विकासन्युज

अमेरिकन ब्राण्ड लिनियरफ्लुक्सको आधिकारिक बिक्रेतामा आईएमएस ग्रुप

काठमाडौं । आईएमएस ग्रुप अब नेपालमा लिनियरफ्लुक्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ । लिनियरफ्लुक्स हेडफोनको एक ब्राण्ड हो जसले वायरलेस, हाईपर डिफिनेसन, अडियोको अनुभव दिने कम्पनीले जनाएकाे छ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्राण्ड लिनियरफ्लुक्स आधिकारिक रुपमा लञ्च भएको छ । उक्त हेडफोन डा. ड्रि एण्ड मोन्स्टर प्रडक्टका इन्जिनियरहरुले बनाएका हुन् । लिनियरफ्लुक्स हाईपर सोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवन शैलीको लागि बनेको हो । यस हेडफोनको डिएलजिरोवान इमारसिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । लिनियरफ्लुक्स हाईपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । यसको विषेशता भनेको पिल्लो सफ्ट इयर टिप्स् दुई थरीका रङ्गहरुमा पाईने छ साथै यसले बाहिरी ध्वनी कम गरी बिस्त्रित ध्वनी सुन्न र बेसको आनन्दलिन मद्दत गर्दछ । हाल कम्पनीले लिनियरफ्लुक्स उत्पादनहरू स्मार्ट डोकोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो । साथै, आईएमएस स्माइल्स शोरुम् सिटी सेन्टर र आईएमएस शोरुम ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई बैंक बर्दियाको गुलरियामा, शाखा संख्या २३७ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रदेश नं. ५को बर्दियाको गुलरियमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललार्ई ५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले टिच फर नेपाललाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक स्वस्तिका श्रेष्ठलाई सो सहयोग रकम दिएका हुन् । बैंकले ग्रामिण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामिण जिल्लाका सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्ने छ । यस अभियान अन्तर्गत संस्थाले देशका विभिन्न ग्रामिण जिल्लाको सार्वजनिक विद्यालयका बालबालिकाहरुलाई २ वर्षका लागि स्वयंमसेवी शिक्षक मार्फत गणित, विज्ञान र अंग्रेजी विषयमा अध्यापन गराउने छ यसबाट ग्रामिण जिल्लामा रहेका बालबालिकाहरुले गुणस्तरीय शिक्षाको अवसर पाउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १,६०० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे तालिका सार्वजनिक भएको छ । बोर्डका अनुसार कक्षा १२ काे परीक्षा भने बैशाख ८ गतेबाट सुरु हुनेछ भने कक्षा ११ को परीक्षा बैशाख २१ गतेबाट सुरू हुनेछ।

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु

 काठमाडाैं । धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका यात्रु बोकेको बा १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको  धादिङका प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए । उनले दुर्घटनाकाे कारण अहिलेसम्म थाहा नभएकाे बताए । ट्रकमा सवार अन्य २० जना भने घाइते भएका छन् ।

नेपाली विद्यार्थीबारे इक्यानकाे चाँसो, अष्ट्रेलियन सरकार भन्छ– त्यस्ता समाचारको समर्थन गर्दैनाैं

काठमाडौं । केही समय अघि अष्ट्रेलियाका सञ्चारमाध्यममा नेपाली विद्यार्थीबारे प्रकाशित समाचारमा नेपाल शैक्षिक परामर्शसंघ (इक्यान)ले अष्ट्रेलियन सरकारी अधिकारीसँग चाँसो व्यक्त गरेको छ । गतशुक्रबार इक्यान अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वड, अष्ट्रेलियन शिक्षा विभागका प्रथम सचिव ल्यान्डल कोर्वेट र अष्ट्रेलियन हाइकमिसनका नयाँदिल्लीका अधिकारी केइटलिन म्याकफेर्सनबीच भेट भएको थियो । जसमा इक्यान अध्यक्ष पाण्डेले अष्ट्रेलियाका सञ्चार माध्यममा प्रकाशित नेपाली विद्यार्थी गरिब भएको र अष्ट्रेलियामा उच्च शिक्षा आर्जन गर्न नसक्ने सम्बन्धि समाचारमा सरकारको आधिकारिक धारणा माग गरेका थिए । पाण्डेको जवाफदिँदै राजदूत वडले प्रकाशित समाचारमा उल्लेख भएको विषय सरकारको आधिकारिक धारणा नभएको भन्दै स्पष्ट पारेका थिए । राजदूत वड तथा अन्य अधिकारीहरुले अष्ट्रेलिया नेपाल र नेपाली विद्यार्थीको प्रशंसा गर्दै अष्ट्रेलियन सरकार सकारात्मक रहेको बताए । ‘अष्ट्रेलियन सरकार त्यस्ता समाचारमा प्रकाशित विचारलाई समर्थन गर्दैन, नेपाली विद्यार्थीहरुबारे नजिकबाट अनुगमन गरिरहेका छौं,’ भेटमा अधिकारीहरुले बताएका थिए । अध्यक्ष पाण्डे नेपालीको प्रतिव्यक्ति आय विकसित देशको तुलनामा कमभए पनि सबै नेपाली गरिब नभएको बताउँदै आर्थिक रुपमा धेरै परिवार सक्षम रहेको बताए । जसले आफ्ना सन्तानका लागि अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त विश्वविद्यालय वा कलेजमा पढाउन सक्छन् । ‘पछिल्लो समय नेपालबाट गएका विद्यार्थीहरु जुनसुकै तहमा सक्षम रहेको उल्लेख गर्दै उनले आर्थिक, शैक्षिक र भाषागत रुपमा सक्षमताको प्रमाणपत्र बुझाएर मात्रै अष्ट्रेलिया गएका हुन्, त्यसैले कुनै तथ्य बिना त्यस्ता समाचार प्रकाशित हुनु गलत हो,’ उनले भने । उनले अष्ट्रेलियन सरकारले उपलब्ध गराएको शिक्षा अन्तर्राष्ट्रिय स्तरमा निकै राम्रो रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीको लगानी र ज्यानको सुरक्षाका कारणले अष्ट्रेलिया गएको बताए । ‘नेपालबाट अत्यन्तै थोरै मात्रामा विद्यार्थी अध्ययन गर्न जाने अष्ट्रेलियाका एएनयू र सिड्नी विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकसँग नेपाली विद्यार्थीको सामिप्यता, सम्बन्ध र सम्पर्क निकै कम छ ।

हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विप्रेषण रकम भुक्तानी गर्ने सम्झौता

काठमाडौं । हिमालयन बैंक र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडिएन विएचडि बीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा हस्ताक्षर गरेका हुन् । साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका हुन् । हिमालयन बैंक र म्याक्स मनिले आउँदा दिनहरुमा पनि सम्झौतापत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् ।

साना उद्योगका निर्यातयोग्य वस्तुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा वौद्धिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भने – ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरु अन्य मुलुकहरुमा समेत उत्पादन हुने गर्दछन् ।’ यसरी उत्पादित वस्तुहरु मुल रुपमा नेपालबाट उत्पादन सुरु भएपनि अन्य मुलुकहरुले यस्ता वस्तुहरुको प्रतिलिपी उतारगरी उत्पादन गरिदिनाले नेपालको मौलिक, सांस्कृतिक, हस्तकला तथा अन्य वस्तुहरु समेतमा नेपालको हक कायम नभइदिंदा भविश्यमा अन्य मुलुकले यस्ता वस्तुको पेटेन्ट दर्ता गर्न सक्ने र हाम्रा उत्पादनहरुलेउल्टै रोयल्टी तिर्नुपर्ने वा यस्ता वस्तु उत्पादन नै गर्न नपाउने अवस्थाको सिर्जना हुन सक्छ ।’ नेपालमै भएका कतिपय निर्यातयोग्य वस्तुहरुमा हाम्रो स्वामित्व कायम गर्नु अपरिहार्य भएकोमा जोडदिंदै उनले– ‘हालसम्म पेटेन्ट अधिकारको बारेमा नेपालका अधिकांश लघु, घरेलु तथा साना उद्यमीलाई वौद्घिक सम्पत्तिको संरक्षणका बारेमा जानकारी समेत छैन, उनीहरुलाई ट्रेडमार्क र ब्राण्ड सम्बन्धी चेतना जगाउनुपर्छ ।’ उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बौद्धिक सम्पत्ति के हाे ? भन्ने विषयमा भने – ‘उद्योगको कुरा गर्दा कुल जीडीपीको छ प्रतिशत उद्योगको योगदान छ त्यसमध्ये ८० प्रतिशतभन्दा बढी साना तथा घरेलु उद्योगको योगदान रहेको छ । साना व्यवसायीले उत्पादन गर्छन, दुःख गर्छन, थुप्रै सामानको सिर्जना हुन्छ, सिर्जनामा उनीहरुकै ट्रेडमार्क सुरक्षित हुँदैन ।’ कार्यक्रममा उद्योग विभागका कानुन उपसचिव टंकबहादुर महतले ट्रेडमार्कको अवधारणा, महत्व र दर्ता प्रक्रिया, वस्तु डिजाइन तथा वौद्धिक सम्पत्तिको संरक्षणको अवधारणा र प्रभावकारीताका साथै वस्तु डिजाइन तथा वौद्धिक सम्पत्तिका अन्तराष्ट्रिय अभ्यास रहेकाे छ । कार्यक्रममा विज्ञ राजकुमार सुवालले ट्रेडमार्क र वौद्घिक सम्पत्तिको संरक्षणका विषयमा प्रस्तुत गरे । एकदिने कार्यशाला गोष्ठीमा लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनमा लागेका करिब एक सयजना व्यवसायीहरुको सहभागिता रहेकको कार्यक्रमका सहजकर्ता रुपक सापकोटाले जानकारी दिए ।