डेढ कराेड लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिँदै
वालिङ । वालिङ नगरपालिका–१० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ९२ लाख, गण्डकी प्रदेश सरकारले रु ६० लाख तथा बाँकी नगरपालिकाको लगानीमा औद्योगिक ग्राम सञ्चालन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले बताएका छन् । नगर कार्यपालिकाको बैठकबाट वालिङभित्रका वडा नं १० बैडी, वडा नं १ बौवा, वडा न. ११ पञ्चमूल, वडा नं १२ को धनमुढा, वडा नं १३ को बाह्रविसे र वडा नं १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम सञ्चालनका लागि जग्गा छनोट गरिसकिएको नगरप्रमुख खाँणले बताए । “औद्योगिक ग्राम सञ्चालन गर्न पहिलो चरणमा वडा नं १० बैंडीमा रहेको जग्गा छनोट गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “बैंडीमा रहेको ९२ रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम सञ्चालनका लागि तयारी शुरु गर्छौं ।” पहिलो चरणमा बैंडीलाई औद्योगिक ग्रामका रुपमा विकास गरेपछि आगामी वर्षहरुमा बाँकी रहेका अन्य स्थानमा पनि सञ्चालनको तयारी गर्ने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख खाँणको भनाइ छ ।रासस
खोटपूर्ण कानुनले हरेक वर्ष पेनाल्टी खाँदै बीमा कम्पनीहरु, ३९ वटा कम्पनी एजीएम गर्न असफल
काठमाडौं । यस वर्ष पनि बीमा कम्पनीहरु पुस मसान्तभित्र वार्षिक साधारणसभा (एजीएम) गर्न असफल भएका छन् । चालु आर्थिक वर्षको पुष मसान्तसम्म एक मात्र बीमा कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ भने ३९ वटा बीमा कम्पनी साधारणसभा गर्न असफल भएका छन् । कम्पनी ऐन अनुसार पुस मसान्तसम्ममा वार्षिक साधारणसभा गर्नैपर्छ । नगर्ने कम्पनीले पुँजीका आधारमा जरिवाना तिर्नुपर्छ । जति बढी पुँजी भयो, त्यति बढी जरिवाना लाग्ने कानुनी व्यवस्था छ । बीमाङ्कीय मूल्याङकन गर्ने जनशक्ति (बीमाङ्की) को अभाव भएकोले बीमा कम्पनीहरुले वार्षिक साधारणसभा कानुनले तोकेको समय भित्र गर्न नसेकेको बीमा समितिको तर्क छ । नेपालमा एक्चुरी नभएकाले सो काम भारतबाट गराउनु पर्ने, भारतका एक्चुरीहरुले नेपालका बीमा कम्पनीलाई प्राथमिकता नदिने, उनीहरुले भारतीय कम्पनीहरुको बीमाङ्कीय सकेर मात्र नेपाली कम्पनीको बीमाङ्कीय मूल्याङ्कनको काम गर्ने भएकोले बीमा कम्पनीहरुले समयमा साधारण सभा गर्न ढिलाई भएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले विकासन्युजसँग भने । अरु कम्पनीले अघिल्लो आर्थिक वर्षको आयव्याय लेखापरीक्षण गरि साधारणसभा गर्न सक्छन् भने बीमा कम्पनीहरुले लेखापरीक्षणको अतिरिक्त बीमाङ्कीय मूल्याङ्कन गर्नुपर्छ । लेखापरिक्षण र बीमाङ्कीय मूल्याङकन सकेपछि बीमा कम्पनीहरुले सबै रिपोर्ट बीमा समितिमा पेस गर्नुपर्छ । त्यसमा बीमा समितिबाट स्वीकृत पाएपछि मात्र बीमा कम्पनीहरुले साधारणसभा गर्न सक्छन् । बीमा समितिका अनुसार अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स वित्तीय विवरण बीमा समितिलाई बुझाएका छन् । त्यस मध्ये अजोड इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट स्वीकृत गराई साधारणसभा पुस ११ गते गरेको छ । प्रभु र सानिमाले समितिबाट स्वीकृत पाउन बाँकी छ । पुस मसान्तसम्ममा साधारणसभा नगर्ने ३९ वटा कम्पनीले कम्पनी रजिष्ट्रार कार्यालयमा पेनाल्टी तिर्नुपर्ने भएको छ । कानुन नै अव्यवहारिक पुस मसान्तभित्र बीमा कम्पनीहरुले साधारणसभा नगर्नुलाई साधारण लगानीकर्ता, नियामक तथा आलोचकहरुले बीमा कम्पनीको अटेरी पनलाई दोष दिन्छन् । तर भोक्ताहरुको मत फरक छ । बीमाङ्कीय मूल्याङकन गर्नु पर्ने कम्पनीहरुको हकमा अतिरिक्त समय आवश्यक भएको उनीहरु बताउँछन् । कम्पनी ऐन बनाउनेहरुले बीमाको प्राविधिक पक्ष र बीमाङ्कीय मूल्याङकन गर्ने एक्चुरीको अभाव जस्तो विषयमा ध्यान नदिदा सबै बीमा कम्पनीहरुले हरेक वर्ष जरिवाना तिर्नु परेको एक बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले बताए । ‘कानुनमा खोट छ, हामीले जरिवाना तिर्नुपर्छ’ उनले भने । ‘नेपालमा करिब २ लाख ३० हजार कम्पनी संचालनमा छन्, ती सबै कम्पनीहरुले पुस मसान्तभित्र साधारण सभा गर्नुपर्छ’ कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले विकासन्युजसँग भने ‘कानुनले तोकेकाे समयमा साधारणसभा नगर्ने, लेखापरीक्षण भएको आर्थिक प्रतिवेदन पेस नगर्नेलाई कानुन अनुसार कारवाही हुन्छ । कानुनले तोकेएको जरिवाना तिर्नुपर्छ ।’ बीमा कम्पनीहरुले साधारणसभा पुस मसान्तमा गर्न नसकेको यो पहिलो वर्ष होइन । गत वर्ष पनि अधिकांश कम्पनीले जेठ र असारमा मात्र साधारणसभा गरेका थिए । गत वर्ष एनएफआरएसका कारण साधारणसभा गर्न ढिला भएको तर्क गरिएको थियो । तर यसवर्ष पनि हालत उस्तै देखिएको छ ।
वर्षाका कारण ८० प्रतिशत इँटा नष्ट
भक्तपुर । लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्णरुपमा नष्ट भएका भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्याम्वाले जानकारी दिएका छन् । उनले भने, “पोल्नलाई तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा इँटाभट्टामा कम्तीमा आठ लाख र बढीमा नौ लाखको सङ्ख्यामा काँचो इँटा नष्ट भएका छन्, अब पोल्ने इँटा नै छैन, भट्टामा आगो जोगाउनै मुस्किल पर्यो ।” इँटा नष्टहुँदा व्यवसायीलाई करिब रु नौ करोड बराबरको नोक्सान भएको अध्यक्ष ह्याम्वाले जानकारी दिए । काँचो इँटा नहुँदा भट्टाको आगो निभाउनुपर्ने अवस्था सृजना भएकाले झन् जोखिम बढेको बताउँदै उनले आगो जोगाउन इँटा नभए पनि कोइला हालिरहनुपर्ने भएकाले दोहोरो खर्च बढेको बताए । पुरानो इँटा मौज्दात भएकाले तत्काल इँटाको अभाव पनि नहुने र मूल्य पनि नबढ्ने उल्लेख गर्दै उनले व्यवसायीलाई समस्या परेकाले नगरपालिका र सरकारसँग कर छुट दिन माग गरेका छन् । वर्षाका कारण व्यवसायीलाई मात्रै नभई मजदूरलाई समेत निकै नोक्सान पुर्याएको छ । चाङ लगाएको इँटामा ३३ प्रतिशित नोक्सानी मजदूरले व्यहोर्नु पर्ने व्यवस्था गरिएको छ । वर्षाले हुने क्षतिमा भुइँमा भएका र सुकाएका इँटाको सम्पूर्ण नोक्सानी मजदूरले व्यहोर्नुपर्ने र चाङ लगाएका इँटाको नोक्सानी भने ६७ प्रतिशत व्यवसायी र ३३ प्रतिशत मजदूरले व्यहोर्नुपर्ने व्यवस्था छ । इँटाभट्टाका मजदूर भकुण्डेबेँसीका रामबहादुर विकले वर्षाले इँटा नष्ट हुँदा निकै मारमा परेको बताए । उनले साहुले जिम्मा नलिएको इँटाको नोक्सानी सबै आफैँले व्यहोर्नुपर्ने भएकाले यहाँका सबै इँटाभट्टाका मजदूर इँटा नष्ट हुँदा मारमा परेकाे बताउँछन् । रासस
आजबाट मौसममा पूर्ण सुधार हुने
काठमाडाैं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ । हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ९ डिग्री र अधिकतम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । आज देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पीश्चमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने औँल्याएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताएका छन् । उनका अनुसार भोलि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मङ्गलबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रासस
सौन्दर्यविद् सोनी काररंजितद्वारा एलिनाज ब्युटीपार्लरको उद्घाटन
काठमाडौं । सौन्दर्यकर्मी एलिना श्रेष्ठद्वारा एलिनाज ब्युटीपार्लर संचालनमा ल्याइएको छ । तारकेश्वर नगरपालिका जरंखुस्थित उक्त ब्युटीपार्लरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यविद् तथा समाजसेवी सोनी काररंजितले गरेकी हुन् । युवा व्यवसायी सौन्दर्यकर्मी एलिनाद्वारा सञ्चालित एलिनाज ब्युटीपार्लर उक्त क्षेत्रको अत्याधुनिक प्रविधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । विगत चार वर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्य साथ संचालन गरिएको एलिनाले बताएकी छन् । सो ब्युटीपार्लरमा अनुभवी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाई सेवा सुबिधा प्रदान गरिने र महिलाहरुलाई चाहिने सौन्दर्य सामग्री समेत बिक्री वितरण हुने कुरा सौन्दर्यकर्मी एलिनाले बताइन् । आफ्नो ब्यबसायिक सफलताको श्रेय आफ्नी आमा इन्दिरा श्रेष्ठ र आफ्नी गुरुआमा सोनी काररंजितलाइ दिने उनले उहाँहरुकोको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यबसाय सुरु गरेर आत्मानिर्भर बनेको बताइन । रोज शिप बिकास तालिम केन्द्रकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै एलिनाज ब्युटीपार्लरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन भने ब्यबसायिक सफलताको शुभकामना समेत ब्यक्त गरिन
झडप भएपछि बाह्रबिसे बजारमा निषेधाज्ञा जारी
चाैतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । बाह्रबिसे बजारको पूर्वतर्फ ३ सय मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिएका छन् । सो नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाइएका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो । सूचना अटेर गरिएपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि सामान्य झडपसमेत भएको थियो ।रासस
स्पर्श लघुवित्तको सीपमूलक तालिम सम्पन्न
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको नौडाँडा शाखाले सदस्यहरुको लागि आधारभुत तीन दिने क्रिष्टलका सामानहरु बनाउने तालिम सम्पन्न गरेको छ । कास्कीको नौडाँडामा माघ २ गते देखि शुरु भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका ३० जना सदस्यहरु सहभागी भएका थिए । तालिममा चुरा,पोते,औंठी,टप लगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो । कार्यक्रमको समापनका क्रममा वित्तीय संस्थाका सहायक प्रवन्धक सुदिप आचार्यले प्रमाण–पत्र वितरण गर्दै, वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा प्रवाह गर्नुका साथै यस्ता शिपमुलक तालिमहरु आयोजना गरि आम्दानीका स्रोत बढाउन तथा कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्ने गरेको बताए साथै, वित्तीय संस्थाको संचालनमा रहेका २० वटै शाखा कार्यालयहरुमा यस्ता सीपमूलक तालिम संचालन गरिने बताएका छन् । कार्यक्रममा रविना रिजालले प्रशिक्षकको भुमिका निर्वाह गरेकी थिइन् ।
पाैने तीन अर्ब लागतमा बेलिब्रिज निर्माणसँगै राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै हुम्ला
बाजुरा । हुम्ला जिल्ला एक महिनाभित्र राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले अहोरात्र काममा जुटिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले कालीकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्मको १ सय ४५ किलोमिटर सडकको निर्माण जिम्मा पाएको छ । ती मध्ये कालीकोट ४० किलोमिटर, बाजुरा ४४ किमि र बाँकी हुम्ला जिल्लामा रहेको जनाइएको छ । कर्णाली करिडोरअन्तर्गत सो खोलामा बेलिब्रिज निर्माणसँगै बाजुरा र हुम्ला सडकसँग जोडिएका हुन् । पुलले जोडेको हुम्ला र बाजुरालाई एक महिनाभित्र सवारी साधनले पनि जोड्ने छ । सेनाले कवाडी खोला बेलिब्रिज निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । लगातारको वर्षा र हिमपातका कारण सडक निर्माण तथा आवश्यक समान ढुवानी गर्न सेनालाई समस्या बनाएको जनाइएको छ । कवाडी नदीमा बेलिबिज्रको काम सम्पन्न भएसँगै हुम्लामा सवारी समाधान सहजरुपमा सञ्चालन हुने छन् । कर्णाली करिडोरको तिथिचौर क्याम्पका सहसेनानी शङ्कर सिलवालले महिना दिनभित्र हुम्लाको अदानचुली गाँउपालिकाको गल्फागाडसम्म यातायात सञ्चालन हुने जानकारी दिए । कवाडी नदीमा बेलिबिज्र जडानपछि हुम्ला जिल्लाका १६ किमि बाटोमा यातायात सञ्चालन हुने देखिन्छ । हुम्ला र बाजुराको सिमानामा पर्ने कवाडी नदीसम्म ८४ किमि रहेको छ । त्यहाँबाट अदानचुली गाउँपालिकाको गल्फागाडसम्म १६ किलोमिटर रहेको छ । दशकौँसम्म खच्चड, भेडा र मान्छेले ढुवानी गर्नुपर्ने बाध्यता केही समयमै हट्ने हुम्ला ताजाकोट मैला गाँउपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिएका छन् । सडकसँग जोडिएसँगै हुम्ला जिल्लाको तल्लो क्षेत्रका स्थानीय खुशी भएका छन् । गाडी चढ्ने रहरसँगै सहज ढुवानी सेवा पनि पाउने भएपछि स्थानीय खुशी देखिएका छन् । हुम्लावासी वर्षाैदेखि हिँडेर नै यात्रा गर्नुपर्ने र महँगीको मार सहनुपर्ने बाध्यतामा छन् । सडक निर्माणमा पनि सेनाले तीव्र गतिका साथ काम गरिरहेको छ । हुम्लाका स्थानीयले हाल हप्तादिन बढी हिँडेर बाजरा कालीकोट पुगेर गाडीको यात्रा गर्ने गरेका थिए । सवारी सुविधा नहुँदा महँगो हवाई भाडा खर्च गर्नुपर्ने बाध्यता रहेको छ । बिरामीलाई समेत समयमै सुविधा सम्पन्न अस्पतालमा पुर्याउने आशमा हुम्लावासी छन् । सो सडक खण्ड सेनाले विस २०७१ चैतबाट निर्माण शुरु गरेको थियो । लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटतालगायत प्रतिकूलता औँल्याउँदै सरकारले २०७१ मा सो करिडोरलाई विशेष परिस्थितिको सडकमा परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । यस सडकको निर्माणमा रु दुई अर्ब ८४ करोड ११ लाख १६ हजार खर्च हुने अनुमान छ ।रासस