झिमरुक । प्यूठान नगरपालिका–१० मरन्ठाना खरिबोटका विष्णु गिरीले निजी लगानीमा ‘राप्ती गण्डकी युनिफर्म उद्योग’ सञ्चालनमा ल्याएका छन् । सैनिक सेवाबाट अवकाश भएका ४४ वर्षीय उनले २०६९ सालबाट उद्योग सञ्चालनमा ल्याएका थिए ।
उनले भने,“शुरुमा बुटवलमा उद्योग सञ्चालन गरे । राम्रोसंग सञ्चालन हुन नसकेपछि गत वर्षदेखि आफ्नै गाउँमै ल्याए । अहिले राम्रो चलेको छ । ” विद्यालयका छात्रछात्रालाई आवश्यक पर्ने टाइ,बेल्ट, ट्र्याकसुट, टिसर्ट लगायतका पोसाक उद्योगमा उत्पादन हुन्छन् ।
ती सामग्री जिल्लाका विद्यालय सहित छिमेकी जिल्ला रोल्पा, दाङ, अर्घाखाँची,बाग्लुङलगायतमा समेत विक्री हुने गरेको उनले जानकारी दिए। रु ३० लाख लगानी रहेको उद्योगमा आठ जनाले रोजगारीसमेत पाएका छन् । हालसम्म रु आठ लाख आम्दानी लिएको उनले जानकारी दिए । अभिभावकलाई जिल्लामै उद्योग सञ्चालनमा आएसँगै सहज भएको छ । रासस