विकासन्युज

इजाजत पाएको १० वर्षपछि पनि चौकुने सिमेन्ट आयोजना अन्यौलमा

वीरेन्द्रनगर । चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले इजाजत लिएको थियो । गुटुदेखि चौकुने डाँडासम्म सडक निर्माण गरी कम्पनीले ०७३ पुस २८ गते नमूनाका रुपमा चुनढुङ्गा उत्खनन समेत शुरुआत गरेको थियो । पछिल्लो समय कम्पनीले काम अघि नबढाइ पटक–पटक म्याद मात्र थप्दै आएको भन्दै स्थानीयवासी आक्रोसित बनेका छन् । कम्पनीले यसअघि सशस्त्र द्वन्द्वलगायत विभिन्न समस्या देखाउँदै उद्योग सञ्चालनमा बेवास्ता गर्दै आएको थियो । खानी क्षेत्र चौकुने गाउँपालिकाअन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । खानी विभागले ०३५ देखि २०३९ सालसम्म यहाँको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । कारखानाका सञ्चालन लागि करिब रु आठ अर्ब लागत लाग्ने अनुमान छ । कम्पनीले एक हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । निर्माण शुरु भएमा लागत, उत्पादन र क्षेत्रफलका हिसाबले चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखानाको रुपमा दाबी गरिएको छ । कम्पनीले पछिल्लो समय विद्युतकाे समस्या देखाउँदै आयोजना सञ्चालन गर्न नसकेको जनाएको छ । सिमेन्ट कारखाना सञ्चालन गर्न करिब १४ मेगावाट विद्युत आवश्यक पर्ने जनाइएको छ । सम्झौतामा आयोजनाका लागि आवश्यक शान्ति सुरक्षा, खानी क्षेत्रसम्म विद्युत सरकारले उपलब्ध गराउनुपर्ने उल्लेख छ । चुनढुङ्गा उत्खनन कार्य शुरु नहुँदा त्यस क्षेत्रका बासिन्दा कम्पनीले ‘खानी होल्ड’ गरेको आरोप लगाउँछन् । चौकुने खानी क्षेत्र सरोकार समितिका संयोजक रामलाल बयकले कम्पनीकै आग्रहले जग्गा खरिद–बिक्री रोकेको बताउँछन्। अधिग्रहण हुने भएपछि जग्गा किनबेच रोकेका छौँ ,कारखाना सञ्चालन होला भन्ने आशा मरिसकेको उनले बताए । विभिन्न कारण देखाउँदै कम्पनीले सिङ्गो खानी क्षेत्र कब्जा गरेको जनाइएको छ । उनले भने, “आयोजना सञ्चालन गर्नमा स्थानीयवासीको पूर्ण समर्थन छ । वर्षौंदेखि अनुमतिपत्र होल्ड गर्ने तर काम अघि नबाउँदा अन्यौलता बढेपछि कामै अघि बढ्ला भन्ने आशा मरिसक्यौँ ।” भदौदेखि काम अघि बढाइने विसं ०७७ भदौदेखि लान्ट स्थापना गरेर काम अघि बढाइने कम्पनीका परियोजना संयोजक लोकबहादुर अधिकारीले जानकारी दिए । उनले ‘खानी होल्ड’ मै राख्ने कुनै मनसाय नभएको जनाउँदै खानीसम्मै पहुँच मार्ग बनिसकेकाले बाँकी काम द्रुत गतिमा अघि बढाउने बताए । झण्डै १२ किलोमिटर सडकको काम सम्पन्न भए पनि गुटुसम्म विद्युत् विस्तार नहुँदा बाँकी काम रोकिएको संयोजक अधिकारीले बताएका छन् । “सरकार र स्थानीयवासीले काम गरेनन् भन्ने आरोप लागेकाले चालु आर्थिक वर्षमा प्लान्ट राख्न जग्गा अधिकरणको काम सम्पन्न गर्दैछौँ”, उनले भने, “यहीँ वर्ष प्लान्टको काम र कारखानाको सामग्री खरिद गर्ने प्रक्रिया शुरु गर्छौं ।” प्रदेश सरकारले यथाशीघ्र चाँडो विद्युत विस्तार गर्ने आश्वासन दिएकाले कम्पनीले पहिलो चरणका काम अघि बढाउने तयारी समेत गरेको जनाइएको छ । चौकुनेबाट उत्पादित सिमेन्ट घाटगाउँ हुँदै कर्णाली चिसापानी भएर बाहिर पठाइने छ । रासस

बैंकिङ क्षेत्रलाई पुराना कर्मचारीको अखडा नबनाउन अर्थमन्त्री खतिवडाको चेतावनी

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा पुराना कर्मचारीहरुको मात्र अखडा नबनाउन चेतावनी दिएका छन् । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु पुरानै कर्मचारीहरुको हाली–मुहाली भएकोले त्यो किसिमको अखडा नबनाउन आग्रह गरेका हुन् । ‘नयाँ कर्मचारी आउन नदिने, यसले गर्दा संस्थामा कुपोषण हुन्छ, ज्ञान सीप भएका कर्मचारी नल्याए संस्थाको अवस्था के हुन्छ,’ उनले भने । पुराना कर्मचारीहरु स्वतः प्रमोसनबाट माथि जाने तर युवालाई प्रवेश नगराउनु बैंकिङ क्षेत्रको दुर्भाग्य भएको उनको भनाइ छ । प्रविधि सम्बन्धि ज्ञान सीप भएका युवाहरुलाई अवसर दिनु पर्ने उनको भनाइ रहेको छ । पछिल्लो समय नेपाली वित्तीय बैंकिङ प्रणाली सुधार हुँदै गएको बताउँदै उनले अर्थतन्त्र उकालो लागेको समयमा स्वाँ स्वाँ गर्ने र ओरालो लागेको समयमा लडिन्छ कि भन्ने चिन्ता नमान्नु पर्ने बताए । उनले नेपालको वित्तीय क्षेत्र एशियामा नै राम्रो भएको दावीसमेत गरे । सहुलियत कर्जामा गम्भिर हुन डेपुटी गभर्नर सिवाकोटीको आग्रह राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सम्पूर्ण वाणिज्य बैंकहरुले सहुलियतपूर्ण कर्जामा गम्भिर हुन आग्रह गरेका छन् । उनले उक्त कार्यक्रममा बोल्दै पछिल्लो समय बैंकहरुले सोचेअनुरुपको सहुलियत कर्जा वितरण गरेको नदेखिएकोले यसमा गम्भिर हुन आग्रह गरेका हुन् । ‘सहुलियतपूर्ण कर्जा नेपाल सरकारले सुरक्षण गरेको अवस्था छ, सुरक्षणवापतको दस्तुर नेपाल सरकारले ७५ प्रतिशत तिरेको छ, कर्जा डुब्यो भने नेपाल सरकारले ग्यारेन्टी पनि गरेको छ, कर्जा वितरण गर्न वाणिज्य बैंकलाई कन्जुस्याईँ किन,’ उनले भने । सहुलियतपूर्ण कर्जा वितरणको अवस्था दयनीय भएको उनको भनाइ छ । कृषि विकास बैंकले वितरण गरेको सहुलियतपूर्ण कर्जाको संख्या उल्लेख गर्दै उनले त्यो कृषि विकास बैंक जस्तो सरकारी बैंकको लागि न्युन भएको बताए । कृषि कर्जा बाहेक तोकिएका अन्य कर्जाहरुमा आउने असार मसान्तसम्म प्रत्येक वाणिज्य बैंकले ५ सय जनालाई कर्जा वितरण गरेको हुनुपर्ने उनको भनाइ छ । यसलाई कार्यान्वयन नगरे आर्थिक जरिवाना गर्ने उनको भनाइ छ । कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि बैंकले देशकाे गरिबी निवारण, सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेकाे बताए । नेपालकाे बैंकिङ क्षेत्रलाई कम्प्युटर प्रणालीमा लिनका लागि कृषि विकास बैंककाे ठूलाे याेगदान भएकाे बताउँदै अझै गाउँगाउँमा र दुरदराजमा गएर काम गर्ने प्रतिवद्धता जनाए।

दाङका आठ नाकामा प्रहरी शिविर स्थापना हुँदै

तुलसीपुर । दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको निर्णयानुसार तत्काल साना–ठूला गरी आठ नाकामा सशस्त्र प्रहरी बल शिविर स्थापना गर्न लागिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । चालु आर्थिक वर्षभित्रै राजपुर गाउँपालिकाको वडा नं ६ को खङ्ग्रानाका, ७ को भौवानाका, भैसाही, दगमारा, खाङ्ग्रा, पटौली, सिरिया र गढवा गाउँपालिकाको वडा नं ८ मुसिनाको भौरीसालमा शिविर स्थापनाको तयारी भएको उनको भनाइ छ । “दाङका नाकामा प्रहरी चौकी नहुँदा त्यहाँका नागरिकले सुरक्षाको अनुभूति गर्न पाउनुभएकाे छैन”, उनले भने, “यसैलाई मध्यनजर गरी यो वर्ष आठ नाकामा प्रहरी शिविर स्थापना गर्न लागेका छौँ ।” प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको दरबन्दी रहने गरी आठ स्थानमा शिविर स्थापना हुन लागेको रिजालले बताए । त्यस्तै यही वर्ष राजपुर गाउँपालिका र गढवा गाउँपालिकासँग समन्वय गरेर अन्य नाकामा पनि शिविर खडा गर्नका लागि प्रक्रिया अघि बढाएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ । अबको केही समयमा राजपुर गाउँपलिकाको वडा नं ६ खाङ्ग्रानाकामा शिविर स्थापना हुन लागेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए । अहिले दाङका ३१ नाकामध्ये दुई नाकामा मात्रै सुरक्षा शिविर थिए । यसबाट नाकावासीले सुरक्षाको अनुभूति गर्न पाएका थिएनन् । यसअघि कोइलावास प्रहरी चौकी र खाङ्ग्रा प्रहरी चौकी छन् । त्यसैगरी यसअघि गढवा गाउँपालिका–८ कोइलावासमा एक सशस्त्र शिविर, राजपुर गाउँपालिका–७ सुनपथरी नाकामा शिविर भए पनि प्रभावकारी हुनसकेको छैन । भारतीय सीमा सुरक्षा बलले भने प्रत्येक नाकामा शिविर खडा गरेको छ । विसं २०२० मा राजा महेन्द्र र रोल्पाका सांसद बालारम घर्तीबीच भारतीय अवकाशप्राप्त गोर्खा आर्मीलाई बासस्थान दिने सहमति भएको थियो तर पछि रोल्पा, रुकुम, सल्यान, प्यूठान र दाङको पूर्वी भागबाट नाका क्षेत्रमा बसोबास गरेको स्थानीयवासी चक्रबहादुर खड्काले बताए । त्यहाँ बस्ती बसेपछि भारतीय सेनाबाहेक अन्य नागरिकलाई हटाउन सरकारले पहल गरे पनि त्यो सफल हुन सकेन । रासस

५० करोड सङ्कलन गर्न रङ्गशाला निर्माणस्थलमा महायज्ञ लगाइँदै

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ । रङ्गशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । महायज्ञ मूल समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठूला व्यावसायिक घरानासम्मबाट सहयोग सङ्कलनका लागि खाका तयार गरिएको छ । अनुमानित खाकाअनुसार उक्त रकम सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए । स्थानीयस्तर, सङ्घसंस्था, गैरआवासीय नेपाली, पालिकाहरु, सहकारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योग, सरकारी कर्मचारी, खेलकूद सामग्री उत्पादक कम्पनी एवं एजेन्सीहरुबाट रकम सङ्कलनको लक्ष्य निर्धारण गरिएको छ । यससँगै तुलादान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्याञ्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिनुभयो । कम खर्चमा ठूलो मात्रामा रकम सङ्कलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न रु ७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणका लागि रु ५० करोड बचाउने योजना बनाइएको चुकेले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न जिल्लाका सांसद, पार्टीका प्रमुख, प्रशासनिक प्रमुख, स्थानीय तहका प्रमुख, उद्योगी व्यवसायी, कानून व्यवसायी, पत्रकारलगायत रहेको एक हजार १ सय ११ जनाको मूल आयोजक समिति, २१ जनाको स्टेरिङ कमिटी, २ सय १ जनाको सचिवालय र ६० उपसमिति गठन गरिएको छ । भरतपुर महानगरपालिकाको रामपुरमा रु दुई अर्ब ५० करोड खर्च गरेर रङ्गशाला निर्माण गरिँदै छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणको नेतृत्व लिएको छ ।रासस

ह्यून्डाई कोना ईलेक्ट्रीक कार ५७३१ मिटर अग्लाे हिमाल उक्लियाे, गिनिज वर्ल्ड बुकमा नयाँ रेकर्ड

काठमाडौं । ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५ हजार ७ सय ३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५ हजार ७ सय १५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रेकर्ड तोडेबापत सो उपाधि हासिल गरेको हो । कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको छ । ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फमेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ । गिनिज वल्र्ड रेकर्डका एड्जुडिकेटर ऋषी नाथले सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि ह्यून्डाई मोटरलाई बधाई दिएका छन् यो उपलब्धीसँगै ह्यून्डाईले इतिहासमै कीर्तिमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ । यो सफलतासँगै कोना ईलेक्ट्रीक कठोर परिस्थितिहरुमा ज्यादै विश्वसनीय रहेको कुरा प्रमाणित गरेको छ । यस अभियानमा कोना ईलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा एउटा सच्चा एसयुभि सरह प्रदर्शन गरेको थियो । कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्फमेन्स बेजोड समिश्रण रहेको यो ग्रीन कार सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रीक गाडी हो ।   यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कारलाई कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्फमेन्समा कुनै समस्या देखा परेको थिएन । शिखरबाट ओर्लिने बेला चाहिं स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लीमेन्ट गरेको थियो । यस सफलताले कोना इभिको पावरफुल  प्रदर्शन गरेको र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्फमेन्स दिने सुनिश्चितता प्रदान गरेको छ ।

धेरै शाखा संजाल भएको एनआईसी एसिया बैंकलाई एसएमईको साथ, दोस्रो त्रैमासमा खुद नाफा ३३ प्रतिशतले बढायो

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु चालु आवको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (७७ करोड रुपैयाँ) ले वृद्धि गरी २ अर्ब ९० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । खुद नाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (५० करोड रुपैयाँ) को वृद्धि गरी २ अर्ब १ करोड रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधीको खुद नाफा १ अर्ब ५१ करोड रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्ब रुपैयाँले वृद्धि गरी १ खर्ब ६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि गरी १ खर्ब ८६ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी, प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रुपले पालना गरेको जनाएको छ । विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ । निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ९.४ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो । बैंकले चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ । निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । बैंकका चल्ती तथा वचत निक्षेप हाल बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी ४१.६१ रुपैयाँ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पु¥याएको छ । प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो । बैंकको देशभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय २६ एटिएम, १ सय ३ वटा एक्सटेन्सन काउण्टर तथा ४५ वटा शाखारहित बैंकिङ्ग संजाल संचालनमा छन् । बैंकको २१ लाखभन्दा बढी ग्राहक रहेको बैंकले जानकारी दिएको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आवमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाईसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

कक्षा ११ र १२ बाट गणित झिक्न खोज्नेले विज्ञान, प्रविधि, विवेक र तर्क झिक्न खोज्दैछन्ः डा. काफ्ले

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ बाहिर आएपछि कक्षा ११ र १२ को विज्ञान विषयमा भएको गणित हटाउने तयारीमा पाठ्यक्रम विकास केन्द्र लागेको थियो । यो कदमको शिक्षक, विद्यार्थी, अभिभावकलगायतले सर्वत्र आलोचना गरेपछि केन्द्र गणित राख्न सहत भएको थियो । केन्द्रले गणित विषय हटाउने चलखेल फेरि सुरु गरेको छ । अहिले अध्ययन भैरहेका विषयमा भएको गणित हटाउँनका पछाडि असल नियत नरहेको तर्क नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागका उपप्राध्यापक डा. जीवन काफ्लेको छ । गणितविना विज्ञान र प्रविधि अपुरो हुने बताउँने काफ्ले विगत १ दशकदेखि विश्वका विभिन्न विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरुसँगको सहकार्य गर्दै, गणित विषयको अध्ययन, अनुसन्धानको क्षेत्रमा क्रियाशील छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय केही सम्मान तथा पुरस्कारहरु प्राप्त गरेका डा. काफ्लेसँग गणित विषयका सम्बन्धमा भइरहेका विवादकोे बारेमा विकासन्युजका लागि राजाराम न्यौपानेले कुराकानी गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का निम्ति तयार पारेको नयाँ पाठ्यक्रमको प्रारूपमा गणित विषयमा भैरहेको विवाद के हो ? दुई वर्ष अगाडिदेखि पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का लागि तयार पारेको भनिएको नयाँ पाठ्यक्रमको प्रारूपका विवाद हुन गम्भीर कारणहरू छन् । वास्तवमा गणित विषयमा भैरहेको विवाद झनै पेचिलो बनेको छ । विशेषतः प्रस्तावित पाठ्यक्रमले छ÷छ वटा विषयलाई समावेश गर्दा पनि भौतिक समृद्धिको आधारस्तम्भलाई पूर्णतः उपेक्षा गर्नु नै पाठ्यक्रमका बारेमा विवाद उठ्नुको मुख्य कारण हो । यसमा उज्ज्वल भविष्यको सपना देख्ने विद्यार्थी, अभिभावक, शिक्षक र समृद्ध नेपालको परिकल्पना गर्ने वर्ग समयमै सजग हुनु जरुरी छ । अध्ययन भैरहेको विज्ञान विषयमा भएको गणित हटाउदा हाम्रो विज्ञान शिक्षा कस्तो हुन्छ ? गणित यस्तो विषय हो, जुन सबै प्राकृतिक र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग गर्नुपर्ने हुन्छ । तर, स्कुल तहमा गणित विषयको पृष्ठभूमि नहुने हो भने सबै विषयको ज्ञान अपूर्ण हुन्छ । यो विषयको जगबिना अन्य कुनै पनि विषयमा दक्षता हासिल गर्छु भन्नु जगबिनाको गगनचुम्बी महलको कल्पना गर्नु जस्तै हो । कक्षा ११ र १२ मा गणित नपढाउँदा के असर पर्छ ? प्रस्तावित पाठ्यक्रमअनुसार जीव विज्ञान, रसायन शास्त्र र भौतिक विज्ञान पढ्ने विद्यार्थीले गणित विषयलाई मूल विषय बनाउन पाउँदैनन् । प्रस्तावित पाठ्यक्रमअनुसार व्यवस्थापन पढ्ने विद्यार्थीले चाँहदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि बञ्चित हुने देखिन्छ । विज्ञान विषय पढ्न गणितको ज्ञान कत्तिको आवश्यक हो ? गणित विषयले विद्यार्थीमा हरेक विषयको बारेमा तार्किक, वस्तुगत तथा वैज्ञानिक ढङ्गले अध्ययन–विश्लेषण र मूल्याङ्कन गर्ने क्षमताको विकास गराउँछ । विद्यार्थीलाई खोजअनुसन्धान गर्ने सामथ्र्यको पनि विकास गराउँछ । तसर्थ गणित विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रविधिको आधारस्तम्भ हो । कतिपय देशमा आवश्यकताअनुसार गणित तथा विज्ञानलाई अनिवार्य विषय बनाएर पठनपाठन गर्ने गरेको पनि पाइन्छ । तर, विकासोन्मुख देशका लागि त सिङ्गो विज्ञान तथा प्रविधिको आधारस्तम्भ बनेको गणित विषयलाई ओझेलमा पार्ने गरी पाठ्यक्रमको प्रारूप तयार परिँदै छ । विशेषतः प्रस्तावित पाठ्यक्रमले छ/छवटा विषयलाई समावेश गर्दा पनि भौतिक समृद्धिको आधारस्तम्भलाई पूर्णतः उपेक्षा गर्नु नै पाठ्यक्रमका बारेमा विवाद उठ्नुको मुख्य कारण हो । विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न गणित किन आवश्यक छ ? विदेश अध्ययन गर्नका लागि जस्तै जिआरई, स्याट, जिम्याटहरूमा पनि अत्याधिक रूपमा गणितका प्रश्नहरू समावेश गरिएका हुन्छन् । गणित जस्तो विषयलाई हटाउने हो भने यस्ता अवसरबाट हाम्रा विद्यार्थीहरू सधै असफलताको सिकार हुनुपर्ने अवस्था सृजना हुन्छ । गणितीय ज्ञान विनाका प्राविधिकहरुले देशलाई के योगदन गर्न सक्छन् ? हालसालै त्रिविको इन्जिनियरिङ्ग अध्ययन सस्ंथानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट बढाएर ५० अङ्क बनाइएको छ । गणितको महत्त्व इन्जिनियरिङ्गमा कति छ भनेर देखाएको छ । विद्यार्थीलाई कति महत्त्वूर्ण र अत्यावश्यक छ भन्ने कुरा स्वतः प्रमाणित गर्छ । यसबाट विश्वविद्यालयस्तरीय पढाइका लागि धेरैजसो ढोका बन्द हुने अवस्था सृजना गरिँदैछ । भविष्यमा विश्वविद्यालयहरूले गणित विषय पढेको हुनुपर्ने प्रावधानलाई हटाएर सहजीकरण गर्लान् । तर इन्जिनियरिङ, वनविज्ञान, कृषि तथा सूचना प्रविधिको अध्ययन अध्यापन गुणस्तरीय हुन्छ ? अन्तराष्ट्रिय जगतमा हाम्रो उत्पादन प्रतिस्पर्धी हुन्छ ? हाम्रा उत्पादनलाई विश्वजगतले मान्यता दिन्छ ? कि फेरि विद्यार्थीहरूले पुनः वृजकोर्स पढ्नुपर्ने ? यसरी विश्वविद्यालयस्तरीय अध्ययनका लागि बनाइएका अनिवार्य शर्त तथा गुणस्तरीय पढाइको पक्षलाई पूर्णतः बेवास्ता गरी हचुवाका भरमा पाठ्यक्रम बनाई विद्यार्थीहरूको भविष्यप्रति खेलवाड गरेको देखिन्छ । गणित हटाउदा विश्वविद्यालयको पढाइको ढोका बन्द हुने हो ? त्रिविमा इन्जिनियरिङ पढ्न कक्षा ११ र १२ मा दुई सय पूर्णाङ्क बराबरको गणित विषय पढ्नु अनिवार्य छ । पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा बायोलोजी समूहका विद्यार्थीले कक्षा एघारमा १०० पूर्णाङ्कको भए पनि गणित पढेर इञ्जिनियरिङमा प्रवेश पाउने सुविधा उपभोग गरिरहेका छन् । अहिले प्रस्तावित पाठ्यक्रमलाई कार्यान्वयन गर्ने हो भने विद्यार्थीहरू इन्जिनियरिङ पढने अवसरबाट पनि वञ्चित हुने दुर्भाग्यपूर्ण अवस्था सृजना हुनेछ । त्यस्तै, वनविज्ञान, कृषि विज्ञान, विम्याथएससी जस्ता विषय पढ्न पनि कक्षा ११ वा १२ मा १०० पूर्णाङ्कको गणित र जीव तथा वनस्पति विज्ञान विषय पढेको हुनैपर्छ । तर अब लागू गर्न खोजिएकोे पाठ्यक्रम अनुसार भौतिक विज्ञान समूहले जीव विज्ञान पढ्न नपाउने र जीव विज्ञान समूहले गणित पढ्न नपाउने अवस्था छ । विज्ञान विषय बाहेकका विषयहरुमा गणितको उपयोगिता कतिको छ ? हालसम्मको व्यवस्थाअनुसार भविष्यमा सिए, बीबीए र आइटी पढ्छु भन्ने विद्यार्थीले गणित र व्यावसायिक गणित विषय पढ्न पाउँथे । तर प्रस्तावित पाठ्यक्रम अनुसार व्यवस्थापन पढ्ने विद्यार्थीले चाँहदाचाहँदै पनि गणित र व्यावसायिक गणित दुवै पढ्न पाउने अवसरबाट पनि बञ्चित हुने देखिन्छ । यसले जग कमजोर भई विद्यार्थी सिए, बीबीए, बीसीए र आइटी पढ्ने अवसरबाट वञ्चित हुने स्थिति आउँदैछ । रोजगारीका क्षेत्रमा गणितको उपयोगिता कतिको छ ? उच्च शिक्षाका क्षेत्रमा मात्र होइन, रोजगारीका क्षेत्रको उपयोग गर्ने अवसरबाट पनि प्रस्तावित पाठ्यक्रमको प्रारुपले विद्यार्थीहरुलाई वञ्चित गर्ने स्थिति सृजना भएको छ । जागिरका लागि विभिन्न पदमा परीक्षा दिँदा गणित र आइक्यु विधा समावेश गरिने तर ११ र १२ को प्रारूपमा गणितलाई महत्त्व नदिने विरोधाभाष कार्य छ । कक्षा ११ र १२ को विज्ञान विषयमा भएको गणित हटाउने तयारीमा केन्द्र किन लागेको होला ? गणित तथा विज्ञान विषयको धरातल अतिशय दुर्बल हुने गरी पाठ्यक्रमको प्रारूप तयार गर्नुका पछाडि सम्बद्ध पक्षले विज्ञान प्रविधिजस्तो विधा पढ्न सकेनन् । रुचि भएन, उत्तीर्ण प्रतिशत ज्यादै कम भयो भन्ने असङ्गत तर्क अघि सार्ने गरेको छ । यस्तै, सरदरमा हरेक वर्ष कक्षा ११ मा करिब ३ लाख ५० हजार विद्यार्थी भर्ना हुन्छन् । तीमध्ये विज्ञान विषय लिई पढ्ने विद्यार्थी करिब ५० हजार मात्र हुन्छन् । त्यसैले ठूलो हिस्सा ओगटेको विद्यार्थी वर्गलाई लक्ष्यित गरी पाठ्यक्रमको प्रारूप बनाइएको हो भन्ने तर्क पनि अगाडि सारिएको छ । यस्तै, फेरि कक्षा ११ र १२ विद्यार्थीको उत्तीर्ण प्रतिशत कम भयो भनेर पनि गणित जस्ता विषयलाई पन्छाएर सामाजिक विज्ञानका विषयलाई अनिवार्य बनाइँदैछ । यसबाट करिब पचासौँ हजारको संख्यामा रहेको विपुल प्रतिभावान् विद्यार्थी वर्गलाई विज्ञान तथा प्रविधि विषय पढ्ने अवसरबाट वञ्चित गरिँदैछ । उच्च, दक्ष र बौद्धिक जनशक्ति उत्पादन गर्ने पाठ्यक्रम बनाउनुको सट्टा उत्तीर्ण प्रतिशत बढाउने खेलमा पाठ्यक्रमलाई अपाङ्ग बनाउन हुन्छ ? माध्यमिक शिक्षालाई प्रमाणपत्र वितरण गर्ने थलो बनाउने हो ? पचासौँ हजारको संख्यामा रहे पनि विराट प्रतिभासम्पन्न विद्यार्थीको प्रविधि विषय पढ्ने अवसरबाट वञ्चित गर्न मिल्छ ? सरकारले शिक्षा नीति बनाउन पाउछ, तपाईँहरुले भने जस्तै हुनु पर्ने किन ? नीति निर्माण सरकारले गर्ने भए तापनि सरकारले हालसालै ल्याएको राष्ट्रिय शिक्षा नीतिमा सबै तहको शिक्षामा विज्ञान, प्रविधि इन्जिनियरिङ्ग र गणित शिक्षालाई पाठ्क्रमको अभिन्न अङ्ग बनाउने कुरा र हालसालै केन्द्रले ल्याउन खोजेको पाठ्यक्रमको प्रारूपमा यस नीतिलाई बेवास्ता गरेको त देखिन्छ । प्रस्तावित पाठ्यक्रमको प्रारुपले देश विकासमा कस्तो योगदान गर्ला ? गणित विषय सम्पूर्ण ज्ञानविज्ञान तथा भौतिक समृद्धिको प्रविधिको आधारस्तम्भ हो । यो विषयको ज्ञानबिना भौतिक समृद्धिको सुदृढ जग बसाउँछौँ भन्नु दिवास्वप्न मात्र हो । यस्तो आधारस्तम्भलाई पन्छाएर कसरी उच्च दक्ष जनशक्ति उत्पादन हुन्छ, कसरी दिगो विकासको जग निर्माण हुन्छ र समृद्ध नेपालको निर्माण वर्तमान सरकारको महत्तम लक्ष्य कसरी पूरा गर्न सकिन्छ भन्ने प्रश्नहरू तड्कारो रूपमा सृजना भएका छन् । गणित अप्ठेरो विषय भएकोले पनि हटाइएको भनिन्छ, आजको समयले कस्तो गणितको पाठ्यक्रम खोजिराखेको छ ? हुन त पाठ्यक्रम निर्माण गर्दा अप्ठेरो र निरसिलो पार्ने प्रवृत्ति नभएको त होइन । यसको बारेमा हामीपछि छलफल तथा अभियान चलाउने छौँ । अहिले यो विषयमा गहिराइमा जान चाहन्न । आजको समाजमा सुन्ने र घोक्ने गणित होइन सुन्ने, देख्ने र प्रयोग गर्नेे गणितको आवश्यकता छ । तसर्थ पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्दा विज्ञहरूको राष्ट्रिय आवश्यकता, विद्यार्थीको सामथ्र्य, सुदूर भविष्य, रुचि तथा समकालीन विश्वका विभिन्न देशहरूमा भएको सफल प्रयोग र प्रचलनहरूतर्फ पनि ध्यान पुग्नु आवश्यक ठान्दछु । पाठ्यक्रम विकास केन्द्रले के भनिरहेको छ ? नेपाल गणित समाजका पहलमा केन्द्रीय विभागका विभागीय प्रमुखहरु र विज्ञान तथा गणितसँग सम्बन्धित समाजका प्रतिनिधिहरुको हस्तक्षर सहितको विरोधपत्र बुझाइ सकिएको छ । हामीले बारम्बार पाठ्यक्रम विकास केन्दका निर्देशक डा लेखनाथ पौडेललाई भेटेर गणितको बारेमा सचेत गराइराखेका छौ । उहाँले सकारात्मक कुरा गर्नुभएको त छ । तर हामी विश्वस्त छैनौँ । हामी शिक्षामन्त्रीज्यू र प्रधानमन्त्रीज्यूलाई पनि भेट्ने प्रयास गरिराखेका छौँ । तपाँईहरुको विचारमा अहिलेको समस्याको समाधान कसरी गर्ने त ? अहिलेको ११ र १२ को प्रारुपको ड्राफ्टमा परिवर्तन गर्नुपर्छ । पहिलो विकल्पः अनिवार्य विषय कम्तीमा एक वटा घटाएर कम्तिमा एउटा ऐच्छिक विषय थपेर चारवटा बनाउने । दोस्रो विकल्पः सामाजिक अध्ययन र जीवन उपयोगीको सट्टामा विद्यार्थीहरूले चाहेमा गणित विषय रोज्न पाउने । यी दुई विकल्पमध्ये पहिलो विकल्प उत्तम विकल्प हो । पहिलो विकल्पमा जानै नसक्ने हो भने दोस्रो विकल्प पनि उपयोगी देखिन्छ ।

महिन्द्राको ‘भीएक्स-९० ब्याकहोई लोडर’ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । भारतको प्रतिष्ठित कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको बिक्री वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रा.ली.ले ‘भीएक्स-९० ब्याकहोई लोडर’ लाई नेपालमा लञ्च गरेको छ । कम्पनीले निर्माण सामग्री प्रर्दशनी ‘नेपाल ब्युल्डटेक २०२०’को तोश्रो दिन उक्त ‘भीएक्स-९० ब्याकहोई लोडर’ लञ्च गरी नेपाली बजारमा बिक्री वितरण शुरु गरेको हो । एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगड, महिन्द्रा ट्रक्स एण्ड बस नेपालका लागि सेल्स मेनेजर गौरव पाण्डे, महिन्द्रा निर्माण सामाग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड़ महिन्द्रा निर्माण सामाग्रीका हेड अफअपरेसन तारा थापाले संयुक्त रुपमा उक्त लोडरको लञ्चिङ गरेका हुन् । त्यसै कार्यक्रममा ५ जना ग्राहकलाई ब्याकहोई लोडर (भीएक्स-९०) को चाँबी हस्तान्तरण गरिएकाे कम्पनीले जनाएको छ । दुगड महिन्द्रा निर्माण सामाग्रीका हेड अफ अपरेसन तारा थापाका अनुसार ब्याकहोई लोडर (भीएक्स-९०)का विशेषता यस्ता छन्ः नेपालको बाटो र माटोलाई सुहाउदो यी विभिन्न मोडलका निर्माण उपकरणहरु ब्याक हो लोडर, ग्रेडर आदि कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च, सरल तथा अत्याधुनिक प्रविधी, उच्चतम माईलेज तथा बेजोड कार्य क्षमताका विशेषता रहेको छ । अत्याधुनिक प्रविधि उच्च फिनीसीङ्ग क्षमताको साथमा साना, मझौला तथा फराकिला बाटोमा समय सापेक्ष प्रयोग गर्न सकिने भएकोले कम लागतमा आधुनिक मापदण्डको स्तरमा बाटोहरु निर्माण गरी देशको निर्माण जगतमा क्रान्ति ल्याउने कम्पनीको विश्वास छ । यसैगरी, भीएस-९० ब्याकहोई लोडरले कम लगानीमा बजारमा रहेका अन्य मेसिनभन्दा भन्दा कम ईन्धन खपत गर्ने कम्पनीले जानकारी दिएको छ । उक्त ‘नेपाल ब्युल्डटेक २०२०’ को अवसरमा मोटर ग्रेडर (जी-९०), ब्याकहोई लोडर(भीएक्स-९०) र ब्लाजो-२५ ट्रिपर प्रर्दशनीमा राखिएको थियो ।