विकासन्युज

कञ्चनपुरका किसानद्वारा एक करोड मूल्य बराबरका माछा उत्पादन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा एक वर्षको अवधिमै रु एक करोड मूल्य बराबरका माछा उत्पादन भएका छन् । कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५ सय क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार १ सय ३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ । पाँच सय आठ कट्ठा क्षेत्रफलमा रहेका कृत्रिम पोखरीमा मात्रै रु ९० लाख ७० हजार मूल्य बराबरका माछा उत्पादन भएका पशु विकास शाखाका पशु विकास अधिकृत नारायणदत्त भट्टले बताए । माछा उत्पादनमा लागेका किसानले रहु, भाकुर, रुपचन्द, कमन, विगहेड, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । उत्पादन गरेका माछा स्थानीय बजारसँगै पोखरीबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । माछा प्रतिकिलो रु ३ सय देखि ४ सयका दरले बिक्री हुने गरेको छ । नगरपालिकाका किसानले वर्षभरी माछा उत्पादन गरी बेच्दै आएका छन् । नगरपालिकामा सबैभन्दा बढी वडा नं ९ का ज्ञानेन्द्रबहादुर सिंहले आठ पोखरीमा वार्षिक रुपमा १ सय ५० क्विण्टल माछा उत्पादन गरी  रु ३७ लाख ५० हजार मूल्य बराबरका माछा बिक्री गर्दै आएका छन् । अन्य किसानले भने रु तीन लाख ५० हजारदेखि रु ४० हजारसम्म माछा उत्पादन गरी बिक्री गर्दै आएका छन् । एक लाखभन्दा कम मूल्य बराबरको माछा उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै रहेको छ । चार जना किसानले चालु आवमै पोखरी बनाई माछापालनको शुरुआत गरेका छन । नगरपालिका क्षेत्रभित्र रहेका गौडी सलिना, मणिका, सिद्धनाथ, झारखण्डी, सुनदेवी, निल, शुक्ला, अजिंगर, पुरैना र लरंका ताल मध्ये अजिंगर, पुरैना, लरंका, सिद्धनाथ र झारखण्डी तालमा मात्रै माछापालन हुने गरेको छ । नगरपालिकाका दुई किसानले माछाको ह्याचारी तथा नर्सरी सञ्चालन गरेका छन् । नगरपालिकाको वडा नं ७ का हिक्मत चौधरीले १२ कट्ठा जग्गामा र वडा नं १ का पल्टु चौधरीले दुई दशमलव पाँच बिघामा ह्याचारी तथा नर्सरी सञ्चालन गरे । उनले ह्याचरी तथा नर्सरीमा उत्पादन भएका माछाका भुरा मात्रै बिक्री गरेर रु १० देखि रु १७ लाख आम्दानी गर्दै आएका छन् । नगरपालिकाको वडा नं ३ का गेदु चौधरीले धान खेतमा कमन र विगहेड जातका माछापालन गरी रु एक लाख बढी आम्दानी गरे । डेढ कट्ठा धानखेतमा सोचेभन्दा बढी आम्दानी भएपछि आउँदो वर्ष त्योभन्दा बढी धान खेतमा माछापालन गर्ने बताएका छन् । धान खेतमा माछापालन गर्ने चौधरी नगरपालिकभित्रका पहिलो किसान हुन् । रासस

नेपाली सेनालाई वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

काठमाडौँ । मेगा बैंक नेपालले नेपाली सेनाका लागि सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।  बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराए । कार्यक्रममा नेपाली सेनाका बिभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो ।

हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गर्न चिकित्सककाे आग्रह

नेपालगञ्ज । चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७ सय ९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ । यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने स्वास्थ्यकर्मीले जनाएका छन् । स्थानीय तहले सम्पूर्ण घरमा पुग्नका लागि आवश्यकताअनुसार योजना बनाएर समय निर्धारण गर्न सक्छन् । औषधि सेवनपछि रोगको सङ्क्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् । भेरी अस्पतालका डा. खगेनद्रजङ्ग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गरे । आधारभूत स्वास्थ्य केन्द्र स्थापना खजुरा गाउँपालिका–४ को इ–गाउँको चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसअघि यो वडाका जनताले कपास विकास समिति नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिँदै आएका थिए । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले केन्द्रको उद्घाटन गर्दै गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र खेलकूदका हब बनाउने बताएका छन् ।

सवा दुई करोड लागतमा खानेपानी आयोजना सम्पन्न, घण्टाैं हिडेर पानी ल्याउने दिनकाे अन्त्य

स्याङ्जा । घण्टाैं लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका यहाँका वासिन्दा अहिले घरमै धारा जडान भएपछि धेरै सजिलो भएको बताउँछन् । खानेपानी आयोजनाको लागि गल्याङ नगरपालिकाले रु २० लाख, गण्डकी प्रदेश सरकारले रु एक करोड ७० लाख र उपभोक्ताबाट रु ३० लाख बराबरको जनश्रमदान गरी कुल रु दुई करोड २० लाखको लागतमा योजना सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ । बेलचौरकी हीरा खनालले भने, “पहिला खानेपानी लिनको लागि गाउँदेखि तल रहेको धुवादी कुवामा जानुपथ्र्यो अहिले घरमै पानीको धारा आएपछि निकै खुशी लागेको छ ।” पानीको सुविधा भएपछि उनले करेसाबारीमा बन्दागोभी, मुला, साग, लसुन, प्याजलगायतका तरकारी खेतीसमेत शुरु गरेका छन् । अर्की स्थानीयवासी देवकी खनाल पनि घरमै पानीको धारा आएपछि दङ्ग परेकी  छिन् । पानीको अभावमा कुवार खोला चाहर्दै हिँडेको सम्झँदै खनालले भने, ‘‘खानेपानी आयोजनाले हाम्रो जीवनमा धेरै परिवर्तन ल्याएको महसुस गरेका छौँ । पहिला पानीकै कारणले मेलापालसँगै अन्य काम भ्याउन कठिन थियो । अहिले घरको कामसँगै समय निकालेर तरकारी लगाउन थालेका छौँ ।’’ बेलचौर लिफ्टिङ खानेपानी आयोजनाका उपभोक्ता समितिका अध्यक्ष निमप्रसाद खनालले रु दुई करोड २० लाखको लागतमा अयोजनाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । कालीगण्डकी नदीको किनारबाट करीब २४० मिटरको उचाइमा पानी तानेर एक लाख लिटरको ट्याङ्की निर्माण गरी त्यसबाट १३५ घरधुरीमा धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताए । गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले पानीको समस्या भएका वडामा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर खानेपानीको सुविधा उपलब्ध गराइने जानकारी दिएका छन् । रासस

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-३ः बलम्बुमा फ्लाइओभर, सिस्नेखोलामा रिफ्रेसमेन्ट सेन्टर

काठमाडौं । गत कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सिस्नेखोला सुरुङमार्गको शिल्यान्यास गरे । जापान सरकारको सहुलियतपूर्ण ऋणमा बन्न लागेको नेपालकै पहिलो सुरुङमार्ग कस्तो बन्दैछ त भन्ने आम चासो छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको उक्त सुरुङमार्ग सवारीसाधन आवतजावतको लागि प्रयोग गरिने यो नेपालकै पहिलो सुरुङमार्ग हुनेछ । २ हजार ६ सय ८८ मिटर लम्बाईको बन्ने सो सुरुङमार्ग चन्द्रागिरी नगरपालिका वडा नं. १ को टोटीपाखाबाट निर्माण शुरु भई धादिङको सिस्नेखोलामा पुगेर टुगिन्छ । परियोजना विवरण ईम्प्लायर– सडक विभाग भौतिक निमार्ण तथा यातायात मन्त्रालय ईन्जिनियर– निपोन कोई, ऐट–जापान ईन्जिनियरिङ कल्सल्टेन्टस्, निपोन सिभिक कन्सल्टेन्टस ईन्जिनियरर्स, जिईओसिई कल्सलटेन्टस र आईटिईसिओ नेपाल ठेकेदार– हाज्मा एण्ड कर्पोरेशन परियोजनास्थल– त्रिभुवन राजमार्गको मुख्य राजमार्ग क्षेत्र परियोजना अवधी– ४२ महिना (नोभेम्बर २९ देखि अप्रिल २०२३) दुईवटा सुरुङ बन्ने नागढुंगा सिस्नेखोला सुरुङमार्गमा दुई वटा सुरुङ निर्माण हुनेछन् । ठूलो सुरुङ सामान्य अवस्थामा सवारी साधनको आवातजावतमा प्रयोग गरिनेछ भने सानो सुरुङ आपत्तकालिन अवस्थामा प्रयोग हुनेछ । सानो सुरुङ जैविक तथा भैपरी आउने समस्या र आकस्मिक दुर्घटनालाई ध्यानमा राखेर विकल्पको रुपमा निर्माण गर्न लागिएको हो । ३ लेनको ठूलो सुरुङ ८.२ मिटर उचाई तथा ११.५ मिटर चौडाइ र सानो सुरुङ ४ मिटर उचाई तथा ५.१ मिटर चौडाइको बन्नेछ । दुई सुरुङबीच ३ सय मिटरको फरकमा क्रसप्यासेज रहनेछ । ठूलो सुरुङ संचालन हुँदा उक्त क्रसप्यासेजको ढोका बन्द हुने र उक्त प्यासेजका ढोका आपत्तकालिन अवस्थामा मात्र खोलिनेछ । सुरुङको दुईतर्फ शुल्क संकलन स्टेशन पैसा तिरेर मात्र सुरुङमार्ग प्रयोग गर्न पाइनेछ । यसैकारण सुरुङको दुईतर्फ (पूर्वतर्फ टोटीपाखामा र पश्चिमतर्फ सिस्नेखोलामा) शुल्क संकलन स्टेशन हुनेछन् । पश्चिमतर्फ रिफ्रेशमेन्ट सेन्टर सुरुङको पश्चिमतर्फ रिफ्रेशमेन्टको लागि रेष्टुरेन्ट, पार्किङ्ग र आराम गर्ने स्थान बन्नेछ । सुरुङमार्ग छिर्नु अगाडी केही समय आराम गर्नका लागि यो सेन्टर बनाउन लागिएको हो । सुरुङभित्र २४ सै घण्टा विजुली, मातातिर्थबाट ल्याइयो ११ केबीको प्रशारण लाईन सुरुङका लागि २४ घण्टा नै बत्ती आवश्यक पर्छ । कुनै बेला पनि विजुली नजाने व्यवस्था गरेर सुरुङ बनाउनु पर्छ । यसैको लागि नेपाल विद्युत प्राधिकरणको मातातिर्थ सव स्टेशनबाट ११ केवी लाइनको विद्युत अन्डरग्राउड हुँदै सुरुङमार्गको पूर्वी उद्गमस्थलसम्म जोडिनेछ । यो पनि सुरुङको एउटा ठूलै परियोजनामध्येमा पर्छ । यद्यपि सुरुङभित्र जेनेरेटरहरु पनि हुनेछन् । दुईतर्फ सुरुङलाई व्यवस्थापन संचालन तथा मर्मत गर्ने उपकरण तथा जनशक्ति राख्ने भवन निर्माण हुनेछ । यी उपकरण र जनशक्तिले सुरुङभित्र भएका हरेक समस्याको सामाधान गर्नेछ । बलम्बुमा फ्लाईओभर सुरुङमार्गलाई जोड्न दुई पहुँच मार्ग हुनेछन् । त्यसमा बक्स कल्भर्ट, फ्लाईओभर, अण्डरपास रोड तथा ओभरपास रहनेछन् । चन्द्रागिरी नगरपालिकाको बलम्बुमा बन्न लागेको फ्लाईओभर नेपालकै पहिलो फ्लाईओभर हुनेछ । त्रिभुवन राजपथ भएर आउने सवारी आवतजावतका लागि उक्त फ्लाईओभर निर्माण गर्न लागिएको हो । अहिले सो फ्लाइओभरको डिजाइन बनाउने कार्य भइरहेको छ । मुहान सुके ट्याङ्कीको पानी सुरुङ निर्माणको समयमा पानीका मुहानहरु सुक्ने सम्भावना रहेकोले त्यसको विकल्प पनि खोजिएको छ । परियोजनाले पूर्वीक्षेत्रमा (चन्द्रागिरी नगरपालिकामा) ४ सय ५० क्यूबिक मिटरको ४ वटा ट्याङ्की निर्माण गरिरहेको छ । त्यस्तै पश्चिमतर्फ पछि ट्याङ्की बनाउने विषयमा अध्ययन भइरहेको छ । ३२ महिनामा सुरुङ, अरु काम १० महिनामा काम सुरु भएको ३२ महिनामा सुरुङ बनिसक्ने र सुरुङभित्र सामाग्रीहरु जडान गर्नको लागि थप १० महिना लाग्ने परियोजनाका प्रमुख ईन्जिनियर मृगेन्द्र काफ्लेले जानकारी दिए । १० महिनाको समयमा सुरुङलाई आवश्यक पर्ने सीसीटीभी जडान, पानीको आपूर्ति तथा व्यवस्थापन, आगो नियन्त्रण गर्ने उपकरण जडान, ट्राफिक लाईट, विद्युतीयकरण लगायतका कामहरु गरिनेछन् । सुरुङ खन्न अष्ट्रेलियन विधि, ब्लास्टिङ तथा बुमरको प्रयोग सुरुङमार्गमा निर्माण हुने सडक एनएटीएम (न्यु  अष्ट्रेलियन टनल मेथड) विधिको प्रयोगमा गरिनेछ । यो विधि नेपालमा पहिलो पटक प्रयोग हुन लागेको हो । यो विधिमा ब्लास्टिङ तथा बुमरको प्रयोग हुन्छ । बुमर डिलिङ्ग मेसिन हो । सरकारको मापदण्डमा रहेर ब्लास्टिङ गरिनेछ । ब्लाष्टिङले छेउछाउमा चर्काे आवाज आउने, घरहरु हल्लाउने तथा चर्किने जस्ता समस्या हन्छ भन्ने शंकामा ब्याष्टिङपूर्व साइरन बनाइनेछ । ब्लास्टिङको आवाज सानो गर्नको लागि जापानबाट ल्याएर आवाज नआउने ढोका राखिनेछ । यस्तो ढोका राखेपछि बाहिर ठूलो आवाज नआउने र अन्य खतरा उत्पन्न नहुने परियोजनाको अनुमान छ । तर, पनि आवश्यक सतर्कता भने अपनाइएको छ । सुरुङ खन्दा निस्किएका सामाग्रीको व्यवस्थापन सुरुङमै सुरुङबाट निस्किएको सामानहरु सोही परियोजनाको निर्माणको लागि प्रयोग गरिनेछ । पश्चिमतर्फ फिलिङ्ग गर्नु पर्ने धेरै भएकाले अधिकतम सामान सो ठाँउमा प्रयोग गरिनेछ भने काम नलाग्ने सामान डिस्पोजर क्षेत्रमा राखिनेछ । विष्फोटक सामाग्री बोक्ने गाडी छिर्न नपाउने सुरुङभित्र कुनै पनि प्रकारको विष्फोटक सामाग्री छिर्न पाउने छैनन् । यस्तै सुरुङको साईजभन्दा ठुलो गाडीहरुलाई प्रवेश निषेध गरिनेछ । यस्तो नियमको कारण ग्यास, पेट्रोलियम पदार्थ जस्ता विस्फोटक र प्रज्ज्वलनशील सामाग्री बोकेका सवारी साधनले यो सडक प्रयोग गर्न पाउने छैनन् । सम्बन्धित सामग्री नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-२ः काठमाडौंतिरको साइड क्लियर, ४ महिनापछि सुरुङ बनाउन थालिने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-१ः तीन वर्षअघि ४ लाख पर्ने जग्गाको मूल्य अहिले २२ लाख

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

काठमाडौं । एनसेलले पर्यटकका लागि ‘टुरिष्ट सिम’ ल्याएको छ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबारबाट संचालनमा आएको छ । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्नेछन् । नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित मात्र रु १ सयमा टुरिष्ट सिम सहितको स्टार्टर प्याक लिन सक्नेछन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउने छन् । यो सिमको विषेशता भनेको यसमा पे यज यु यो रेट लागु हुदैन र पर्यटनहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तीस दिन सम्म समयसिमा रहेका विभिन्न पाँच कक्बो प्याक मध्ये कुनै एक प्याक लिन सक्छन् । पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएका कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित रु २ सय ९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्नेछन् । अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित रु १ हजार ४ सय ७० मा २८ जिबी डेटा र २ सय ८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत कर सहित रु २ हजार ८ सय ८८ मा ८८ जिबी डेटा र ८ सय ८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउँनेछन् । पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिई सकेपछि एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनि हर्षित रहेको एनसेलले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याईएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ । टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ ।

२२ दिनदेखि बन्द काठमाडौँ विश्वविद्यालयकाे ताला अझै खुलेन

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टर (टीटीसी), प्रशासकीय भवनलगायत मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो । केयू प्रशासनले यही माघ १३ गतेको विशेषसभामा सहभागी गराउन र सो सभामा मागबारे सम्बोधन गर्ने जनाएपछि आन्दोलनरत केयू प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबार संयुक्त विज्ञप्ति जारी गर्दै “हाल आन्दोलनका क्रममा निर्धारण भएका पूर्वनिर्धारित थप कार्यक्रम स्थगन गर्दै अन्य कार्य सञ्चालन गर्न सहजीकरणका लागि आवश्यक वातावरण सिर्जना गर्ने निर्णय गरेका छौँ” भनिएको छ । तालाबन्दी भने नखुलाइने कर्मचारी सङ्घका अध्यक्ष सुरेन्द्र केसीले बताए । “विशेषसभामा मागबारे सम्बोधन गरी निर्णय भएपछि मात्रै तालाबन्दी खोल्छौँ”, उनले भने । विशेषसभाका लागि अत्यावश्यक पर्ने सामग्री कार्यालयबाट झिक्न भने आफूहरुले सहजीकरण गर्ने केसीले बताए । गत पुस १६ गते पत्रकार सम्मेलन गरी दुवै सङ्घले “सम्झौता कार्यान्वयनका लागि उपकुलपति, डीन र रजिष्ट्रारलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेका कारण विश्वविद्यालयमा भएका बेथिति निस्तेज पार्न दबाबस्वरूप तालाबन्दीलगायत आन्दोलन गर्नुपरेको” जनाएका थिए । यसअघि पनि केयू प्रशासनले आन्दोलनरत पक्षलाई माग सम्बोधन गर्ने आश्वासन दिँदा २१ दिनपछि तालाबन्दी खुलाइएको थियो । दुई सङ्घ गत साउन २३ गतेदेखि विभिन्न माग राख्दै पटकपटक आन्दोलनमा छन् । केयू प्रशासनसँग भएका विभिन्न वार्ता असफल भएपछि दुई सङ्घले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका हुन् । सङ्घले काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति विकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरी लामो समयसम्म एउटै पदमा कार्यरत करार/अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्नुपर्ने, विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहको अवस्थामा गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, विश्वविद्यालयका कार्यरत प्राध्यापक र कर्मचारीको पेशागत सङ्गठनलाई मान्यता दिई विश्वविद्यालय सङ्गठनात्मक ढाँचामा समावेश गर्नुपर्ने माग राख्दै तालाबन्दी गर्दै आएको थियो । अघिल्ला वार्तामा भएका केही मस्यौदा सिनेट बैठकमा लैजानुपर्ने भएकाले तालाबन्दी नखोली थप काम गर्न नसकिने स्कुल अफ साइन्सका डीन एवं काठमाडौँ विश्वविद्यालय परीक्षाका सुपरिटेन्डेन्ट प्रा. डा. कन्हैया झा बताउँछन् । उनले भने, “केही माग विशेषसभामा लैजानुपर्दछ, केही माग अप्राविधिक खालका छन्, दुवैतर्फ अविश्वास भएकाले वार्ता लम्बिएको मात्र हो ।” विश्वविद्यालयले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैँ छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको प्राध्यापक सङ्घका सभापति डा. वेदमणि दाहालले बताए । “केयू प्रशासनले विशेषसभा बोलाएको र सो सभाका लागि प्रस्तुत गरिने प्रस्तावहरु कार्यकारी परिषदबाट निर्णय गरी सभासदस्यलाई उपलब्ध गराएकाले आन्दोलनका थप कार्यक्रम मात्रै स्थगन गरेका हौँ”, उनले भने । अघिल्ला वार्तामा विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. विजय केसी र सिनेटको शिक्षक प्रतिनिधि प्रा. डा. बालचन्द्र लुइँटेल तथा आन्दोलनरत पक्षबाट डा. दाहाल र केसीलगायत सहभागी  थिए । रासस

एनआईसी एसिया बैंकले ‘इन्ड टू इन्ड सोलुसन’ प्रणाली खरिद गर्ने, भयाे त्रिपक्षीय सम्झौता

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोक्न एनआईसी एसिया बैंकले थप कदम चालेको छ । यस्तो कार्य प्रभावकारी बनाउन बैंकले भारतको इन्फ्रासफ्ट टेक्नोलोजी तथा नेपालको एम्निल टेक्नोलोजीसँग ‘इन्ड टू इन्ड सोलुसन’ नामक प्रणाली खरिद गरेको हो । एनआईसी एसिया बैंक तथा नेपाल र भारतका दुई कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा तथा एम्निल टेक्नोलोजीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरे । सो सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्निल टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टू इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र सो प्रणाली कार्यान्वयनमा ल्याएपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु फाइनान्सियल एक्सन टास्क फोर्स (एफटीएफ), एसियन प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) लगायतले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकको भनाइ छ । यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले जनाएको छ । बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको बैंकको भनाई छ । नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जानकारी दिएको छ । जस अन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नको लागि बायोमेट्रिक डिभाइस र फोटो खिच्नको लागि क्यामेरा जडानसहितको सुविधा उपलब्ध रहेको छ । यो प्रविधि मार्फत ग्राहक अनबोर्डिङ गर्दा अहिले कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएमएल/सीएफटी (आतंकारी गतिविधिमा वित्तीय लगानी निवारण) र ग्राहक परिचान (केवाईसी) व्यवस्थापन कार्यलाई थप टेवा पु¥याउने बैंकले विश्वास लिएको छ । साथै निकट भविष्यमै बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको छ । नियमनकारी निकायले तोकको व्यवस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको इ–केवाईसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । बैंकले सो इ–केवाईसी पोर्टल मार्फत आफ्नो विवरण अद्यावधिक गर्न पनि ग्राहकसँग अनुरोध गरेको छ । बैंकको देशभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय २६ एटिएम, १ सय ४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व सरकारलाई बुझाइ सकेको छ । साथै,  वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।