विकासन्युज

ग्लोबल आइएमईले ल्यायो टपअप मुद्दती निक्षेप योजना, वार्षिक ९.७५ प्रतिशत व्याज पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम १० हजार रुपैयाँमा सहभागी हुन सकिने छ । जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिनादेखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् । साथै, यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ । ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्धती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । हाल बैंकको २७० शाखा संजाल, २४९ शाखा रहित बैंकिङ्ग, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

७ महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १६ अर्ब बीमा शुल्क

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्म १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सोही अवधिमा बीमा दायरामा आएको जनसंख्या १४ लाख ५७ हजार ४६ छ । निर्जीवन बीमा तर्फ सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै,सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि १ अर्ब ३३ करोड बीमा शुल्क आर्जन गरेको तथ्याकंले देखाउँछ । सगरमाथा इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा कम्पनीको काम सेवा दिने भएकोले बिमितलाई दिने सेवा सुविधामा कमि नहुने हिसाबले काम गरिरहेका बताए । ‘बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना भइरहेको छ, बीमामा आकर्षण पनि बढ्दो छ, आगामी दिनमा पनि निर्जीवन बीमाको पहुँच बिस्तारमा आफुहरु लागि पर्ने उनको भनाइ छ ।

केएल टावरमा मोबाईल बैंकिङ मेला सम्पन्न, सिभिल मलमा फागुन २५ गतेदेखि शुरू

काठमाडाैं । डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले आइप्लेक्स् मलमा सफलता पूर्वक मोबाईल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित् केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे ले राजधानीमा रहेका प्रमुख मलहरूमा फेब्रुअरी र मार्च महिनामा यस किसिमको मोबाईल बैंकिङ मेला सञ्चालन गर्नेछ । ‘मोबाईल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक भुक्तानी, फण्ड ट्रान्स्फर, स्टेटमेन्ट जाँच जस्ता थुप्रै सेवा लिन सकिनेछ । मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टु पे सुविधा मार्फत बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी ,हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सरल रूपमा लिन सकिन्छ । मोबाईल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो, जहाँ धेरै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन् । मलमा आउने मानिसहरूमा ‘स्पिन द वील’ बोनान्जा आकर्षणको केन्द्रवीन्दु बनेको छ । सहभागी सबै जनाले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइइल टपअप जस्ता उपहार जित्न सकिनेछ । मेलामा सहभागी सबै जनामध्येबाट एक जनाले बम्पर उपहारका रूपमा ५० हजार रूपैयाँ जित्न सकिनेछ । बम्पर उपहार विजेता मेलाको अन्तिममा घोषणा गरिनेछ । यसबाहेक यो योजनामा सहभागीहरू फोन पे र्को अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सकिनेछ । कुनैपनि मोबाईल बैंकिङ प्रयोगकर्ता आफनो बैंकको मोबाईल बैंकिङ एप मार्फत क्युआर स्क्यान टु पे मार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सकिनेछ । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २, २०२० सम्म चल्नेछ । उपहार विजेता दैनिक,साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्र मार्फत दुबई ट्रिप जित्न सक्नेछन् । मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले मोबाईल मेलामा सहभागीता जनाइ ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका साप्ताहिक मोबाईल बिजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाईल फोन हस्तान्तरण गर्नुभयो । अर्को मोबाईल बैंकिङ मेला मार्च ८ (फागुन २५ गते) का दिन सुन्धाराको सिभिल मलमा आयोजना हुनेछ ।

उद्योगी र प्राधिकरणको विवाद बल्झियो, बिना जानकारी बढाएको विद्युत महसुलमा आपत्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई बढाएको विद्युत महसुलप्रति आपत्ति जनाएका छन् । उनीहरुले प्राधिकरणकाे पूर्व जानकारी बिनै ६६.६७ प्रतिशत विद्युत महसुल बढाएको बताउँदै बढाएको महसुलप्रति आपत्ति जनाएका हुन् । उद्योगी व्यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै बढाएको महसुल यथासिघ्र फिर्ता लिन आग्रह गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले २०७६ मंसिर महिनादेखि ६६.६७ प्रतिशत वृद्धि गरी बिल पठाइएकोमा सो वृद्धि भएको शुल्क उद्योगहरुले कुनै पनि अवस्थामा तिर्न नसक्ने बताउँदै उनीहरुले व्यवसायमा एकरुपता कायम गरी उद्योग सञ्चालन गर्ने वातावरण सृजना गर्न माग गरेका छन् । २०७५ जेठ १ गतेदेखि देश लोडसेडिङ्ग मुक्त भैसकेको अवस्थामा विद्युत सेवा वापत यस्तो अतिरिक्त मासिक सेवा शुल्क, डिमाण्ड शुल्क र ईनर्जी शुल्क (ट्रंक तथा डेडिकेटेड शुल्क) लिइनुमा कुनै औचित्य नभएको उनीहरुको भनाइ छ । उनीहरुले ती सबै शुल्कहरू अनिवार्य रुपमा खारेज हुनुपर्ने माग गरेका छन् । वि.स २०७४ चैत महिनामा विद्युत कार्यालय भैरहवा शाखाले आफ्नो आन्तरिक भार मिलान गर्ने क्रममा बुटवल भैरहवा औद्योगिक कोरिडरको लाइन ट्रंक लाइनमा परेको भनी हाल मिति २०७६ मंसिर महिनामा आएर बिनापूर्व जानकारी ६६.६७ प्रतिशत वृद्धि गरी बिल जारी गरिएको उनीहरुको भनाइ छ । पञ्चकन्या ग्रुपका प्रमुख धुब्रकुमार श्रेष्ठले मासिक तिरिरहेको महसुलमा पूर्व जानकारीबिनै एक्कासी बक्यौता रकम बढेर आएपछि उद्योगीहरुलाई समस्यामा पारेको बताए । आफुहरुले उत्पादन गर्न सकेको वस्तुहरु बिक्री गरिसकेको बताउँदै उनले यति ठूलो बक्यौता रकम तिर्न मुस्किल परेको उनको भनाइ छ । विद्युत प्राधिकरणका विद्युत महशुल संकलन नियमावली, २०७३ को विनियम ५ विचत महसुल अन्य दस्तुर तथा सेवा शुल्क र विलिङ सम्बन्धि व्यवस्थाको उपविनियम २ मा प्राधिकरणका डेडिकेटेड लाईन र ट्रंक लाईनबाट विद्युत सेवा लिने औधोगीहरुले विद्युत खपत गरे बाफत अनुसुचि १ (क) मा उल्लेख भए बमोजिमको मासिक सेवा शुल्क, डिमान्ड शुल्क र निजि शुल्क बुझाउनु पर्ने भनी विभिन्न उद्योगहरुलाई १६.६७ प्रतिशत वृद्धि गरी शुल्क तिर्न पत्राचार गरेको जनाइएको छ । उनीहरुले ट्रंकलाइनबाट विद्युत जडान गरि पाउँ भनि कुनै पनि प्रकारका माग तथा निवेदन नगरेकोले साविककै साधारण लाइन बमोजिमकै शुल्क तिर्ने व्यवस्था मिलाउन हाम्रो आग्रह गरेका छन् । उद्योगहरुले नियमितरुपमा बुझाउनु पर्ने महशुल, दस्तुर समयमै भुक्तान गरी छुट सुविधा समेत लिइरहेको अवस्थामा हाल आएर एकतर्फी रुपमा विगत ३-४ वर्ष अगाडि देखिको थप अतिरिक्त दस्तुर तथा सेवा शुल्क लाग्ने भनी पत्राचार भएकोप्रति आफु दुःखी भएको उनीहरुले बताएका छन् । खासगरी बुटवल-भैरहवा कोरिडोरमा संचालित उद्योगहरूले विगत ४० वर्ष देखि ३३ के.भि.ए. औद्योगिक कोरिडोर विद्युत प्रसारण लाईनद्वारा विद्युत खपत गर्दै नियमित रूपमा उद्योग व्यवसाय सञ्चालन गर्दै साधारण महसल बमोजिम आएको बिल अनुसारको भुक्तानी गर्दै आएका थिए । तर हाल आएर एक्कासी प्राधिकरणबाट २०७६ साल मंसिर महिनादेखि विद्युत महसुलको साविक साधारण दरको सट्टामा विषेश डिएफडीआर ट्रंक लाईन टेरिफबाट रेट कायम गरी बिल जारी गरिएको बताएको छ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिमा विशेष छुट, कहाँ कहाँ पाइन्छ ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकारी समिर शेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्रि तथा बजारीकरण निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम बैंकका सबै ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा सो मात्राको छुट पाउने छन् । कहाँ कहाँ पाइन्छ छुट ?

जनरल इन्स्योरेन्सले दियो निर्जीबन बीमा अभिकर्ता तालिम

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बुटवलमा निर्जीवन बीमा अभिकर्ता तालिम दिएको छ । कम्पनीले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा गत फागुन १५ गते देखि १७ गतेसम्म ३ दिने आधारभुत तालिम दिएको हो । उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो । सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंक्षी बीमाको बारेमा समेत जानकारी दिएको थियो । ३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलतापुर्बक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

नेपाल-तान्जानिया व्यापार लगानी प्रवद्र्धनमा जोड

काठमाडौं । नेपाल र तान्जानियाबीच व्यापार लगानी प्रवद्र्धनमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)का अध्यक्ष राजेश काजी श्रेष्ठ र नेपालका लागि तान्जानियाका राजदूत लुभान्डाबीच सोमबार भएको छलफलमा सो कुरामा जोड दिइएको हो । यस भेटघाटमा एनसीसीका अध्यक्ष श्रेष्ठले नेपाल र तान्जानिया भौगोलिक रुपले टाढा भएपनि व्यापारको माध्मबाट निकट राख्न सकिने बताए । उनले विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्कले दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई सुदृत बनाउने जानकारी दिए । त्यस्तै, नेपाल र तान्जानिया दुवै कृषिजन्य पर्यटकीय मुलुक भएकोले तान्जानियाका राजदूतले तान्जानियाको आर्थिक संभाव्यता बारे बताए । उनले तान्जानिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीजसँग द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन गर्न समझदारी पत्र कायम गर्न सुझाव दिए । अहिले तान्जानियाले भारतको मुम्बईबीच प्रत्यक्ष हवाई सम्पर्क कायम भएकोले तान्जानिया र नेपालबीच व्यापार गर्न संभव रहेको र तान्जानिया वन्यजन्तु आरक्षण स्थल रहेको जानकारी दिए । नेपाल र तान्जानिया बीच सन् १९७५ को जनवरीमा कूटनीतिक सम्बन्ध कायम भएको हो । त्यस यता नै बहुपक्षीय फोरमहरूमा नेपाल र तान्जानियाले एकअर्कालाई सहयोग गर्दै आइरहेको छ । नेपाल जस्तै तान्जानिया पनि असंलग्न आन्दोलनको सदस्य राष्ट्रमा पर्छ । नेपाल र तान्जानिया संयुक्त राष्ट्रसंघको सशक्त सदस्य हो ।

दलित भएकै कारण घरबेटीले कोठा छोड्न दबाब दिएको विद्यार्थीको आरोप

काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो जानकारी गराएका हुन् । कैलाली र दैलेख स्थायी घर भई काठमाडौंमा विभिन्न क्याम्पसमा अध्ययनरत चार जना विद्यार्थीहरुलाई दलित भन्दै घरबेटीले अपमान गरेको उनीहरुको गुनासो छ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–१० मा रहेको श्रीकृष्ण बिडारीको घरमा डेरा गरी आफूहरु बसिरहेको उनीहरुले जानकारी दिए । उनीहरुले दिएको जानकारीअनुसार उक्त घरमा उनीहरु गत मंसिर १३ गतेदेखि बसेका हुन् । त्यस घरमा डेरा गरेरै बसेकै दिन घरबेटी श्रीकृष्णकी छोरीले आफूहरुसँग परिचय गरेको दिपा नेपालीले जानकारी दिईन् । उनले अघि भनिन्,‘हामी त्यो घरमा बसेकै दिन घरबेटीकी छोरीले हामीसँग परिचय गरेकी थिइन् । त्यसको भोलिपल्ट घरबेटी बिडारी दम्पत्तिद्धयले तपाईहरु ‘दलित हुनुहुँदो रहेछ, समाजले पनि तपाईहरुलाई यहाँ बसेको रुचाउँदैन्, र यही घरमा भाडामा बस्नेहरुले पनि घर छोडेर जान्छु भने’ भनेर कोठा छोडेर जान दबाब दिए ।’ उनले आफूहरुलाई जातकै कारण कोठा छोड्नका लागि दबाब दिएको गुनासो पोखिन् । उनले भनिन्,‘मैले एक कार्यक्रममा मानवअधिकारवादीसँग यस्तो भयो भनेर गुनासो पोखेको थिएँ, त्यहीँबाट मानवअधिकारकर्मीले हाम्रो घरबेटीलाई फोन गरेका थिए । उनका अनुसार अब हामीलाई बसुञ्जेलसम्म बस्न दिने भनेर घरबेटीले भनेका थिए र हामीलाई पनि परिचय दिएर बस्नुहोला भने । तर, एक्कासी घरबेटीले आफूहरुलाई विभिन्न बहाना देखाएर घर छोड्न दबाब दिएको पनि उनले गुनासो पोखिन् । घरबेटीमात्रै नभएर त्यही घरमा भाडामा बस्ने अन्य सदस्यहरुले पनि घरबेटीसँग मिलेर आफूहरुमाथि अभद्र तथा गाली, बेईज्जति शब्द प्रयोग गरेको गुनासो पोखिन् । जातीय विभेद गरेर आफूहरुमाथि स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमाथि कुण्ठित गरेको र बारम्बार मानसिक तथा मनौवैज्ञानिक दबाब दिएको पनि उनले गुनासो पोखिन् । उनले भनिन्,‘हामी पढ्ने विद्यार्थीहरुमाथि यो ठूलो मानसिक यातना हो ।’ आफूहरु कानूनी उपचारमा जाने उनीहरुले घोषणा गरिन् । उनले आजै प्रहरी प्रशासनमा उजुरी दिने पनि आफूहरुको तयारी रहेको बताईन् । आफूहरुमाथि जातीय विभेद नगर्न पटक–पटक आग्रह गर्दापनि निजी घरबेटीले कुरै नसुनेको र अमानवीय व्यवहार गरेको गुनासो पोखिन् । कार्यक्रममा कैलाली घर भई सोही घरमा बस्ने दिपाका भाइसमेत रहेका राज नेपालीले आफूहरुमाथि २१औं शताब्दीमा पनि जातीय विभेद गरिएको भन्दै गुनासो पोखे । आगामी दिनमा दलित भएकै कारण आफूहरुले भोगेजस्तो पीडा अरुले भोग्न नपरोस भनेर मिडियामा यो कुरा लिएर आएको र कानूनी उपचारमा जान लागेकोपनि उनले स्पष्ट पारे । उनले भने,‘घरबेटीले दिएको चरम यातनाको कारण हाम्रो पढाईमा अवरोध सिर्जना भयो । यसले विद्यार्थीको भविष्य अन्यौल बनाएको छ ।’ उनले जातीय भेदभाव तथा छुवाछुत ऐन–२०६८ अनुसार निज घरबेटीलाई कारबाही गर्नसमेत सरकारसमक्ष माग गरे । आफूहरुमाथि घरबेटीले श्रृंखलावद्ध रुपमा घर छोड्न दबाब दिएको र जातीय विभेद गरेको गुनासो पोखे । कार्यक्रममा अर्की पीडित गायिकासमेत रहेकी धना परियारले जातीयताको कुरा गरेर आफूहरुमाथि घरबेटीले दिएको दबाब गलत र मानव अधिकारविरुद्ध रहेको टिप्पणी गरिन् । उनले पनि घरबेटीलाई कानूनबमोजिमको हदैसम्मको कारबाहीको माग गरिन् । उनले आफू अपांग समेत रहेको जनाउँदै अपांगता भएकै कारण जागिर नपाएको गुनासो पोख्नि । उनले भनिन्,‘जातीयताकै आधारमा घरबेटीले कोठा छोड्न दबाब दिएका छन् ।’ उनले भनिन्,‘के हामी यो देशका नागरिका होईनौं र ? हामीमाथि अमानवीय व्यवहार गरियो । यो निकै दुःखदायी कुरा हो ।’ उनले यस्तो अवस्थाको सामना गर्नुपर्दा कहिलेकाहीँ रातै नपरिदिए हुन्थ्यो जस्तो लाग्ने गरेको पनि सुनाईन् । उनले भनिन्,‘घरबेटीले मात्रै होईन, त्यही घरमा भाडामा बस्नेहरुले पनि हामीलाई निस्किन दबाब दिए ।’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी विपीन बिकले २१औं शताब्दीमा आएरपनि जातीय विभेद गर्नु गलत भएको भन्दै विद्यार्थीहरुमाथि जातीय विभेदन र यातना दिने घरबेटी बोगटीलाई कारबाहीको माग गरे ।