लेखा समितिले आर्थिक अनियमितताका घटना छानबिन गर्दै
अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिले तीन वटा आर्थिक अनियमितताका घटनाबारे छानबिन गरी प्रतिवेदन तयार गर्ने भएको छ । प्रदेश सरकारले खरिद तथा वितरण गरेकोे सुविधा सम्पन्न एम्बुलेन्स, कैलालीस्थित बाह्रवन साझेदारी वन व्यवस्थापन र प्रदेशभित्र सामुदायिक सिँचाइ परियोजनाअन्र्तगत सञ्चालन भएका कार्यक्रमको आर्थिक अनियमितताबारे प्रतिवेदन तयार गर्ने भएको हो । प्रतिवेदन तयार पार्न समितिले समयावधि तोकेको छ । लेखा समितिको बैठकले यही फागुन ८ गते एम्बुलेन्स खरिद तथा वितरणको छानबिन गर्न सभापति नन्दाकुमारी बमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । यस्तै बाह्रवन साझेदारी वन व्यवस्थापन समिति र सामुदायिक सिँचाइ आयोजना (सिआइपी) अन्र्तगत सञ्चालन भएको कार्यक्रमको छानबिन गर्न समिति सदस्य अमरबहादुर साउदको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिका सभापति नन्दाकुमारी बमले एम्बुलेन्सबारे ३० दिनभित्र तथा बाह्रवन र सामुदायिक सिँचाइ आयोजना ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयावधि तोकिएको जानकारी दिए। सभापति नन्दाले भने, “यदि तोकिएको समयभित्र कुनै कारणबस प्रतिवेदन पेश गर्न सकिएन भने मागअनुसार समय थप गर्न सकिनेछ ।” उनले तीनवटै आर्थिक अनियमितताको घटनाको छानबिन शुरु भएको जानकारी दिएका छन् । सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक २० गते एक कार्यक्रमबीच सेती प्रादेशिक अस्पतालसहित प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गरेको थियो । रासस
प्यूठानकाे युनिफर्म उद्योग सञ्चालनमा
झिमरुक । प्यूठान नगरपालिका–१० मरन्ठाना खरिबोटका विष्णु गिरीले निजी लगानीमा ‘राप्ती गण्डकी युनिफर्म उद्योग’ सञ्चालनमा ल्याएका छन् । सैनिक सेवाबाट अवकाश भएका ४४ वर्षीय उनले २०६९ सालबाट उद्योग सञ्चालनमा ल्याएका थिए । उनले भने,“शुरुमा बुटवलमा उद्योग सञ्चालन गरे । राम्रोसंग सञ्चालन हुन नसकेपछि गत वर्षदेखि आफ्नै गाउँमै ल्याए । अहिले राम्रो चलेको छ । ” विद्यालयका छात्रछात्रालाई आवश्यक पर्ने टाइ,बेल्ट, ट्र्याकसुट, टिसर्ट लगायतका पोसाक उद्योगमा उत्पादन हुन्छन् । ती सामग्री जिल्लाका विद्यालय सहित छिमेकी जिल्ला रोल्पा, दाङ, अर्घाखाँची,बाग्लुङलगायतमा समेत विक्री हुने गरेको उनले जानकारी दिए। रु ३० लाख लगानी रहेको उद्योगमा आठ जनाले रोजगारीसमेत पाएका छन् । हालसम्म रु आठ लाख आम्दानी लिएको उनले जानकारी दिए । अभिभावकलाई जिल्लामै उद्योग सञ्चालनमा आएसँगै सहज भएको छ । रासस
चीनबाट उद्धार गरी ल्याइएका कसैमा देखिएन कोरोना, आजै घर फर्काइँदै
काठमाडौं । चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ।उक्त जाँचमा समेत नेगेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टाइन मुक्त गर्न लागिएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । ‘मैले भर्खरै रिपोर्ट पाँए । सबैको नेगेटिभ छ,’ उनले भने । रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावत, प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल, प्रयोगशालाकी निर्देशक डा रुना झा लगायतको टोली अहिले खरिपाटी पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । क्वारेन्टाइनमा ल्याइएका उनीहरुको चीनबाट नेपाल आएको दिन पहिलो पटक नमुना परीक्षण गरिएको थियो। उक्त परीक्षणमा पनि उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि उनीहरुलाई लिन गएको चालकदलका सदस्यहरु रिपोर्ट नेगेटिभ आएपछि हिजो नै क्वारेन्टाइन मुक्त भएका थिए । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको १४ दिन पछि दोस्रोपटक जाँच गरिएको थियो ।
नेपाल लिकर्स र गायक दिपक बज्राचार्यबीच सांगीतिक सहकार्य
काठमाडौं । नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा गायक दिपक बज्रचार्यसंग सांगितिक सहकार्य सम्बन्धि सम्झौता भएको छ । विगत लामो समयदेखि गायक बज्राचार्यसंग नेपाल लिकर्सले विभिन्न कार्यक्रमको सहकार्य गर्दै आइरहेको थियाे । सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरुप सोमबार उक्त सम्झौता गरिएको हो । नेपाल लिकर्सका अध्यक्ष राजेश विर सिहं तुलाधरले नेपाली संगित हाम्रो पहिचान भएकोले यसको प्रर्वद्धनका लागि गायक बज्राचार्यसंग सहकार्य गरिएको बताए । उनले गुणस्तरको मामिलामा वर्षैदेखि नेपालीमाझ लोकप्रिय रहेकोले यसलाई सांगितिक क्षेत्रले अझ उत्साहित गर्नेमा विश्वस्त रहेको बताए । यसले नयाँ कलाकारलाई समेत प्राेत्साहित गर्दै आगामी दिनमा नेपाली कलाकारको उत्थानमा लागि रहने अध्यक्ष तुलाधरको भनाई छ । नेपाल लिकर्सले नेपालमा एन्टिकुइटी व्लू व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रियर व्हिस्की, रोयर च्यालेन्ज व्हिस्की, व्लू रिव्याण्ड जिनको उत्पादन गर्दै आएको छ । उत्कृष्ठ कच्चापदार्थ तथा उच्च स्तरिय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्टान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको पुनः बोलपत्र आह्वान
दमौली । तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि तेस्रो पटक बोलपत्र आह्वान भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत वैशाख १२ गते आह्वान गरेको दोस्रो पटकको बोलपत्रमा छनौट भएका चार कम्पनीको प्राविधिक प्रस्ताव रद्द भएपछि आयोजनाले शुक्रबार पुनः तेस्रो पटक बोलपत्र आह्वान गरेको हो । बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । चार वटा कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावलाई एशियाली विकास बैंक (एडिबी) ले सारभूत रुपमा प्रभावग्राही हुन नसकेको भन्दै रद्द गरिदिएको थियो । उक्त कामका लागि चीनको चाइना गेजुवा गु्रप अफ कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनीयरिङ कर्पोरेसन लिमिटेड तथा सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्स्ट्रक्सन नेपाल जेभीले बोलपत्र पेस गरेका थिए । तेस्रो पटक आह्वान गरिएको बोलपत्रको म्याद वैशाख १ गते (१३ अप्रिल) सम्म रहेको आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए । पहिलो प्याकेजको कामका लागि असोजसम्म निर्माण कम्पनीसँग सम्झौता हुने र कात्तिकदेखि निर्माण कम्पनीलाई आयोजनास्थलमा खटाउने तयारी छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत् गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर ब्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको विद्यृतगृह निर्माणका लागि २८ करोड ८० लाख डलर, प्रशारण लाइन तथा सबस्टेशन निर्माणका लागि एक करोड ५० लाख डलर, ग्रामीण विद्युतीकरणका लागि असी लाख डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि तीन करोड मिलियन डलर, वातावरण व्यवस्थापनका लागि दुई करोड १० लाख डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि चार करोड ६० लाख डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि दुई करोड ५० लाख डलर खर्च हुने अनुमान छ । यसका लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ सालको असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ । ‘केवल टनेल’ दुई महिनामा सकिने आयोजनाको दोस्रो प्याकेजअन्तर्गतको कामको ठेक्का पाएको सिनो हाइड्रोले केवल टनेलको कामलाई भने तीव्रता दिएको छ । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । उक्त प्याकेजका लागि सिनोले हाल केवल टनेल खन्ने काम गरिरहेको सिनो हाइड्रोका कमर्सियल म्यानेजर सुरेश चित्रकारले राससलाई जानकारी दिए । “पावरहाउसमा तारहरु लैजानका लागि १८७ मिटर सुरुङ खन्ने काम भइरहेको छ, दुई महिनाभित्र सुरुङ खनेर सकिनेछ,” उहाँले भन्नुभयो । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ । कोरोना भाइरसको सङ्क्रमणका कारण आयोजनाको काममा केही असर परेको सिनो हाइड्रोले जनाएको छ । चीनबाट थप कामदार आउन नपाएका कारण काममा अलि अलि असर परेको चित्रकारले जानकारी दिनुभयो । “काम नै रोकिएको अवस्था भने होइन तर नयाँ कामदार आउन नपाएकाले केही असर भने परेको छ,” उनले भने । रासस
फलामे छडको कच्चापदार्थ आयात घट्याे, राजश्व सङ्कलन प्रभावित
भैरहवा । भैरहवास्थित भन्सार कार्यालयबाट फलामे छड बनाउन आवश्यक कच्चापदार्थ ‘एमएस बिलेट’ आयातमा कमी आउँदा राजश्व सङ्कलन समेत प्रभावित भएको छ । दोस्रो ठूलो सो भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को पुस महिनासम्म नौ हजार ८४१ मेट्रिक टन मात्र सो कच्चा पदार्थ आयात भएको छ । गत आवको सो अवधिमा २९ हजार ९०३ मेट्रिक टन आयात भएको थियो । २० हजार ६१ मेट्रिक टन कच्चापदार्थको आयातमा कमी आएको प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए । कच्चा पदार्थ आयातमा कमी आउँदा राजश्वमा समेत कमी आएको छ । गत वर्षको पुससम्म दुई अर्ब २० करोड ४८ लाख ९२ हजार राजश्व असुली भएकोमा चालुआवको पुस सम्ममा ९५ करोड ९७ लाख २२ हजार मात्र असुली भएको छ । सो अवधिमा उठेको राजश्वमा एक अर्ब २४ करोड ५१ लाख ७० हजार कमी भएको भन्सार अधिकृत गोपाल शर्माले जानकारी दिए । पञ्चकन्या, लक्ष्मी, काठमाडौँ, एसआर, एभरेष्ट रोलिङ जस्ता ठूला छड उद्योगले यो भन्सार हुँदै भारतबाट कच्चापदार्थ ल्याउने गर्दछ । यसरी कच्चापदार्थको आयातमा कमी हुनु पूर्वाधार विकासका काम कमी हुनु बुद्धिजीवीहरु बताउँछन् । रासस
समीक्षाले दिने भईन् प्रधानमन्त्री ओलीलाई मिर्गौला, बुधबार प्रत्यारोपण हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण हुने भएको छ । बुधबार महाराजञ्ञ स्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाई समीक्षा संग्रौलाले मिर्गाैला दिने भएकी हुन् । प्रधानमन्त्री ओलीको दास्रो पटक हुन लागेको मिर्गाैला प्रत्यरोपण भाञ्जी पर्ने समिक्षा संगौलाले दिने भएकी छिन् । यस अघि बुहारी नाता पर्ने अन्जान घिमिरे मिर्गौला दिएकी थिइन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यरोपणको सफलता दर ९८ प्रतिशत छ।
अर्थमन्त्री र सेयर बजारको लुकामारीः खतिवडा नै दोहोरीने भनिएपछि नेप्सेमा उच्च गिरावट
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हालेको अघिल्लो दिन २०७४ फागुन १४ गते नेप्से १३ सय ५८ अंकमा थियो । खतिवडा अर्थमन्त्री भएर आएको केही दिनमै सेयर बजार नियमित रुपमा ओरालो लाग्यो । मन्त्री भएको तेस्रो दिन सेयर बजारकै कारण उनको आलोचना गरिएको थियो। फागुन १७ गते बिबिसीसँगको अन्तर्वातामा उनले सेयर बजार अनुत्पादक भएको टिप्पणी गरेका थिए। खतिवडाले पुँजीबजारबारे पहिलो टिप्पणी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा दिने कर्जा (मार्जिन लेन्डिङ) अनुत्पादक लगानी भएको उनको धारणा निकै आलोचित बन्यो । उनले त्यति मात्र भनेनन् सेयर बजारमा लहडका भरमा लगानी गर्नु हुँदैन, लहडमा लगानी गरेकाले बजार अस्वाभाविक रुपमा बढेको थियो, अहिले घट्नु सही, स्वाभाविक र सुधार हो भन्ने धारणा राखे । यो भनाइले पुँजीबजारमा झन् नकारात्मक प्रभाव पर्यो। लगानीकर्ताहरु उनी प्रति रुष्ट मात्र भएनन् उनको राजीनामा समेत माग गरे । त्यसपछि अर्थमन्त्रीले सेयर बजारको बारेमा सार्वजनिक सभामा बोल्न छोडका थिए । केही साताअघि उनी अर्थमन्त्रीबाट बाहिरे हल्ला थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा. खतिवडाको कार्यकाल २० फागुन अर्थात भोली सकिँदैछ । तर, उनलाई अर्थमन्त्रीको रुपमा पुनः दोहोर्याउने हल्ला पनि बजारमा छ । यसले पनि सेयर बजारमा प्रभाव पारेको हुन सक्ने जानकारहरु बताउँछन् । पुँजी बजारका लगानीकर्ता अर्थमन्त्री नफेरिने भएपछि सेयर बजार घटेको बताउँछन् । केही दिन अगाडि अर्थमन्त्री हट्ने भने र बढेको सेयर बजार पुनः खतिवडा नै दोहोरिने भएपछि आज ९६.०६ अंकले सेयर बजार घटेको छ । सोमबारको सेयर कारोबार नियमित समय अगाडि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले घटेसँगै आजको लागि सम्पूर्ण कारोबार बन्द भएको हो । बजार एकैदिन ९६.०६ प्रतिशतले घटेर १४९५.३० अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६.०४ प्रतिशतले घटी हो । सोमबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको थियो । बजार खुलेको करिब दुई घण्टाको अवधिमा ५ प्रतिशतले घटेर ४० मिनेटको लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि परिसूचक अघिल्लो दिनको तुलनामा ६ प्रतिशतले घटेपछि सोमबारको लागि कारोबार बन्द गरिएको नेप्सेले जानकारी दिएको छ । सोमबारको सेयर बजार घट्नुको कारण अर्थमन्त्री यथावथ रहनु भएको जानकारहरु बताउँछन् । कतिपय लगानीकर्ताले मन्त्रिपरिषद् पुर्नगठन हुँदा अर्थमन्त्री परिवर्तन भएर सेयर बजारको उकालो लाग्न सक्ने कल्पना गरेका छन् ।