विकासन्युज

मुनाल सहकारीद्वारा प्रहरी कार्यालय भवन निर्माणमा आर्थिक सहयोग

काठमाडौं । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था सहकारीले आफ्नो बाह्रौं वार्षिक उत्सवको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई आर्थिक सहयोग गरेको छ । संस्थाले जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा निर्माण भईरहेको कार्यालय भवनको निर्माण सहयोगार्थ रु पच्चिस हजार आर्थिक सहयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद हुमागाईले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समितिका अध्यक्ष दिलिपराज श्रेष्ठलाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु, कर्मचारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

हिमपातका कारण रसुवा–केरुङ आवतजावत बन्द, सयौँ सवारी चालक अलपत्र

रसुवा । हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ । एक सयभन्दा बढी ठूला मालवाहक सवारीसाधन गुड्ने रसुवागढी क्षेत्रमा हिमपातले सडक अवरुद्व भएपछि अहोरात्र पहरा दिने सुरक्षाकर्मीलाई आराम गर्ने मौका मिलेको स्थानीय बासिन्दाले बताएका छन् । केरुङमा रहेका नेपालीमध्ये तीनजना कठोर यात्राका साथ शनिबार रसुवागढी आइपुगेको र सडक खुल्न अझै केही दिन लाग्ने सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । रसुवा राजमार्गले अझै मर्मत पाएन उत्तरी क्षेत्रबाट व्यापार–व्यवसाय गर्ने राजमार्ग मर्मत हुन नसक्दा दिनानुदिन जीर्ण बन्दै गएको छ । नेपाल चीनबीच व्यापारी कारोवारबाट दैनिक तीन करोड राजश्व आर्जन गर्ने एकमात्र पासाङल्हामु राजमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन गुडाउन असहज बन्दै गएको ट्रक तथा कन्टेनर चालकहरूले बताएका छन् । सडकका अधिकांश स्थानमा खाल्टाखुल्टी हुँदा मालवाहक ट्रक तथा कन्टेनर कोल्टिन गई भिरालो सतहमा सवारीसाधन पार गर्न घण्टौँ प्रयास गर्नुपर्ने समस्या झेल्नु परेको सवारी चालकद्वारा निरन्तर आवाज उठिरहेको छ । पहिलो चरणमा राम्चे तथा मूलखर्कको उकालो र खोपाङभिर क्षेत्रअन्तर्गत थोरै राजमार्ग सडक सतह ढलान र अन्य ठाउँमा ग्रेगर माटो भर्ने व्यवस्थापन भए पनि सहज रूपले सवारीसाधन आवतजावत हुने चालकहरूको भनाइ छ । राजमार्ग मर्मतसम्भार गरी दिन सयाैं सवारी चालकले आवाज उठाइरहे तापनि सडक कार्यालयले बेवास्ता गरिरहेको चालक रामचन्द्र पुडासैनीले बताए । साँघुरो राजमार्ग, मर्मतमा शिथिलता, अनुगमन गर्ने डिभिजन कार्यालय नुवाकोट जिल्लामा रहँदा सडक प्राविधिकको न्यून उपस्थितिले रसुवाको पासाङल्हामु राजमार्ग जीर्ण बन्दै गएको स्थानीय बासिन्दाले समेत आवाज उठाइरहेका छन् । जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले भने राम्चेको स्याउबारीदेखि स्याफ्रुबेँसीसम्म दिनानु दिन जीर्ण हुँदै गएको राजमार्ग छिटोभन्दा छिटो सुधारका लागि आफूले निरन्तर समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताएका छन् । राजमार्गको मूलखर्क ठूलोढुङ्गा नजिक उकालो भागमा असहज भएकै कारण नं ९४३५ को एसी बससमेत गत हप्ता दुर्घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । राम्चेदेखि स्याफ्रुबेंसीसम्म करिब ३० किमी राजमार्गका ठाउँठाउँमा हिलोका कारण सवारीसाधनका चक्का गाडिने समस्यासमेत बढेको बताइएको छ । राजमार्गको टड्कारो समस्या हल गर्न ग्राभेल तथा ढलानका लागि आफूले बारम्बार ताकेता गरिरहेको र डिभिजन सडक कार्यालय नुवाकोटले बजेटको समस्या मात्र देखाई बेवास्ता गरिरहेको स्थानीय प्रशासनले जनाएको छ । जनताको माग र टड्कारो समस्या हल गर्न स्थानीय प्रशासनका तर्फबाट बजेट व्यवस्थापनका लागि सडक विभागसँग बारम्बार पत्राचार भए पनि हालसम्म कुनै कार्यान्वयन नभएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । सडक सुधारका लागि साल बसाली आउने बजेटसमेत पासाङल्हामु राजमार्गको रसुवा खण्डका असहजभन्दा आफूलाई सहज पर्ने क्षेत्रमा मात्र खर्च गर्ने सडक प्राविधिकको बानी देखिएकाले सडकको सुधार गर्ने कार्यमा थप जटिल बन्दै गएको नागरिक समाजले जनाएको छ । राज्यको ठूलो राजश्व आर्जन गर्ने पासाङल्हामु राजमार्गलाई बेवास्ता गर्ने जिम्मेवार राष्ट्रसेवक सडक प्राविधिकले सडक सुधारका लागि विगतमा गरेका खर्चको लेखाजोखा गरी दोषीउपर कारवाही र अत्यावश्यक क्षेत्रमा काम गराउन निर्देशनात्मक आदेशका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष स्थानीयवासीले आग्रह गरेका छन् । रसुवा खण्डको राजमार्ग सुधारका क्रममा हिउँदभरि आलटाल गर्ने र वर्षा लागेपछि आकस्मिक बजेट मात्र परिचालन गराउने डिभिजन सडक कार्यालय नुवाकोटमार्फत रसुवा हेर्ने प्राविधिकको विशेषता देखिएको स्थानीयवासीको अनुमान रहेको छ । पूर्वसावधानीको अभावमा धुञ्चेस्थित ब्रावल भिरको राजमार्ग जीर्ण रहेको र जटिल स्थानमा समेत सडक प्राविधिकको ध्यान नपुग्दा सो स्थानमा सडक मर्मतका लागि राज्यको ठूलो धनराशि खर्च हुने अवस्थामा पुगेको छ । गत साउन महिनामा ब्रावल भिरको सडक भासिन जाँदा स्थानीय प्रशासनको सहयोगमा आवागमन सञ्चालनका लागि सुरक्षा अङ्ग परिचालन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सुरक्षा अङ्गले व्रावल भिरको अलावा राम्चे भिरमा ग्याबिन लगाई अवरुद्व राजमार्ग सञ्चालन गराउनुका साथै र खोपाङ पाखाको असहज सडक सतहमा ढुङ्गा छाप्ने कामसमेत गरेको प्रहरीले जानकारी दिएको छ । सुरक्षा अङ्गले गरेका कामको समेत सडक सुधारको नाममा सडक प्राविधिकले रनिङ्बल उठाए की भन्ने आशङ्का बढेको समेत स्थानीयवासी अख्तियार समक्ष आग्रह गरेका छन् । रासस

काभ्रेमा तीन दिन सार्वजनिक विदा

काभ्रेपलाञ्चोक । सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए  । “सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, उनले भने । उनका अनुसार ल्होछारका अवसरमा गाउँपालिकाका विभिन्न स्थानमा विभिन्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिनेछ । यसअघि, यही माघ १ गते रितिरिवाज, चाडपर्व तथा संस्कृतिको जगेर्ना गर्ने जनाउँदै माघे सङ्क्रान्ति (माघी पर्व)का अवसरमा पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा महाभारत र रोशी गाउँपालिकाले सार्वजनिक सूचनामार्फत सार्वजनिक विदा दिएका थिए । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा नमोबुद्ध नगरपालिकामा महोत्सवको आयोजना गरिने भएको छ । यही माघ ९ देखि १९ गतेसम्म भकुण्डेबेँसी चोकमा आयोजना गरिएको महोत्सवमा कृषि, पर्यटन प्रवद्र्धन तथा स्थानीय संस्कृति झल्कने कार्यक्रम आयोजना गरिएको नमोबुद्ध उद्योग बाणिज्य सङ्घका अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिए । यस्तै, नगरकोट नाल्दूम पर्यटन विकास समितिले पनि भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्होछारकै अवसरमा माघ १० गतेदेखि तीन दिन पर्यटकीयस्थल नगरकोटमा महोत्सव आयोजना गरी स्थानीय लोपोन्मुख बाजा, नाचगान तथा पहिचानलाई प्रदर्शन एवम् खानाका परिकारका माध्यमबाट पर्यटकलाई आकर्षण गर्ने योजना बनाएको छ । रासस

एक वर्षमा कृषि विकास बैंकः नाफा १७ प्रतिशत बढ्यो, खराब कर्जा १९ प्रतिशत घट्यो

काठमाडौं । कृषि विकास बैंकले एक वर्षको बीचमा वित्तीय परिसूचकमा उल्लेख्य सुधार गरेको छ । बैंकको गत वर्षको पुस मसान्त र यो वर्षको पुस मसान्तको तथ्यांक विश्लेषण गर्दा परिसूचकमा उल्लेख्य सुधार भएको देखिएको हो । बैंकले मनाउन लागेको ५३औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अघिल्लो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप थियो । यो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप छ । एक वर्षको बीचमा बैंकको निक्षेप १५.४४ प्रतिशतले बढेको छ । बैंकको कर्जा तथा लगानी १०.२३ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको बैंकले यो वर्षको पुस मसान्तसम्म आइपुग्दा यस्तो लगानी १ खर्ब १७ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको खराब कर्जाको अनुपात पनि निकै घटेको छ । गत वर्षको पुस मसान्तमा ४ अर्ब ७१ करोड रुपैयाँ खराब कर्जा रहेकोमा यस वर्षको पस मसान्त आइपुग्दा यस्तो कर्जा ४ अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ । एक वर्षको बीचमा बैंकको खराब कर्जा १०.३१ प्रतिशतले घटेको हो । रकमका आधारमा खराब कर्जा १०.३१ प्रतिशतले घटेको देखिए पनि प्रतिशतका आधारमा भने निकै घटेको छ । गत वर्षको पुसमा ४.४२ प्रतिशत रहेको खराब कर्जा अनुपात यसवर्षको पुसमा ३.५९ प्रतिशतमा झरेको छ । यो एक वर्षको बीचमा प्रतिशतका आधारमा बैंकको खराब कर्जा १८.६४ प्रतिशतले कम भएको हो । बैंकको करअघिको नाफामा १७ प्रतिशतले बढाएको छ । गत वर्षको पुस मसान्तमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा सरकारलाई कर तिर्नुभन्दा अगाडिको हो । बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले बढेको छ । गत वर्षको पुस मसान्तमा २३.५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वषको पुस मसान्तमा २८.३७ रुपैयाँ पुगेको छ ।

सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्वास्थ्य उपचारमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

राेजिनाले जितिन् ‘मिस ग्ल्याम नेपाल २०२०’ को उपाधि

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल २०२०’ को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । उनले राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधि समेत हात पारिन । उनलाई उपाधिसँगै क्राउन, नगद र गिफ्ट ह्याम्पर कार्यक्रमकी प्रमुख अतिथि हास्यसाम्राज्ञी बसुन्धरा भुसालले प्रदान गरेकी थिइन । १३ जना अन्तिम प्रतिस्पर्धी रहेको प्रतियोगितामा बर्दिबासकी रेनुका बोगटी फष्ट रनरअप र सेकेण्ड रनरअप धरानकी सम्झना परियार भइन । सम्झनाले मिस ग्ल्याम लुकको उपाधि समेत हात पारिन । उनीहरुलाई उपाधिसँगै नगद र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यस्तै, प्रतियोगितामा पोखराकी पूर्णिमा गुरुङले मिस ट्यालेन्ट र भ्युर्अस च्वाइसको उपाधि हात पारिन भने सुर्खेतकी लक्ष्मी चौधरीले अर्गेनाइजर च्वाइस, काठमाडौंकी स्मारिका शेरचनले मिस वेष्ट पर्सानालिटी, ईलामकी विज्ञान सारु मगरले मिस कन्फिडेन्ट, सुर्खेतकी तुलसी पुलामी मगरले मिस बेष्ट हेयर र भक्तपुरकी प्रकृति अधिकारीले मिस डिसीपिलनीकोे उपाधि हात पार्न सफल भए । प्रतियोगितामा बिभिन्न अडिशनबाट युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको आयोजक संस्था अरोमा इन्टरटेन्मेनट प्रा.लि.का अध्यक्ष अशोककुमार तामाङले जानकारी गराए । प्रतियोगिताले किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने र नेपाली पोशाकलाई अन्तर्रा्ष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको अध्यक्ष तामाङलेले बताए । सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रतियोगिलाई प्रशिक्षण दिइएको म्यानेजिङ डाइरेकटर सुस्मिता गोलेले जानकारी गराइन । अन्तिम प्रतिस्पर्धाको निर्णकमा गायिका सत्यकला राई, प्रथम नेपाल आइडल बुद्ध लामा, नायिका मिरुना मगर, निर्देशक मुस्कान ढकाल, मिस नेपाल आइडल २०१९ निमा लामु शेर्पा र सौन्दर्यविद् शशि शाही रहेका थिए । गायक बुद्ध लामा यो प्रतियोगिताको ब्राण्ड एम्बेशडरमा समेत रहेका छन् । प्रतियोगितामा बुद्ध लामा र सत्यकला राईको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

प्रतिनिधिसभालाई गति दिन नेकपा अध्यक्षद्वयले गरे निर्णय, नयाँ सभामुखमा अग्नी सापकोटा

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको गतिरोध सकिने भएको छ । नयाँ सभामुख चयनमा सत्तारुढ नेकपाभित्र देखिएको विवाद समाधान भएसँगै गतिरोध सकिने भएको हो । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नयाँ सभामुख चयनमा सहमति जुटेको छ । अब प्रतिनिधिसभाको सभामुख अग्नी सापकोटा बन्ने भएका छन् । प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत छ । सोही कारण नेकपा उम्मेदवार सापकोटा विजयी हुने करिब पक्का छ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन हिंसाको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले गत १४ असोजमा राजीनामा दिएका थिए । महराले राजीनामा दिएपछि सो पद रिक्त छ । सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेकपा अध्यक्षहरुबीच सहमति हुन सकेको थिएन । अध्यक्ष तथा प्रधानमन्त्री ओली सकेसम्म नेकपा नेता तथा पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउने प्रयासमा थिए । तर, अर्का अध्यक्ष प्रचण्ड भने सो पद पूर्व माओबादीले पाउनु पर्ने दाबी गर्दै आएका थिए । नेम्वाङलाई सभामुख बनाउन नसकेको अवस्थामा उपसभामुख शिवमाया तुम्बाहम्फेलाई नै सभामुख बनाउने ओलीको योजना थियो । तर, पूर्वमाओवादीले ओलीको सो योजनाप्रति असहमति राखेपछि पूर्वमाओवादीकै तर्फबाट सापकोटाले बाजी मारेका हुन् ।

शिविरमा २९० छोरीको बीमा

लहान । प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका र नरहा गाउँपालिकामा सम्पन्न छोरी शिक्षा बीमा सप्ताह शिविरमा २ सय ९० छोरीको बीमा गरिएको छ । गत २०७५ माघ २ पछि जन्मेकी सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा दुई दिन तथा नरहा गाउँपालिकामा एक दिन सम्पन्न शिविरमा २ सय ९० छोरीको बीमा गरिएको जनाएको हाे । सिरहाको कल्याणपुर नगरपालिकास्थित रेडक्रस भवनमा सम्पन्न शिविरमा १ सय ९७ तथा नरहा गाउँपालिकामा ९३ जना छोरीको बीमा गराइएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए । शिविरमा छोरीहरुलाई काखमा च्यापेर बीमा गराउन शिविरस्थलमा अभिभावकहरुको घुइँचो लाग्ने गरेको छ । सिरहाको १७ वटै स्थानीय तहहरुमा शिविर सञ्चालन गर्ने योजना रहेको संयोजक विश्वकर्माले बताएका छन् । छोरा र छोरीबीच हुने विभेदलाई अन्त्य गर्दै छोरीहरुको शिक्षामा पहुँच पुर्याउने उद्देश्यले सञ्चालित छोरी शिक्षा बीमा सप्ताह शिविरमा गत २०७५ माघ २ गतेपछि प्रदेश २ मा जन्मेकी सबै छोरीको सबै कागजात पूरा गरी शिविरमै बीमा गरिने जनाएको छ । छोरी शिक्षा बीमा शिविरमा बीमा गराउने छोरीहरुको प्रभु बैंकमा मुद्धति खाता खोलेर बीमा गरिने र बीमा बात लाग्ने रु १३ हजार ५ सय ४७ प्रिमियम रकम प्रदेश सरकारले नै खातामा जम्मा गरिदिने प्रदेश २ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन्। प्रदेश २ सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ सालदेखि नै छोरी शिक्षा बीमा शुरु गरे पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि प्रदेशभरिका सबै स्थानीय तहहरुसँग समन्वय गरी स्थानीय तहहरुमा छोरी बीमा सप्ताह शुरु गरिएको हो ।