सुनको मूल्य बढ्यो, प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै
काठमाडौं । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेर ७८ हजार ३ सयमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार प्रतितोला ७७ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ७८ हजार रुपैयाँमा कारोबार भइरहेका छन् । चाँदी भने सोही मूल्य अर्थात ८ सय ६० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
उद्योगीलाई प्राधिकरणले ६६ प्रतिशत बक्यौता थपेर पठायो, २२ उद्याेग समस्यामा
काठमाडौं । भैरहवा करिडोरमा सञ्चालित २२ उद्योगलाई नेपाल विद्युत प्राधिकरणले ६६.६७ प्रतिशत बक्यौता थपेर विद्युत महसुल तिर्न पत्र काटेको छ । समयमा नै विद्युत प्राधिकरणको बिल तिरेर २ प्रतिशत छुट पाइरहेका उद्योगलाई वि.स २०७२ सालदेखिको बक्यौता बाँकि रहेको भनेर प्राधिकरणले पत्र काटेको हाे । वि.स २०७५ मंसिरसम्म प्रति युनिट ८ देखि १० रुपैयाँ विद्युत महसुल तिरिरहेका उद्योगलाई ७ रुपैयाँ थपिएर प्रति युनिट १७ रुपैयाँ बनाएर बिल काटेको उद्योगिकाे भनाइ छ । १० करोड विद्युत बक्यौता तिर्न बाँकि भनेर बिल बुझेका पञ्चकन्या ग्रुपका धु्रवकुमार श्रेष्ठले २/४ वर्ष अघिको बक्यौता भनेर बीलमा थपेर पठाएको बताए । एसआर ग्रुपका प्रवन्ध निर्देशक सुरज उप्रेतिले विद्युत प्रधिकरणले पहिलेको बक्यौता भनेर अहिले उद्योगिहरुलाई बील आएकाले समस्यामा परेको बताए । भैरहवा विद्युत प्रधिकरणले बक्यौता तिर्न ताकेता गरेको छ । बुटवल औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको विद्युत आपुर्ति ३३ के भि ए लाईन बाट हुँदै आएको छ । भैरहवा विद्युत प्राधिकरणका प्रमुख दितेन्द्र झाले प्राधिकरणको नियम अनुसार नै बील पठाएको र त्यसमा घटबढ नहुने बताए । हाल आएर नेपाल विद्युत प्राधिकरणले भने यस क्षेत्रका उद्योगहरुको विद्युत आपुर्ति ट्रङ्कलाईनबाट भैरहेको हुँदा यस क्षेत्रका २२ वटा उद्योगहरुलाई २०७६ मंसिरबाट र मणिग्रामदेखि पडसरी सम्मको औधोगिक कोरिडोर ३३ के भि ए न्यू २ विद्युत प्रसारण लाईनबाट उद्योगहर सञ्चालन हुदै आईरहेको जानकारी दियो । उद्योगहरुलाई २०७६ माघबाट साधारण महसुलको सट्टा ट्रङ्कलाईनको दरमा विद्युतको बिलिङ्ग गरी पठाइएको छ । एउटै विद्युत प्रसारण बाट प्राप्त केही उद्योगीहरु लाई बढी विद्युत महसुल कायम गरिएको छ र केहि उद्योगीहरुलाई कम विद्युत महसुल कायम गरिएको छ । यो निर्णय पनि न्यायाेचित नभएको उद्योगीहरुकाे भनाइ छ । विद्युत नियमावली अनुसार ट्रङ्कलाईनबाट विद्युत आपूर्ति लिनको लागी सम्बन्धित उद्योगले प्राधिकरण समक्ष निवेदन दिनुपर्ने र उक्त निवेदन उपर काम कारवाही भई स्विकृत भए पछि मात्र ट्रङ्कलाईन जडान गरिने र महसुल पनि त्यसै दर अनुसार भुक्तानी गर्नु पर्ने हुन्छ । यस खालको नियम भएता पनि यस क्षेत्रका कुनै पनि उद्योगले कुनै पनि बखत ट्रङ्कलाईन को लागी आवेदन अथवा ट्रङ्क लाइन जडान गर्नु पर्ने इच्छा नराखेकोले उद्योगहरुमा के‐कसरी ट्रङ्कलाईन जडान भयो भन्ने आफैमा प्रश्नको विषय हो । नेपाल विद्युत प्राधिकरणले भनेको वि.स २०७४ चैतबाट ट्रकलाईन मार्फत विद्युत आपुर्ति भइरहेको छ भने सोहि बखत ट्रंकलाईन महसुलमा विलिङ्ग नगर्नुमा प्राधिकरणको ठूलो लापरवाही भएकाे उनीहरुले आरोप लगाएका छन् । यस क्षेत्रको उद्योगहरु बिगत ४० वर्ष देखि निर्वाद रुपमा साधारण लाईनबाट चलिरहेको अवस्थामा प्राधिकरणले आफु खुसि यस उद्योगहरुलाई ट्रंकलाईनमा जडान गरि थप भार बढाएको जनाइएकाे छ । हाल आएर फागुन ८ गते प्राधिकरणले यस क्षेत्रका उद्योगहरु लाई छुट रकम बुझाउने बारेको सुचना दिई २०७५ बैशाखदेखि २०७६ कार्तिकसम्मको छुट रकम ३५ दिन भित्र तिर्न पत्राचार गरी दबाव दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले भैरहवाका उद्योगहको विद्युतको विषयमा अध्ययन भइरहेको बताए । अध्ययन गरिसकेपछि आएको प्रतिवेदनको आधार समस्याको समाधान हुने उनको भनाइ छ । प्राधिकरणले पठाएको बीलले मर्कामा परेका उद्योगहरुलाई बन्द हुने अवस्था नगर्ने उनले बताए । तत्कालिन समयमा उत्पादन गरी सोही समयको खर्च बमोजिम वस्तु उत्पादन र बिक्री वितरण समेत भइसकेको अवस्थामा यो छुट बिलिङ्ग अनावश्यक थपभार बढ्न गई आफुहरु संकटमा पर्ने उनीहरुले धारणा राखेका छन् ।
राजश्व र करनीति व्यवसायीमैत्री हुनुपर्नेमा उद्योगीकाे जाेड
पोखरा । पोखराका उद्योग व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घ गण्डकी तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रूपमा आयोजित आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरिनुपर्ने कर तथा राजश्व नीति विषयक छलफलमा उद्योगी/व्यवसायीले राजश्व र करनीति व्यवसायीमैत्री हुनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले निजी क्षेत्रले दिएका सुझाव समेटेर कर तथा राजश्व नीति बनाउँदा राजश्व वृद्धि हुने उल्लेख गरे । व्यवसायीलाई पेलेर मात्रै आर्थिक उन्नति सम्भव नहुनेमा उनको जोड थियो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले स्थानीय र प्रदेश सरकारको एकल अधिकारमा कर लगाइँदा त्यसले व्यावसायिक बन्दै गरेको कृषिलाई निरुत्साहित गर्नेतर्फ गम्भीर बन्न आग्रह गरे । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले करको दायरामा आउने व्यवसायीले कानून नमान्नेसँग प्रतिस्पर्धा गर्दा घाटा व्यहोर्नुपरेको स्वीकार गरेका छन् । छलफलमा लेखनाथ उद्योग वाणिज्य सङ्घका सदस्य विक्रम कर्माचार्य, रमानाथ पौडेल, पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कास्कीका अध्यक्ष मोहनप्रसाद सापकोटा, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले आफ्नाे धारणा राखे । यसैगरी, नवलपुर उद्योग वाणिज्य सङ्घका सदस्य राजेन्द्र गौतम, भिमाद उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्का, शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले राजश्व तथा कर नीति व्यवसायीमैत्री भएमा राजश्वमा वृद्धि आउने धारणा राखेका छन् । रासस
नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. पुन नियुक्त
काठमाडाैं । नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा. पुनले हस्ताक्षर गरे । प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताएका छन् । उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्लाको नाङ्गीगाउँमा जन्मिएका हुन् । उनले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाएका छन् । विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम छ ।
कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता अपनाउँदै
राँझा । कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए । उनका अनु्सार नेपाल–भारत प्रवेशद्वार जमुनाह नाकामा सहयोगीकक्षका लागि आवश्यक पूर्वाधार, परीक्षण सामग्रीको व्यवस्था गरी दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतबाट दैनिक सयाैं नेपाली जमुनाह नाका हुँदै नेपालगञ्ज प्रवेश गर्छन् । यसरी प्रवेश गर्नेमध्ये बिरामी परेका र आफैँ स्वास्थ्य जाँच गर्न चाहने व्यक्तिलाई सीमानाकामा स्वास्थ्य जाँच हुँदै आएको छ । “बिरामी परेकालाई हामीले निगरानीमा राखेर स्वास्थ्य जाँच गर्छौँ, नाकाबाट ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन”, स्वास्थ्य शाखा संयोजक चन्दले भने, “सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने भएकाले आवश्यक समन्वय गर्दैछौँ ।” जमुनाह नाकाबाट स्थलमार्ग हुँदै ओहोरदोहोर हुने सयाैं मानिसको स्वास्थ्य परीक्षण गर्नका लागि ठूलै व्यवस्थापनको खाँचो रहेको उनको भनाइ छ । सहयोगीकक्षमा इन्फारेड थर्मोमिटरबाट मानिसको स्वास्थ्य परीक्षण गरिने स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले बताए । उनका अनुसार इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउँछ । ज्वरोको अवस्था हेरेर सहयोगीकक्षका स्वास्थ्यकर्मीले आवश्यक उपचारका लागि अन्य अस्पतालमा बिरामी प्रेषण गर्ने गरिएको छ । बाँके, बर्दियालगायत र भारतीय सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकले कोरोना भाइरसका बारेमा उच्च सर्तकता अपाउने निर्णय गरेपछि दुवै जिल्लाका सीमानाकामा स्वास्थ्य सहयोगीकक्ष राखिएको थियो ।रासस
अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ
बनेपा । बनेपाका विभिन्न स्थानमा अवैध रूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरिएकाे हाे । आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताएका छन् । उनका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र वडा नं ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक राजु भन्ने राजीव मानन्धर रहेका छन् । मेलम्ची नरपालिका–७ घर भई हाल बनेपा–८ मा बस्दै आएका तिमिल्सिनाले सञ्चालन गरेको होटलमा केटीसमेत राखेर अवैध यौनधन्दा गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित अन्य एक महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यस्तै, अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक मानन्धरसहित अन्य दुई महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मानन्धरसँगै साझेदारीमा रहेको बनेपा नगरपालिका–१२ घर भएका चाँदनी भन्ने मनमाया तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ । “बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा सञ्चालन गर्दै आएको पाइएका कारण हामीले सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ”, प्रहरी निरीक्षक तिमिल्सिनाले भने, “यसअघि पनि यस्तै कार्यमा संलग्न पाइएको बनेपा पुलबजारस्थित सञ्चालनमा रहेको सेभेनडेज खाजाघर नामक होटल कारवाहीमा परेपछि बन्द भएको छ ।” प्रहरीले त्यस्तो धन्दामा संलग्न होटल करिब २० जति रहेको र ती होटललाई निगरानी गरिरहेको जनाएको छ । बजार क्षेत्रमा केटी जम्मा गर्दै अवैध यौनधन्दा सञ्चालन गरेको पाइएपछि प्रहरीले अनुसन्धानकार्यलाई तीव्र पारेको छ । रासस
यसपाली हाेली नमनाउन सरकारको आग्रह
काठमाडौं । भिडभाडमा कोरोनाको संक्रमणको उच्च सम्भावना भएको भन्दै सरकारले यसपालीको होली नमनाउन आग्रह गरेको छ । सोमबार पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पत्रकार सम्मलेन गर्दै होली नमाउन आग्रह गरेका हुन् । होलीमा मानिसहरुको ठुलो भिड हुने र संक्रमणको सम्भावना बढेर जाने भन्दै मन्त्री ज्ञवालीले यस्तो आग्रह गरेका हुन् । भिडभाड हुने गरि कुनै पनि काम नर्गन र सकभर भिडबाट टाढै बस्न साथै बिहे विवाह जस्तो उत्सवहरु पनि परिवारहरुमा मात्र मनाउन मन्त्री ज्ञवालील आग्रह गरेका छन् । चीनकाे वुहानबाट फैलिएकाे काेराेना भाइरस अहिलेसम्म चीनसहित विश्वभरि झन्डै ७० देशमा फैलिसकेकाे छ भने ९० हजार भन्दा बढी मानिसमा सङ्क्रमण देखिएकाे छ । यसमध्ये झन्डै ९० प्रतिशत सङ्क्रमण चीनमै पाइएको छ । चीनबाहेक अन्य १० देशमा पनि यही भाइरसका कारण मानिसहरूको मृत्यु भएकाे छ, विश्वभरि कुल मृतक संख्या ३ हजार नाघेकाे छ ।
हिमालय एयरलाइन्सले थप्यो नयाँ जहाज
काठमाडौं । हिमालय एयरलाइन्सले नयाँ जहाज थपेको छ । नेपालको निजी अन्तर्राष्ट्रिय यस एयरलाइन्सले आफ्नो पाचौं वार्षिकउत्सवको अवसरमा ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ । उपाध्यक्ष–अपरेशनस्, क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार भित्र्याएको हो । नयाँ विमान एमएसएन ९०२०,दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भयो । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एयरलाइन्ससँग तीन एयरबस ए३२०–२१४ र एक एयरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएको छ । हालै समावेश गरिएको एयरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै विमान हो । एयरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ । कुल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको विमानमा नयाँ र कुशल इन्जिन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ । हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने छ ।