विकासन्युज

कोरोना विरुद्ध लड्न रिलायन्स लाइफ इन्स्योरेन्सको साढे ७ लाख रुपैयाँ सहयोग

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले कोरोना विरुद्ध लड्न ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले सरकारले स्थापित गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त योगदान गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । यस सहयोगले अहिलेको महामारी रोकथाममा केही थप सहयोग हुनेमा कम्पनी विश्वस्थ रहेको छ ।

भारतीय रिजर्ब बैंकले ल्यायाे ५० हजार करोडकाे आर्थिक प्याकेज, राष्ट्र बैंककाे तयारी के छ ?

काठमाडौं । कोरोनाको कारणले भारतीय अर्थतन्त्रको सुस्तता हटाउन भारतकाे केन्द्रिय बैंक अर्थात रिजर्ब बैंकले एक ठूलो आर्थिक प्याकेजकाे घोषणा गरेकाे छ । भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले आज अर्थात शुक्रबार बिहान ५० हजार कराेड भारतीय रूपैयाँकाे आर्थिक प्याकेज घोषणा गरेका हुन् । ‘५० हजार करोड (८० हजार करोड नेपाली) रुपैयाँ बजारमा लगानी गरिने छ, यसमा कृषि र ग्रामीण विकासका लागि २५ हजार करोड, साना उद्योग विकास बैंकलाई १५ हजार करोड र राष्ट्रिय आवास बैंकलाई १० हजार करोड रुपैयाँ विनियोजन गरिएको छ, उनले भने । ‘कोरोनाका कारण विश्व ठूलो आर्थिक मन्दीको दिशामा बढिरहेको छ तर भारतको अवस्था त्यति खराब छैन,कोरोनाका कारण ९.९ट्रिलियन डलरको घाटा हुने अपेक्षा गरिएको छ, जुन जापान र जर्मनीको संयुक्त जीडीपी भन्दा बढी छ,उनले भने । उनले भारतको अवस्था मार्चदेखि नै खराब भएको बताए । तर पनि भारतीय अर्थतन्त्र बृद्धि भइरहेको उनकाे भनाइ छ । उनले बजारमा नगदको कुनै कमी नहुने पनि बताएका छन् । परस्थितीलाई बुझ्दै रिजर्ब बैंकले अझै प्याकेजको घोषणा गर्न सक्ने उनकाे भनाइ छ । नेपाल राष्ट्र बैंकले पनि एक महिना अगाडि केही आर्थिक प्याकेज घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अहिले  त्यस्तो कुनै प्याकेज ल्याउने तयारी नभएको बताए । तर, आवश्यकता पर्यो भने पनि त्यसको अध्धयन गरेर प्याकेज ल्याउन सकिने उनकाे भनाइ छ।

सरकार राहतमा अलमल, अर्थतन्त्र चौपट हुने अवस्थामा

कोरोना भाईरसको कारण लकडाउन गरेको पनि तीन हप्ता नाघिसकेको छ। विकसित मुलुकको भयावह अवस्था हेर्दा अझै महिनौ लकडाउन हुने संभावना बढदै छ। सम्पूर्ण उद्याेग व्यवसाय बन्द छ। भारतबाट फर्केका र देश मै स्वरोजगार मुलक साना व्यवसाय गर्ने र दैनिक मजदुरी गर्ने दशौ लाख मजदुर बेरोजगार भएर भोकभोकै मर्ने अवस्था छन्। खाडी मुलुक, मलेसिया र भारतमा काम गर्ने ३० लाख भन्दा बढि बेरोजगार भएकोले रेमिट्यान्स आउन कम भैसकेको छ। कृषि उपजको ब्यवस्थित ओसारपसार नहुदा लाखौ किसान बैंक ऋृणको चिन्ताले मर्ने अवस्थामा छन्। समग्र देशको अवस्था अत्यन्त दयनीय भैसकेको देखिन्छ। अर्थतन्त्र चलायमान गर्न समय छँदै राहतका प्याकेज ल्याईएन भने अर्थतन्त्र चौपट हुने र सरकारले आशा गरेको २.५ प्रतिशतको आर्थिक वृद्धि ऋृणात्मक भई मुलुक असफल राष्ट्र हुने सम्भावना देखिदैछ। त्यसैले अहिले पनि ढिलो भएको छैन। सरकार, केन्द्रीय बैंक र साधन स्राेत हुने सरकारी निकायले तत्काल राहतका प्याकेज र सुविधा घोषणा गर्न ढिला गर्नु हुन्न। अहिले मुनाफा कमाउने भन्दा देश र जनता बचाउने बेला हो भन्ने कुरा बुझ्नु जरुरी छ। त्यसैले, अर्थतन्त्रलाई चलायमान बनाउने र उकास्न सक्ने क्षेत्र बैंक तथा वित्त कम्पनी र सहकारी भएकोले यी मार्फत गर्न सकिने निम्न काम गर्न गराउन नेपाल राष्ट्र बैंकले सरकारको समन्वयमा कदम चाल्न आवश्यक देखिन्छ। लकडाउनमा राहतको आशा गरेको बेला ठिक विपरित बैंकहरुले गएको हप्ता निक्षेपको औसत ब्याज १ प्रतिशत घटाए तर ऋणको ब्याज घटाएनन्। ३५६५ अर्ब निक्षेप मध्ये ४२ प्रतिशत बचत र कल निक्षेपको ब्याज घटाएर मासिक १ अर्ब २५ करोड कमाउने बाटो बनाए। कोरोना कोषमा २२/२३ करोड चन्दा दिएर अर्बौ कमाउन तिर लागे र नवनियुक्त गभर्नरबाट बैंकले कुनै मिन्हा दिँदैन, सरकारले राहत दिन्छ भनी भन्न पनि लगाए। राष्ट्रिय संकटको बेला बैंकको यस्तो सामन्ती काम लाजमर्दो देखिन्छ। त्यसैले निक्षेपको ब्याज घटाएर कमाएको सबै आय कोरोना राहत कोषमा जम्मा गराउनु पर्छ। भारत,अमेरिका, जर्मनी, अष्ट्रेलिया लगायतले राज्यकोषबाट अर्बौ डलर निकाली उद्याेग व्यवसाय, स्वरोजगार मुलक साना उद्यमी र बेरोजगार श्रमिकलाई लगानी गर्दैछन्। हामी कहाँ बर्सेनी अर्बौ कमाउने बैंक तथा वित्त कम्पनी र कर्पोरेट क्षेत्रले देश र जनताप्रतिको दायित्व पूरा गर्नको लागि पनि मुनाफाको ठूलो हिस्सा दिनै पर्छ। ३१८२ अर्ब ऋण रहेको व्यवसायीलाई राहत दिन बैंक, वित्त कम्पनी, आषाढको बासलात नेगेटिभ नहुने गरि ३ महिनाको ब्याज मिन्हा दिनुपर्छ। नेपाल राष्ट्र बैंकले चाहेमा सक्छ। ऋणको सावा मिन्हा कसैले मागेको छैन र दिनु पनि हुन्न। राष्ट्र संकटको बेला सबैको सहयोग चाहिन्छ। करोडौ निक्षेपकर्ताको निक्षेपमा औसतमा २ प्रतिशत ब्याज घटाई ३ प्रतिशतको स्प्रेड हुने गरि सम्पूर्ण कर्जामा ५ प्रतिशतको ब्याजदर घटाउन सकिन्छ। उद्याेग व्यवसालाई यो सुविधा १ वर्षलाई दिदा ठूलो राहत हुन्छ। सरकारको सांसद विकास कोष, विकास निर्माणको काम नभई बाँकी रहेको ७५ प्रतिशत रकम र अन्य अनुत्पादक रकम बाट उद्याेग ब्यवसायको पुनर्उत्थानको लागि ४/५ ब्याज दरमा थप कर्जा दिन नेपाल राष्ट्र बैंकले पहल गर्नुपर्छ। सामाजिक उत्तरदायित्वको अन्तर्गत बैंक तथा वित्त कम्पनीको मुनाफाको १ प्रतिशत खर्च गर्न छुट्याएको मध्ये बाँकी रकम फ्रिज गरि कोरोना कोषमा दाखिल गर्न निर्देशन दिनु पर्छ। २०७२ बैशाख ११ को भूईचालो जादा बैंक वित्त कम्पनीले निक्षेपको ब्याज सिस्टमबाट सबैको घटाए पनि कर्जाको ब्याज अधिकांशको नघटाएर सकंटमा पनि सबै जसो बैंकले मुनाफा वृद्धि गरेर सामन्ति र स्वार्थी चरित्र देखाए । कोरोना लकडाउनको नकारात्मक प्रभाव लामो समय पर्ने भएकोले बैंकले यस पटक सदासयता देखाउने आशा गरौ। २०७२ को भूईचालो २०७३/०३/०९ मा राष्ट्र बैकंले आश्विन मसान्तसम्म उठेको ब्याज आम्दानी जनाउने र पुँजी समायोजन कोषमा राख्ने निर्देशन बैंकहरु र व्यवसायीलाई राहत भएको थियो। कोरोना त्यो भन्दा ठूलो सकंट भएकोले २०७७ पुससम्म उठेको ब्याज आम्दानी जनाउन दिई ढिलै साधारण सभा गर्ने स्वीकृति राष्ट्र बैंकले दिनुपर्छ। २०७६ पौषसम्म सावा र ब्याज वा ब्याज नियमित भएको कर्जाको धितो सुरक्षणको अवस्था र ऋणिको बिगत भुक्तानी इतिहास आषाढसम्म चैत्रको ब्याज मात्र तिरेमा (३ महिने ब्याज छुट नदिँदा) असल कर्जामा गणना गर्ने ब्यवस्था राष्ट्र बैकंले गर्नुपर्छ। त्यस्तै, परियोजना कर्जाको काम सम्मन्न भएको वा बाँकी छ भने लकडाउनको कारण तिर्ने अवस्था हुदैन। अतः बाँकी सावा ब्याज पुँजीकरण गरि आवश्यकता हेरि १ देखि २ वर्ष ग्रेस  अवधि थप गरि पुनरतालिकरणको सुबिधा दिनु उपयुक्त हुन्छ। कोरोना र लकडाउनको कारण देशभित्र र भारत लगायत बिदेशबाट फर्केका २०औं लाख नेपाली श्रमिकलाई बेरोजगार छोडेमा खाना र काम नपाउँदा तिनबाट बिद्रोह हुने सम्भावना रहन्छ। तिनलाई राज्यले सधै पालेर पनि राख्न सक्दैन। अतः तिनलाई सकिएमा निर्ब्याजी, नसकेमा ३/४ प्रतिशत ब्याजमा बैंक तथा वित्त कम्पनी र सहकारी मार्फत साना साना कर्जा दिई साना ब्यवसाय र अझ कृषिमा लगाउन सकिएमा रोजगारी  बढाउन र बाझो खेतहरुमा उत्पादन गराई कृषिमा क्रान्ति नै ल्याउन सकिन्छ। नेपाल राष्ट्र बैंकले यसतर्फ निर्देशन दिन सक्छ। सामाजिक सुरक्षामा आवद्ध कम्पनीकाे चैत्रको रकम सरकारले तिरी दिने सकारात्मक राहतको घोषणा गरेको छ। यसलाई कमसे कम लकडाउन अवधि भरि गरिनु पर्छ।  बिकास निर्माण नहुँदा बजारमा पैसा नआउने र भएको पनि कोरोना कोषमा जाँदा बैंकमा लगानी योग्य रकम नभई तरलताको कमी हुन जान्छ। अतः आगामी पौष मसान्तसम्म कर्जा निक्षेप अनुपात ८५ प्रतिसत बनाउनु पर्ने देखिन्छ। उद्याेग ब्यवसायलाई राहतको लागि आषाढसम्म विद्युत डिमान्ड चार्ज, पेनाल्टि छुट लगायत आश्विन मसान्तसम्म खपत विद्युतमा २० प्रतिशत छुट दिई राहत प्रदान गरिनुपर्छ। (भट्टराई महालक्ष्मी लाइफ इन्स्याेरेन्स कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत हुन्)

चीनकाे जीडीपीमा सात प्रतिशतकाे गिरावट

काठमाडौंः कोरोना भाइरसका कारण चीनको जीडीपीमा सात प्रतिशत गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६.८ प्रतिशतले गिरावट आएको हो । शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्यांकका अनुसार गत तीन दशकहरूमा चीनको अर्थतन्त्रमा गिरावट आएको यो पहिलो पटक हो । चीनमा १९९२ देखि आधिकारिक रुपमा त्रैमासिक रुपमा आँकडा राख्न शुरु गरिएको थियो । चीनमा अहिले बेरोजगार दर ६.२ प्रतिशत छ ।

सुदूरपश्चिम: पर्याप्त किट नहुँदा परीक्षण सुस्त

धनगढी। कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ । ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिको काम केही तीव्र देखिए पनि पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) विधिको जाँच सुस्त भइरहेको छ । क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलको पछिल्लो तीन दिनको तथ्याङ्कमा आरटीपिसीआर पद्धतिबाट वैशाख १ गतेसम्म दुई हजार ३९१ को नमूना जाँच गरिएकामा वैशाख २ गतेसम्म दुई हजार ५२० र वैशाख ३ गते जम्मा दुई हजार ५२८ जनाको मात्र नमूना जाँच हुनसकेको छ । वैशाख १ सम्म ७५१ को, २ गतेसम्म ९७६ को र ३ गतेसम्म जम्मा एक हजार ७१ जनाको नतिजा आइसकेको छ, जसमा पाँच जनाको पोजेटिभ नतिजा आउँदा एक हजार ४७२ जनाको नतिजा नेगेटिभ आएको छ । जाँच गरिएका सबै नमूनाको नतिजा आउन पनि ढिलाइ भएको छ । वैशाख ३ सम्म जाँच गरिएकामध्ये एक हजार ५१ को नतिजा आउन बाँकी छ । द्रुत जाँच पद्धतिबाट वैशाख १ गतेसम्म जम्मा दुई हजार ३०९ जनाको जाँच गरिएकामा वैशाख ३ सम्म आइपुग्दा जम्मा तीन हजार ५०९ जनाको जाँच पूरा भएको छ । जसमा सबैको नतिजा नेगेटिभ आएको छ । शुरुका दिनमा कैलाली र कञ्चनपुरवाट आरडिटी पद्धतिबाट शङ्कास्पद व्यक्तिको नमूना जाँच शुरु गरिएकामा हाल प्रदेशका सबै नौ जिल्लामा नमूना सङ्कलन र जाँच भइरहेको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशको भौगोलिक विकटतासँगसँगै आरडिटीका लागि चाहिँले टेस्ट किटको अपर्याप्तताका कारण नमूना सङ्कलन र जाँचमा गति दिन नसकिएको बताए । “आरटिपिसीआर पद्धतिबाट शङ्कास्पदको थ्रोट स्वाबको नमूना सङ्कलन गरी राख्ने सामग्री (भिटीएम) को अपर्याप्ताका कारण यो पद्धतिबाट पनि चाहे जति नमूनाको जाँच हुनसकेको छैन, मन्त्री सुवेदीले भने, चाहिने स्वास्थ्य सामग्री केन्द्रबाट ल्याउने प्रयासमा छौँ ।” आरटीपिसीआर पद्धतिबाट शङ्कास्पदको थ्रोट स्वाबको नमूना सङ्कलन गरेर उच्चस्तरको प्रविधिमार्फत नमूनाको परीक्षण गर्नु पर्दा समय लाग्ने भएकाले यसको नतिजा आउनमा समय लाग्ने गरेको जनाइएको छ । “पिसीआर पद्धतिमार्फत परीक्षण गर्दा हाइटेक्निकल प्रक्रिया अपनाउनुपर्दा यसको जाँच र नतिजा आउनमा ढिलाइ हुने गरेको हो, सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङ्क्रमित बिरामीको उपचारमा संलग्न फिजिसिएन डा शेरबहादुर कमरले भने, “यसमा पनि झण्डै ३० प्रतिशतको नतिजा ‘मिस’ हुने सम्भावना पनि हुनसक्छ ।” सङ्क्रमितको अवस्था सामान्य सेती प्रादेशिक अस्पताल धनगढीमा उपचररत कोरोना सङ्क्रमित पाँच जनाको अवस्था समान्य रहेको छ । सङ्क्रमितलाई दैनिक खाजा, फलफूल खानाको व्यवस्था गरिएको र स्वास्थ्य अवस्था समान्य रहेको उपचारमा संलग्न डा कमरले जानकारी दिए । धनगढीमा सञ्चालनमा ल्याइएको आरटी पिसीआर मेसिनमा गरिएको परीक्षणले दुई जनाको स्वाबको नमूना पोजेटिभ आएको शङ्कामा थप परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ । उक्त प्रयोगशालामा हालै भारतबाट आएका रुकुमपश्चिमका व्यक्तिको सङ्कलित स्वाब सुर्खेतबाट पठाइएको छ । रासस

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे जहाज

काठमाडाैं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन । अबको एक घण्टामा जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिनेछ । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । रासस

दार्चुलामा देखिए कालाजारका बिरामी

दार्चुला। हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए । उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी सिफारिस गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । मलेरिया, कालाजारजस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको सङ्क्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखापरेको हो । जलवायु परिवर्तनका कारण जीवजन्तु, जीवाणु र परजिवीहरुले समेत बसाइँसराइ गर्न थालेपछि पहाडमा कालाजारका बिरामी भेटिन थालेका छन् । तराईका जिल्लामा पाइने लामखुट्टे, भुसुनाजस्ता परजिवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लामा समेत बढ्दै गएको छ । दार्चुलामा विसं २०७५ मा चार जना कालाजारका बिरामी भेटिएका थिए । यसअघि कालाजारका कारण एक जनाको जिल्लामै ज्यान गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट टोली आएर अध्ययनसमेत गरेको थियो । कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, खानामा रुचि नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रङ गाढा हुँदै जानेजस्ता लक्षणहरु देखापर्ने जिल्ला अस्पतालका चिकित्सक डा गजेन्द्र दुवाल बताउँछन् । कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाइ) ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ व्यक्तिमा टोके यो रोग सार्ने गर्छ । लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो । यसको लक्षण भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय उपयोगी हुने चिकित्सकको सुझाव छ । रासस

गलत हल्लापछि सनराइज बैंकका सीईओकाे स्वास्थ्य जाँच, काेराेना संक्रमण नभएकाे पुष्टि

  काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलेलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । सीईओ शर्मालाई कोरोना संक्रमण भएको भन्दै केही सञ्चार माध्यममा समाचार आएको थियो । गलत समाचारले उनकाे दैनिकी प्रभावित भएपछि गत बुधबार बीर अस्पताल गएर उनले कोरोना भाइरस चेकजाँच गराएका थिए । स्वास्थ्य परिक्षण रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । गलत समाचारहरु आएपछि प्रमुख कार्यकारी अधिकृत शर्मा विदामा बसेको, उहाँको स्वास्थ्य जाँच हुँदा कोराना भाईरस संक्रमण नभएको पुष्टि भएको सनराईज बैंकमा म्यानेजर रविन्द्र ढकालले जानकारी दिए । कोरोना महामारी फैलिएपछि बैंकले संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत अस्पताल र स्थानीय सरकारलाई स्वास्थ्य सम्बन्धि उपकरणहरु वितरण गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पीपीइ, मास्क, स्यानिटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामाग्री वितरण गरेकाे छ । स्वस्थ्य सामाग्री  वितरण  गर्ने केही कार्यक्रममा पौड्याल आफै सहभागि भएका थिए । साथै, लकडाउनको बेलामा अत्यावश्यक सेवा अन्तरगत बैकिङ सेवा सुचारु गर्नु पर्ने भएकोले बैंकमा नियमित जाने गरेका थिए । लकडाउनको बेलामा पनि बैंक चलाउन र परोपकारी कार्यमा संक्रिय भईरहेको अवस्थामा कोरोना संक्रमण भएको भन्दै गलत सन्देश वाहिर आएपछि उहाँले स्वास्थ्य जाँच गराउनु भएको र उहाँ स्वस्थ्य रहनु भएको प्रमाणित भएको ढकालले जानकारी दिए ।