२०७७ सालका लागि १३ पात्रोले पाए आधिकारिक स्वीकृति
काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम (शर्मा) सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’ रहेका छन् । त्यसैगरी, दिव्यपुरूष ढकालको ‘तारकेश्वर’, सूर्यप्रसाद ढुङ्गेलको ‘सूर्य’, लोकराज पौडेलको ‘आकाश–दर्शन’, शशिधर जोशीको ‘बगलामुखी’, दामोदर जोशीको ‘शुभ’, श्रीकेश कौशिकको ‘बाबा गोरखनाथ’, सिद्धिलक्ष्मी व्यञ्जनकारको ‘सिद्धि’ र चेतराज उपाध्यायको ‘खप्तड तारानाथ पञ्चाङ्ग गरी १३ वटा पात्रोलाई स्वीकृति दिएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा.रामचन्द्र गौतमले जानकारी दिएका छन् । समितिले स्वीकृति दिएका पात्रो माघ पहिलो सातादेखि नै बजारमा आउन थालेका छन् । चाड पर्वका सम्बन्धमा धर्मशास्त्रविद्बान शास्त्रीय आधारमा निर्णय गरिएकाले यिनै पात्रोको प्रयोग गर्न समितिले आम मानिसमा आह्वान गरेको छ । विगत केही वर्षदेखि समितिको स्वीकृति नलिई प्रकाशन भएको पात्रोका कारण तिथि, मिति, चाड पर्व नमिल्दा समस्या पर्ने गरेकाले आधिकारिक पात्रोको मात्र उपयोग गर्न पनि अध्यक्ष गौतमले अनुरोध गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको समितिको स्वीकृतिबिना प्रकाशन भएका पात्रोको प्रयोग गर्दा तिथि मिति, चाड पर्वलगायतका बारेमा कुनै भ्रम वा द्विविधाको अवस्था आएमा आफैँ जिम्मेवार हुनुपर्ने जनाइएको छ । समितिको स्वीकृति भएका पात्रोमात्र प्रयोगमा ल्याउँदा कुनै समस्या आएमा त्यसको समाधान सरकारले मनोनयन गरेका विद्वानकाे समूहले गर्ने उनले बताए । रासस
अज्ञात समूहद्वारा कार्यालय र गाडीमा आगजनी, नेकपा अध्यक्षको घरमा बम
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से१च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ । आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । राज्य पुनःस्थापना हुँदा गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ । रासस
कानुनको उल्लंघन गर्दै गैरसरकारी संस्था, दर्ता नवीकरण गर्नेको सङ्ख्या न्यून
बाँके । बाँकेमा एक हजार ६२१ गैरसरकारी संस्था (गैसस) दर्ता छन् । दर्ता भएका गैससमध्ये नियमित नवीकरण गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यसवर्ष नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या १८५ अर्थात ११ दशमलव ४१ प्रतिशत मात्रै छ । यसले दर्ता भएका अधिकांश गैरसरकारी संस्थाले कानून अटेरी गरिरहेको देखाउँछ । कानूनबमोजिम सञ्चालन इजाजत लिएपछि गैससले बर्षेनी नवीकरण नगरेर कानून अटेरी गरिरहेका छन् । सरकारी निकायको साझेदार र सहयोगीका रूपमा स्थापित हुने गैरसरकारी संस्थाहरुको मुख्य काम सामाजिक अभियानमार्फत नागरिकहरुलाई अधिकार र कर्तव्यको बारेमा बोध गराउने र समाजमा रहेका विभिन्न खाले समस्या समाधानका लागि सहकार्य गर्नु हो । सामाजिक कार्य गर्ने विभिन्न उद्देश्य राखेर जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्था दर्ता हुने गर्छन् । धेरै संस्थाहरु विभिन्न अपेक्षा राखेर दर्ता हुने र उद्देश्यअनुसारको कार्य गर्न नसक्ने, बीचैमा संस्था बन्द हुने, नियमित साधारणसभा नगर्ने, नवीकरण नगर्ने समस्या रहेको सहायक प्रजिअ उपाध्यायले बताए । आन्तरिक स्रोत, साधनको सदुपयोग गर्ने र स्रोतबिना पनि विभिन्न सामाजिक कार्य गर्नु गैससको कर्तव्य भएको पनि उनले बताए । सामाजिक अभियान सञ्चालन गरी समाज रूपान्तरण गर्ने र अभियानमार्फत नागरिक अधिकारका बारेमा बोध गराउने, नागरिक सशक्तीकरण गर्ने, जागरण ल्याउने उद्देश्यका साथ गैरसरकारी संस्था दर्ता हुने गर्छन् । सहायक प्रजिअ उपाध्यायले भने, “कतिपय संस्थाहरु परियोजना भएसम्म काम गर्ने र स्रोत तथा परियोजना सकिएपछि बन्द हुने गरेका छन्, कतिपय दर्ता भएदेखि एक पटक पनि नवीकरण नगर्ने संस्थाहरु पनि छन् ।” स्रोतको खोजी गरी काम गर्न नसक्दा र कतिपय गैससका व्यक्तिहरु नै जिल्ला बाहिर जानुले पनि नियमित नवीकरण हुन नसकेको उनको भनाइ छ । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका धेरै गैरसरकारी संस्थाहरु अहिले क्रियाशील छैनन् । प्रशासन कार्यालयमा दर्ता हुने, नवीकरण पनि नगर्ने र बन्द भएको तथ्याङ्क पनि नहुँदा दर्ता भएका गैससको सङ्ख्या बढी देखिने गरेको गैससकर्मीहरुको भनाइ छ । गैरसरकारी संस्था महासङ्घ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले पछिल्लो समय गैरसरकारी संस्थाहरुलाई काम गर्ने उचित वातावरण नभएका कारण धेरै गैससहरु पलायन तथा बन्द हुने अवस्थामा पुगेको बताउँछन्। मुलुकमा सङ्घीयता आएसँगै सरकारले गैससमैत्री वातारण बनाउन नसकेको र गैरसरकारी संस्थाहरुको भूमिकालाई कमजोर बनाउन खोजेको अध्यक्ष शाहको भनाइ छ । “गैरसरकारी संस्थाहरुलाई काम गर्ने वातावरण नहुँदा र काम गर्न स्रोत, साधन नहुँदा गैरसरकारी संस्थाहरुको नवीकरणको सङ्ख्या हरेक वर्ष घट्दै गएको हो,” अध्यक्ष शाहले भने । गैरसरकारी संस्था दर्ता ऐन २०३४ अनुसार गैसस, निजीक्षेत्र, उद्योग वाणिज्य सङ्घ, मठमन्दिर गुठी, उपभोक्ता समूहसमेत दर्ता हुने प्रावधानले पनि गैससको सङ्ख्या धेरै देखिने बताउँदै ऐनलाई सुधार गर्न जरुरी रहेको गैससकर्मीहरुको धारणा छ । सरकारी निकायहरुले गैससको क्षमता विकासका लागि कुनै पहल नगरेको, गैससमैत्री ऐन कानून तथा नीति तर्जुमामा ध्यान नदिएको गैससकर्मीहरु बताउँछन् । गैरसरकारी संस्थाहरुलाई गैरनाफामूलक, सामाजिक संस्था भन्ने गरिन्छ । बजेट भए पनि नभए पनि नियमित रूपमा सामाजिक कार्य गर्नु गैससको भूमिका हुन्छ । समाज र नागरिकहरुको समस्या, आवश्यकता, चासो र स्थानीय सरोकारका सवालमा सामाजिक अभियान चलाउनु पनि गैससको भूमिका हो । तर नेपालमा पछिल्लो समय गैससले ती भूमिका निर्वाह गरेको देखिँदैन । हरेक वर्ष गैससहरु जिल्ला प्रशासन कार्यालयमा नवीकरण हुनपर्ने, आन्तरिक राजश्व कार्यालयबाट करचुक्ताको प्रमाणपत्र लिनुपर्ने र सम्बन्धित स्थानीय तहमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था भए पनि धेरै गैससहरु नियमित नवीकरण हुँदैनन् । धेरै गैससहरुले मनोमानी ढङ्गले कानूनको अटेरी गरिरहेको देखाउँछ । सरकारी निकायको उदासीनताकै कारण गैससहरुको मनोमानी बढिरहेको छ । वार्षिक साधारणसभा, नियमित अधिवेशन र नियमित नवीकरण नगरेको तथ्याङ्कले बताए पनि नवीकरण नै नभएका कतिपय संस्थाहरुले काम गर्दै आएको देखिन्छ । स्रोत पाए काम गर्ने नवीकरण गर्ने र स्रोत नभएमा चुप लागेर बस्ने गरेको पनि कतिपय गैरसरकारी संस्थाहरुको कामले देखाउँछ । जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएका गैसस र नवीकरण भएका गैससहरुको सङ्ख्यालाई हेर्दा यिनीहरूको वैधानिकतामाथि प्रश्न चिह्न उठ्न सक्छ । सामाजिक कार्य गर्ने उद्देश्य बोकेर दर्ता भएका गैरसरकारी संस्थाहरुले कानून र विधिको पालना गर्ने र नियमन गर्ने निकायले नियमनकारी भूमिका निभाउन जरुरी रहेको गैससकर्मीहरुको भनाइ छ ।रासस
चालक अनुमति पत्र बनाइदिन्छु भनी पैसा लिने दुई गिरोह पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र बनाईदिन्छु भनि पैसा लिने दुई व्यक्तिलाई पक्राउ गरेको छ । बाजुरा घर भइ हाल ठूलोभर्याङ बस्ने मान बहादुर रोकाया र धादिङ घर हाल स्वयम्भु बस्ने गणेश गुरुङलाई महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय स्वयम्भुबाट पक्राउ गरेको हो । सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा पास गराईदिने भनि २ हजार लिने ती व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा बुझाईएको छ ।
अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो । सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो । एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पहिरो रोक्ने काम भइरहेको छ ।
केटिएमको ‘३९० एड्भेन्चर’ सार्वजनिक, नेपालमा आइपुग्दा १० लाखसम्म पर्ने अनुमान, यस्ता छन् विशेषता
काठमाडाैं । अष्ट्रियन मोटरसाइकल उत्पादक कम्पनी केटिएमले आफ्नो नयाँ उत्पादन ३९० एड्भेन्चरलाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा २ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको सो मोटरसाइकल एउटा एडभेन्चर टुरर मोटरसाइकल हो जसलाई लामो दुरीको यात्रामा सहजै गुड्न सक्ने विशेषताका साथ बजारमा ल्याइएको छ । यस्ता छन् विशेषता ३९० एड्भेन्चरको अफरोड एवं अनरोड दुवै क्षमता गज्जबको रहेको छ । यस बाइकमा मेट्जेलर टोरेन्स टायर दिइएको छ जसलाई अनरोड तथा अफरोड दुवैका लागि राम्रो मानिन्छ । त्यसैगरी बाइकको अगाडिको चक्का १९ इञ्चको रहेको छ भने पछाडिको चक्का चाहिँ १७ इञ्चको रहेको छ । अगाडिको चक्का ठुलो हुनाले बाइकले अफरोडिङ्गको वेलामा सानातिना ढुङ्गा एवं खाल्डाखुल्डिलाई सजिलै पार गर्न सक्छ । केटिएमले यस बाइकमा अगाडि पट्टि ४३ मिलिमिटर अपसाइड डाउन फर्क र पछाडि चाहिँ प्रिलोड एड्जस्टेवल मोनोशक प्रयोग गरेको छ । अगाडि १७० मिलिमिटरको र पछाडि चाहिँ १७७ मिलिमिटरको सस्पेन्सन ट्राभल रहेको हुनाले यी सस्पेन्सनहरुले राम्ररी शक एब्जर्ब गर्न सक्दछन् । केटिएमले यस बाइकमा स्विचेवल ट्र्याक्सन कन्ट्रोल र बाइ-डाइरेक्सनल क्विक सिफ्टर समावेश गरेको छ । एक्कासी थ्रोटल लिँदा पछाडिको चक्काको गति अगाडिको चक्काको भन्दा बढि हुन गयो भने बाइक ड्रिफ्ट भएर चिप्लिने सम्भावना हुन्छ । ट्र्याक्सन कन्ट्रोलले पछाडिको चक्काको गतिलाई कन्ट्रोल गर्दै बाइकलाई ड्रिफ्ट हुनबाट बचाउँछ । बाइ-डाइरेक्सनल क्विक सिफ्टरको खासियत भनेको चाहिँ राइडरले बाइक चलाइरहेको वेलामा क्लच र थ्रोटलको आवश्यकता विना नै गियर अप अथवा डाउन गर्न सक्दछन् । यस मोटरसाइकलमा ३९० ड्युकमा समावेश भएकै ३७३.२ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन जडान गरिएको छ जसले ४४ एचपीको पावर र ३७ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीले जनाए अनुसार यो इञ्जिन बीएस६ प्रदुषण मापदण्ड अनुरुपको इञ्जिन हो । नेपालमा कहिले आउला ? केटिएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले विकासन्युजलाई बताए अनुसार नेपालमा ३९० एड्भेन्चरलाई भित्र्याउने तयारी चलिरहेको तर यति समय भित्र ल्याइसक्ने भनेर किटान चाहिँ गरिसकिएको छैन । कम्पनीले सो मोटरसाइकलको नेपाली बजार मूल्य बारे पनि केहि बताएको छैन । भारतिय बजारमा यो मोटरसाइकल ३९० ड्युक भन्दा ५१ हजार रुपैयाँले महँगो रहेको छ । त्यसैगरी नेपालमा हाल ३९० ड्युकको मूल्य ८ लाख ३० हजार रुपैयाँ तोकिएको छ । यी दुवै तथ्यलाई आधार मान्ने हो भने ३९० एड्भेन्चर नेपाली बजारमा आइपुग्दा यसको मूल्य ९ लाख रुपैयाँ देखि लिएर १० लाख रुपैयाँसम्म पर्न जाने देखिन्छ ।
कारवाहीमा पर्ने डरले चार लाभग्राहीले फिर्ता गरे घर बनाउन लिएकाे किस्ता
काठमाडाैं । पुनःनिर्माणको लाभग्राहीमा परेका तनहुँका चार लाभग्राहीले किस्ता रकम फिर्ता गरेका छन् । घर बनाउन पहिलो, दोस्रो र तेस्रो किस्ता लिएका ती लाभग्राहीले रकम फिर्ता गरेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँले जनाएको छ । पहिलो किस्ता लिने तीन र तीनवटै किस्ता लिने एक जना लाभग्राहीले सम्झौताबापतको किस्ता रकम फिर्ता गरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए । उनका अनुसार पहिलो किस्ता लिनेबाट एक लाख ५० हजार रूपैयाँ र तीनवटै किस्ता लिनेबाट तीन लाख गरी चार लाख ५० हजार रूपैयाँ फिर्ता भएको छ । भानु नगरपालिकाका दुई र म्याग्दे र ऋषिङ गाउँपालिकाका एक/एक लाभग्राहीले रकम फिर्ता गरेका हुन् । “घर पुनःनिर्माणका लागि सम्झौता गरी रकम लिएका लाभग्राहीको अन्यत्र पनि घर भएको हुनसक्छ, एक भन्दा बढी घर भएको व्यक्तिले भूकम्पको किस्ता लिन पाउँदैन,” उनले भने, “उक्त कुरापछि जानकारीमा आएर कारवाहीमा पर्ने डरले रकम फिर्ता गरेको हुनसक्छ ।” उनका अनुसार एक लाभग्राहीले अर्कैको घर देखाएर पहिलो किस्ता लिएका थिए । पछि प्राविधिकको अनुगमनपछि ती लाभग्राहीले किस्ता फिर्ता गरेको प्रमुख गुप्ताले जानकारी दिए । जिल्लामा ४२ प्रतिशत निजी आवास निर्माण सकिएको छ । यहाँ पूर्णतर्फ १३ हजार ९४६ र आंशिकतर्फ एक हजार १८५ गरी कूल १५ हजार १३१ लाभग्राही रहेको थियो । गत पुस ११ गतेसम्म ६ हजार ४६९ निजी आवास पुनःनिर्माण सकिएको एकाइले जनाएको छ । ब्यास नगरपालिकामा दुई हजार ३७४ लाभग्राही रहेकामा एक हजार ५३, भानु नगरपालिकामा चार हजार ५९९ लाभग्राही रहेकामा दुई हजार १९१, बन्दीपुर गाउँपालिकामा एक हजार ६४ लाभग्राही रहेकामा ४८६, आँबुखैरेनी गाउँपालिकामा ८९२ लाभग्राही रहेकामा ४५५, देवघाट गाउँपालिकामा ६४८ लाभग्राही रहेकामा २२६, घिरिङ गाउँपालिकामा तीन सय ६ लाभग्राही रहेकामा १२२, भिमाद नगरपालिकामा एक हजार २९६ लाभग्राही रहेकामा ३६२, म्याग्दे गाउँपालिकामा एक हजार ३९५ लाभग्राही रहेकामा ६०७, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९३९ लाभग्राही रहेकामा ७३७ र ऋषिङ गाउँपालिकामा ६१८ लाभग्राही रहेकामा २३० निजी आवास निर्माण सम्पन्न भएको छ । जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएकोमा ८४४ लाभग्राही थपिएका थिए । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोका आधारमा जिल्लामा गत वैशाख १९ गतेदेखि छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको थियो । रासस
विदेशबाट आयात हुने सामानमा भन्सार दर कम गर्न महासंघको आग्रह
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले विदेशबाट आयात हुने वस्तुको मूल्याकंनमा जाेड र भन्सार दर कम गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सरकारले भन्सारबाट आयात हुने वस्तुको मूल्याकंनमा जोड र वस्तुको मूल्यदर कम गर्न सरकारसमक्ष आग्रह गरेको हो । महासंघकी अध्यक्ष भवानी राणाले अनाधिकृत पैठारी नियन्त्रण गर्न भन्सार दर कम गर्नु पर्ने बताइन् । उनले विदेशबाट आयात हुने सामानमा भन्सार दर कम गर्नु पर्ने धारणा राखिन् । महासंघले विदेशबाट आयात हुने वस्तुको गुणस्तर, मूल्य र मेन्टालिटीमा सुधाधर हुनु पर्ने धारणा राखेको छ । महासंघले उत्पादित वस्तु मिति उपभोग अवधि उल्लेख भएका र तोकिएको वस्तुमा तोकिएको गुणस्तर भएको गुणस्तरीय वस्तु मात्र पैठारी गर्नु पर्ने बताएको छ । यस्तै, सरकारले ट्रस्टेड ट्रेडर्र्स को अवधारणा कार्यान्वयनमा आउनु पर्ने जनाएको छ । अर्थ सचिव शिशिर ढुङ्गानाले महासंघले उठाएका मागहरु क्रमशः सम्बोधन गरेर अगाडि बढ्ने बताए । उनले व्यवसायीहरुलाई स्वच्छ र मर्यादित व्यवसाय गर्न समेत आग्रह गरे । सुधारका काम विस्तारै अगाडि बढ्ने भएकोले यसमा ढुक्को वातावरण सरकारले सिर्जना गर्ने उनको भनाइ छ ।