बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न अर्थमन्त्रीको सुझाव, भन्छन्- मुलुकको परिवर्तनमा सबै जिम्मेवार बनौं
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न सुझाव दिएका छन् । मन्त्री खतिवडाले सोमबार भएको अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एशोशियसनका पदाधिकारीबीचको छलफलमा सो कुरा बताएका हुन् । साथै, उनले हाल सम्भावनायुक्त लगानी क्षेत्रको रुपमा विकसित भएको पूर्वाधारमा लगानी विस्तार गर्न, व्याजदर निर्धारणको सम्बोधन गर्न बैंकले लिने सेवा शुल्कको समिक्षा गर्न समेत निर्देशन दिएका छन् । मन्त्री खतिवडाले मुलुकमा तयार हुँदै आएको अनुकुल व्यवसायिक वातावरण निर्माण गर्ने बैंक तथा वित्तीय संस्थाहरुले निर्वाह गरेको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् । उनले वित्तीय प्रणालीका महत्वपूर्ण पक्षका रुपमा रहेको बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन नियमन तथा राष्ट्र बैंकले समय समयमा ती संस्थाहरुलाई दिइएका निर्देशनको कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत जानकारी दिएका छन् । बैठकमा बैंकको व्याजदर, सेवा शुल्क लगायतका अन्य महत्वपूर्ण विषयमा छलफल केन्द्रित भएको हो । लगातार हासिल गरेको उच्च आर्थिक वृद्धिको सन्दर्भमा निजी क्षेत्रबाट हुने लगानीलाई प्रोत्साहित गर्न सरकारले कार्यान्वयनमा ल्याएका प्रभावकारी नीतिगत पक्षहरुको बारेमा जानकारी गराइएको विषयमा बैठकमा सहभागी पदाधिकारीले आ-आफ्नो प्रतिवद्धता समेत व्यक्त गरेका थिए । छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंक र बैंकर्स एशोशियसनका पदाधिकारीलाई सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा नतिजा आउने गरि काम गर्न निर्देशन दिएका छन् । उनले वाणिज्य बैंकहरुबाट हेजिङ सुविधा उपलब्ध गराउने वातावरण निर्माण गर्न, विदेशी विनिमयको व्यवस्थापनलाई थप प्रभावशाली बनाउन एवम् नेपाल राष्ट्र बैकको नियमनकारी भूमिकालाई प्रभावकारी र समयसापेक्ष बनाउन समेत निर्देशन दिएका छन् । साथै, उनले सबै क्षेत्र मिलेर मुलुकमा केही परिवर्तन ल्याउने गरी काम गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एशोशियसनका पदाधकारीलाई निर्देशन दिएका हुन् । सरकारले अघि सारेका नीति नियम तथा योजनाहरुलाई कार्यान्वयनको चरणमा देखा परेको समस्या र तीनको समाधानको लागि सदैव तयार रहेको भन्दै उनले सम्बन्धीत निकायलाई कामको प्रगति र समस्याको बारेमा जानकारी गराउन आग्रह गरेका छन् । सरकारले अघि बढाएका वित्तीय क्षेत्रका नीति नियम र निर्देशनको कार्यान्वयन, प्रगति अवस्था तथा समस्या समाधानका विषयमा छलफल भएको हो । छलफलमा समग्र आर्थिक परिसूचकहरु तथा वित्तीय परिसूचकहरुको पछिल्लो अवस्था, नेपाल राष्ट्र बैंकको निर्देशनहरुको कार्यान्वयन, सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था कार्यान्वयन एवम् तरलता व्यवस्थापनको पछिल्लो अवस्था बारेमा छलफल भएको हो । बैंकबाट ऋण लिने ऋणीले आन्तरिक राजस्व कार्यालयमा पेश गरेको विवरण र बैंकमा प्रस्तुत गरेको वित्तीय विवरणको बीचमा अन्तर आवद्धताको प्रभाव तथा तत् सम्वन्धमा देखिएका समस्याहरु समाधान गरी वित्तीय अनुशासन र कारोबारलाई थप म्यार्दित बनाउने विषयमा समेत छलफल केन्द्रित भई कर्जा प्रवाह गर्दा खोजिने कर चुक्ता प्रमाणपत्रको कार्यान्वयनमा देखिएका समस्याहरु समाधान गर्ने विषयमा समेत छलफल भयो । मुलुकका ७ वटा स्थानीय तहमा बैंक शाखा विस्तार हुन बाँकी रहेका मध्ये केही तहमा प्रक्रिया सुरु भई केहीमा केन्द्रको विवाद र हिमाली क्षेत्रका कारण ढिलाई भएपनि सञ्चालन गर्ने नीतिको कार्यान्वयनमा देखिएका समस्याको समाधान खोजिने भएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघको महानिर्देशकमा गोपाल तिवारी नियुक्त
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संस्था परिसंघको कार्यसमिति बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो । नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंक जस्ता संस्थाहरुमा काम गरिसकेका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरु, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० श्रीचौरका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित एवम् सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रुपमा रहेको नेपाल व्यवसाय मञ्चमा वरिष्ठ परामर्शदाता थिए । उनी पछिल्लोपटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकको जिम्मेवारीमा थिए । अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग आवद्ध तिवारी निजी क्षेत्र, आर्थिक तथा वित्तीय क्षेत्रका व्यावसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर तिवारीले नेपालमा लगानीको वातावरण सुधारसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् । सन् २०१६ मा नर्वेबाट सोसिएल अन्ट्रप्रिनरशिप एन्ड इन्नोभेसन म्यानेजमेन्टमा ग«याजुएट र सन् २०१४ देखि बिजनेस स्कुल अफ नेदरल्यान्डस्मा म्यानेजमेन्ट स्कलरका साथै नर्वेस्थित वैज्ञानिक अनुसन्धान संस्था मा इन्डिपेन्डेन्ट साइन्टिफिक रिसर्चरका रुपमा पनि उनी आवद्ध छन् । महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामार्पmत वित्तीय तथा विभिन्न क्षेत्रमा खोज अनुसन्धान पनि गरेका छन् भने उनका अनुसन्धानात्मक लेखहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् । तिवारी नेपालको एक मात्र अर्थशास्त्रीहरुको संस्था नेपाल आर्थिक संघको भर्खरै सम्पन्न २९औं वार्षिक साधारणसभाबाट महासचिवमा निर्विरोध निर्वाचित भएका थिए । नेपालको प्रतिनिधित्व गरी आर्थिक तथा व्यावसायिक विषयमा विभिन्न अन्तर्राष्ट्रिय सेमिनार र वैठकहरुमा सहभागिता जनाइसकेका नवनियुक्त महानिर्देशक तिवारीको अनुभव नेपालको आर्थिक, व्यावसायिक तथा वित्तीय क्षेत्रका लागि प्रभावकारी बन्ने विश्वास लिइएको बैंक तथा वित्तीय संस्था परिसंघको छ । देशभित्र संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको बीचमा आपसी सम्पर्क तथा समन्वय कायम गरी स्वस्थ्य प्रतिस्पर्धाको माध्यममार्फत गुणस्तरीय एवं भरपर्दो बैकिङ्ग सेवालाई दुरदराजसम्म विकास तथा विस्तार गर्ने, सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायहरुसँगको सहकार्यमा विद्यमान आर्थिक नीतिगत सुधारका लागि पृष्ठपोषण तथा पैरवी गर्ने, देशको समग्र बैंकिङ्ग सेवामा सर्वसाधारणको पहुँच एवं विश्वसनियता बढाउने र निक्षेपकर्ता तथा लगानीकर्ताहरुको सम्बद्र्धन गरी देशले लिएको आर्थिक समृद्धिको आकांक्षा पुरा गर्ने जस्ता उद्देश्यहरु बैंक तथा वित्तीय संस्था परिसंघको छ ।
सिप्रदीले घोषणा गर्याे ‘टाटा दशैं वम्पर लक्की ड्र’ काे विजेता, ७६ जनाले पाए आकर्षक उपहारहरु
काठमाडौं । टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ले दशैं वम्पर लक्की ड्रको उपहार घोषणा गरेको छ । कम्पनीले उक्त लक्की ड्रको घोषणा यहि माघ ३ गते काठमाडौंको हायात होटलमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सहित उपहार वितरण कार्यक्रम गरी सम्पन्न गरेको हो । टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित उक्त योजना गरेको थियो । बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र को कार्यक्रम पुस २१ गते आयोजना गरिएको थियोे । उक्त लक्की ड्र मा देशैभरबाट कुल १७३२ जना ग्राहकहरुले सहभागिता जनाएका थिए । जसमध्ये ७६ जना भाग्यशाली विजेताहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरे । कुल विजेतामध्ये १३ जना ग्राहकहरुले एलजीको ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको ८ केजी क्षमताको वासिङ मेसिन, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टिभी र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका कम्पनीले जानकारी दिएको छ ।
कान्तिबाल अस्पतालको ब्लड बैंक सेवा पुनः सुचारु हुने, राउन्ड टेबल नेपालसँग सम्झौता
काठमाडाैं । कान्तिबाल अस्पतालको निस्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुनः सुचारु हुने भएकाे छ । साे सम्बन्धि राउन्ड टेबल नेपाल र कान्तिबाल अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुरुप काठमाडाैं जिल राउन्ड टेबल २२ (राउन्ड टेबल नेपालको अंश) ले ६ जना स्वयंम सेवकलाई लाग्ने खर्च व्यहोर्ने गरी उक्त सेवा पुन: सञ्चालन गरिने छ । रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाहरुका लागि महत्वपूर्ण बिषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधरण र खास गरी बच्चाहरुलाई हित गर्ने विश्वास लिईएको छ । यसका साथसाथै राउन्ड टेबल नेपालले अस्पतालाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्नेछ । गत अक्टोबर २०१९ मा पुन: सञ्चालनमा ल्याईएको यस ब्लड बैंकले हालसम्म करिब १० औं हजार बालबालिकाहरुको हित गरेको छ । साथै, आउँदा दिनहरुमा यसले निरन्तर सेवा पुर्याउने छ । राउन्ड टेबल नेपाल बालबालिकाहरुको बृहत्तर हित, राम्रो शिक्षा र स्वस्थ जस्ता महत्वपूर्ण बिषयमा सेवा पुर्याउने उद्देश्य बोकेको समाजसेवामा समर्पित युवाहरुको समुह हो ।
अब विकास बैंक पनि आरटीजीएस प्रणालीमा, ५ वटाले गरे एनसीएचएलसँग सम्झौता
काठमाडौं । अब विकास बैंकहरु पनि नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जाने भएका छन् । उक्त प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले विकास बैंकहरुलाई आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्ने भएको हो । यससँगै एनसीएचएलले मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग छुट्टा छुट्टै सम्झौता गरेको छ । उक्त सम्झौता अनुरुप, एनसीएचएलले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक आरटीजीएस इन्टिग्रेसन मिडिलवेर, कनेक्ट आरटीजीएस उपलब्ध गराउने भएको छ । विकास बैंकहरुसँगको यस सम्झौतासँगै एनसीएचएलले नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कनेक्ट आरटीजीएस प्रणाली पहिलो चरणमा अधिकांश ’क’वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको छ र अब नेपाल राष्ट्र बैंकसंग आरटीजीएस प्रणालीको लागी डाईरेक्ट मेम्बरको रुपमा सम्झौतागरी सकेका ’ख’ तथा ’ग’ वर्गका वित्तीय संस्थाहरुको लागी पनि उपलब्ध गराइने छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागीको सामुहिक दुर्घटना बीमा गरियो
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिकको सामूहिक दूर्घटना बीमा भएको छ । सो कार्यक्रममा आवद्ध श्रमिकको दुर्घटनाको कारण मृत्यू भएमा आश्रित परिवारलाई ७ लाख रुपैयाँ र विरामी परेमा ७० हजार रुपैयाँ पाउने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कोषले सबै श्रमिकको दुर्घटना बीमा गरिदिएको हो । यस्तो बीमा राष्ट्रिय बीमा कम्पनीसँग गरिएको छ । मन्त्रालय र कम्पनीबीच १ माघदेखि लागू हुनेगरी २९ पुसमा सम्झौता भएको हो । सम्झौतामा मन्त्रालयको तर्फबाट उपसचिव युवराज खतिवडा र कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत बीमा कम्पनीले बीमा शुल्क प्राप्त गर्नेछ । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भएका श्रमिकको दुर्घटनामा परी मृत्यू भएमा उसको आश्रित परिवारलाई प्रतिव्यक्ति ७ लाख रुपैयाँ प्रदान गरिनेछ । यस्तै, कार्यस्थलमा चोटपटक लागेर घाइते भएमा ७० हजार रुपैयाँसम्मको औषधी उपचार खर्च पाइने छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेरोजगारलाई प्रतिवर्ष १ सय दिन बराबरको रोजगारी दिने कार्यक्रम संचालन गरिरहेको छ । यसरी कार्यक्रम संचालन भएको बेलामा काम गर्दागर्दे दुर्घटनामा मृत्यू भएमा वा घाइते भएमा बीमा रकम पाइने सम्झौतमा उल्लेख छ । सरकारले आमनागरिकलाई रोजगारी प्रदान गर्न संचालन गरेको प्रभावकारी कार्यक्रम भएकोले सो कार्यक्रमको बीमा गरिएको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले बताए । सम्झौताअनुसार १ लाख ५० हजार जनाको बीमा गरिएको छ । मन्त्रालयले बीमा शुल्कको रुपमा प्रतिव्यक्ति १ सय ३१ रुपैयाँ बीमा शुल्क तिर्नेछ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको एकदिने एजेन्ट मीट सम्पन्न
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । सिटी एक्सप्रेसले गत शनिबार पोखरास्थित पांँच तारे होटल पोखरा ग्राण्डमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा, कास्की, बाग्लुङ्ग, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ्ग, स्याङजा, गोर्खा लगायतबाट ३०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाको संख्या २५ वटामा झार्नुपर्छ- डेपुटी गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले आगामी तीन वर्षसम्ममा लघुवित्त संस्थाहरुको संख्या २५ देखि ३० वटाको संख्यामा झार्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिकोत्सवको एक समारोहमा उक्त कुरा बताएका हुन् । उनले लघुवित्त संस्थाहरुको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा वृद्धि भएकोले गुणस्तरीय सेवा प्रभाहका लागि संस्थाहरुले मर्जर नीति अवलम्बन गर्न सल्लाह दिएका छन् । साथै, उनले गुणस्तरीय र दीगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न प्रविधिमा लगानी गर्नुपर्ने आवश्यकता समेत रहेको बताएका छन् । वार्षिकोत्सवको शुभकामना दिँदै यस संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रुपमा सदस्यलाई लघुवित्त सेवा पुर्याएको उनले बताए । वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको र यस पटक पनि सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोहको आयोजना गरेको छ । समारोहमा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्त कार्यक्रममा आवद्ध भई कर्जाको सदुपयोग गर्न सके आर्थिक अवसर श्रृजना हुने बताएका छन् । लघुवित्त नाफामूखी व्यवसाय नभई सेवा मूलक व्यवसाय रहेको उनको भनाई थियो । लघुवित्त क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छवीमा ठूलो असर पुगेको र यसलाई समयमै सुधार गर्न नियामक निकायले विशेष भूमिका खेल्नुपर्ने उनले जानकारी दिएका छन् । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठले लघुवित्त गरिवी निवारणको उपयुक्त अस्त्र भएकोले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताए । लघुवित्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध सदस्यहरुको आयस्तरमा वृद्धि गर्न उनीहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिमको आवश्यकता रहेकोले सोही अनुरुप लघुउद्यमशीलता विकासका लागि वित्तीय संस्था अगाडी बढ्ने बताए । समारोहमा वित्तीय संस्थामा आवद्ध ज्येष्ठ ग्राहक सदस्यहरु, उत्कृष्ट लघुउद्यमी, वचतकर्ता तथा केन्द्रहरु, संचालक समितिका पूर्व संचालकहरु लगायत २० वर्ष सेवा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । साथै, उत्कृष्ट शाखा कार्यालय, कर्मचारीका छोराछोरीहरु मध्ये २०७५ सालको एसइइ परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ६ जनालाई नगद सहित सम्मान-पत्र प्रदान गरिएको थियो । संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका १४० शाखा कार्यालयबाट २ लाख ४५ हजार घरपरिवारलाई प्रत्यक्ष सेवा पुर्याएको छ ।