चिनियाँ भाइरसको त्रासमा एसियाः एयरपोर्टमा हेल्थ डेस्क राखेर सतर्कता अपनाउँदै नेपाल
काठमाडौं । पछिल्लो समय चिनियाँ भाइरसको उनामले चिनिने कोरोनो भाइरस त्रासको रुपमा फैलिएको छ । चीनमा मात्र होइन एसियाली देशहरुमा यो भाइरसको संक्रमण फैलिएको बताइएको छ । सबै देशहरुले यो भाइरसबाट बँच्न सतर्कता अपनाएका छन् । यस अघि कतै विज्ञानमा पनि नपाइएको एउटा रहस्यात्मक भाइरस चीनमा भेटाइएको छ । हालै यो भाइरस जापान, थाइल्याण्ड र दक्षिण कोरियालगायतका देशहरुमा पनि देखा परेको छ । हालसम्म यो रोगबाट २ सयभन्दा बढी मानिस प्रभावित भइसकेको जनाइएको छ । यद्यपी बेलायतका विज्ञहरुले यसबाट प्रभावित हुनेको संख्या १७ सय पुगेको अनुमान गरेका छन् । के हो कोरोना भाइरस ? चिन र विश्व स्वास्थ्य संगठनले यो भाइरस नयाँ कोरोनो भाइरस भएको पुष्टि गरेका छन् । बिरामीहरुको भाइरसको नमुना लिएर ल्याबमा परिक्षण गरिएसँगै यो नयाँ भाइरस भएका उनीहरुले पुष्टि गरेका हुन् । यो भाइरसहरुको एउटा कारोनो भाइरस हो । यो भाइरसहरुमध्येको सातौं भएको बुझिएको छ । गम्भिर स्वासप्रश्वासका समस्याहरु कोरोनाभाइरसको कारण लाग्ने गर्दछ । ज्वरो, खोकी, स्वास फेर्नुमा कठिन हुनु यसको लक्षण हुन् । सन् २००२ मा यस भाइरसको एक प्रजाती सार्सको संक्रमणको कारण चिनमा ७ सय ७४ मानिसको मृत्यु भएको थियो भने ८ हजार ९८ मानिसहरु संक्रमित भएका थिए । यो रोगले विगतमा त्रास फैलाएको कारण पनि अहिले मानिसहरु डराइरहेका छन् । तर, चीन भने कोरोनो भाइरससँग लड्न आफुसँग प्रविधि भएको दावी गर्छ । के यो गम्भिर छ ? कोरोनो भाइरसले सामान्य ज्वरोदेखि मानिसको ज्यानै पनि लिन सक्छ । यो भाइरसले ठ्याक्कै यही गर्छ भन्ने अहिले सम्म भन्न नसकेपनि धेरै खालका लक्षण भने देखिन्छन् । एडिनबर्ग विश्वविद्यालयका प्रोफेसर मार्क वुलहाउस भन्छन्, ‘जब हामी नयाँ कोरोना भाईरस पत्ता लगाउँछौं तब हामी त्यसको लक्षण कत्तिको गम्भिर छ भन्ने कुरामा ध्यान दिन्छौं, यसको लक्षण चिसोको जस्तो देखिन्छ यद्यपी यो सार्स (कारोन ेभाईरसको एक प्रजाती) जति गम्भिर छैन ।’ कहाँ बाट आयो कोरोना भाइरस ? नयाँ भाईरसहरु समय समयमा पत्ता लागिरहेका हुन्छन् । तिनिहरु एक प्रजातिबाट दोस्रो प्रजातिमा पस्ने गर्छन् । उनीहरु चालै नपाई मानिसमा पनि पस्छन् । यो भाइरसको पनि प्राथमिक स्रोत जनावरहरु रहेको वैज्ञानिकहरुले बताएका छन् । मानिसको जनसंख्याको धेरै भएको कारण मानिस र जनवारसँगको सम्पर्क नजिक हुनाले चिनमा नै यो देखा परेको विशेषज्ञहरु बताउँछन् । कोरोना भाइरस एक मानिसबाट अर्कोमा सरेको कुनै पनि केस नभेट्टिएको चिनिँया अधिकारी बताउँछन् । यद्यपी, यो नयाँ भाईरसले फोक्सोमा समस्या देखाई खोकी र हाच्छिउँ लाग्ने हुनाले यो भाइरस एक व्यक्तिबाट दोस्रो व्यक्तिमा सर्दैन भन्न नसकिने विशेषज्ञहरु बताउँछन् । नेपालमा के छ अवस्था ? यो भाइरसबाट बँच्न नेपालले पनि सतर्कता अपनाएको छ । चीनमा देखिएको नयाँ कोरोना भाइरस नेपाल छिर्नबाट रोक्न स्वास्थ्य मन्त्रालय अन्तगर्तको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको महाशाखा निर्दशक विवेक कुमार लालले बताएका छन् । हेल्थ डेस्कको माध्यमबाट प्रभावित राष्ट्रबाट आएका मानिसहरुको विवरण संकलन भइरहेको निर्देशक लालले बताए । यद्यपी कर्मचारी भने अझै अपुग भएको उनी बताउँछन् । हाल हेल्थ डेस्कमा चार जना खटेका छन् । कोरोनो भाईरसलाई जाँच्न सामान्य मेसिनले नै काम हुने बताइएको छ । यो भाइरसबाट बँच्नका लागि जिवित जनावहरुसँग सम्पर्क घटाउनु पर्ने डाक्टरहरु बताउँछन् । मासु र अण्डा खाँदा पनि राम्रोसँग पकाएर खान डाक्टरहरुले सुझाव दिएका छन् ।
गरिमा विकास बैंकको लेकसाईड शाखा पोखरामा
काठमाडौं । गरिमा विकास बैंकले सोमबार पोखराको लेकसाईडस्थित लेकसाईड शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रिय स्तरमै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गरिमा विकास बैंकले पोखरा क्षेत्रको औद्योगिक, व्यवसायिक तथा पर्यटन क्षेत्रको विकासमा सदैव सहकार्य गर्दै आईरहको र लेकसाईड शाखा स्थापनापश्चात यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताए । यसैगरी, कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले व्यवसायको विस्तार सँगै आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिदै आएको, संस्थागत शुसासनलाई सदैव प्राथमिकतामा राखेको र सामाजिक क्रियाकलापह?मा जिम्मेवारी वहन गर्दै आएको कारणबाट उत्कृष्ट संस्थाको रुपमा स्थापित हुन सफल भएको बताए । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकलाई सेवा दिंदै आईरहेको छ ।
रेडक्रसद्वारा डोटी र वैतडीमा विपद् पूर्व तयारी परियोजना सुरू
काठमाडौं । डोटी र वैतडी जिल्लामा नेपाल रेडक्रस सोसाइटीले पश्चिम विपद् पूर्वतयारी परियोजना सुरु गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित परियोजनाको परिचय कार्यक्रममा डोटी र वैतडी जिल्लाका दुई दुईवटा नगरपालिका वा गाउँपालिका तथा ती क्षेत्र भित्रका ६ वडाका २४ वटा समुदाय र १२ ओटा विद्यालयहरुमा समुदायको उत्थानशीलताका गतिविधिहरु सञ्चालन गरिने परियोजना संयोजक डम्वरवहादुर विष्टले जानकारी दिएका छन् । यही जनवरी महिना देखि सुरु भएको ३ वर्षे सो परियोजना नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र अमेरिकन रेडक्रसको साझेदारीमा सञ्चालन भएको हो । “परियोजनाले विपत पूर्वतयारीको लागि जिल्ला विपत व्यवस्थापन समिति, सम्बन्धित नगरपालिका र वडाहरुको क्षमता विस्तारकालागि सफ्टवेयर र पूर्वाधार विकासमा सहयोग पुर्याउने छ । यसका अलावा एकहजार नौसय ४२ घरधुरीको क्षमता विकासमा जोड दिनेछ ।” नेरेसो विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्यालले बताइन् । सम्बन्धित जिल्ला र स्थनीय तहहरुमा विपद पूर्वतयारी योजना निर्माण र कार्यान्वयनका अलावा समुदायमा प्राथमिक उपचार, विपद प्रतिकार्य समुह, एक घर एक झटपट झोला, एक विद्यालय एक विपद् सिकाई केन्द्र जस्ता अवधारणा सहितको यो परियोजना समावेशी स्थानीय कार्यक्रमको नमूना बन्ने अपेक्षा गरिएको छ । स्थानीय अवस्थाअनुसार नगरपालिका वा गाँउपालिका र लक्षित समुदाय स्थानीय स्तरमै छनौट हुने र त्यसको लागि आवश्यक तयारी गरिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाको अध्यक्षतामा सञ्चालित परियोजना परिचय कार्यक्रममा नेरेसोका उपमहामन्त्री हरी प्रसाद न्यौपाने, कार्यकारी निर्देशक उमेश ढकाल, आर्थिक व्यवस्थापन विभागीय प्रमुख धर्मदत्त विडारी, विपद् व्यवस्थापन विभागका उप निर्देशक हरीमोहन श्रेष्ठ एवीसीडी कन्सोर्टियम प्रमुख नुरीया, अमेरीकन रेडक्रसका क्षेत्रीय उप निर्देशक श्री रञ्जन लगायतको उपस्थिति रहेको थियो । यस अघि सन् २०१७ जुलाई देखि अमेरिकन रेडक्रसको सहयोगमा संचालनमा आएको महाकाली नदी समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण परियोजना डडेल्धुरा र कञ्चनपुर जिल्लामा १ वर्ष थप फलोअप गतिविधि सञ्चालन हुनेछन ।
पैसा नपाएको भन्दै कामदार भागेपछि पुष्पलाल लोकमार्गकाे निर्माण कार्य ठप्प
गलकाेट । राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले बताएको छ । यस खण्डको २५ किमीमध्ये अक्षेते बिहूँ खण्डमा सन्तोषजनक काम भए पनि बागलुङ बजारको उपल्लाचौरदेखि अक्षेते बिहूँसम्मको सडक निर्माणमा खटिएका कामदार भागेको स्थानीयवासीले बताएका छन् । जिल्लावासीको चर्को दबाब, सांसद तथा जनप्रतिनिधिको विशेष पहलपछि दशैँ अघिदेखि ठप्प रहेको लोकमार्ग निर्माणको काम थालिएको थियो । बागलुङदेखि घोडाबाँधे सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्कामार्फत काम गरे पनि ठेकदारको लापरवाहीका कारण म्याद सकिने बेलासम्म पनि निर्माण कार्यले गति लिन सकेको छैन । अछेतैदेखि घोडाबाँधे सम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सूर्य कन्स्ट्रक्सनले झण्डै २०० देखि ३०० कामदार दैनिक रुपमा खटाएर कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको भए पनि उपल्लाचौरदेखि अछेते बिहूँसम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले काम अलपत्र पारेको लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो । “तल्लो खण्डमा ४०/५० जना कामदारले २०० मिटर पक्की नाली निर्माण गरेका थिए, अहिले सडकमा कामदार छैनन्” उनले भने “ठेकेदार कम्पनी सम्पर्कमा छैन, कामदार भागेको जानकारी आएको छ ।” लोकमार्ग निर्माणमा खटिएका अधिकांश कामदारले जिल्ला छोडको मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर रामप्रसाद सुवेदीले बताए । सिद्धिसाई कन्स्ट्रक्सनले मजदूर उतारेर नाली निर्माण र केही भीर कटानको काम अघि बढाइएको भए पनि पैसा नपाएको भन्दै कामदार भागेपछि निर्माण कार्य ठप्प भएको छ । आयोजना प्रमुख थापाले निरन्तर रुपमा ४ सय देखि ५ सय कामदार खटाउन भनेकोमा सय कामदार पनि खटाउन नसकेको र भएका कामदारले पनि काम छोडेर अन्यत्र गएको बताए । माथिल्लो खण्डको निर्माण अवधि सकिएर म्याद थप्ने पक्रिया अगाडि बढाए पनि तल्लो खण्डको ठेक्का सम्झौता यही माघ मसान्तसम्म छ । उनले काममा नफर्के ठेकेदार कम्पनीलाई कारवाही गरिनेछ भने । ठेकेदार कम्पनीको लापरवाहीका कारण गत असारभित्र कालोपत्र गर्ने भनिएको लोकमार्गमा काम ठप्प भएको थियो । दुर्गम गाउँहरुको अधिकांश भाग कालोपत्र भइसक्दासमेत बजार आसपासकै खण्डमा कालोपत्र हुन नसक्दा यात्रु तथा त्यस आसपासका स्थानीयवासीले निकै सास्ती खेप्नुपरेको छ । ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि सडक कालोपत्र नहुनु चरम लापरवाही भएको भन्दै नागरिक अगुवाले सामाजिक सञ्जालमार्फत ठेकेदार हराएको प्रतिकात्मक तस्बिरसहित दबाब अभियान चलाएका थिए । लोकमार्गको कूल एक हजार ७७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङ घोडाबाँधे २५ किमी र निसीखोला खण्डमा २५ किमी सडकमात्र कालोपत्रे गर्न बाँकी छ । निसीखोलाको दुई खण्डमा विभाजन गरी काम भइरहेको र असार मसान्तसम्म कालोपत्रे हुने गरी काम अगाडि बढेको लोकमार्ग आयोजनाले जनाएको छ ।रासस
२ बीमा कम्पनीको साढे ३ अर्बको सम्पत्ति विवादमा, गाँठो फुकाउन मन्त्रिपरिषद् गुहारिँदै
काठमाडौं । सरकारी स्वामित्वका २ बीमा कम्पनी जग्गा विवादमा तानिएका छन् । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी १५ रोपनी जग्गा विवादमा तानिएका हुन् । यी दुबै कम्पनीले ४५ वर्षअघि किनेको जग्गा सरकारी स्वामित्वकै तत्कालिन खाद्य संस्थान (खाद्य व्यवस्था तथा व्यापार कम्पनी) ले पास नगरिदिएपछि विवाद भएको हो । खाद्यले सो जग्गा विक्री वापत २०३१ सालमा नै पैसा लिएको भएपनि खरिदकर्तालाई जग्गा पास गरिदिएको छैन । खाद्यलाई राष्ट्रिय बीमा संस्थानले २०३१ सालमा नै तत्कालीन बजार भाउअनुसार प्रति राेपनी ५२ हजार रुपैयाँको दरले १५ रोपनी जग्गाको ७ लाख ८० हजार रुपैयाँ दिइसकेको संस्थानका प्रशासक कविप्रसाद पाठकले जानकारी दिए । ‘राष्ट्रिय बीमा संस्थानले तत्कालीन खाद्य संस्थानलाई २०३१ सालमा नै ७ लाख ८० हजार रुपैयाँ दिइसकेको छ, यति रकममा खाद्यसँग भएको १५ रोपनी जग्गा बीमा संस्थानलाई दिने सम्झौता नै भएर रकम दिइएको हो, तर आजसम्म पनि खाद्यले आफ्नो स्वामित्वको जग्गा बीमा संस्थानको नाममा पास गरिदिएको छैन,’ संस्थानका प्रशासक पाठकले विकासन्युजसँग भने । यो जग्गामा आधा हक राष्ट्रिय बीमा कम्पनीको लाग्छ । बीमा संस्थानले जीवन र निर्जीवन बीमा व्यवसाय गर्न नपाउने भएपछि निर्जीवन बीमा व्यवसाय गर्नको लागि २०७१ सालमा राष्ट्रिय बीमा कम्पनी स्थापना गरिएको थियो । संस्थानबाट निर्जीवन बीमा व्यवसाय गर्न कम्पनी स्थापना गरिएपछि संस्थानसँग भएको सबै सम्पत्ति आधा आधा गरिएको थियो । खाद्यसँग किन्न लागिएको आधा जमिन राष्ट्रिय बीमा कम्पनीले पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले जानकारी दिए । नियमअनुसार खाद्यले जग्गा दिएपछि राष्ट्रिय बीमा कम्पनीको साढे ७ रोपनी र संस्थानले साढे ७ रोपनी जग्गा पाउने हुन् । जग्गा आफ्नो नाममा नआउँदा कम्पनीले नयाँ भवन बनाउन नपाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. अर्यालले बताए । यो जग्गा संस्थान र कम्पनीको केन्द्रीय कार्यालय रहेको सर्वाेच्च अदालत अगाडिको रामशाह पथको हो । जग्गा खरिद विक्रीमा विवाद भएको कारण संस्थान र कम्पनीले आफ्नो सम्पत्ति उपभोग गर्न नपाएको राष्ट्रिय बीमा कम्पनीको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमबहादुर श्रेष्ठले बताए । पछिल्लो समय जग्गाको मूल्य धेरै बढेको कारण पनि खाद्यले जग्गा दिन आनाकानी गरेको हुन सक्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘२०३१ सालमा १५ रोपनी जग्गा संस्थानले किनेको हो, खाद्यले तत्कालिन मूल्यअनुसारको सबै रकम लिइसकेको छ, अहिले सो स्थानको जग्गा प्रतिआना डेढ करोड रुपैयाँमा पनि पाइदैन, त्यसैकारण पनि ढिलाई भएको होला,’ अध्यक्ष श्रेष्ठले भने । अध्यक्ष श्रेष्ठले भनेअनुसार सो ठाँउको जग्गा प्रतिआना डेढ करोड रुपैयाँ पर्ने हो भने अहिले सोको मूल्य ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँ हुन आउँछ । सो जग्गा संस्थान र कम्पनीको नाममा आए दुबै कम्पनीको सम्पत्ति धेरै हुनेछ भने जग्गा नआए संस्थान र कम्पनीको सम्पत्ति घटेर उनीहरुको वित्तीय विवरण नै प्रभावित हुनेछ । जग्गा विवाद मिलाउन अर्थमन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुंगानाले पनि पहल थालेका छन् । यसअघिका राजस्व सचिव लालशंकर घिमिरेले पनि पहल गरेका थिए । तर, उनको कार्यकाल सकिएपछि समस्याको समाधान नभएको हो । राजस्व सचिव ढुंगानकै पहलमा खाद्य संस्थान, बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीबीच संयुक्त बैठक बसाउने गृहकार्यमा अर्थमन्त्रालय छ । अर्थमन्त्रालयले पहल गरेर विवाद समाधानको प्रयास गरेको बीमा संस्थानका प्रशासक पाठकले जानकारी दिए । ‘जग्गा बेच्ने निकाय पनि सरकारी संस्थान नै हो, जग्गा किन्ने निकाय पनि सरकारी संस्थान र कम्पनी नै हो, यसैकारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र अर्थमन्त्रीको पहलमा समस्या समाधन गर्ने प्रयास भइरहेको छ, चाढै निकास निस्कन्छ होला,’ संस्थानका प्रशासक पाठकले भने । तत्कालीन खाद्य संस्थान (अहिलेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरको निकाय हो । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. अर्याल भने विवाद समाधानमा गम्भीर पहलको आवश्यकता रहेको बताउँछन् । ४५ वर्षदेखिको विवाद समाधानको लागि मन्त्रिपरिषदबाटै पहल हुनुपर्ने डा. अर्यालको भनाइ छ । ‘यो विवाद आजको होइन, ४५ वर्षदेखिको विवाद मिलाउन सजिलो छैन, खाद्यका आफ्नै समस्या होलान्, रकम तिरिसकेको जग्गा नपाउँदा हाम्रा आफ्नै प्रकारका समस्या छन्, त्यसैले यो विषय मन्त्रिपरिषदबाटै निर्णय भए सहज हुने थियो भन्ने हाम्रो बुझाई हो, त्यसैले मन्त्रिपरिषद पठाएर समाधानको विकल्प निकाल्ने प्रयासमा छौं,’ प्रमुख कार्यकारी अधिकृत डा. अर्यालले भने । कर नतिर्न खोज्दा सम्पत्ति नै भुस हुने खतरा खाद्य संस्थानले सो जग्गा दिनै नखोजेको भने होइन । खाद्यले जग्गा पास गर्न बीमा संस्थानलाई पटक पटक पत्राचार नै गरेको थियो । तर, जग्गा पास गर्दा लाग्ने राजस्व छुट गर्न सकिन्छ कि भन्ने पहलमा बीमा संस्थान लागेको थियो । खाद्यले जग्गा पास गर्न आउँ भनेर बीमा संस्थानलाई पत्राचार गर्दा पनि संस्थान नगएको खाद्य स्रोत बताउँछ । ‘हामीले बेचेको जग्गा दिदै नदिने भनेका होइनौं, पास गर्न आउनु भनेर २०६० सालतिरै पत्राचार गरेका थियौं, तर के कारणले हो उहाँहरु जग्गा पास गर्न आउनु भएन, त्यसैले ढिलाई भएको हो,’ खाद्य संस्थान स्रोतले भन्यो । बीमा संस्थानका एक अधिकारीले पनि खाद्यबाट यस्तो पत्र आएको स्वीकार गरे । खाद्यले जग्गा पास गर्न आउनु भनेर पत्र लेख्दा पनि कर छुटको पहलमा लाग्दा ढिलाई भएको र यो विषय त्यसै थाती रहेको बीमा संस्थानका एक अधिकारीले बताए । ‘खाद्यले जग्गा पास गर्न आउनु भनेर पत्राचार गरेको थियो, सरकारी संस्थान भएकोले मालपोतमा राजस्व किन तिर्ने भन्ने भयो, कर छुटको चक्करमा लाग्दा लाग्दै समय त्यसै वित्यो, त्यो बेला राजस्व तिरेर जग्गा पास गरेको भए अहिले यस्तो विवाद नै हुने थिएन,’ बीमा संस्थानका एक कर्मचारीले भने । सरकारी संस्थानले नै सरकारलाई कर तिर्न नपर्ने बाटो खोज्दा उसको करिब साढे ३ अर्बको सम्पत्ति विवादमा तानिएको छ ।
बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव माघ १६ गतेदेखि हुँदै
काठमाडौं । प्रदेश नं. २ लाई व्यापारिक केन्द्रबिन्दु बनाउने अभियान सहित भ्रमण वर्ष २०२० सफल पार्न ‘आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव २०७६’ माघ १६ गतेदेखि शुरू हुने भएको छ । बर्दिबास नगरपालिकाे गौतम होटलमा माघ २५ गतेसम्म हुन लागेको यस महोत्सवले बर्दिबासको आर्थिक संवृद्धिका लागि सहायक हुने स्थानीय बासिन्दाको भनाइ छ । त्यस क्षेत्रमा रहने स्थानीयवासीलाई सर्वसुलभ तरिकाले सम्पूर्ण सामानहरु एउटै थलोमा उपलब्ध गराउने उद्देश्यले सुरु हुन लागेको मेलाले समग्र बर्दिबासवासीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुर्याउनेछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् महोत्तरीको मुख्य आयोजना तथा नेपालका विभिन्न जिल्लाहरुमा औंधोगिक तथा व्यापार मेला गर्दै आएको संस्था औंद्योगिक शान्ति नेपाल सस्थाको सहकार्य र बर्दिवास नगरपालिकाको संरक्षणमा उक्त योजना हुन लागेको हो । बर्दिबास आफैमा एक व्यापारिक धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल रहेको छ । यस मेलाले बर्दिबासको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरी आर्थिक रुपले पनि मजबुत बनाउने र बर्दिबास क्षेत्रलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद महोत्तरीका अध्यक्ष शान्तराज मोक्तानले जानकारी गराए । उक्त मेलामा २ सय भन्दा बढी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउनेछन् । त्यसैगरी, अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्री वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको व्यवस्था रहेको जानकारी औंद्योगिक शान्ति नेपाल सस्थाको अध्यक्ष सन्दिप महतले गराएका छन । प्रदेश स्तरीय बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव २०७६ मा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाई भरपुर मनोञ्जन दिनेछन् । मेलामा बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्यान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी अध्यक्ष महतले गराए । साथै उक्त मेला अवलोकन गरी आन्तरिक तथा बाह्य व्यापार व्यवसाय र धार्मिक सांस्कृतिक पर्यटनलाई प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाई उनले आव्हान गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्थामा अध्यक्षमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिवमा शंकर गुरुङ , कोषाध्यक्षमा प्रितम मल्ल तथा सचिवालय व्यवस्थापकमा बिनोद जैसवाल रहेका छन ।
माघ १७ गतेदेखि ‘नेपाल उड इन्टरनेशनल एक्स्पो’ हुँदै, विभिन्न देशका १५० बढि स्टल राखिने
काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा. लि ले संयुक्त रुपमा छैठाैं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गर्ने भएका छन् । यी दुई संस्थाले आगामी माघ १७ गतेदेखि १९ गतेसम्म काठमाडौको भृकृटीमण्डपमा उक्त एक्स्पो आयोजना गर्न लागेका हुन् । उक्त प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी गराउन यस्तो प्रदर्शनीहरु गर्दै आएको आयोजकले जनाएका छन् । यस अन्तराष्ट्रिय प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिने छ । तीन दिने छैठौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ । उक्त अन्तराष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरुमा सोसाइटी अफ नेपलिज आर्टिटेक्ट(सोना), सोसाइटी अफ कन्सल्टिङ आर्टिटेक्सरियल एण्ड इन्जिनियरिङ फर्म(एससीएईएफ) तथा इन्टेरियर डिजाइनर्स एशोसियसन अफ नेपाल (आईडीईए नेपाल) रहेका छन् । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका दिग्गजआर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ । नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु यस अन्तर्राष्ट्रिय प्रदर्शनीको मुख्य उद्देश्य रहेकाे आयोजकले जानकारी दिएका छन् । त्यस्तै, प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग गर्छ । साथै, यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएको आयोजकले जनाएका छन् ।
पर्यटन बाेर्डकाे सीईओका लागि तीन जनाकाे नाम सिफारिस, सर्टलिस्टमा अटाएनन् जाेशी
काठमाडाैं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस गरिएकाे छ । बोर्डको सीईओ छनोट समितिले तीन जनाको नाम सिफारिस गरेकाे बताइएकाे छ । सीईओकाे लागि धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम पठाएकाे बताइएकाे हाे । बाेर्डकाे स सीईओ नियुक्तीका लागि भाेली बैठक बाेलाइएकाे छ । सर्टलिस्टमा निवर्तमान सीईओ दिपक राज जाेशीकाे नाम अटाएन । कूल १७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट भएको थियो । ती तीन जनाबाट बोर्डले एक जनालाई सीइओका रुपमा छनोट गर्ने प्रावधान रहेको छ ।