहेका छन् । नेपाल बीमक संघमा निर्जीवन बीमा कम्पनीहरू हावी हुँदै गएपछि जीवन बीमा कम्पनीहरूकाे अलग्गै संस्था गठन भएकाे बीमकहरूकाे भनाइ छ । २ वर्षअघिसम्म १७ वटा निर्जीवन र ९ वटा जीवन बीमा कम्पनी थिए । त्यतिबेला नेपाल बीमक संघकाे नेतृत्व जहिले पनि निर्जीवन बीमा कम्पनीबाट चुनिदा जीवन बीमा कम्पनीहरू उक्त संस्थाबाट क्रमशः निस्क्रय बन्दै गएका  थिए । पछिल्लाे २ कार्यकालमा नेपाल बीमक संघकाे कार्यसमितिमा  जीवन बीमा कम्पनीकाे प्रतिनिधित्व शुन्य थियाे । पछिल्लाे समय एक पटक १० वटा जीवन बीमा कम्पनी खुलेपछि जीवन बीमा कम्पनीकाे संख्या १९ वटा भएका छन् । निर्जीवन बीमा कम्पनीकाे संख्या २० वटा छ । पुर्नबीमा कम्पनी एउटा छ । जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीकाे भूमिका धेरै फरक भएकाे र जीवन बीमा कम्पनीहरूकाे साझा सवालमा मिलेर काम गर्न अलगै संस्था खाेल्नु परेकाे जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बताए । ‘जीवन र निर्जीवन बीमा कम्पनीकाे लागि कानुन एउटै भएपनि, नियामक एउटै भएपनि हामीले गर्ने काम, हामीले लिने दाहित्वमा धेरै फरक छ’ अध्यक्ष पाण्डेले भने ‘निर्जीवन बीमा कम्पनीका समस्या अलग्गै हाेलान्, हाम्रा समस्या अलग्गै हुन्छन् । जीवन बीमाकाे क्षेत्रमा हामीले खेल्नु पर्ने भूमिका पनि धेरै फरक हुन्छ ।’

कास्कीमा कुमारी बैंकको २१औं शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । कुमारी बैंक लिमिटेडले कास्कीको छोम्रोंगमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका हुन् । बैंकले कास्की जिल्लामा ३ शाखाहरु-पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताएका छन् । बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस मेसिन पनि जडान गरिसकेको छ । बैंकले हाल ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ् सेवा दिँदै आएको छ ।

भ्रमण वर्षको उद्घाटनः घरघरमा दीपावली, सीमामा स्वागत र बग्गीमा शहर परिक्रमा

काठमाडाैं । भोलि अर्थात बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० अभियान सुरु हुँदैछ । नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात पुस १६ गते बुधबार देशभर भ्रमण वर्षको औपचारिक उद्घाटन हुने भएको हो । भ्रमण वर्ष सचिवालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्ने कार्यक्रम छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ३१ देशका पर्यटनमन्त्री र विशिष्ठ व्यक्तिलाई भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका थिए । तर, अहिलेसम्म चीनका पर्यटन मन्त्री वाङ छियाेफिङ, भारतका पर्यटन मन्त्री प्रल्हाद सिंह पटेल, जमैकाका पर्यटन मन्त्री एडमण्ड बरट्लेट र म्यानमारका पर्यटन मन्त्री यु ओहोन काठमाडाैं आइपुगेका छन् । २० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ सुरु हुन लागेको नेपाल भ्रमण वर्षमा सहभागिता जनाउन धेरै देशका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । उद्घाटन समारोहमा भारत, चीन, बङ्गलादेश, युरोपलगायत देशका ४० भन्दा बढी सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहनेछ । उद्घाटन समारोहमा साँस्कृतिक कार्यक्रमसहित झाँकी प्रस्तुत गरिनेछ । मन्त्री भट्टराईले यसअघि नै काठमाण्डौ उपत्यकाका स्थानीय जनप्रतिनिधिसँग छलफल गरेर आ–आफ्नो नगरका परिचय झल्किने झाँकी प्रदर्शन गर्न अनुरोध गरेका थिए । भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यका अनुसार उद्घाटन समारोहमा करिब २ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । सरकारले भ्रमण वर्ष २०२० का लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, केन्द्र सरकारले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका दिन घरघरमा दीपावली गरी उत्सव मनाउन सबै नेपालीलाई आग्रह गरेको छ । संघीय सरकार तथा प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरुमा पनि आ–आफ्नै मौलिक कार्यक्रमहरु गरी उत्सव मनाउन संघीय सरकारको निर्देशन छ । निजी संघ, संस्था र कार्यालयहरुलाई पनि नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गर्न विभिन्न कार्यक्रम संचालन गर्ने तथा सरकारी कार्यक्रममा सहभागिता जनाउन सरकारले अनुरोध गरेको छ । यस्तै, सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नेछन् । प्रदेश १ मा उद्घाटन शहिद पार्कमा प्रदेश १ ले विराटनगरको शहीद मैदानमा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक योजना अघि बढाइएको प्रदेश १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । उद्घाटन समारोहमा प्रदेश १ का विभिन्न कला र संस्कृति झल्किने झाँकीसहितका प्रस्तुति हुनेछन् । प्रदेश १ ले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धन समिति गठन र पूर्वाधारका काम पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ । पर्यटन पूर्वाधारमा १ अर्ब ५१ करोड रूपैयाँ बजेट विनियोजन गरिएको प्रदेश १ काे पर्यटन मन्त्रालयले जानकारी दिएकाे छ । प्रदेश २ को तयारी, सबै जिल्लामा समन्वय समिति पर्यटन वर्ष २०२० को तयारीका लागि प्रदेश २ को आठवटै जिल्लाहरुमा समन्वय समितिहरु गठन भएका छन् । समतिले प्रदेश २ काे तयारी पुरा भएको नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक मनिष झाले जानकारी दिए । प्रदेश २ ले पनि जनवरी १ मा विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ । प्रदेश ३ ले सीमा नाकामा स्वागत गर्ने प्रदेश तीनले पनि भ्रमण वर्ष समारोहको तयारी पुरा गरेको बताएको छ । प्रदेश ३ सरकारले भ्रमण वर्षको दिन चिनियाँ र भारतीय पर्यटकलाई सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ । रसुवा, तातोपानी नाका, चितवन विमानस्थलमा आउने पर्यटकलाई स्वागत कार्यक्रम गरिने प्रदेश ३ ले जानकारी दिएको छ । प्रदेश सरकारले चितवनमा चलिरहेको हात्ती महोत्सवबाट नै भ्रमण वर्षको सुरुवात गर्ने योजना बनाएको छ । गण्डकी प्रदेशमा ११ जिल्लाकाे झाँकी गण्डकी प्रदेशले भ्रमण वर्षको तयारी पुरा गरेको छ । प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्दैछ । भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा १५ सदस्यीय उपसमिति गठन गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी छ । प्रदेश ५ मा ‘लुम्बिनी भ्रमण वर्ष’ प्रदेश ५ सरकारले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गरेको छ । लुम्बिनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरुलाई जोडेर भ्रमण वर्षका कार्यक्रम सञ्चालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेश ५ ले पनि जनवरी १ मा विशेष कार्यक्रम गरी भ्रमण वर्षको उद्घाटन गर्दैछ । १ लाख पर्यटक भित्र्याउने कर्णालीकाे लक्ष्य सन् २०२० मा एक लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ कर्णाली प्रदेशले भोलि भ्रमण वर्षको सुरुवात गर्दैछ । प्रदेशले २०२० मा एक लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो । भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । प्रदेश सरकारले रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, त्रिपुरासुन्दरी, पञ्चकोशी, सिञ्जा, काँक्रे विहारलगायतका क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा तोकेको छ । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष शुभारम्भका दिन जनवरी १ मा कर्णालीका १० वटै जिल्लाका साँस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी गरेको छ । सुदूरपश्चिममा पहिलो पर्यटकलाई बग्गीमा बजार घुमाइने सुदूरपश्चिम प्रदेशले भ्रमण वर्षको उद्घाटन जनवरी १ मा धनगढीमा रहेको संघीय प्रहरी इकाई मैदानमा गर्नेछ । उद्घाटन समारोहमा सुदूरपश्चिमको कला र संस्कृति झल्किने गीत तथा झाँकी प्रस्तुत गरिने सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले जानकारी दिइन् । सीमाना नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गरिने सुदूरपश्चिम प्रदेशले योजना बनाएको छ । नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने तयारी छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा राखेर बजार परिक्रममा गराउने भएको हो ।

सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरमा ग्राहकहरुले ६० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गर्दै सो मलमा रहेका सबैजसो पसलहरुले ग्राहकहरुलाई सो मात्राको दिन लागेको हो । नयाँ वर्ष २०२० लाई लक्षित गर्दै विशेष सेल अभियानको घोषणा गरेसँगै ग्राहकले उक्त छुट पाउने भएका हुन् । यस सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

काठमाडौं । एनसेलले सन् २०२० को पहिलो दिन जनवरी १ मा ग्राहकलाई विषेश दिने भएकाे छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथापोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् । यो अफर यहि बुधबार (पुष १६) गते देखि लागू भई २४ घण्टाको लागि मान्य रहने छ । एनसेलकाग्राहकले बुधबार बिहान १२.०० बजे देखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यीदुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् । यो योजनाअन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जिबी प्याक कर सहित मात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यहियोजनाअन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पर्नेमासिक ६ जिबी (३ जिबी+३ जिबीफोरजी डेटा) डेटा प्याक कर सहितमात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५०ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

तमु ल्होसारमा यस्ताे देखियाे टुँडिखेल (फोटोफिचर)

काठमाडौं। गुरुङ समुदायको महान् चाड तमु ल्होसार मंगलबार देशभर धुमधामको साथ मनाइदैँ छ । राजधानी काठमाडा‌ै‌मा पनि राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रमुख आतिथ्यमा तमु ल्हाेसार मनाइएकाे छ । मंगलबार काठमाडौंकाे टुँडिखेलमा विभिन्न साँस्कृतिक झाँक्रीको प्रस्तुतीको साथ ल्होसार मनाइदैँ छ । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष कुकुरको वर्ष ( खि ल्हो )को वर्ष थियो भने यस वर्ष मृगको वर्ष (फो-ल्हो) रहनेछ ।