सवा ७ अर्ब मानिसकाे महाप्रतिक्षाः कहिले बन्छ काेराेना भाइरसकाे खाेप ?
काठमाडाैं । काेराेना भाइरस विरूद्धकाे खाेप विश्वका सवा ७ अर्ब मानिसकाे महाप्रतिक्षाकाे विषय बनेकाे छ । तर विज्ञहरूले याे खाेपकाे प्रतिक्षा समय लामाे हुने बताएका छन् । २०१९ डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण हाल संसारभर फैलिसकेको छ । ५ महिनामा झण्डै २१ लाख मानिसमा याे राेग फेलिएकाे छ । १ लाख ३६ हजार भन्दा बढीकाे ज्यान गएकाे छ । संसारभरका वैज्ञानिकहरु यस राेग विरूद्धकाे खोप तयार गर्न लागिपरेका छन् तर पनि हालसम्म सफलता हातलाग्न सकिरहेको छैन । खोप तयार गर्न जति धेरै समय लाग्ने छ, मानब सभ्यता त्यति नै धेरै खतरामा पर्दै जानेछ । धार्मिक शास्त्रले कलियुग भने पनि विश्वका मानिसहरू हालको युगलाई विज्ञानको युग भन्छन् । विज्ञानकाे युगमा किन तयार हुन सकेनत कोरोना भाइरस विरूद्धकाे खोप ? लण्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनको सरुवा रोग विशेषज्ञ तथा प्रोफेसर डा. यनालिस वाड स्मिथ जर्नलमा लेख्छिन् -कुनै पनि नयाँ खोपलाई बजारमा ल्याउन १० देखि १२ वर्ष लाग्ने गर्दछ । कोरोना जस्तो माहामारीको सन्दर्भ यतिधेरै समय नरहेको हुनाले अनुसन्धान, विकास तथा परिक्षणमा तिब्रता दिँदा १२ देखि १८ महिनामा कुनै निष्कर्समा पुग्न सकिने सम्भावना रहेको तर त्यसको लागि उच्च राजनैतिक इच्छा शक्ति तथा ठूलो परिमाणमा आर्थिक लगानीको आवश्यकता रहेको उनको धारणा छ । अहिलेको संकटको समयमा संसारका धेरै देशहरु खोप निर्माणको दौडमा लागिरहेका छन् । तर यो दौडमा धेरै बाधाहरु रहेका छन् । प्रयोगशालामा तयार गरिएको कुनै पनि खोपले सजिलै अनुमति प्राप्त गर्न सक्दैन । अनुमतिको लागि विभिन्न प्रयोग तथा परिक्षणको चरणहरु पार गर्नुपर्ने हुन्छ । संशारभर कोरोना भाइरसको खोप निर्माणमा भइरहेको हालको कामहरु प्रिक्लिनिकल स्टेजमा रहेको छ । प्रयाजसो धेरै समय यो स्टेजमा नै लाग्ने जानकारहरु बताउँछन् । प्रिक्लिनिकल स्टेजमा प्रयोगशाला परिक्षण पूर्ण गरि जनावरमा समेत परिक्षण गरेर प्रभाव तथा दुष्प्रभावको मूल्यांकन गर्ने गरिन्छ । प्रिक्लिनिकल स्टेजको परिक्षणमा सफल भयो भने मात्र परिक्षणको अर्को स्टेजमा लाने गरिन्छ । अब आउँछ ह्युमन ट्रायल (मानिसको सरिरमाथि गरिने परिक्षण ) ह्युमन ट्रायलमा पनि ३ चरण हुने गरेको छ । पहिलो चरण पहिलो चरणमा करिब ५० जना स्वस्थ मानिसमा ट्रायल गरेर दबाइले रोग प्रतिरोधात्मक छेमतामा पारेको प्रभावको बारेमा अनुसन्धान गरिन्छ । दोस्रो चरण यो चरणको परिक्षणको लागि पहिलो चरणमा भन्दा धेरै मानिसहरुको आवष्यकता पर्ने गर्दछ । दोस्रो चरणको परिक्षणको लागि १५ सय देखि २ हजार जनासम्म स्वस्थ्य भेलेन्टियरहरुको आवश्यकता पर्दछ । यो स्टेजमा परिक्षण गरिनुको तात्पर्य पनि सुरक्षाको जाँच नै हो । सुरक्षाको स्थितिलाई नजरअन्दाज गरेर कुनै पनि औषधिको परिक्षण गरिदैन । ट्रायलको समयमा ध्यान दिइने अर्को महत्वपूर्ण विषय भनेको इमयुनोजेनिसिटी (परिक्षणमा संलग्न भोलेन्टियरहरुको एन्टिवडिको स्तर जसमा खोपको ट्रायल गरिन्छ ) । अब प्रश्न उठ्नसक्छ कि एन्टिवडि के हो ? एन्टिवडि भनेको शरिरलाई असर गर्ने भाइरस अथवा कुनै विकारको विरुद्धमा लड्न शरिरले उत्पादन गरेको विशेष रसायन हो । जसले भाइरस लगायत अन्य विकारहरुलाई परास्त गरेर सरिरलाई स्वस्थ्य राख्ने काम गर्छ । दोस्रो चरणको परिक्षणको सफलताको लागि भेलेन्टियरहरुमा एन्टिवडिको मात्रा सन्तोसजनक अवस्थामा हुन आवश्यक हुन्छ । तेस्रो चरण यो चरणमा खोपको परिक्षणको संख्या २० देखि ३० हजार जना सम्ममा गर्ने गरिन्छ । ट्रायल पछि सम्पूर्णको नमूना संकलन, विश्लेषण, अनुसन्धान, बिभिन्न उमेर समूह, वातावरण, खानपान, नस्ल अनुसार बर्गिकरण गरि प्रभाबको मूल्यांकल गरिन्छ । खोपको प्रभावकारिता, दूस्प्रभाव, शरिरमा पर्ने नकारात्मक तथा सकारात्मक असरहरुको बारेमा अनुसन्धान तथा सहि विस्लेषण गरि पूर्ण रुपमा सुरक्षित भएमा मात्र आम मानिसमा प्रयोगको अनुमतिका लागि नियामक निकाय समक्ष पठाइन्छ । कुनै पनि रोगको खोप अथवा औषधि तयार गर्नु भनेको चानचुने कुरा हैन । यो अत्यन्त संबेदनशील कुरा हो । सानो भन्दा सानो कुरामा त्रुटी भयो भने त्यसको स्थिति भयाभह हुने कुरा इतिहासले देखाइसकेको छ । तयार पारिएको खाेप नियामक निकायको मापडण्ड अनुरुपको छ भने मात्र व्यवसाहिक उत्पादन तथा संक्रमणको विरुद्धमा प्रयोगको लागि अनुमति दिने गरिन्छ । प्रोफेसर डा. यनालिस वाड स्मिथको भनाइलाई नै आधार मान्ने हो भने “हाल संसारभरमा कोरोना भाइरसको विरुद्धमा एउटा मात्र खोपको नमूनाले प्रिक्लिनिकल स्टेज पार गरेर ह्युमन ट्रायलको पहिलो चरणमा रहेको छ । अझ पनि यसले परिक्षणको धेरै चरणहरु पार गर्नु पर्ने हुन्छ । परिक्षणको सबै नतिजा सकारात्मक नै आयो भने पनि खोप आम प्रयोगमा आइपुग्न लामो समय लाग्ने उनको बुझाइ छ । यदि १८ महिना भित्रमा खोपलाई प्रयोगमा ल्याउन सकियो भने यसलाई चिकित्सा विज्ञान क्षैत्रको हालसम्मकै माहान तथा दुर्लभ उपलब्धि हुनेछ ।”
आरडीटी टेष्ट नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन: स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको भन्ने बित्तिकै कोरोना संक्रमण छैन भन्न नमिल्ने बताएकाे छ । आरडीटीबाट नेगेटिभ आउनुको मतलब उक्त व्यक्ति भर्खरै कोरोना भाईरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको हुनसक्ने मन्त्रालयले जनाएको हो । बिहिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले त्यस्ता व्यक्तिहरुको यदि संक्रमितसँग सम्पर्कमा आएको ३ हप्ता नपुगेको भए पूर्ण १ हप्तापछि परीक्षण गर्नुपर्ने बताएको छ । हाल सरकारले धेरै व्यक्तिहरुमा र्यापिड टेष्ट गरेको छ जसमा धेरैको नतिजा नेगेटिभ आएको छ । र्यापिड टेष्टले शरीरमा कोरोना भाईरस प्रवेश अवस्थामा त्यससँग लड्नको उत्पादन गर्ने एन्टिबडिको परीक्षण गर्दछ । यो टेष्टले शरीरले एण्टीबडी उत्पादन गरेका छ वा छैन भनेर मात्र परीक्षण गर्ने हो । शरीरले कोरोना भाईरस शरीरमा प्रवेश गरेको सामान्यतः १ हप्तामा एन्टिबडी उत्पादन गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुणा झा बताउँछिन् । कोभिड-१९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि उत्पादन गर्दछ । १. आईजीएम यो एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो पनि व्यक्ति पिच्छे फरक पर्न जाने र शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ । २. आईजीजी यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र शरीरमा महिनौंसम्म रहन सक्छ। सुरुमा रोग लागिसकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै, रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउनसक्छ र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ । किन देखिन्छ आरडीटीमा पोजेटिभ तर पिसिआरमा नेगेटिभ ? हाल यस्ता धेरै केसहरु छन् जसमा आरडीटी टेष्ट पोजेटिभ आएको छ भने रियल टाईम पिसिआर टेष्ट नेगेटिभ आएको छ । आरडीटी पोजेटिभ आउनु र पिसिआर नेगेटिभ आउनुको अर्थ उक्त व्यक्तिलाई ३ हप्ता अगाडी कोरोनाभाईरस संक्रमण भएको र हाल उ कुनै पनि व्यक्तिमा कोरोनाभाईरस सार्न नसक्ने अवस्थामा रहेको बुझिने विज्ञहरुको बताउँछन् । यदि आरडीटी नेगिटिभ र पिसिआर पोजेटिभ आउँछ भने त्यसको मतलब उक्त व्यक्ति भर्खरै मात्र काेभिड-१९ बाट संक्रमित भएको हो भन्ने बुझिन्छ । दुवै नतिजा पोजेटिभ आउनुको अर्थ उक्त व्यक्ति कम्तिमा पनि दुई हप्ता अगाडि संक्रमण भएको बुझिन्छ ।
आयोगका पदाधिकारीलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई आधारभूत वर्गको हितमा काम गर्न निर्देशन दिएकाे छ । मन्त्रालयमा बिहीबार आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा उनले आयोग गठनको उद्देश्यअनुरुप लामो समयदेखि भूमिबाट बञ्चित रहेका उत्पीडित वर्गका पक्षमा काम गर्न निर्देशन दिएका हुन् । मन्त्री अर्यालले विगत सात दशकदेखि निम्न आधारभूत वर्ग समस्यामा रहेकाले ती वर्गलाई सामाजिक न्याय दिने कुरा पहिलो प्राथमिकता हुनुपर्ने बताएका थिए । साथै, उनले तीन वर्षको आयोगको कार्याविधिमा प्रत्येक वर्ष केके काम, कसरी गर्ने भनेर योजना बनाएर आयोगका कार्य अगाडि बढाउन समेत निर्देशन दिए । सरकारले महत्वपूर्ण अभिभारा सुम्पेको भन्दै मन्त्री अर्यालले विगतमा स्पष्ट कानूनको अभावमा तत्कालीन आयोगले अपेक्षाकृत काम गर्न नसकेको उल्लेख गर्दै अहिले आवश्यक कानून बनाएर यो काम अगाडि बढाइएको स्पष्ट पारे । सो अवसरमा भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवी ज्ञवालीले मन्त्रालयले महत्वपूर्ण अभिभारा प्रदान गरेकामा सरकारलाई धन्यवाद दिँदै सरकारको राष्ट्रिय सङ्कल्पअनुसार आधारभूत वर्गको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मन्त्रालयका सचिव केदार न्यौपानेले वर्षौंदेखि रहँदै आएको भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्न आयोग र मन्त्रालयले एक भएर काम गर्ने बताए । सरकारले ज्ञवालीको अध्यक्षतामा गठन गरेको आयोगको सदस्यमा सदस्यमा भीमबहादुर कार्की, जगत देउजा, मञ्जली शाक्य र दिनेशचन्द्र यादव छन् । भूमिसम्बन्धी ऐन (आठौँ संशोधन) २०७६ अन्तर्गत भूमिसम्बन्धी समस्या समाधानका लागि ‘भूमिसम्बन्धी समस्या समाधान आयोग–२०७६’ गठन गरिएको मन्त्रालयले जनाएको छ । आयोगको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।
पत्रकारलाई निःशुल्क ज्याकेट वितरण
काठमाडाैं । कोभिड-१९ को महामारी तथा जोखिमका बीच आफ्नो पेशागत धर्म निभाइरहेका सञ्चारकर्मीलाई एक अनलाइन पत्रिकाले प्रेस ज्याकेट, पञ्जा र मास्क वितरण गरेको छ । ललितपुरबाट सञ्चालित दैनिकी ‘न्यूज डटकम’ अनलाइनले आज ज्याकेट १०० जना पत्रकारलाई वितरण गरेको हो । ओहोरदोहोर गर्न कठिनाइ भइरहेका बेला पत्रकारको सुरक्षाका लागि ज्याकेटलगायत अन्य सामग्री वितरण गरिएको हो । समाचार सङ्कलनमा निस्कँदा पत्रकारलाई अन्य कुनै सुरक्षा व्यवस्था छैन । आफूसँग भएको सञ्चारकर्मीको परिचयपत्र बोकेर नियमित काममा खटिँदै आएका छन् । जोखिमपूर्ण अवस्थामा रिपोर्टिङ गर्न निस्कने पत्रकारको सुरक्षालाई ध्यानमा राखी सुरक्षा सामग्री वितरण गरिएको दैनिकी न्यूजका सम्पादक रामहरि कार्कीले जानकारी दिए । ‘उपत्यकाभरका पत्रकार तथा सञ्चारमाध्यमलाई १०० थान ज्याकेट आज वितरण गरिएको छ, केही सञ्चारमाध्यमलाई शुक्रबार पनि प्रेस ज्याकेट उपलब्ध गराइनेछ, नेपाल पत्रकार महासङ्घ तथा अन्य निकायले पत्रकारका लागि आवश्यकताअनुसारका सुरक्षा सामग्री उपलब्ध गराउन नसकेपछि उनीहरुको सुरक्षामा ध्यान राख्दै ज्याकेट वितरण गरिएको हो’, उनले भने। दैनिकी न्यूज डटकम अनलाइन चार वर्षदेखि ललितपुरबाट सूचना प्रवाहमा सक्रिय रहेको जनाइएको छ ।
एनआईसी एशिया बैंकले सातै प्रदेश सरकारलाई दियो एक करोड ५ लाख रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेश सरकारलाई कूल एक करोड ५ लाख रुपैयाँ नगद सहयोग गरेको छ । बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५/१५ लाख रुपैयाँ गरी सो मात्राको सहयोग गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरेको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै मुलुकलाई परेको पिडामा सघाउ पुर्याउन उक्त सहयोग रकम सम्बन्धित प्रदेश सरकारका बैंक खातामा जम्मा गरेको छ । उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख रूपैयाँ समावेश गरी १५ लाख रुपैयाँका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत क्षेत्रहरू प्रभावित भैरहेको यस असहज परिस्थितिमा बैंकले उक्त रकम कोरोना विरूद्ध लड्नका लागि प्रदान गरेको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई देशका प्रादेशिक तथा स्थानीय सरकार लगायतसँगको सहकार्यमा ४५ लाख ६८ हजार रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू यसअघि वितरण गरिसकेको छ । यसरी वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या भएका मजदुरी गर्नेहरूका परिवारलाई केहि भएपनि राहत मिलेको विश्वास बैंकले लिएको छ ।
वैदेशिक रोजगारी रहेका नेपालीलाई फर्काउन सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौं । कोरोनाको महामारी फैलिएका देशमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सर्वाेच्चले अन्तरिम आदेश जारी गरेको छ । विश्वमा कोरोनाको संक्रमण बढ्दै गएपछि वैदेशिक रोजगारमा रहेका नेपालीको अवस्थालाई ध्यानमा राख्दै न्यायधीश सपना प्रधान मल्लको एकल इजलासले सो आदेश जारी गरेको हो । वैदेशिक रोजगारमा रहेका धेरै नेपाली विदेशी भूमिमा कोरोनाको त्रास एवंम महिनौं देखि रोजगार समेत गुमाई, अत्यन्त जोखिम अस्वस्थ, असुरक्षित अवस्थामा रहेका नेपालीलाई समान ढंगले आफ्नो देश आउन पाउने हकमा समेत असर पर्न गएको भन्दै प्रश्न उठाएका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम स्वास्थ्य सेवा/भेदभाव रहित उपचारको व्यवस्था मिलाउन परराष्ट्रमार्फत कूटनीतिक पहल गर्न सर्वाेच्चले आदेश दिएको छ । कोरोनाको कहर फैलिएको मुलुकहरुमा वैदेशिक रोजगारीमा रहेका नेपालीको नागरिकको नेपाली राजदूतावास वा श्रम सहचारीमार्फत कोरोना संक्रमित नेपालीको स्वास्थ्य अवस्था प्रतिवेदन तत्कालै तयार गर्न निर्देशन जारी गरेको हो । नेपालको संविधानको धारा १६ ले सम्मानपूर्ण तरिकाले बाच्न पाउने हक साथै संविधानको धारा १८ ले नागरिकबीच आर्थिक, सामाजिक, शैक्षिकलगायत राज्यले प्रदान गर्ने जुनसुकै हकको सुनिश्चितता गरिएको छ ।
कोरोना भाइरस बीमा शुरू, न्युनतम बीमा शुल्क ३ सय रूपैयाँ
काठमाडौं । बीमा समितिले सस्तो बीमा शुल्क लिएर देशभरका नेपालीको कोरोना भाइरस सम्बन्धि बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यस्तो बीमा लेखको विशेषताहरु घातक रोग सरहको बनाउन पनि समितिले निर्देशन दिएको छ । समितिले ५० हजार रुपैयाँ बीमाङ्कको बीमा लेखको बीमा शुल्क ३ सय रुपैयाँ तोकेको छ । एक जनाको मात्र बीमा लेख जारी गर्दा प्रतिव्यक्ति ५०० रुपैयाँ बीमा शुल्क लिन र परिवारका सबै सदस्यको समेत बीमा समावेश गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बीमा शुल्क लिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । १ लाख रुपैयाँ बीमाङ्क भएको बीमा पोलिसी जारी गर्दा एक व्यक्तिको बीमा शुल्क १ हजार रुपैयाँ ताेकिएकाे छ भने र परिवारका सबै सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ ताेकिएकाे छ । यस्तो बीमा गरेको १५ दिन प्रतिरक्षा अवधि हुनेछ । यसको अर्थ बीमा गरेको १५ दिन अगाबै बीमितलाई कोरोना लागेमा बीमा दावी लाग्नैछैन । १५ दिनपछि कोराना भाइरस पुष्टि हुने पीसीआरमा पाेजेटिभ देखिएमा बीमितलाई बीमकले दावी भुक्तानी दिनुपर्नेछ । काेराेना भाइरस बीमा लघु बीमा पुलले गर्नेछ । तर बीमा पाेलिसी जारी गर्ने जिम्मा भने कृषि बाली तथा घुम्ती बीमाका लागि ताेकिएका जिल्लामा कार्यरत बीमा कम्पनीहरूले गर्नु पर्नेछ । अहिलेसम्म १६ जना नेपालीलाई काेराेना भाइरस संक्रमण भइसकेकाे, अझ धेरै संक्रमणकाे जाेखिम रहेकाेले विशेषत ग्रामिण क्षेत्रसम्म न्युन आय भएकाे मानिसहरूलाई आर्थिक सुरक्षण प्रदान गर्न यस्ताे बीमा गर्नु परेकाे बीमा समितिले जनाएकाे छ ।
नागरिक लगानी कोषले सेवाग्राहीलाई ब्याजमा १० प्रतिशत छुट दिने
काठमाडौं । नागरिक लगानी कोषले सेवाग्राहीलाई ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । कोषले २०७६ चैत देखि २०७७ असारसम्मको ब्याज २०७७ असारभित्र ब्याज भुक्तानी गर्ने सहभागीहरुलाई सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । नागरिक लगानी कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा ब्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने भएको छ । उक्त ब्याज रकममा सो छुट समेत गरी चैतदेखि असारसम्मको ब्याज असारभित्र भुक्तानी गरेमा सेवाग्राहीले सो मात्राको छुट पाउनेछन् । कोषको संचालक समितिको वैशाख ४ गते बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस( कोभिड(१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दे सो निर्णय गरेको हो । त्यसैगरी कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैया प्रदान गर्ने निर्णय पनि भएको छ । यस्तो बिषम परिस्थितीमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको छ ।